फिल्डवर्कको थकान
शनिबार, कार्तिक १० बाट सुरु भएको फिल्डवर्क रफ्तारका साथ चल्दै थियो । बुधबार दिउँसो मुग्लिङबाट दक्षिणमा रहेको साठीमुरे गाउँ पुगेका थियौँ अनिल, अनिश, ईश्वर र म । झन्डै चार घण्टा ठाडो उकालो चढ्दै गर्दा ठीक पारी पट्टीको डाँडोमा ठूलो बजार देखिएको थियो । मनकामना बजार हो त ? हामी एकअर्कालाई सोध्दै हिँडेका थियौँ । साठीमुरेका बासिन्दाले त्यो मनकामना बजार नै हो भनेका थिए ।
त्यहाँबाट मनकामना बजार झन्डै उस्तै उचाईमा छ भन्ने लागेको थियो । “भोलि मनकामनातिर पर्यो भने त हिँड्न गाह्रो हुन्छ,” सल्लाह गरेका थियौँ । यसपालि एम. एस्सी. पहिलो सेमेस्टरको फिल्ड आँबुखैरेनी परेको थियो । मनकामनाको “रुट” दुई टोलीलाई पर्ने कुरा थियो ।
थकानले गर्दा हो वा पहिल्यै गएकाले हो या अघिल्लो साल देखेको दुरावस्थाले हो, मनकामना जाने इच्छा खासै थिएन हाम्रो ग्रुपको कसैलाई । इच्छुक ती साथीहरू थिए जो पहिले गएका थिएनन् । अघिल्लो साँझ फेसबुक चलाउँदै गर्दा देखेको एउटा तस्वीरले मन केहीबेर तरङ्गित भने बनाएको थियो । “ओहो, मन्दिरको रूप त बदलिएछ” भन्दै खुसी भएको थिएँ । जाने लालसा भने पलाएको थिएन ।
चिट्ठा
बेलुका गुरुहरूले भोलिपल्टको रुटको जानकारी दिनुभयो । मनकामना पुग्ने दुई टोलीका लागि दुई रुट छुट्याइएको थियो । पहिलो रुट थियो । आँबुखैरेनीबाट मनकामना पुग्ने अनि त्यहाँबाट गोर्खा जिल्लाको आरुबोट, ज्यामिरे हुँदै तीनकिलो झर्ने । अर्को थियो, मनकामना पुगेर कुरिनटार झर्ने । मनकामनासम्म दुई टोली सँगै हुने थिए ।
मनकामना जाने रहर प्रायः सबै ग्रुपले गरेकाले चिट्ठा गर्ने सहमति भयो । अनिलले हाम्रोतर्फबाट चिट्ठा थुत्यो । मनकामनाको पहिलो रुट परेछ । अरू ग्रुपलाई पनि उनीहरूको इच्छा र क्षमता अनुसारको रुट परेछ । “माताको इच्छा होला,” मैले भनेको थिएँ ।
यात्रा

