Experiences of a common man!

Tag: Women Rights

नारीवाद: एक दृष्टिकोण

रावणले अपहरण गरेकी सीतालाई उनको राजा र प्रजाले अपनाएनन् । जीवनका अन्तिम क्षणसम्म वनवासी भइन् । तिनै सीताका “पति” रामले छलले बालीलाई मारेपछी तारालाई “जो तिम्रो पति थिएन, त्यसका लागि शोक गर्नुपर्दैन” भनिदिए । रावणको ध्यान भङ्ग गर्ने मन्दोदरीलाई नङ्ग्याए, अफसोच गरेनन् । कुमारी आमा कुन्तीले आफ्नै छोरोलाई पराइजस्तो व्यवहार भएको सहनपर्‍यो । एक दिन उनका पाँच भाइ छोराले भने, “हेर्नुस् त आमा, हामीले के ल्यायौँ” । उनले नहेरेरै भनिन्, “बाँडेर लिनू” । अर्जुनले स्वयंवर गरेर आएकी राजकुमारी द्रौपदीलाई मान्छेसम्म गनेनन् पाण्डवहरूले । कौरवले पनि रानी द्रौपदीलाई “वेश्या” भने । जुवामा थापे पाण्डवले, हुर्मत लिए कौरवले । विश्वयुद्धको तत्कालीन कारण बन्यो त्यही, जसमा कुरु वंश झन्डै विनाश भयो ।

पुराण/इतिहास/मिथकमा थुप्रै उदाहरण पाइन्छ नारीका दु:खका । हामीले बर्सेनि पढ्ने “स्वस्थानी व्रतकथा”मा सतीदेवीलाई नारायणले छल गरेर जोगी रूपधारी महादेवको हातमा सुम्पिदिन्छन् । कसैको चित्त बुझ्दैन तर “मेरो कर्मले यस्तै पारिल्यायो, के गर्ने” भन्दै सतीदेवी जान्छिन् । सतीदेवीका आमाबाबु भने तिनै छली नारायणलाई पुज्छ्न्, छोरीज्वाइँलाई हेला गरेर । सतीदेवी यज्ञको आगोमा होमिन्छिन् । तिनै देवीलाई देखाएर हज्जारौं वर्ष चल्छ पतिको लाशसँग जिउँदै जल्ने सतीप्रथा ।

“कर्म”को खेल दोहोरिन्छ गोमाको जीवनीमा पटकपटक । भाग्यवादको चङ्गुलमा अझैसम्म नारीहरू पिल्सिएका छन् । पतिव्रता वृन्दाको पति जालन्धर “पार्वतीलाई छल गर्न जान्छु” भन्छ । वृन्दाले पतिलाई त्यति प्रेम गर्दागर्दै पनि जालन्धर बाहिर चाहार्छ । उता नारायण पनि वृन्दालाई छल्न पुग्छन् उसैगरी । नारायणकी पत्नी लक्ष्मीको त नाम पनि आउँदैन । पुराणहरूमा “राक्षस” हुन् वा “भगवान्”, कुनै पुरुषबाट कुनै नारी सुरक्षित छैनन् ।

पुराण र कथाहरूको माध्यमबाट हाम्रो पुरुष अवचेतनमा नै नारीलाई हेप्नुपर्छ र नारी भोग्या मात्रै हो भन्ने पारिएको छ । त्यस्तै, नारी अवचेतनमा पुरुषको “दास” बन्नुपर्छ भन्ने कुरा बसेको छ । नारीवादी चेतनाले अवचेतनका यसप्रकारका गलत कुराका विरुद्धमा बोल्नु पर्छ भन्ने मान्यता संसारभर नै छ । पुरुषको शोषकवादी सोच ढाल्नु नारीवादको मूल उद्देश्य हुनुपर्छ । बोक्सीका नाममा सताइएका, दाइजोका लागि यातना दिइएका, मानव तस्करीमा परेका र यौनिक सन्तुष्टिका माध्यम बनाइएका वास्तविक पीडितहरूको न्याय नै नारीवादको ध्येय हुनुपर्छ ।

तर नारीवादमा “र्‍याडिकलिज्म”(Radicalism) हाबी छ। यो नारीवादले पुरुषलाई गलत मात्र देख्छ । नारीले पनि गल्ती गर्छन् भन्ने कुरालाई नजरअन्दाज गरिदिन्छ । शोषकवादी पुरुषको साटोमा शोषकवादी नारी स्थापित हुनुपर्छ भन्ने गलत मान्यता बोक्नु कदापि सही हुन सक्दैन । कानूनी आडमा पुरुषको जीवन तहसनहस पार्ने प्रवृति बढ्दो छ । पैसाका लागि केही नारीहरूले डिभोर्सको सहायता लिएका छन् । कोही प्रेमी या पतिलाई धोका दिँदै एनजीओ (NGO)को आडमा उल्टो पुरुषलाई नै अप्ठ्यारोमा पार्नेको संख्या पनि बढ्दो छ ।

