उत्कृष्ट कथा, २०८० का अतिथि कथाहरू र अन्य केही कुराहरू यस भागमा समेट्ने छु । अतिथि कथाहरू पुस्तकमा भएको क्रमअनुसार नै समीक्षा गर्नेछु ।
अतिथि कथाहरू
पहिलो कथा दकस (भगीरथी श्रेष्ठले) ले यस्ती महिलाको कथा भनेको छ जो वृद्धावस्था उन्मुख छिन् र छोराबुहारीबाट छुट्टिएर उनीहरूकै घरमा तल्लो कोठामा बस्न थालेकी छिन् । उमेर ढल्किँदै गएपछि एउटी महिलाले महसुस गर्ने हीनताबोध र त्यसबाट उत्पन्न हुने स्वतन्त्रताको खोजी यस कथामा देख्न सकिन्छ । आफ्नो दिनचर्या र साहित्यिक रुचि छोराबुहारीले मन नपराएको ठान्छिन् र भित्रभित्रै जल्छिन् । फेरि छुट्टै बस्न खोज्दा समाजले के भन्ला भन्ने अनि छोराबुहारीसँग टाढिइँदै जाने हो कि भन्ने डर पनि छ । छोराबुहारीले उनकै राम्रोको लागि धेरै दौडधुप नगर्नु भन्ने सल्लाह पनि उनलाई बिझ्छ । समाजमा देखिएकै घटनालाई राम्रोसँग उतारिएको छ कथामा ।
दोस्रो अतिथि कथा हो भाउपन्थीको “रिक्त” । यो कथामा धेरै कुरा आएका छ्न् । चिया पसलदेखि कलेजको राजनीति र बिहे गर्न केटी खोज्ने कुरा देखि जोगी बन्ने विचारसम्म । “म” पात्रदेखि रिस पनि उठ्छ कतैकतै अनि माया पनि लाग्छ । आजकलको युवाहरूमा भएको नैराश्यता सबै नै टपक्कै टिपेका छन् लेखकले । कथाको शैलीमा भने न्यारेसन बढी भएकाले मलाई चैं पढ्दापढ्दै अल्छी पनि लाग्यो । यद्यपि विषय भने रोचक नै छ ।
डा. राजेन्द्र विमलको “पुत्रऋण” एकदमै मन पर्यो । एक परिवारको तीन पुस्ताका मानिसले गरेका राम्रा नराम्रा कुराको फेहरिस्त छ । ठेकेदार महादेव खड्काले अथाह सम्पत्ति जोडेपछि उसका छोराहरू गणेश, कार्तिकेय र अभिनन्दन अनि नातिनातिनीहरूको पतन हुँदै गएको नैतिकता र बढ्दै गएको दम्भ देखाइएको छ । धनसम्पत्तिको लोभ र चाहनाले केकस्ता अवस्था आउनसक्छन् भन्ने विश्लेषण छ । कथाको अन्तिममा आउने ट्विस्टले त दिमाग नै खल्बलाइदियो ।
कथा सङ्ग्रहको अन्तिम कथा “यात्राबाट छुटेपछि…” ले पत्रमित्रताबाट कुनै समय जोडिएका र जीवनको उत्तरार्धतिर भेट भएका दीपशिखा र सिद्धार्थ को कहानी भन्छ । दुवैजनाको जिन्दगी आआफ्नै ढंगबाट चलेको छ । दुवैका आआफ्नै पीडा पनि छन् । तर उनीहरूलाई दु:खको तारले जोडेको छ । कथामा थुप्रै दार्शनिक कुराहरू आउँछन् । मनोवैज्ञानिक द्वन्द्व पनि छ दुईबिचमा । कथाको अन्त्य सुखमय होला भन्ने लागेको थियो तर अलि निराशाजनक लाग्यो । कथामा “तिम्रो दु:खको कारण तिमी आफैं नै हौ” भनिएकोले मैले आफ्नै इच्छा र अपेक्षाका कारण दु:ख मानेँ कि भन्ने लाग्यो ।
आवरण
आवरणमा गुरुङ जातिको पोशाकमा एकजना मानिस देखिन्छ । उसको अगाडि ऊ भन्दा ठूलो डोजरको बकेट छ । पृष्ठभूमिमा रहेको रूखभन्दा डोजर प्रष्ट देखिन्छ । डोजरले रूख ढालेको र मानिसले निरीह भई हेर्नुपरेको परिस्थित चित्रले भन्दछ । यो चित्र “बुढो लाकुँरीको रूख” कथासँग बढी मिल्दोजुल्दो छ । तथापि “चेपाङ, चमेरा र चिउरी”, “असार पन्ध्र” र “साक्षी” कथाहरूमा पनि यस्तैयस्तै कुराहरू आएका छ्न् । आन्तरिक तथा बाह्य बसाइँसराइको पीडा, सांस्कृतिक परिवर्तन र विचलन एवम् विकासको नाममा गरिएको प्रकृतिको दोहन यी कथाहरूमा अटाएका छन् । तसर्थ आवरण चित्रले पनि उत्कृष्ट हुन सफल कथाहरूमध्ये चारवटा कथाको प्रतिनिधित्व गरेको देखिन्छ ।
अन्त्यमा,
एउटै किताब धेरै समय लगाएर पढ्ने बानी नभए पनि विभिन्न परिस्थितिले गर्दा त्यसो गर्नुपर्ने भयो । बिचमा थुप्रै किताब पढियो अनि रिभ्यु पनि लेखियो । त्यसैले “उत्कृष्ट कथा, २०८०” अधुरै छोडिने हो कि भन्ने डर पनि थियो । कथा पढेर रिभ्यु लेखेपछि ब्लगमा प्रकाशन गर्ने र बुकाहोलिक्समा सेयर गर्ने काम नगरेको भए ब्लग र रिभ्यु दुवै अलपत्र पर्न पनि सक्थे । यसर्थ बुकाहोलिक्स परिवारलाई धेरै धेरै धन्यवाद । टप २५ मा पर्नुभएका अनिता पन्थी, राजेन्द्र अधिकारी, जेएन दाहाल, प्रमोद प्याकुरेल, श्रीधर खनाल एवम् अन्य साहित्य साधकहरूको प्रतिक्रियाले पनि हौसला दिइरह्यो । उहाँहरूप्रति आभारी छु ।
