Experiences of a common man!

Category: साहित्य

रमितेको आवरण

रमिते : सभ्यताको पहेली बोकेको उपन्यास

नाइटका मुख्य गायक तथा सङ्गीतकार जेसन कुँवरको उपन्यास सार्वजनिक नहुँदै व्यग्र प्रतीक्षामा थिएँ । सार्वजनिक हुँदा आवरणको अघिल्लो भागमा नाम थिएन । छेउमा मात्रै थियो: रमिते – जेसन कुँवर । आवरणले नै खुल्दुली जगाएको थियो । पहिलोचोटि उपन्यास पढेपछि बुझेजस्तो पनि भयो, नबुझेजस्तो पनि । दोस्रोपटकको पठनमा अलि गहिरिएँ । यो समीक्षा यी पठन अनुभवबाट निस्किएको छ ।

जेसन कुँवर कृत रमिते सभ्यताको कथा बोकेको एउटा स्वैरकाल्पनिक उपन्यास हो । यद्यपि यो उपन्यास मात्रै हैन । कुँवर र उनको ब्याण्ड नाइटले यसलाई मल्टीमिडिया प्रोजेक्ट भनेको छ । रमिते भोल्युम १ र २ गीति एल्बम, तीसँग सम्बन्धित केही युट्युब भिडियो, र उपन्यासको कथासँग सम्बन्धित नक्सासहितको वेबसाइट आइसकेको छ । रङ्गमञ्चमा पनि उतार्ने कुरा थियो तर अहिलेसम्म बनेको थाहा पाएको छैन । पहेलीजस्तो उपन्यास र अन्य सामग्रीले उपन्यासमा नभनिएका कुराहरूले पाठकको धैर्य र बुद्धिमताको परीक्षा लिन्छन् ।

कथा सार

रमिते उपन्यासले पाठकलाई स्वाट्ट आफ्नो संसारमा तान्छ अनि पाठक आफूलाई खिलेहरूसँगको यात्रामा पाउँछ । पहाड, दलदल, जङ्गलमा खिले र उसका साथीहरू किन हिँडिरहेका छन् भन्ने बुझ्न केही समय लाग्छ । धैर्य राख्दै पढ्दा जब खिले सुल्फाको मातमा एउटा दलदलमा फस्छ तब ती यात्री को हुन् भन्ने प्रश्नको उत्तर पाइन्छ ।

ती यात्री ३०९ दिनअघि उगा गाउँबाट हिँडेका थिए । उगामा वरिपरिका गाउँहरू न्याउरी, खोर्लाङ, छेतुम, थाम्बोङको तुलनामा सह छ । धर्के बा पन्ध्र वर्षको हुँदा पहिलो पटक गाउँ छाडेर निकै पर परका गाउँमा पुगेर नयाँ बीउ र खेतीको नयाँ सीप ल्याए । प्रत्येक दश वर्षमा उनी गाउँ छाड्थे अनि माटोको सह कायम राख्थे । पाँच पटकसम्म त्यसै गरे । उनको सिको गरे अरू युवाहरूले पनि । सुरु भयो दसपर्म ।

खिले किशोर छँदा खुराल काका र उनका दौँतरी दसपर्म गएर गाउँ फर्किन्छ्न् । ऊ तिनका कहानी सुन्न गइरहन्छ अनि दसपर्म जाने रहर गर्छ । खुराल काकासँग खोर्लाङ गाउँ जाँदा उसले अरू गाउँलेहरू अन्न नपाएर कसरी छट्पटिएका छन् भन्ने बुझ्छ । दसपर्म साहसका रमाइला कथा मात्रै हैन, यो त दु:खमा परेका गाउँ र मानिसहरू चिन्ने र तिनलाई सहयोग गर्ने तीर्थाटन पनि हो ।

खिले जवान भएपछि धर्के बा र अरूसँग तालिम लिएर नजिकका गाउँका रिक्टे, खोरे, सिक्रे र धुसेसँग दसपर्म जान्छ । गाउँबाट पश्चिम जाँदै गर्दा चुरिया नजिकै सिक्रे बिरामी पर्छ र त्यतैतिरको गाउँमा बस्छ । अरूहरू धिचुबाट हिँडेपछि झुक्किएर अर्कै बाटो पुग्छन् अनि मगडी नजिक दलदल छेउ पुग्छन् (जहाँ खिले फस्छ तर साथीहरूले निकाल्छन् ।) जसोतसो दलदल पार गरेपछि गँगटे खोला तरेर एउटा गुफामा पुग्छ्न् । त्यहाँ भेटिन्छ, एउटी महिलाको लास र एउटी नौ दश वर्षकी मरणासन्न बच्ची ।

