Experiences of a common man!

श्रापित देउता

उहिले यस भूमिमा
देउताले मानवलाई चार वर्णमा बाँडेर
गरि खाओ भनेथे रे
विद्यामा दक्खल राख्ने ब्राह्मण भए रे
युद्धमा अब्बल क्षत्रिय;
पशुपाल र व्यापारी वैश्य
अनि सबै वर्णका सहयोगी
शुद्र थिए रे
कर्म अनुसार वर्ण हुने
व्यवस्था गरेका थिए रे

ज्ञानलाई स्वार्थको भुमरीले छेक्यो
वीरले जित्दै गए,
महत्वाकांक्षाले छोप्दै आयो
व्यापार बढिरह्यो,
लोभ झन्झन् चढिरह्यो
सेवकले आफ्नो काम
चुपचाप,
हेपिएर,
पेलिएर गरिरह्यो

ब्राह्मणले आफ्ना असक्षम सन्तान
राजाले आफ्ना हीन उत्तराधिकारी
व्यापारीले आफ्ना दुर्गुणी छोराछोरी
शुद्र बनेको देख्न सकेनन्
देउताको डर हट्दै जाँदा
ब्राह्मणका सन्तान रहे ब्राह्मण
राजाका उत्तराधिकारी भए राजा
व्यापारीका छोराछोरी व्यापारी
शुद्रका सन्तति शुद्र नै रहे
बुद्धि भए पनि ती ब्राह्मण हुन सकेनन्
योद्धा भए पनि ती क्षत्रीय बन्न पाएनन्
व्यापार मात्र पनि गर्न पाएनन्
देउता पुराणका पानामा सीमित
त्यो युगमा
वर्ण व्यवस्थाको आफ्नै व्याख्या गरेर
माथिल्लो वर्णले शोषण गरिरहे

देउता टुलुटुलु हेरिरहे
धर्म हारिरह्यो
अन्याय बढिरह्यो
कर्म मरिरह्यो
पुराणका देउतालाई कसले मान्ने ?
भए सबै आफैँ नै जान्ने !
ब्राह्मणले बाँढ्न छाडे असल ज्ञान
राजाले शासन,
व्यापारीले लुट मच्चाइरहे
रोइरहे पीडितका मन

मिथक बनेका देउता
आकाशमा बसेर
धर्तीमा भएको अन्याय हेर्छन्
उनीहरू हेर्न मात्रै सक्छन्
किनकी
उनीहरू श्रापित छन् !
वृन्दाहरूका पतिव्रता आँसु बहँदा
ती टुलुटुलु हेर्थे !
ताराहरूका छलिएका मनहरू रुँदा
ती बेवास्ता गर्थे !
एकलव्यहरू माथि अन्याय भइरहँदा
ती आँखा चिम्लन्थे !
त्यसैले आज ती मिथक बन्दा पनि
टुलुटुलु हेर्न मात्र सक्छन् !
वेदना स्वर हरपल सुनेर पनि
बेवास्ता गर्न मात्र सक्छन् !
सामाजिक अव्यवस्था देखेर पनि
आँखा चिम्लन मात्र सक्छन् !
किनकी ती श्रापित छन् !

तर
दुखेका मनहरू एकदिन जाग्नेछन्
अन्याय गर्नेहरू भाग्नेछन्
न्याय र ज्ञानको उज्यालोमा
मानिसहरू ती जागेका मनहरू हेर्नेछन्
उनीहरूले त्यस दिन देउता देख्नेछन्
बुझ्नेछन्
देउता आकाशमा होइन
धर्तीमा बाँच्दछन् !
आकाशका देउता भने
धर्तीमा टुलुटुलु हेर्नेछन्
किनकी
ती सदाका लागि श्रापित छन् !


Discover more from Stories of Sandeept

Subscribe to get the latest posts sent to your email.

Previous

Oof Holi!

Next

Monthly Feature 16: Midnight in Paris

10 Comments

  1. श्रापित देउता!!!
    वास्तवमै टुलुटुली हेर्ने मात्र हो यिनिहरुको काम,
    Paralysed छन अहिले,यदि साच्चीकै भगवान हुन्छन भने

    • Bhagwan ta pahilai dekhi paralysed bhaka hun

      • खै सत्ययुगमा त सक्रिय नै थिए रे भन्छन😅😅

        • सत्ययुगमा देउता बनेकाहरू त आकाशमा गइहाले नि 😛
          त्यता गएकाहरू फर्किदैनन्

          • भनेसी सबै देउताहरु मरिसके?😃

          • सबै देउताहरू मरेका छैनन् । तर धेरैका पद्धति मरिसके । उनीहरूले एउटा सोच्या थिए होला, अर्को भइदियो । नयाँ पद्धति बनाउने मान्छे नै देउता बन्छन् । त्यही भएर मान्छे बीचबाट देउता आउँछन् भनेको ।

          • मानव नै देव हुन।
            जसले राम्रो काम गर्छ,उ पूज्य हुन्छ र देवता कहलिन्छ। अनि त्यही मानव बीचको दानव चाहिँ त्यो हुन्छ जो निर्दयी,निरङ्कुश र अत्यचारी छ।

          • EXACTLY!

Leave a Reply

Powered by WordPress & Theme by Anders Norén