सबैभन्दा पहिले पढेको कथामा थुप्रै कमजोरी भेटेको थिएँ । तर एउटा कथाको रिभ्यु मात्रैले सबै पच्चीस कथाकारका कथालाई न्याय दिन सक्दैन भनेर एउटा ठूलै आँट गरेको थिएँ । फेरि फेरि यस्तो गर्न सम्भव पनि नहोला । यो क्रमलाई अब भने बिट मारेँ । अरू कुनै पुस्तकको समीक्षा, लेख, कथा वा कवितामा फेरि पनि आउने कोशिस गर्नेछु ।
उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? भाग – १ र २ माथि आएका प्रतिक्रियाले निकै हौसला दिए । तेस्रो भागका लागि समय व्यवस्थापन गर्नु चुनौती त थियो तर इच्छा गरे उपाय निस्किनेरहेछ । छिमेकमा ठूलै राजनीतिक परिवर्तन यसबीच पनि भयो । यद्यपि पठन, लेखन, व्यक्तिगत र अफिसियल कामलाई केही व्यवस्थित गर्न सफल भइयो यसपालि । भाग – २ लेख्दाको समयभन्दा अलि शान्त पनि छ मन । भाग – ३ का लागि दुई हप्ताको डेडलाइन राखेको थिएँ । दुई दिन ढिला भए पनि पहिलेभन्दा धेरै सुधारेको छु । तेस्रो भागमा बाँकी ९ वटा कथाको रिभ्यु प्रस्तुत गरेको छु ।
बाह्रखरी उत्कृष्ट कथा, २०८० मा सङ्ग्रहित कथामध्ये मैले पढेको १७ औँ कथा थियो अनिता पन्थीको “जुलुस उठेको रात” । कथा चिठीको शैलीमा बुनिएको छ । गाउँमा बाख्रा वस्तु चराउन लगेको प्रसङ्गबाट दशैँमा गरिने पशुबलिको दृश्यसम्म पुग्छ । बलिपछि वाचकको मन धेरै नै विचलित हुन्छ र कथामा यसको प्रस्तुतीकरण निकै नै सबल छ ।
पशुबलि ठीक कि बेठीक भन्ने कुरामा निकै नै बहस हुने गरेको छ । दशैँको परिवेशमा त यसले बढी नै चर्चा पाउने गरेको छ । धर्मशास्त्रहरूमा पनि यो विषयमा विभिन्न समयमा वादविवाद भएको छ । कति ठाउँमा चैं संस्कारकै रूपमा चलिआएको छ । फेरि आफूले खाने जेसुकै कुरा भगवानलाई चढाउनुपर्छ भन्ने कुराले गर्दा पनि पशुबलि यत्तिकै अन्त्य हुने छाँट देखिँदैन । कहिलेकाहीँ पशुबलि देख्दा नराम्रो लागेपनि आफैं मासु सेवन गर्ने भएकोले हिपोकृटिक भइदिन्छु । मानिस साँच्चै नै द्वैधताले भरिएको प्राणी हो ।
यस्तै द्वैधता रमेशजंग थापाको “ओथ” कथामा पनि देखिन्छ । मेडिकल इन्टर्नसिपको पहिलो दिनमा नव डाक्टरहरूले देखेभोगेका कुरा यस कथामा छ । चिकित्सकले सबै इगो छाडेर बिरामीको सेवा गर्नु नै उसको परमधर्म हो । विनम्रता पनि उसमा आवश्यक हुन्छ । हिप्पोक्रेटिक ओथ (Hippocratic Oath) ले पनि यही सिकाउँछ । यद्यपि, केही सिनियर डाक्टरहरूले नयाँ इन्टर्नमाथि देखाउने अभद्रताले मन चस्स हुन्छ । अरू धेरै ठाउँमा पनि यस्तो हुने गरेकोले गर्दा नयाँ पुस्ता दिमोटिभेटेड भएको देखेको छु । कथाको अन्त्यमा भने सिनियर डाक्टरले मृत घोषणा गरिसकेको व्यक्तिलाई मुख्य पात्रले बचाउँछ । नयाँ पुस्ताले फरक तरिकाले सोच्छ र काम गर्छ भन्ने देखाएको हो कि जस्तो लाग्यो । थुप्रै मेडिकल शब्दावलीको प्रयोग भएको देख्दा लेखक यस क्षेत्रमा निकै भिजेको जस्तो लाग्छ । हिप्पोक्रेटिक ओथको सार्थकता देखाएको यो कथा मलाई औधी मनपर्यो ।
अर्को कथा “तेजाब” (विक्रम नेपाल) ले एसिड आक्रमणको विषय समेटेको छ । संवेदनशील विषयलाई पनि निकै सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । एसिड आक्रमण गर्ने र सहज विक्री गर्नेमाथि बनेको फितलो कानूनमाथि आक्रोश पनि छ । पुरुषहरूको मानसिकता केही हदसम्म उजागर गरेको छ । कथामा दुईवटा न्यारेटर छ्न् । पुरुष न्यारेटर नभएको भए पनि खासै फरक पर्ला जस्तो चैं लागेन । यद्यपि उक्त पात्रमार्फत् एसिड आक्रमण पीडित महिलालाई हेरिएकोले पीडितप्रतिको बाहिरी दृष्टिकोण बुझ्न सघाउने हुँदा अनावश्यक पनि लाग्दैन ।
