Experiences of a common man!

Tag: सनातन धर्म

धर्म चाहिन्छ, अन्धविश्वास होइन

धर्म चाहिन्छ, अन्धविश्वास होइन

अस्तित्वको सङ्कट

केही समयदेखि गलेको छु । शारीरिक र मानसिक थकान त छ तर त्यति मात्रै हैन,अस्तित्वमै सङ्कट महसुस गरेको छु । यो निद्राले मेटाउने थकान होइन । यो त बोल्न खोज्दा भिडबाट चिच्याउनेहरू, विज्ञानलाई परम्पराभन्दा अलग राख्नेहरू, धर्मको नाममा अन्धविश्वास थोपर्नेहरू अनि विवेकको साटो आज्ञापालन गर्नेहरूको चिच्याहटले लगाउने थकाई हो ।

केही दिनअघि फेसबुकमा एउटा पोस्ट देखेँ। एकजना बुबाले आफ्नी छोरीलाई रजस्वला अवस्थाका महिलाहरूले मन्दिर, भान्सा, वा जनै छुन नहुने कारण विज्ञानसँग जोडेर “सकरात्मक र नकरात्मक उर्जा” को नाममा बुझाउँदै थिए । रजस्वलाको रक्तस्रावलाई “नकारात्मक चार्ज” को रूपमा व्याख्या गर्दै मन्दिरको “सकरात्मक चार्ज” सँग जुधाउँदा र भएर विस्फोट हुने दाबी गर्दै थिए ।

यो सबै कुरा सुन्दा एकछिन त हाँसो उठ्यो । विज्ञानलाई चुनौती दिन विज्ञानकै साहारा तर त्यस पोस्टलाई डाक्टरहरू, शिक्षित मानिसहरू ले लाइक, सेयर र समर्थन गरेर कमेन्ट गरेको देखेँ ।

त्यसबेला म वास्तवमै झल्यास्स झस्किएँ ।

धर्म र अन्धविश्वासको फरक बिर्सिएको समाज

हामी अहिले जुन धारमा बगिरहेका छौँ, त्यो धर्मको रक्षा होइन, अन्धविश्वासको वैज्ञानिक व्याख्याको दुष्प्रयास हो ।धर्म भनेको नीतिपथ हो । यो न्याय, सत्य, विवेक र करुणाको संयोजन हो । धर्मले प्रश्न गर्न सिकाउँछ, विवेक जगाउँछ, र आत्माको आवाज सुन्ने अभ्यास गराउँछ। तर अन्धविश्वास? त्यो त प्रश्नसँग डराउँछ। परम्पराको नाममा अन्यायलाई पनि पवित्र ठान्छ।

हाम्रो पूर्वजहरूले विचार, शंका, र तर्क गरे । देवतासमेतलाई प्रश्न गरे । आस्तिक, नास्तिक सबै मतका कुरा सुने । सुनेनन् मात्रै, शिक्षामा अङ्गीकार गरे । तर हामी चैँ रजस्वलाजस्ता शारीरिक प्रक्रिया लाई “अपवित्र” भनेर व्यवहारमा असमानता लादिरहेका छौँ ।

आफ्नै घरमा चुप लाग्नु परेको छ

अवस्था कतिसम्म खराब छ भने आफूले बुझेको कुरा आफ्नै घरमा पनि भन्न सक्दिनँ । नजिकका मान्छेहरू नै तर्कसँग तर्किन्छन् । थोरै बोल्दैमा थाक्छु । धेरै बोलेँ भने बहुलाइस् भनिदिन्छन् ।

म सोच्छु, बुझ्छु, र कहिलेकाहीँ बोल्छु । तर जब कोही शक्तिमा भएको मानिस अघि आउँछ, म आत्तिन्छु अनि मौन हुन्छु।
किन?
किनभने मन अझै पनि अरूको स्वीकृति खोजिरहन्छ । “नाइँ” भन्न सक्दिनँ र त्यसकै कारण बारम्बार फस्छु ।

