उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १) प्रकाशित गरेर फेसबुक ग्रुप बुकाहोलिक्समा सेयर गरेपछि प्रतिक्रियाको ओइरो नै लाग्यो । धेरै जनाको राम्रो प्रतिक्रियाले मन फुरुङ्ग भयो । बाँकी कथाहरूका बारेमा अझै राम्रो प्रतिक्रिया दिने चुनौती पनि थपियो । यद्यपि किताब पढ्न र रिभ्यु लेख्न अलि बढी नै समय लागिरहेको छ । अलि अलि पढ्दै लेख्दै गर्दा साढे तीन महिना पो बितिसकेछ ।

के भयो भने सुरुमा एउटा परीक्षाले अल्झायो । त्यसपछि अन्तर्राष्ट्रिय घटनाक्रमहरूले यस्तो मोड लिए कि तिनलाई नजरअन्दाज गर्नै सकिएन । दिनहुँ भएका घटना र ठूलै युद्धको आशङ्काले मन त्रसित भइरह्यो । फेरि आफैंमा आएका अनेक इमोसलन परिवर्तनले आफैंलाई दु:खी पाइरहेको छु । यसपालि गैरआख्यानहरूले धेरै नै तानेकाले कथाहरू पढ्न गाह्रो भइरहेको पनि छ । एउटा दुईटा कथा पढ्ने अनि लामै गैरआख्यानको किताब पढ्ने गर्दा लेख्ने क्रम पनि टुटेको छ । अलि शान्त भएपछि उत्कृष्ट कथा, २०८० को कथासूचि हेरेँ अनि पढेँ, वसन्तबायुङ राईको कथा “रातो भत्ता” ।

कथा सलल बगेको छ पूर्वी पहाडी जीवन देखाउँदै । लवज साह्रै मिठो लाग्छ । कथामा आउने मोडहरूले चकित बनाउँछन् । सम्पत्तिकै लागि सम्बन्धहरू बन्ने भत्कने क्रम चलिरहन्छ अन्त्यसम्मै । कथा मात्रै विकृत हो या समाज नै त्यस्तै बन्न थालेको हो ? मनमा डरलाग्दो प्रश्न उब्जिन्छ । पृ. ३३५ मा ठूलै त्रुटी भेटिन्छ, “[हाङबारू] बुढीलाई बेलाबेला माया, स्नेह र श्रद्धाले मुसार्थी । पानी दिन्थी ।” व्याकरणीय असङ्गति हाँसो उठ्ने खालको छ ।

त्यसपछि पाना पल्टाउँदै शंकर धितालको “साक्षी” पढ्न थालेँ । यसमा एउटा रूखलाई मुख्य पात्र बनाइएको छ । रूखले एउटा मानिस, उसको परिवार र समाजको कथा भनेको छ । जसको बारेमा रूखले प्रेमसहित बोलेको छ उनीहरू नै  पीडाको कारण बनेको प्रसङ्ग हृदयविदारक छ । पर्यावरणलाई ख्याल नगरी गरिने विकासले ल्याउने विनाशलाई देखाएको छ । रूख अरू पनि धेरैको जिन्दगीको साक्षी बनेको थियो होला । यस हिसाबले कथामा उपकथा थप्दै उपन्यास नै बनाउन पनि सकिन्छ । छोटो कथाका रूपमा त मर्मस्पर्शी छ नै ।

सङ्ग्रहबाट पढेको एघारौं कथा थियो, त्रिभुवनचन्द्र वाग्लेको “म्ह्याय्चा” । एउटा व्यक्तिलाई कुनै ठाउँमा  सैनिकहरूद्वारा कैद गरिएको छ । मधेसको कुरा एक ठाउँ बताएकाले ऊ त्यताबाट आएको हो भन्ने बुझिन्छ । वर्षाको मौसम छ । साउन १७ मा अस्पताल लगिएको जिकिर गर्छ र दिन गन्तीको लागि खानामा पाउने चनाबाट एकएक दाना छुट्याएको छ । कैदमा भएपनि खाना पकाउन चुल्हो पाएको छ । एकदिन एउटी नेवार केटीले खाना नपकाउनु भनेपछि उसकै कल्पनामा भित्ता कोट्याउँदै नग्न स्त्रीको चित्र बनाउँछ ।

