बाहुन परिवारमा जन्मिएर पनि मलाई संस्कृत आउँदैन । शिक्षा प्रणाली नै त्यस्तै थियो र छ । संस्कृत भनेको पुरेत्याइँ गर्नको लागि मात्रै हो र यो मृत हुन लागेको भाषा पढेर केही हुँदैन भन्ने सोच ८-१० वर्षको उमेरमा घुस्यो । वेद, पुराण, रामायण, महाभारत, गीता आदि इत्यादि पढ्न अरू भाषाको सहारा लिनुपर्ने भयो । संस्कृत थोरै मात्रै पनि सिक्नुपर्ला भन्ने सोच आइरहेका बेला उत्प्रेरकका रूपमा “निर्विकल्प” भेटेँ ।
संस्कृत भाषा, वैदिक सनातन धर्म र हिन्दू सभ्यताका विभिन्न आयामको परिचयात्मक पुस्तक हो “निर्विकल्प” । सिद्धराज पन्तद्वारा लिखित यस पुस्तकलाई चार खण्डमा विभाजित गरिएको छ । संस्कृत वाङ्मय लगायतका विभिन्न सन्दर्भमार्फत् सनातन धर्मका बारेमा सरल शब्दमा बुझाउने प्रयास गरिएको छ ।
पहिलो खण्ड “नचिनेको मणि” मा सारा ब्रह्माण्ड र सम्पूर्ण प्राणी पृथ्वी, जल, तेज, वायु र आकाश अर्थात् पञ्चमहाभूतबाट बन्ने भएकाले “वसुधैव कुटुम्बकम” को मन्त्र सनातनीहरूले अपनाउने मत छ । यस खण्डमा सत्य एक भएपनि अनेक मत हुन सक्ने तर्क प्रस्तुत गर्दै सनातन धर्मले कुनै पनि पन्थका मतलाई अस्वीकार नगर्ने कुरामा जोड दिइएको छ । त्यस्तै, वैदिक परम्परा, श्रुति, स्मृति, इतिहास, आगम, सिद्धान्त र दर्शनको परिचय छ ।
पुस्तकको दोस्रो खण्ड “धर्म विज्ञान” रहेको छ । यसमा संस्कृत भाषाको निर्माण, सात बार किन र कसरी रहे, छन्दको मिठासजस्ता विषयहरू समेटिएको छ । साथै, श्रीमद्भागवत गीतामा रहेको निष्काम कर्मयोगको विषय पनि उठाइएको छ । एउटा अध्यायमा “धर्म निरपेक्ष” शब्दको पूर्ण रूपमा खण्डन गरिएको छ । चर्च र राजाबिचको द्वन्द्वका कारण चर्चलाई राजाका निर्ण्यबाट स्वतन्त्र राख्न आविष्कार भएको सेक्युलारिज्मको अनुवाद “धर्म निरपेक्ष” होइन । राज्यको कुनै धर्म हुँदैन भनेर “धर्म निरपेक्ष” शब्दको प्रयोग हुनु नै विस्मयकारी छ । किनकि राज्य (सञ्चालक) को धर्म जनतालाई सुख, समृद्धि, सुरक्षा आदि कुराहरूलाई सहज बनाउनु हो । पन्थ वा सम्प्रदायलाई धर्म भन्ने गरिएको प्रति लेखकको असन्तुष्टि छ जसमा म पनि सहमत छु ।
तेस्रो खण्ड “वर्णाश्रमधर्म” सोही विषयमा केन्द्रित छ । वर्णाश्रम धर्मलाई वेद, पुराण, स्मृति, इतिहास सबैमा महत्त्व दिइएको छ । “निर्विकल्प” मा पनि मनुस्मृति र महाभारतको शान्तिपर्वमा वर्णित वर्णाश्रम व्यवस्थाको चर्चा गरिएको छ जसले ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्रका विशेषताको बारेमा जानकारी पाइन्छ । चारै वर्णका धर्मका विषयमा विशेष चर्चा छ । वर्णाश्रम न्याय प्रणालीमा शुद्रलाई कम सजाय र ब्राह्मणलाई सबैभन्दा धेरै सजाय दिइने कुरा पढ्दा आश्चर्यमा परेको थिएँ । यसमा लेखकको तर्क यस्तो किसिमको छ, “कुनै विशेषज्ञ चिकित्सकले लापरबाही गरेमा उपचाररत व्यक्तिको मृत्यु हुन सक्छ र उसले ज्यानमारा मुद्दा खेप्नुपर्ने हुन सक्छ तर सफाइ गर्ने कर्मचारीको गल्ती क्षम्य हुन सक्छ ।”