सत्यलाई धेरै मौन राखे मर्छ

कहिलेकाँही म आफूलाई एक्लो महसुस गर्छु । कहिलेकाहीँ लाग्छ, यहाँ अलि धेरै बसेँ भने पागल हुन्छु । तपाईंलाई कति लाग्छ यस्तो ? सत्य बोल्नेहरू प्रायः एक्लै पारिएकै देख्छु । एक्लो वृहस्पति झुठो भन्छन् । हामीलाई समाज र शक्तिको संरचनाले अलग राखेका छन् । तर सत्य धेरै दबियो भने बिस्तारै मर्छ । त्यसैले हामी जुट्नै पर्छ । धर्मको साँचो अर्थलाई आत्मसात् गर्नैपर्छ ।

धर्म कसैलाई बोझ हुनैसक्दैन किनकी धारण गरिने नैसर्गिक सारतत्त्व नै धर्म हो । धर्म जीवनको आधार हो।

धर्म विज्ञानभन्दा फरक होइन । विज्ञानको सदुपयोग गरेर जगतको कल्याण गर्नु धर्म हो भने दुरुपयोग गर्नु अधर्म । परम्परा पनि सबै धार्मिक हुँदैनन् । कतिपय परम्परा “धर्म”को नाममा अधर्म फैलाइरहेका छन् ।

यति कुरा बुझाउन पनि गाह्रो छ यो समाजमा । कोही “धर्म” शब्द सुन्दै नाक खुम्च्याउँछन् अनि कोही कुप्रथालाई धर्मको नाम दिइरहेका छन् ।

अरूलाई सम्झाउन सके पनि नसके पनि कम्तीमा आफैँलाई बदलौँ । परिवर्तनको सुरुवात हुने त्यसरी नै हो।

आउनुस्, धर्म पुनः परिभाषित गरौं

हाम्रो धर्मले भनेको थियो, “रजस्वलाको बेला विश्राम गर, आराम गर”, तर हामीले यसलाई “छुने नछुने”, “शुद्ध र अशुद्ध” मा सीमित बनायौँ । हाम्रो धर्मले भनेको थियो, “सत्य बोल”, तर हामीले परम्पराको नाममा आँखा चिम्ल्यौँ ।

हामीलाई फेरि धर्म चाहिएको छ । नाम मात्रैको वा कुनै पुस्तकमा लेखिएको धर्म चाहिएको होइन, चाहिएको त विवेक, न्याय, करुणाको धर्म हो।

अन्तिम सन्देश

सत्यले भीड माग्दैन,
उसले एकजना सच्चा आत्मा खोज्छ—
जो थाक्दासमेत झुट बोल्दैन।

>> Read the English version of this post here.

निर्विकल्प पुस्तक आवरण

पुस्तक समीक्षा: निर्विकल्प

बाहुन परिवारमा जन्मिएर पनि मलाई संस्कृत आउँदैन । शिक्षा प्रणाली नै त्यस्तै थियो र छ । संस्कृत भनेको पुरेत्याइँ गर्नको लागि मात्रै हो र यो मृत हुन लागेको भाषा पढेर केही हुँदैन भन्ने सोच ८-१० वर्षको उमेरमा घुस्यो । वेद, पुराण, रामायण, महाभारत, गीता आदि इत्यादि पढ्न अरू भाषाको सहारा लिनुपर्ने भयो । संस्कृत थोरै मात्रै पनि सिक्नुपर्ला भन्ने सोच आइरहेका बेला उत्प्रेरकका रूपमा “निर्विकल्प” भेटेँ ।

निर्विकल्प पुस्तक आवरण

संस्कृत भाषा, वैदिक सनातन धर्म र हिन्दू सभ्यताका विभिन्न आयामको परिचयात्मक पुस्तक हो “निर्विकल्प” । सिद्धराज पन्तद्वारा लिखित यस पुस्तकलाई चार खण्डमा विभाजित गरिएको छ । संस्कृत वाङ्मय लगायतका विभिन्न सन्दर्भमार्फत् सनातन धर्मका बारेमा सरल शब्दमा बुझाउने प्रयास गरिएको छ ।

