(सुझाव : डा. श्रीधर खनाल रचित सावर्णि उपन्यास पढ्नुभएको छ भने पढ्नुहोला । कहानी खोतलखातल गरिएको छ । उपन्यास पढ्नुभएको छैन तर पनि यो लेख पढ्न चाहनुहुन्छ भने पनि ठीकै छ ।)
यस लेखमा…
पृष्ठभूमि
पुराणहरू भन्छन्– ब्रह्माको आयु १०० वर्ष हुन्छ । ब्रह्माको ५० वर्षको समयलाई परार्ध भनिन्छ । ब्रह्माको दिन (१२ घण्टा) अर्थात् कल्प मा सृष्टि हुन्छ र रातमा प्रलय भई सृष्टिको अन्त्य हुन्छ । प्रत्येक कल्पमा चौध मन्वन्तर हुन्छन् जसमा चौध मनुहरूले मानवको सृष्टि वा संरक्षण गर्छन् । हरेक मनवन्तरमा एकहत्तर महायुग (चतुर्युग) हुन्छन् । हामी अहिले ब्रह्माको द्वितीय परार्धको पहिलो वर्ष अर्थात् ५१ औं वर्षमा श्वेतवराह कल्पको ७औं मनुको समय (वैवश्वत मनवन्तर) अन्तर्गत २८औं महायुगको कलियुगमा छौँ । २८औं महायुगकै द्वापर युगमा भगवान् विष्णु अवतरित हुनुभएको थियो श्रीकृष्णका रूपमा । ८औं मनुलाई सावर्णि भनिएको छ । सप्तशती (चण्डी)मा पनि देवीको एक नाम सावर्णि रहेको छ ।
डा. श्रीधर खनाल कृत उपन्यास सावर्णिको मूल पात्र सावर्णि पनि मनुझैं मानवको उत्पत्ति र संरक्षण गर्छन् । यद्यपि उनी देवी भने होइनन् । उनी एक कृत्रिम बौद्धिकता भएका तर भावुक यन्त्रमानव हुन् जो लोप भइसकेका मानवलाई ल्याबमा जन्माउँछन् र तिनलाई पालनपोषण एवम् दिशानिर्देश गर्छन् ।

सावर्णि उपन्यासको कथा
उपन्यासमा दुईवटा कथा छन् । पहिलो अध्यायको कथामा जीपीटी-२००० नामको एआई सफ्टवेयरले न्यारेटरलाई पिछा गर्छ, फोन गर्छ र एउटा इमेल पठाउँछ । यो बाह्रखरी उत्कृष्ट कथा २०८० मा रहेको जीपीटी २००० शीर्षकको कथामा पनि भेटिन्छ । यस कथाको समीक्षामा लेखेको थिएँ :-
ChatGPT 4.0 ले तहल्का मच्चाइरहेको बेला जीपीटी २००० ले धमाका गर्ने आशा पलायो । कथाको सुरुवात राम्रो लाग्यो । जीपीटी २००० ले मोबाइलमा इन्स्टल गरेपछि इमेल, क्यामरा र लोकेसनको आधारमा ट्रयाकिङ गर्ने कुरासम्म कथा ठीकै थियो । ‘असुर’को दोस्रो सिजनको झल्को आउला जस्तो लागेको बेला उसले न्यारेटरलाई सर्वोत्कृष्ट भन्दै गरेको भविस्यवाणीले कताकता ‘म्याट्रिक्स’ को झल्को दियो । आपसी कलहका कारण मानिसहरू लोप भइसकेपछि पनि AI बच्ने कुरा अलि पत्यार नलाग्दो नै थियो । हुन त AI को भविस्यवाणी हो । मिल्नैपर्छ भन्ने छैन ।
उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १)