उपन्यासको कथा अब त्यो महिलाको गाउँ लाकु र गँगटे पारिको त्रिचाथातबिचको दुस्मनीमा केन्द्रित हुन्छ । लाकु पश्चिमको धुल्जेङ्ग पहाडपारि बिरासर भन्ने राज्य छ । त्यहाँबाट सिकार खेल्दै आउँदा एउटी योगिनीको पछि लागेर त्रिचापिल्ल र तिनका सेना धुल्जेङ्ग कटेर मगडी आइपुग्छ्न् । बिरासरमा खबर पुर्‍याउन खोज्दा भने कसैले धुल्जेङ्ग पार गर्न सक्दैन । उनीहरू बिस्तारै त्यतै बस्न थाल्छन् । योगिनीसँग त्रिचापिल्लले बिहे पनि गर्छन् र तिनका सन्तान पनि जन्मिन्छन् । एक रात योगिनीले तान्त्रिक साधना गरेको फेला पारेपछि मार्न तम्सिन्छन् तर सक्दैनन् । त्रिचापिल्ल गँगटे तरेर पारी लाग्छन् र त्रिचाथातको बस्ती बसाउँछन् ।

यस्ता कथा सुनेर हुर्किएको त्रिचाथातको डुम्रे आफ्ना गाउँका सारा समस्याको जड लाकुका योगिनीका सन्तान हुन् भन्ने मान्छ । तिनलाई दु:ख दिन कुटपिट र लुटपाट गर्छन् डुम्रे र उसका साथीहरू । गाउँका पुरुषहरू कुटाई र गरिबी सहन नसकेर गाउँ छोड्न थाल्छन् । मरेबाँचेको खबर आउँदैन । डुम्रे र उसका साथीहरू मगडीका महिला र बच्चीहरूलाई दुर्व्यवहार गर्न थाल्छन् । टुहुरीले प्रतिकार गर्छे । बेली चैं योगिनीको सल्लोमा भएको विद्या प्रयोग गरेर डुम्रेलाई मार्न खोज्छे । उता डुम्रे हिर्कोटेहरूसँग मिलेर योगिनीको शक्ति नास गर्ने भन्दै मगडीका सबै घर र मानिसलाई जलाउँछ । बेली उसकी छोरी ईलाखालाई लिएर सर्पगुफामा पुग्छे । योगिनीको अस्तु खोज्न डुम्रे त्यहाँ आइपुग्छ र बेलीको टाउको फुटाउँछ । ईलाखालाई खिलेहरूले उद्धार गर्छ्न् ।

ईलाखासँग खिलेहरू खर्क र धुल्जेङ्ग हेर्न जान्छन् । टुहुरीसँग कथा सुन्ने पाबुहरू त्यही बाटो परदेश हिँडेका हुन्छन् । पाबु र उसका साथीहरू पहाड पार गर्न लाग्दा भोक, थकान, र चिसोले बिरामी हुन्छन् । पाबुले अचेत अवस्थामा देखेको जादुमयी दृश्यसँगै उपन्यास टुङ्गिन्छ ।

रमितेमा सभ्यता

रमितेमा मूलतः मानिसको पीडाको कथा प्रस्तुत गरिएको भए पनि यो सभ्यताको कथा हो । मानिसले समाज र सभ्यता कसरी स्थापना गर्छ, कसरी प्रेम र करूणाबाट उत्थान गर्छ अनि स्वार्थ, घमण्ड एवम् डरका कारण पतनसम्म पुग्छ भन्ने कुराहरूको वर्णन पाइन्छ ।

मगडीको सभ्यता

हरेक मानिसमा केही साझा प्रश्न हुन्छन्, ‘म को हुँ । यो संसारमा मेरो स्थान के हो ? म के छाडेर जान सक्छु ?’ यस्ता प्रश्नको उत्तर खोजिन्छ समाज, धर्म, र सभ्यतामा । अनि जन्मिन्छ सृष्टिको मिथक (creation myth) । गँगटे खोलाको आसपास रहेको मगडीमा त्यस्तै एउटा मिथक छ कबिसको ।