पहिलो खण्ड “नचिनेको मणि” मा सारा ब्रह्माण्ड र सम्पूर्ण प्राणी पृथ्वी, जल, तेज, वायु र आकाश अर्थात् पञ्चमहाभूतबाट बन्ने भएकाले “वसुधैव कुटुम्बकम” को मन्त्र सनातनीहरूले अपनाउने मत छ । यस खण्डमा सत्य एक भएपनि अनेक मत हुन सक्ने तर्क प्रस्तुत गर्दै सनातन धर्मले कुनै पनि पन्थका मतलाई अस्वीकार नगर्ने कुरामा जोड दिइएको छ । त्यस्तै, वैदिक परम्परा, श्रुति, स्मृति, इतिहास, आगम, सिद्धान्त र दर्शनको परिचय छ ।

पुस्तकको दोस्रो खण्ड “धर्म विज्ञान” रहेको छ । यसमा संस्कृत भाषाको निर्माण, सात बार किन र कसरी रहे, छन्दको मिठासजस्ता विषयहरू समेटिएको छ । साथै, श्रीमद्भागवत गीतामा रहेको निष्काम कर्मयोगको विषय पनि उठाइएको छ । एउटा अध्यायमा “धर्म निरपेक्ष” शब्दको पूर्ण रूपमा खण्डन गरिएको छ । चर्च र राजाबिचको द्वन्द्वका कारण चर्चलाई राजाका निर्ण्यबाट स्वतन्त्र राख्न आविष्कार भएको सेक्युलारिज्मको अनुवाद “धर्म निरपेक्ष” होइन । राज्यको कुनै धर्म हुँदैन भनेर “धर्म निरपेक्ष” शब्दको प्रयोग हुनु नै विस्मयकारी छ । किनकि राज्य (सञ्चालक) को धर्म जनतालाई सुख, समृद्धि, सुरक्षा आदि कुराहरूलाई सहज बनाउनु हो । पन्थ वा सम्प्रदायलाई धर्म भन्ने गरिएको प्रति लेखकको असन्तुष्टि छ जसमा म पनि सहमत छु ।

तेस्रो खण्ड “वर्णाश्रमधर्म” सोही विषयमा केन्द्रित छ । वर्णाश्रम धर्मलाई वेद, पुराण, स्मृति, इतिहास सबैमा महत्त्व दिइएको छ । “निर्विकल्प” मा पनि मनुस्मृति र महाभारतको शान्तिपर्वमा वर्णित वर्णाश्रम व्यवस्थाको चर्चा गरिएको छ जसले ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्रका विशेषताको बारेमा जानकारी पाइन्छ । चारै वर्णका धर्मका विषयमा विशेष चर्चा छ । वर्णाश्रम न्याय प्रणालीमा शुद्रलाई कम सजाय र ब्राह्मणलाई सबैभन्दा धेरै सजाय दिइने कुरा पढ्दा आश्चर्यमा परेको थिएँ । यसमा लेखकको तर्क यस्तो किसिमको छ, “कुनै विशेषज्ञ चिकित्सकले लापरबाही गरेमा उपचाररत व्यक्तिको मृत्यु हुन सक्छ र उसले ज्यानमारा मुद्दा खेप्नुपर्ने हुन सक्छ तर सफाइ गर्ने कर्मचारीको गल्ती क्षम्य हुन सक्छ ।”

त्यस्तै, यस खण्डमा कोभोडलगायतका विभिन्न उदाहरण दिएर छुवाछूत कुनै न कुनै रूपमा हुने तर्क दिइएको छ । छुवाछूतका भौतिक, मनोवैज्ञानिक र सामाजिक कारण केलाउँदै छुवाछूत संस्थागत भएको हालको अवस्थाको पनि विरोध गरिएको छ ।

