Experiences of a common man!

Category: Nepali Poem Page 1 of 2

राधाको सम्झनामा

देख्दैमा राधाका दुई नयन बसिगएथ्यो पिरती
कोकिल वाणी, मुस्कानको मधुरता मन हर्ने अति ।
खेल खेलमा मित्रता भएको थियो गहिरो जति
टुट्ने हो कि ती प्रिय सखीको साथ लाग्दथ्यो पीर अति ।।

अर्कैकी बनेर डोलीमा चढी जब गइन् राधा रानी
भन्न नसकी गुम्सिएका भाव सम्झी बढ्यो ग्लानि ।
कान्हाको मन छ धेरै बलवान् भन्दछ सारा गोकुल
देख्दैनन् ती मुहारको मुस्कानले लुकाएको शूल ।।

मुरलीको दु:खी विरही धुन गुन्जाई वृन्दावनमा
डुल्दछ सम्झनाले कृष्ण यो, सन्ताप बोकेर मनमा ।
योगीको मार्ग चिनी ती बुद्धिमती प्रियाको सङ्गतले
राधाकृष्णको प्रेम अमर भनी चिन्नेछ जगतले ।।

काठमाडौँ

घामसँगै अस्ताउँछ यो शहर
सुनसान भइदिन्छ, बढाइदिन्छ डर
निद्रा प्यारो, जाग्न सक्दैन हर पहर
मरेतुल्य बाँचिरहेको छ यो महानगर !

सपनाको भारी, प्रतिस्पर्धाको कहर
घोलिदिन्छ मस्तिष्कमा कालकूट जहर
जरैदेखि उखेल्दै आशा र रहर
मरेतुल्य भएको छ यो महानगर !

सहन नसकी अनेक प्रहार र अत्याचार
कराउँदै छ रक्षाका लागि गुहार
कसरी पर्छ खै नागरिकको भर ?
मरेतुल्य बाँचेको छ यो महानगर !

© सन्दीप्त

आजकल मैले फेरि सपना देख्न थालेको छु

आफूले जन्माएर
आफैँले मारेँ भनेका सपनाहरू
चिच्याइरहन्थे,
“लाग्यो होला तँलाई हामी मर्यौँ
तर हामी त तँ भित्रै छौँ
हामी तेरै अंश त हौँ !
जबसम्म तँ जिउँदो छ्स्,
हाम्रो अन्त्य हुनेछैन ।

“तेरो मनले बनाएको पिँजडामा
हामी बसेका छौँ
तैले वास्तै नगरे पनि
झक्झकाएका छौँ
भनिरहेका छौँ,
ब्युँता फेरि हामीलाई
खुसी हुन्छस्, सुखी हुन्छस् ।
कति रोक्छस् अन्तरात्माको आवाज ?
तोड पिँजडा, मुक्त गर,
अनि हुर्का हामीलाई ।”

डरको झ्यालखाना तोडेर
बचेखुचेका रहर जोडेर
सपनाको लिलाम गर्नेहरूसँग जोगिएर
आजकल मैले फेरि सपना देख्न थालेको छु !
नीदमा र जागामा
आशाका मसिना धागामा
सपनाको माला उन्न थालेको छु !

(२०७५/०४/१९)

आजकल म सपना देख्दिनँ

आफ्नो नाफा हुन्जेल
बोलाउँछन्, उचाल्छन्
यो छ, त्यो छ
यो गर्छु, त्यो गर्छु
यस्तो हुन्छ, उस्तो हुन्छ
भन्दै, फकाउँदै, झुक्याउँदै
सपना देखाउँछन् ।

जब सत्यको पर्दा खुल्छ,
तब थाहा हुन्छ,
यहाँ त सपना देख्नै पाइन्न ।
यहाँ सपनाको कुनै अर्थ नै छैन
जति नै राम्रो भए पनि !
यहाँ सपनालाई रेटेर, अँठ्याएर मार्छन्
सपनाकै अभिभावकहरू ।

त्यसैले,
न त नीदमा हुँदा न त जागा
अचेल म सपना देख्दिनँ
आफूले जन्माएर, हुर्काएर
आफैँले सपनाको हत्या गर्न चाहन्नँ ।

(२०७५/०४/१९)

रातो सूर्य

सूर्य रातो छ नभमा
मिर्मिरे हो या सन्ध्या ?

नयाँ सुरुवात ?
वा अन्त्यको सुरुवात
सडक, गल्ली र घरहरूमा
बगेको लाल रङ्गको ?

नीलो किनाराले घेरेको रातो
मुस्कुराइ रहला
सूर्यको लाल प्रकाशमा ?

मौन धारण

शहीदका नाममा मौन धारण गर्न
छातिमा हात राखेर शिर झुकाउँदा
सोच्छु–
जहाँ
क्रान्तिको डरले घरमै बस्नेहरू,
व्यक्तिगत इबीमा फस्नेहरू,
स्वार्थको राजनीतिमा पस्नेहरू,
मरेर जाँदा “शहीद” मानिन्छ,
त्यहाँ शहीदको सम्मान कसरी पो हुन्छ ?

