उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? भाग – १ र २ माथि आएका प्रतिक्रियाले निकै हौसला दिए । तेस्रो भागका लागि समय व्यवस्थापन गर्नु चुनौती त थियो तर इच्छा गरे उपाय निस्किनेरहेछ । छिमेकमा ठूलै राजनीतिक परिवर्तन यसबीच पनि भयो । यद्यपि पठन, लेखन, व्यक्तिगत र अफिसियल कामलाई केही व्यवस्थित गर्न सफल भइयो यसपालि । भाग – २ लेख्दाको समयभन्दा अलि शान्त पनि छ मन । भाग – ३ का लागि दुई हप्ताको डेडलाइन राखेको थिएँ । दुई दिन ढिला भए पनि पहिलेभन्दा धेरै सुधारेको छु । तेस्रो भागमा बाँकी ९ वटा कथाको रिभ्यु प्रस्तुत गरेको छु ।

बाह्रखरी उत्कृष्ट कथा, २०८० मा सङ्ग्रहित कथामध्ये मैले पढेको १७ औँ कथा थियो अनिता पन्थीको “जुलुस उठेको रात” । कथा चिठीको शैलीमा बुनिएको छ । गाउँमा बाख्रा वस्तु चराउन लगेको प्रसङ्गबाट दशैँमा गरिने पशुबलिको दृश्यसम्म पुग्छ । बलिपछि वाचकको मन धेरै नै विचलित हुन्छ र कथामा यसको प्रस्तुतीकरण निकै नै सबल छ ।

पशुबलि ठीक कि बेठीक भन्ने कुरामा निकै नै बहस हुने गरेको छ । दशैँको परिवेशमा त यसले बढी नै चर्चा पाउने गरेको छ । धर्मशास्त्रहरूमा पनि यो विषयमा विभिन्न समयमा वादविवाद भएको छ । कति ठाउँमा चैं संस्कारकै रूपमा चलिआएको छ । फेरि आफूले खाने जेसुकै कुरा भगवानलाई चढाउनुपर्छ भन्ने कुराले गर्दा पनि पशुबलि यत्तिकै अन्त्य हुने छाँट देखिँदैन । कहिलेकाहीँ पशुबलि देख्दा नराम्रो लागेपनि आफैं मासु सेवन गर्ने भएकोले हिपोकृटिक भइदिन्छु । मानिस साँच्चै नै द्वैधताले भरिएको प्राणी हो ।

यस्तै द्वैधता रमेशजंग थापाको “ओथ” कथामा पनि देखिन्छ । मेडिकल इन्टर्नसिपको पहिलो दिनमा नव डाक्टरहरूले देखेभोगेका कुरा यस कथामा छ । चिकित्सकले सबै इगो छाडेर बिरामीको सेवा गर्नु नै उसको परमधर्म हो । विनम्रता पनि उसमा आवश्यक हुन्छ । हिप्पोक्रेटिक ओथ (Hippocratic Oath) ले पनि यही सिकाउँछ । यद्यपि, केही सिनियर डाक्टरहरूले नयाँ इन्टर्नमाथि देखाउने अभद्रताले मन चस्स हुन्छ । अरू धेरै ठाउँमा पनि यस्तो हुने गरेकोले गर्दा नयाँ पुस्ता दिमोटिभेटेड भएको देखेको छु । कथाको अन्त्यमा भने सिनियर डाक्टरले मृत घोषणा गरिसकेको व्यक्तिलाई मुख्य पात्रले बचाउँछ । नयाँ पुस्ताले फरक तरिकाले सोच्छ र काम गर्छ भन्ने देखाएको हो कि जस्तो लाग्यो । थुप्रै मेडिकल शब्दावलीको प्रयोग भएको देख्दा लेखक यस क्षेत्रमा निकै भिजेको जस्तो लाग्छ । हिप्पोक्रेटिक ओथको सार्थकता देखाएको यो कथा मलाई औधी मनपर्‍यो ।

अर्को कथा “तेजाब” (विक्रम नेपाल) ले एसिड आक्रमणको विषय समेटेको छ । संवेदनशील विषयलाई पनि निकै सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । एसिड आक्रमण गर्ने र सहज विक्री गर्नेमाथि बनेको फितलो कानूनमाथि आक्रोश पनि छ । पुरुषहरूको मानसिकता केही हदसम्म उजागर गरेको छ । कथामा दुईवटा न्यारेटर छ्न् । पुरुष न्यारेटर नभएको भए पनि खासै फरक पर्ला जस्तो चैं लागेन । यद्यपि उक्त पात्रमार्फत् एसिड आक्रमण पीडित महिलालाई हेरिएकोले पीडितप्रतिको बाहिरी दृष्टिकोण बुझ्न सघाउने हुँदा अनावश्यक पनि लाग्दैन ।