शून्यबाट सुरु गरे कबिसले ।

संसारमा त केइ थिएन पहिले । अँध्यारो, शून्यशान्य । नास्ति ।…

कबिसले पहिले धरती, अक्कास, घाम, जून, र तारा बनाए ।…

…दलदलको माटो मुछेर कबिसले जनावर, कीट-पतङ्ग, चराचुरुङ्गीको बान्की बनाए । अनि सास फुकेर ती सप्पैलाई जीवन दिए ।

अलि पछि एउटा सपना देखे । त्यसपछि आफ्नै स्वरूपमा नयाँ जीव बनाए–मान्ठ (मान्छे) । उसलाई आफ्नो सबै सीप र ज्ञान दिए । तर:

… मान्ठ अघाउँदै नअघाउने । जति पूरा गरे पनि मान्ठका अर्को एक रहर बढिहाल्थ्यो ।

हरेक कुरमा मान्ठ झगडा र मारकाट गर्न थालेपछि कबिसलाई चिन्ता लाग्न थाल्यो । जति मिलाउन खोज्दा पनि सकेनन् ।

कबिसले त चोखो मन राखेर मान्ठको सृष्टि गरेका थिए । रिस, ईर्ष्या, डाह चाहिँ मान्ठ आफैँले सिर्ज्यो ।

हार खाएर कबिस संसारबाट अलप भए । सहकाल पनि गयो । एकदिन गाउँका एक वृद्धका सपनामा कबिस आउँछन् र सह फर्काउने भए नान्नानी (केटाकेटी)को भोग लगाउनुपर्छ भन्छन् । गाउँ नयाँ रीति बन्छ मानवबलीको । विरोध गर्नेहरू मारिए, लखेटिए ।

जब हिरीकी छोरीको पालो आयो, उनीहरूले बलिप्रथाको विरोध गरे तर गाउँलेले छोरी लगे, लोग्नेलाई जलाए । विह्वल भएकी हिरीले छोरीसहित दलदलमा हाम फाली । यस घटनापछि दलदललाई हिरीको दलदल र गाउँलाई हिर्कोट भन्न थालियो ।

हिरीको आत्मा भने अशान्त नै रह्यो । गाउँका बच्चाहरू हराउन थाले । मगडीको शिरमा दुमाहा बजाउन अनि फेदमा शङ्ख फुकिन थालेपछि योगिनीको रूप लिई । तिनै योगिनीले त्रिचापिल्ललाई बिरासरबाट ल्याइन् अनि मगडीका सबै संस्कार, नियम उनले भनेजस्तै परिवर्तन हुँदै गयो ।

यसरी मगडीको सभ्यतामा सृष्टिको कथासँगै विभिन्न रीतिरिवाज र बाहिरी हस्तक्षेपसम्मको कथा पाइन्छ । कथा र मिथकका रूपमा मगडीको ईतिहास बाँचेको देखिन्छ ।

उगाको सभ्यता

कालुम्गे हिमालमुनि धाम्सुली खोलाको वरिपरि बसेको उगाको सभ्यताको सुरुवात मगडीमा जस्तै एक व्यक्तिको पुरुषार्थबाट हुन्छ जो भगवान जस्तै छन् । उगाको बस्ती बसाउन र समृद्ध बनाउन धर्केको महत्वपूर्ण भूमिका छ । उसले सुरु गरेको दसपर्मबाट नै त्यो सम्भव भयो । खोर्लाङको मुख्खे भन्छ,

गाउँमा सास फुक्यो धर्केले । अझ आसपासका गाउँ सप्पैलाई एक बना’को छ । मारकाट र लुटपाटले सारा सखाप भइसक्थ्यो । एकअर्काका रगत र मासु खान्थ्यौँ । … तिनलाई सप्पैले देउता मान्छन् भन्थे हाम्रा बाले । सय बर्ख तार्‍यो तेसले अब त । अझ अस्ताउने छाँट देखाउँदैन । यत्रो बर्ख गाउँठाउँ एकै गरेर बाँधेर राख्न सक्नु कसैको हुतीले भ्याउने कुरो होइन । कालुम्गेको रगत बग्छ तेसको नसामा ।

