करिब तीन साता भयो डा. गोविन्द केसीको “आमरण” अनशन सकिएको । यसपटकको आठौं अनशनमा उनले धेरैको समर्थन पाए । के उनको आन्दोलनले देशभरका जनतालाई सुबिधा होला ? के नेपालको संविधानमा लेखिएको स्वास्थ्य सम्बन्धि हकलाई यो आन्दोलनले सहयोग गर्ला ? यी प्रश्नहरूको जवाफ खोजिनेछ यस लेखमा ।

अनशनको शिलशिला

डा. केसीले यसपटक समेत गरेर आठचोटि अनशन बसे । उनको समर्थनमा युवाहरू सडकमा ओर्लिए; सोसल मिडियामा I am with Dr. KC भन्ने नारा लगाए ।  शिक्षण अस्पतालका डाक्टरहरूले स्वास्थ्य सेवालाई असर हुनेगरी आन्दोलनलाई समर्थन (या विरोध) गरिरहँदा जनताको सहज स्वास्थ्य सेवा पाउने हक कुन्ठित भयो भन्न भने मैले हिच्किचाउनु हुँदैन ।

डा. केसीका अनशनको क्रम

असार २१-२४, २०६९ (४ दिन)

साउन २७-भदौ १, २०६९ (७ दिन)

पुस २७-माघ १०, २०७० (१४ दिन)

माघ २५-फागुन ३, २०७० (८ दिन)

फागुन ८-१९, २०७१ (१२ दिन)

भदौ ७-२०, २०७२ (१४ दिन)

असार २६-साउन ९, २०७३ (१५ दिन)

स्रोत: The Himalayan Times

जनतालाई सास्ती

डा. केसीले पाँचौ या छैटौं पटक अनशन बस्दा डाक्टरहरूले आकस्मिक बाहेकका सेवा बन्द गरेको सुन्दा मैले फेसबुकमा गुनासो पोखेको थिएँ- “जनताको सेवा होस भनेर गोविन्द केसीले अनशन  बसेका छन् । अरू डाक्टरचाहिँ सेवा बन्द गरेर समर्थन गर्दै छन् । ठीक उल्टो भएन र ?” मेडिकल पढ्दै गरेका मेरा एक मित्रले जवाफ दिए- “दुर्गमका मानिसको सुबिधाको लागि काठमाडौंका केही जनताले दु:ख पाउनु गलत होइन *।” मलाई चित्त बुझेन; काठमाडौंका जनताले चाहिँ किन दु:ख भोग्नुपर्ने ? तिनै मित्रले मलाई भने- “तिमी त मुर्ख रैछौ, कुरा नबुझ्ने ।” मैले विवाद गर्नु जरुरी थिएन । सायद काठमाडौंवासीले केही सुबिधा त्याग गर्नुपर्छ भनेर मैले नै नबुझेको थिएँ ।

तर एकचोटी चित्त नबुझेपछि अर्कोपटक त्यस्तै कुरा सुन्दा रिस उठ्दो रैछ । डा. केसीको आन्दोलन ताका मेरो परिवारका दुई सदस्यलाई आँखा जचाउनु पर्‍यो । लगियो नजिकैको त्यही आन्दोलन चलिरहेको अस्पताल । दिउँसोको सत्रमा चालीसजना मात्र बिरामी हेर्ने भनिएछ । हुन त एकचलीसौँ नम्बरमा परेर पनि उपचार त त्यही दिन भयो तर त्यसपछि उपचार नै नपाउने पनि त थिए नि ! के शिक्षण अस्पतालका विद्यार्थीले आफ्नो मात्र सुबिधाका लागि जनताको करबाट छात्रवृत्ति पाएका हुन्; गोविन्द केसीको समर्थन गरेका हुन्  ?