आँबुखैरेनीको मर्स्याङ्दी पुल तरेपछि गोर्खा जिल्ला टेकिन्छ । त्यहाँबाट अरू साथीहरूसँग बिदा भएपछि हाम्रो टोली र निर्जल दाइको टोली दरौँदी तरेर उकालो लाग्यौँ । चट्टान देखिएको सडाक किनारमा काम सुरु भयो । केही डाटा लिएत अघि बढ्यौँ, सरहरूको निर्देशनअनुसार स्थानीयसँग छोटो बाटो सोध्दै ।
छोटो बाटो पनि छोटो कहाँ थियो र ? स्याँस्याँ फ्याँफ्याँ गर्दै उकालो चढ्यौँ । बाटोमा चट्टान धेरै भेटिएनन् । जति भेटिए ती तलका भन्दा खासै फरक थिएनन् । बरू धुलोको रङ्ग हेरेर तलको माटो कस्तो होला भनेर अनुमान गर्यौँ । डाटा लिने परिस्थिति भने थिएन ।
डाँडा चढ्दै गर्दा तल नदीले बनएको कुहिरो हट्दै गयो । सात-आठ सय मिटर माथी पुगेपछि बादल हामीभन्दा तल तैरिएको देखियो । उत्तरमा देखिए, सेता हिमाल । बाटा छेउमा सुन्तलाका बोट । केही दिनअघि बन्दीपुर जाँदा पनि यस्तो दृश्य देखिएको थियो । त्यही पनि “यस्तै ठाउँलाई स्वर्ग भनिँदो हो,” हामी कल्पित भयौँ ।
मनकामना पुग्नै लाग्दा हामीले मोटर बाटो छोड्यौँ अनि सिँडी चढ्यौँ । सुन्तला खाँदै माथि चढ्यौँ । फूलप्रसाद लिएर फेरि चढ्यौँ । सिँढी चढेर माथी पुग्न झन्डै आधा घन्टा लाग्यो ।
मन्दिरको बदलिएको स्वरूप
अगस्ट २, २०१७ तिर गोर्खा मनकामना शीर्षकको यात्रा संस्मरण लेख्दा साह्रै पीडा भएको थियो । त्यसबेला मन्दिरको अवस्था देखेर विचलित भएको थिएँ । भाग्यले भनौँ या माताको प्रभावले, मौका जुर्यो । साथीहरूसँग म पनि मनकामना पुगेँ, ठीक पन्ध्र महिनापछि ।

पहिले जस्ता बेरेर, खट बाँधेर जीर्णाव्स्थामा देखेको “मन्दिर”को ठाउँमा अहिले लोभलाग्दो संरचना छ । ईँटको भित्तामाथि सुनको छाना छन् । अनि दोस्रो तलाको छानामाथि सुनकै गजुर । दिउँसो घाममा मन्दिर झन् टल्केको छ । मन्दिरको संरचना पुरानो छ तर सामग्री सबै नयाँ । पुरानै प्रकारका सामग्री राखेको भए पुरानै जस्तो देखिन्थ्यो भन्ने बिचार पछि मनमा आउँछ । त्यहाँ भने म निस्तब्ध हुन्छु; मन्दिरको सुन्दरताले मोहित ।

मनकामनाको नयाँ मन्दिर
नयाँ संरचनाभित्र देवीको स्थापना भइसकेको छैन । गोर्खा भुकम्प (२०७२) पछि बनाइएको अस्थायी मन्दिरमा नै क्षमापूजा गरेर देवी बसाइएको छ । शनिबार (कार्तिक १७) मा घर आएपछि मामूबाबा भन्नुहुन्छ, “यही दशैँमा स्थापना गर्ने कुरा थियो त ।”
“जुरेन होला,” म भन्छु । मैले देखेको दृश्यका आधारमा निस्किएको निष्कर्ष त्यही हो ।

***
अघिल्लो साल मनकामना मन्दिरको दुरावस्था देखेर विचलित भएको मैले मन्दिरको पुनर्निर्माण छिट्टै होस् भनेर कामना गरेको थिएँ । उहाँको शक्तिमाथि प्रश्न र गुनासो पनि पोखेको थिएँ । यसपालि माताको बोलावट भयो । सायद उहाँले मलाई आफ्नो सामर्थ्य देखाउन बोलाउनु भयो । अनि यो लेख लेखाउन पनि नत्र त्यति धेरै उत्सुक साथीहरूको बीचबाट मेरो ग्रुप किन छानियो ?
मनकामना माताको नयाँ मन्दिर हेरिरहने मन थियो तर समयको पावन्दी पनि थियो । तीनकिलोसम्म पुग्न कति हिँड्नुपर्ने हो ? थाहा थिएन । तैपनि दुई ग्रुपका अनगिन्ती फोटो खिचेर हामी आआफ्नो रुटतर्फ लाग्यौँ
