नाइटका मुख्य गायक तथा सङ्गीतकार जेसन कुँवरको उपन्यास सार्वजनिक नहुँदै व्यग्र प्रतीक्षामा थिएँ । सार्वजनिक हुँदा आवरणको अघिल्लो भागमा नाम थिएन । छेउमा मात्रै थियो: रमिते – जेसन कुँवर । आवरणले नै खुल्दुली जगाएको थियो । पहिलोचोटि उपन्यास पढेपछि बुझेजस्तो पनि भयो, नबुझेजस्तो पनि । दोस्रोपटकको पठनमा अलि गहिरिएँ । यो समीक्षा यी पठन अनुभवबाट निस्किएको छ ।
जेसन कुँवर कृत रमिते सभ्यताको कथा बोकेको एउटा स्वैरकाल्पनिक उपन्यास हो । यद्यपि यो उपन्यास मात्रै हैन । कुँवर र उनको ब्याण्ड नाइटले यसलाई मल्टीमिडिया प्रोजेक्ट भनेको छ । रमिते भोल्युम १ र २ गीति एल्बम, तीसँग सम्बन्धित केही युट्युब भिडियो, र उपन्यासको कथासँग सम्बन्धित नक्सासहितको वेबसाइट आइसकेको छ । रङ्गमञ्चमा पनि उतार्ने कुरा थियो तर अहिलेसम्म बनेको थाहा पाएको छैन । पहेलीजस्तो उपन्यास र अन्य सामग्रीले उपन्यासमा नभनिएका कुराहरूले पाठकको धैर्य र बुद्धिमताको परीक्षा लिन्छन् ।
यस लेखमा…
कथा सार
रमिते उपन्यासले पाठकलाई स्वाट्ट आफ्नो संसारमा तान्छ अनि पाठक आफूलाई खिलेहरूसँगको यात्रामा पाउँछ । पहाड, दलदल, जङ्गलमा खिले र उसका साथीहरू किन हिँडिरहेका छन् भन्ने बुझ्न केही समय लाग्छ । धैर्य राख्दै पढ्दा जब खिले सुल्फाको मातमा एउटा दलदलमा फस्छ तब ती यात्री को हुन् भन्ने प्रश्नको उत्तर पाइन्छ ।
ती यात्री ३०९ दिनअघि उगा गाउँबाट हिँडेका थिए । उगामा वरिपरिका गाउँहरू न्याउरी, खोर्लाङ, छेतुम, थाम्बोङको तुलनामा सह छ । धर्के बा पन्ध्र वर्षको हुँदा पहिलो पटक गाउँ छाडेर निकै पर परका गाउँमा पुगेर नयाँ बीउ र खेतीको नयाँ सीप ल्याए । प्रत्येक दश वर्षमा उनी गाउँ छाड्थे अनि माटोको सह कायम राख्थे । पाँच पटकसम्म त्यसै गरे । उनको सिको गरे अरू युवाहरूले पनि । सुरु भयो दसपर्म ।
खिले किशोर छँदा खुराल काका र उनका दौँतरी दसपर्म गएर गाउँ फर्किन्छ्न् । ऊ तिनका कहानी सुन्न गइरहन्छ अनि दसपर्म जाने रहर गर्छ । खुराल काकासँग खोर्लाङ गाउँ जाँदा उसले अरू गाउँलेहरू अन्न नपाएर कसरी छट्पटिएका छन् भन्ने बुझ्छ । दसपर्म साहसका रमाइला कथा मात्रै हैन, यो त दु:खमा परेका गाउँ र मानिसहरू चिन्ने र तिनलाई सहयोग गर्ने तीर्थाटन पनि हो ।
खिले जवान भएपछि धर्के बा र अरूसँग तालिम लिएर नजिकका गाउँका रिक्टे, खोरे, सिक्रे र धुसेसँग दसपर्म जान्छ । गाउँबाट पश्चिम जाँदै गर्दा चुरिया नजिकै सिक्रे बिरामी पर्छ र त्यतैतिरको गाउँमा बस्छ । अरूहरू धिचुबाट हिँडेपछि झुक्किएर अर्कै बाटो पुग्छन् अनि मगडी नजिक दलदल छेउ पुग्छन् (जहाँ खिले फस्छ तर साथीहरूले निकाल्छन् ।) जसोतसो दलदल पार गरेपछि गँगटे खोला तरेर एउटा गुफामा पुग्छ्न् । त्यहाँ भेटिन्छ, एउटी महिलाको लास र एउटी नौ दश वर्षकी मरणासन्न बच्ची ।
