Experiences of a common man!

Category: Poetry Page 1 of 3

वर्षा

काला बादलका पर्दाले

मनमा उमङ्गको लहर उठ्छ ।

जब नीलो आकाश र रापिलो घाम ढपक्क ढाकिदिन्छन्

रिमझिम झरीले जमिनलाई जसै सुवासित गर्छ

मनले सर्वात्र खुशीको बिज छर्छ ।

हिलो मैलो नभनी

दु:ख गरी दिनरात

सपना बुन्दछ अन्नपातको सुखको ।

काला घना बादलहरू

जब झमझम अविरल बर्सन्छन्

काँप्दछ मन !

खुशीमा ग्रहण लाग्ने पो हो कि ?

भेल बन्छन् कि खेतबारी ?

बाढीले बगाउँछ कि सारा सपनाहरू ?

पहिरो आई खस्छ कि मेरा आशा माथि ?

तुहिने हुन् कि इच्छाहरू ?

हे ईश्वर !

बचाइदेऊ मेरा सपना !

नपार निराश मलाई,

पूरा गरिदेऊ मेरा एक मुठी रहर !

फुर्सद छैन कि ईशलाई ?

मौन बसेको छ !

निद्रामा पो छ कि ?

मेरा प्रार्थना उसका कानमा नपुगे जस्तो छ !

काला घना बादलहरू

भेल बनी आउँछन् !

गड्गडाउँदै पस्छन् घरखेतमा

तुहाइदिन्छन् सपना र रहरहरू !

गर्जंदै खसेर माथिबाट

निमिट्यान्न पार्न खोज्छन् आशा र इच्छाहरू !

सास बाँकी छ

आश बाँकी छ

शोक र भोक छ ।

शक्ति अझै बाँकी छ

पीडाले बलवान बनाइदिएको छ ।

भविष्य निर्माणमा अघि बढ्छु !

वर्षा यामका

काला घना बादलहरू

मेरो जीवनका निर्णायक हुने छैनन्

कुनै ईश्वरको मौनताले

मेरो भाग्य उल्टिनेछैन

मेरो भाग्यको मालिक म आफैँ हुनेछु

मेरो सुकर्मको फल म आफैँले पाएको हुनेछु ।

(२०७७/०३/३०)

राधाको सम्झनामा

देख्दैमा राधाका दुई नयन बसिगएथ्यो पिरती
कोकिल वाणी, मुस्कानको मधुरता मन हर्ने अति ।
खेल खेलमा मित्रता भएको थियो गहिरो जति
टुट्ने हो कि ती प्रिय सखीको साथ लाग्दथ्यो पीर अति ।।

अर्कैकी बनेर डोलीमा चढी जब गइन् राधा रानी
भन्न नसकी गुम्सिएका भाव सम्झी बढ्यो ग्लानि ।
कान्हाको मन छ धेरै बलवान् भन्दछ सारा गोकुल
देख्दैनन् ती मुहारको मुस्कानले लुकाएको शूल ।।

मुरलीको दु:खी विरही धुन गुन्जाई वृन्दावनमा
डुल्दछ सम्झनाले कृष्ण यो, सन्ताप बोकेर मनमा ।
योगीको मार्ग चिनी ती बुद्धिमती प्रियाको सङ्गतले
राधाकृष्णको प्रेम अमर भनी चिन्नेछ जगतले ।।

काठमाडौँ

घामसँगै अस्ताउँछ यो शहर
सुनसान भइदिन्छ, बढाइदिन्छ डर
निद्रा प्यारो, जाग्न सक्दैन हर पहर
मरेतुल्य बाँचिरहेको छ यो महानगर !

सपनाको भारी, प्रतिस्पर्धाको कहर
घोलिदिन्छ मस्तिष्कमा कालकूट जहर
जरैदेखि उखेल्दै आशा र रहर
मरेतुल्य भएको छ यो महानगर !

सहन नसकी अनेक प्रहार र अत्याचार
कराउँदै छ रक्षाका लागि गुहार
कसरी पर्छ खै नागरिकको भर ?
मरेतुल्य बाँचेको छ यो महानगर !

© सन्दीप्त

आजकल मैले फेरि सपना देख्न थालेको छु

आफूले जन्माएर
आफैँले मारेँ भनेका सपनाहरू
चिच्याइरहन्थे,
“लाग्यो होला तँलाई हामी मर्यौँ
तर हामी त तँ भित्रै छौँ
हामी तेरै अंश त हौँ !
जबसम्म तँ जिउँदो छ्स्,
हाम्रो अन्त्य हुनेछैन ।

“तेरो मनले बनाएको पिँजडामा
हामी बसेका छौँ
तैले वास्तै नगरे पनि
झक्झकाएका छौँ
भनिरहेका छौँ,
ब्युँता फेरि हामीलाई
खुसी हुन्छस्, सुखी हुन्छस् ।
कति रोक्छस् अन्तरात्माको आवाज ?
तोड पिँजडा, मुक्त गर,
अनि हुर्का हामीलाई ।”

डरको झ्यालखाना तोडेर
बचेखुचेका रहर जोडेर
सपनाको लिलाम गर्नेहरूसँग जोगिएर
आजकल मैले फेरि सपना देख्न थालेको छु !
नीदमा र जागामा
आशाका मसिना धागामा
सपनाको माला उन्न थालेको छु !

