Manakamana Temple after the reconstruction

पन्ध्र महिनापछि फेरि मनकामना पुग्दा

फिल्डवर्कको थकान

शनिबार, कार्तिक १० बाट सुरु भएको फिल्डवर्क रफ्तारका साथ चल्दै थियो । बुधबार दिउँसो मुग्लिङबाट दक्षिणमा रहेको साठीमुरे गाउँ पुगेका थियौँ अनिल, अनिश, ईश्वर र म । झन्डै चार घण्टा ठाडो उकालो चढ्दै गर्दा ठीक पारी पट्टीको डाँडोमा ठूलो बजार देखिएको थियो । मनकामना बजार हो त ? हामी एकअर्कालाई सोध्दै हिँडेका थियौँ । साठीमुरेका बासिन्दाले त्यो मनकामना बजार नै हो भनेका थिए ।

त्यहाँबाट मनकामना बजार झन्डै उस्तै उचाईमा छ भन्ने लागेको थियो । “भोलि मनकामनातिर पर्‍यो भने त हिँड्न गाह्रो हुन्छ,” सल्लाह गरेका थियौँ । यसपालि एम. एस्सी. पहिलो सेमेस्टरको फिल्ड आँबुखैरेनी परेको थियो । मनकामनाको “रुट” दुई टोलीलाई पर्ने कुरा थियो ।

थकानले गर्दा हो वा पहिल्यै गएकाले हो या अघिल्लो साल देखेको दुरावस्थाले हो, मनकामना जाने इच्छा खासै थिएन हाम्रो ग्रुपको कसैलाई । इच्छुक ती साथीहरू थिए जो पहिले गएका थिएनन् । अघिल्लो साँझ फेसबुक चलाउँदै गर्दा देखेको एउटा तस्वीरले मन केहीबेर तरङ्गित भने बनाएको थियो । “ओहो, मन्दिरको रूप त बदलिएछ” भन्दै खुसी भएको थिएँ । जाने लालसा भने पलाएको थिएन ।

चिट्ठा

बेलुका गुरुहरूले भोलिपल्टको रुटको जानकारी दिनुभयो । मनकामना पुग्ने दुई टोलीका लागि दुई रुट छुट्याइएको थियो । पहिलो रुट थियो । आँबुखैरेनीबाट मनकामना पुग्ने अनि त्यहाँबाट गोर्खा जिल्लाको आरुबोट, ज्यामिरे हुँदै तीनकिलो झर्ने । अर्को थियो, मनकामना पुगेर कुरिनटार झर्ने । मनकामनासम्म दुई टोली सँगै हुने थिए ।

मनकामना जाने रहर प्रायः सबै ग्रुपले गरेकाले चिट्ठा गर्ने सहमति भयो । अनिलले हाम्रोतर्फबाट चिट्ठा थुत्यो । मनकामनाको पहिलो रुट परेछ । अरू ग्रुपलाई पनि उनीहरूको इच्छा र क्षमता अनुसारको रुट परेछ । “माताको इच्छा होला,” मैले भनेको थिएँ ।

यात्रा

मर्स्याङ्दी पुल सेल्फी / निर्जल पोखरेलको फेसबुकबाट / बायाँबाट दायाँ: पहिलो हार – अनिल,एन्जिला, अनिश, अशोक – दोस्रो हार – निर्जल, दीपक,अस्मी, म, ईश्वर, सुजाता -पर- सुमन

आँबुखैरेनीको मर्स्याङ्दी पुल तरेपछि गोर्खा जिल्ला टेकिन्छ । त्यहाँबाट अरू साथीहरूसँग बिदा भएपछि हाम्रो टोली र निर्जल दाइको टोली दरौँदी तरेर उकालो लाग्यौँ । चट्टान देखिएको सडाक किनारमा काम सुरु भयो । केही डाटा लिएत अघि बढ्यौँ, सरहरूको निर्देशनअनुसार स्थानीयसँग छोटो बाटो सोध्दै ।

छोटो बाटो पनि छोटो कहाँ थियो र ? स्याँस्याँ फ्याँफ्याँ गर्दै उकालो चढ्यौँ । बाटोमा चट्टान धेरै भेटिएनन् । जति भेटिए ती तलका भन्दा खासै फरक थिएनन् । बरू धुलोको रङ्ग हेरेर तलको माटो कस्तो होला भनेर अनुमान गर्‍यौँ । डाटा लिने परिस्थिति भने थिएन ।