उपन्यासको कथा अब त्यो महिलाको गाउँ लाकु र गँगटे पारिको त्रिचाथातबिचको दुस्मनीमा केन्द्रित हुन्छ । लाकु पश्चिमको धुल्जेङ्ग पहाडपारि बिरासर भन्ने राज्य छ । त्यहाँबाट सिकार खेल्दै आउँदा एउटी योगिनीको पछि लागेर त्रिचापिल्ल र तिनका सेना धुल्जेङ्ग कटेर मगडी आइपुग्छ्न् । बिरासरमा खबर पुर्याउन खोज्दा भने कसैले धुल्जेङ्ग पार गर्न सक्दैन । उनीहरू बिस्तारै त्यतै बस्न थाल्छन् । योगिनीसँग त्रिचापिल्लले बिहे पनि गर्छन् र तिनका सन्तान पनि जन्मिन्छन् । एक रात योगिनीले तान्त्रिक साधना गरेको फेला पारेपछि मार्न तम्सिन्छन् तर सक्दैनन् । त्रिचापिल्ल गँगटे तरेर पारी लाग्छन् र त्रिचाथातको बस्ती बसाउँछन् ।
यस्ता कथा सुनेर हुर्किएको त्रिचाथातको डुम्रे आफ्ना गाउँका सारा समस्याको जड लाकुका योगिनीका सन्तान हुन् भन्ने मान्छ । तिनलाई दु:ख दिन कुटपिट र लुटपाट गर्छन् डुम्रे र उसका साथीहरू । गाउँका पुरुषहरू कुटाई र गरिबी सहन नसकेर गाउँ छोड्न थाल्छन् । मरेबाँचेको खबर आउँदैन । डुम्रे र उसका साथीहरू मगडीका महिला र बच्चीहरूलाई दुर्व्यवहार गर्न थाल्छन् । टुहुरीले प्रतिकार गर्छे । बेली चैं योगिनीको सल्लोमा भएको विद्या प्रयोग गरेर डुम्रेलाई मार्न खोज्छे । उता डुम्रे हिर्कोटेहरूसँग मिलेर योगिनीको शक्ति नास गर्ने भन्दै मगडीका सबै घर र मानिसलाई जलाउँछ । बेली उसकी छोरी ईलाखालाई लिएर सर्पगुफामा पुग्छे । योगिनीको अस्तु खोज्न डुम्रे त्यहाँ आइपुग्छ र बेलीको टाउको फुटाउँछ । ईलाखालाई खिलेहरूले उद्धार गर्छ्न् ।
ईलाखासँग खिलेहरू खर्क र धुल्जेङ्ग हेर्न जान्छन् । टुहुरीसँग कथा सुन्ने पाबुहरू त्यही बाटो परदेश हिँडेका हुन्छन् । पाबु र उसका साथीहरू पहाड पार गर्न लाग्दा भोक, थकान, र चिसोले बिरामी हुन्छन् । पाबुले अचेत अवस्थामा देखेको जादुमयी दृश्यसँगै उपन्यास टुङ्गिन्छ ।
रमितेमा सभ्यता
रमितेमा मूलतः मानिसको पीडाको कथा प्रस्तुत गरिएको भए पनि यो सभ्यताको कथा हो । मानिसले समाज र सभ्यता कसरी स्थापना गर्छ, कसरी प्रेम र करूणाबाट उत्थान गर्छ अनि स्वार्थ, घमण्ड एवम् डरका कारण पतनसम्म पुग्छ भन्ने कुराहरूको वर्णन पाइन्छ ।
मगडीको सभ्यता
हरेक मानिसमा केही साझा प्रश्न हुन्छन्, ‘म को हुँ । यो संसारमा मेरो स्थान के हो ? म के छाडेर जान सक्छु ?’ यस्ता प्रश्नको उत्तर खोजिन्छ समाज, धर्म, र सभ्यतामा । अनि जन्मिन्छ सृष्टिको मिथक (creation myth) । गँगटे खोलाको आसपास रहेको मगडीमा त्यस्तै एउटा मिथक छ कबिसको ।
शून्यबाट सुरु गरे कबिसले ।
संसारमा त केइ थिएन पहिले । अँध्यारो, शून्यशान्य । नास्ति ।…
कबिसले पहिले धरती, अक्कास, घाम, जून, र तारा बनाए ।…
…दलदलको माटो मुछेर कबिसले जनावर, कीट-पतङ्ग, चराचुरुङ्गीको बान्की बनाए । अनि सास फुकेर ती सप्पैलाई जीवन दिए ।
