बोल्नलाई बोल्न त पाइन्छ
बोल्ने पनि तरिका चाहिन्छ


स्वप्न सुमन र अभिज्ञा घिमिरेको गीत सुन्दै फेसबुक स्क्रोल गर्दै थिएँ । समाचार देखियो – रवि लामिछानेलाई समर्थन गर्दै प्रधानमन्त्रीको आलोचना गरेको भन्दै एक महिला पक्राउ । अस्तितिर दिलभूषण पाठकलाई हिल्टन होटलका बारेमा समाचार बनाएपछि पक्राउ गरेको खबर आएको थियो । अलि अघि सिधाकुराले मुद्दा मामिलामा हुने लेनदेनको विषयमा सार्वजनिक गरेको डार्क फाइल्स अदालतको अनादर गरेको भन्दै उक्त सामग्री हटाउन लगाइएको थियो । पछि सामग्री नै फेक हो भनेर तीनजनालाई कारबाही भएको थियो । अझै अगाडि सरकारले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकलाई प्रतिबन्ध गरेको थियो । झन्डै एक वर्षपछि प्रतिबन्ध फुकुवा भयो ।

यी घटनाहरू केलाउँदा लोकतन्त्र, गणतन्त्रमा बोल्न पाइन्छ भन्नेहरू अहिले आफैँ विरोधको अवाज बन्द गर्न तल्लीन देखिन्छन् । अभिव्यक्तिको स्वतन्त्रता संविधानको धारा १७ द्वारा प्रदत्त अधिकार हो । यसले कुनै विचारलाई निषेध गर्न नपाइने व्यवस्था गरेको छ । त्यस्तै, धारा १९ ले कुनै प्रसारण माध्यममा प्रकाशित सामग्रीकै कारण कसैलाई पक्राउ नगरिने कुरा सुनिश्चित छ ।

तर संविधानले नै सार्वभौमसत्ता र अखण्डताको रक्षा, व्यक्तिगत गोपनीयता र मर्यादाको सम्मानजस्ता विषयमा मनासिब प्रतिबन्ध लगाउन पाइने व्यवस्था पनि गरेको छ । र यसकै दुरुपयोग गरेर सत्ता र सत्ताको नजिक हुनेले आफ्ना विरोधमा आउने आवाज दबाउन थालेका छन् । अझ अनलाइनमा प्रकाशन हुने सामग्रीको विषयमा कानूनमा भएको लुपहोल प्रयोग गरेर दु:ख पनि बढी नै दिन थालेका छन् ।

यस्तो किन हुन्छ ? स्वतन्त्रता सङ्ग्राम कथामा लेखेको छु :

सत्ता सधैँ प्रशंसाको भोको हुन्छ । थोरै आलोचना पनि उसलाई बिझ्छ ।

तर आलोचना सहन नसक्ने सत्ताधारीलाई ठीक पार्ने ब्रह्मास्त्र खरो आलोचना नै हो । ब्रायन मार्टिन पुस्तक इन्फर्मेसन लिबरेसनमा लेख्छन्,

“आलोचना गर्दा निष्कर्ष दिने भन्दा पनि तथ्यहरू प्रस्तुत गरिदिनुस् । सही गलतको निर्णय पाठक/श्रोताले गर्नेछन् ।”

उनी थप्छन्,

“कुनै नेताले भ्रष्टाचारी हो भन्नुभन्दा उसलाई यो कम्पनीले यति रकम बुझायो भनिदिनुस् ।”

र

“जुन कुरा भन्नुहुन्छ त्यसको ठोस प्रमाण सङ्कलन गर्नुस् अनि आफ्ना साथीभाइ र अरूहरूलाई पठाउनुस् ।”

अहिलेको परिस्थितिमा बोल्न गाह्रो छ । बोल्न भने छाडिन्न । त्यसैले जे बोलिन्छ, तथ्य सहित बोल्नुपर्ने छ । र त :

बोल्नलाई बोल्न त पाइन्छ
बोल्ने पनि तरिका चाहिन्छ

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.