थाहा र रूदानेसँग परिचय
सञ्जीव उप्रेतीको “घनचक्कर” उपन्यासको वाचक ठाउँठाउँमा “खोज” र “थाहा” लेखिएको देख्छ । “यो सबैतिर कसले लेखेको होला ?” प्रश्न गर्छ । उत्तर आउँछ, “मकवानपुरतिरका एक शिक्षकले ।” घनचक्करले सङ्केत गरेका शिक्षक रहेछन् थाहा आन्दोलनका प्रणेता रूपचन्द्र बिष्ट । तीन वर्षअघि तिनकै जीवनमा आधारित “रूदाने” नामको चलचित्रको पोस्टर र टिजर हेरेपछि उनी को होलान् भन्ने खुल्दुली बढेको थियो । यद्यपि उनको बारेमा धेरै कुराहरूको ज्ञान भने थिएन । “रूदाने” नाममै उपन्यास आउन लाग्यो भनेर प्रवीण ढुङ्गेलले बुकाहोलिक्समा पोस्ट गर्नुभएपछि यो किताब प्रकाशन हुनासाथ पढ्नुपर्छ भन्ने लाग्यो ।
एम्बिसन गुरु एपमा इबुक छ भन्ने पत्ता लागेपछि किनेँ तर एपको रिडर भर्खर बनेको रैछ । किताब पढ्न मिल्ने तर न अध्याय छान्न मिल्ने न त हाइलाइट र बुकमार्क राख्न । पेपरब्याक ६०० रूपैयाँमा पाइने भनेर त भनेकै थियो विज्ञापनमा । एक दिनभित्र पाइने भनेर मगाइयो ।
तर केही समस्याले गर्दा एक दिन पछि मात्रै हात पर्यो ।
विषय सूचि
उपन्यासको संरचना

आवरण राम्रो लाग्यो । छाप्रोको भित्तामा रूदाने नाम, “रू” बाट निस्किएको हाते स्पिकर र त्यसबाट ध्वनि जसरी आइरहेको “थाहा” । पढ्न थालियो । छोटाछोटा वाक्य अनि छोटै अध्यायहरू । छिटो सकिने जस्तो लागेपछि पढ्ने जोश झनै बढ्यो । छोटा वाक्यहरूले कतैकतै दु:ख पनि दिए । एउटै वाक्यमा भन्न सकिने कुराहरू पनि टुक्रिएर आउँथे । उदाहरणका लागि :
“ढिलासम्म सुत्ने र उठेपछि गाउँ डुल्न निस्किने । मुख्य काम ।” (पृ. ५)
“धेरै मजदुर बालुवा निकालिरहेका थिए । पुरनमान थियो । उसका लठैतहरू थिए ।” (पृ. २७)
पृष्ठ ११ को “आँसु” अध्यायको पहिला दुई वाक्यमध्ये एउटा हटाउन मिल्छ:
“गोपाली गाउँबाट घोडा दौडिएको घर्तीखोलाबाटै देखियो । एक साँझ हाम्रो ध्यान गोपाली गाउँतिर सोझियो ।”
त्यस्तै, उमा शाहले बच्चा जन्माएर स्कूल फेरि जान थालेपछि छोरी जन्मेको देखाइएको छ (पृ. १३२, १३३, १३६, १३७)। पृष्ठ १९७ मा “गोडमेल” भन्ने एउटा शीर्षक भेटिन्छ । यो छुट्टै अध्याय हुनुपर्ने होला । अन्तिम अध्यायमा न्यारेटर परिवर्तन हुँदा को हो ठ्याक्कै खुल्दैन । कुनै भाइ जस्तो लागेको थियो तर एक ठाउँ स्त्रीसूचक क्रियापद प्रयोग गरिएकाले बहिनी गीता हुन् कि ?
