[प्रस्तुत लेख मोहन मैनालीद्वारा अनुदित आकाशमुखी संग्रहको जर्ज बर्नाड शअको स्वन्त्रता शीर्षकको निबन्धमा आधारित छ ।]
जर्ज बर्नाड शअ (फोटो स्रोत: NPG)

आफूलाई मन लागेका कुरा बिना कुनै रोकटोक गर्न पाउनुलाई हामी स्वतन्त्र भएको मान्दछौँ । तर स्वतन्त्रताका पनि सीमा हुन्छन् । समाज र कानूनले बर्जित गरेका क्रियाकलाप गर्न हामीलाई छुट छैन । त्यस्ता क्रियाकलाप गरेमा सामाजिक बहिष्करण देखि कानूनी कारबाहीसम्म हुन सक्छ । यसर्थ मानिस पूर्ण रूपमा स्वतन्त्र छैन ।

रुसो भन्छन्, “मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र बाँधिएको हुन्छ ।” जन्मसिद्ध स्वतन्त्रताको हकमाथि राज्यले अङ्कुश लगाउँछ भन्ने आशय उनी व्यक्त गर्छन् । जर्ज बर्नाड शअ “स्वतन्त्रता” शीर्षकको निबन्ध वाचन गर्ने क्रममा भन्छन्, “प्रकृतिले पनि मानिसलाई बाँधेको छ” । दैनिक क्रियाकलाप जस्तै सुत्ने, उठ्ने, दिसापिसाब गर्ने, खाना खाने लगायतका कुराहरूलाई प्रकृतिले नियन्त्रण गरेको हुन्छ । तर यस्ता गर्नै पर्ने अत्यावश्यक क्रियाकलापलाई हामी बोझ ठान्दैनौँ, उनी भन्छन्, किनकी प्रकृतिको नियन्त्रणले गर्दा नै जीवन सम्भव छ ।

मानिसले मानिसलाई गर्ने नियन्त्रण चैं हामीलाई बोझिलो लाग्छ । केही महीनाअघि लेखेको What’s the Point? कथामा वाचक (म पात्र) नोकरी (जब) गर्न मन गर्दैन । ऊ भन्छ, “नोकरी अभिशाप हो । यसले मानिसलाई पैसा र रोजगारदाताको दास बनाउँछ । पैसाकै लागि तपाईं काम गर्नुहुन्छ । बोसले पैसा दिन छाड्यो भने तपाईं काम नै छाडिदिनुहुन्छ । नोकरीले तपाईंको स्वतन्त्रता खोस्छ ।”

यो नितान्त व्यक्तिगत अनुभवबाट प्रेरित भएर लेखेको कुरा थियो । शअको निबन्धमा लगभग यस्तै तर अझ कडा शब्दमा रोजगारदाताप्रती रोष छ:

“तपाईंको रोजगारदाताले कपाल यसरी काट् भन्न सक्छ । यस्तो रङको, यस्तो खालक लुगा लगा भन्न सक्छ र यति बेलादेखी यति बेलासम्म काम गर् भन्न सक्छ । उसको आदेश टेर्नुभएन भने उसले जुनसुकै बेला पनि तपाईंलाई सडकमा पुर्‍याइदिन सक्छ . . . छोटकरीमा, राजनीतिक तानाशाहले तपाईंलाई जति नियन्त्रण गर्न सक्छ, रोजगारीदाताले त्योभन्दा बढी नियन्त्रण गर्न सक्छ ।”

