Experiences of a common man!

Tag: समीक्षा

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १)

तीन महिनाजति पहिले किनेका किताबमध्ये एउटा थियो “बाह्रखरी उत्कृष्ट कथा २०८०” । २०७५ को पहिलो संस्करण त pdf मा वेबसाइटबाट सिधै डाउनलोड गर्ने मिल्ने गरी राखिदिएको थियो बाह्रखरीले । पछिल्ला संस्करणप्रति खासै आकर्षण थिएन । त्यही पनि किताब पसलमा देखेपछि कस्ता कथा चैं उत्कृष्ट २५ मा परेछन् भन्ने उत्सुकता पलाएपछि किनेको थिएँ । तर अफिस आउँदा लाग्ने समय, थकान, छोरीसँग खेल्न मन लाग्ने अनि अलिकति निस्किएको समयमा माथि भनिएको परीक्षाको तयारीका लागि पढ्ने गरेकाले उत्कृष्ट कथा २०८० थन्किएको थियो । राति पौने तीन बजे कथाहरू पढिने भइयो ।

सङ्ग्रहका कथामध्ये पुरस्कृत भएकालाई सबैभन्दा अन्तिममा पढ्ने सोच बनाएँ अनि बाँकीमध्येबाट पहिलो छनौटमा पर्‍यो दिव्य गिरीको “असार पन्ध्र” । खेती किसानी गर्नेहरूको लागि असार १५ ठूलो उत्सव हो । त्यसकै सेरोफेरोमा कथा होला भन्ने लाग्यो तर हैन रैछ । विपद् असंवेदनशील नेतृत्व भयो भने गरीबहरूले कस्तो समस्या भोग्नुपर्छ भन्ने कथाको मूल मर्म रहेछ । सङ्ग्रहको आवरण पनि यही कथामा आधारित जस्तो लाग्यो । यद्यपि विषय जति चाखलाग्दो छ लेखाइ भने त्यति छैन । धनबहादुर बिकको परिचय दिँदै सुरु भएको कथाको पहिलो खण्डमा उसको जीवनी मात्रै छ । झिँझो लाग्ने गरी प्रत्येक पात्रलाई “धनबहादुर अर्थात् धने” को शैलीमा परिचय दिइन्छ । त्यसमा पनि गल्ती छ । मनसरालाई धनबहादुरकी बहिनी भनिएको छ । पछिल्लो खण्डमा पनि धनबहादुर र उसकी श्रीमतीलाई दाजुभाउजू नै भनेकी छिन् । तर मनसराले जन्माएको बालकृष्ण धनबहादुर भन्दा २ वर्ष मात्रै कान्छो छ ।

पहिलो गाँसमा ढुङ्गा परेजस्तो भयो । बेचैन हुँदै कथाका पात्रको नातागाता केलाएँ । मेरो हिसाब नमिलेको हो कि जस्तो लाग्यो । सुत्न लागेको म जुरुक्क उठेर कलम र कागज लिएर चित्र बनाउन थाले । अहँ, कथामा मनसरा धनबहादुरकी बहिनी हुनै सक्दिन । बहिनीको छोरो आफूभन्दा २ वर्ष कसरी हुन सम्भव छ ? दिदीको भए मिल्छ बरू । यत्रो गल्ती भएको कथा “उत्कृष्ट” कसरी हुन सक्छ ? विभिन्न चरण पार गर्दै पाठक सामू आएको कथामा यति ठूलो गल्ती त नहुनु पर्ने हो । एउटा चरणमा एकजनाले पो गल्ती गर्न सक्छ । कथा पढ्दै नपढी छनौट भएको त हैन ? यो भन्दा राम्रो कथा उत्कृष्ट २५ मा पर्न छुट्यो कि ?

त्यसपछि पढेको अर्को कथा चैं छनौट समूहले पक्कै पढेको हुनुपर्छ । दीपक लोहनीको “दरबारको दु:ख” (पृ. १५७-१५८) मा रानीसाहेब कथाका सूत्रधारलाई भन्छिन्, “तपाईं पत्रकार हो ? म पत्रकारसँग आफ्ना व्यथा सुनाउँदिन । उनीहरू आफ्नो बिजनेसका लागि मात्रै आउँछन् ।”

सूत्रधार भन्छन्, “म पत्रकार हैन, कथाकार हुँ । दरबारका दु:ख समेटेको कथा लेखेर बाह्रखरी कथा प्रतियोगितामा पठाउँछु ।”

अब बाह्रखरी कथा प्रतियोगिताकै लागि लेखिएको कथा उत्कृष्ट नभई भयो त ? हुनै पर्‍यो नि । अनि प्रतियोगिताको लागि कथा पठाउँछु भन्दा बिजनेस नहुने रैछ क्यारे, रानीसाहेबले आफ्नो कथा सुनाइदिइन्  । सूत्रधारले इमान्दारी देखाए भनेर पो हो कि ?

