हिजो साँझ कुमार नगरकोटी को नयाँ किताब आउनेबारे थाहा पाएँ । ७७७ पेजको, हार्डकभर ज्याकेट, झोला, बुकमार्क सहित मूल्य रू. २०२१ अरे । अनौठो चैं किताब एकपटक मात्रै छापिने रे । त्यसैले प्रि-अर्डर गर्नुपर्ने । जति कपि माग हुन्छ, त्यति नै छापिने रे । मार्केटिङ स्किम राम्रै होला किनकी चर्चा त निकै नै छ (सकारात्मक पनि नकारात्मक पनि) । फेसबुकमा यस सम्बन्धी सूचना देख्नेबित्तिकै “ओहो ! मूल्य धेरै भएन र? किन्नै नसकिने पो रैछ !” हीनभाव मनमा आयो । धेरैले यस्तै कुरा लेखेको पनि भेटेँ । केहीले आफैँ किन्ने, कसैले ग्रुपमा किनौँ भनेको पनि भेटेँ ।

बिहानसम्ममा मूल्यको विषयमा थुप्रै वादविवाद भइसकेछन् । अलि कम मूल्य भएको भए किन्थें भन्नेहरू देखिए । स्किम चित्त नबुझेर जोक बन्नु/गुनासो हुनु स्वाभाविक नै हो । यसैबीच यस्ता गुनासाका बारेमा अर्का लेखक गनेस पौडेलको को एउटा पोस्ट देखापर्यो फेसबुकमा । उनको ७ बुँदे पोस्टले नेपाली साहित्यमा रहेका केही समस्या उजागर गरेको छ ।

यो फोटोको ठाउँमा लिंक नै इम्बेड गरेको थिएँ । लेख्दा लेख्दै ढिलो भो, अकाउन्ट डिएकटिभेट गर्नुभएछ* ! धन्न स्क्रीनसट थियो !!

१. बुँदा नम्बर १ मा पौडेल लेख्छन्

“एउटा कथित पूर्णकालीन लेखकले औसत ३ वर्षमा यौटा किताब लेख्छ ।”

कुनै पनि सिर्जनामा सर्जकको कति मिहिनेत र खर्च परेको हुन्छ भन्ने लेखाजोखा गर्न असम्भव नै हुन्छ । पूर्णकालिन लेखकका लागि त लेख्नु सौख मात्र होइन, माम खाने दाम पाउने काम हो । परिश्रमको उचित पारिश्रमिक पाउनु श्रमिक अधिकार पनि हो । तर लेखकहरूले उचित लेखकस्व पाएका छैनन् भनेर उनी स्वीकार्छन् :

“सम्झौता पत्रमा बढीमा २० प्रतिशत रोयल्टी दिने प्रचलन छ । तर त्यो प्रतिशत देखाउने कागज मात्रै हो । बेस्ट सेलरै भनिएका किताबवापत पनि नेपाली लेखकले औसतमा २ लाख बुझ्छन् ।”

केही दिनअघि साहित्य सम्बन्धि छलफल हुने एउटा फेसबुक ग्रुपमा लेखकले कति रोयल्टी पाउँछन् भन्ने प्रश्न उठेको थियो । त्यतिबेला सालाखाला यति पाउँछन् भन्ने पनि कोही भेटिएनन् । जे होस्, आज जवाफ भेटियो ।
तर पौडेलले सातौं बुदामा रोयल्टी सम्बन्धि कुरा आफ्नो अनुभव हैन भनेका छन् । प्रकाशकहरूले खुल्लमखुल्ला यी कुरा नभन्ने भएकाले उनी आफैंले नभोगी वा आफ्नो नजिकका अरू लेखकले नभनी थाहा पाउन असम्भव छ ।
प्रश्न उब्जिन्छन्:
क) आफ्ना किताब कति बिक्री भए र कति आम्दानी गर्दैछ, त्यसबाट आफूले कति पाउँदैछु भन्ने कुरा थाहा पाउनु लेखकको अधिकार हैन र ? एकएक हिसाब हुनुपर्ने हैन ? ‘विश्वास’को आधारमा बजार कसरी चल्छ ?
ख) अनेकौं कुराहरूको गर्न सक्ने लेखकहरूले सम्झौता अनुसार रोयल्टी नदिने फटाहा प्रकाशकको भण्डाफोर गर्नुपर्ने हैन ? कानूनी उपचारमा ल्याउनुपर्ने होइन ?
ग) पूर्णकालिन लेखकले पनि उचित लेखस्व पाउँदैनन् भने तिनै कथित पूर्णकालिन लेखक र प्रकाशक रोयल्टीबाट बाँच्न सकिन्छ किन भनिरहन्छन् ?
घ) नयाँ साहित्यकारलाई भ्रममा फस्न नदिन स्थापित लेखक र प्रकाशकले सहयोग गरेका छन् त ?


