सिंचेर फूलका डाली डाली रमाउँथ्यो माली
कमाई थोरै भएपनि सन्तोकले भर्दथ्यो थाली ।
लोभ लालच थिएन, तर थियो पिर मनमा
यहीँ बसेर मात्रै त हुन्न क्यारे उन्नति जीवनमा ।
बाउबाजेले बिताएथे जिन्दगी खेली त्यही माटो
छोरोले थोरै दुनियाँ देखे पनि लियो उही बाटो ।
देखेर घर छोडी हिँडेका साथीभाइको प्रगति
त्यस्तै बन्ने आशामा बदलियो उसको मति ।
धन कमाई आफ्नो र सन्ततिको भविष्य बदल्न
हिँड्यो छाडेर घरबारी, जुनतारा सरी चम्कन ।
मालीको स्याहार र प्रेम सम्झी फूलबारी रोइरहेछ
हासीखुसी देखिने घर आज एक्लै झोक्राइरहेछ ।
सुँक्सुँकाइ उसकै कहानी भनिरहेछ्न् फूलका डाली
बोलाइरहेछ्न्, “टाढा गएपनि चाँडै फर्की आऊ ए माली !”
Discover more from Stories of Sandeept
Subscribe to get the latest posts sent to your email.
Leave a Reply