कथासङ्ग्रहबाट पढेको बीसौं कथा थियो, जेएन दाहालको “अन्ठाउन्नको रसिद” । सन् १९५८ मा भुटानमा नागरिकता ऐन जारी भएको रहेछ । त्यही वर्ष दक्षिणी भुटानमा घरजग्गाको तिरोमा छुट पनि दिइएको रहेछ । पछि १९८५ मा नागरिकतासम्बन्धी नयाँ ऐन लागू भएपछि अन्ठाउन्न सालको रसिद खोजेर नेपाली भाषीलाई भुटान दु:ख दिएको र नागरिकताविहीन बनाएको कथा यसमा समेटिएको छ । भुटानी शरणार्थीको विषयमा केही कुरा थाहा भएको भए पनि १९५८ मा गरिएको वयवस्थाले १९८५ पछि असर गरेको रहेछ भन्ने थाहा थिएन । त्यसैले पनि कथा रोचक लाग्यो । नागरिक नरहेपछि भारतबाट विवाह गरेर भुटान आएकी नेपालीभाषी सीताको बिग्रेको मनोभाव र त्यसबाट उत्पन्न परिस्थिति मार्मिक छ । स्थानीय लवजको प्रयोग मीठो छ । चिसो हावा आएको प्रसङ्गमा पनि “अचेल दक्षिणका लागि सबै कुरा यसरी नै आइरहेको छ चिसिएर” जस्ता वाक्यले मन कुँडिन्छ ।
केही ठाउँमा टाइपो भेटिन्छ यहाँ पनि । कथामा जनगणनालाई पृष्ठ ६३ मा “सेन्सेस” र “सेन्सस” दुवै लेखेको भेटिन्छ । पृष्ठ ६७ मा “सत्ताईस”को सट्टा “सत्ताई” भएको छ । कथा हृदयस्पर्शी भएकाले गल्तीहरू खासै याद भने हुँदैनन् ।
त्यसपछि पढेको कथा थियो उमा शर्माको “तनुश्रीको भाडाको घर” । शीर्षक हेर्दा घरबेटी र डेरावालको कथा होला जस्तो लागेको थियो तर विषय फरक रहेछ । सरोगेसी र सरोगेट मदरको बारेमा बुनिएको कथा रहस्यमय ढङ्गले अघि बढ्छ । कथामा दुई मुख्य पात्र छन्– प्रीति र तनुश्री । पेशाले पत्रकार प्रीति न्यारेटर पनि हुन् । ससाना अनावश्यक जस्ता लाग्ने घटनाहरू जोड्दै प्रीति र तनुश्रीको कथा बुनिएको छ । कुरा नबुझी समाजले गर्ने टिप्पणी, पत्रकारिताका प्रसङ्ग र दुई पात्रहरूको अन्तरक्रियाले कथालाई रोचक बनाउँछन् । तनुश्रीले आफ्नो कथा भनिसक्दा आँखा रसाए । कथाको शीर्षक पनि उनले नै दिँदा झन् भावुक भइयो । नारीवादी दृष्टिकोणबाट समेत यो कथा अब्बल लाग्यो ।
कथासङ्ग्रहबाट पढेको २२औं कथा “मेरो कथा” (डिल्लीरमण पौडेल) ले मथिङ्गल खल्बल्यायो । कथा पढिसकेपछि टाइमलाइन उल्टोपाल्टो पारिएको हो कि जस्तो लाग्यो । क्रिस्टोफर र जोनाथन नोलानको “मेमेन्टो” पो सम्झिन पुगेँ । कथावाचक तथा मुख्य पात्र रमणलाई सुरुदेखि नै बिरामी देखाइएको र उसको अनुमति बेगर पनि सजिलै आइरहने घरबेटीकी अपाङ्ग छोरी रमिलाबिचको अन्तरक्रियाहरू अलि अस्वाभाविक लाग्छन् । रमिलाले एक ठाउँ तपाईंकै कारण जलेकी हुँ भनेकीले पनि कथा सीधा छैन भन्ने लागेको हो । रमणका स्मृतिहरू नै उसलाई दु:ख दिन आएका हुन् कि जस्तो लाग्यो । जे होस्, कथाले मज्जैले बाँध्यो अनि निकै बेर सोच्न बाध्य पनि बनायो ।
अब भने उत्कृष्ट कथाहरूमध्ये पनि सर्वोत्कृष्ट कथाहरू पढ्ने बेला आयो । तेस्रो स्थान प्राप्त गर्न सफल विजय हितानको “चेपाङ, चमेरा र चिउरी”बाट अन्तिम चरण सुरु गरियो । विजय हितानले मास्टर मित्रसेनको जीवनीमा आधारित “लाहुरेको रेलिमाई” का लागि २०७९ सालको अरनिको पुरस्कार पाउनुभएको अनि सुरुको च्याप्टर निकै रोचक लागेकाले “चेपाङ, चमेरा र चिउरी” प्रति अलि बढी अपेक्षा थियो । कथाको विषय राम्रो छ । चेपाङहरूले विवाहमा छोरीलाई चिउरी दाइजो दिने चलनको बारेमा सामान्य ज्ञानमा थुप्रैपटक पढेको थिएँ । लोक सेवा आयोगले लिने परीक्षाहरूमा पनि आइरहेकै हुन्छ । चिउरीको मह खाएको पनि छु । चमेरा र चिउरी बीचको सम्बन्ध भने थाहा थिएन । यस हिसाबले कथा ज्ञानवर्द्धक छ । अनि वातावरण संरक्षणको विषय उठान पनि राम्रो छ ।
कथा भने खासै रोचक लागेन । पात्रहरूका केही संवाद हटाइदिने हो भने निबन्धजस्तै लाग्छ । सञ्जुमायालाई पात्रका रूपमा अलि ननिखारिएको हो कि जस्तो पनि लाग्यो । धुलाम्मे सडक हुँदै घर नपुग्दै चिउरीको रुख कसले र किन ढाल्यो भन्ने उसले बुझिसक्नु पर्ने थियो । उच्च शिक्षा पढ्न थालेपछि चिउरी र चमेराबिचको सम्बन्ध बुझिन् (पृष्ठ.. ) भनिसकेपछि त्यही विषयमा सोचमग्न भइरहनु पर्ने थिएन । जुन जवाफ दाइलाई भोलिपल्ट दिन्छिन्, त्यही जवाफ अघिल्लै दिन पनि दिन सक्थिन । कथाको अन्त्यतिर विष्णुप्रसाद भन्ने पात्र आउँछन् तर उनी भएको भए पनि फरक पर्ने थिएन । सञ्जुले मन पराउन थालिन् भनिएको छ तर त्यसको पर्याप्त आधार देखिँदैन । कथामा देखाउने (showing) भन्दा सुनाउने (telling) बढी नै छ । “लाहुरेको रेलिमाई”को सुरुवातमा पात्रहरूको सजीव वर्णन पढेकोले पनि होला यस कथाबाट अलि निराश भएँ ।
