नाइटका मुख्य गायक तथा सङ्गीतकार जेसन कुँवरको उपन्यास सार्वजनिक नहुँदै व्यग्र प्रतीक्षामा थिएँ । सार्वजनिक हुँदा आवरणको अघिल्लो भागमा नाम थिएन । छेउमा मात्रै थियो: रमिते – जेसन कुँवर । आवरणले नै खुल्दुली जगाएको थियो । पहिलोचोटि उपन्यास पढेपछि बुझेजस्तो पनि भयो, नबुझेजस्तो पनि । दोस्रोपटकको पठनमा अलि गहिरिएँ । यो समीक्षा यी पठन अनुभवबाट निस्किएको छ ।

जेसन कुँवर कृत रमिते सभ्यताको कथा बोकेको एउटा स्वैरकाल्पनिक उपन्यास हो । यद्यपि यो उपन्यास मात्रै हैन । कुँवर र उनको ब्याण्ड नाइटले यसलाई मल्टीमिडिया प्रोजेक्ट भनेको छ । रमिते भोल्युम १ र २ गीति एल्बम, तीसँग सम्बन्धित केही युट्युब भिडियो, र उपन्यासको कथासँग सम्बन्धित नक्सासहितको वेबसाइट आइसकेको छ । रङ्गमञ्चमा पनि उतार्ने कुरा थियो तर अहिलेसम्म बनेको थाहा पाएको छैन । पहेलीजस्तो उपन्यास र अन्य सामग्रीले उपन्यासमा नभनिएका कुराहरूले पाठकको धैर्य र बुद्धिमताको परीक्षा लिन्छन् ।

कथा सार

रमिते उपन्यासले पाठकलाई स्वाट्ट आफ्नो संसारमा तान्छ अनि पाठक आफूलाई खिलेहरूसँगको यात्रामा पाउँछ । पहाड, दलदल, जङ्गलमा खिले र उसका साथीहरू किन हिँडिरहेका छन् भन्ने बुझ्न केही समय लाग्छ । धैर्य राख्दै पढ्दा जब खिले सुल्फाको मातमा एउटा दलदलमा फस्छ तब ती यात्री को हुन् भन्ने प्रश्नको उत्तर पाइन्छ ।

ती यात्री ३०९ दिनअघि उगा गाउँबाट हिँडेका थिए । उगामा वरिपरिका गाउँहरू न्याउरी, खोर्लाङ, छेतुम, थाम्बोङको तुलनामा सह छ । धर्के बा पन्ध्र वर्षको हुँदा पहिलो पटक गाउँ छाडेर निकै पर परका गाउँमा पुगेर नयाँ बीउ र खेतीको नयाँ सीप ल्याए । प्रत्येक दश वर्षमा उनी गाउँ छाड्थे अनि माटोको सह कायम राख्थे । पाँच पटकसम्म त्यसै गरे । उनको सिको गरे अरू युवाहरूले पनि । सुरु भयो दसपर्म ।

खिले किशोर छँदा खुराल काका र उनका दौँतरी दसपर्म गएर गाउँ फर्किन्छ्न् । ऊ तिनका कहानी सुन्न गइरहन्छ अनि दसपर्म जाने रहर गर्छ । खुराल काकासँग खोर्लाङ गाउँ जाँदा उसले अरू गाउँलेहरू अन्न नपाएर कसरी छट्पटिएका छन् भन्ने बुझ्छ । दसपर्म साहसका रमाइला कथा मात्रै हैन, यो त दु:खमा परेका गाउँ र मानिसहरू चिन्ने र तिनलाई सहयोग गर्ने तीर्थाटन पनि हो ।

खिले जवान भएपछि धर्के बा र अरूसँग तालिम लिएर नजिकका गाउँका रिक्टे, खोरे, सिक्रे र धुसेसँग दसपर्म जान्छ । गाउँबाट पश्चिम जाँदै गर्दा चुरिया नजिकै सिक्रे बिरामी पर्छ र त्यतैतिरको गाउँमा बस्छ । अरूहरू धिचुबाट हिँडेपछि झुक्किएर अर्कै बाटो पुग्छन् अनि मगडी नजिक दलदल छेउ पुग्छन् (जहाँ खिले फस्छ तर साथीहरूले निकाल्छन् ।) जसोतसो दलदल पार गरेपछि गँगटे खोला तरेर एउटा गुफामा पुग्छ्न् । त्यहाँ भेटिन्छ, एउटी महिलाको लास र एउटी नौ दश वर्षकी मरणासन्न बच्ची ।