त्यस्तै, यस खण्डमा कोभोडलगायतका विभिन्न उदाहरण दिएर छुवाछूत कुनै न कुनै रूपमा हुने तर्क दिइएको छ । छुवाछूतका भौतिक, मनोवैज्ञानिक र सामाजिक कारण केलाउँदै छुवाछूत संस्थागत भएको हालको अवस्थाको पनि विरोध गरिएको छ ।
अन्तिम खण्ड “आततायी कालखण्ड” हिन्दू जातिले भोगेका आक्रमण र तिनबाट भएको धर्म र सनातनीको क्षयीकरणलाई समेटेको छ । इस्लाम पन्थको सुरुवात, “काफिर” विरुद्धका आक्रमण, हिन्दू राज्यमाथि गरिएका छलकपट र लुटको विवरण छ । नालन्दाजस्ता विश्वविद्यालयमा हुने विद्यार्थी छनौट प्रकृया, वरपरका गुरुकुलको वर्णन साथै तिनको विनाशको चर्चा छ । राति विवाह गर्ने, हिन्दू नारीहरूले घुम्टो लगाउने, बालविवाहजस्ता प्रचलन त्यही बेला सुरु भएको रहेछ । यस्तै विवरण लेखनाथ पौड्यालको “सत्य-कलि-संवाद” मा पनि रहेछ्न् ।
यस खण्डमा अङ्ग्रेजले भारतमा गुरुकुलहरू लाखौंको सङ्ख्यामा रहेको, त्यहाँ पढ्नेमा शुद्रहरूको सङ्ख्या बढी रहने गरेको र त्यस प्रणालीलाई अन्त्य गर्न अङ्ग्रेजी शिक्षा प्रणाली सुरु गरी भारतीयलाई सोतर्फ आकर्षित गरेको कुरा प्रमाणसहित दिइएको छ । विस्तारै गुरुकुल परम्परालाई नाश गर्दै भारतीयको आत्मविश्वास गिराउने काम अङ्ग्रेजले गरेको तर्क लेखकको छ । नरेन्द्र मोदी प्रधानमन्त्री भएपश्चात् केही आत्मविश्वास बढेको विश्वास लेखकको रहेको छ ।
पुस्तकमा अलि चित्त नबुझेको कुरा चैं वर्णाश्रम धर्मलाई विदेशीले फुटाउन प्रयोग गरे भन्ने तर्क हो । वर्णाश्रम साँच्चिकै शास्त्रानुरूप चलेको भए विदेशीले अपव्याख्या गर्न सक्ने नै थिएनन् । ब्राह्मणको छोरा ब्राह्मण र राजाका छोरा राजा नै हुने प्रसङ्गहरू महाभारतमै पनि टन्नै छ्न् भने मुस्लिमहरूको आक्रमण हुने बेलासम्ममा के अवस्था थियो होला ? महाभारतमा विदुरलाई छाडेर दासपुत्र उच्च ओहदामा पुगेको याद छैन । दासदासी राख्ने चलन थिएन र राख्दा पनि सम्मानसाथ राखिन्थ्यो भन्ने तर्क पनि अलि कमजोर नै छ ।
नेपालमा सनातन धर्ममा मुस्लिम आक्रमणले पारेका प्रभाव खासै केलाइएको छैन । नेपाल र भारतका परम्पराहरू किन फरक छ्न् भन्ने विषयमा केही चर्चा गरिएको भए हुन्थ्यो । “हिन्दू” शब्दको व्याख्यामा जम्बुद्वीप पूरै अटेको छ तर यही उत्पन्न बौद्ध, जैन, किराँत, जस्ता पन्थ र दर्शनको खासै चर्चा छैन । त्यस्तै, अन्तिम खण्डमा “सङ्गम टक्स” युट्युब च्यानलमा गरिएका प्रस्तुतिहरूलाई धेरै ठाउँमा स्रोतका रूपमा लिइएको छ । धेरै स्रोतहरू समेटिएको भए अझै राम्रो हुने थियो । एउटै स्रोत प्रयोग गर्दा बायस्डनेस हुने कुरा पेशाले इन्जिनियर समेत रही सक्नु भएका लेखकले याद गर्नुपर्थ्यो ।