द्वितीय स्थान प्राप्त प्रमोद प्याकुरेलको “काँचुली” मा धर्मद्वारा निर्देशित समाज, त्यसको मनोविज्ञान र बाल मनोविज्ञान समेटिएको छ । कुमारी राख्ने प्रचलनमा एकातिर धार्मिक-सांस्कृतिक पक्ष छ भने अर्को बाल मनोविज्ञान । बालसुलभ चञ्चलता र हासोका कारण पुजारी बिरामी पर्नु, आफ्नो इच्छा पूरा गर्नका लागि बालिकाले उठाएको कदमलाई देवीको उग्रचण्डी स्वरूप सम्झनु धार्मिक-सांस्कृतिक मनोविज्ञानको उपज नै हो । हालै मात्र ड्युन चलचित्रहरू हेरेको र उपन्यास पढ्दै गरेकोले पनि यो कुरा ठ्याक्कै बिझ्यो । धर्मको प्रभाव पढेलेखेका र वैज्ञानिक सोच राख्ने व्यक्तिहरूमा त हुन्छ भने त्यस्तै समाजको अंश बनेकाहरूमा नहुने कुरै भएन । कथाले कुमारी प्रथाको सिधै विरोध त गरेको जस्तो लागेन तर बाल मनोविज्ञानको ख्याल गर्नु चैं पर्छ भनेको झैं लाग्यो ।
अब पालो पहिलो स्थान पाउने कथाको । मनोजबाबु पन्तको “बुढो लाँकुरीको रूख”ले भेडीगोठमा पचासौं वर्ष बिताएका लछिमान गुरुङको एक दिनको कहानी भन्छ । सँगसँगै बसाइँसराइको कारण गाउँमा किशोर/युवा नभेटिने समस्या र “आधुनिक विकास”का नाममा आएको प्राचीनताको विनाश यसले संवाद र विम्बमार्फत् समेटेको छ । बाटुलो घरको रोदी, लाँकुरी रूखको कचहरी, लाहुर जाने युवाहरूको तयारी जस्ता विषय पनि यसमा आएका छन् । युद्धबाट ज्यान जोगाउन भागेको लछिमानले श्रीमतीको नाममा आएको आफ्नै “मृत्यु”को पेन्सन खाएको प्रसङ्गमा हास्यरस छ । गोठको उत्तराधिकारी खोज्न नसकिरहेको उनी अब भने कालबाट भाग्न नसक्ने स्थितिमा पुगेको छन् । सामान्य कथामा पनि लछिमानको चरित्र चित्रणसँगै, उसका सुखदुःख, गुरुङ संस्कृति, साथै लछिमान र लाँकुरीको रूखको सम्बन्धलाई समेट्न सक्नु नै यस कथाको शक्तिशाली पक्ष हो ।
उत्कृष्ट कथाका पच्चीस प्रतियोगी कथा पढिसकियो । चार अतिथि कथाको समीक्षा र समग्र अनुभव लिएर अन्तिम भागमा उपस्थित हुनेछु ।
उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १) प्रकाशित गरेर फेसबुक ग्रुप बुकाहोलिक्समा सेयर गरेपछि प्रतिक्रियाको ओइरो नै लाग्यो । धेरै जनाको राम्रो प्रतिक्रियाले मन फुरुङ्ग भयो । बाँकी कथाहरूका बारेमा अझै राम्रो प्रतिक्रिया दिने चुनौती पनि थपियो । यद्यपि किताब पढ्न र रिभ्यु लेख्न अलि बढी नै समय लागिरहेको छ । अलि अलि पढ्दै लेख्दै गर्दा साढे तीन महिना पो बितिसकेछ ।
के भयो भने सुरुमा एउटा परीक्षाले अल्झायो । त्यसपछि अन्तर्राष्ट्रिय घटनाक्रमहरूले यस्तो मोड लिए कि तिनलाई नजरअन्दाज गर्नै सकिएन । दिनहुँ भएका घटना र ठूलै युद्धको आशङ्काले मन त्रसित भइरह्यो । फेरि आफैंमा आएका अनेक इमोसलन परिवर्तनले आफैंलाई दु:खी पाइरहेको छु । यसपालि गैरआख्यानहरूले धेरै नै तानेकाले कथाहरू पढ्न गाह्रो भइरहेको पनि छ । एउटा दुईटा कथा पढ्ने अनि लामै गैरआख्यानको किताब पढ्ने गर्दा लेख्ने क्रम पनि टुटेको छ । अलि शान्त भएपछि उत्कृष्ट कथा, २०८० को कथासूचि हेरेँ अनि पढेँ, वसन्तबायुङ राईको कथा “रातो भत्ता” ।
कथा सलल बगेको छ पूर्वी पहाडी जीवन देखाउँदै । लवज साह्रै मिठो लाग्छ । कथामा आउने मोडहरूले चकित बनाउँछन् । सम्पत्तिकै लागि सम्बन्धहरू बन्ने भत्कने क्रम चलिरहन्छ अन्त्यसम्मै । कथा मात्रै विकृत हो या समाज नै त्यस्तै बन्न थालेको हो ? मनमा डरलाग्दो प्रश्न उब्जिन्छ । पृ. ३३५ मा ठूलै त्रुटी भेटिन्छ, “[हाङबारू] बुढीलाई बेलाबेला माया, स्नेह र श्रद्धाले मुसार्थी । पानी दिन्थी ।” व्याकरणीय असङ्गति हाँसो उठ्ने खालको छ ।
त्यसपछि पाना पल्टाउँदै शंकर धितालको “साक्षी” पढ्न थालेँ । यसमा एउटा रूखलाई मुख्य पात्र बनाइएको छ । रूखले एउटा मानिस, उसको परिवार र समाजको कथा भनेको छ । जसको बारेमा रूखले प्रेमसहित बोलेको छ उनीहरू नै पीडाको कारण बनेको प्रसङ्ग हृदयविदारक छ । पर्यावरणलाई ख्याल नगरी गरिने विकासले ल्याउने विनाशलाई देखाएको छ । रूख अरू पनि धेरैको जिन्दगीको साक्षी बनेको थियो होला । यस हिसाबले कथामा उपकथा थप्दै उपन्यास नै बनाउन पनि सकिन्छ । छोटो कथाका रूपमा त मर्मस्पर्शी छ नै ।