रूपचन्द्र बिष्ट अर्थात् रूदाने
उपन्यासका मुख्य वाचक/नायक रूपचन्द्र बिष्ट (रूदाने) झर्रो बोली बोल्छन् । सुरुमा त ठीकै लाग्यो । कतैकतै हासो नि लाग्यो । तर पूरै उपन्यास भरी एउटै टोन नभएको भए हुन्थ्यो । पढ्दै जाँदा नायक त बाहुबली नै हुन् कि झैं लाग्ने । पछि बुझ्दा त बलबुद्धी दुवैमा तगडा रहेछन् । “मात चढेका बेला” साँढेसँग जुध्ने उनी अरूले बोलेका कुरा जस्ताको तस्तै भनिदिने रहेछन् । पन्ध्र मिनेट बोलेको कुरालाई पाँच मिनेट, तीन मिनेट, एक मिनेट र एक वाक्यमा छोट्याउन सिकाउने रहेछ्न् । संक्षेपीकरणको अभ्यास उनका नामहरूमा पनि देखिन्छ । जस्तै, रूपचन्द्र दामन नेपाल (रूदाने), जनमुखी सदस्य रूपचन्द्र (जसरू), स्वतन्त्र रूपचन्द्र (स्वरूपे) आदि । उनले औपचारिक पठन बाहेक अतिरिक्त क्रियाकलापलाई पनि प्रश्रय दिएका रहेछन् । बालेन शाहले काठमाडौं महानगरमा सुरु गरेको “बुक फ्री फाइडे” जस्तै कृषिसम्बन्धी दैनिक स्कूलमै सिकाउने कार्य त रूपचन्द्रले पहिल्यै सुरुवात गरेका रहेछन् । राजनीति, समाज, देशका बारेमा पनि उनले सबै विद्यार्थीलाई सिकाउने गरेका रहेछन् । नेपालीमा पढ्दा पनि नबुझिरहेका विद्यार्थीलाई अङ्ग्रेजीमा पढाउँदा विरोध पनि गरिएछ । ज्ञानको दायरा बढाउन पनि अङ्ग्रेजी पढ्नुपर्छ भन्ने तर्कका आधारमा उक्त कार्यलाई निरन्तरता दिइएछ ।
साविकको अमरज्योति निमाविलाई जनकल्याण मावि बनाएर प्रधानाध्यापक बन्नुअघि उनी प्रधानपञ्च पनि बनेका रहेछन् । विकास कार्यका लागि आफैं ढुङ्गा फोड्न जाने, ढुङ्गा बोकाउन लगाउने र जनश्रमदानको प्रसङ्गमा भने हर्क साम्पाङ सम्झिएँ । फटाहा र भ्रष्टचारीसँग बोल्ने तरिका दुवैको उस्तैउस्तै लाग्यो । विकास गर्ने क्रममा पञ्चायतका मतियारहरूसँग दुश्मनी पनि भयो । पछि उनले सुरु गरेका उन्नत बाली उब्जाने, विकासे नश्ल भित्र्याउने, विकासका कामहरूका विषयमा छलफल गर्न बनाउन सुरु गरेको विकास घर र अन्य योजनाहरू असफल बनाइयो ।
सारा गाउँलाई साक्षी राखेर विवाहसभा गरेर उमा शाहसँग विवाह गरेका उनको विवाह सम्बन्ध टुट्यो । लगभग त्यही समयमा विद्यालयमा भएको व्यापक विरोधका कारण प्रधानाध्यापक पदबाट राजीनामा दिनुपर्यो । पञ्चायतका समर्थकले उनको पिछा गरे मार्नै खोजे । देवघाटमा भतिजहरूको व्रतबन्ध भइरहेको बेला अनौठो हर्कत गर्दै नारायणीमा फाल हाले ।
जोगीको भेष धरेर फर्किएका उनी भाइको आग्रहमा दामनको भ्यु टावरमा बस्न थाले । उनमा केही परिवर्तन आएको जस्तो देखिन्छ । सामन्तीकै पक्षमा रहेका भनेका भाइ गुणचन्द्रको कुरा मानेर त्यहाँ बसे । राजनीतिक उचाइ पनि त्यहीँ बसेकै बखत पाए राष्ट्रिय पञ्चायतको दुईपटक सदस्य भएर । पञ्चायत प्रणालीमा रहेर पञ्चायतकै विरोध गर्दै राजनीति गर्न पारिवारिक साथ पनि मिल्यो । राष्ट्रिय पञ्चायतको दोस्रो कार्यकालमा