यताका मानिसहरू पनि सबै ठाउँमा सह नआएकाले चटकेको पर्खाइमा छ्न् । त्यही आस्थाले पनि सबैलाई जोड्न सकेको छ ।

उत्थान र पतन

विरासर त्रिचापिल्लका पुर्खाले निकै मिहिनेतले बनाएका थिए । त्रिचापिल्ल आफैँ त्रिचाथातका संरचना र नियम कानून बनाउँन पुग्छन् । योगिनीले आफ्नो विद्या प्रयोग गरेर मगडीको स्थापना गर्छिन् ।

सभ्यताको निर्माणसँगै रीतिरिवाज पनी जन्मिन्छन् । धर्केले सुरु गरेको दसपर्म उगाको अभिन्न चलन र परिचय बनेको छ । जहाँजहाँ दसपर्म जान्छन् त्यहाँ आफूसँग भएका अन्नका बीउ र सीप बाँड्छन् । ती गाउँमा नयाँ बालीको बीउ र सीप भए उगालाई सिकाउँछन् ।

मगडीमा योगिनीले आफ्ना विद्याका आधारमा रीति बसाइन् । आफ्नै लिपि बनाइन्, नागी । त्यसमा लेखिन् तिनमा जडीबुटी, मानिस, घोडा र अन्य जनावरको स्नायुलगायत प्रणालीहरूको ज्ञान छ । केही समय गाउँलेहरू तिनमा आधारित भएर चले । मगडी पारिका त्रिचाथात, हिर्कोटमा ठीक उल्टो थीति बस्यो । योगिनीको ज्ञान विस्तारै हराउँदै जाँदा मगडीमा उनी देवीजस्ती भएकी छिन् । अरू गाउँलेका लागि भने तिनी अतृप्त राक्षसी बनेकी छिन् ।

प्रायः सबै गाउँमा सह हराउँदै गएको चिन्ता छ । उगा र उसले सहयोग गर्ने खोर्लाङ र छेतुमजस्ता गाउँमा कालुम्गे हिमाल पारिबाट कोही चटके आएपछि सबै ठीक हुन्छ भन्ने आशा छ । मगडी योगिनीको पुनर्जन्म हुने आश गर्छन् । मगडी र त्रिचाथातकाहरू धुल्जेङ्ग कटेर विरासर पुगेपछि सबै ठीक हुने सपना देख्छन् ।

आफ्नो सभ्यता अन्त्य होला भन्ने डर पनि गाउँहरूमा छ । मान्छेले मान्छेलाई खाने अवस्था आउने हो कि भनेर पनि उनीहरू सहयोगी बनेका छन् । कुनैकुनै गाउँमा त्यस्तो अवस्था पनि आइसकेको कुरा पाबुकी आमाको कथामा भेटिन्छ ।

देबाले मलाई झुलुक्क हेर्‍यो । उसको आँखामा पहिलो पटक डर देखेँ । … टाउकोदेखि घुँडासम्म छोप्ने गरि भाङ्ग्रा ओढेका पाराले नै ती मान्छेहरू रिम्के फेदीका थिए भन्ने बुझिहालेँ । एकको भाङ्ग्राभित्रको हात बाहिर निस्कँदा बन्चरो चम्कियो । … बन्चरो समात्ने सरासर देबातिर बढ्यो । हावामा उठायो बन्चरो र देबाको निधारमा जोडले मार हान्यो ।

… तीनैजना पालैपालो हातका मासु लुछ्दै खान थाले ।

यद्यपि यस्तो विभत्स दृश्यको बिचमा थोरै करुणा पनि देखिन्छ । पाबुकी आमा दोजिया भएकी थाहा पाएपछि रिम्केकाहरूले उसलाई चाहिँ मार्दैनन् । लाकुमा बेलीहरूले भोग्नुपरेको पीडा हेर्दा चैं मानिस भोक नभए पनि क्रूर हुन सक्छन् भन्ने देखिन्छ ।

रमितेमा पुरुष र महिलाका भूमिका

पुरुष र महिलाका भिन्नाभिन्नै भूमिका रमितेका सभ्यतामा देखिन्छ । उगाका अधिकांश पुरुषहरू खेतीपातीमा संलग्न छन् । जवानहरू दसपर्म गएर जान सक्नेजति ठाउँमा पुगेर नयाँ बीउ ल्याउने, भएका बीउ र बाली बाँडफाँड गर्ने पनि गर्छन् । उनीहरू वरपरका गाउँमा हुने किचलो छिनोफानो गर्न पनि सक्रिय रहन्छन् । उगाका महिलाहरू घरखेतका काम गर्छन् । यहाँ महिलापुरुषका बीचमा खासै मतभेद देखिँदैन ।