उपन्यासको कथा अब त्यो महिलाको गाउँ लाकु र गँगटे पारिको त्रिचाथातबिचको दुस्मनीमा केन्द्रित हुन्छ । लाकु पश्चिमको धुल्जेङ्ग पहाडपारि बिरासर भन्ने राज्य छ । त्यहाँबाट सिकार खेल्दै आउँदा एउटी योगिनीको पछि लागेर त्रिचापिल्ल र तिनका सेना धुल्जेङ्ग कटेर मगडी आइपुग्छ्न् । बिरासरमा खबर पुर्‍याउन खोज्दा भने कसैले धुल्जेङ्ग पार गर्न सक्दैन । उनीहरू बिस्तारै त्यतै बस्न थाल्छन् । योगिनीसँग त्रिचापिल्लले बिहे पनि गर्छन् र तिनका सन्तान पनि जन्मिन्छन् । एक रात योगिनीले तान्त्रिक साधना गरेको फेला पारेपछि मार्न तम्सिन्छन् तर सक्दैनन् । त्रिचापिल्ल गँगटे तरेर पारी लाग्छन् र त्रिचाथातको बस्ती बसाउँछन् ।

यस्ता कथा सुनेर हुर्किएको त्रिचाथातको डुम्रे आफ्ना गाउँका सारा समस्याको जड लाकुका योगिनीका सन्तान हुन् भन्ने मान्छ । तिनलाई दु:ख दिन कुटपिट र लुटपाट गर्छन् डुम्रे र उसका साथीहरू । गाउँका पुरुषहरू कुटाई र गरिबी सहन नसकेर गाउँ छोड्न थाल्छन् । मरेबाँचेको खबर आउँदैन । डुम्रे र उसका साथीहरू मगडीका महिला र बच्चीहरूलाई दुर्व्यवहार गर्न थाल्छन् । टुहुरीले प्रतिकार गर्छे । बेली चैं योगिनीको सल्लोमा भएको विद्या प्रयोग गरेर डुम्रेलाई मार्न खोज्छे । उता डुम्रे हिर्कोटेहरूसँग मिलेर योगिनीको शक्ति नास गर्ने भन्दै मगडीका सबै घर र मानिसलाई जलाउँछ । बेली उसकी छोरी ईलाखालाई लिएर सर्पगुफामा पुग्छे । योगिनीको अस्तु खोज्न डुम्रे त्यहाँ आइपुग्छ र बेलीको टाउको फुटाउँछ । ईलाखालाई खिलेहरूले उद्धार गर्छ्न् ।

ईलाखासँग खिलेहरू खर्क र धुल्जेङ्ग हेर्न जान्छन् । टुहुरीसँग कथा सुन्ने पाबुहरू त्यही बाटो परदेश हिँडेका हुन्छन् । पाबु र उसका साथीहरू पहाड पार गर्न लाग्दा भोक, थकान, र चिसोले बिरामी हुन्छन् । पाबुले अचेत अवस्थामा देखेको जादुमयी दृश्यसँगै उपन्यास टुङ्गिन्छ ।

रमितेमा सभ्यता

रमितेमा मूलतः मानिसको पीडाको कथा प्रस्तुत गरिएको भए पनि यो सभ्यताको कथा हो । मानिसले समाज र सभ्यता कसरी स्थापना गर्छ, कसरी प्रेम र करूणाबाट उत्थान गर्छ अनि स्वार्थ, घमण्ड एवम् डरका कारण पतनसम्म पुग्छ भन्ने कुराहरूको वर्णन पाइन्छ ।

मगडीको सभ्यता

हरेक मानिसमा केही साझा प्रश्न हुन्छन्, ‘म को हुँ । यो संसारमा मेरो स्थान के हो ? म के छाडेर जान सक्छु ?’ यस्ता प्रश्नको उत्तर खोजिन्छ समाज, धर्म, र सभ्यतामा । अनि जन्मिन्छ सृष्टिको मिथक (creation myth) । गँगटे खोलाको आसपास रहेको मगडीमा त्यस्तै एउटा मिथक छ कबिसको ।

शून्यबाट सुरु गरे कबिसले ।

संसारमा त केइ थिएन पहिले । अँध्यारो, शून्यशान्य । नास्ति ।…

कबिसले पहिले धरती, अक्कास, घाम, जून, र तारा बनाए ।…

…दलदलको माटो मुछेर कबिसले जनावर, कीट-पतङ्ग, चराचुरुङ्गीको बान्की बनाए । अनि सास फुकेर ती सप्पैलाई जीवन दिए ।