सङ्ग्रहबाट पढेको एघारौं कथा थियो, त्रिभुवनचन्द्र वाग्लेको “म्ह्याय्चा” । एउटा व्यक्तिलाई कुनै ठाउँमा सैनिकहरूद्वारा कैद गरिएको छ । मधेसको कुरा एक ठाउँ बताएकाले ऊ त्यताबाट आएको हो भन्ने बुझिन्छ । वर्षाको मौसम छ । साउन १७ मा अस्पताल लगिएको जिकिर गर्छ र दिन गन्तीको लागि खानामा पाउने चनाबाट एकएक दाना छुट्याएको छ । कैदमा भएपनि खाना पकाउन चुल्हो पाएको छ । एकदिन एउटी नेवार केटीले खाना नपकाउनु भनेपछि उसकै कल्पनामा भित्ता कोट्याउँदै नग्न स्त्रीको चित्र बनाउँछ ।
अन्त्यमा आइपुग्दा कथावाचकले नारीहरूमा असीम शक्ति हुन्छ भन्छ । यद्यपि आमाले खाना दिएको र नेवार केटीले भित्ताको चित्रको विरुद्धमा गरेको गुनासोलाई नै शक्ति मान्ने हो भने सूत्रधारले किन त्यसो भनेको हो भन्ने बुझ्न मुश्किल छ । कथा अलि जटिल हुन पनि सक्छ र मैले सिम्बोलिजम नबुझेको हुन सक्छु । माफी चाहेँ ।
केही आधारभूत कुरामा यस कथामा पनि गल्ती भेटिन्छ । जस्तो कि, चित्र बनाउन थालेपछि चना राख्न बिर्सेको कारण वाचकले कति दिन बित्यो भन्ने बिर्सिन्छ । तर त्यही अनुच्छेदमा उसले पाँच दिन बित्यो, दुई दिन बित्यो पनि भन्छ । यस्तो सम्भव नै नहुनु पर्ने हो । मुद्राराक्षसले यहाँ पनि दु:ख दिएको छ । “सैनिकले भने” हुनुपर्नेमा “भनें” भएको छ ।
केही समयको विश्रामपछि दिनमान गुर्मछनको “सन्ताप” पढेँ । सुरुको वाक्यमै “तिमी कहिले आउछौं ?” पढ्नुपर्दा दिक्क लाग्यो । अघिल्लो भागमै भनिसकेको छु कि राष्ट्रियस्तरको प्रतियोगितापश्चात् प्रकाशित किताबमा कथैपिच्छे गल्ती भेटिनु राम्रो पक्कै हैन । कथाको एउटा पात्रको नाम जीवन भएकोले “…जीवन सम्झौतामै गुज्रिएको थियो” (पृ. १२०) जस्ता वाक्यहरूले कतैकतै झुक्यायो अनि दोहोर्याउनु पर्याे। “जिन्दगी” शब्दको प्रयोग गर्न सकिन्थ्यो । कथा पढिसक्दा भने मन आनन्दित भएको थियो ।
कथाकी मुख्य पात्र सुनीता बाध्यताले खाडीमा पुगेकी छे । उसको पति जीवन पनि पहिला विदेश गएको थियो र हात गुमाएको थियो । दुवै जनयुद्धका सिपाही थिए कुनै बेला । सुनीता घर फर्कन चाहेर पनि सकिरहेकी छैन । काम गर्ने ठाउँमा मालिकले यौन शोषण गरेर गर्भमा बच्चा आएपछि उसको आत्मविश्वास पूरै मरेको छ । जीवनले के भन्ला भन्ने डर पनि उत्तिकै छ । कथाको अन्त्यमा उसले रहस्य खोल्छे । जीवनले जुनसुकै अवस्थामा पनि स्वीकार्ने कुराले उसको मन शान्त हुन्छ ।
सुनीता घर फर्किन पाउँछे कि पाउँदिन भन्ने प्रष्ट छैन । जीवनले पछि राम्रै व्यवहार गर्ला भन्ने पनि निश्चित छैन । एउटी महिलाले पितृसत्तात्मक समाजको डरका कारण पतिको स्वीकारोक्ति लिनपर्ने स्थिति पनि देखिएको होला । तथापि महिलालाई नै दोष लगाउने समाजमा जीवनले देखाएको प्रेम र दिएको आश्वासनले निकै नै मन छोयो ।
सङ्ग्रहबाट पढेको तेह्रौं कथा थियो तैँ तैँ धितालको “अप्रिय पिताजी” । लेखकको नाम अनौठो लाग्यो । पात्रहरू बर्मामा भएकाले लेखकको नाम पनि त्यतै सम्बन्धित छ कि भन्ने लाग्यो । कथाको सुरुवात पनि आश्चर्यजनक छ । एउटी छोरीले आफ्नो नग्न तस्वीर देखेर बिरामी परेका पितालाई “अप्रिय” सम्बोधन गरेकी छिन् । हिन्दू धर्मकर्म र संस्कारमा हुर्काएकाले डर एवम् सोझोपनका कारण पुरुषहरूले फाइदा लिएको भन्ने तर्क छोरीको छ । यद्यपि छोरीले पनि पिताको सोच विपरीत कार्य पनि गरेकी छिन् । नग्न तस्बिर खिच्न र सर्कुलेट गर्न अरूकै हात भएकाले पिताले छोरीसँग एक फेर राम्रोसँग कुरा गरेको भए हुन्थ्यो भन्ने पनि लाग्छ । तर पितालाई पनि आफूले गरेको विश्वास तोडिएकाले उनको अवस्था र प्रतिक्रिया अस्वाभाविक लाग्दैन । छोरीले पनि पिताको मनोभावना बुझेर अप्रिय नभनेको भए हुन्थ्यो भन्ने लागिरह्यो ।