अन्त्यमा आइपुग्दा कथावाचकले नारीहरूमा असीम शक्ति हुन्छ भन्छ । यद्यपि आमाले खाना दिएको र नेवार केटीले भित्ताको चित्रको विरुद्धमा गरेको गुनासोलाई नै शक्ति मान्ने हो भने सूत्रधारले किन त्यसो भनेको हो भन्ने बुझ्न मुश्किल छ । कथा अलि जटिल हुन पनि सक्छ र मैले सिम्बोलिजम नबुझेको हुन सक्छु । माफी चाहेँ ।

केही आधारभूत कुरामा यस कथामा पनि गल्ती भेटिन्छ । जस्तो कि, चित्र बनाउन थालेपछि चना राख्न बिर्सेको कारण वाचकले कति दिन बित्यो भन्ने बिर्सिन्छ । तर त्यही अनुच्छेदमा उसले पाँच दिन बित्यो, दुई दिन बित्यो पनि भन्छ । यस्तो सम्भव नै नहुनु पर्ने हो । मुद्राराक्षसले यहाँ पनि दु:ख दिएको छ । “सैनिकले भने” हुनुपर्नेमा “भनें” भएको छ ।

केही समयको विश्रामपछि दिनमान गुर्मछनको “सन्ताप” पढेँ । सुरुको वाक्यमै “तिमी कहिले आउछौं ?” पढ्नुपर्दा दिक्क लाग्यो । अघिल्लो भागमै भनिसकेको छु कि राष्ट्रियस्तरको प्रतियोगितापश्चात् प्रकाशित किताबमा कथैपिच्छे गल्ती भेटिनु राम्रो पक्कै हैन । कथाको एउटा पात्रको नाम जीवन भएकोले “…जीवन सम्झौतामै गुज्रिएको थियो” (पृ. १२०) जस्ता वाक्यहरूले कतैकतै झुक्यायो अनि दोहोर्याउनु पर्याे। “जिन्दगी” शब्दको प्रयोग गर्न सकिन्थ्यो । कथा पढिसक्दा भने मन आनन्दित भएको थियो ।

कथाकी मुख्य पात्र सुनीता बाध्यताले खाडीमा पुगेकी छे । उसको पति जीवन पनि पहिला विदेश गएको थियो र हात गुमाएको थियो । दुवै जनयुद्धका सिपाही थिए कुनै बेला । सुनीता घर फर्कन चाहेर पनि सकिरहेकी छैन । काम गर्ने ठाउँमा मालिकले यौन शोषण गरेर गर्भमा बच्चा आएपछि उसको आत्मविश्वास पूरै मरेको छ । जीवनले के भन्ला भन्ने डर पनि उत्तिकै छ । कथाको अन्त्यमा उसले रहस्य खोल्छे । जीवनले जुनसुकै अवस्थामा पनि स्वीकार्ने कुराले उसको मन शान्त हुन्छ ।

सुनीता घर फर्किन पाउँछे कि पाउँदिन भन्ने प्रष्ट छैन । जीवनले पछि राम्रै व्यवहार गर्ला भन्ने पनि निश्चित छैन । एउटी महिलाले पितृसत्तात्मक समाजको डरका कारण पतिको स्वीकारोक्ति लिनपर्ने स्थिति पनि देखिएको होला । तथापि महिलालाई नै दोष लगाउने समाजमा जीवनले देखाएको प्रेम र दिएको आश्वासनले निकै नै मन छोयो ।