त्योभन्दा पनि पत्याउन नसकिने कुरा चैं जीपीटीले आफूले सबैलाई ट्रयाक गरिरहेको कुरा कसैलाई भन्ला भन्ने हो । हामीले इन्स्टल गर्ने एप्लिकेसनहरूले हामीलाई ट्रयाक गर्ने कुरा नौलो हैन । जानी नजानी हामी permission पनि दिइरहेका हुन्छौँ । तर सिधै फोन र इमेल गरेर ट्रयाक गर्छौँ भने भने वाचकले झैं uninstall गरेर व्यापार चौपट हुन्छ होला । खैर, कथामा जताततै देखिने मानवीय प्रलयको डरको लामो वर्णन छ जुन अझै रोचक बन्न सक्थ्यो जस्तो लागिरह्यो ।
जीपीटी २००० को दोस्रो भागको फैलावटका रूपमा सावर्णिको मूल कथा प्रस्तुत गरिएको छ । सावर्णिले मानव बनाएर हुर्काएको हजारौं वर्षपछिका देरिका र वासु अनि उनीहरूका सन्तान किसनको वरिपरि घुम्छ । यी पात्रका नाम द्वापर युगका देवकी, वसुदेव र कृष्णसँग मिल्छ । रूखमा चढेर बाँसुरी बजाउने र नदीमा पौडी खेल्ने किसनका दृश्यहरू कृष्णका कहानीबाट झिकिएका छन् । तथापि किसन कृष्ण होइनन् । न त देरिका र वासु हुन् देवकी र वसुदेव ।
देरिका र वासु सावर्णिले बनाएको नगरका नगरवासी हुन् । उनीहरू पूर्णतः एआई पर्सनल एसिस्टेण्ट (पीए) र रोबोटको नियन्त्रणमा छन् । पीएमाथि उनीहरू यति निर्भर छन् कि घरबाट निस्किन र साथि बनाउन समेत उनीहरू आफैँ सक्दैनन् । यस्तोमा देरिका र वासु पीएको सहायताले प्रेम गर्न पुग्छन् । देरिका गर्भिणी भएपछि जाँच गराउँदा भ्रुणमा जेनेटिक डिफेक्ट देखिएको भन्दै सात पटक एबोर्सन गरिन्छ । आठौँ बच्चा बस्नुअघि भने देरिकाको पीए देरिकले आफूलाई बन्द गर्न सुझाउँछ ताकि सेन्ट्रल सिस्टमलाई थाहा नहोस् । नौ महीनापछि द्वापर युगमा कृष्ण जन्मिएको ग्रहनक्षत्रको अवस्थामा किसनको जन्म हुन्छ । साथै, किसनको जीवनको सन्दर्भमा भविस्यवाणी गरिन्छ कि उनी एउटा युद्धको कारक बन्नेछन् । उनले भविस्यमा के गर्लान् भन्ने कुतूहलले अन्तिमसम्म तानिरहन्छ ।
शास्त्रार्थ : मानव को हो ?
उपन्यासको क्लाइमेक्स अघि किसन र सावर्णि अनेक विषयमा शास्त्रार्थ गर्छन् । यद्यपि लेखकले बढी महत्त्व दिएको विषय हो, “मानव को हो ?”
किसन प्रश्न गर्छन्, सावर्णि युगमा जन्मिएका प्राचीन (हामी र हाम्रा पुर्खा) जस्तै देखिने तर हरेक कुरामा एआईमा निर्भर प्राणी मानव हुन् त ?
पुराना मानिसको जस्तै जेनेटिक्स र स्वरूप भएकाले ती मानव नै हुन् भन्ने तर्क सावर्णिको छ । किसनको राय फरक छ । मानव स्वरूप भएपनि यदि उनीहरू आफैँ सोच्न सक्दैनन्, हरेक कुरामा एआईको भर पर्छन् भने उनीहरू एआईका दास हुन् । जसमा तर्क गर्ने क्षमता छैन, जो कुनै कुरा रचना गर्न सक्दैनन्, जसलाई डरले हरेक समय जकडेको छ, ती मानव कसरी हुन सक्छन् ?