महेश चौलागाईंको कथा “गल्ली” निकै नै मनपर्यो । कथाकारले सरकारी कार्यालयमा कार्यालय समयपछि हुने बेथिति धेरै राम्रोसँग देखाएका छन् । कथा पढ्दै गर्दा अफिसमै त रक्सीसहितको पार्टी हुन्छ र जस्तो पनि लाग्यो । यद्यपि, त्यस्तो नहोला भन्न पनि सकिन्न । पदाधिकारीहरूको नैतिक पतन देखेकाले यस्तै कथा आफैंले पनि लेख्न सकेको भए हुन्थ्यो भन्ने पनि लागिरह्यो ।
“उत्कृष्ट कथा – २०८०” सङ्ग्रहबाट मैले पढेको पन्ध्रौं कथा थियो राजेन्द्र अधिकारी कृत “प्रायश्चित” । पतिको विवाहपूर्वको सम्बन्धको बारेमा थाहा पाएपछि पत्नीले महसुस गरेको पीडा र पतिले प्रायश्चितका लागि रोज्नुपरेको बाटोको बारेमा कथाले भन्छ । प्रायश्चितको परिणाम के हुन्छ भन्ने निश्चित छैन । यसले पात्रहरूमाथि कस्तो प्रभाव पार्ला भन्ने प्रश्न पनि बाँकी नै रहन्छ । छोटा छोटा साधारण वाक्य भएको कथा यस्ता प्रश्नहरूको उत्तर बताइदिएको भए हुन्थ्यो भन्ने मेरो मनमा लाग्यो ।
त्यसपछि पढेको राजेश सुवेदीको “सागी प्रेमी”ले दिमाग हल्लाइदियो । दक्षिण कोरियामा काम गर्न गएको मुख्य पात्रले त्यहाँका महिलाहरूले विदेशीलाई पैसाको लागि फसाउँछन् भन्ने सुनेको छ । यति हुँदाहुँदै पनि ऊ एउटी महिलासँग प्रेममा पर्छ । शङ्का उपशङ्काले गर्दा उसको मनस्थिति कसरी खल्बलिन्छ र सागी (कोरियनमा धोखेबाज) बन्न पुग्छ भन्ने कहानीमा देखाउन खोजिएको छ । सस्पेन्स, ट्वीस्ट र टर्नले गर्दा कथा पढ्न एकदम मज्जा आयो ।
भाग-१ झैँ भाग-२ मा पनि आठवटा कथाको समीक्षा गरेँ । अब बाह्रखरी कथा प्रतियोगिताको टप-२५ मा परेका उत्कृष्ट तीनसहित नौवटा कथा बाँकी रहे । तिनलाई भाग-३ मा समेट्नेछु । कथा सङ्ग्रहमा रहेका अतिथि कथा, भूमिका र अन्य कुरा भाग-४ मा पस्किनेछु ।
तीन महिनाजति पहिले किनेका किताबमध्ये एउटा थियो “बाह्रखरी उत्कृष्ट कथा २०८०” । २०७५ को पहिलो संस्करण त pdf मा वेबसाइटबाट सिधै डाउनलोड गर्ने मिल्ने गरी राखिदिएको थियो बाह्रखरीले । पछिल्ला संस्करणप्रति खासै आकर्षण थिएन । त्यही पनि किताब पसलमा देखेपछि कस्ता कथा चैं उत्कृष्ट २५ मा परेछन् भन्ने उत्सुकता पलाएपछि किनेको थिएँ । तर अफिस आउँदा लाग्ने समय, थकान, छोरीसँग खेल्न मन लाग्ने अनि अलिकति निस्किएको समयमा माथि भनिएको परीक्षाको तयारीका लागि पढ्ने गरेकाले उत्कृष्ट कथा २०८० थन्किएको थियो । राति पौने तीन बजे कथाहरू पढिने भइयो ।
सङ्ग्रहका कथामध्ये पुरस्कृत भएकालाई सबैभन्दा अन्तिममा पढ्ने सोच बनाएँ अनि बाँकीमध्येबाट पहिलो छनौटमा पर्यो दिव्य गिरीको “असार पन्ध्र” । खेती किसानी गर्नेहरूको लागि असार १५ ठूलो उत्सव हो । त्यसकै सेरोफेरोमा कथा होला भन्ने लाग्यो तर हैन रैछ । विपद् असंवेदनशील नेतृत्व भयो भने गरीबहरूले कस्तो समस्या भोग्नुपर्छ भन्ने कथाको मूल मर्म रहेछ । सङ्ग्रहको आवरण पनि यही कथामा आधारित जस्तो लाग्यो । यद्यपि विषय जति चाखलाग्दो छ लेखाइ भने त्यति छैन । धनबहादुर बिकको परिचय दिँदै सुरु भएको कथाको पहिलो खण्डमा उसको जीवनी मात्रै छ । झिँझो लाग्ने गरी प्रत्येक पात्रलाई “धनबहादुर अर्थात् धने” को शैलीमा परिचय दिइन्छ । त्यसमा पनि गल्ती छ । मनसरालाई धनबहादुरकी बहिनी भनिएको छ । पछिल्लो खण्डमा पनि धनबहादुर र उसकी श्रीमतीलाई दाजुभाउजू नै भनेकी छिन् । तर मनसराले जन्माएको बालकृष्ण धनबहादुर भन्दा २ वर्ष मात्रै कान्छो छ ।
पहिलो गाँसमा ढुङ्गा परेजस्तो भयो । बेचैन हुँदै कथाका पात्रको नातागाता केलाएँ । मेरो हिसाब नमिलेको हो कि जस्तो लाग्यो । सुत्न लागेको म जुरुक्क उठेर कलम र कागज लिएर चित्र बनाउन थाले । अहँ, कथामा मनसरा धनबहादुरकी बहिनी हुनै सक्दिन । बहिनीको छोरो आफूभन्दा २ वर्ष कसरी हुन सम्भव छ ? दिदीको भए मिल्छ बरू । यत्रो गल्ती भएको कथा “उत्कृष्ट” कसरी हुन सक्छ ? विभिन्न चरण पार गर्दै पाठक सामू आएको कथामा यति ठूलो गल्ती त नहुनु पर्ने हो । एउटा चरणमा एकजनाले पो गल्ती गर्न सक्छ । कथा पढ्दै नपढी छनौट भएको त हैन ? यो भन्दा राम्रो कथा उत्कृष्ट २५ मा पर्न छुट्यो कि ?