अन्त्यमा, सनातन धर्म र यसका विशेषताको चर्चा गरिएको “निर्विकल्प” एक पठनीय पुस्तक हो । यसलाई थुप्रै एपमा सित्तैमा डाउनलोड गर्न सकिन्छ ।
सञ्जीव उप्रेतीको “घनचक्कर” उपन्यासको वाचक ठाउँठाउँमा “खोज” र “थाहा” लेखिएको देख्छ । “यो सबैतिर कसले लेखेको होला ?” प्रश्न गर्छ । उत्तर आउँछ, “मकवानपुरतिरका एक शिक्षकले ।” घनचक्करले सङ्केत गरेका शिक्षक रहेछन् थाहा आन्दोलनका प्रणेता रूपचन्द्र बिष्ट । तीन वर्षअघि तिनकै जीवनमा आधारित “रूदाने” नामको चलचित्रको पोस्टर र टिजर हेरेपछि उनी को होलान् भन्ने खुल्दुली बढेको थियो । यद्यपि उनको बारेमा धेरै कुराहरूको ज्ञान भने थिएन । “रूदाने” नाममै उपन्यास आउन लाग्यो भनेर प्रवीण ढुङ्गेलले बुकाहोलिक्समा पोस्ट गर्नुभएपछि यो किताब प्रकाशन हुनासाथ पढ्नुपर्छ भन्ने लाग्यो ।
एम्बिसन गुरु एपमा इबुक छ भन्ने पत्ता लागेपछि किनेँ तर एपको रिडर भर्खर बनेको रैछ । किताब पढ्न मिल्ने तर न अध्याय छान्न मिल्ने न त हाइलाइट र बुकमार्क राख्न । पेपरब्याक ६०० रूपैयाँमा पाइने भनेर त भनेकै थियो विज्ञापनमा । एक दिनभित्र पाइने भनेर मगाइयो ।
तर केही समस्याले गर्दा एक दिन पछि मात्रै हात पर्यो ।
विषय सूचि
उपन्यासको संरचना
आवरण राम्रो लाग्यो । छाप्रोको भित्तामा रूदाने नाम, “रू” बाट निस्किएको हाते स्पिकर र त्यसबाट ध्वनि जसरी आइरहेको “थाहा” । पढ्न थालियो । छोटाछोटा वाक्य अनि छोटै अध्यायहरू । छिटो सकिने जस्तो लागेपछि पढ्ने जोश झनै बढ्यो । छोटा वाक्यहरूले कतैकतै दु:ख पनि दिए । एउटै वाक्यमा भन्न सकिने कुराहरू पनि टुक्रिएर आउँथे । उदाहरणका लागि :
“ढिलासम्म सुत्ने र उठेपछि गाउँ डुल्न निस्किने । मुख्य काम ।” (पृ. ५)
“धेरै मजदुर बालुवा निकालिरहेका थिए । पुरनमान थियो । उसका लठैतहरू थिए ।” (पृ. २७)
पृष्ठ ११ को “आँसु” अध्यायको पहिला दुई वाक्यमध्ये एउटा हटाउन मिल्छ:
“गोपाली गाउँबाट घोडा दौडिएको घर्तीखोलाबाटै देखियो । एक साँझ हाम्रो ध्यान गोपाली गाउँतिर सोझियो ।”
त्यस्तै, उमा शाहले बच्चा जन्माएर स्कूल फेरि जान थालेपछि छोरी जन्मेको देखाइएको छ (पृ. १३२, १३३, १३६, १३७)। पृष्ठ १९७ मा “गोडमेल” भन्ने एउटा शीर्षक भेटिन्छ । यो छुट्टै अध्याय हुनुपर्ने होला । अन्तिम अध्यायमा न्यारेटर परिवर्तन हुँदा को हो ठ्याक्कै खुल्दैन । कुनै भाइ जस्तो लागेको थियो तर एक ठाउँ स्त्रीसूचक क्रियापद प्रयोग गरिएकाले बहिनी गीता हुन् कि ?