उता कथा लामो छ भन्दै कथा सुरु गरेका सूत्रधार एकछिन पछि रानीसाहेबको जीवनीको सारांश दिन्छन् । केही अनुच्छेदमै उनी बालापनबाट वृद्धावास्थामा पुग्छिन् । धनसम्पत्तिको मातले बिग्रेका पुरुष पात्रहरूका कारण वृद्धाले भोगेको व्यथा सूत्रधारले कथा बनाएर प्रतियोगितामा पठाउँछन् । बाह्रखरीको उत्कृष्ट २५ मा पर्छ । आँसु बिक्छ भनेको यही होला । मलाई चैं आँसुले खासै छोएन । निद्राले छोयो बरू अनि झ्याप्प निदाएँ ।

भोलिपल्ट साँझ अफिसबाट घर फर्किँदा डा. श्रीधर खनालको कथा “जीपीटी २०००” पढियो । ChatGPT 4.0 ले तहल्का मच्चाइरहेको बेला जीपीटी २००० ले धमाका गर्ने आशा पलायो । कथाको सुरुवात राम्रो लाग्यो । जीपीटी २००० ले मोबाइलमा इन्स्टल गरेपछि इमेल, क्यामरा र लोकेसनको आधारमा ट्रयाकिङ गर्ने कुरासम्म कथा ठीकै थियो । ‘असुर’को दोस्रो सिजनको झल्को आउला जस्तो लागेको बेला उसले न्यारेटरलाई सर्वोत्कृष्ट भन्दै गरेको भविस्यवाणीले कताकता ‘म्याट्रिक्स’ को झल्को दियो । आपसी कलहका कारण मानिसहरू लोप भइसकेपछि पनि AI बच्ने कुरा अलि पत्यार नलाग्दो नै थियो । हुन त AI को भविस्यवाणी हो । मिल्नैपर्छ भन्ने छैन ।

त्योभन्दा पनि पत्याउन नसकिने कुरा चैं जीपीटीले आफूले सबैलाई ट्रयाक गरिरहेको कुरा कसैलाई भन्ला भन्ने हो । हामीले इन्स्टल गर्ने एप्लिकेसनहरूले हामीलाई ट्रयाक गर्ने कुरा नौलो हैन । जानी नजानी हामी permission पनि दिइरहेका हुन्छौँ । तर सिधै फोन र इमेल गरेर ट्रयाक गर्छौँ भने भने वाचकले झैं uninstall गरेर व्यापार चौपट हुन्छ होला । खैर, कथामा जताततै देखिने मानवीय प्रलयको डरको लामो वर्णन छ जुन अझै रोचक बन्न सक्थ्यो जस्तो लागिरह्यो ।

लगत्तै सञ्जय घिमिरेको “चन्द्रमा देब्रे, चन्द्रमा दाहिने” पढेँ । कविताका पङ्क्तिजस्ता छोटा वाक्य र चन्द्रमा दाहिने र देब्रे हुँदाको बिम्बले झ्याप्पै आकर्षित गर्‍यो । कथा भने कस्तो कस्तो लाग्यो । कथावाचकले १० वर्ष सम्म जसको गाडी चलाउँछ,  आरिस गर्छ । उसको उद्देश्य भनेको हाकिमलाई ड्राइभिङ सिटमा राखेर हाकिम जसरी ब्याक सिटमा बस्नु हो । इच्छा पूरा पनि हुन्छ । हाकिमले उसलाई अमेरिका बोलाएर काममा लगाइदिएर पनि लाइसेन्स परीक्षामा पटकपटक जानीजानी फेल भएपछि । जिन्दगीमा हुन सक्ने फेरबदल र irony देखाएका हुन् क्यारे कथाकारले तर धेरै नै सहज भयो कि भन्ने चैं लागिरह्यो ।