भने बाबुको इच्छा पुर्याउन करमा घर बनाउँदा (पछि दाजुभाइकै बीचमा किचलो पनि उब्जियो) अनि सुविधाको गाडी लिँदा उनका प्रतिद्वन्द्वीले विरोध गरे । त्यस कुराले बहुदल पुनःस्थापनापश्चात् भएको चुनावमा उनलाई घाटा पुग्यो । यद्यपि उनलाई गाली गर्दै सर्वहाराको प्रतिनिधित्व गर्छौं भन्दै ब्रह्मलुट गरिरहेकै छन् । सङ्गठन नहुनु पनि उनको हारको कारण थियो तर सङ्गठन किन नबाउने भन्ने कुरामा भने उनी प्रष्ट थिए :
सङ्गठनले हामीलाई पक्षपाती बनाउँछ । हामी निष्पक्ष हुन सक्दैनौँ । एउटा सङ्गठनमा भएपछि मैले गल्ती गरेँ भने पनि तिमीहरूले मलाई चुपचाप साथ दिनुपर्छ । सङ्गठन भन्नेबित्तिकै कोभन्दा को ठुलो भन्ने कुरा सबभन्दा अगाडि आउँछ । (पृ. २०७)
जीवनको अन्त्यतिर थाहा पाउनुपर्नेले थाहा पाएनन्, पाएकाले पनि साथ छोडेकाले उनी विरक्तिएको कुरा पढ्दै गर्दा मन साह्रै कुँडियो । रूपचन्द्रले स्वतन्त्र हुँदा पाएको सूर्य चिह्नको फाइदा एमालेले लिएको रहेछ भन्ने थाहा पाउँदा छक्कै परेँ । बालेन र हर्कले लौरो चिह्नमा छुट्टाछुट्टै ठाउँमा जितेपछि त्यही चिह्न लिएर मधुसूदन पाठक (सिते बा) हरूले पार्टी खोलेको कुरा झट्ट याद आयो ।
उपन्यासका कमजोर पक्ष
“रूदाने” को सबैभन्दा कमजोर पक्ष तिथिमिति, उमेर ठ्याक्कै नहुनु हो । तिथिमिति थाहा पाउन इतिहासका धेरै कुरामा जानकार हुनुपर्छ । राणाकाल कहिले सुरु भयो, पञ्चायत कहिलेदेखि लागू भयो, जनमतसङ्ग्रह कहिले भयो, जनआन्दोलन कहिले भयो भन्ने त याद थियो । तर रूपचन्द्र बिष्ट प्रधानपञ्च कहिले भए, उनको विवाह कहिले भयो, नारायणीमा कहिले फाल हाले अनि कति समय हराए, राष्ट्रिय पञ्चायतका सदस्य कहिले भए भन्ने प्रश्नहरूको जवाफका लागि अरू सामग्रीको आवश्यकता पर्छ । उपन्यासकारले रूदानेले झैं, “आफैं थाहा पा भाते, पत्ता लगा” पो भनेका हुन् कि ?
उपन्यासको अर्को कमजोर पक्ष शोविङ (showing) भन्दा टेलिङ (telling) को ज्यादा प्रयोग हो । “कविता लेखेँ” भनेको ठाउँमा उनले लेखेकामध्ये कुनै कविता राख्न सकिन्थ्यो । कसैलाई केही कुरा भनेको वा छलफल भएको भनिएको विषयमा दोहोरो संवाद राखिएको भए हुन्थ्यो । उपन्यासका रूदाने धेरैजसो पर्चामा लेखिएका र केही पुराना रेकर्डमा भनेका कुराहरू संवादका रूपमा बोलिरहन्छन् । वाचक मात्रै बोलिरहँदा वास्तविक रूपचन्द्र विष्ट आफू मात्रै बोल्थे अरूका कुरा सुन्दैनथे कि भन्ने पर्यो । अरूका कुरा नसुन्ने त थिएनन् होला । नारायणीमा फाल हानेर साधुको भेषमा आएपछि अनि राष्ट्रिय पञ्चायतको सदस्य भएपछि भाइको कुरा सुनेका प्रसङ्गले गर्दा उनी अरूका कुरा सुन्दैनथे भन्न पनि सकिँदैन ।