मगडीमा भने पुरुष र महिलाका विभिन्न आयाम देखिन्छ । लाकुमा योगिनी, तिनका शिष्य र सन्तानहरू मातृसत्तात्मक छन् । यहाँका महिलाहरू घरबार र संस्कृतिका संरक्षकका रूपमा रहेका छन् । योगिनीले सुरु गरेको भाषा र पत्ता लगाएको ज्ञान महिलाहरूले नै जोगाएका छन् । तर त्रिचथाटका पुरुषहरूले दमन गर्दा सहन्छन् । विद्रोह गर्नेहरूमाथि कुटपिट, यौन शोषण र अन्नमा प्रतिबन्ध लाग्ने भएकाले उनीहरू सम्झौता गर्न बाध्य भएका छन् ।

त्रिचाथाटका पुरुषहरूसँग लड्न नसकेर लाकुका पुरुष र बालकहरू गाउँ छाडेर जान्छन् । द्वन्द्वका कारण वैदेशिक रोजगारीका लागि गएका उनीहरूको अत्तोपत्तो भने छैन । त्रिचाथाटका युवाहरू भने हुर्राको अम्मली भएर अरूलाई कुट्दै, लुट्दै हिँड्छन् । उनीहरूमा योगिनी र लाकुका विरुद्ध यति रिस छ कि तिनलाई नसिध्याई हुँदैन भन्ने भावना दह्रोसँग बसेको छ ।

रमितेमा गीतसङ्गीत

गीत सङ्गीतविनाको समाज कल्पना गर्नै सकिँदैन । रमितेको मल्टीमिडिया दुनियाँमा गीतसङ्गीतको छुट्टै एल्बमहरू नै छन् । युट्युबमा भोल्युम १ का नौवटा गीतसङ्गीत भेटिन्छ भने भोल्युम २ बाट “छेतुमको मेला” भेटिन्छ । छुट्टाछुट्टै अरू भिडियो र गीतहरू पनि भेटिन्छ्न् । गीतसङ्गीतको छुट्टै विश्लेषण गर्न सकिन्छ । छोटकरीमा भन्नुपर्दा गीतसङ्गीतले रमितेको भूगोललाई बुझ्न सहयोग गर्छ । जस्तै, खोर्लाङमा गाइने छेतुमको मेला तामाङ, शेर्पाहरूका गीतसँग मिल्छ । यसमा टुङ्नाको प्रयोग मज्जासँगले गरिएको छ । त्यस्तै, खिलेको मनमा आउने “नीलिको गीत (फूल रोप्देऊ चिहानमा)” पूर्वेली भाका (सायद सङ्गिनी) बाट लिइएको छ । लाकुमा गाइने “बास मैना मोरेली”का शब्द र लय देउडासँग मेल खान्छ ।

गीत बाहेक उपन्यासमा प्रयुक्त वर्णनहरूमा पनि सङ्गीत अछुतो छैन । यहाँ खोला, पहाड, बोटबिरूवा सबै नै सङ्गीतमय छन् । बेलाबेलामा आउने शून्यताले पात्रहरू ठूलो सङ्कटमा परेको सङ्केत पनि दिन्छ्न् ।

रमिते को हो ?

यो प्रश्नको उत्तर भेटिँदैन । उपन्यासका कथा र उपकथामा रमितेको कुनै स्थान छैन । पुस्तकको आवरणको देखिने ठाउँमा ऊ छैन । ऊ आवरणको किनार मा भेटिन्छ । अन्त कतै भेटिँदैन ।

रमितेको आवरण

रमिते सायद जेसन कुँवर हुन् जो किनारमा बसेर उगा, मगडी, र त्रिचाथातका धर्के, खुराल, खिले, टुहुरी, बेली, डुम्रेका कथाहरू पस्किरहेका छन् । रमिते सायद पाठक हुन् जो यी गाउँमा डुल्दै यी पात्रका क्रियाकलाप टुलुटुलु हेरेर बसेका छन् । रमिते समाज र सभ्यताको उत्थान र पतन देख्न सक्छ, मानिसहरूका पीडा महसुस गर्न सक्छ तर आफू केही गर्न सक्दैन । ऊ न कथाको मुख्य पात्र हो न त इतिहासले सम्झने नायक । ऊ न घटनाक्रमलाई हस्तक्षेप गर्न सक्छ न त कसैलाई बचाउन । कथाका पात्रका पीडा र षड्यन्त्र बुझे पनि बाहिर किनारामा बसेर पीडा भोग्न, मन कुँडाउन र आँसु बगाउन अभिशप्त छ ।

