Experiences of a common man!

Tag: साहित्य

साहित्य सर्जकको साङ्केतिक चित्र A symbolic image of a writer creating literature

सोचबाट साहित्य उमार्ने सर्जकहरूको नाममा

सोचको वीजारोपण

चलचित्र “इन्सेप्सन” ‘आइडिया’ अर्थात् सोचको वीजारोपणको कथा हो । यसमा एउटा समूह आफ्नो ‘टार्गेट’को सपनामा गएर उसको दिमागमा कुनै सोच राखिदिन्छन्, जुन ‘भाइरस’ सरी फैलिन्छ । रमाइलो कुरा के भने त्यो मानिसलाई त्यो सोच आफैँ आएजस्तो लाग्छ । ऊ ठान्छ, त्यस्तो सोच ऊ आफूले बाहेक अरूले सोच्न सक्दैन ।

हाम्रो सोचहरू पनि आफैँ आउँदैनन् । अधिकांश मानिसलाई व्यक्तिगत संघर्ष, समाज, देखे, सुनेका अनि पढेका कथा र स्वैरकल्पनाले किसिसकिसिमका सोचको विजारोपण गरिदिन्छन् । जस्तो कि एउटा समाचारबाट प्रेरित भएर मैले आई एम द डेभिल लेखेको थिएँ भने ह्वाट्स द पोइन्टको परिदृश्य र क्लाइमेक्स सपनामा देखेको थिएँ । यसरी आउने सोचहरूले सर्जकहरूको मस्तिष्कमा चैँ ती सोच यसरी बढ्छन् कि त्यसको बारेमा केही नलेखेसम्म नबनाएसम्म छटपटी भइरहन्छ । तर जति नै छटपटी भए पनि धेरै सोचहरू अक्षरमा परिवर्तन हुँदैनन् । धेरै लेख्ने साहित्यकारहरू पनि मनमा आएका सबै कुरा लेख्दैनन् ।

किन बन्दैनन् सबै सोचहरू साहित्य ? केले छेक्छ?

मानिस आफैँ र उसको समाज पनि साहित्य सिर्जनामा बाधक हुन सक्छन् । अधिकांशले लेख्ने समय छुट्याउन सक्दैनन् । विभिन्न काममा अल्मलिँदा नलेखिएको सोच आफैँ हराएर जान्छ । लेख्न पनि मन लाग्न छोड्छ । कतिपय लेख्न अल्छी गर्छन् । समाज पनि एकदम छिटो परिवर्तित भइरहेको छ । आजका सामाजिक मान्यता भोलि गलत हुन सक्छन् । यसरी कतिपय सोचहरू असान्दर्भिक भइदिन्छन् अनि दृष्टिकोणमा आएको परिवर्तनका कारण पुरानो सोचका बारेमा प्राय: लेख्दैनन् ।

राइटर्स ब्लक

साहित्य सिर्जनाको सबैभन्दा गाह्रो काम “लेख्न थाल्नु हो” । लेखकहरूलाई, अझ ठूला आकारका साहित्य सिर्जना गर्ने साहित्यकारहरूलाई एकदमै सताउने एउटा समस्या हो ‘राइटर्स ब्लक’ । त्यस्तो अवस्था हो, जब मनमा लेख्ने हुटहुटी भइरहँदा पनि लेखकहरू केही लेख्न सक्दैन् । लेख्न थाल्दा वा बीचमा, कुनै पनि बेला यो समस्या आउन सक्छ । “पाठशाला”का सर्जक तीर्थ गुरुङले हालै यो समस्या आएको ट्विट गर्नुभएको थियो । जर्ज आर. आर. मार्टिन, जसको पुस्तकहरूको आधारमा सफल सिरिज बन्यो, अन्तिम पुस्तकहरू लेख्न संघर्ष गरिरहनुभएको छ । ‘राइटर्स ब्लक’ केही कारणहरू छन् :

१. सोचेजस्तो लेख्न सकिनँ/सक्दिनँ कि भन्ने डर । (पर्फेक्सनको चाहना ।)