अलि पछि एउटा सपना देखे । त्यसपछि आफ्नै स्वरूपमा नयाँ जीव बनाए–मान्ठ (मान्छे) । उसलाई आफ्नो सबै सीप र ज्ञान दिए । तर:
… मान्ठ अघाउँदै नअघाउने । जति पूरा गरे पनि मान्ठका अर्को एक रहर बढिहाल्थ्यो ।
हरेक कुरमा मान्ठ झगडा र मारकाट गर्न थालेपछि कबिसलाई चिन्ता लाग्न थाल्यो । जति मिलाउन खोज्दा पनि सकेनन् ।
कबिसले त चोखो मन राखेर मान्ठको सृष्टि गरेका थिए । रिस, ईर्ष्या, डाह चाहिँ मान्ठ आफैँले सिर्ज्यो ।
हार खाएर कबिस संसारबाट अलप भए । सहकाल पनि गयो । एकदिन गाउँका एक वृद्धका सपनामा कबिस आउँछन् र सह फर्काउने भए नान्नानी (केटाकेटी)को भोग लगाउनुपर्छ भन्छन् । गाउँ नयाँ रीति बन्छ मानवबलीको । विरोध गर्नेहरू मारिए, लखेटिए ।
जब हिरीकी छोरीको पालो आयो, उनीहरूले बलिप्रथाको विरोध गरे तर गाउँलेले छोरी लगे, लोग्नेलाई जलाए । विह्वल भएकी हिरीले छोरीसहित दलदलमा हाम फाली । यस घटनापछि दलदललाई हिरीको दलदल र गाउँलाई हिर्कोट भन्न थालियो ।
हिरीको आत्मा भने अशान्त नै रह्यो । गाउँका बच्चाहरू हराउन थाले । मगडीको शिरमा दुमाहा बजाउन अनि फेदमा शङ्ख फुकिन थालेपछि योगिनीको रूप लिई । तिनै योगिनीले त्रिचापिल्ललाई बिरासरबाट ल्याइन् अनि मगडीका सबै संस्कार, नियम उनले भनेजस्तै परिवर्तन हुँदै गयो ।
यसरी मगडीको सभ्यतामा सृष्टिको कथासँगै विभिन्न रीतिरिवाज र बाहिरी हस्तक्षेपसम्मको कथा पाइन्छ । कथा र मिथकका रूपमा मगडीको ईतिहास बाँचेको देखिन्छ ।
उगाको सभ्यता
कालुम्गे हिमालमुनि धाम्सुली खोलाको वरिपरि बसेको उगाको सभ्यताको सुरुवात मगडीमा जस्तै एक व्यक्तिको पुरुषार्थबाट हुन्छ जो भगवान जस्तै छन् । उगाको बस्ती बसाउन र समृद्ध बनाउन धर्केको महत्वपूर्ण भूमिका छ । उसले सुरु गरेको दसपर्मबाट नै त्यो सम्भव भयो । खोर्लाङको मुख्खे भन्छ,
गाउँमा सास फुक्यो धर्केले । अझ आसपासका गाउँ सप्पैलाई एक बना’को छ । मारकाट र लुटपाटले सारा सखाप भइसक्थ्यो । एकअर्काका रगत र मासु खान्थ्यौँ । … तिनलाई सप्पैले देउता मान्छन् भन्थे हाम्रा बाले । सय बर्ख तार्यो तेसले अब त । अझ अस्ताउने छाँट देखाउँदैन । यत्रो बर्ख गाउँठाउँ एकै गरेर बाँधेर राख्न सक्नु कसैको हुतीले भ्याउने कुरो होइन । कालुम्गेको रगत बग्छ तेसको नसामा ।
यताका मानिसहरू पनि सबै ठाउँमा सह नआएकाले चटकेको पर्खाइमा छ्न् । त्यही आस्थाले पनि सबैलाई जोड्न सकेको छ ।
उत्थान र पतन
विरासर त्रिचापिल्लका पुर्खाले निकै मिहिनेतले बनाएका थिए । त्रिचापिल्ल आफैँ त्रिचाथातका संरचना र नियम कानून बनाउँन पुग्छन् । योगिनीले आफ्नो विद्या प्रयोग गरेर मगडीको स्थापना गर्छिन् ।
सभ्यताको निर्माणसँगै रीतिरिवाज पनी जन्मिन्छन् । धर्केले सुरु गरेको दसपर्म उगाको अभिन्न चलन र परिचय बनेको छ । जहाँजहाँ दसपर्म जान्छन् त्यहाँ आफूसँग भएका अन्नका बीउ र सीप बाँड्छन् । ती गाउँमा नयाँ बालीको बीउ र सीप भए उगालाई सिकाउँछन् ।