डाँडा चढ्दै गर्दा तल नदीले बनएको कुहिरो हट्दै गयो । सात-आठ सय मिटर माथी पुगेपछि बादल हामीभन्दा तल तैरिएको देखियो । उत्तरमा देखिए, सेता हिमाल । बाटा छेउमा सुन्तलाका बोट । केही दिनअघि बन्दीपुर जाँदा पनि यस्तो दृश्य देखिएको थियो । त्यही पनि “यस्तै ठाउँलाई स्वर्ग भनिँदो हो,” हामी कल्पित भयौँ ।

मनकामना पुग्नै लाग्दा हामीले मोटर बाटो छोड्यौँ अनि सिँडी चढ्यौँ । सुन्तला खाँदै माथि चढ्यौँ । फूलप्रसाद लिएर फेरि चढ्यौँ । सिँढी चढेर माथी पुग्न झन्डै आधा घन्टा लाग्यो ।

मन्दिरको बदलिएको स्वरूप

अगस्ट २, २०१७ तिर गोर्खा मनकामना शीर्षकको यात्रा संस्मरण लेख्दा साह्रै पीडा भएको थियो । त्यसबेला मन्दिरको अवस्था देखेर विचलित भएको थिएँ । भाग्यले भनौँ या माताको प्रभावले, मौका जुर्‍यो । साथीहरूसँग म पनि मनकामना पुगेँ, ठीक पन्ध्र महिनापछि ।

पन्ध्र महिना पहिले

पहिले जस्ता बेरेर, खट बाँधेर जीर्णाव्स्थामा देखेको “मन्दिर”को ठाउँमा अहिले लोभलाग्दो संरचना छ । ईँटको भित्तामाथि सुनको छाना छन् । अनि दोस्रो तलाको छानामाथि सुनकै गजुर । दिउँसो घाममा मन्दिर झन् टल्केको छ । मन्दिरको संरचना पुरानो छ तर सामग्री सबै नयाँ । पुरानै प्रकारका सामग्री राखेको भए पुरानै जस्तो देखिन्थ्यो भन्ने बिचार पछि मनमा आउँछ । त्यहाँ भने म निस्तब्ध हुन्छु; मन्दिरको सुन्दरताले मोहित ।

IMG_1841

मनकामनाको नयाँ मन्दिर

नयाँ संरचनाभित्र देवीको स्थापना भइसकेको छैन । गोर्खा भुकम्प (२०७२) पछि बनाइएको अस्थायी मन्दिरमा नै क्षमापूजा गरेर देवी बसाइएको छ । शनिबार (कार्तिक १७) मा घर आएपछि मामूबाबा भन्नुहुन्छ, “यही दशैँमा स्थापना गर्ने कुरा थियो त ।”

“जुरेन होला,” म भन्छु । मैले देखेको दृश्यका आधारमा निस्किएको निष्कर्ष त्यही हो ।

IMG_1843
भूकम्प यता पूजाका लागि बनाइएको सानो मन्दिर / भुइँमा टाइल छाप्ने काम भइरहेको छ

***
अघिल्लो साल मनकामना मन्दिरको दुरावस्था देखेर विचलित भएको मैले मन्दिरको पुनर्निर्माण छिट्टै होस् भनेर कामना गरेको थिएँ । उहाँको शक्तिमाथि प्रश्न र गुनासो पनि पोखेको थिएँ । यसपालि माताको बोलावट भयो । सायद उहाँले मलाई आफ्नो सामर्थ्य देखाउन बोलाउनु भयो । अनि यो लेख लेखाउन पनि नत्र त्यति धेरै उत्सुक साथीहरूको बीचबाट मेरो ग्रुप किन छानियो ?

मनकामना माताको नयाँ मन्दिर हेरिरहने मन थियो तर समयको पावन्दी पनि थियो । तीनकिलोसम्म पुग्न कति हिँड्नुपर्ने हो ? थाहा थिएन । तैपनि दुई ग्रुपका अनगिन्ती फोटो खिचेर हामी आआफ्नो रुटतर्फ लाग्यौँ

45282636_1884530991631097_4034300817363173376_n
धेरै मध्येको एक ग्रुप फोटो / बायाँबाट दायाँ: ईश्वर, निर्जल, म, एन्जिला, सुजाता, सुमन, अनिश, अनिल / निर्जल पोखरेलको फेसबुकबाट

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Previous

Battle Royale: Themes in Movies and Books

Next

Fifteen Months Later at Manakamana

1 Comment

  1. आहा! कति रमाइलो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered by WordPress & Theme by Anders Norén