२. पूरै लेख्न सक्दिनँ कि भन्ने शंका ।

३. नयाँ साधकलाई ‘रिजेक्सन’को डर । स्थापित साधकमाथि प्रशंसकको अपेक्षा ।                

३. खुलेर नबोलेका कुराहरूलाई लेखनमा ढाल्न खोज्न उत्पन्न संवेदना ।

४. लेखकको आर्थिक-सामाजिक-मानसिक अवस्था ।

‘राइटर्स ब्लक’ हटाउने उपायहरू

स्टेफेन किंगसँगको एउटा संवादका क्रममा ‘पर्फेर्क्सनिस्ट’ भनेर चिनिइनुहुने जर्ज आर. आर. मार्टिन सोध्नुहुन्छ, “तपाईं छोटो समयमा यति धेरै कसरी लेख्नुहुन्छ ?” किंगको साधारण तर महत्त्वपूर्ण जवाफ आउँछ, “म सधैँ दिनको छ पाना लेख्छु ।”

किंगको एउटा नियम रहेछ, हरेक दिन कम्तीमा छ पाना (२००० शब्द )लेख्ने । त्यसलाई राम्रो नराम्रोको कसीमा नराख्ने । कुनै उपन्यासको पहिलो ‘ड्राफ्ट’ तयार भएपछि डेढ महिना त्यसलाई थन्काउने । कतै घुम्न जाने या अरू नै केही लेख्ने । अनि डेढ महिनाअघिको सिर्जनालाई परिमार्जन गर्ने । किंगको नियमले ‘राइटर्स ब्लक’ हटाउने उपायहरू दिन्छन् :

१. नियमित लेख्ने ।

२. जस्तो भए पनि सोचलाई कागजमा उतार्ने ।

३. लेखिसकेको चीजलाई पछि सम्पादन/परिमार्जन गर्ने ।

“केही लेखेकै छैन भने केही परिमार्जन गर्न सकिन्न” भनिन्छ । यो काम त्यति सजिलो भने छैन । जापानी ‘एनिमेटेड’ चलचित्र “विस्पर अफ द हार्ट”मा साहित्यकार बन्ने सपना देख्ने शिजुकुलाई हजुरबुबा निशीले एउटा ढुंगा दिन्छ । त्यो ढुंगा भित्र एमराल्ड (हरियो रङ्गको महँगो मणि) च्यापिएको छ । शिजुकुको पहिलो ‘ड्राफ्ट’ पढिसकेपछि निशीले भन्छ, “तिमीले मिहिनेतसँग यो कथा लेखेर यस्तै पत्थर उत्खनन् गर्यौ । यसलाई ‘पोलिस’ गरेर बहुमुल्य मणि निकाल्न तिमीले अझै धेरै मिहिनेत गर्नुपर्छ ।”

नयाँ कि नक्कल ?

व्यावसायिक रूपमा कुनै पनि साहित्यिक कृति प्रकाशन गर्न सजिलो छैन । सम्पादकहरूले हिज्जे शुद्धिकरणदेखि कथानकको बनावटसम्मका विषयमा टिप्पणी गर्छन् । अनेकौं पटक पुनर्लेखन गर्छन् लेखकहरू । बुद्धिसागरको “कर्नाली ब्लुज”का ड्राफ्टहरूको अग्लो चांग धेरै अघि उहाँको फेसबुक पेजमा देखेको थिएँ । ग्याब्रियल गार्सिया मार्खेजको “वन हन्ड्रेड इयर्स अफ सोलिट्युड”को पहिलो ‘ड्राफ्ट’ एकदमै फरक थियो रे । यसरी परिस्कृत भएर आएका उत्कृष्ट किताबहरू पढ्दा नयाँ साहित्यकारहरूलाई उत्प्रेरणा मिल्छ । तर कतिपयलाई भने लेख्न झनै गाह्रो पनि बनाइदिन्छ । किनभने:

