हिजो अचानक यो प्रश्न मनमा उठ्यो । देशमा राजनीतिका नाममा ठगी भइरहँदा, कुटनीतिका नाममा लुटनीति चलिरहँदा अनि राज्य पुनर्संरचना (शब्दै कति गार्हो रै’छ टाइप गर्न !)का आवाज उठिरहँदा नागरिक समाज कता हरायो? दश वर्षअघि राजाको प्रत्यक्ष शासनको विरोध हुँदा “नागरिक समाज” एकदम प्रचलित थियो । नागरिक समाज नभएको भए २०६२/६३को आन्दोलन नै हुने थिएन ।
तत्कालिन अवस्थामा नागरिक समाजका कसरी बनेको थियो ? के उद्देश्य थिए ? इतिहास नबुझी हुन्न भन्ने ठानेर गुगल सर्च गरेको थिएँ । हिजो नै सेतोपाटिमा चुडामणि बस्नेतको एउटा लेख प्रकाशित भएको रै’छ । उक्त लेखलाई आधार मान्दा त्यो समयको नागरिक समाज तल दिइएका वर्गको समूह पो रै’छ-
- समाजका केही अगुवाहरू,
- काठमाडौंमा केही बुद्धिजीवी भनेर कहलिएकाहरू, र
- सञ्चार क्षेत्र
- केही गैरसरकारी संस्थाका अगुवाहरू
नागरिक समाजको उद्देश्य थिए- १) माओवादी द्वन्द्वको वार्ताद्वारा समाधान; २) लोकतन्त्र र गणतन्त्रको प्राप्ति; ३) समावेशीकरण; ४) राज्य पुनर्संरचना ।
पछिल्ला दुई उद्देश्य माओवादीलाई मुल धारको राजनीतिमा ल्याउने कडीका रूपमा मैले बुझेको छु । ०६२/६३को आन्दोलनमा ती सवाल कसरी उठेका थिए भन्ने चाहिँ मलाई याद छैन । (म बाह्र वर्षको मात्रै थिएँ नि त !) अघिल्ला दुई उद्देश्यमा जनताको प्रत्यक्ष चासो थियो र राजनीतिक दलको स्वार्थ पनि त्यहीँ गाँसिएको थियो ।
त्यस ताका राजाले शासन आफ्नो हातमा लिँदा दलहरूमाथि जनताको विश्वास नै थिएन । उनीहरूले गर्ने विरोधका कार्यक्रममा जनता जाँदैनथे (रक्तकुण्ड, कृष्ण अविरल) । उनीहरू एउटा माध्यम चाहन्थे जनतासम्म पुग्न । नागरिक समाज त्यस्तो एउटा पुल थियो । त्यही भएर नै नागरिक समाजविना आन्दोलन सम्भव थिएन ।
जनता आन्दोलनमा होमिए । राजाले शासन छोडे । विघटित प्रतिनिधि सभा पुनर्स्थापना भयो । लोकतन्त्र आयो । राजाको शक्ति सीमित भयो । संविधान सभाको निर्वाचन भयो । गणतन्त्र घोषणा भयो । जनताले आन्दोलनमा भनेका थिए- “खबरदार नेतगण धोका देलाउ ।” नागरिक समाजलाई भनेका थिए- “यी नेतालाई मुर्ख्याइँ गर्न नदिनू ।”
तर लोकतन्त्र र गणतन्त्र आउँदासम्म नागरिक समाज हराउन थालिसकेको थियो ।
सेतोपाटिको लेखअनुसार जतिजति समावेशीकरणको अवाज उठ्यो, नागरिक समाज फुट्दै गयो । जबजब राज्य पुनर्संरचनाको कुरा उठ्यो, नागरिक समाज विभक्त हुँदै गयो । मधेस आन्दोलनले यसमा झन् मद्दत गर्यो । क्षणिक उद्देश्यका कारण नागरिक समाज टुक्रिएको हो भन्ने म मान्दछु ।
तत्कालिन नागरिक समाजले देशको मुख्य शत्रुलाई निर्मुल पार्न कुनै कदम नै नचालेको जस्तो म देख्छु । नेपालका मुख्य शत्रु हुन्- अस्थिरता र भ्रष्टाचार । यिनै दुई कारणले गर्दा राजनीतिक दलसँग आजित भएका जनताले राजाको प्रत्यक्ष शासनलाई समर्थन गरेका थिए । यिनै दुई कारणले गर्दा राजाको शासन डगमगाएको थियो । यिनै दुई कारणले भुकम्प पीडित जनताले उचित राहत पाएका छैनन् । यिनै दुई कारणले नेपाल विदेशी चलखेलको केन्द्र बनेको छ । यिनै दुई कारणले जनता गणतन्त्र देखि नै आजित हुन थालिसके । समस्याको चुरो बुझेर पनि बुझ पचाउने राजनीतिकर्मी र बुद्धिजीवी भनाउदाले गर्दा नै हाम्रा समस्या समाधान नभएका हुन् ।
अफसोस, नेपालका बुद्धिजीवीहरू र सञ्चार क्षेत्र जातीय, क्षेत्रीय, वर्गीय रङ्गमा रङ्गिएका छन् । यस्तोमा हाम्रा समस्याहरू झन् बढ्दै छन् । कहिलेसम्म ? प्रश्न अनुत्तरित छ ।
Discover more from Stories of Sandeept
Subscribe to get the latest posts sent to your email.
Isolated_girl
जुन देशमा १५ हजार नेपाली ले देह त्याग गरे
जनान्दोलन को नाममा आफ्नो सर्वस्व त्यागेर छोडेर भये पनि देशको निम्ति लडाईमा होमिए ।
उनिहरुलाइ त अहिले सम्म नयाय मिलेको छैन भने अरु के अप्पेछ्या राख्नु ।
There is no justice! There is no peace. and this is why there is no development.
aaj pni uhi din xa
uhi rajnaitik ashirtha
uhi deshlutne neta haru
…
Ganatantra lekhdaima
sambidhan banaudaima…
desk ko bikaash kaha hunthyo!
dukha lagxa!
sandeept252
अव्यवस्था नै हाम्रो मुख्य समस्या हो तर कुनै आन्दोलनले अव्यवस्था हटाउन नसकेकोले हामीले दु:ख पाएका रैछौं ।