२. दोस्रो बुँदामा रिसाउँदै भन्छन् :

दुई लाखले के यौटा पूर्णकालीन लेखकको ३ बर्ष कट्छ ? कथित सेलिब्रिटी बनाइएको लेखकले दालभात खानु पर्दैन ? रोग लागेपछि राज्य वा चन्दादाता गुहार्नु के लेखकको नियति हो ?

लेखकलाई काम बापत माम खान पुग्ने दाम दिने (र बाँच्न सजिलो बनाउने) जिम्मा प्रकाशकको हो, पाठकको होइन । किनकी उनकै अनुसार पाठकले एउटा किताबमा २००० नै खर्चिए पनि “कथित पूर्णकालिन लेखक”ले बढीमा पाउने ४०० रूपैयाँ हो । ५००० प्रति विक्दा लेखकको हातमा २० लाख हात पर्ने रहेछ । तर यहाँ प्रश्न उठ्छन्:
क) ५००० प्रति बिक्छन् ?
ख) ५००० मात्र होइन, ५०००० प्रती बिकून्, हार्दिक शुभकामना तर एकाध साहित्यकारको ब्राण्ड भ्यालु बढ्दैमा साहित्यको ब्राण्ड भ्यालु बढेको हुन्छ र ? अरू साहित्यकारले पनि सजिलोसँग बाँच्न पाउँछन् ?
ग) प्रकाशकले साहित्यको कन्टेन्ट भन्दा एकाध जनराका साहित्यकारलाई मात्रै पो प्रश्रय दिन्छन् कि ?
घ) नयाँ साहित्यकारलाई प्रकाशकले यसैगरी चर्चामा ल्याउन सक्छन् ? कतै स्थापितलाई मात्रै त महत्त्व दिँदैनन् ?


३. तेस्रो बुँदामा पौडेल लेख्छन् :

मलाई लाग्छ, कुमार नगरकोटीको यो किताब एउटा सिर्जनात्मक मात्रै होइन आर्थिक प्रयोग पनि हो । यस्तो प्रयोगका लागि एउटा उत्कृष्ट किताब चाहिन्छ जुन कल्प–ग्रन्थ छ ।

नगरकोटीको फ्यान फलोइङ देखेर चकित भएको छु । रचना राम्रो पनि होला । तर,
क) लेखक, प्रकाशक र लेखकका मित्रगणले राम्रो छ भन्दैमा उत्कृष्ट हुने ग्यारेन्टी हुन्छ र ?
ख) फ्यानहरूले मात्रै पढ्ने भए पछि उचित समालोचना कसरी होला ? उचित समालोचना बिना लेखकको सिर्जनात्मक ग्रोथ कसरी होला ?
ग) लेखक र प्रकाशकले “खतरा प्रयोग गरेको छु” भन्नु भन्दा पाठकले प्रयोग बुझ्नु र त्यसलाई मन पराउनु राम्रो होला नि, हैन र ?