हुन त एउटा किताबमा कुनै व्यक्तिको सिङ्गो जीवन समेट्न असम्भव हुन्छ तर केही महत्त्वपूर्ण कुराहरू छुटेका छन् । विष्णुप्रसाद आचार्यले अनलाइन खबरमा लेखेको “रूदाने” उपन्यासको समीक्षामा रूपचन्द्र बिष्टका एक छोरी र एक छोरा थिए भन्ने पढियो तर उपन्यासमा एक छोरीको मात्रै कुरा छ । ती पनि सपनाजस्तो आउँछिन् अनि त्यसै बिलाउँछिन् । सम्बन्ध विच्छेद पछि उमा शाह र छोराछोरी कहाँ गए, रूपचन्द्रसँग सम्पर्कमा थिए कि थिएनन् भन्ने खुल्दैन । केपी ओली जम्माजम्मी दुई ठाउँ आउँछन् तर दुईको बीचमा खासै संवाद हुँदैन जबकि एउटा फोटोमा दुबै “थाहा” लेखिएको स्कुटरपछाडि देखिन्छन् ।
रूपचन्द्र विष्टले “व्यवस्था निर्दलीय राजनीति बहुदलीय हुनुपर्छ” भनेका रहेछन् विमर्शसँगको अन्तरवार्तामा (स्रोत: थाहा-निष्पक्ष सक्रियताको अभ्यास, पृ. २२४, https://thaha-rudane.org/) । उपन्यासमा पनि यो नारा आउँछ तर व्याख्या भने आउँदैन । यो विषय मलाई एकदमै रोचक लाग्यो तर ठ्याक्कै कस्तो हो बुझ्नै सकिनँ । फेरि त्यही अन्तरवार्तामा (किताबमा अलि पछि) “बहुदलीय बहुला व्यवस्था हो । निर्दलीय निर्दयी व्यवस्था हो ।” भनेका रहेछन् । बहुला र निर्दयी व्यवस्थाको संयोजन ठीक होला र भनेर न पत्रकारले सोधेका छन् न त उपन्यासका कुनै पात्रले ।
केही गहकिला नारा पनि छुटेका रहेछन् । जस्तै :
एक प्रश्न
चार माना माटोसँग
तेरो नाता पर्यो भनेर
माटाको भाँडाले तँसित
दोस्ती सोस्ती गर्यो भनेर
बसिस् कैद गमलामा
सिङ्गै पृथ्वीलाई छोडेर ।
हामी कसैका होइनौं, कोही हाम्रा होइनन्
हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो
उपन्यासका सुन्दर पक्ष
घटनाक्रमको शिलशिलेवार प्रस्तुति, रूदानेका जीवनका मुख्य घटना र थाहा दर्शनको परिचय यस उपन्यासका सबल पक्ष हुन् । अघिल्लो पुस्तामा केही छाप छोडेका तर पछिल्लो पुस्ताले बिर्सिन लागिसकेका पात्रको बारेमा थप जान्ने उत्सुकता जगाउन उपन्यास सफल छ । रूपचन्द्र विष्टको विगतलाई हेर्दै वर्तमानमा केही पाठ सिक्न सकिन्छ जुन यस लेखको अन्त्यमा समेटिएका छन् ।
केही बिझेका कुरा
यो जीवनी नभएर उपन्यास भएकाले औपन्यासिक स्वतन्त्रताको अपेक्षा स्वाभाविक नै हो । यद्यपि लेखकले नै किताबमा “यस्तो त भएको थिएन भन्ने लाग्यो भने लेखकको सफलता हो” लेख्दा चैं संशय जाग्यो । “घनचक्कर”को वाचकले कुन सत्य कुन कल्पना कुन घटनाको कस्तो शिलशिला थाहा नपाएजस्तो रनभुल्लमा त परिएन ?
धेरै ठाउँमा रूपचन्द्रले आफूले गरेको ठीक अरूले गरेको बेठीक भनेका छन् । पञ्चायतको समर्थन पनि गरेका रहेछन् । उपन्यासमा यो कुरै छैन । उनले पञ्चायतको नेतृत्वमा सबै नराम्रा छैनन् केही नराम्राले हैकम जमाएका छन् भने झैं गणतन्त्रका नेताहरूका बारेमा पनि सुन्दै आएको कुरा हो । फेरि बहुदलीय पद्धतिले जित्ने भएपछि अवसरवादी झैं यसको समर्थन गरेको देखिन्छ उपन्यासमा । यस्तो हैन भन्ने लेखहरू पनि भेटिए तर खुङ्खार पञ्चे, मण्डलेहरू प्रजातन्त्रका हिमायती बनेर शासन गरिरहेकै छन् । कुन वयवस्था ठीक भन्ने कुराको बहस जरुरी थियो ।
