घण्टाघरपट्टिको त्रि-चन्द्र कलेजको भवन । पाँच वर्षअघि गुगलमा सर्च गर्दा भेटिएको यो फोटोमा कलेजको नाम मेटिएको छ ।

वि.सं. १९७५ भदौ १२ गते चन्द्र समशेरले त्रिभुवन-चन्द्र कलेजको उद्घाटन गरेका थिए । चन्द्र समशेरले “कलेज खोलेर मैले राणा शासनको चिहान खनेँ” भनेका थिए रे । राणा शासनको चिहान कलेजले खन्यो या उनी आफैंले लागू गरेको क्लास (राणाहरूको वर्गीकरण) ले भन्ने विश्लेषण इतिहासविद्हरूले गरेका होलान् तर (उच्च) शिक्षालाई समस्याका रूपमा देख्ने शासकहरूको दृष्टिकोण यसले प्रष्ट देखाउँछ ।

त्रि-चन्द्र कलेज बिरामी भएको धेरै भइसक्यो । पाँच वर्षअघि शताब्दी कविता लेख्दा नै घण्टाघरपट्टिको पुरानो बिल्डिंगको स्थिति खराब थियो । भित्ताहरू उप्किरहेका थिए, ठाउँठाउँमा पीपल उम्रेको थियो, छत चुहिन थालेको थियो । म आफैँ “यो त भूतघरजस्तो देखिन्छ” भनिरहन्थें साथीहरूसँग । भूकम्पपछि भूर्गभशास्त्रको प्रयोगशाला बन्द भएको थियो । अझसम्म प्रयोगात्मक कक्षा राम्रोसँग संचालन भएका छैनन् । मस्जिदपट्टिको खण्ड पहिले नै जीर्ण थियो । अहिले भत्किएको छ । भूकम्पको बारेमा पढ्ने पढाउने, इन्जिनियरिङ संरचना भूकम्प थेग्न सक्ने हुनुपर्छ भन्ने विज्ञहरू भएकै ठाउँमा सात वर्षसम्म पनि सुधार नहुनु ठूलो विडम्बना हो । वैज्ञानिक र विज्ञलाई त्यसै त नपत्याइने हाम्रो समाजमा यसले दिने नकारात्मक सन्देशका बारेमा भनिरहनु नपर्ला ।

त्रि-चन्द्र कलेज सधैं राजनीतिको केन्द्रमा रहँदै आएको छ । राजदरबार र सिंहदारबार नजिकै भएकाले पनि होला । तर यो कलेजले राजनीतिमा खेल्न सक्ने भूमिका चन्द्र समशेरले नै अनुमान गरेको देखिन्छ । राणाविरोधी आन्दोलनदेखि गणतन्त्रको आवाजसम्म त्रि-चन्द्र कलेजका विद्यार्थीको भूमिका छ । “यी राजनीतिक परिवर्तनले समाजलाई के फाइदा भयो र ?” भन्नुहुन्छ भने यसरी प्रश्न सोध्ने अधिकार दिलाउने आन्दोलन यिनै हुन् ।

तर राजनीती नै त्रि-चन्द्र कलेजको अभिशाप हो । यही कलेजमा प्रजातन्त्र, गणतन्त्र र स्वतन्त्रताका आवाज उठाउँदै सत्तामा पुगेकाहरू सायद अब त्यस्तो आवाज दबाउन चाहन्छन् । त्रि-चन्द्रको उत्थानमा आफ्नो राजनीतिको चिहान देख्छन् सायद उनीहरू । नत्र सात वर्षसम्म शिक्षा र राजनीतिको बनेको ठाउँ किन बेवास्तामा पर्‍थ्यो ?

त्रि-चन्द्र बचाउनका लागि फेरि पनि विद्यार्थीहरू सडकमा उत्रनु पर्‍यो । यसले बेस्सरी पोल्यो मलाई । यतिका वर्ष आफूले शिक्षा लिएको ठाउँ कसरी बिर्सेँ ? लेखहरू लेख्न किन छाडेँ ? #SaveTrichandra अभियानमा स्वर मिलाउन किन सकिनँ ?

यो कलेज सरकारको दायित्वमा पर्छ या विश्वविद्यालयको दायित्वमा पर्छ थाहा छैन । तर यसप्रति विद्यार्थीको दायित्व पक्का छ । पैसा उठाएर हुन्छ कि प्राविधिक सहयोग गरेर हुन्छ वा नेताहरूलाई निद्राबाट ब्युझाएर हुन्छ, लौ न केही गरौँ ! शिक्षाको ऐतिहासिक धरोहरलाई मासिन रोकौं । केही त गरौं !

***You can read the English version of this article here.***

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.