डाक्टरका लुकेका स्वार्थ

“डाक्टरको जस्तो कुल्ली काम कसैको हुँदैन,” अस्ति निमेष दाइ भन्दै हुनुहुन्थ्यो मलाई । मैले पनि त्यसै बुझेको हुँ । दिनभर अनेक थरीका बिरामी हेर्‍यो । न खानाको टुँगो छ न बस्नको । राति अर्जेन्ट फोन आयो भने “दिनभरी थाकेको शरीर” पनि भन्न नपाउने । दत्तचित्तकासाथ उक्त पेशामा लाग्ने मानिसहरूलाई म सलाम गर्छु । तर यस पेशाको व्यापारिकरण गरिएको छ भन्ने सबैलाई थाहा भएको तथ्य हो ।

“ठूलो भएपछि डाक्टर बन्नु !” हामीले दशैँमा यही आशिर्वाद पायौँ । हाम्रो समाजले डाक्टरलाई भगवान मान्छ । डाक्टर बन्न गाह्रो छ अनि त्यसपछिको सम्मान चाहिँ अथाह । त्यसैले प्लस 2 साइन्स पढ्दा पनि मेडिकल इन्ट्रान्स भनेर एक्स्ट्रा क्लास राख्छन् । “गुण पनि धेरै खायो भने तीतो हुन्छ” भन्ने नेपाली उखान छ । सम्मान धेरै गर्‍यो भने दम्भ बढ्छ । नेपाली डाक्टरहरूमा पनि दम्भ भेटिन्छ । त्यसैले त उनीहरू अप्रेसन गर्न ढिला पुग्दा कसैले केही भन्दैन तर कोही बिरामी ढिलो पुगोस्, उसको सातो लिन्छन्  ।

दम्भ बोकेका डाक्टरले चलाएका छन् मेडिकल कलेज । त्यहाँ पढ्छन् पैसा पेल्न सक्ने (वा ॠण काढेका) परिवारका छोराछोरी । तिनको उद्देश्य- पैसा कमाउने । ॠण तिर्नु पर्दा अर्को उपाय पनि त छैन । जब कोही बिरामी हुन्छ, ऊ यस्तै स्वार्थले घेरिएको ठाउँमा पुग्छ ।

यस्तोमा एउटा डाक्टर (गोविन्द केसी) लाई निस्वार्थी रूपमा देखाइयो । र त उनलाई धेरैले पत्याए । तापनि उनले काठमाडौंमा दश वर्षसम्म नयाँ मेडिकल कलेज सञ्चालन गर्न नपाइने सहमती गरे सरकारसँग; साथै मनमोहन मेडिकल कलेजको सम्पत्ति नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले किन्ने व्यवस्था गर्न बाध्य बनाए । यसपालिको सहमतिले निम्नलिखित प्रश्नहरू उब्जाउन सक्छ:

  • काठमाडौंको बढ्दो जनसंख्याको चापलाई अहिले भइरहेका अस्पतालले दश वर्ष थेग्न सक्छन् ?
  • अहिले सञ्चालनमा रहेका मेडिकल कलेजको स्तरोन्नति कसरी र कहिलेसम्म होला ?
  • मनमोहन मेडिकल कलेज सञ्चालकले सुलभ शुल्कमा सेवा दिन्छौँ भन्दा किन दिइएन ? केसीसँग सञ्चालकको व्यग्तिगत टक्कर जस्तो पनि देखियो कि ?
  • निजी मेडिकल कलेज खुल्दैनन पो भन्न खोजिएको हो कि ? वीर हस्पिटलले किन्ने भनेको मनमोहनको सम्पत्ति उसले बेच्न मानेन भने डा. केसीले फेरि अनशन बस्लान ?