स्वास्थ्य सुधार भइरहेका बेला किन बिरामी परे अनि मृत्युअघि के स्वास्थ्य समस्या देखिएको थियो भन्ने कुरा उपन्यासमा प्रष्ट छैन । कुनै षड्यन्त्रमा परे कि भनेर कुनै पात्रले सोचेका पनि छैनन् ।
धनुष के. को “थाहा” नाम गरेको युट्युब च्यानलमा रामनारायण बिडारीलाई विरोधी समूहले जनकल्याण मावि मा भर्ना गरेर ल्याएको भनिएको रहेछ । रामनारायण बिडारीले पनि पद्मोदयमा पढाई छाडेर जनकल्याण गएको अनि रूपचन्द्र बिष्टका विरुद्धमा नाराबाजी गरेको स्वीकारेका छन् । तर गुरु रूपचन्द्रले बिडारीलाई विश्वास गरेर पटकपटक मौका पनि दिएका छन् । तर फेरि एक ठाउँमा बिडारीलाई ढिलो आएको भनेर मुखमा थुकेको अनि बिडारीले अत्ति भयो भनेर चुनावी प्रचारप्रसार छोडेको प्रसङ्ग पनि छ । वर्षौं सँगै हिँडेका चेलालाई ढिलो भएकै कारण थुके होलान् भन्ने चैं पत्याउनै गाह्रो भयो । अनि पछि बिडारी काठमाडौं-१ बाट चुनावमा उठेका बेला सहयोग गर्न पनि आए । यी गुरुचेला बिचको सम्बन्धमा भएका उतारचढाव त देखियो तर घटनाक्रमका कारण र भावनाहरू अलि नमिलेजस्तो, केही नपुगेजस्तो लाग्यो ।
अजेयराज सुमार्गी अति नै सकारात्मक रूपमा आउनु पनि मलाई अचम्म लाग्यो । नेपालका सबै नेतालाई खल्तीमा राख्छु भन्ने विवादित व्यापारी सुमार्गीले जनमुखी राजनीति गरेका त होलान् तर आफ्नै फाइदाको लागि हो कि ? “रूदाने” पुस्तक विमोचन उनकै हातबाट गरिएको रैछ । विष्टको परिवार वा आफन्तबाट कोही किन थिएनन् मञ्चमा ? थाहा आन्दोलनमा लागेकाहरू नै एकअर्का प्रति पूर्वाग्रही भएका हुन् कि ? रूपचन्द्रका भतिज रणसङ्ग्राम बिष्टले त सुमार्गीलाई कालाकुवेरको संज्ञा दिँदै थाहा दर्शन भन्दै कालो धन जोडेको आरोप नै लगाएका रहेछन् । तथापि घर बनाउने बेलामा भएको मुद्दामामिला पछि रूपचन्द्रले दाजुभाइसँग खासै सम्पर्क नगरेजस्तो उपन्यासमा देखिन्छ । दागबत्ती दिनसमेत स्वनाम साथी (शशि शेरचन) लाई रूपचन्द्रले छानेको र सोहीअनुसार गरिएकाले घरपरिवारले नै वास्ता नगरेको हो कि भन्ने पनि प्रश्न उब्जिन्छ ।
थाहा दर्शन र आन्दोलनलाई आफूले प्रश्रय दिएको देखाउनेहरू धेरै नै रहेछन् तर वर्षको दुईचोटि सम्झनेबाहेक खासै केही गरेको जस्तो लाग्दैन । रूपचन्द्रले सुरु गरेका पुस्तकालय जोगाउन नसक्नेहरूले थाहा दर्शनको कुरा गरेको कत्ति सुहाएन । “थाहा” नाममा मिडिया, गैरसरकारी संस्था र राजनीति गर्दैमा यस दर्शनको प्रचार हुने पनि हैन ।
वर्तमान पुस्ताका लागि रूदानेको जीवनबाट पाठ
दोषी को ?
– रूदाने
केटाकेटी बिग्रे बाबुआमा दोषी
जनता बिग्रे सरकार दोषी
सरकार बिग्रे व्यवस्था दोषी
यथार्थमुखी, कर्तव्यमुखी बाहेक
पछुवा, भगुवा सारा दोषी
जात ठुलो कि जनता ?
नाता ठुलो कि न्याय ?
स्वार्थ ठुलो कि निस्वार्थ ?