सोच्छु–
क्रान्ति र आन्दोलनका नाममा उदाएका भुइँमान्छेहरू
जब
सत्तामोहमा परेर,
अपराधको बाटो पक्रेर,
स्वाभिमानलाई बिर्सेर,
क्रान्तिको मर्म लत्याएर,
जनलाई घात गरेर
देश बेच्न पनि पछि पर्दैनन्,

धुरुधुरु रुँदा हुन् ती महात्माहरू
जसले
आमाबाबुको काख छाडेर
जीवनसाथीलाई एक्लो पारेर
छोराछोरीलाई सुनौलो सपना बाँढेर
मित्रजनलाई विश्वास गरेर घात नगरी
क्रान्ति सफल पार्न
देशका लागि प्राणको आहुती दिए !

मान !

 न्याय नपाई कोही रोइरहँदा

               न्यायालयको मान रह्यो सायद !

अपराधीहरू खुल्लमखुल्ला हिँडिरहँदा

               न्यायालयको मान बढ्यो सायद !

न्यायकै किनबेच चलिरहँदा

               न्यायालयको इज्जतले आकाश छोयो सायद !

र त,

     न्याय पाउँ भन्नेहरू 

                   न्यायालायमै रोइरहेछ्न् !

     अपराधी समाऊ भन्नेहरू

                     डरले काँपिरहेछ्न् !

      न्यायको किनबेच नगर भन्नेहरू

                     कठघरामा उभ्याइरहेछ्न् !

© सन्दीप्त

माइती जान नपाउने चेली

सुविधाले सम्पन्न भएका ठाउँमा

चेलीहरू माइती गइरहँदा हुन् ।

हासो र खुसी नराखी दाउमा

आमाबाबालाई खुसी राखिरहँदा हुन् ।।

***

चेलीहरू माइतीघर आउलान् भन्ने

आशैआशमा बित्छ यो जुनी !

आमाबाबालाई खुसी राख्लान् भन्ने

सपनामै अल्झन्छ यो जुनी !!

******

आशैआशमा बित्छ यो जुनी

जन्मघरमा फेरि पाइला राखुँला भनी !

सपनामै अल्झन्छ यो जुनी

आमाबाबासँग फेरि भेट होला भनी !!

***

जन्मघरमा फेरि पाइला राखुँला भनी

सोच्छु बिहा भई आएको यो ठाउँमा ।

आमाबाबासँग फेरि भेट होला भनी

नौ डाँडापारिको त्यो जन्मगाउँमा ।।

******

[मलाया शैली पान्टुममा नेपाली कविता लेख्ने यो प्रयाश । यस शैलीमा पहिलो स्टेन्जा (stanza) का दोस्रो र चौथो हरफ दोस्रो स्टेन्जामा पहिलो र तेस्रो हरफ बन्छ्न् अर्थात् दोहोरिन्छ्न् ।

शताब्दी

मध्ययुगीन युरोपेली शैलीमा

सेतो रङका पाप्रा उप्किएर पहेँलो, कालो बनेका

दिवार चिरेर उम्रेका उन्यु र पीपलका पात बोकेर

उभिएको कुनै भुतघरजस्तो संरचना देख्दा 

नतर्सिनू,
चारैतिर दुईतीन फिट अग्ला घाँस, दुबो, सिस्नु,

वनफाँडा, काँडा र गाँजाका झाङमा

खेलिरहेका, गफ हाँकिरहेका अनि आफ्नै कुनामा

सर्को तानी मनोरञ्जन लिइरहेका थरीथरीका मानिस देख्दा

नझुक्किनू,
छतमा, फूलबारीमा, लाइब्रेरीमा, कोरिडोरमा,

रुखमुन्तिर, ल्याबमा अनि क्लासरूममा

निश्चिन्त ग्याङ, ग्रुप र जोडी बन्दै

टङ्टङ बज्ने घडीघरको पेन्डुलम जस्तै

यताउता गरिरहेका विद्यार्थी देख्दा

नअल्मलिनू,
भर्खर शताब्दी पार गरेको

भुकम्प, राजनीती र 

बेवास्ताको मारमा परेको

जन्ममा नै पिताको 

मनमा बिस्मात जगाएको 

यो त्रिभुवन-चन्द्र बहुमुखी कलेज हो !

काला बादल

उसले फगत मागेकी थिई

टन्टलापुर घामबाट,

मुसलधारे वर्षाबाट अनि

कठ्याङ्ग्रीदो जाडोबाट

जोगाउने घरमा

मीठो खानाको एक गाँस !

***

उसको सपना पूरा भएको थिएन

तर ऊ पूरा हुने आश गर्थी,

त्यो दिनसम्म जुन दिन

काला बादलले

उसको बाली बगाइदिए,

उसको छाप्रो बगाइदिए,

उसका आशा बगाइदिए,

उसको जिन्दगी बगाइदिए !

***

अहिले ऊ व्यर्थै रुन्छे !

किनकि उसको क्रन्दनले

झरी बनेर बर्सेका

काला बादलमाथि बसेका देउतालाई

उठाउन सक्दैन !

Page 1 of 2

Powered by WordPress & Theme by Anders Norén