१. सोच नयाँ रहेनछ ।

२. स्वाद जति छिटो विकसित हुन्छ, कला त्यति छिटो हुँदैन ।

भनिन्छ, संसारमा ‘ओरिजिनल’ केही पनि छैन । तथापि नयाँ सोचहरू आउँदै नआउने चाहीँ होइन । नयाँ गर्न सकिएन भने उपाय छ—नक्कल गर्नु । यसमा साधकले सावधान हुन भने निकै जरुरी छ । कला/साहित्यमा नक्कलको एउटा मूलमन्त्र हो : “एकजनाको नक्कल गर्नु चोरी हो, सयजनाको नक्कल गर्नु चाहिँ कला ।” अर्को : “नक्कल यति राम्ररी गर्नु कि नक्कल गरेको थाहै नहोस् ।”

साहित्यकारको बाटो

“विस्पर अफ द हार्ट”मै शिजुकुले लेखक बन्छु भन्दा उसको पिताले भन्छन्, “तिमीले कमैले लिने फरक बाटो रोज्यौ । यसको जिम्मेवारी तिमी आफैँले लिनुपर्छ ।” प्राय: साहित्यकारहरूको जीवन सरल हुँदैन, आफ्नै मनमा हुने अन्तरद्वन्द्व, पारिवारिक बेमेल, फरक सोच भएका कारण समाजले गर्ने अपेक्षा र द्वन्द्व, आर्थिक समस्या आदिले गर्दा । धेरैजसो साहित्यकारका एकदमै थोरै मित्र हुन्छन् । कतिपय उत्कृष्ट लेखकहरू डिप्रेसनको शिकार भएका उदाहरण छन् । नेपाली हास्यव्यंग्य साहित्यका सम्राट भैरव अर्यालका आत्महत्या वरिपरिका घटनाक्रमले मर्माहत बनाउँछ । त्यस्तै, जापानी छोटा कथाका पिता आकुतागावाका मानसिक छटपटीका कथाहरू एकदमै पीडादायी छन् ।

अन्तरद्वन्द्व, आत्मसंदेह अनि विभिन्न संघर्ष पछि साहित्य साधकले आफ्नो सोच पाठकसामू पस्किन्छन् । कमै मात्रै साहित्यकारले आर्थिक रूपमा सफलता पाउँछन् । कतिपय सोच र सोचको प्रस्तुति पाठक/स्रोतालाई चित्त बुझ्दैन । कहिलेकाहिँ त पाठकले साहित्यकारको सोचसम्म पुग्नै सक्दैनन् । कतिपय पाठकले आफ्नो रुचि र विचार अनुसारको साहित्यकारले रचोस् भन्ने पनि चाहन्छन् । कुनैकुनै पुस्तक त पाठकले नै च्यात्छन्, जलाउँछन् । यस्तो देख्दा, सुन्दा चाहिँ मन चसक्क दुख्छ । त्यसो त लेखिएका सबै कुरा राम्रा हुन्छन् भन्ने छैन । ‘प्रोपगान्डा’ र द्वेष फैलाउने उद्देश्य राखेर पनि पुस्तकहरू लेखिन्छन् । यस्ता पुस्तकहरूको भण्डाफोर गर्न पनि ती पुस्तक पढ्नु पर्ने हुन्छ ।

सफलता, असफलतालाई खासै महत्त्व नदिएर, अनेकौं दु:ख पार गरेर आफ्नो सोचको सूर्यबाट विश्वलाई प्रकाशित गर्न सक्ने सम्पूर्ण साहित्य सर्जकमा नमन ।

(नोटः यस लेखको मूल रूप पहिलो पटक साहित्यपोस्टमा २०२० जुन १७ मा प्रकाशित भएको थियो । लेखको अङ्ग्रेजी संस्करण यहाँ पढ्न सकिन्छ ।)

कलाकारको सम्मान र सम्पदा संरक्षणमा उदासीनता

एकाबिहानै एउटा समाचारमा आँखा पर्‍यो । मनमा चस्स बिझायो । स्वर सम्राट नारायण गोपालको घर सङ्कटमा रहेछ । समाचारमा लेखिएको रहेछ–देवकोटाको घर पुनःनिर्माण हुन लागे पनि स्वर सम्राट नारायण गोपालको घर वेवास्तामा परेको छ । देवकोटाको घर पनि संरक्षण गरिएको चैं हैन । पूरै भत्काएर गरिएको पुनःनिर्माण हो । नयाँ बनाइएको घरमा पुरानो जत्तिको महत्व नहोला । वास्तवमा, हामीले सम्मान गर्दै आएका साहित्यकार र कलाकारका अमूल्य सम्पत्तिको रक्षा हामीले गर्नै सकेका छैनौँ ।