त्यसपछि पढेको अर्को कथा चैं छनौट समूहले पक्कै पढेको हुनुपर्छ । दीपक लोहनीको “दरबारको दु:ख” (पृ. १५७-१५८) मा रानीसाहेब कथाका सूत्रधारलाई भन्छिन्, “तपाईं पत्रकार हो ? म पत्रकारसँग आफ्ना व्यथा सुनाउँदिन । उनीहरू आफ्नो बिजनेसका लागि मात्रै आउँछन् ।”
सूत्रधार भन्छन्, “म पत्रकार हैन, कथाकार हुँ । दरबारका दु:ख समेटेको कथा लेखेर बाह्रखरी कथा प्रतियोगितामा पठाउँछु ।”
अब बाह्रखरी कथा प्रतियोगिताकै लागि लेखिएको कथा उत्कृष्ट नभई भयो त ? हुनै पर्यो नि । अनि प्रतियोगिताको लागि कथा पठाउँछु भन्दा बिजनेस नहुने रैछ क्यारे, रानीसाहेबले आफ्नो कथा सुनाइदिइन् । सूत्रधारले इमान्दारी देखाए भनेर पो हो कि ?
उता कथा लामो छ भन्दै कथा सुरु गरेका सूत्रधार एकछिन पछि रानीसाहेबको जीवनीको सारांश दिन्छन् । केही अनुच्छेदमै उनी बालापनबाट वृद्धावास्थामा पुग्छिन् । धनसम्पत्तिको मातले बिग्रेका पुरुष पात्रहरूका कारण वृद्धाले भोगेको व्यथा सूत्रधारले कथा बनाएर प्रतियोगितामा पठाउँछन् । बाह्रखरीको उत्कृष्ट २५ मा पर्छ । आँसु बिक्छ भनेको यही होला । मलाई चैं आँसुले खासै छोएन । निद्राले छोयो बरू अनि झ्याप्प निदाएँ ।
भोलिपल्ट साँझ अफिसबाट घर फर्किँदा डा. श्रीधर खनालको कथा “जीपीटी २०००” पढियो । ChatGPT 4.0 ले तहल्का मच्चाइरहेको बेला जीपीटी २००० ले धमाका गर्ने आशा पलायो । कथाको सुरुवात राम्रो लाग्यो । जीपीटी २००० ले मोबाइलमा इन्स्टल गरेपछि इमेल, क्यामरा र लोकेसनको आधारमा ट्रयाकिङ गर्ने कुरासम्म कथा ठीकै थियो । ‘असुर’को दोस्रो सिजनको झल्को आउला जस्तो लागेको बेला उसले न्यारेटरलाई सर्वोत्कृष्ट भन्दै गरेको भविस्यवाणीले कताकता ‘म्याट्रिक्स’ को झल्को दियो । आपसी कलहका कारण मानिसहरू लोप भइसकेपछि पनि AI बच्ने कुरा अलि पत्यार नलाग्दो नै थियो । हुन त AI को भविस्यवाणी हो । मिल्नैपर्छ भन्ने छैन ।
त्योभन्दा पनि पत्याउन नसकिने कुरा चैं जीपीटीले आफूले सबैलाई ट्रयाक गरिरहेको कुरा कसैलाई भन्ला भन्ने हो । हामीले इन्स्टल गर्ने एप्लिकेसनहरूले हामीलाई ट्रयाक गर्ने कुरा नौलो हैन । जानी नजानी हामी permission पनि दिइरहेका हुन्छौँ । तर सिधै फोन र इमेल गरेर ट्रयाक गर्छौँ भने भने वाचकले झैं uninstall गरेर व्यापार चौपट हुन्छ होला । खैर, कथामा जताततै देखिने मानवीय प्रलयको डरको लामो वर्णन छ जुन अझै रोचक बन्न सक्थ्यो जस्तो लागिरह्यो ।
लगत्तै सञ्जय घिमिरेको “चन्द्रमा देब्रे, चन्द्रमा दाहिने” पढेँ । कविताका पङ्क्तिजस्ता छोटा वाक्य र चन्द्रमा दाहिने र देब्रे हुँदाको बिम्बले झ्याप्पै आकर्षित गर्यो । कथा भने कस्तो कस्तो लाग्यो । कथावाचकले १० वर्ष सम्म जसको गाडी चलाउँछ, आरिस गर्छ । उसको उद्देश्य भनेको हाकिमलाई ड्राइभिङ सिटमा राखेर हाकिम जसरी ब्याक सिटमा बस्नु हो । इच्छा पूरा पनि हुन्छ । हाकिमले उसलाई अमेरिका बोलाएर काममा लगाइदिएर पनि लाइसेन्स परीक्षामा पटकपटक जानीजानी फेल भएपछि । जिन्दगीमा हुन सक्ने फेरबदल र irony देखाएका हुन् क्यारे कथाकारले तर धेरै नै सहज भयो कि भन्ने चैं लागिरह्यो ।
कथा सङ्ग्रहबाट पढेको पाँचौं कथा थियो, हिरा लामाको “मिटर ब्याज” । कथाकी मुख्य पात्र मैनालाई गाउँको ठालू मिटरब्याजी रत्नदासले श्रीमती नभएको मौका पारेर घरमा साँझ आउनु भनेर बोलाउँछ । ऊ रत्नदासकहाँ त्रसित र सशंकित हुँदै जान्छे । रत्नदासको एक स्पर्शपछि उसलाई विदेशिएर उतै हराएको लोग्ने मुकुन्दको अनि यौन प्यासको याद आउँछ । त्यसकै वशमा परेर रत्नदाससँग यौन सम्बन्ध राखेपछि रत्नदासले स्कूलको पिउनबाट आधारभूत कक्षाकी शिक्षिका बनाइदिन्छ ।
यो कथाले भन्न खोजेको के हो ? मैनाजस्ता लोग्ने विदेशिएका महिलाहरूमा यौनेच्छा हुनु अस्वाभाविक होइन तर आफूलाई नियन्त्रण गर्न सक्दैनन् भन्न खोजेको हो कि ? रत्नदासजस्ता परचक्रीलाई चिन्दैनन् भनेको हो कि ? सेक्सुअल फेवर्स दिएर फाइदा लिन सक्छन् भनेको हो कि ? यौनिक स्वच्छन्दता हुनुपर्छ भन्न खोजेको हो कि ? तर त्यसको परिणाम नि ?