व्यभिचार, धूम्रपान र मध्यपानलाई स्वतन्त्रताको प्रतीक मान्नेहरूको पनि कमी छैन । यी सब गलत हुन् भन्ने जान्दाजान्दै “पुरुषले गर्न हुने, महिलाले किन नहुने ?” भन्ने नारीहरूको कमी छैन अचेल । असल खराबको पहिचान गर्न सक्ने जुन नारीवादी चेतना छ, त्यसलाई र्‍याडिकलिज्मले ध्वस्त पारेको देखिन्छ ।

पीडित र पीडक जुनसुकै लिङ्गका हुनसक्छन् । केही फटाहा पुरुषका कारण सबै पुरुषलाई अनि केही बदमास महिलाका कारण सबै महिलालाई गलत देख्नु राम्रो होइन । तर एकले अर्कालाई शङ्का गर्ने वातावरण छ । शङ्काले लङ्का जलाउँछ भन्ने उखान छ । अर्थात्, जहाँ एकले अर्कालाई विश्वस गर्नै सक्दैन, त्यहाँ साथ र समन्वय कसरी हुन सक्छ ?

आमालाई पहिलो गुरु मानिन्छ भने घरपरिवारलाई पहिलो पाठशाला । नारीलाई नै घरपरिवार र समाजको सूत्रधार मानिन्छ । यद्यपि परिवार र समाजलाई अघि बढाउने काम नारीको मात्रै होइन, पुरुषको पनि हो । नारी र पुरुषको सहकार्यले नै संसार चल्दछ । “नारीपुरुष एकै रथका दुई पाङ्ग्रा हुन्” भनेर त्यसै भनिएको होइन ।

एक प्रधानमन्त्री, एक राष्ट्रपति, जनकपुर र शुद्धिकरण

राम-जानकी विवाह पञ्चमी | मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व | रामले सीतालाई विवाह गर्नामा तत्कालिन अयोध्याका आफ्नै स्वार्थ थिए होलान् तर त्यो प्राक-ऐतिहासिक विषयमा कुनै अर्कै दिन चर्चा गरूँला | अहिलेको लागि दुई वर्ष यताका कुरा नै काफी छ |
image

पोहोर साल विवाह पञ्चमीको बेलामा सायद सार्क (जसको अस्तित्व नाममा मात्र सीमित छ) शिखर सम्मेलन थियो | त्यसैले त कट्टर हिन्दुवादीको ताज पहिरीसकेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या, जनकपुर हुँदै काठमाण्डू आउने योजना थियो | पछि सुरक्षाको कारण देखाउँदै उनी त्यो बाटोबाट आएनन् | हुन पनि भारतको सर्वेसर्वा भएर विश्वका प्रभावशाली १० मा उभिइसकेका व्यक्तिलाई आफ्नै सीमा जोगाउन नसक्ने नेपालीले के सुरक्षा दिन सक्थे र ? मोदीले बाटे फेरेकोमा जनकपुरे रिसाउँछन् भन्ठानेको आफ्नै सरकार विरुद्ध पो खनिए | आफैँले सजाएर बनाएका स्वागत द्वार भत्काएर जनकपुर बन्द पनि गराए | (उता अयोध्यातिरका चैँ चिढिएछन्, मोदीलाई हराएरै छाडे यसपालाको राज्य सभा चुनावमा) यो विषयमा एउटा फेसबुक पेजमा दुई पटक गरेर लेखेको पनि थिएँ |

माथिको घटना नलेखेको भए पनि हुन्थ्यो होला तर यसपालाको घटनाले पोहोर सालको घटनासँग कुनै सम्बन्ध राख्छ कि भन्ने मनमा परेकाले लेखिदिएँ | अब यसपालिको त के कुरी गरूँ र ? भन्दा पनि लाज लाग्ने ! राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुर पुग्ने वित्तिकै ‘अभाव भइरहेको पेट्रोल’ बमले स्वागत गरिएछ | पछि विरोधी समूहले केकस्ता काम गरेछन् भन्ने त टिभी, इन्टरनेट मार्फत धेरैलाई थाहा भइसकेको छ | त्यसको वर्णन मैले सायद गर्न पनि सक्दिनँ ! तर त्यो दुखद घटनामा राष्ट्रपतिलाई नै दोषि देखाउन खोजियो | कतिले त मधेसमा आन्दोलन भइरहेकाले उनी जनकपुर जानै हुँदैनथ्यो सम्म भन्न भ्याए | मैले सोचेँ, ‘ठीकै हो क्यारे ! राष्ट्रपतिले त्यहाँ गएर सुरक्षा चुनौति देखाइदिइन् | उनी नजाँदासम्म सुरक्षाको झुठो प्रत्याभूति त थियो !’