निष्कर्ष

हाम्रै गाउँठाउँमा हुन सक्ने कथा र मिथकहरूलाई जोडेर जेसन कुँवरले एउटा गहन उपन्यास तयार पारेका छन् । सामन्य शव्दहरूमा मानव सभ्यता र मानसिकता देखाएका छ्न् । उपन्यासले सोच्न बाध्य बनाउँछ आफ्नै बारेमा, समाज र सभ्यताका बारेमा । पहेलीको एउटा पाटोका रूपमा रहेको “रमिते”लाई मैले पूर्णत: बुझ्न सकेको छैन । यद्यपि यो यात्रा हो । यत्तिकै बिचमै नटुङ्गियोस् भन्ने कामना गरिरहेको छु ।

साहित्य सर्जकको साङ्केतिक चित्र A symbolic image of a writer creating literature

सोचबाट साहित्य उमार्ने सर्जकहरूको नाममा

सोचको वीजारोपण

चलचित्र “इन्सेप्सन” ‘आइडिया’ अर्थात् सोचको वीजारोपणको कथा हो । यसमा एउटा समूह आफ्नो ‘टार्गेट’को सपनामा गएर उसको दिमागमा कुनै सोच राखिदिन्छन्, जुन ‘भाइरस’ सरी फैलिन्छ । रमाइलो कुरा के भने त्यो मानिसलाई त्यो सोच आफैँ आएजस्तो लाग्छ । ऊ ठान्छ, त्यस्तो सोच ऊ आफूले बाहेक अरूले सोच्न सक्दैन ।

हाम्रो सोचहरू पनि आफैँ आउँदैनन् । अधिकांश मानिसलाई व्यक्तिगत संघर्ष, समाज, देखे, सुनेका अनि पढेका कथा र स्वैरकल्पनाले किसिसकिसिमका सोचको विजारोपण गरिदिन्छन् । जस्तो कि एउटा समाचारबाट प्रेरित भएर मैले आई एम द डेभिल लेखेको थिएँ भने ह्वाट्स द पोइन्टको परिदृश्य र क्लाइमेक्स सपनामा देखेको थिएँ । यसरी आउने सोचहरूले सर्जकहरूको मस्तिष्कमा चैँ ती सोच यसरी बढ्छन् कि त्यसको बारेमा केही नलेखेसम्म नबनाएसम्म छटपटी भइरहन्छ । तर जति नै छटपटी भए पनि धेरै सोचहरू अक्षरमा परिवर्तन हुँदैनन् । धेरै लेख्ने साहित्यकारहरू पनि मनमा आएका सबै कुरा लेख्दैनन् ।

किन बन्दैनन् सबै सोचहरू साहित्य ? केले छेक्छ?

मानिस आफैँ र उसको समाज पनि साहित्य सिर्जनामा बाधक हुन सक्छन् । अधिकांशले लेख्ने समय छुट्याउन सक्दैनन् । विभिन्न काममा अल्मलिँदा नलेखिएको सोच आफैँ हराएर जान्छ । लेख्न पनि मन लाग्न छोड्छ । कतिपय लेख्न अल्छी गर्छन् । समाज पनि एकदम छिटो परिवर्तित भइरहेको छ । आजका सामाजिक मान्यता भोलि गलत हुन सक्छन् । यसरी कतिपय सोचहरू असान्दर्भिक भइदिन्छन् अनि दृष्टिकोणमा आएको परिवर्तनका कारण पुरानो सोचका बारेमा प्राय: लेख्दैनन् ।