अलि पछि एउटा सपना देखे । त्यसपछि आफ्नै स्वरूपमा नयाँ जीव बनाए–मान्ठ (मान्छे) । उसलाई आफ्नो सबै सीप र ज्ञान दिए । तर:

… मान्ठ अघाउँदै नअघाउने । जति पूरा गरे पनि मान्ठका अर्को एक रहर बढिहाल्थ्यो ।

हरेक कुरमा मान्ठ झगडा र मारकाट गर्न थालेपछि कबिसलाई चिन्ता लाग्न थाल्यो । जति मिलाउन खोज्दा पनि सकेनन् ।

कबिसले त चोखो मन राखेर मान्ठको सृष्टि गरेका थिए । रिस, ईर्ष्या, डाह चाहिँ मान्ठ आफैँले सिर्ज्यो ।

हार खाएर कबिस संसारबाट अलप भए । सहकाल पनि गयो । एकदिन गाउँका एक वृद्धका सपनामा कबिस आउँछन् र सह फर्काउने भए नान्नानी (केटाकेटी)को भोग लगाउनुपर्छ भन्छन् । गाउँ नयाँ रीति बन्छ मानवबलीको । विरोध गर्नेहरू मारिए, लखेटिए ।

जब हिरीकी छोरीको पालो आयो, उनीहरूले बलिप्रथाको विरोध गरे तर गाउँलेले छोरी लगे, लोग्नेलाई जलाए । विह्वल भएकी हिरीले छोरीसहित दलदलमा हाम फाली । यस घटनापछि दलदललाई हिरीको दलदल र गाउँलाई हिर्कोट भन्न थालियो ।

हिरीको आत्मा भने अशान्त नै रह्यो । गाउँका बच्चाहरू हराउन थाले । मगडीको शिरमा दुमाहा बजाउन अनि फेदमा शङ्ख फुकिन थालेपछि योगिनीको रूप लिई । तिनै योगिनीले त्रिचापिल्ललाई बिरासरबाट ल्याइन् अनि मगडीका सबै संस्कार, नियम उनले भनेजस्तै परिवर्तन हुँदै गयो ।

यसरी मगडीको सभ्यतामा सृष्टिको कथासँगै विभिन्न रीतिरिवाज र बाहिरी हस्तक्षेपसम्मको कथा पाइन्छ । कथा र मिथकका रूपमा मगडीको ईतिहास बाँचेको देखिन्छ ।

उगाको सभ्यता

कालुम्गे हिमालमुनि धाम्सुली खोलाको वरिपरि बसेको उगाको सभ्यताको सुरुवात मगडीमा जस्तै एक व्यक्तिको पुरुषार्थबाट हुन्छ जो भगवान जस्तै छन् । उगाको बस्ती बसाउन र समृद्ध बनाउन धर्केको महत्वपूर्ण भूमिका छ । उसले सुरु गरेको दसपर्मबाट नै त्यो सम्भव भयो । खोर्लाङको मुख्खे भन्छ,

गाउँमा सास फुक्यो धर्केले । अझ आसपासका गाउँ सप्पैलाई एक बना’को छ । मारकाट र लुटपाटले सारा सखाप भइसक्थ्यो । एकअर्काका रगत र मासु खान्थ्यौँ । … तिनलाई सप्पैले देउता मान्छन् भन्थे हाम्रा बाले । सय बर्ख तार्‍यो तेसले अब त । अझ अस्ताउने छाँट देखाउँदैन । यत्रो बर्ख गाउँठाउँ एकै गरेर बाँधेर राख्न सक्नु कसैको हुतीले भ्याउने कुरो होइन । कालुम्गेको रगत बग्छ तेसको नसामा ।

यताका मानिसहरू पनि सबै ठाउँमा सह नआएकाले चटकेको पर्खाइमा छ्न् । त्यही आस्थाले पनि सबैलाई जोड्न सकेको छ ।

उत्थान र पतन

विरासर त्रिचापिल्लका पुर्खाले निकै मिहिनेतले बनाएका थिए । त्रिचापिल्ल आफैँ त्रिचाथातका संरचना र नियम कानून बनाउँन पुग्छन् । योगिनीले आफ्नो विद्या प्रयोग गरेर मगडीको स्थापना गर्छिन् ।

सभ्यताको निर्माणसँगै रीतिरिवाज पनी जन्मिन्छन् । धर्केले सुरु गरेको दसपर्म उगाको अभिन्न चलन र परिचय बनेको छ । जहाँजहाँ दसपर्म जान्छन् त्यहाँ आफूसँग भएका अन्नका बीउ र सीप बाँड्छन् । ती गाउँमा नयाँ बालीको बीउ र सीप भए उगालाई सिकाउँछन् ।