(२०७५/०४/१९)

आजकल म सपना देख्दिनँ

आफ्नो नाफा हुन्जेल
बोलाउँछन्, उचाल्छन्
यो छ, त्यो छ
यो गर्छु, त्यो गर्छु
यस्तो हुन्छ, उस्तो हुन्छ
भन्दै, फकाउँदै, झुक्याउँदै
सपना देखाउँछन् ।

जब सत्यको पर्दा खुल्छ,
तब थाहा हुन्छ,
यहाँ त सपना देख्नै पाइन्न ।
यहाँ सपनाको कुनै अर्थ नै छैन
जति नै राम्रो भए पनि !
यहाँ सपनालाई रेटेर, अँठ्याएर मार्छन्
सपनाकै अभिभावकहरू ।

त्यसैले,
न त नीदमा हुँदा न त जागा
अचेल म सपना देख्दिनँ
आफूले जन्माएर, हुर्काएर
आफैँले सपनाको हत्या गर्न चाहन्नँ ।

(२०७५/०४/१९)

Red Sun

Sun is red in the sky!

Could it be Dawn or Dusk?
Could it be a new beginning?
Or beginning of an end
Of all the red spilled
In the forests, streets and homes?

Will the blue-bordered red
Continue to smile as it does
Under the red sun?

मौन धारण

शहीदका नाममा मौन धारण गर्न
छातिमा हात राखेर शिर झुकाउँदा
सोच्छु–
जहाँ
क्रान्तिको डरले घरमै बस्नेहरू,
व्यक्तिगत इबीमा फस्नेहरू,
स्वार्थको राजनीतिमा पस्नेहरू,
मरेर जाँदा “शहीद” मानिन्छ,
त्यहाँ शहीदको सम्मान कसरी पो हुन्छ ?

सोच्छु–
क्रान्ति र आन्दोलनका नाममा उदाएका भुइँमान्छेहरू
जब
सत्तामोहमा परेर,
अपराधको बाटो पक्रेर,
स्वाभिमानलाई बिर्सेर,
क्रान्तिको मर्म लत्याएर,
जनलाई घात गरेर
देश बेच्न पनि पछि पर्दैनन्,

धुरुधुरु रुँदा हुन् ती महात्माहरू
जसले
आमाबाबुको काख छाडेर
जीवनसाथीलाई एक्लो पारेर
छोराछोरीलाई सुनौलो सपना बाँढेर
मित्रजनलाई विश्वास गरेर घात नगरी
क्रान्ति सफल पार्न
देशका लागि प्राणको आहुती दिए !

मान !

 न्याय नपाई कोही रोइरहँदा

               न्यायालयको मान रह्यो सायद !

अपराधीहरू खुल्लमखुल्ला हिँडिरहँदा

               न्यायालयको मान बढ्यो सायद !

न्यायकै किनबेच चलिरहँदा

               न्यायालयको इज्जतले आकाश छोयो सायद !

र त,

     न्याय पाउँ भन्नेहरू 

                   न्यायालायमै रोइरहेछ्न् !

     अपराधी समाऊ भन्नेहरू

                     डरले काँपिरहेछ्न् !

      न्यायको किनबेच नगर भन्नेहरू

                     कठघरामा उभ्याइरहेछ्न् !

© सन्दीप्त

राजकुमारीकी र उनकी आमा

सूर्यले बादललाई सिन्दुर लगाएको त्यो साँझ
राजकुमारीझैँ सझिएकी 

कोमल हातमा गुडिया बोकेकी

एउटी सानी नानीका आँखाले 

आफ्नी आमासँग 

प्रश्नहरू सोध्दै थिए–

“आमा घर जाने बेला भएन ?

कति खेप बोक्न बाँकी छ

ईँटा र बालुवाको भार ?

कति समय लाग्ला बनाउन

हाम्रो पनि यस्तै ठूलो घर ?”

Global Village

“We’ll create a Global Village,” they said.

And they laid

The basic foundations

To connect people

From different Nations.

***

The Global Village to people is dear;

It’s brought them near

And they understand

The world better than ever.

***

Is the world getting better, though,

I wanna know

When we are closed

In the closeness

Of this virtual world?

Are we going farther away

From our families?

From our friends?

From our neighbors?

From our society?

***

How do we balance between the world’s

Real and Virtual?

How do we carry on

Ourselves without

Being enthralled by stuffs

That are not quite real?

Page 1 of 3

Powered by WordPress & Theme by Anders Norén