गौतम बुद्ध: जन्म, कर्म र हाम्रो धर्म

सिद्धार्थ गौतमको जन्मका सम्बन्धमा
करिब २६४० वर्ष अघि बैशाख पूर्णिमाको रातमा यस धर्तिमा अवतरण लिएका थिए सिद्धार्थ गौतमले रानी मायादेवीको कोखबाट- लुम्बिनीमा । विभिन्न कालखण्डमा त्यो पवित्र भूमि विभिन्न देशभित्र पर्‍यो । वर्तमानमा त्यो क्षेत्र नेपालको सिमानाभित्र पर्दछ । लुम्बिनी संरक्षणको दायित्व अहिले नेपालीको काधमा छ । तर त्यसको अर्थ बुद्ध ‘नेपाली’ थिए भन्ने होइन । बुद्धलाई कुनै एउटा देशको नागरिक बनाउन इतिहास र नैतिकता दुवैले दिँदैनन्[१] ।

image

यो विज्ञान प्रविधिको युग हो । यस युगमा हरेक विषयमा तथ्य केलाइन्छ । बुद्धकालिन कला, संस्कृति, लेखोटका आधारमा लुम्बिनी नै सिद्धर्थ गौतमको जन्मथलो थियो भन्ने प्रमाणित भइसकेको छ । उनको यात्राको बाटो पनि पहिल्याइ सकेका छन् इतिहासकारहरूले । उनको जन्ममितिमा भने एकमत छैन । खोज गर्नै पर्ने विषय जन्ममिति हो, जन्मस्थल होइन ।

बुद्धको जन्मथलोको विकासको “गुरु योजना” २८ वर्षअघि बनेको रहेछ । आजको मितिसम्म योजनाले पूर्णता पाएको छैन । केही संरचना बनेका छन् तर ती पर्याप्त छैनन् । बौद्धहरूको चार धाममध्ये प्रमुख लुम्बिनीको विकासमा किन ढिलाइ ? २९ वर्षको उमेरमा त सिद्धार्थले राजपाट त्यागि सकेका थिए, सम्यक ज्ञानको खोजी गर्न । हामी बुद्ध भूमिका संरक्षकहरू किन आफ्ना व्यक्तिगत स्वार्थ त्याग्न सक्दैनौँ ? उनले बाटो देखाइ दिएकै थिए त ।

सिद्धार्थ र बुद्धका कर्मका सम्बन्धमा

सिद्धार्थको बाल्यकाल सुखसयलमा बितेको थियो । राजा (गणनायक?) सुद्धोधनले वातानुकुलित तीनवटा महल बनाइदिएका थिए भनिन्छ । यद्यपि भौतिक सुखले उनलाई छुन सकेन । मैले सानो छँदा एउटा कथा पढेको थिएँ, जुन यस्तो छ-

हरेक वर्ष रोपाइँ सुरु गर्नाका खातिर हलो चलाउन किसानका खेतमा जान्थे । उनलेे छ वर्षका सिद्धार्थलाई साथ लगेका थिए । रोपाइँको तामझाम छोडेर सिद्धार्थ चाहिँ एक्लै बसिरहेका थिए । वरपर कुदिरहेका कमिला हेरेर रमाइरहेका बेला एउटा छेपारोले तिनलाई खान थाल्यो । फेरि हेर्दाहेर्दै एउटा सर्पले त्यो छेपारोलाई निल्यो । एकैछिनमा, त्यो सर्प पनि बाजको आहारा बन्यो । प्रकृतिको समिपमा त्यस्तो अनौठो चक्र देखेपछि उनी गम्भीर हुन थाले । प्रकृतिमा यस्तो नियम किन छ भनेर सोच्न थाले । मनमा आउने दार्शनिक सोच हटाउनकै लागि ती तीन महल बनाइएका थिए । तर सिद्धर्थ प्रकृतिमा फर्किन चाहन्थे । २९ वर्षको उमेरमा उनी फेरि प्रकृतिमा फर्किए । उनले रोगी, वृद्ध र मृत देखे [२]। उनलाई त्यही दिन थाहा भयो पहिलो आर्य सत्य- दु:ख छ । त्यो दु:ख निवारण गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयको ज्ञान प्राप्त गर्नु नै उनको लक्ष्य थियो जसका लागि उनले व्यक्तिगत स्वार्थको त्याग गरे । लक्ष्यमा सफल भएका कारण बुद्धका नामले चिनिए ।

दु:खका कारण र निवारणको माध्यम पत्ता लागेपछि उनका मनमा विचार आयो- ‘मैले पत्ता लगाएका कुराहरू अरूलाई सुनाऊँ या नसुनाऊँ । कसैले सुन्ला मेरा कुरा ?’ आम मानिसमा हुने प्रश्न उनमा पनि आएका थिए तर उनले कोशिश गरे । बोधगयामा उनलाई तपस्यामा साथ दिएका दुईजना अनि कुशिनगरमा भेटिएका तीनजनालाई उनले आफ्नो खोजका बारेमा बताए । उनको बोली मधुर हुँदो हो, सरल अनि लोकको भाषामा प्रवचन दिँदा हुन् । त्यसैले त उनको दर्शनबाट प्रभावित हुनेको सङ्ख्या बढ्दै गयो । संसारभर छरिएका बौद्धमार्गीहरूका आस्थाका केन्द्र हुन् गौतम बुद्ध ।