अन्तिम खण्ड “आततायी कालखण्ड” हिन्दू जातिले भोगेका आक्रमण र तिनबाट भएको धर्म र सनातनीको क्षयीकरणलाई समेटेको छ । इस्लाम पन्थको सुरुवात, “काफिर” विरुद्धका आक्रमण, हिन्दू राज्यमाथि गरिएका छलकपट र लुटको विवरण छ । नालन्दाजस्ता विश्वविद्यालयमा हुने विद्यार्थी छनौट प्रकृया, वरपरका गुरुकुलको वर्णन साथै तिनको विनाशको चर्चा छ । राति विवाह गर्ने, हिन्दू नारीहरूले घुम्टो लगाउने, बालविवाहजस्ता प्रचलन त्यही बेला सुरु भएको रहेछ । यस्तै विवरण लेखनाथ पौड्यालको “सत्य-कलि-संवाद” मा पनि रहेछ्न् ।

यस खण्डमा अङ्ग्रेजले भारतमा गुरुकुलहरू लाखौंको सङ्ख्यामा रहेको, त्यहाँ पढ्नेमा शुद्रहरूको सङ्ख्या बढी रहने गरेको र त्यस प्रणालीलाई अन्त्य गर्न अङ्ग्रेजी शिक्षा प्रणाली सुरु गरी भारतीयलाई सोतर्फ आकर्षित गरेको कुरा प्रमाणसहित दिइएको छ । विस्तारै गुरुकुल परम्परालाई नाश गर्दै भारतीयको आत्मविश्वास गिराउने काम अङ्ग्रेजले गरेको तर्क लेखकको छ । नरेन्द्र मोदी प्रधानमन्त्री भएपश्चात् केही आत्मविश्वास बढेको विश्वास लेखकको रहेको छ ।

पुस्तकमा अलि चित्त नबुझेको कुरा चैं वर्णाश्रम धर्मलाई विदेशीले फुटाउन प्रयोग गरे भन्ने तर्क हो । वर्णाश्रम साँच्चिकै शास्त्रानुरूप चलेको भए विदेशीले अपव्याख्या गर्न सक्ने नै थिएनन् । ब्राह्मणको छोरा ब्राह्मण र राजाका छोरा राजा नै हुने प्रसङ्गहरू महाभारतमै पनि टन्नै छ्न् भने मुस्लिमहरूको आक्रमण हुने बेलासम्ममा के अवस्था थियो होला ? महाभारतमा विदुरलाई छाडेर दासपुत्र उच्च ओहदामा पुगेको याद छैन । दासदासी राख्ने चलन थिएन र राख्दा पनि सम्मानसाथ राखिन्थ्यो भन्ने तर्क पनि अलि कमजोर नै छ ।

नेपालमा सनातन धर्ममा मुस्लिम आक्रमणले पारेका प्रभाव खासै केलाइएको छैन । नेपाल र भारतका परम्पराहरू किन फरक छ्न् भन्ने विषयमा केही चर्चा गरिएको भए हुन्थ्यो । “हिन्दू” शब्दको व्याख्यामा जम्बुद्वीप पूरै अटेको छ तर यही उत्पन्न बौद्ध, जैन, किराँत, जस्ता पन्थ र दर्शनको खासै चर्चा छैन । त्यस्तै, अन्तिम खण्डमा “सङ्गम टक्स” युट्युब च्यानलमा गरिएका प्रस्तुतिहरूलाई धेरै ठाउँमा स्रोतका रूपमा लिइएको छ । धेरै स्रोतहरू समेटिएको भए अझै राम्रो हुने थियो । एउटै स्रोत प्रयोग गर्दा बायस्डनेस हुने कुरा पेशाले इन्जिनियर समेत रही सक्नु भएका लेखकले याद गर्नुपर्थ्यो ।

अन्त्यमा, सनातन धर्म र यसका विशेषताको चर्चा गरिएको “निर्विकल्प” एक पठनीय पुस्तक हो । यसलाई थुप्रै एपमा सित्तैमा डाउनलोड गर्न सकिन्छ ।

Powered by WordPress & Theme by Anders Norén