मगडीमा योगिनीले आफ्ना विद्याका आधारमा रीति बसाइन् । आफ्नै लिपि बनाइन्, नागी । त्यसमा लेखिन् तिनमा जडीबुटी, मानिस, घोडा र अन्य जनावरको स्नायुलगायत प्रणालीहरूको ज्ञान छ । केही समय गाउँलेहरू तिनमा आधारित भएर चले । मगडी पारिका त्रिचाथात, हिर्कोटमा ठीक उल्टो थीति बस्यो । योगिनीको ज्ञान विस्तारै हराउँदै जाँदा मगडीमा उनी देवीजस्ती भएकी छिन् । अरू गाउँलेका लागि भने तिनी अतृप्त राक्षसी बनेकी छिन् ।

प्रायः सबै गाउँमा सह हराउँदै गएको चिन्ता छ । उगा र उसले सहयोग गर्ने खोर्लाङ र छेतुमजस्ता गाउँमा कालुम्गे हिमाल पारिबाट कोही चटके आएपछि सबै ठीक हुन्छ भन्ने आशा छ । मगडी योगिनीको पुनर्जन्म हुने आश गर्छन् । मगडी र त्रिचाथातकाहरू धुल्जेङ्ग कटेर विरासर पुगेपछि सबै ठीक हुने सपना देख्छन् ।

आफ्नो सभ्यता अन्त्य होला भन्ने डर पनि गाउँहरूमा छ । मान्छेले मान्छेलाई खाने अवस्था आउने हो कि भनेर पनि उनीहरू सहयोगी बनेका छन् । कुनैकुनै गाउँमा त्यस्तो अवस्था पनि आइसकेको कुरा पाबुकी आमाको कथामा भेटिन्छ ।

देबाले मलाई झुलुक्क हेर्‍यो । उसको आँखामा पहिलो पटक डर देखेँ । … टाउकोदेखि घुँडासम्म छोप्ने गरि भाङ्ग्रा ओढेका पाराले नै ती मान्छेहरू रिम्के फेदीका थिए भन्ने बुझिहालेँ । एकको भाङ्ग्राभित्रको हात बाहिर निस्कँदा बन्चरो चम्कियो । … बन्चरो समात्ने सरासर देबातिर बढ्यो । हावामा उठायो बन्चरो र देबाको निधारमा जोडले मार हान्यो ।

… तीनैजना पालैपालो हातका मासु लुछ्दै खान थाले ।

यद्यपि यस्तो विभत्स दृश्यको बिचमा थोरै करुणा पनि देखिन्छ । पाबुकी आमा दोजिया भएकी थाहा पाएपछि रिम्केकाहरूले उसलाई चाहिँ मार्दैनन् । लाकुमा बेलीहरूले भोग्नुपरेको पीडा हेर्दा चैं मानिस भोक नभए पनि क्रूर हुन सक्छन् भन्ने देखिन्छ ।

रमितेमा पुरुष र महिलाका भूमिका

पुरुष र महिलाका भिन्नाभिन्नै भूमिका रमितेका सभ्यतामा देखिन्छ । उगाका अधिकांश पुरुषहरू खेतीपातीमा संलग्न छन् । जवानहरू दसपर्म गएर जान सक्नेजति ठाउँमा पुगेर नयाँ बीउ ल्याउने, भएका बीउ र बाली बाँडफाँड गर्ने पनि गर्छन् । उनीहरू वरपरका गाउँमा हुने किचलो छिनोफानो गर्न पनि सक्रिय रहन्छन् । उगाका महिलाहरू घरखेतका काम गर्छन् । यहाँ महिलापुरुषका बीचमा खासै मतभेद देखिँदैन ।

मगडीमा भने पुरुष र महिलाका विभिन्न आयाम देखिन्छ । लाकुमा योगिनी, तिनका शिष्य र सन्तानहरू मातृसत्तात्मक छन् । यहाँका महिलाहरू घरबार र संस्कृतिका संरक्षकका रूपमा रहेका छन् । योगिनीले सुरु गरेको भाषा र पत्ता लगाएको ज्ञान महिलाहरूले नै जोगाएका छन् । तर त्रिचथाटका पुरुषहरूले दमन गर्दा सहन्छन् । विद्रोह गर्नेहरूमाथि कुटपिट, यौन शोषण र अन्नमा प्रतिबन्ध लाग्ने भएकाले उनीहरू सम्झौता गर्न बाध्य भएका छन् ।