राइटर्स ब्लक

साहित्य सिर्जनाको सबैभन्दा गाह्रो काम “लेख्न थाल्नु हो” । लेखकहरूलाई, अझ ठूला आकारका साहित्य सिर्जना गर्ने साहित्यकारहरूलाई एकदमै सताउने एउटा समस्या हो ‘राइटर्स ब्लक’ । त्यस्तो अवस्था हो, जब मनमा लेख्ने हुटहुटी भइरहँदा पनि लेखकहरू केही लेख्न सक्दैन् । लेख्न थाल्दा वा बीचमा, कुनै पनि बेला यो समस्या आउन सक्छ । “पाठशाला”का सर्जक तीर्थ गुरुङले हालै यो समस्या आएको ट्विट गर्नुभएको थियो । जर्ज आर. आर. मार्टिन, जसको पुस्तकहरूको आधारमा सफल सिरिज बन्यो, अन्तिम पुस्तकहरू लेख्न संघर्ष गरिरहनुभएको छ । ‘राइटर्स ब्लक’ केही कारणहरू छन् :

१. सोचेजस्तो लेख्न सकिनँ/सक्दिनँ कि भन्ने डर । (पर्फेक्सनको चाहना ।)

२. पूरै लेख्न सक्दिनँ कि भन्ने शंका ।

३. नयाँ साधकलाई ‘रिजेक्सन’को डर । स्थापित साधकमाथि प्रशंसकको अपेक्षा ।                

३. खुलेर नबोलेका कुराहरूलाई लेखनमा ढाल्न खोज्न उत्पन्न संवेदना ।

४. लेखकको आर्थिक-सामाजिक-मानसिक अवस्था ।

‘राइटर्स ब्लक’ हटाउने उपायहरू

स्टेफेन किंगसँगको एउटा संवादका क्रममा ‘पर्फेर्क्सनिस्ट’ भनेर चिनिइनुहुने जर्ज आर. आर. मार्टिन सोध्नुहुन्छ, “तपाईं छोटो समयमा यति धेरै कसरी लेख्नुहुन्छ ?” किंगको साधारण तर महत्त्वपूर्ण जवाफ आउँछ, “म सधैँ दिनको छ पाना लेख्छु ।”

किंगको एउटा नियम रहेछ, हरेक दिन कम्तीमा छ पाना (२००० शब्द )लेख्ने । त्यसलाई राम्रो नराम्रोको कसीमा नराख्ने । कुनै उपन्यासको पहिलो ‘ड्राफ्ट’ तयार भएपछि डेढ महिना त्यसलाई थन्काउने । कतै घुम्न जाने या अरू नै केही लेख्ने । अनि डेढ महिनाअघिको सिर्जनालाई परिमार्जन गर्ने । किंगको नियमले ‘राइटर्स ब्लक’ हटाउने उपायहरू दिन्छन् :

१. नियमित लेख्ने ।

२. जस्तो भए पनि सोचलाई कागजमा उतार्ने ।

३. लेखिसकेको चीजलाई पछि सम्पादन/परिमार्जन गर्ने ।

“केही लेखेकै छैन भने केही परिमार्जन गर्न सकिन्न” भनिन्छ । यो काम त्यति सजिलो भने छैन । जापानी ‘एनिमेटेड’ चलचित्र “विस्पर अफ द हार्ट”मा साहित्यकार बन्ने सपना देख्ने शिजुकुलाई हजुरबुबा निशीले एउटा ढुंगा दिन्छ । त्यो ढुंगा भित्र एमराल्ड (हरियो रङ्गको महँगो मणि) च्यापिएको छ । शिजुकुको पहिलो ‘ड्राफ्ट’ पढिसकेपछि निशीले भन्छ, “तिमीले मिहिनेतसँग यो कथा लेखेर यस्तै पत्थर उत्खनन् गर्यौ । यसलाई ‘पोलिस’ गरेर बहुमुल्य मणि निकाल्न तिमीले अझै धेरै मिहिनेत गर्नुपर्छ ।”

नयाँ कि नक्कल ?