कथा सङ्ग्रहबाट पढेको पाँचौं कथा थियो, हिरा लामाको “मिटर ब्याज” । कथाकी मुख्य पात्र मैनालाई गाउँको ठालू मिटरब्याजी रत्नदासले श्रीमती नभएको मौका पारेर घरमा साँझ आउनु भनेर बोलाउँछ । ऊ रत्नदासकहाँ त्रसित र सशंकित हुँदै जान्छे । रत्नदासको एक स्पर्शपछि उसलाई विदेशिएर उतै हराएको लोग्ने मुकुन्दको अनि यौन प्यासको याद आउँछ । त्यसकै वशमा परेर रत्नदाससँग यौन सम्बन्ध राखेपछि रत्नदासले स्कूलको पिउनबाट आधारभूत कक्षाकी शिक्षिका बनाइदिन्छ ।

यो कथाले भन्न खोजेको के हो ? मैनाजस्ता लोग्ने विदेशिएका महिलाहरूमा यौनेच्छा हुनु अस्वाभाविक होइन तर आफूलाई नियन्त्रण गर्न सक्दैनन् भन्न खोजेको हो कि ? रत्नदासजस्ता परचक्रीलाई चिन्दैनन् भनेको हो कि ? सेक्सुअल फेवर्स दिएर फाइदा लिन सक्छन् भनेको हो कि ? यौनिक स्वच्छन्दता हुनुपर्छ भन्न खोजेको हो कि ? तर त्यसको परिणाम नि ?

मैनाले पछि प्रतिकार गरी वा मुकुन्दको खबर आयो अथवा स्वयम् गाउँ फर्कियो भने के होला ? धेरै दिन भएकै छैन, एकजनाले वैदेशिक रोजगारीबाट फर्किएको केही दिनमै श्रीमतीलाई मारेको । किन मारेको भन्दा “जसको लागि मैले मेरो जवानी सक्काएँ, त्यसैले धोका दिएपछि म के गरूँ ?” यस्तै लोग्ने विदेश गएका जाने अनि स्वास्नीले मोज गर्ने, सम्पत्ति नै लिएर अर्कासँग जानेजस्ता समाजमा घट्न पुगेका दुष्परिणामको बीजारोपण पो हो कि यो कथा ? प्रष्ट छैन ।

गलत कामको परिणाम पनि सही हुने अहिलेको समाजको यथार्थ देखाउन खोजिएको पो हो कि ? विद्रोह गर्नेभन्दा नगर्नेले फाइदा लिन सक्छन् भनिएको पो हो कि ? समाजमा विद्रोह नभए पनि कथामा त हुन सक्छ नि । के कलममा पनि विद्रोहको कमी हुन थालेको हो ? लेखकहरूमा नै विद्रोही भावना कमी हुन थालेको त होइन ? यी प्रश्न अहिलेसम्म पढेका र उत्कृष्ट भनिएका “मिटर ब्याज” र “असार पन्ध्र” ले मनमा उठाए ।

भोलिपल्ट अफिस जाँदा पढेको कथा “ख्याक” अहिलेसम्म मलाई सबैभन्दा मन परेको कथा हो । शारीरिक रूपले अशक्त जीवन सपनामा भने हातखुट्टा सजिलै चलाउन सक्छ । तर ऊ सपनामा कालो ख्याक बारम्बार देखिरहन्छ । डरको बिम्ब बनेको ख्याकको डरलाई उसकी आमाले हटाउन खोजिरहेकी हुन्छिन् । जुन दिन देखि ऊ ख्याकसँग डराउन छोड्छ ख्याक कालोबाट सेतो हुँदै जान्छ । उसले खोला थुनेर नाङ्गा पाखाहरू हरियाली बनाउने जुन सपना देखेको छ, त्यो पूरा गर्न मिहिनेत गर्न थाल्छ र अन्ततः सफलता हात पार्छ ।

जीवनको सपनाको दृश्यबाट सुरु भएको कथामा घरी सपना घरी विपना देखिन्छ तर अन्त्य सम्म आइपुग्दा सपना र विपनाको बीचमा कुनै अन्तर नै रहँदैन । कथा पढिसक्दा कक्षा १२ मा पढेको ग्याबृयल गार्सिया मार्खेजको भूतीया जहाजको कहानी याद आएको थियो ।