हामी साहित्य र कलालाई सम्मान गर्नै जान्दैनौँ । प्राचीन र मध्यकालीन कलाकार (मूर्तिकार, चित्रकार, वास्तुकलाविद्, साहित्यकार) हरू को सूची हामीसँग छैन । एकजना अरनिको प्रसिद्ध छन् मूर्तिकला र वास्तुकलामा, त्यो पनि चीन गएर सम्मानित भएकाले । सानै उमेरमा चीन जाने टोलीको नेतृत्व गर्ने अरनिकोले नेपालमा सिर्जना गरेका कलाहरू केके हुन् ? अरनिकोको वास्तविक नाम र ठेगानाका बारेमा पनि अझै अन्जान छु । अध्ययन भएको होला तर कुनै पाठ्यक्रममा पढ्ने मौका पाएको छैन । विदेशमा ख्याति नपाएसम्म आजपनि राज्यले चिन्दैन । परम्परा किन छोड्नु, हैन ?

मल्लकालका केही साहित्य र साहित्यकारका नाम सामान्य ज्ञानका किताबमा भेटिन्छ । त्यसबेलाका राजाहरू नै साहित्यकार ! पढ्ने लेख्ने राजाहरू मात्रै भएर हो कि ? जसले लेखेपनि ती महत्त्वपूर्ण ग्रन्थहरू र तिनमा के छ्न् भन्ने कुरा विद्यालयदेखि नै पढाइनु पर्ने हो । तर पाठ्यक्रम निर्माण गर्नेहरू आफ्ना कमसल लेखहरू पाठ्यक्रममा राख्न तत्पर छन् ।

आधुनिक नेपालमा (पहिले पर्वते या खसकुरा भनिने) नेपालीलाई केन्द्रविन्दुमा राखियो । सुवानन्द दासले लेखेको “पृथ्वीनारायण” काव्य नेपालीको पहिलो साहित्य भनेर घोकेको छु तर त्यसमा ठ्याक्कै के छ थाहा छैन । मोतीराम भट्टले नभेटेका भए भानुभक्त आचार्यलाई कतै गुमनाम हुने थिए । महत्त्व दिइएको भाषाका साहित्य पनि संरक्षित छैनन् । नेपाल भाषा, मैथिली, अवधी, तामाङ, किराँती लगायतका भाषा र जनजातिका साहित्य संरक्षण हुने कुरै भएन ।

सरकार त उदासीन भयो भयो, हाम्रा केही साहित्यकारहरू क्रान्तिकारी बन्ने नाममा इतिहासको संरक्षण नगरे पनि हुन्छ भन्ने विचार राख्छ्न् । देवकोटाको घर भत्काइएको विषयमा एकजना “लेखक”ले त्यो घर जोगाइयोस् या भत्काइयोस् मतलब भएन भन्ने आशयको ट्विट गरेपछि एउटा लेख नै लेखेको थिएँ । नारायण गोपालको घरको संरक्षण गर्ने विषयमा पनि उनको विचार जान्न मन लागेको छ ।

नेपाली साहित्यमा देखिएका केही निराशाजनक दृश्यहरू

यसै साता महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर प्रज्ञा प्रतिष्ठानले भत्कायो । तर्क थियो, “घर जीर्ण थियो । सबलीकरण गर्न भन्दा भत्काएर नयाँ बनाउन सस्तो पर्ने भयो । नयाँ भवन सङ्ग्रहालय बन्छ । के नराम्रो हुन्छ र ?”