अहिले नै पनि हामी मानव भएर जीउन सकेका छैनौँ । मानव सिर्जित कृषि र आय आर्जनका कार्य, धन, समाज, राजनीतिजस्ता विषयले हामीलाई स्वतन्त्र बनाउन दिएका छैनन् । त्यसैले त रुसोले द सोसल कन्ट्र्याक्ट मा लेखेका छन्, “मानिस स्वतन्त्र जन्मन्छ तर त्यसपछि सर्वत्र साङ्लोले बाँधिन्छ ।” क्याल्कुलेटर, कम्प्युटर, स्मार्टफोनजस्ता आविष्कारले हाम्रो जीवन सहज बनाएका छन्, सूचनामा पहुँच पनि बढाएको छ तर हामीलाई अल्छि पनि त बनाइरहेको छ । धेरै दिमाग लगाउने कामहरू सहजताका हिसाबले कम्प्युटर र मोबाइललाई त दिइ नै सकेका छौँ । अहिले मज्जाले दोहोरो कुरा गर्न सक्ने अनि हाम्रो भाषा बुझेर हाम्रा सवाल हल गर्न सक्ने Generative Pre-trained Transformer (GPT) प्रोग्रामहरूले हामीलाई मोहनी लगाएका छन् । Virtual reality ले पनि हामीलाई बाँध्न थालिसकेको छ । अझै विकसित हुँदै जाँदा प्रविधिले हामीलाई “Her”, “Matrix”, “I, Robot”, “Terminator”, “Ready Player One” जस्ता चलचित्रमा देखाइएको जस्तो संसार अब टाढा छैन भन्न सकिन्छ ।
सूचनामा छिनमै पहुँच भएका हामीले विकसित गरेका स्मार्ट प्रोग्रामभन्दा स्मार्ट हुनु अबको हाम्रो चुनौती छ । ChatGPT ले पनि त आफैं भनेको छ कि उसको जवाफ गलत हुन सक्छ । खासगरी प्राविधिक विषयमा यसको प्रयोग गर्दा cross-question गर्न जानिएन, critically हेर्न सकिएन भने गलत सूचना पाउन र फैलिन सक्छ । केहीदिनअघि बुकाहोलिक्समा किताबहरू सम्बन्धी टृभियाको लामो सूचि देखिएको थियो । अङ्ग्रेजीबाट नेपालीमा ChatGPT ले अनुवाद गरेको भनिएको सो पोस्टमा एउटा टृभिया थियो, “हुर्री र नशा जस्ता शब्दहरू शेक्सपियरले आविष्कार गरेका थिए ।” शेक्सपियरले नेपालीमा त कुनै शब्द आविष्कार गरेका हैनन् । अङ्ग्रेजीमा के रहेछन् भनेर सोधेको थिएँ । एक जना साथीले मेसेजमा भनिदिनुभयो तर त्यो पोस्टको कमेन्टमा कपी-पेस्ट गरेँ है भन्ने विद्वान साथीहरू पनि हुनुहुन्थ्यो । ChatGPT माथि पढेलेखेका विद्वानले नै पूर्ण विश्वास गर्नु अनि त्यहाँ दिइएका तथ्य केलाउन नखोज्नुले मलाई त्यस्तै त्रसित बनायो ।
अहिले त एआईले बनाएका चित्र, चलचित्र, गीतसङ्गीत, लेख रचना इन्टरनेटभरि छरपस्ट छन् । Deepfake (एउटाको शरीरमा अर्काको अनुहार राख्ने) जस्ता प्रविधि त दश वर्षअघि नै आइसकेको थियो । अब चाहिँ हातहातमा आउँदैछन् । कुन साँचो कुन झुठो भन्ने छुट्याउन झन्झन् गाह्रो हुँदैछ । भविस्यमा यसले अझ विकराल समस्या ल्याउन सक्नेछ । हाम्रा बाजागाजा लोप हुन सक्नेछन्, हाम्रो रचनागर्भ खाली हुन सक्नेछन् अनि हामी आत्मविश्वासहीन भई एआईको नियन्त्रणमा हुनेछौँ ।
यस्तो हुन नदिन हामी सजग हुनुपर्छ । हरेक कुरालाई भेरिफाई गर्नुपर्छ । आफ्नो रचना बैंकलाई रिचार्ज गरिराख्नुपर्छ । सम्बन्धहरू गाँस्नुपर्छ । प्रविधि साक्षरता बढाउँदै प्रविधिलाई उछिन्नुपर्छ ।
केही अनुत्तरित प्रश्नहरू
सावर्णिमा किसनले आफैँ घरबाहिर जानु, बाँसुरी बजाउनु, रूख चढ्नु, पौडी खेल्नुजस्ता कार्यलाई क्रान्तिकारी भनिएको छ किनभने सावर्णिको नगरमा ती कहिल्यै नगरिएका कुरा हुन् । यिनै कुराले कथालाई रोचक बनाउँछन् । किसनले गरेका कामको सजाय सावर्णिले देलान् कि नदेलान् भन्ने मनमा परिरह्यो अनि कथाले अनौठा मोड लिइरह्यो । अन्तिमसम्म आइपुग्दा भने केही प्रश्नहरू आइरहे जसको जवाफ पाइएन ।
१. सावर्णिलाई कसले डिजाइन गर्यो ?