त्रिचाथाटका पुरुषहरूसँग लड्न नसकेर लाकुका पुरुष र बालकहरू गाउँ छाडेर जान्छन् । द्वन्द्वका कारण वैदेशिक रोजगारीका लागि गएका उनीहरूको अत्तोपत्तो भने छैन । त्रिचाथाटका युवाहरू भने हुर्राको अम्मली भएर अरूलाई कुट्दै, लुट्दै हिँड्छन् । उनीहरूमा योगिनी र लाकुका विरुद्ध यति रिस छ कि तिनलाई नसिध्याई हुँदैन भन्ने भावना दह्रोसँग बसेको छ ।

रमितेमा गीतसङ्गीत

गीत सङ्गीतविनाको समाज कल्पना गर्नै सकिँदैन । रमितेको मल्टीमिडिया दुनियाँमा गीतसङ्गीतको छुट्टै एल्बमहरू नै छन् । युट्युबमा भोल्युम १ का नौवटा गीतसङ्गीत भेटिन्छ भने भोल्युम २ बाट “छेतुमको मेला” भेटिन्छ । छुट्टाछुट्टै अरू भिडियो र गीतहरू पनि भेटिन्छ्न् । गीतसङ्गीतको छुट्टै विश्लेषण गर्न सकिन्छ । छोटकरीमा भन्नुपर्दा गीतसङ्गीतले रमितेको भूगोललाई बुझ्न सहयोग गर्छ । जस्तै, खोर्लाङमा गाइने छेतुमको मेला तामाङ, शेर्पाहरूका गीतसँग मिल्छ । यसमा टुङ्नाको प्रयोग मज्जासँगले गरिएको छ । त्यस्तै, खिलेको मनमा आउने “नीलिको गीत (फूल रोप्देऊ चिहानमा)” पूर्वेली भाका (सायद सङ्गिनी) बाट लिइएको छ । लाकुमा गाइने “बास मैना मोरेली”का शब्द र लय देउडासँग मेल खान्छ ।

गीत बाहेक उपन्यासमा प्रयुक्त वर्णनहरूमा पनि सङ्गीत अछुतो छैन । यहाँ खोला, पहाड, बोटबिरूवा सबै नै सङ्गीतमय छन् । बेलाबेलामा आउने शून्यताले पात्रहरू ठूलो सङ्कटमा परेको सङ्केत पनि दिन्छ्न् ।

रमिते को हो ?

यो प्रश्नको उत्तर भेटिँदैन । उपन्यासका कथा र उपकथामा रमितेको कुनै स्थान छैन । पुस्तकको आवरणको देखिने ठाउँमा ऊ छैन । ऊ आवरणको किनार मा भेटिन्छ । अन्त कतै भेटिँदैन ।

रमितेको आवरण

रमिते सायद जेसन कुँवर हुन् जो किनारमा बसेर उगा, मगडी, र त्रिचाथातका धर्के, खुराल, खिले, टुहुरी, बेली, डुम्रेका कथाहरू पस्किरहेका छन् । रमिते सायद पाठक हुन् जो यी गाउँमा डुल्दै यी पात्रका क्रियाकलाप टुलुटुलु हेरेर बसेका छन् । रमिते समाज र सभ्यताको उत्थान र पतन देख्न सक्छ, मानिसहरूका पीडा महसुस गर्न सक्छ तर आफू केही गर्न सक्दैन । ऊ न कथाको मुख्य पात्र हो न त इतिहासले सम्झने नायक । ऊ न घटनाक्रमलाई हस्तक्षेप गर्न सक्छ न त कसैलाई बचाउन । कथाका पात्रका पीडा र षड्यन्त्र बुझे पनि बाहिर किनारामा बसेर पीडा भोग्न, मन कुँडाउन र आँसु बगाउन अभिशप्त छ ।

निष्कर्ष

हाम्रै गाउँठाउँमा हुन सक्ने कथा र मिथकहरूलाई जोडेर जेसन कुँवरले एउटा गहन उपन्यास तयार पारेका छन् । सामन्य शव्दहरूमा मानव सभ्यता र मानसिकता देखाएका छ्न् । उपन्यासले सोच्न बाध्य बनाउँछ आफ्नै बारेमा, समाज र सभ्यताका बारेमा । पहेलीको एउटा पाटोका रूपमा रहेको “रमिते”लाई मैले पूर्णत: बुझ्न सकेको छैन । यद्यपि यो यात्रा हो । यत्तिकै बिचमै नटुङ्गियोस् भन्ने कामना गरिरहेको छु ।

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.