वाहियात तर्क गर्न, कानूनका छिद्र समात्न र दलका पछि लागेर विद्वान हुँ भन्दै हाँक दिन नेपालका प्राज्ञिक भनाउँदाहरूको विशेषता नै हो । उनीहरूमा न इतिहासको चेत छ न त भविष्यको सही योजना नै । ध्यान छ त केबल आत्मरति, अलिकति धन र नचाहिने कुरा गर्न ।

आम सर्वसाधारणलाई महाकवि देवकोटाको घर भत्काइँदैछ भनेर सचेत नगराउने “अभियन्ता” र मिडिया अर्को ठूलो समस्याका रूपमा अघि बढेका छन् । नेपालीमै लेख्ने एकजना “साहित्यकार”को ट्वीटले नेताहरूले रोपेको जातीय/भाषिक द्वेषयुक्त राजनीतिको प्रभाव प्रष्ट देखाएको छ । वर्तमानमा सुधार चाहने, अरू भाषाको उत्थान चाहने उनलाई नेपाली भाषासँग चैं समस्या किन छ ? नेपाली भाषालाई मात्रै महत्त्व दिने नीति कुनै बेला राज्यले लिएको थियो तर अब अरू भाषा संस्कृतिको संरक्षणको कुरा गर्दा नेपालीलाई बाहिर राख्नुपर्ने हो ? कुनै यो विषयमा नाम चलेका “फुल टाइम व्यावसायिक” लेखकहरूको मौनता अर्को दु:खद पाटो हो । इतिहासको सम्मान नगर्ने उनीहरू वर्तमानमा सम्मान पुगेन भन्न कसरी सक्छन् ? भविष्यमा तिनका नाम मेटिँदैन भन्ने के छ ?

अघिल्लो साता मदन पुरस्कारको छनौटमा परेका उत्कृष्ट पुस्तकहरू मध्ये एक पुस्तक यस्तो पनि थियो जसले वर्ग विभेदलाई प्रश्रय दिएको थियो । एक चोटि मात्रै छापिने र प्रिअर्डर गरेकाले मात्रै पाउने भनिएको उक्त कथा-सङ्ग्रह बजारमा सहजै पाइन थालेको सुनेको छु । प्रकाशक र पाठकसँग सिधै सम्पर्क बनाएको, वितरकलाई बीचमा आउन नदिएको भन्ने प्रकाशक अझै पनि नयाँ छापिँदैन भनिरहेका छन् । तर “आउट अफ स्टक” भनिएका ठाउँमा पनि फेरि बिक्री भइरहेको छ । अर्थात् प्रकाशकले प्रिअर्डरबाट मात्रै बिक्री गरेको भने पनि अलिकति सचेत पाठकले त्यो पत्याइहाल्ने स्थिति छैन ।

अनि लेखक भक्ति पनि मज्जैले देख्न पाइयो यो हप्ता । आफूलाई मन पर्ने लेखकको किताबको कमजोरी अरू पाठकले औँल्याउँदा लेखकमाथिको आक्रमण गरेको भन्ने विद्वान् पनि देखियो । पाठकले प्रतिक्रिया दिँदैमा कुनै लेखकका फ्यान त्यसरी उत्रिनु नै अनौठो लाग्यो । यस्तो भक्तिले त लेखकले सधैं पोजिटिभ रिभ्यु मात्र पाउँछ । जे लेखे पनि हुन्छ भन्ने मानसिकता उसमा हाबी हुन थाल्छ । लेखनको गुणस्तर स्वाभाविक रूपमा घट्छ । यो साहित्यको लागि कदापि राम्रो हुन सक्दैन ।

पाठक प्रतिक्रियालाई व्यक्तिगत आक्रमण ठान्ने, प्रकाशकले दिनदहाडै लुट्ने अनि प्राज्ञहरूले प्राज्ञिक धर्म पूरा नगर्ने प्रवृति नेपाली साहित्यलाई अधोगतितर्फ लान उद्दत रहेका छ्न् । सचेत पाठक, पाठकलाई सम्मान गर्ने लेखक/प्रकाशक र सही एजेन्डा बोकेका प्राज्ञ नभएसम्म नेपाली साहित्यलाई सही बाटो देखाउन गाह्रो पर्ने देखिन्छ ।

लेखक गनेस पौडेलको फेसबुक पोस्टले नेपाली साहित्य प्रकाशनका बारेमा उजागर गरेका प्रश्नहरू