व्यावसायिक रूपमा कुनै पनि साहित्यिक कृति प्रकाशन गर्न सजिलो छैन । सम्पादकहरूले हिज्जे शुद्धिकरणदेखि कथानकको बनावटसम्मका विषयमा टिप्पणी गर्छन् । अनेकौं पटक पुनर्लेखन गर्छन् लेखकहरू । बुद्धिसागरको “कर्नाली ब्लुज”का ड्राफ्टहरूको अग्लो चांग धेरै अघि उहाँको फेसबुक पेजमा देखेको थिएँ । ग्याब्रियल गार्सिया मार्खेजको “वन हन्ड्रेड इयर्स अफ सोलिट्युड”को पहिलो ‘ड्राफ्ट’ एकदमै फरक थियो रे । यसरी परिस्कृत भएर आएका उत्कृष्ट किताबहरू पढ्दा नयाँ साहित्यकारहरूलाई उत्प्रेरणा मिल्छ । तर कतिपयलाई भने लेख्न झनै गाह्रो पनि बनाइदिन्छ । किनभने:

१. सोच नयाँ रहेनछ ।

२. स्वाद जति छिटो विकसित हुन्छ, कला त्यति छिटो हुँदैन ।

भनिन्छ, संसारमा ‘ओरिजिनल’ केही पनि छैन । तथापि नयाँ सोचहरू आउँदै नआउने चाहीँ होइन । नयाँ गर्न सकिएन भने उपाय छ—नक्कल गर्नु । यसमा साधकले सावधान हुन भने निकै जरुरी छ । कला/साहित्यमा नक्कलको एउटा मूलमन्त्र हो : “एकजनाको नक्कल गर्नु चोरी हो, सयजनाको नक्कल गर्नु चाहिँ कला ।” अर्को : “नक्कल यति राम्ररी गर्नु कि नक्कल गरेको थाहै नहोस् ।”

साहित्यकारको बाटो

“विस्पर अफ द हार्ट”मै शिजुकुले लेखक बन्छु भन्दा उसको पिताले भन्छन्, “तिमीले कमैले लिने फरक बाटो रोज्यौ । यसको जिम्मेवारी तिमी आफैँले लिनुपर्छ ।” प्राय: साहित्यकारहरूको जीवन सरल हुँदैन, आफ्नै मनमा हुने अन्तरद्वन्द्व, पारिवारिक बेमेल, फरक सोच भएका कारण समाजले गर्ने अपेक्षा र द्वन्द्व, आर्थिक समस्या आदिले गर्दा । धेरैजसो साहित्यकारका एकदमै थोरै मित्र हुन्छन् । कतिपय उत्कृष्ट लेखकहरू डिप्रेसनको शिकार भएका उदाहरण छन् । नेपाली हास्यव्यंग्य साहित्यका सम्राट भैरव अर्यालका आत्महत्या वरिपरिका घटनाक्रमले मर्माहत बनाउँछ । त्यस्तै, जापानी छोटा कथाका पिता आकुतागावाका मानसिक छटपटीका कथाहरू एकदमै पीडादायी छन् ।

अन्तरद्वन्द्व, आत्मसंदेह अनि विभिन्न संघर्ष पछि साहित्य साधकले आफ्नो सोच पाठकसामू पस्किन्छन् । कमै मात्रै साहित्यकारले आर्थिक रूपमा सफलता पाउँछन् । कतिपय सोच र सोचको प्रस्तुति पाठक/स्रोतालाई चित्त बुझ्दैन । कहिलेकाहिँ त पाठकले साहित्यकारको सोचसम्म पुग्नै सक्दैनन् । कतिपय पाठकले आफ्नो रुचि र विचार अनुसारको साहित्यकारले रचोस् भन्ने पनि चाहन्छन् । कुनैकुनै पुस्तक त पाठकले नै च्यात्छन्, जलाउँछन् । यस्तो देख्दा, सुन्दा चाहिँ मन चसक्क दुख्छ । त्यसो त लेखिएका सबै कुरा राम्रा हुन्छन् भन्ने छैन । ‘प्रोपगान्डा’ र द्वेष फैलाउने उद्देश्य राखेर पनि पुस्तकहरू लेखिन्छन् । यस्ता पुस्तकहरूको भण्डाफोर गर्न पनि ती पुस्तक पढ्नु पर्ने हुन्छ ।

सफलता, असफलतालाई खासै महत्त्व नदिएर, अनेकौं दु:ख पार गरेर आफ्नो सोचको सूर्यबाट विश्वलाई प्रकाशित गर्न सक्ने सम्पूर्ण साहित्य सर्जकमा नमन ।

(नोटः यस लेखको मूल रूप पहिलो पटक साहित्यपोस्टमा २०२० जुन १७ मा प्रकाशित भएको थियो । लेखको अङ्ग्रेजी संस्करण यहाँ पढ्न सकिन्छ ।)

Powered by WordPress & Theme by Anders Norén