मगडीमा योगिनीले आफ्ना विद्याका आधारमा रीति बसाइन् । आफ्नै लिपि बनाइन्, नागी । त्यसमा लेखिन् तिनमा जडीबुटी, मानिस, घोडा र अन्य जनावरको स्नायुलगायत प्रणालीहरूको ज्ञान छ । केही समय गाउँलेहरू तिनमा आधारित भएर चले । मगडी पारिका त्रिचाथात, हिर्कोटमा ठीक उल्टो थीति बस्यो । योगिनीको ज्ञान विस्तारै हराउँदै जाँदा मगडीमा उनी देवीजस्ती भएकी छिन् । अरू गाउँलेका लागि भने तिनी अतृप्त राक्षसी बनेकी छिन् ।
प्रायः सबै गाउँमा सह हराउँदै गएको चिन्ता छ । उगा र उसले सहयोग गर्ने खोर्लाङ र छेतुमजस्ता गाउँमा कालुम्गे हिमाल पारिबाट कोही चटके आएपछि सबै ठीक हुन्छ भन्ने आशा छ । मगडी योगिनीको पुनर्जन्म हुने आश गर्छन् । मगडी र त्रिचाथातकाहरू धुल्जेङ्ग कटेर विरासर पुगेपछि सबै ठीक हुने सपना देख्छन् ।
आफ्नो सभ्यता अन्त्य होला भन्ने डर पनि गाउँहरूमा छ । मान्छेले मान्छेलाई खाने अवस्था आउने हो कि भनेर पनि उनीहरू सहयोगी बनेका छन् । कुनैकुनै गाउँमा त्यस्तो अवस्था पनि आइसकेको कुरा पाबुकी आमाको कथामा भेटिन्छ ।
देबाले मलाई झुलुक्क हेर्यो । उसको आँखामा पहिलो पटक डर देखेँ । … टाउकोदेखि घुँडासम्म छोप्ने गरि भाङ्ग्रा ओढेका पाराले नै ती मान्छेहरू रिम्के फेदीका थिए भन्ने बुझिहालेँ । एकको भाङ्ग्राभित्रको हात बाहिर निस्कँदा बन्चरो चम्कियो । … बन्चरो समात्ने सरासर देबातिर बढ्यो । हावामा उठायो बन्चरो र देबाको निधारमा जोडले मार हान्यो ।
… तीनैजना पालैपालो हातका मासु लुछ्दै खान थाले ।
यद्यपि यस्तो विभत्स दृश्यको बिचमा थोरै करुणा पनि देखिन्छ । पाबुकी आमा दोजिया भएकी थाहा पाएपछि रिम्केकाहरूले उसलाई चाहिँ मार्दैनन् । लाकुमा बेलीहरूले भोग्नुपरेको पीडा हेर्दा चैं मानिस भोक नभए पनि क्रूर हुन सक्छन् भन्ने देखिन्छ ।
रमितेमा पुरुष र महिलाका भूमिका
पुरुष र महिलाका भिन्नाभिन्नै भूमिका रमितेका सभ्यतामा देखिन्छ । उगाका अधिकांश पुरुषहरू खेतीपातीमा संलग्न छन् । जवानहरू दसपर्म गएर जान सक्नेजति ठाउँमा पुगेर नयाँ बीउ ल्याउने, भएका बीउ र बाली बाँडफाँड गर्ने पनि गर्छन् । उनीहरू वरपरका गाउँमा हुने किचलो छिनोफानो गर्न पनि सक्रिय रहन्छन् । उगाका महिलाहरू घरखेतका काम गर्छन् । यहाँ महिलापुरुषका बीचमा खासै मतभेद देखिँदैन ।
मगडीमा भने पुरुष र महिलाका विभिन्न आयाम देखिन्छ । लाकुमा योगिनी, तिनका शिष्य र सन्तानहरू मातृसत्तात्मक छन् । यहाँका महिलाहरू घरबार र संस्कृतिका संरक्षकका रूपमा रहेका छन् । योगिनीले सुरु गरेको भाषा र पत्ता लगाएको ज्ञान महिलाहरूले नै जोगाएका छन् । तर त्रिचथाटका पुरुषहरूले दमन गर्दा सहन्छन् । विद्रोह गर्नेहरूमाथि कुटपिट, यौन शोषण र अन्नमा प्रतिबन्ध लाग्ने भएकाले उनीहरू सम्झौता गर्न बाध्य भएका छन् ।