हिजो साँझ कुमार नगरकोटी को नयाँ किताब आउनेबारे थाहा पाएँ । ७७७ पेजको, हार्डकभर ज्याकेट, झोला, बुकमार्क सहित मूल्य रू. २०२१ अरे । अनौठो चैं किताब एकपटक मात्रै छापिने रे । त्यसैले प्रि-अर्डर गर्नुपर्ने । जति कपि माग हुन्छ, त्यति नै छापिने रे । मार्केटिङ स्किम राम्रै होला किनकी चर्चा त निकै नै छ (सकारात्मक पनि नकारात्मक पनि) । फेसबुकमा यस सम्बन्धी सूचना देख्नेबित्तिकै “ओहो ! मूल्य धेरै भएन र? किन्नै नसकिने पो रैछ !” हीनभाव मनमा आयो । धेरैले यस्तै कुरा लेखेको पनि भेटेँ । केहीले आफैँ किन्ने, कसैले ग्रुपमा किनौँ भनेको पनि भेटेँ ।

बिहानसम्ममा मूल्यको विषयमा थुप्रै वादविवाद भइसकेछन् । अलि कम मूल्य भएको भए किन्थें भन्नेहरू देखिए । स्किम चित्त नबुझेर जोक बन्नु/गुनासो हुनु स्वाभाविक नै हो । यसैबीच यस्ता गुनासाका बारेमा अर्का लेखक गनेस पौडेलको को एउटा पोस्ट देखापर्यो फेसबुकमा । उनको ७ बुँदे पोस्टले नेपाली साहित्यमा रहेका केही समस्या उजागर गरेको छ ।

यो फोटोको ठाउँमा लिंक नै इम्बेड गरेको थिएँ । लेख्दा लेख्दै ढिलो भो, अकाउन्ट डिएकटिभेट गर्नुभएछ* ! धन्न स्क्रीनसट थियो !!

१. बुँदा नम्बर १ मा पौडेल लेख्छन्

“एउटा कथित पूर्णकालीन लेखकले औसत ३ वर्षमा यौटा किताब लेख्छ ।”

कुनै पनि सिर्जनामा सर्जकको कति मिहिनेत र खर्च परेको हुन्छ भन्ने लेखाजोखा गर्न असम्भव नै हुन्छ । पूर्णकालिन लेखकका लागि त लेख्नु सौख मात्र होइन, माम खाने दाम पाउने काम हो । परिश्रमको उचित पारिश्रमिक पाउनु श्रमिक अधिकार पनि हो । तर लेखकहरूले उचित लेखकस्व पाएका छैनन् भनेर उनी स्वीकार्छन् :

“सम्झौता पत्रमा बढीमा २० प्रतिशत रोयल्टी दिने प्रचलन छ । तर त्यो प्रतिशत देखाउने कागज मात्रै हो । बेस्ट सेलरै भनिएका किताबवापत पनि नेपाली लेखकले औसतमा २ लाख बुझ्छन् ।”

केही दिनअघि साहित्य सम्बन्धि छलफल हुने एउटा फेसबुक ग्रुपमा लेखकले कति रोयल्टी पाउँछन् भन्ने प्रश्न उठेको थियो । त्यतिबेला सालाखाला यति पाउँछन् भन्ने पनि कोही भेटिएनन् । जे होस्, आज जवाफ भेटियो ।
तर पौडेलले सातौं बुदामा रोयल्टी सम्बन्धि कुरा आफ्नो अनुभव हैन भनेका छन् । प्रकाशकहरूले खुल्लमखुल्ला यी कुरा नभन्ने भएकाले उनी आफैंले नभोगी वा आफ्नो नजिकका अरू लेखकले नभनी थाहा पाउन असम्भव छ ।
प्रश्न उब्जिन्छन्:
क) आफ्ना किताब कति बिक्री भए र कति आम्दानी गर्दैछ, त्यसबाट आफूले कति पाउँदैछु भन्ने कुरा थाहा पाउनु लेखकको अधिकार हैन र ? एकएक हिसाब हुनुपर्ने हैन ? ‘विश्वास’को आधारमा बजार कसरी चल्छ ?
ख) अनेकौं कुराहरूको गर्न सक्ने लेखकहरूले सम्झौता अनुसार रोयल्टी नदिने फटाहा प्रकाशकको भण्डाफोर गर्नुपर्ने हैन ? कानूनी उपचारमा ल्याउनुपर्ने होइन ?
ग) पूर्णकालिन लेखकले पनि उचित लेखस्व पाउँदैनन् भने तिनै कथित पूर्णकालिन लेखक र प्रकाशक रोयल्टीबाट बाँच्न सकिन्छ किन भनिरहन्छन् ?
घ) नयाँ साहित्यकारलाई भ्रममा फस्न नदिन स्थापित लेखक र प्रकाशकले सहयोग गरेका छन् त ?