४. चौथो बुँदामा भन्छन्,

“सबै किताब सबैका लागि हुँदैनन्”  र पाँचौँ बुँदामा थप्छन्, “यो एउटा दर्शन हो ” ।

सबै किताब सबैका लागि हुँदैन । मान्छु । जस्तो कि यो किताब मेरो लागि होइन । न बजेटका हिसाबले न कन्टेन्टका हिसाबले । यो किताब धेरै साहित्यझैँ मेरो आधारभूत आवश्यकता पनि होइन । तर यो दर्शन हो भने सर्वसुलभ हुनुपर्छ । जहाँ, जहिले, जसले पनि दर्शन बुझ्न सक्छ । दर्शनले कुनै विभेद गर्न सक्दैन । विभेद गर्ने दर्शन त दर्शन नै रहँदैन ।

त्यसै गरी  पढ्न चाहनेले पढ्न पाउनुपर्छ भन्ने मान्यताले नै पुस्तकको महत्त्व बढेको हो । सबै किताब सबैको लागि नभए पनि सबैको बनाउने प्रयास गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

किन्नेले किनिहाल्छ भन्ने सोच पनि एकदम खतरनाक हो । यसले वर्गीय विभेदलाई बढावा दिन्छ । अस्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्छ । गुणस्तरमा समेत असर पार्न सक्छ । फेरि बजारले निर्धारण गरेको मूल्य मात्रै किताबको मूल्य होइन । जीवनलाई निर्देश गर्ने किताबको बजार मूल्य नभए पनि त्यो अमूल्य हुन्छ । जति धेरै पाठकको दिलदिमागमा बस्न सक्यो, किताबको मूल्य बढ्दै जान्छ, हैन र ?


५. छैठौं बुँदामा…

ग्रुपमा किन्दा हुन्छ भनेपछि त असमञ्जसमा पो परेँ । ग्रुप बनाउन सजिलो नहोला । बन्यो भने पनि साना गोजी भएका पाठकको गोजी जोड्दा पाठकको समस्या त हल होला तर के लेखकको गोजी भरिएला ? १० जनाले २००० रूपैयाँ दरको १ प्रति किताब किन्नु र १० जनाले ३०० रूपैयाँ दरको १० प्रति किताब किन्नुमा कुनमा बढी आर्थिक फाइदा लेखकलाई होला ? लेखकलाई लेखेर खान पुग्दैन भनेर सुरु भएको बहस आखिरमा त्यहीँ पो पुग्यो त ।


“कन्टेन्ट इज् द किङ” साहित्य र चलचित्रमा अक्सर भनिन्छ । कन्टेन्ट राम्रो भएन भने ब्राण्ड र कमाइ मात्रैले केही हुँदैन । उदाहरण हो केही महिनाअघि रिलिज भएको डिज्नीको चलचित्र “मुलान” । साहित्यमा पनि स्थापित लेखक (ब्राण्ड) को पछाडी दौडनु एउटा उपभोक्ता (पाठक) का लागि रिस्क हुनसक्छ । किताब पनि एउटा उपभोग्य वस्तु भएकाले अरू सामान किन्दाझैं किन किन्ने, ‘मलाई काम लाग्छ कि लाग्दैन ? मूल्य बढी पो भयो कि ?’ भन्ने प्रश्नहरू गर्ने अधिकार उपभोक्तालाई हुन्छ । नगरकोटीको ब्राण्ड पछि फाल हान्नेले ब्राण्ड भ्यालु बुझेका होलान् तर यो अन्धाधुन्ध उपभोगको भीडबाट अलग रहन चाहेँ ।

नगरकोटीलाई यो स्किमले कति फाइदा गर्ला ? नेपाली साहित्यमा आउँदा दिनमा कस्ता “प्रयोग” होलान् ? नयाँ साहित्यकारलाई कसरी फाइदा होला ? बढी मूल्य राख्दैमा लेखक मोटाउँछन् भन्ने तर्क कति ठीक हो ? आदि इत्यादि प्रश्नको जवाफ छिटै पाइने नै छ !

*पुच्छ्रे टिपोट: सुरुमा “ब्लक खाएँ” लेखेकामा फेसबुकमा पछि त्यसो होइन भन्ने कमेन्ट आएपछि सच्याइएको । “कुतर्क गर्नेलाई ब्लक गर्छु” भन्नुभएको थियो । “बाघ कराउनु, बाख्रा हराउनु” भनेझैं भएछ । क्षमाप्रार्थी छु ।

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.