नक्कली डाक्टरका सम्बन्धमा

नक्कली डाक्टरको विगविगी भएको यो समयमा गुणस्तरीय सेवा पाउनु त “आकासको फल आँखा तरी मर” भनेजस्तै भएको छ ।सिआइबीले समातेका नक्कली डाक्टर काममा फर्किए रे । डा. केसीको आन्दोलनले यो मुद्दा किन छोएन ? फेरि समावेशी कोटाका नाममा ८८% ल्याउनेले नपाएर ५०% ल्याउनेले मेडिकल गर्न पाउने प्रथा हुने गरी आन्दोलन गर्लान् कि नगर्लान केसीले ? नवौँ अनशनमा (भइहाल्यो भने) चाहिँ सलाइनविनै केसी बस्न सकून् ।

आन्दोलनको सार्थकता

हरेक प्रदेशमा एउटा स्तरीय मेडिकल कलेज सञ्चालनमा आए सबैलाई फाइदा होला । र ती छिटो बनून् । देशका सबै क्षेत्रमा स्वास्थ्यसेवा सजिलो गरि पाइयोस् । व्यापारिक उद्देशले अस्पताल नखोलिउन् । डाक्टरले “हिप्पोक्रेटिक ओथ” ननाघून् । अनि नक्कली डाक्टरले शिर नउठाउन् । 

मेरा पछिल्ला दुई कामनाका सम्बन्धमा केही कुरा नउठेकाले गोविन्द केसीको आन्दोलनलाई म अपुरो ठान्दछु । असल उद्देश्य राखिएको भनिएको अनशनले ती कुरा नसमेटेकाले फेरि यस्तै आन्दोलन नहोला भन्न सकिन्न । तर आन्दोलन गर्न पाउने हक प्रयोग गर्दा कसैको स्वास्थ्य सेवा पाउने हक कुण्ठित नहोस् ।

    [थप कुरा:

    * मेरा मित्रलाई जवाफ (ढिलै भए पनि) 

    केही समय पहिले काठमाडौंवासीले मधेसको समस्या बुझेनन् भन्दै नाकाबन्दी गराए मधेसी दलले । त्यसको विरोध व्यापक भयो । तिमीले के गर्‍यौ मलाई याद छैन तर काठमाडौंमा बस्ने बित्तिकै सुबिधाभोगी भन्ने बुझ्यौ कि कसो ? नत्र अन्त उपचार गर्न नपाएर यहाँ आएका बिरामी पनि त हुन्छन् नि ! तिनले चाहिँ काठमाडौंमा सुबिधा लिन नपाउने भन्न खोजेका हौ कि ? या तिमीहरूलाई आफ्नो ठाउँमा अस्पताल खुल्दैछन्, काठमाडौं आउनु पर्दैन भनेका हौ कि ? तिम्रो तर्क मैले किन नबुझेको रैछु भने नि तिमिले पढ्ने टिचिङ हस्पिटलमा निम्न र मध्यम वर्गीय बढी आउँदा रैछन् । धनीका लागि त ग्रान्डी, वयोधा छँदैछन् । निम्न आय भएकाका लागि आन्दोलन हुँदा किन त्यस्तै आर्थिक स्तर भएका जनताले दुःख पाउने ?
    ** आमरण अनशनमा सलाइन चढाउन हुन्न भन्ने गोर्खाका नन्दप्रसाद अधिकारीले आफ्नू छोराको हत्यारालाई सजाय दिनुपर्छ भन्दा ज्यान गुमाए । उनको समर्थनमा उठेका फाट्टफुट्ट स्वर त्यसै हराए । सायद न्यायलाई व्यक्तिगत स्वार्थ ठाने धेरैले !

    *** यो लेख आउनमा निमेष अधिकारी (माथि निमेष दाइ)को महत्त्वपूर्ण योगदान छ । उहाँको ब्लग पनि पढ्नुहोला ।]

    Join the Newsletter!

    Sign up to receive awesome content in your inbox.

    We don’t spam! Read our privacy policy for more info.

    Join the Newsletter!

    Sign up to receive awesome content in your inbox.

    We don’t spam! Read our privacy policy for more info.