कथासङ्ग्रहबाट पढेको बीसौं कथा थियो, जेएन दाहालको “अन्ठाउन्नको रसिद” । सन् १९५८ मा भुटानमा नागरिकता ऐन जारी भएको रहेछ । त्यही वर्ष दक्षिणी भुटानमा घरजग्गाको तिरोमा छुट पनि दिइएको रहेछ । पछि १९८५ मा नागरिकतासम्बन्धी नयाँ ऐन लागू भएपछि अन्ठाउन्न सालको रसिद खोजेर नेपाली भाषीलाई भुटान दु:ख दिएको र नागरिकताविहीन बनाएको कथा यसमा समेटिएको छ । भुटानी शरणार्थीको विषयमा केही कुरा थाहा भएको भए पनि १९५८ मा गरिएको वयवस्थाले १९८५ पछि असर गरेको रहेछ भन्ने थाहा थिएन । त्यसैले पनि कथा रोचक लाग्यो । नागरिक नरहेपछि भारतबाट विवाह गरेर भुटान आएकी नेपालीभाषी सीताको बिग्रेको मनोभाव र त्यसबाट उत्पन्न परिस्थिति मार्मिक छ । स्थानीय लवजको प्रयोग मीठो छ । चिसो हावा आएको प्रसङ्गमा पनि “अचेल दक्षिणका लागि सबै कुरा यसरी नै आइरहेको छ चिसिएर” जस्ता वाक्यले मन कुँडिन्छ ।

केही ठाउँमा टाइपो भेटिन्छ यहाँ पनि । कथामा जनगणनालाई पृष्ठ ६३ मा “सेन्सेस” र “सेन्सस” दुवै लेखेको भेटिन्छ । पृष्ठ ६७ मा “सत्ताईस”को सट्टा “सत्ताई” भएको छ । कथा हृदयस्पर्शी भएकाले गल्तीहरू खासै याद भने हुँदैनन् ।

त्यसपछि पढेको कथा थियो उमा शर्माको “तनुश्रीको भाडाको घर” । शीर्षक हेर्दा घरबेटी र डेरावालको कथा होला जस्तो लागेको थियो तर विषय फरक रहेछ । सरोगेसी र सरोगेट मदरको बारेमा बुनिएको कथा रहस्यमय ढङ्गले अघि बढ्छ । कथामा दुई मुख्य पात्र छन्– प्रीति र तनुश्री । पेशाले पत्रकार प्रीति न्यारेटर पनि हुन् । ससाना अनावश्यक जस्ता लाग्ने घटनाहरू जोड्दै प्रीति र तनुश्रीको कथा बुनिएको छ । कुरा नबुझी समाजले गर्ने टिप्पणी, पत्रकारिताका प्रसङ्ग र दुई पात्रहरूको अन्तरक्रियाले कथालाई रोचक बनाउँछन् । तनुश्रीले आफ्नो कथा भनिसक्दा आँखा रसाए । कथाको शीर्षक पनि उनले नै दिँदा झन् भावुक भइयो । नारीवादी दृष्टिकोणबाट समेत यो कथा अब्बल लाग्यो ।

कथासङ्ग्रहबाट पढेको २२औं कथा “मेरो कथा” (डिल्लीरमण पौडेल) ले मथिङ्गल खल्बल्यायो । कथा पढिसकेपछि टाइमलाइन उल्टोपाल्टो पारिएको हो कि जस्तो लाग्यो । क्रिस्टोफर र जोनाथन नोलानको “मेमेन्टो” पो सम्झिन पुगेँ । कथावाचक तथा मुख्य पात्र रमणलाई सुरुदेखि नै बिरामी देखाइएको र उसको अनुमति बेगर पनि सजिलै आइरहने घरबेटीकी अपाङ्ग छोरी रमिलाबिचको अन्तरक्रियाहरू अलि अस्वाभाविक लाग्छन् । रमिलाले एक ठाउँ तपाईंकै कारण जलेकी हुँ भनेकीले पनि कथा सीधा छैन भन्ने लागेको हो । रमणका स्मृतिहरू नै उसलाई दु:ख दिन आएका हुन् कि जस्तो लाग्यो । जे होस्, कथाले मज्जैले बाँध्यो अनि निकै बेर सोच्न बाध्य पनि बनायो ।

अब भने उत्कृष्ट कथाहरूमध्ये पनि सर्वोत्कृष्ट कथाहरू पढ्ने बेला आयो । तेस्रो स्थान प्राप्त गर्न सफल विजय हितानको “चेपाङ, चमेरा र चिउरी”बाट अन्तिम चरण सुरु गरियो । विजय हितानले मास्टर मित्रसेनको जीवनीमा आधारित “लाहुरेको रेलिमाई” का लागि २०७९ सालको अरनिको पुरस्कार पाउनुभएको अनि सुरुको च्याप्टर निकै रोचक लागेकाले “चेपाङ, चमेरा र चिउरी” प्रति अलि बढी अपेक्षा थियो । कथाको विषय राम्रो छ । चेपाङहरूले विवाहमा छोरीलाई चिउरी दाइजो दिने चलनको बारेमा सामान्य ज्ञानमा थुप्रैपटक पढेको थिएँ । लोक सेवा आयोगले लिने परीक्षाहरूमा पनि आइरहेकै हुन्छ । चिउरीको मह खाएको पनि छु । चमेरा र चिउरी बीचको सम्बन्ध भने थाहा थिएन । यस हिसाबले कथा ज्ञानवर्द्धक छ । अनि वातावरण संरक्षणको विषय उठान पनि राम्रो छ ।