सातौं कथा “म, जल्लाद प्राणनाथ” पनि मन परेको थियो । रबर्ट जोशीले लेखेको कथामा जल्लाद प्राणनाथलाई भारतबाट बाली बोलाइएको छ कसैलाई मृत्युदण्ड दिन । जसलाई मृत्युदण्ड दिइँदैछ, ऊसँग प्राणनाथले बदलाको भावना राखेको छ । यद्यपि कथाको मूल मर्म चैं प्राणनाथ र उसकी छोरी आधीको सम्बन्ध हो । कथामा flashback को प्रयोग राम्रोसँग गरिएको छ र कतैकतै दार्शनिक पनि छ । कथाकारले फाँसी दिने जल्लादका विषयमा राम्रो अध्ययन गरेको पनि देखिन्छ । केही कुराहरू भने अधुरा र अस्पष्ट छन् । जस्तो कि, मृत्युदण्ड दिएको मानिसले कसलाई बचाउन खोजेको हो ? कथाको अन्तिममा आउने अनिशा को हो ? मृत्युदण्ड पाउने केटा र अनिशाले किन आधीलाई किन पवित्र मन भएकी भन्छन् ? यी प्रश्नहरूको जवाफ पाउनको लागि सायद फेरि फेरि पनि यो कथा पढ्नेछु ।

२०८१ को पहिलो दिनको झिसमेसेमा अन्तरपछि रमा सुवेदीको अर्को ‘म’ पढेँ । कथाको सुरुवात रहस्यमय लाग्यो । मूल कथा भने सिमोन द बुभाको “द सेकेन्ड सेक्स” बयान वरिपरि घुमेको छ । कथाकारको वा कथाका पात्रको भन्दा पनि बुभाको विचारले प्राथमिकता पाएको छ । बुक रिभ्यु जस्तो पनि लाग्यो कताकता । महिलालाई घरको काम गर्न कतिको सकस छ, उनीहरू किन बाँधिन्छन् र बन्धनबाट उम्किन के गर्न सक्छन् भन्ने सन्देशको पाटो राम्रो भए तापनि कथामा अरू कसैको नभएर कथाकै पात्रको विचार हावी भएको भए अझै सशक्त हुन्थ्यो कि ?

एक दुई अनुच्छेद टाइप गर्दागर्दै धेरै भइसकेछ । किताब पनि एक तिहाई सकिएछ । अरू कथा र समग्र कथा सङ्ग्रहका बारेमा भन्न बाँकी कुरा थुप्रै रहे । आगामी भागमा गरौंला है त ।

पुस्तक समीक्षा : सेतो धरती

“भगवान् छ्न् नि !”

उपन्यासको अन्तिम संवादले मन उथलपुथल भयो । यसपछिका वाक्यहरूतिर मन जानै मानेन । आँखाले पढेँ, मनमा आएनन् । यही संवादमा उपन्यास सकिएको भए हुन्थ्यो जस्तो लाग्यो । चलचित्र भएको भए त्यो संवादको अन्त्यमा बुढेसकालमा भेटिएका दुई बालसखा देवघाटको एउटा कुटीमा गएको दृश्य “टप शट” बाट देखाइन्थ्यो होला । किन हो मेरो मनमा यस्तै दृश्य कैद भइदियो ।

Photo obtained from: Twitter.com/ageingnepal. No copyright infringement intended.

यो संवाद चानचुने होइन । उपन्यासकार अमर न्यौपानेको मन भेदेर उनलाई बालविधवाका विषयमा कलम चलाउन उत्प्रेरित गर्ने वाणी हुन् यी । त्यसैले पनि यही संवादमा “सेतो धरती”को अन्त्य भए हुन्थ्यो भन्ने लाग्यो ।

“भगवान् छ्न्” भन्दा वृद्ध ताराले आफूभित्रको भगवान् चिनेकी हुन् भनेर लेखकले नलेखिदिएका भए यी तीन शब्दमाथि वैचारिक बहस र विश्लेषण हुन्थ्यो होला । उपन्यासकारले भने आफूलाई त्यो वाणी सुनाउने वृद्ध आमामै भगवान् देखे सायद ।

***

तारा, यमुना, पवित्रा र गोविन्द

यी चार पात्र एकै ठाउँबाट छुट्टिन्छ्न् अनि भेटिनछ्न् एकै ठाउँमा । भिन्नभिन्न शैलीबाट जीवन बाँचेका यी पात्रहरू अन्तिम क्षणमा भगवान् समीप पुगेका छन् । उपन्यासमा भनिएझैँ यी पात्रहरू नदी हुन् जो देवघाटरूपी तलाउमा बग्दै आइपुगेका छन् । अब त्यहाँबाट एउटा मात्रै बाटो छ । माथी । अर्थात्, मृत्युु । यमुना, पवित्र र गोविन्दसँग ताराको बिछोड र संगमले उपन्यास “फुल सर्कल” (Full circle) बनेको छ ।