२. दोस्रो बुँदामा रिसाउँदै भन्छन् :

दुई लाखले के यौटा पूर्णकालीन लेखकको ३ बर्ष कट्छ ? कथित सेलिब्रिटी बनाइएको लेखकले दालभात खानु पर्दैन ? रोग लागेपछि राज्य वा चन्दादाता गुहार्नु के लेखकको नियति हो ?

लेखकलाई काम बापत माम खान पुग्ने दाम दिने (र बाँच्न सजिलो बनाउने) जिम्मा प्रकाशकको हो, पाठकको होइन । किनकी उनकै अनुसार पाठकले एउटा किताबमा २००० नै खर्चिए पनि “कथित पूर्णकालिन लेखक”ले बढीमा पाउने ४०० रूपैयाँ हो । ५००० प्रति विक्दा लेखकको हातमा २० लाख हात पर्ने रहेछ । तर यहाँ प्रश्न उठ्छन्:
क) ५००० प्रति बिक्छन् ?
ख) ५००० मात्र होइन, ५०००० प्रती बिकून्, हार्दिक शुभकामना तर एकाध साहित्यकारको ब्राण्ड भ्यालु बढ्दैमा साहित्यको ब्राण्ड भ्यालु बढेको हुन्छ र ? अरू साहित्यकारले पनि सजिलोसँग बाँच्न पाउँछन् ?
ग) प्रकाशकले साहित्यको कन्टेन्ट भन्दा एकाध जनराका साहित्यकारलाई मात्रै पो प्रश्रय दिन्छन् कि ?
घ) नयाँ साहित्यकारलाई प्रकाशकले यसैगरी चर्चामा ल्याउन सक्छन् ? कतै स्थापितलाई मात्रै त महत्त्व दिँदैनन् ?


३. तेस्रो बुँदामा पौडेल लेख्छन् :

मलाई लाग्छ, कुमार नगरकोटीको यो किताब एउटा सिर्जनात्मक मात्रै होइन आर्थिक प्रयोग पनि हो । यस्तो प्रयोगका लागि एउटा उत्कृष्ट किताब चाहिन्छ जुन कल्प–ग्रन्थ छ ।

नगरकोटीको फ्यान फलोइङ देखेर चकित भएको छु । रचना राम्रो पनि होला । तर,
क) लेखक, प्रकाशक र लेखकका मित्रगणले राम्रो छ भन्दैमा उत्कृष्ट हुने ग्यारेन्टी हुन्छ र ?
ख) फ्यानहरूले मात्रै पढ्ने भए पछि उचित समालोचना कसरी होला ? उचित समालोचना बिना लेखकको सिर्जनात्मक ग्रोथ कसरी होला ?
ग) लेखक र प्रकाशकले “खतरा प्रयोग गरेको छु” भन्नु भन्दा पाठकले प्रयोग बुझ्नु र त्यसलाई मन पराउनु राम्रो होला नि, हैन र ?