जन्मबाट होइन, कर्मबाट महान् भइन्छ । सिद्धार्थको जन्म राजकुलमा भए पनि संसारले उनलाई ज्ञानको अद्भुत खानीका रूपमा चिन्दछ । जन्मका आधारमा त उनी क्षत्रिय हुनुपर्ने, युद्ध गर्नु पर्ने तर उनले साधक भएर शान्तिको सन्देश दिए[३] । कर्मले महान् भएका बुद्धलाई म मनैदेखि नमस्कार गर्दछु ।

हाम्रो धर्म
मेरो विचारमा उचित कर्म नै धर्म हो । सिद्धार्थ गौतमको धर्म थियो चार आर्य सत्यको ज्ञान हासिल गर्नु, बुद्धको धर्म थियो जनजनलाई आफूले पाएको ज्ञान बाँढ्नु । बुद्धले त्यो ज्ञान नबाँढेका भए के हामी उनको चर्चा गर्थ्यौँ होला ? तर हाम्रो धर्म चर्चा गर्नु मात्रै होइन । हाम्रो धर्म त बुद्धका मार्ग र धरोहरको संरक्षण गर्नु हो । बुद्धका संदेशलाई आत्मसात गरेर नै हामीले उनको सम्मान गर्न सक्छौँ ।

[१. महान व्यक्तिहरू कर्मले चिनिन्छन् । जन्म त सबैले लिएका हुन्छन् तर केही मानिस मात्रै सत्कर्मका कारण प्रख्यात हुन्छन् । यस्ता महान व्यक्तिहरूले सधैँ सम्मान पाउँछन्, उनीहरू जुनसुकै देशमा जन्मेका किन नहुन ।
केही वर्षयता नेपालमा बुद्धलाई नेपाली बनाउने क्रेज देखिएको छ । बुद्धको नाम र तस्विर राखेर फोटोशप गरिएका नागरिकता पनि देखिए सामाजिक संजालमा । मन चिसो हुन्छ । हामीले बुद्धको संदेश लिएर शान्ति बाँढ्नु पर्ने हो तर बुद्धलाई नै खिचातानीमा पार्छौँ । नेपाल र भारतका लागि राजनीतिक विषय हुन्- बुद्ध र उनको जन्मस्थल । बुद्धका  शान्ति संदेश रुँदै छन् पुस्तकालयका कुनै कुनामा ।
२. बुद्धचरीत्रमा भवनबाट निस्किएका  सिद्धार्थले तीन दिन तीन मानिसलाई क्रमशः देखे भनिएको छ- वृद्ध, रोगी र शव । कतै सिद्धार्थले एउटै मानिस त देखेका थिएनन् ? पहिलो दिन सायद उनले एउटा बूढो मानिस देखेका थिए । उनले पहिले कहिल्यै वृद्ध नदेखेकाले उनले चासो लिए होला । भोलिपल्ट सायद ज्ञान भयो कि ती वृद्ध रोगी पनि रहेछन् । तेस्रो दिन सायद ती बूढाको मृत्यु भैसकेको थियो । मानिस किन दु:खी छ र मरेर गएपछि अरूलाई पनि दु:खी किन बनाउँछ भन्ने साधारण प्रश्नले सिद्धार्थलाई बुद्ध बन्न प्रेरित गर्‍यो ।
३. बुद्धले मानव शान्ति र विश्व शान्तिको सन्देश दिए । उनले चार आर्य सत्य प्रतिपादन गरे: १) दु:ख छ ; २) दु:खका कारण छन् ; ३) दु:ख निवारण संभव छ ; ४) दु:ख निवारणका लागि अष्टाङ्गिक मार्ग छन् : सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि ।]

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Previous

Construction of Mythological Tripura

Next

BREAKING NEWS!

7 Comments

  1. Beautifully written. I understand it a bit with my meagre knowledge of Nepali, but not the whole.

  2. wonderful post : )

    Its always a pleasure, peace and matter of proud, reading the articles regarding lord buddha and buddhism!

    and lovely thing is!

    I love lumbini : ) the meditation centres out there!
    the temple
    diff monasteries built by diff. nations!

    it does feels ! eternal peace … walking out there : )

    hey!

    • Unfortunately, I haven’t been to Lumbini yet. But my mother has been. I guess I can make a visit this year. The possibility is high.

      • dats a wonderful plan
        cheers!

        Been there before 4/5 yrs n
        its a wonderful place
        hundreds of nations have added their beauties in their own traditions!
        its feels a diff place
        spiritually n physically!

        cheers

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered by WordPress & Theme by Anders Norén