कथा भने खासै रोचक लागेन । पात्रहरूका केही संवाद हटाइदिने हो भने निबन्धजस्तै लाग्छ । सञ्जुमायालाई पात्रका रूपमा अलि ननिखारिएको हो कि जस्तो पनि लाग्यो । धुलाम्मे सडक हुँदै घर नपुग्दै चिउरीको रुख कसले र किन ढाल्यो भन्ने उसले बुझिसक्नु पर्ने थियो । उच्च शिक्षा पढ्न थालेपछि चिउरी र चमेराबिचको सम्बन्ध बुझिन् (पृष्ठ.. ) भनिसकेपछि त्यही विषयमा सोचमग्न भइरहनु पर्ने थिएन । जुन जवाफ दाइलाई भोलिपल्ट दिन्छिन्, त्यही जवाफ अघिल्लै दिन पनि दिन सक्थिन । कथाको अन्त्यतिर विष्णुप्रसाद भन्ने पात्र आउँछन् तर उनी भएको भए पनि फरक पर्ने थिएन । सञ्जुले मन पराउन थालिन् भनिएको छ तर त्यसको पर्याप्त आधार देखिँदैन । कथामा देखाउने (showing) भन्दा सुनाउने (telling) बढी नै छ । “लाहुरेको रेलिमाई”को सुरुवातमा पात्रहरूको सजीव वर्णन पढेकोले पनि होला यस कथाबाट अलि निराश भएँ ।

द्वितीय स्थान प्राप्त प्रमोद प्याकुरेलको “काँचुली” मा धर्मद्वारा निर्देशित समाज, त्यसको मनोविज्ञान र बाल मनोविज्ञान समेटिएको छ । कुमारी राख्ने प्रचलनमा एकातिर धार्मिक-सांस्कृतिक पक्ष छ भने अर्को बाल मनोविज्ञान । बालसुलभ चञ्चलता र हासोका कारण पुजारी बिरामी पर्नु, आफ्नो इच्छा पूरा गर्नका लागि बालिकाले उठाएको कदमलाई देवीको उग्रचण्डी स्वरूप सम्झनु धार्मिक-सांस्कृतिक मनोविज्ञानको उपज नै हो । हालै मात्र ड्युन चलचित्रहरू हेरेको र उपन्यास पढ्दै गरेकोले पनि यो कुरा ठ्याक्कै बिझ्यो । धर्मको प्रभाव पढेलेखेका र वैज्ञानिक सोच राख्ने व्यक्तिहरूमा त हुन्छ भने त्यस्तै समाजको अंश बनेकाहरूमा नहुने कुरै भएन । कथाले कुमारी प्रथाको सिधै विरोध त गरेको जस्तो लागेन तर बाल मनोविज्ञानको ख्याल गर्नु चैं पर्छ भनेको झैं लाग्यो ।

अब पालो पहिलो स्थान पाउने कथाको । मनोजबाबु पन्तको “बुढो लाँकुरीको रूख”ले भेडीगोठमा पचासौं वर्ष बिताएका लछिमान गुरुङको एक दिनको कहानी भन्छ । सँगसँगै बसाइँसराइको कारण गाउँमा किशोर/युवा नभेटिने समस्या र “आधुनिक विकास”का नाममा आएको प्राचीनताको विनाश यसले संवाद र विम्बमार्फत् समेटेको छ । बाटुलो घरको रोदी, लाँकुरी रूखको कचहरी, लाहुर जाने युवाहरूको तयारी जस्ता विषय पनि यसमा आएका छन् । युद्धबाट ज्यान जोगाउन भागेको लछिमानले श्रीमतीको नाममा आएको आफ्नै “मृत्यु”को पेन्सन खाएको प्रसङ्गमा हास्यरस छ । गोठको उत्तराधिकारी खोज्न नसकिरहेको उनी अब भने कालबाट भाग्न नसक्ने स्थितिमा पुगेको छन् । सामान्य कथामा पनि लछिमानको चरित्र चित्रणसँगै, उसका सुखदुःख, गुरुङ संस्कृति, साथै लछिमान र लाँकुरीको रूखको सम्बन्धलाई समेट्न सक्नु नै यस कथाको शक्तिशाली पक्ष  हो ।

उत्कृष्ट कथाका पच्चीस प्रतियोगी कथा पढिसकियो । चार अतिथि कथाको समीक्षा र समग्र अनुभव लिएर अन्तिम भागमा उपस्थित हुनेछु ।


Discover more from Stories of Sandeept

Subscribe to get the latest posts sent to your email.