गुरु व्यास जयन्तीको दिन गुरु व्यासको सबैभन्दा चर्चित कृति महाभारतमा आधारित चीरहरण पढेर सकियो । नीलम कार्की निहारिकाको यो नेपाली उपन्यास पढ्न सकिन्छ कि सकिँदैन भन्ने द्विविधा थियो सुरुमा । मैले आजसम्म पढेका मध्ये सबैभन्दा ठूलो हो यो पुस्तक । त्यही पनि कथानकमा जुन ‘फ्लो’ छ, त्यसले ५२२ पृष्ठ पढ्न धेरै समय लागेन ।

चीरहरण महाभारतभन्दा पृथक छ र छैन पनि । पृथक यस अर्थमा छ कि यसले महाभारतका नारीपात्रहरूका सुख, दुःख, पीडा र समस्याहरू देखाइएको छ । पृथक यस अर्थमा छैन कि यसले महाभारतको कथा (मैले जानेसम्म) परिवर्तन गरेको छैन । महाभारतमा रहेका जादुमयी कुराहरू, उदाहरणका लागि गुरु व्यासको जन्म, लाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

उपन्यासको सुरुवात जादुमयी छ । कुनै जलाशयमा सुभद्राबाहेकका सबै पात्रहरू आएका छन् । पालैपालो आफ्ना कथाहरू राख्छन् । पहिलो पुस्ताको पात्र सत्यवतिबाट महाभारतको कथा सुरु हुन्छ । दोस्रो पुस्ताको प्रतिनिधित्व अम्बिका र अम्बालिकाले गरेका छन् । तेस्रो पुस्ता कुन्ती र गान्धारी अनि चौथो पुस्ताका नारीका रूपमा द्रौपदी, चित्राङ्गदा, उलूपी र भानुमती वक्ताका रूपमा आउँछन् ।

पहिलो देखि चौथो पुस्ता (अझ पाँचौं) सम्म आइपुग्दा नारीले भोग्ने समस्या उस्तै छन् । सत्यवतीको वर्णन पढ्दा पीडा, आश्चर्य र साहनुभूतिका भावना जाग्छन् । अम्बाको पीडामा आँसु बग्छन् । अम्बिका र अम्बालिकाले पतिको मृत्यु पछि व्याससँग गर्ने नियोगका बारेमा जानकार हुँदाहुँदै पनि मलाई चकित पारिदियो । गान्धारीको हठात् गरेको आँखामा पट्टी बाँध्ने प्रणले पारेको असरको बारेमा सायदै कसैले याद गरेका होलान् । अनि कुन्ती र माद्रीले भोग्नुपरेका दु:ख र पतिको मृत्युमा सती जानुपर्ने विषयमा भएका वादविवाद र मत-मतान्तर दु:खद छन् ।

उपन्यासको आधाभन्दा बढी भाग द्रौपदीको कथाले लिएको छ । शिर्षक नै चीरहरण भएको र महाभारतको पनि क्लाइमेक्स द्रौपदीसँग जोडिएकाले होला । द्रौपदीको इतिहासमा पीडा, क्रोध र विद्रोह छ ।

उपन्यास समग्रमा विद्रोही किसिमको छ । पात्रहरूमा बारम्बार विद्रोहको आकांक्षा आउँछन् तर फेरि धर्म र कर्मको नाममा दबिन्छन् । सबै पात्रहरूले कुनै न कुनै समयमा सम्झौता गर्छन् । चीरहरणले धर्म र बाध्यता को नाममा महिलाप्रति हुने विभेद र अत्याचारका विरुद्धमा धावा बोलेको छ ।

उपन्यास राम्रो हुँदाहुँदै पनि बारम्बार दोहोरिने वाक्य, वाक्यांश र संवादले अलि झिंझो लाग्छ । उपन्यासमा थुप्रै गल्ती पनि भेटियो । ५२२ पृष्ठ सम्पादन गर्नु सजिलो कुरा होइन तर गल्ती नभएको भए अझ राम्रो हुने थियो ।

पुस्तकको नाम: चीरहरण

लेखक: नीलम कार्की निहारिका

पृष्ठ सङ्ख्या: ५२२

SUBSCRIBE

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

SUBSCRIBE

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.