२. उनलाई एआई प्रमुख किन र कसरी बनाइयो ?
३. मानवहरू लोप भएको वर्षौंपछि सावर्णि कसरी “जीवित हुन” सके ?
४. सावर्णिको शरीर कुन वस्तुले बनेको थियो ? उनलाई बाँधेको साङ्लो के को थियो ? फलाम, स्टील वा आल्मुनियम त हजारौं वर्षमा पूरै खिइन्छन् । प्लास्टिकमा समेत त्यत्रो समयमा त परिवर्तन आउँछ ।
५. सावर्णिजस्ता अरू यन्त्रमानव किन एउटा पनि रहेनन् ?
६. उपन्यास भन्छ, “पृथ्वीमा ठूलठूला चिरा परेको थिए ।” ती चिराले असुरक्षा पनि बढाएको छ । तथापि जुन सावर्णिले जेनेटिक रिकोडिङ गरेर मानव भ्रुण ल्याबमा तयार गर्न सके तिनले चिराहरू पुर्न वा बन्द गर्न किन सकेनन् ?
७. सावर्णिले मानिसहरूलाई किन भाग्यवादी बनाए ? बालकको न्वारानसँगै गरिने भविस्यवाणीलाई किन महत्त्व दिइएको ?
८. जेनेटिक रिकोडिङ गरेर बनाइएका मानवका सन्तानबाट जन्मिएका किसनमा पुराना मानिसको जिन कसरी आयो ?
९. किसनले बुवालाई खाना पकाउन किन लाएनन् ? किन आमालाई मात्रै लगाए ?
१०. जहाँ मानिसहरू एआईको नियन्त्रणमा रहन्छन् र जेलजस्तो जीवन बिताउँछन् त्यहाँ सजाय र जेलको व्यवस्था किन चाहिन्छ ?
११. किसनले सानोमा कानून तोड्दा सजाय पाए । तर पछि जेल जाने बेलामा त बेकसुर थिए । सावर्णिले पनि स्वीकारेका छन् अनि फेरि जेल जान किन राजी भए ? किसनमा विद्रोह उब्जिएर अरूलाई पनि पीएबाट स्वतन्त्र हुन आह्वान गरेका भए ?
१२. किसन जेल जाने बेला र त्यसपछि वासु कता गए ?
१३. मङ्गलबाट मानिस फर्किन सक्छ भन्ने पूर्वानुमान गरेर देरिकमार्फत देरिकालाई किसन जन्माउन प्रेरित गर्ने सावर्णि मङ्गल ग्रहबाट मानिसहरू आउँदा किन छक्क पर्छन् ?
१४. मङ्गलको हावापानीमा एड्याप्ट भएर आणविक हातहतियार बनाउने पुस्तासम्म पुग्न साँच्चै चैं कतिको सम्भव होला ?
