यो साता सडकपेटीको व्यापारले समाचारमा ठूलै ठाउँ पायो । ठेलामा मकै बेच्ने एक दम्पतिको ठेला महानगर प्रहरीले लगेको दृश्य कसैले सामाजिक सञ्जालमा हालेपछि तीन धारका प्रतिक्रिया देखापरे । यस लेखमा ती तीन धारका चर्चा गर्दै भविष्यका सम्भावित परिदृश्य प्रस्तुत गर्छु ।
तीन धारका प्रतिक्रिया
१. महानगरले दु:खी गरीबलाई झनै दु:ख दियो
नगर प्रहरीले जबर्जस्ती मकै पोल्दापोल्दैको ठेला लगेको दृश्य हेर्दा मेरो मनमा झट्ट आएको प्रतिक्रिया यही थियो । दम्पतीको आक्रोश र रुवाइ मनमा बिझ्यो । महानगरले गल्ती नै गरेको हो भन्ने मनमा आयो । “यही हो त नयाँ सोच लिएर आएका मेयरको काम ?” भन्ने प्रतिक्रियाका पछि लागेर मनमनै बालेन शाहलाई गाली पनि गरेँ ।
२. महानगरले जे गर्यो ठीक गर्यो
भिडियो हेरेको केही घण्टा बितिसकेपछि आएको यो तर्कअनुसार महानगरको सुन्दरता र स्वास्थ्यलाई ठेला गाडा व्यपारले बिगारेको छ । नियममा बाँधिनु नपर्ने, करको दायरामा नआउने, फुटपाथ कब्जा गर्ने कथित व्यापारीप्रति सहानुभूति जनाउनु बेकार हो । यो तर्क कानूनी र नीतिगत रूपमा ठीक होला तर व्यावहारिक नभए झैं लाग्यो । झन् रिस उठ्यो ।
३. सडकमा गरिने व्यापारलाई स्थान र समय छुट्याएर व्यवस्थित गर्न सकिन्छ
सडक व्यापार संसारभर मानिसहरूले गर्छन् । सरकार/नगरले ठाउँ र समय छुट्याउँछ । त्यहीअनुसार व्यापारीहरू आफ्ना मालसामान विक्री गर्छन् । व्यापार करको दायरामा पर्ने हुनाले अर्थतन्त्रको हिस्सा हुन्छ । अरू देशबाट समेत स्ट्रीट फुड र स्ट्रीट प्रोडक्टका चाख्न, किन्नका लागि पर्यटकहरू जान्छन् । यो प्रतिक्रिया अरूभन्दा चित्त बुझ्यो तर कुन ठाउँ र समय दिने भन्ने समस्या आउँछ । प्रशासनिक र व्यवस्थापकीय कमजोरीका कारण भनेजस्तो सजिलो होला त ? भन्ने प्रश्न उब्जियो ।
भविष्यमा के होला ?
१. कतिपय कुराहरूजस्तै यो पनि केही दिनको लागि मात्रै मसाला बन्ला । समय बित्दै गएपछि र नयाँ मुद्दा आएपछि यो विषय यत्तिकै सेलाउला ।
२. कुनै व्यक्तिलाई देवत्वकरण गर्ने अनि साना गल्ती हुँदा दानवीकरण गर्ने नेपालीको समस्या नै भइसक्यो । बालेन शाहलाई चुनाव जित्दैमा देउताजस्तो पुज्नु जरुरी थिएन । कानून कार्यान्वयन गराउन खोज्दा दानव बनाउनुपर्ने पनि छैन । पुरानो शैली नदोहोरियोस् भन्ने कामना गर्नेहरूले उचित सल्लाह र बहस गर्दा राम्रै निष्कर्ष आउला । उचाल्ने र पछार्नेदेखि बालेन शाह सजग हुनुपर्ने देखिन्छ । सफल हुनका लागि उनले सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
३. हिजो साँझ घरछेउमा ठेला गुडाउँदै, मकै पोल्दै एकजना दिदी आउनुभयो । तीस रूपैयाँ तिरेर एक घोगा मकै खाइयो । यसो सोच्दा सामाजिक सञ्जाल र समाज फरक हुन् भन्ने लाग्यो । सामाजिक सञ्जालमा मानिसहरू पक्ष र विपक्षमा बहस गर्छन् तर समाज फरक छ । समस्याका समाधान कतै बीचमा छन् ।
४. मिहिनेत गरेर खाने मान्छेले मिहिनेत गर्न पाउने वातावरण हुनुपर्छ । कानून लागू गर्छु भनेर मात्रै पनि हुँदैन । कानूनले सबैलाई सहुलियत दिनुपर्छ । प्रत्येक वडामा रहेका खाली ठाउँ वा पार्कका सीमित क्षेत्रमा सीमित सङ्ख्यामा व्यापार गर्न दिने व्यवस्था गर्न सकिन्छ । फोहोर व्यवस्थापन लगायतका समस्या आउलान् तर समस्या समाधान गर्ने उपाय खोज्न सकिन्छ ।
५. सडकमा धेरै बिक्छ भनेर पसल भएका मानिसहरू पनि पेटी मिचेर व्यापार गरिरहेका देखिन्छन् । तिनलाई कानूनअनुसार कारबाही हुनैपर्छ ।
अन्त्यमा, सडक व्यापार व्यवस्थापन गर्न भृकुटीमण्डपमा ठाउँ दिँदा शहर कुरुप देखियो भन्ने तर्क पनि देखियो कतै । झट्ट हेर्दा ठीकै हो । तर त्यसलाई व्यवस्थित बनाउनै नसकिने हो र ? त्रिपाल हटाएर विभिन्न संस्कृति जनाउने स्थायी संरचना बनाउँदा पर्यटनलाई दिगो फाइदा नै होला । अरू देशमा गरिएका राम्रा कामहरूको अनुकरण गर्न अझै सकेका छैनौ हामीले । सबैलाई फाइदा हुने काम गर्न नेतृत्व तह तयार हुनैपर्छ ।
Discover more from Stories of Sandeept
Subscribe to get the latest posts sent to your email.
Leave a Reply