माथिका दई घटनाका आधारमा भारतका प्रधानमन्त्रीलाई स्वागत गर्न नपाउँदा बन्द गर्ने र आफ्नो राष्ट्रपतिको विरोध गर्नेहरूको राष्ट्रियतामा शंका गर्नुपर्छ भनेर माईसंसारको फेसबुक पोष्टमा कमेन्ट पनि गरेको थिएँ | तर विरोधको चुरो कताकता अर्कै थियो कि जस्तो लागेको थियो | मनमा खट्केको त्यो कुरो आज बिहान ‘नागरिक” मा आएको समाचार ले पुष्टि गरिदियो |

राष्ट्रपति विद्यादेवी भण्डारी माथि आक्रमण भएको खबर सुन्नु अघि कलर्स टिभीमा ‘इश्कका रंग सफेद’ भन्ने सिरीयल हेर्दै थिएँ | (मित्रहरूले मलाई राष्ट्रियताको कुरा गरेर हिन्दी च्यानल हेर्ने ? भन्दै हप्काउनु होला तर सरकारले नै विदेशी च्यालनल किनेर ‘हेर्’ भनेपछि म जस्तो बबुरोलाई हुटहुटी चलिहाल्दो रहेछ | फेरि विदेशी भाषाका कार्यक्रम, फिल्म हेर्दैमा कोही अराष्ट्रिय हुन्छ भन्नु पनि त संकीर्णताको पराकाष्ठा हो भन्छु म त , कसो ?) विधवा विवाहको विषय उठाइएको त्यो सिरियलको पहिलो एपिसोडहरूमा विधवा महिलालाई कृष्ण जन्माष्ठमी(?) मा मन्दिर जान रोक लगाइएको सिन देखाइएको थियो |  मन्दिरको  शुद्धिकरण गरिएका दृश्य पनि नआएका होइनन् | त्यसपछि उत्पन्न समस्यामा नै आजसम्म कहानी घुम्दै छ | यता जानकी मन्दिरमा पनि शुद्धिकरण भएछ, राष्ट्रपतिले पूजा गरेको निहुँमा !

जनप्रिय नेता मदन भण्डारीकी विधवा विद्यादेवी भण्डारीको संघर्षको कथाले सायद उपन्यास बन्ला | भन्नेले त पतिको मृत्युमा उनको संलग्नता थियो सम्म पनि भन्छन् | तर अप्रमाणित कुराको पछि लागेर एकल महिलाको रूपमा उनले सहनु परेका पीडालाई नजरन्दाज गर्नु हुँदैन | उनले यस समाजमा भोग्नु परेको पीडाको एउटा अध्याय होइन र जानकी मन्दिरको ‘शुद्धिकरण’ ? ‘आइमाईको बुद्धि !’ भन्दै महिला राष्ट्रपतिका कार्यको विरोध गर्ने विधवाले पूजा गरेको भनेर मन्दिर ‘शुद्धिकरण’ गर्ने कामले समाजमा नीहित संकीर्णता प्रष्ट पार्दैनन् र ?

राष्ट्रपतिजस्तो सर्वोच्च पदमा आसिन महिलालाई समेत हेप्न सक्ने हाम्रो समाजले गरिब महिलाहरूलाई कति पेल्दो हो | बोक्सी, डाइन भन्दै मलमुत्र खुवाइएका कतिपय महिलाहरू आज पनि न्यायको भिख माग्दैछन् | विडम्बना, महिलाहरू नै त्यस्तो लाजमर्दो काम गर्न पछि पर्दैनन् | के ती गरिब, दुःखी नारीहरूको मर्का समाजले बुझ्ला ? बुझ्ला भन्ने त मलाई पटक्कै लाग्दैन |

निष्कर्ष ? यति लामो गन्थनको निष्कर्ष मैले निकाल्नै सकिन | पाठकहरूले नै मद्दत गरिदिनु पर्यो |

(नोट: बिहान ‘नागरिक’ को समाचार शेयर गर्दा मधेसीको संकीर्णता देखियो भनेको थिएँ | यस्तो सोचले देशलाई नै गाँजेको होला | तर पहाडेलाई संकीर्ण देख्नेहरू पनि त वास्तवमा उदार रहेनछन् भन्नेतर्फ संकेत गरेको थिएँ भन्न चाहन्छु |

साथै, नगेन्द्र (नगेन्द्र राज शर्मा?)का निबन्ध पनि सम्झन्छु | नेपालमा महिला सम्बन्धी संकीर्ण सोच कतै काशीबाट त आएनन् ? उनी पटकपटक प्रश्न गर्छन् | माथि उल्लिखित सिरियल त्यतैको परिवेशमा आधारित भएकाले नगेन्द्रको प्रश्न पनि विचारणीय छ |)

Powered by WordPress & Theme by Anders Norén

SUBSCRIBE

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.