राजनीतिक स्वतन्त्रताको सन्दर्भमा जर्ज बर्नाड शअ भन्छन्,

सरकारहरूले नागरिकमाथि दासता थोपर्छन् र त्यसलाई स्वतन्त्रता भन्छन् । सरकारहरूले मालिकको लालचलाई निश्चित सीमाभित्र राखेर नागरिकको दासताको हदलाई भने नियन्त्रण गर्छन् । मानिसलाई आफ्नो सम्पत्तिका रूपमा बेचबिखन गर्न पाउने दासप्रथा ज्यालामजदूरी प्रथाभन्दा महँगो भएपछि उनीहरूले दासप्रथा उन्मूलन गरे । यसले गर्दा कुन मालिकको कुन काम गर्ने भन्ने छनोट गर्न कामदार स्वतन्त्र भए । यसलाई उनीहरूले स्वतन्त्रताको विजय भनी जयगान गाए । जति स्वतन्त्र भए पनि कामदार त बेघरबार नै हुन्छन् ।

त्यस्तै चुनावका विषयमा उनी भन्छन् :

. . . उनीहरू कामदारलाई चुनावमा भोट हाल्ने अधिकार दिन्छन्, हरेक पाँच वर्ष जस्तोमा आमचुनाव हुने व्यवस्था मिलाउँछन् । चुनावमा धनी दुई जना उम्मेदवारले तपाईंसँग भोट माग्छन् । तपाईले यी दुई धनीमध्ये जसलाई पनि छान्ने स्वतन्त्रता पाउनुभएको हुन्छ । हो, तपाईंले यस्तो कुराको छनोट गर्न पाउनुहुन्छ, जसले तपाईलाई पहिलेभन्दा अलिकति पनि बढी स्वतन्त्र बनाउँदैन किनभने यसो गर्दा तपाईंको कामको बोझ कत्ति पनि घट्दैन । अनि समाचारपत्रले तपाईलाई के कुरामा विश्वास दिलाउँछन् भने तपाईंको मतले निर्वाचनको परिणाम निर्धारण गयो । यति हुनेबित्तिकै तपाईं प्रजातान्त्रिक मुलुकको स्वतन्त्र नागरिक हुनुभयो । छक्क लाग्छ, तपाई कति मूर्ख हुनुहुन्छ भने यस्तो कुरा पत्याइहाल्नुहुन्छ ।

उनी थप्छन्, “१० मध्ये ९ मतदाता साधारण कामदार भए पनि उनीहरूमध्ये थोरैलाई मात्र आफ्नै वर्गका मानिसलाई भोट दिऊँ भनेर मनाउन सकिन्छ ।” यसको कारण के हो भने शासक भनेको रवाफिलो, चट्ट परेका लुगा लगाउने र विशेष अदब भएको मान्छे हो भन्ने मानसिकता हो ।

यी हरफहरू पढ्दै गर्दा ८ वर्षअघि आफूले लेखेको “Democracy or Aristodemocracy?” शीर्षकको ब्लग पो याद आयो । त्यसमा लेखेको थिएँ, “लोकतन्त्र भएका देशहरूमा जोकोही उम्मेदवार सजिलै बन्न पाउँछ तर विजेता प्राय: उही हुन्छ, जसले पैसाको खोला बगाउन सक्छ ।”

माथि नै भनियो, मानिसलाई समाज र कानूनको बाँधेको हुन्छ । शअ पनि कानूनले स्वतन्त्रता संकुचित गर्छ भन्छन् अनि थप्छन्,

कानून विवेकसम्मत छन् र तिनलाई निष्पक्ष ढङ्गले लागू गरिएको छ भने तपाईंले कानूनविरुद्ध गुनासो गर्ने कारण हुँदैन किनभने कानूनले सामान्यतया तपाईंमाथि हातपात, डकैती र अराजकता हुन नदिएर तपाईंको स्वतन्त्रताको मात्रा बढाउँछ ।

यहाँ रमाइलो विरोधाभाष छ । कानूनले स्वतन्त्रतालाई सीमित पनि गर्दो रहेछ अनि स्वतन्त्रताको रक्षा पनि गर्दो रहेछ । आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अर्काको स्वतन्त्रता हनन हुनुहुँदैन भन्नु पनि त स्वतन्त्रताको सीमितता नै त हो नि, हैन र ?

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.