बिहानीले दिनको संकेत गर्छ भन्छन् । मङ्सिर ४ को चुनावमा तेस्रो भएको पार्टीका नेता जुन राजनीतिक दाउपेचको आडमा प्रधानमन्त्री बने अनि त्यसको रमिते मतदाता हुनुपर्यो, यो राम्रो बिहानीको संकेत हुँदै हैन । नेपाली कांग्रेसले ८९ सिट जितेको थियो । उसले प्रत्यक्ष तर्फ सदर मतको २५.७१% र समानुपातिकमा २३.१९% मत पाएको छ । जम्मा ७८ सिट जितेको नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिकमा क्रमशः २६.९५% र ३०.८३% मत पाएको छ । तर सरकारको नेतृत्व गरेको छ प्रत्यक्षमा ११.१३% र समानुपातिकमा ९.३७% मत ल्याएको नेकपा माओवादी केन्द्रले !

Photo by Element5 Digital on Pexels.com

दुई वर्षअघि एमाले र माके एक थिए र नेकपा कहलाइन्थे । त्यो बेला आलोपालो प्रधानमन्त्री हुनुपर्छ भन्न थालेपछि एमालेका नेताले पार्टी फुटाइदिएका थिए । माकेका नेताले एक्लै नजित्ने संकेत पाएपछि चुनावमा कांग्रेसलाई बुई बोक्न लगाए । जब गन्तब्य आइपुग्यो, बुई बोक्नेलाई लात्ती हान्दै फेरि एमालेका नेतासँग मिल्न गए । एकले अर्कोलाई सत्तो सराप गर्ने तिनीहरू अहिले फेरि ‘लङ्गौटिया यार’ बनेका छन् । लात्ती खाने दलका नेताले पनि आफ्नो स्वार्थका लागि लात्ती हान्नेकै पाउ मोल्न गए, विश्वासको मत दिंदै ।

सत्तामा पुग्नको लागि जे पनि गर्ने यिनीहरूको नक्कचरो पाराले आजित भएका नेपालीहरू विकल्पहरू खोजिरहेका थिए / छन् । केही पार्टीहरू चुनावमा उदाए पनि । तर अरूभन्दा फरक हुन्छौं भन्ने उनीहरू सत्ताको तर मार्न व्यस्त छन् । २० सिट जितेको रास्वपाका सभापति गृहमन्त्री बने । नागरिकताको विषयमा अन्तिम निर्णय दिने गृहमन्त्रीको नै नागरिकता विवादमा छ र अदालतले मुद्दा हेरिरहेको छ । “अदालतमा मुद्दा चलिरहेकाले नबोलेका” पार्टीका नेताहरूमा पनि सत्ता र शक्तिकै आसक्ति देखिरहेको छु । यद्यपि मौका पाएको बेला केही सुधार गर्छन् कि भन्ने झिनो आशा छ ।

अहिलेको मन्त्रिपरिषद् यस्तो खिचडी बनेको छ कि के भन्ने ? गणतन्त्रवादीदेखि राजावादीसम्म अनि संघीयताका पृष्ठपोषकदेखि विरोधीसम्म सबैले मौका पाएका छन् । सायद समावेशीकरण भनेको यही होला । जे होस्, राज्य समावेशी बनाउनुपर्छ भनेर वकालत गर्ने पार्टीले नेतृत्व लिएको सरकार समाबेशी देखिएको छैन । गरीब, दलित र सीमान्तकृतलाई जति नै उत्थान गर्नुपर्छ भने पनि यो प्रणाली उनीहरूको पहुँचमा छैन ।

उसो त राजनीति सीमित व्यक्ति र पार्टीहरूकै नियन्त्रणमा छ । उनीहरू हामीलाई भोट हाल्न लगाउँछन् मीठा सपना देखाउँदै । अनि हामी मत हालिदिन्छौं । हुन त हामीसँग उपाय पनि छैन । न हामी कसैलाई भोट नहाल्ने भनेर मतपत्रमै छाप हान्न पाउछौं न त छानिएका प्रतिनिधिको काम चित्त नबुझ्दा तिनलाई फिर्ता बोलाउनै सक्छौँ । नेताहरू मैमत्त साँढेजस्ता बन्छन् अनि हामी चैं बाली खाएको देख्दादेख्दै पनि धपाउन नसकेर आफूले आफैंलाई सराप्छौँ । यति नै त होला नि हामीले पाउने लोकतन्त्र !

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.