२०७२ साल बैशाख १२ गतेको भुकम्पमा धेरै धनजनको क्षति भए पनि काठमाडौंवासीलाई त्यस दिन एउटा कुराले पनि अलि बढी पीडा दिएको थियो- धरहरा भत्किएको खबरले । त्यसैले त नेपाल सरकारको कार्यपालिकाले भुकम्पले क्षति पुर्याएका संरचना पुन:निर्माणको पहिलाे नम्बरमा धरहरा पर्न पुग्यो । यसलाई साैभाग्य भन्नु कि दुर्भाग्य ? यस प्रश्नकाे बारेमा अन्त्यमा चर्चा गर्ने छु । त्याे भन्दा पहिले केही गहन सवालहरू जसका जवाफ हामीलाई सरकारले बताएकाे छैन-

प्रश्न नं १. धरहराको पुनःनिर्माण नै सबैभन्दा पहिला किन ? धरहरा नजिकैको बसन्तपुर दरबार क्षेत्र, पाटन र भक्तपुरकाे दरबार स्क्वायर र चाँगु नारायण मन्दिर युनेस्को (UNESCO) को विश्व सम्पदा सूचिमा पर्छन् । समयमा फेरि नबने सूचिबाट हटाइन सक्छन् । तिनलाई पाखा लगाएर अन्तर्राष्ट्रिय महत्व कम भएको धरहरा किन सबैभन्दा अगाडि बनाइँदैछ ?

प्रश्न नं २. नेपाली जनताले धरहरा बनाउन किन अार्थिक सहयाेग गर्ने ? काठमाडाैं महानगरपालिका र साइड वर्कर्स नाम गरेको कम्पनीकाे सम्झाैता अनुसार सर्वसाधारणले एक पैसा पनि खर्च गर्नुपर्दैन । धरहराको पुन:निर्माण साेही कम्पनीले गर्नुपर्ने हाे । जनतासँग पैसा उठाएर साइड वर्कर्सलाई किन पाल्न खाेजिँदैछ ? करिब २० लाख रूपैयाँ उठिसक्याे रे । सदुपयाेग हाेला ? शंकै छ ।

प्रश्न नं. ३. भुकम्पले पीडित जनताभन्दा धरहरा कसरी महत्वपूर्ण भयाे ? धरहरा फेरि नबनाेस् भनेर सायद कमैले साेचे हाेलान् । म तिनमा पर्छु जाे धरहराको ठाउँमा स्मारक बनाेस् भन्ने चाहन्छन् । म त अझ भन्छु- धरहराको अवशेषलाई संरक्षण गरियाेस् । नजिकै एउटा ग्यालरीमा धरहराका पुराना फाेटा राखिउन् । त्याे ग्यालरीले सन्देश दिओस्- हामी प्रकृतिलाई जित्न सक्दैनाैं तर प्रकृति सुहाउँदाे परिवर्तन गर्न सक्छाैं ।
मेराे परिकल्पना साकार नहाेला, धरहरा नै बन्ला तर जुन देशका जनता कठ्याङ्ग्रिदाे जाडाेमा भाेकै नाङ्गै मरिरहेका छन्, त्यस्ताे देशमा धरहराजस्ता संरचनाको कुनै अर्थ छ र ? के त्यस्ता संरचनाले ती आहत जनतालाई मलम लगाउन सक्छ ? सक्दैन भने अहिले धरहरा बनाइहाल्नु पर्ने केका लागि ?

माथिका प्रश्नहरू बाँकी रहुन्जेल धरहरा फेरि बन्नु सायद हाम्राे लागि अभिशाप नै हुनेछ । सभ्यता र संस्कार खाेक्रा अाडम्बर हुनेछन् । हामी इतिहासमा मानवीय संवेदना नभएका मानिसका रूपमा चिनिने छाैँ । हाम्राे संस्कृतिको धरहरा भत्किने छ, जति नै अग्लाे संरचना बने पनि ।

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.