“भगवान् छ्न् नि !”
उपन्यासको अन्तिम संवादले मन उथलपुथल भयो । यसपछिका वाक्यहरूतिर मन जानै मानेन । आँखाले पढेँ, मनमा आएनन् । यही संवादमा उपन्यास सकिएको भए हुन्थ्यो जस्तो लाग्यो । चलचित्र भएको भए त्यो संवादको अन्त्यमा बुढेसकालमा भेटिएका दुई बालसखा देवघाटको एउटा कुटीमा गएको दृश्य “टप शट” बाट देखाइन्थ्यो होला । किन हो मेरो मनमा यस्तै दृश्य कैद भइदियो ।

यो संवाद चानचुने होइन । उपन्यासकार अमर न्यौपानेको मन भेदेर उनलाई बालविधवाका विषयमा कलम चलाउन उत्प्रेरित गर्ने वाणी हुन् यी । त्यसैले पनि यही संवादमा “सेतो धरती”को अन्त्य भए हुन्थ्यो भन्ने लाग्यो ।
“भगवान् छ्न्” भन्दा वृद्ध ताराले आफूभित्रको भगवान् चिनेकी हुन् भनेर लेखकले नलेखिदिएका भए यी तीन शब्दमाथि वैचारिक बहस र विश्लेषण हुन्थ्यो होला । उपन्यासकारले भने आफूलाई त्यो वाणी सुनाउने वृद्ध आमामै भगवान् देखे सायद ।
***
तारा, यमुना, पवित्रा र गोविन्द
यी चार पात्र एकै ठाउँबाट छुट्टिन्छ्न् अनि भेटिनछ्न् एकै ठाउँमा । भिन्नभिन्न शैलीबाट जीवन बाँचेका यी पात्रहरू अन्तिम क्षणमा भगवान् समीप पुगेका छन् । उपन्यासमा भनिएझैँ यी पात्रहरू नदी हुन् जो देवघाटरूपी तलाउमा बग्दै आइपुगेका छन् । अब त्यहाँबाट एउटा मात्रै बाटो छ । माथी । अर्थात्, मृत्युु । यमुना, पवित्र र गोविन्दसँग ताराको बिछोड र संगमले उपन्यास “फुल सर्कल” (Full circle) बनेको छ ।
***
वैवाहिक प्रचलन: केही अकल्पनीय परिदृश्य
“सेतो धरती” बालविधवाका विषयमा लेखिएकाले यसमा बालविवाहको प्रसङ्ग स्वतः आउने नै भयो । पाँच वर्षकी बालिकाको (ताराकी बहिनी) समेत विवाह हुने कुरा मनै चिर्ने खालको छ । तारा आफैँ सात वर्षकी भएकाले उसका लागि विवाह पूजा, खेल र सपनाजस्तो भयो । तर खेलजस्तो विवाहले उसको जीवन नै वर्वाद भयो ।
आफ्नो जेठो छोराको उमेरकी केटीसँग जब ताराको “बा”ले बिहे गर्छ, चकित हुन्छु । तारालाई समाजले अर्को बिहे गर्न रोक्छ । तर ताराभन्दा कान्छी केटी बिहे गर्न समाजले उसका बालाई उकास्छ । उसका बा पनि राजी हुन्छन् ।
यस्तो अनमेल विवाहले ल्याउँछ अनौठो परिदृश्य । एकै उमेरका ताराका जेठो भाइ र “सौतेनी आमा” खेल्छन् बिहेको खेल । उमेर बढेसँगै उनीहरूको जिस्काई र हिमचिम देखेर तारा गर्छे शंका । सौतेनी आमाको पहिलो छोरामा देख्छे आफ्नो भाइको रूप !
बहुविवाहका प्रसङ्ग पनि उपन्यासमा आएका छ्न् । एउटीलाई पाउन पहिले अर्कीलाई बिहे गर्ने यमुनाको पति अनि गाउँकी दुलहीलाई अनपढ भनेर “आधुनिक” शहरीया बिहे गर्ने गोविन्द दुवै विकृत मानसिकताका उपज हुन् ।
***
यौनिकता र मातृत्व
“कपडा नलगाउँदा सधुवा र ममा के फरक छ र ?” ताराले गरेको यो प्रश्न उनीमाथि समाजले लगाएको बन्देजको उपज हो । कुण्ठित उसको मनले सधैँ उसलाई पिरोलेको छ । उनमा सन्तान जन्माउने क्षमता हुँदाहुँदै समाजले बनाएको दायराले गर्दा ऊ सन्तान जन्माउन पाउँदिन । उनको मातृत्व समाजलाई अपाच्री हुन्छ । समाजले उनलाई बाँधेर राखेको छ ।
तारा को ठीक विपरीत छे पवित्रा । ऊ समाजको जञ्जीर तोडेर नर्तकी, वेश्या, र एकल आमा पनि बन्छे । जीवनको उत्तरार्धमा ऊ कुण्ठारहित जीवन बाँच्दछे । पवित्राका भोगाई र यमुनाको वैवाहिक जीवनको प्रसङ्गहरूले ताराका कुण्ठित मनको वेदना छ्ताछुल्ल पारिदिएका छ्न् ।
***
अन्त्यमा,
उपन्यासमा केही कुराहरू दोहोरिएका जस्ता लाग्छन् भने केही कुरा अधुरा । जस्तै, यमुनाको यौन जीवनका कुराहरू दोहोरिएर आएका छन् । त्यस्तै, एकपटक आफ्नी बहिनी भेट्न भनी गएकी तारा बहिनीको घरै पुग्दिन । उता, वर्षौँदेखी हराएको ताराको कान्छो भाइ देवघाटमा आइपुग्छ तर उसको कहानी थाहा नपाउँदा त्यो कुरा नै नभनिएको भए हुन्थ्यो जस्तो लाग्छ ।
सामान्य कथा बोकेको सामान्य शब्दहरूमा लेखिएको “सेतो धरती” सामान्य उपन्यास भने होइन । लेखक न्यौपानेले भनेझैँ यो अनुभूतिमुलक आख्यान भएकाले नै यो सशक्त बन्न सकेको हो ।
***
“सेतो धरती”
विधा: उपन्यास
लेखक: अमर न्यौपाने
पृष्ठ: ३७३