image

साभार: http://kamzangjourneys.blogspot.com

सानै छँदा मैले सोधेको थिएँ, “बा, मरेको मानिस काँ जान्छ ?”

“ह्याँ आ,” भनेर मलाई काखमा राख्दै आकाशमा मुस्कुराइरहेको चन्द्रमा देखाउनुभएको थियो , “उ: माथि हेर् ।”
मैले चन्द्रमातिर हेरेको थिएँ ।
… बाले भन्नुभएको थियो- मरेको मान्छे, माथिमाथि अझ माथि जान्छ । चन्द्रमाभन्दा माथि जान्छ । तँ मेरो काखमा बसेझैँ, भगवानको काखमा बस्छ । तँ बेलाबेला रून्छस् नि, त्यसरी कहिल्यै रूँदैन । कहिल्यै दुख्ख पाउन्न । सध्धैँ सुखी हुन्छ ।
      – बुद्धिसागर, कर्नाली ब्लुज

हिजो पाँच बजेतिर कर्नाली ब्लुज सकेँ । त्यसको ह्याङओभर नमेटिँदै फाेनमा फेसबुक खाेलेँ । नेपथ्यका अमृत गुरूङले ब्ल्याक एण्ड ह्वाइट फोटो हालेका थिए, साथमा डाेल्पाली नायक थिन्ले । क्याप्सन पनि पढेको थिएँ- सम्झनामा आइरहने छाै, यस्तै केही । तर भनेँ नि, म पुस्तककै धङधङीमा थिएँ, त्यसैले हाेशै भएन । ट्विटरमा त्यस सम्बन्धित कुनै गसिप थिएन । यसै पनि मेराे उदेश्य बुद्धिसागरकाे जीवनी खाेज्नु थियाे, भेटिहालेँ सेताेपाटीमा । आफ्नो लक्ष्य पूरा भएपछि म अरू नै काममा लागेँ ।
आज बिहान अमृत गुरूङको फोटो देखेपछि पो झसङ्ग भएँ । अनि कर्नाली ब्लुजको वाक्यांश याद आयो- मान्छे मरेपछि सधैं सुखी हुन्छ । हिजोदेखि कर्नालीका एउटा छोराले पनि सधैंका लागि सुख पाएका थिए ।

एरिक भ्याली १९७२ मा नेपाल नआएका भए, नेपालको सुन्दरता बुझ्न १९८१मा उनी डाेल्पो क्षेत्र नपुगेका भए, अनि थिन्लेको आग्रहमा क्याराभान नबनाएका भए सायद ती डोल्पाली नायकलाई कसैले चिन्ने थिएन । भ्यालीको त्यस चलचित्र प्रतिष्ठित एकेडेमी अवार्ड (ओस्कार)मा मनोनयन नभएको भए, थिन्ले दुर्गमका अनेकौं नेपालीझैं अपरिचित रहने थिए । एक चलचित्रले उनलाई प्रशिद्ध बनाइदियो ।

तर सायद हामीले उनलाई सम्मान दिनै सकेनौँ/जानेनौँ । उनले डोल्पामा मात्रै नभएर कर्णाली क्षेत्रमा नै विकासको माग गरेका थिए । केही हप्ता अघि मात्रै काठमाडौँ आएर डोल्पाका दु:ख निवारण होस् भनेका थिए । आफू क्यान्सरको बिरामी हुँदा पनि आफ्नो गाउँ/ठाउँको बारेमा सोचिरहेका थिए । असली जीवनका यी नायक सबैको उन्नतिको कामना गरिरहेका थिए ।

हिजो दिउँसो उनी यो दु:खी संसार छोडेर गए । उनी क्यान्सरको बिरामी भए पनि मृत्यु भयो घोडाबाट लडेर । सामान ओसारपसारका लागि घोडा-खच्चर प्रयोग हुने त्यस भेगको बाध्यतामा परेर उनी गए । क्याराभान तान्दै, घोडा दौडाउँदै परिचित भएका उनी क्याराभानको यात्रामा नै वैशाख १२, २०७३ मा दिवङ्गत भए । डोल्पाली नायकलाई श्रद्धाञ्जली !

सन्दर्भ सामग्री
१. http://kantipur.ekantipur.com/news/2016-04-24/20160424192121.html
२. http://nepalitimes.com/news.php?id=13437#.Vx15wjNw31Y

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.