त्रिचाथाटका पुरुषहरूसँग लड्न नसकेर लाकुका पुरुष र बालकहरू गाउँ छाडेर जान्छन् । द्वन्द्वका कारण वैदेशिक रोजगारीका लागि गएका उनीहरूको अत्तोपत्तो भने छैन । त्रिचाथाटका युवाहरू भने हुर्राको अम्मली भएर अरूलाई कुट्दै, लुट्दै हिँड्छन् । उनीहरूमा योगिनी र लाकुका विरुद्ध यति रिस छ कि तिनलाई नसिध्याई हुँदैन भन्ने भावना दह्रोसँग बसेको छ ।
रमितेमा गीतसङ्गीत
गीत सङ्गीतविनाको समाज कल्पना गर्नै सकिँदैन । रमितेको मल्टीमिडिया दुनियाँमा गीतसङ्गीतको छुट्टै एल्बमहरू नै छन् । युट्युबमा भोल्युम १ का नौवटा गीतसङ्गीत भेटिन्छ भने भोल्युम २ बाट “छेतुमको मेला” भेटिन्छ । छुट्टाछुट्टै अरू भिडियो र गीतहरू पनि भेटिन्छ्न् । गीतसङ्गीतको छुट्टै विश्लेषण गर्न सकिन्छ । छोटकरीमा भन्नुपर्दा गीतसङ्गीतले रमितेको भूगोललाई बुझ्न सहयोग गर्छ । जस्तै, खोर्लाङमा गाइने छेतुमको मेला तामाङ, शेर्पाहरूका गीतसँग मिल्छ । यसमा टुङ्नाको प्रयोग मज्जासँगले गरिएको छ । त्यस्तै, खिलेको मनमा आउने “नीलिको गीत (फूल रोप्देऊ चिहानमा)” पूर्वेली भाका (सायद सङ्गिनी) बाट लिइएको छ । लाकुमा गाइने “बास मैना मोरेली”का शब्द र लय देउडासँग मेल खान्छ ।
गीत बाहेक उपन्यासमा प्रयुक्त वर्णनहरूमा पनि सङ्गीत अछुतो छैन । यहाँ खोला, पहाड, बोटबिरूवा सबै नै सङ्गीतमय छन् । बेलाबेलामा आउने शून्यताले पात्रहरू ठूलो सङ्कटमा परेको सङ्केत पनि दिन्छ्न् ।
रमिते को हो ?
यो प्रश्नको उत्तर भेटिँदैन । उपन्यासका कथा र उपकथामा रमितेको कुनै स्थान छैन । पुस्तकको आवरणको देखिने ठाउँमा ऊ छैन । ऊ आवरणको किनार मा भेटिन्छ । अन्त कतै भेटिँदैन ।

रमिते सायद जेसन कुँवर हुन् जो किनारमा बसेर उगा, मगडी, र त्रिचाथातका धर्के, खुराल, खिले, टुहुरी, बेली, डुम्रेका कथाहरू पस्किरहेका छन् । रमिते सायद पाठक हुन् जो यी गाउँमा डुल्दै यी पात्रका क्रियाकलाप टुलुटुलु हेरेर बसेका छन् । रमिते समाज र सभ्यताको उत्थान र पतन देख्न सक्छ, मानिसहरूका पीडा महसुस गर्न सक्छ तर आफू केही गर्न सक्दैन । ऊ न कथाको मुख्य पात्र हो न त इतिहासले सम्झने नायक । ऊ न घटनाक्रमलाई हस्तक्षेप गर्न सक्छ न त कसैलाई बचाउन । कथाका पात्रका पीडा र षड्यन्त्र बुझे पनि बाहिर किनारामा बसेर पीडा भोग्न, मन कुँडाउन र आँसु बगाउन अभिशप्त छ ।
निष्कर्ष
हाम्रै गाउँठाउँमा हुन सक्ने कथा र मिथकहरूलाई जोडेर जेसन कुँवरले एउटा गहन उपन्यास तयार पारेका छन् । सामन्य शव्दहरूमा मानव सभ्यता र मानसिकता देखाएका छ्न् । उपन्यासले सोच्न बाध्य बनाउँछ आफ्नै बारेमा, समाज र सभ्यताका बारेमा । पहेलीको एउटा पाटोका रूपमा रहेको “रमिते”लाई मैले पूर्णत: बुझ्न सकेको छैन । यद्यपि यो यात्रा हो । यत्तिकै बिचमै नटुङ्गियोस् भन्ने कामना गरिरहेको छु ।