४. चौथो बुँदामा भन्छन्,

“सबै किताब सबैका लागि हुँदैनन्”  र पाँचौँ बुँदामा थप्छन्, “यो एउटा दर्शन हो ” ।

सबै किताब सबैका लागि हुँदैन । मान्छु । जस्तो कि यो किताब मेरो लागि होइन । न बजेटका हिसाबले न कन्टेन्टका हिसाबले । यो किताब धेरै साहित्यझैँ मेरो आधारभूत आवश्यकता पनि होइन । तर यो दर्शन हो भने सर्वसुलभ हुनुपर्छ । जहाँ, जहिले, जसले पनि दर्शन बुझ्न सक्छ । दर्शनले कुनै विभेद गर्न सक्दैन । विभेद गर्ने दर्शन त दर्शन नै रहँदैन ।

त्यसै गरी  पढ्न चाहनेले पढ्न पाउनुपर्छ भन्ने मान्यताले नै पुस्तकको महत्त्व बढेको हो । सबै किताब सबैको लागि नभए पनि सबैको बनाउने प्रयास गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

किन्नेले किनिहाल्छ भन्ने सोच पनि एकदम खतरनाक हो । यसले वर्गीय विभेदलाई बढावा दिन्छ । अस्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्छ । गुणस्तरमा समेत असर पार्न सक्छ । फेरि बजारले निर्धारण गरेको मूल्य मात्रै किताबको मूल्य होइन । जीवनलाई निर्देश गर्ने किताबको बजार मूल्य नभए पनि त्यो अमूल्य हुन्छ । जति धेरै पाठकको दिलदिमागमा बस्न सक्यो, किताबको मूल्य बढ्दै जान्छ, हैन र ?


५. छैठौं बुँदामा…

ग्रुपमा किन्दा हुन्छ भनेपछि त असमञ्जसमा पो परेँ । ग्रुप बनाउन सजिलो नहोला । बन्यो भने पनि साना गोजी भएका पाठकको गोजी जोड्दा पाठकको समस्या त हल होला तर के लेखकको गोजी भरिएला ? १० जनाले २००० रूपैयाँ दरको १ प्रति किताब किन्नु र १० जनाले ३०० रूपैयाँ दरको १० प्रति किताब किन्नुमा कुनमा बढी आर्थिक फाइदा लेखकलाई होला ? लेखकलाई लेखेर खान पुग्दैन भनेर सुरु भएको बहस आखिरमा त्यहीँ पो पुग्यो त ।


“कन्टेन्ट इज् द किङ” साहित्य र चलचित्रमा अक्सर भनिन्छ । कन्टेन्ट राम्रो भएन भने ब्राण्ड र कमाइ मात्रैले केही हुँदैन । उदाहरण हो केही महिनाअघि रिलिज भएको डिज्नीको चलचित्र “मुलान” । साहित्यमा पनि स्थापित लेखक (ब्राण्ड) को पछाडी दौडनु एउटा उपभोक्ता (पाठक) का लागि रिस्क हुनसक्छ । किताब पनि एउटा उपभोग्य वस्तु भएकाले अरू सामान किन्दाझैं किन किन्ने, ‘मलाई काम लाग्छ कि लाग्दैन ? मूल्य बढी पो भयो कि ?’ भन्ने प्रश्नहरू गर्ने अधिकार उपभोक्तालाई हुन्छ । नगरकोटीको ब्राण्ड पछि फाल हान्नेले ब्राण्ड भ्यालु बुझेका होलान् तर यो अन्धाधुन्ध उपभोगको भीडबाट अलग रहन चाहेँ ।

नगरकोटीलाई यो स्किमले कति फाइदा गर्ला ? नेपाली साहित्यमा आउँदा दिनमा कस्ता “प्रयोग” होलान् ? नयाँ साहित्यकारलाई कसरी फाइदा होला ? बढी मूल्य राख्दैमा लेखक मोटाउँछन् भन्ने तर्क कति ठीक हो ? आदि इत्यादि प्रश्नको जवाफ छिटै पाइने नै छ !

*पुच्छ्रे टिपोट: सुरुमा “ब्लक खाएँ” लेखेकामा फेसबुकमा पछि त्यसो होइन भन्ने कमेन्ट आएपछि सच्याइएको । “कुतर्क गर्नेलाई ब्लक गर्छु” भन्नुभएको थियो । “बाघ कराउनु, बाख्रा हराउनु” भनेझैं भएछ । क्षमाप्रार्थी छु ।

Powered by WordPress & Theme by Anders Norén