सङ्ग्रहबाट पढेको तेह्रौं कथा थियो तैँ तैँ धितालको “अप्रिय पिताजी” । लेखकको नाम अनौठो लाग्यो । पात्रहरू बर्मामा भएकाले लेखकको नाम पनि त्यतै सम्बन्धित छ कि भन्ने लाग्यो । कथाको सुरुवात पनि आश्चर्यजनक छ । एउटी छोरीले आफ्नो नग्न तस्वीर देखेर बिरामी परेका पितालाई “अप्रिय” सम्बोधन गरेकी छिन् । हिन्दू धर्मकर्म र संस्कारमा हुर्काएकाले डर एवम् सोझोपनका कारण पुरुषहरूले फाइदा लिएको भन्ने तर्क छोरीको छ । यद्यपि छोरीले पनि पिताको सोच विपरीत कार्य पनि गरेकी छिन् । नग्न तस्बिर खिच्न र सर्कुलेट गर्न अरूकै हात भएकाले पिताले छोरीसँग एक फेर राम्रोसँग कुरा गरेको भए हुन्थ्यो भन्ने पनि लाग्छ । तर पितालाई पनि आफूले गरेको विश्वास तोडिएकाले उनको अवस्था र प्रतिक्रिया अस्वाभाविक लाग्दैन । छोरीले पनि पिताको मनोभावना बुझेर अप्रिय नभनेको भए हुन्थ्यो भन्ने लागिरह्यो ।

महेश चौलागाईंको कथा “गल्ली” निकै नै मनपर्‍यो । कथाकारले सरकारी कार्यालयमा कार्यालय समयपछि हुने बेथिति धेरै राम्रोसँग देखाएका छन् । कथा पढ्दै गर्दा अफिसमै त रक्सीसहितको पार्टी हुन्छ र जस्तो पनि लाग्यो । यद्यपि, त्यस्तो नहोला भन्न पनि सकिन्न । पदाधिकारीहरूको नैतिक पतन देखेकाले यस्तै कथा आफैंले पनि लेख्न सकेको भए हुन्थ्यो भन्ने पनि लागिरह्यो ।

“उत्कृष्ट कथा – २०८०” सङ्ग्रहबाट मैले पढेको पन्ध्रौं कथा थियो राजेन्द्र अधिकारी कृत “प्रायश्चित” । पतिको विवाहपूर्वको सम्बन्धको बारेमा थाहा पाएपछि पत्नीले महसुस गरेको पीडा र पतिले प्रायश्चितका लागि रोज्नुपरेको बाटोको बारेमा कथाले भन्छ । प्रायश्चितको परिणाम के हुन्छ भन्ने निश्चित छैन । यसले पात्रहरूमाथि कस्तो प्रभाव पार्ला भन्ने प्रश्न पनि बाँकी नै रहन्छ । छोटा छोटा साधारण वाक्य भएको कथा यस्ता प्रश्नहरूको उत्तर बताइदिएको भए हुन्थ्यो भन्ने मेरो मनमा लाग्यो ।

त्यसपछि पढेको राजेश सुवेदीको “सागी प्रेमी”ले दिमाग हल्लाइदियो । दक्षिण कोरियामा काम गर्न गएको मुख्य पात्रले त्यहाँका महिलाहरूले विदेशीलाई पैसाको लागि फसाउँछन् भन्ने सुनेको छ । यति हुँदाहुँदै पनि ऊ एउटी महिलासँग प्रेममा पर्छ । शङ्का उपशङ्काले गर्दा उसको मनस्थिति कसरी खल्बलिन्छ र सागी (कोरियनमा धोखेबाज) बन्न पुग्छ भन्ने कहानीमा देखाउन खोजिएको छ । सस्पेन्स, ट्वीस्ट र टर्नले गर्दा कथा पढ्न एकदम मज्जा आयो ।

भाग-१ झैँ भाग-२ मा पनि आठवटा कथाको समीक्षा गरेँ । अब बाह्रखरी कथा प्रतियोगिताको टप-२५ मा परेका उत्कृष्ट तीनसहित नौवटा कथा बाँकी रहे । तिनलाई भाग-३ मा समेट्नेछु । कथा सङ्ग्रहमा रहेका अतिथि कथा, भूमिका र अन्य कुरा भाग-४ मा पस्किनेछु ।


Discover more from Stories of Sandeept

Subscribe to get the latest posts sent to your email.