समाज बिग्रेको, देश बिग्रेको हामी देखिरहेका छौँ । जता हेर्यो त्यतै दूषित सोच र राजनीति देखेर वर्तमान पुस्ता आजित भएको छ । आफ्नो र आफ्नो परिवारको पेट भर्नु नै प्राय: सबैको चिन्ताको विषय बनेको छ । चरम राजनीतिकरण र दलीयकरणले हामीलाई दास बनाइरहेकै छ जसका बारेमा पहिले पनि लेखिसकेको छु : के नेपालीको दलीय सोच तोडिएला ? । प्रजातन्त्र लोकतन्त्र जे भने पनि सत्तामा रहनेकै हालीमुहाली छ । लोकतन्त्रमै शङ्का छ । स्वतन्त्रता नाम मात्रैको छ (के हामी स्वतन्त्र छौँ ?) । रूपचन्द्र विष्ट राजनीतिमा आउँदा गरीब जनताको अवस्था जस्तो थियो अहिले पनि त्यस्तै छ । समयसँग आउनेबाहेक तात्विक परिवर्तन छैन । समाज पावर र पैसाको पछि कुदेको छ । पावर र पैसा हुनेहरू मैमत्त साँढेजस्ता छन्, कामवासना र मदिराका दास बनेका छन् । धर्म (नैतिकता) बिर्सेका छन् । एकले अर्कोलाई विश्वास गर्नै सकिँदैन । यस्तोमा हामी एकजना मसिहा वा नायक खोज्दैछौँ जसले सारा समस्या एक झट्कामा समाधान गरिदियोस् । तर मसिहाले समस्या समाधान गर्ने हैन । आफ्नो लडाईं आफैं लड्ने हो ।
रूदानेले पनि त्यही नै भनिरहे । छाप्रेको राजनीति महल हुनेले गर्दैन । महिलाको राजनीति पुरुषले गर्दैन । विकास कुनै नेताले ल्याउने हैन, जनता आफैंले हो । यसतर्फ काम भइरहेजस्तो त देखिन्छ तर जबसम्म सबै जाग्दैनन् तबसम्म देश विकास हुन असम्भव छ । जे छ ठीक छ भन्ने प्रवित्ति त गलत हो नै, भएका सम्पदा नचिन्नु र चिनेर पनि उपयोग गर्न नसक्नाले हामी गरीब बन्दै गएका छौं । केही व्यक्तिले प्रयास गरेर देश विकास हुने हैन । त्यसबेला रूदाने वैकल्पिक राजनीति गर्दै थिए, अहिले बालेन, हर्क, गोपी हमालहरू आएका छन् । विरोधीहरूको पनि कमी छैन । पहिला पञ्चायत र पछि दलहरू रूपचन्द्रलाई सिध्याउन लागे । अहिले राजनीतिक दलहरू स्वतन्त्र व्यक्तिहरूमा के कमजोरी भेटिन्छ र प्रहार गर्न सकिन्छ भन्ने दाउ खोजिरहन्छन् । यिनलाई असफल बनाएर होस् वा यिनकै कार्यलाई अपनाउदै होस् जनतालाई भ्रमित बनाउन लागिपरेका छन् । पञ्चायतकालमा दरबार र दरबारका आसेपासेले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबै कब्जा गरेका थिए । अहिले “राजनीतिक” दलहरूले त्यस्तै गरेका छन् । पञ्चायत कालमा झैँ अहिलेका दलहरू सुकुम्बासी उत्पादन गर्न उद्दत छन् सस्तो काम र भोटका लागि ।
चरम राजनीतीकरण विरुद्ध केही प्रयास भए पनि ती पर्याप्त छैनन् । दलीयकरणको विरोध गर्न दल नै खोल्नुपर्ने अफ्ठ्यारो व्यवस्था छ । बहुदल लागू हुँदा पञ्चायतलाई “खाए पाएर अघाएका” र बहुदलवादीलाई “खान नपाएका” भन्दै “हेर्दै जानू बहुदलवादीले कसरी देश बिगार्छ्न्” भनेका रहेछन् । नभन्दै बहुदलवादीले देशलाई उल्टो बाटोमा लगेका छन् । व्यवस्था अन्त्य गर्न नदिन जनता फुटाएका छन् दल, जातजाति अनि अनेकौँ नाममा । “व्यवस्था ठीक छ, अवस्था मात्रै बेठीक हो” भन्ने साथीहरूले पनि व्यवस्था ठीक नभएरै अवस्था ठीक नभएको हो भन्ने बुझे हुन्थ्यो । अहिले उदाएका स्वतन्त्र आवाजहरू थाक्लान्, धर्ती छाडेर जालान् । उनीहरूका नाममा अरूले राजनीति गर्लान् । नागरिकले आफ्नो लडाईं नलडेसम्म खुद्रे राजनीतिक परिवर्तनलाई क्रान्ति भन्नुपर्ने अवस्था रहिरहनेछ । त्यसैले प्रश्न गरौँ, खोजौँ, बुझौँ, थाहा पाऔँ !
Discover more from Stories of Sandeept
Subscribe to get the latest posts sent to your email.
Leave a Reply