१५. किसनको सल्लाह मानेर सावर्णिले मानव आफू र आफ्नो सिस्टमबाट मुक्त गर्लान् ? (यहाँ सावर्णि २ को सम्भाव्यता देख्दै छु ।)
सोचमग्न बनाएका केही कुरा
उपन्यासमा एआईको नियन्त्रणमा नरहेका मानिसलाई धेरै ठाउँमा मूर्ख, युद्ध गर्न चाहने र घातक चित्रित गरिएको छ । “मानवविनाको पृथ्वी सुन्दर थियो ।” दुईतीन ठाउँ लेखिएको छ । यद्यपि सावर्णि एक्लो महसुस गर्छन् र बचेखुचेका शुक्रकीट र डिम्ब प्रयोग गरी केही जेनेटिक हेरफेर गरेर मानव नै तयार पार्छन् । नौ दश बच्चालाई हुर्काउन सुरुमा पीए रोबोट तयार गरेको भने पनि निरन्तरता दिइरहेकै छन् । त्यस समयमा पहिलेझैं वनस्पति र पशुपन्छी थिए पनि भनिएको छ तर मानव जीवनका लागि अनुकूल थिएन, विकिरण धेरै थिए आदि इत्यादि जस्ता विरोधाभास हुने कुरा पनि भनिएको छ ।
सावर्णिले कानून लुकाएका छन् । कतिपय कानूनको बारेमा पीएलाई पनि थाहा छैन । फेरि सावर्णिले इतिहास लुकाएका मात्रै छैनन् अन्तिमसम्म आइपुग्दा तोडमरोड नै गरेका छन् । पहिलोचोटि पढ्दा मलाई सावर्णि करूणामय लागे । मानवलाई बचाउन उनले गरेका प्रयासप्रति कृतज्ञ भए । दोस्रोपटकमा भने उनका नकारात्मक पाटो बढी खुले । अन्तिम अनुच्छेदका दृश्यहरू त भयानक नै लागे । उपन्यासमा सिधासिधा मानवलाई जति क्रूर भनिएको छ, त्यस्तै क्रूर सावर्णिलाई पाएँ ।
चित्त नबुझेका कुरा
१. नारायणस्वरूप श्रीकृष्णको चरित्रबाट प्रेरित किसनलाई पछिल्लो भागमा कमजोर बनाइएको छ । श्रीकृष्णको चरित्र नदेखाई मौलिक कथा पेश गरिएको भए अझै राम्रो हुन्थ्यो ।
२. व्याकरणीय समस्याहरू, जस्तै :
क) भूत कालको बीचमा वर्तमान कालको प्रयोग ।
ख) एकै अर्थका दुई कुरा सँगसँगै आउनु (redundancy), उदाहरण : “देरिकाले आस्ते-आस्ते मीठो र स्वादिलो खाना पकाउन सिक्दै गई ।”, “धुन खास अनि विशेष थियो ।” आदि ।
“प्रोफेसनल” प्रकाशनहरूबाट प्रकाशित कृतिहरूमा यति धेरै व्याकरणमा समस्या हुनु नहुने हो ।
३. Stephen Hawking को नाम नेपालीमा स्टेफन हकिङ्स र इस्टेफेन हकिङ्स लेखिएको । स्टेफेन हकिङ हुन्छ होला । हकिङ्स त हुँदै हुँदैन ।
अन्त्यमा
कथानकले बढाउने हुटहुटी र दार्शनिक पक्षले सावर्णिलाई पठनीय बनाएका छन् । यद्यपि कथामा भर्न बाँकी खाडल थुप्रै छन् । सावर्णिको पात्रलाई अझै एक्स्प्लोर गर्न सकिन्छ र कथाहरू विस्तार गर्ने ठाउँ अझै छन् । उपन्यास प्रकाशनमा अलि हतार गरिएको हो कि भन्ने पनि लाग्यो । द्वापर युगको कथासँग नजोडिएर मौलिक कथा सिर्जना गरिएको भए अझै उत्कृष्ट बन्न सक्थ्यो ।
Discover more from Stories of Sandeept
Subscribe to get the latest posts sent to your email.
Leave a Reply