उत्कृष्ट कथा, २०८० का अतिथि कथाहरू र अन्य केही कुराहरू यस भागमा समेट्ने छु । अतिथि कथाहरू पुस्तकमा भएको क्रमअनुसार नै समीक्षा गर्नेछु ।
अतिथि कथाहरू
पहिलो कथा दकस (भगीरथी श्रेष्ठले) ले यस्ती महिलाको कथा भनेको छ जो वृद्धावस्था उन्मुख छिन् र छोराबुहारीबाट छुट्टिएर उनीहरूकै घरमा तल्लो कोठामा बस्न थालेकी छिन् । उमेर ढल्किँदै गएपछि एउटी महिलाले महसुस गर्ने हीनताबोध र त्यसबाट उत्पन्न हुने स्वतन्त्रताको खोजी यस कथामा देख्न सकिन्छ । आफ्नो दिनचर्या र साहित्यिक रुचि छोराबुहारीले मन नपराएको ठान्छिन् र भित्रभित्रै जल्छिन् । फेरि छुट्टै बस्न खोज्दा समाजले के भन्ला भन्ने अनि छोराबुहारीसँग टाढिइँदै जाने हो कि भन्ने डर पनि छ । छोराबुहारीले उनकै राम्रोको लागि धेरै दौडधुप नगर्नु भन्ने सल्लाह पनि उनलाई बिझ्छ । समाजमा देखिएकै घटनालाई राम्रोसँग उतारिएको छ कथामा ।
दोस्रो अतिथि कथा हो भाउपन्थीको “रिक्त” । यो कथामा धेरै कुरा आएका छ्न् । चिया पसलदेखि कलेजको राजनीति र बिहे गर्न केटी खोज्ने कुरा देखि जोगी बन्ने विचारसम्म । “म” पात्रदेखि रिस पनि उठ्छ कतैकतै अनि माया पनि लाग्छ । आजकलको युवाहरूमा भएको नैराश्यता सबै नै टपक्कै टिपेका छन् लेखकले । कथाको शैलीमा भने न्यारेसन बढी भएकाले मलाई चैं पढ्दापढ्दै अल्छी पनि लाग्यो । यद्यपि विषय भने रोचक नै छ ।
डा. राजेन्द्र विमलको “पुत्रऋण” एकदमै मन पर्यो । एक परिवारको तीन पुस्ताका मानिसले गरेका राम्रा नराम्रा कुराको फेहरिस्त छ । ठेकेदार महादेव खड्काले अथाह सम्पत्ति जोडेपछि उसका छोराहरू गणेश, कार्तिकेय र अभिनन्दन अनि नातिनातिनीहरूको पतन हुँदै गएको नैतिकता र बढ्दै गएको दम्भ देखाइएको छ । धनसम्पत्तिको लोभ र चाहनाले केकस्ता अवस्था आउनसक्छन् भन्ने विश्लेषण छ । कथाको अन्तिममा आउने ट्विस्टले त दिमाग नै खल्बलाइदियो ।
कथा सङ्ग्रहको अन्तिम कथा “यात्राबाट छुटेपछि…” ले पत्रमित्रताबाट कुनै समय जोडिएका र जीवनको उत्तरार्धतिर भेट भएका दीपशिखा र सिद्धार्थ को कहानी भन्छ । दुवैजनाको जिन्दगी आआफ्नै ढंगबाट चलेको छ । दुवैका आआफ्नै पीडा पनि छन् । तर उनीहरूलाई दु:खको तारले जोडेको छ । कथामा थुप्रै दार्शनिक कुराहरू आउँछन् । मनोवैज्ञानिक द्वन्द्व पनि छ दुईबिचमा । कथाको अन्त्य सुखमय होला भन्ने लागेको थियो तर अलि निराशाजनक लाग्यो । कथामा “तिम्रो दु:खको कारण तिमी आफैं नै हौ” भनिएकोले मैले आफ्नै इच्छा र अपेक्षाका कारण दु:ख मानेँ कि भन्ने लाग्यो ।
आवरण
आवरणमा गुरुङ जातिको पोशाकमा एकजना मानिस देखिन्छ । उसको अगाडि ऊ भन्दा ठूलो डोजरको बकेट छ । पृष्ठभूमिमा रहेको रूखभन्दा डोजर प्रष्ट देखिन्छ । डोजरले रूख ढालेको र मानिसले निरीह भई हेर्नुपरेको परिस्थित चित्रले भन्दछ । यो चित्र “बुढो लाकुँरीको रूख” कथासँग बढी मिल्दोजुल्दो छ । तथापि “चेपाङ, चमेरा र चिउरी”, “असार पन्ध्र” र “साक्षी” कथाहरूमा पनि यस्तैयस्तै कुराहरू आएका छ्न् । आन्तरिक तथा बाह्य बसाइँसराइको पीडा, सांस्कृतिक परिवर्तन र विचलन एवम् विकासको नाममा गरिएको प्रकृतिको दोहन यी कथाहरूमा अटाएका छन् । तसर्थ आवरण चित्रले पनि उत्कृष्ट हुन सफल कथाहरूमध्ये चारवटा कथाको प्रतिनिधित्व गरेको देखिन्छ ।
अन्त्यमा,
एउटै किताब धेरै समय लगाएर पढ्ने बानी नभए पनि विभिन्न परिस्थितिले गर्दा त्यसो गर्नुपर्ने भयो । बिचमा थुप्रै किताब पढियो अनि रिभ्यु पनि लेखियो । त्यसैले “उत्कृष्ट कथा, २०८०” अधुरै छोडिने हो कि भन्ने डर पनि थियो । कथा पढेर रिभ्यु लेखेपछि ब्लगमा प्रकाशन गर्ने र बुकाहोलिक्समा सेयर गर्ने काम नगरेको भए ब्लग र रिभ्यु दुवै अलपत्र पर्न पनि सक्थे । यसर्थ बुकाहोलिक्स परिवारलाई धेरै धेरै धन्यवाद । टप २५ मा पर्नुभएका अनिता पन्थी, राजेन्द्र अधिकारी, जेएन दाहाल, प्रमोद प्याकुरेल, श्रीधर खनाल एवम् अन्य साहित्य साधकहरूको प्रतिक्रियाले पनि हौसला दिइरह्यो । उहाँहरूप्रति आभारी छु ।
सबैभन्दा पहिले पढेको कथामा थुप्रै कमजोरी भेटेको थिएँ । तर एउटा कथाको रिभ्यु मात्रैले सबै पच्चीस कथाकारका कथालाई न्याय दिन सक्दैन भनेर एउटा ठूलै आँट गरेको थिएँ । फेरि फेरि यस्तो गर्न सम्भव पनि नहोला । यो क्रमलाई अब भने बिट मारेँ । अरू कुनै पुस्तकको समीक्षा, लेख, कथा वा कवितामा फेरि पनि आउने कोशिस गर्नेछु ।
Discover more from Stories of Sandeept
Subscribe to get the latest posts sent to your email.
Leave a Reply