***

वैवाहिक प्रचलन: केही अकल्पनीय परिदृश्य

“सेतो धरती” बालविधवाका विषयमा लेखिएकाले यसमा बालविवाहको प्रसङ्ग स्वतः आउने नै भयो । पाँच वर्षकी बालिकाको (ताराकी बहिनी) समेत विवाह हुने कुरा मनै चिर्ने खालको छ । तारा आफैँ सात वर्षकी भएकाले उसका लागि विवाह पूजा, खेल र सपनाजस्तो भयो । तर खेलजस्तो विवाहले उसको जीवन नै वर्वाद भयो ।

आफ्नो जेठो छोराको उमेरकी केटीसँग जब ताराको “बा”ले बिहे गर्छ, चकित हुन्छु । तारालाई समाजले अर्को बिहे गर्न रोक्छ । तर ताराभन्दा कान्छी केटी बिहे गर्न समाजले उसका बालाई उकास्छ । उसका बा पनि राजी हुन्छन् ।

यस्तो अनमेल विवाहले ल्याउँछ अनौठो परिदृश्य । एकै उमेरका ताराका जेठो भाइ र “सौतेनी आमा” खेल्छन् बिहेको खेल । उमेर बढेसँगै उनीहरूको जिस्काई र हिमचिम देखेर तारा गर्छे शंका । सौतेनी आमाको पहिलो छोरामा देख्छे आफ्नो भाइको रूप !

बहुविवाहका प्रसङ्ग पनि उपन्यासमा आएका छ्न् । एउटीलाई पाउन पहिले अर्कीलाई बिहे गर्ने यमुनाको पति अनि गाउँकी दुलहीलाई अनपढ भनेर “आधुनिक” शहरीया बिहे गर्ने गोविन्द दुवै विकृत मानसिकताका उपज हुन् ।

***

यौनिकता र मातृत्व

“कपडा नलगाउँदा सधुवा र ममा के फरक छ र ?” ताराले गरेको यो प्रश्न उनीमाथि समाजले लगाएको बन्देजको उपज हो । कुण्ठित उसको मनले सधैँ उसलाई पिरोलेको छ । उनमा सन्तान जन्माउने क्षमता हुँदाहुँदै समाजले बनाएको दायराले गर्दा ऊ सन्तान जन्माउन पाउँदिन । उनको मातृत्व समाजलाई अपाच्री हुन्छ । समाजले उनलाई बाँधेर राखेको छ ।

तारा को ठीक विपरीत छे पवित्रा । ऊ समाजको जञ्जीर तोडेर नर्तकी, वेश्या, र एकल आमा पनि बन्छे । जीवनको उत्तरार्धमा ऊ कुण्ठारहित जीवन बाँच्दछे । पवित्राका भोगाई र यमुनाको वैवाहिक जीवनको प्रसङ्गहरूले ताराका कुण्ठित मनको वेदना छ्ताछुल्ल पारिदिएका छ्न् ।

***

अन्त्यमा,

उपन्यासमा केही कुराहरू दोहोरिएका जस्ता लाग्छन् भने केही कुरा अधुरा । जस्तै, यमुनाको यौन जीवनका कुराहरू दोहोरिएर आएका छन् । त्यस्तै, एकपटक आफ्नी बहिनी भेट्न भनी गएकी तारा बहिनीको घरै पुग्दिन । उता, वर्षौँदेखी हराएको ताराको कान्छो भाइ देवघाटमा आइपुग्छ तर उसको कहानी थाहा नपाउँदा त्यो कुरा नै नभनिएको भए हुन्थ्यो जस्तो लाग्छ ।

सामान्य कथा बोकेको सामान्य शब्दहरूमा लेखिएको “सेतो धरती” सामान्य उपन्यास भने होइन । लेखक न्यौपानेले भनेझैँ यो अनुभूतिमुलक आख्यान भएकाले नै यो सशक्त बन्न सकेको हो ।

***

“सेतो धरती”

विधा: उपन्यास

लेखक: अमर न्यौपाने

पृष्ठ: ३७३

Powered by WordPress & Theme by Anders Norén