मैनाले पछि प्रतिकार गरी वा मुकुन्दको खबर आयो अथवा स्वयम् गाउँ फर्कियो भने के होला ? धेरै दिन भएकै छैन, एकजनाले वैदेशिक रोजगारीबाट फर्किएको केही दिनमै श्रीमतीलाई मारेको । किन मारेको भन्दा “जसको लागि मैले मेरो जवानी सक्काएँ, त्यसैले धोका दिएपछि म के गरूँ ?” यस्तै लोग्ने विदेश गएका जाने अनि स्वास्नीले मोज गर्ने, सम्पत्ति नै लिएर अर्कासँग जानेजस्ता समाजमा घट्न पुगेका दुष्परिणामको बीजारोपण पो हो कि यो कथा ? प्रष्ट छैन ।
गलत कामको परिणाम पनि सही हुने अहिलेको समाजको यथार्थ देखाउन खोजिएको पो हो कि ? विद्रोह गर्नेभन्दा नगर्नेले फाइदा लिन सक्छन् भनिएको पो हो कि ? समाजमा विद्रोह नभए पनि कथामा त हुन सक्छ नि । के कलममा पनि विद्रोहको कमी हुन थालेको हो ? लेखकहरूमा नै विद्रोही भावना कमी हुन थालेको त होइन ? यी प्रश्न अहिलेसम्म पढेका र उत्कृष्ट भनिएका “मिटर ब्याज” र “असार पन्ध्र” ले मनमा उठाए ।
भोलिपल्ट अफिस जाँदा पढेको कथा “ख्याक” अहिलेसम्म मलाई सबैभन्दा मन परेको कथा हो । शारीरिक रूपले अशक्त जीवन सपनामा भने हातखुट्टा सजिलै चलाउन सक्छ । तर ऊ सपनामा कालो ख्याक बारम्बार देखिरहन्छ । डरको बिम्ब बनेको ख्याकको डरलाई उसकी आमाले हटाउन खोजिरहेकी हुन्छिन् । जुन दिन देखि ऊ ख्याकसँग डराउन छोड्छ ख्याक कालोबाट सेतो हुँदै जान्छ । उसले खोला थुनेर नाङ्गा पाखाहरू हरियाली बनाउने जुन सपना देखेको छ, त्यो पूरा गर्न मिहिनेत गर्न थाल्छ र अन्ततः सफलता हात पार्छ ।
जीवनको सपनाको दृश्यबाट सुरु भएको कथामा घरी सपना घरी विपना देखिन्छ तर अन्त्य सम्म आइपुग्दा सपना र विपनाको बीचमा कुनै अन्तर नै रहँदैन । कथा पढिसक्दा कक्षा १२ मा पढेको ग्याबृयल गार्सिया मार्खेजको भूतीया जहाजको कहानी याद आएको थियो ।
सातौं कथा “म, जल्लाद प्राणनाथ” पनि मन परेको थियो । रबर्ट जोशीले लेखेको कथामा जल्लाद प्राणनाथलाई भारतबाट बाली बोलाइएको छ कसैलाई मृत्युदण्ड दिन । जसलाई मृत्युदण्ड दिइँदैछ, ऊसँग प्राणनाथले बदलाको भावना राखेको छ । यद्यपि कथाको मूल मर्म चैं प्राणनाथ र उसकी छोरी आधीको सम्बन्ध हो । कथामा flashback को प्रयोग राम्रोसँग गरिएको छ र कतैकतै दार्शनिक पनि छ । कथाकारले फाँसी दिने जल्लादका विषयमा राम्रो अध्ययन गरेको पनि देखिन्छ । केही कुराहरू भने अधुरा र अस्पष्ट छन् । जस्तो कि, मृत्युदण्ड दिएको मानिसले कसलाई बचाउन खोजेको हो ? कथाको अन्तिममा आउने अनिशा को हो ? मृत्युदण्ड पाउने केटा र अनिशाले किन आधीलाई किन पवित्र मन भएकी भन्छन् ? यी प्रश्नहरूको जवाफ पाउनको लागि सायद फेरि फेरि पनि यो कथा पढ्नेछु ।
२०८१ को पहिलो दिनको झिसमेसेमा अन्तरपछि रमा सुवेदीको अर्को ‘म’ पढेँ । कथाको सुरुवात रहस्यमय लाग्यो । मूल कथा भने सिमोन द बुभाको “द सेकेन्ड सेक्स” बयान वरिपरि घुमेको छ । कथाकारको वा कथाका पात्रको भन्दा पनि बुभाको विचारले प्राथमिकता पाएको छ । बुक रिभ्यु जस्तो पनि लाग्यो कताकता । महिलालाई घरको काम गर्न कतिको सकस छ, उनीहरू किन बाँधिन्छन् र बन्धनबाट उम्किन के गर्न सक्छन् भन्ने सन्देशको पाटो राम्रो भए तापनि कथामा अरू कसैको नभएर कथाकै पात्रको विचार हावी भएको भए अझै सशक्त हुन्थ्यो कि ?
एक दुई अनुच्छेद टाइप गर्दागर्दै धेरै भइसकेछ । किताब पनि एक तिहाई सकिएछ । अरू कथा र समग्र कथा सङ्ग्रहका बारेमा भन्न बाँकी कुरा थुप्रै रहे । आगामी भागमा गरौंला है त ।
To provide the best experiences, we use technologies like cookies to store and/or access device information. Consenting to these technologies will allow us to process data such as browsing behavior or unique IDs on this site. Not consenting or withdrawing consent, may adversely affect certain features and functions.
Functional
Always active
The technical storage or access is strictly necessary for the legitimate purpose of enabling the use of a specific service explicitly requested by the subscriber or user, or for the sole purpose of carrying out the transmission of a communication over an electronic communications network.
Preferences
The technical storage or access is necessary for the legitimate purpose of storing preferences that are not requested by the subscriber or user.
Statistics
The technical storage or access that is used exclusively for statistical purposes.The technical storage or access that is used exclusively for anonymous statistical purposes. Without a subpoena, voluntary compliance on the part of your Internet Service Provider, or additional records from a third party, information stored or retrieved for this purpose alone cannot usually be used to identify you.
Marketing
The technical storage or access is required to create user profiles to send advertising, or to track the user on a website or across several websites for similar marketing purposes.