रूपचन्द्र बिष्ट अर्थात् रूदाने
उपन्यासका मुख्य वाचक/नायक रूपचन्द्र बिष्ट (रूदाने) झर्रो बोली बोल्छन् । सुरुमा त ठीकै लाग्यो । कतैकतै हासो नि लाग्यो । तर पूरै उपन्यास भरी एउटै टोन नभएको भए हुन्थ्यो । पढ्दै जाँदा नायक त बाहुबली नै हुन् कि झैं लाग्ने । पछि बुझ्दा त बलबुद्धी दुवैमा तगडा रहेछन् । “मात चढेका बेला” साँढेसँग जुध्ने उनी अरूले बोलेका कुरा जस्ताको तस्तै भनिदिने रहेछन् । पन्ध्र मिनेट बोलेको कुरालाई पाँच मिनेट, तीन मिनेट, एक मिनेट र एक वाक्यमा छोट्याउन सिकाउने रहेछ्न् । संक्षेपीकरणको अभ्यास उनका नामहरूमा पनि देखिन्छ । जस्तै, रूपचन्द्र दामन नेपाल (रूदाने), जनमुखी सदस्य रूपचन्द्र (जसरू), स्वतन्त्र रूपचन्द्र (स्वरूपे) आदि । उनले औपचारिक पठन बाहेक अतिरिक्त क्रियाकलापलाई पनि प्रश्रय दिएका रहेछन् । बालेन शाहले काठमाडौं महानगरमा सुरु गरेको “बुक फ्री फाइडे” जस्तै कृषिसम्बन्धी दैनिक स्कूलमै सिकाउने कार्य त रूपचन्द्रले पहिल्यै सुरुवात गरेका रहेछन् । राजनीति, समाज, देशका बारेमा पनि उनले सबै विद्यार्थीलाई सिकाउने गरेका रहेछन् । नेपालीमा पढ्दा पनि नबुझिरहेका विद्यार्थीलाई अङ्ग्रेजीमा पढाउँदा विरोध पनि गरिएछ । ज्ञानको दायरा बढाउन पनि अङ्ग्रेजी पढ्नुपर्छ भन्ने तर्कका आधारमा उक्त कार्यलाई निरन्तरता दिइएछ ।
साविकको अमरज्योति निमाविलाई जनकल्याण मावि बनाएर प्रधानाध्यापक बन्नुअघि उनी प्रधानपञ्च पनि बनेका रहेछन् । विकास कार्यका लागि आफैं ढुङ्गा फोड्न जाने, ढुङ्गा बोकाउन लगाउने र जनश्रमदानको प्रसङ्गमा भने हर्क साम्पाङ सम्झिएँ । फटाहा र भ्रष्टचारीसँग बोल्ने तरिका दुवैको उस्तैउस्तै लाग्यो । विकास गर्ने क्रममा पञ्चायतका मतियारहरूसँग दुश्मनी पनि भयो । पछि उनले सुरु गरेका उन्नत बाली उब्जाने, विकासे नश्ल भित्र्याउने, विकासका कामहरूका विषयमा छलफल गर्न बनाउन सुरु गरेको विकास घर र अन्य योजनाहरू असफल बनाइयो ।
सारा गाउँलाई साक्षी राखेर विवाहसभा गरेर उमा शाहसँग विवाह गरेका उनको विवाह सम्बन्ध टुट्यो । लगभग त्यही समयमा विद्यालयमा भएको व्यापक विरोधका कारण प्रधानाध्यापक पदबाट राजीनामा दिनुपर्यो । पञ्चायतका समर्थकले उनको पिछा गरे मार्नै खोजे । देवघाटमा भतिजहरूको व्रतबन्ध भइरहेको बेला अनौठो हर्कत गर्दै नारायणीमा फाल हाले ।
जोगीको भेष धरेर फर्किएका उनी भाइको आग्रहमा दामनको भ्यु टावरमा बस्न थाले । उनमा केही परिवर्तन आएको जस्तो देखिन्छ । सामन्तीकै पक्षमा रहेका भनेका भाइ गुणचन्द्रको कुरा मानेर त्यहाँ बसे । राजनीतिक उचाइ पनि त्यहीँ बसेकै बखत पाए राष्ट्रिय पञ्चायतको दुईपटक सदस्य भएर । पञ्चायत प्रणालीमा रहेर पञ्चायतकै विरोध गर्दै राजनीति गर्न पारिवारिक साथ पनि मिल्यो । राष्ट्रिय पञ्चायतको दोस्रो कार्यकालमा भने बाबुको इच्छा पुर्याउन करमा घर बनाउँदा (पछि दाजुभाइकै बीचमा किचलो पनि उब्जियो) अनि सुविधाको गाडी लिँदा उनका प्रतिद्वन्द्वीले विरोध गरे । त्यस कुराले बहुदल पुनःस्थापनापश्चात् भएको चुनावमा उनलाई घाटा पुग्यो । यद्यपि उनलाई गाली गर्दै सर्वहाराको प्रतिनिधित्व गर्छौं भन्दै ब्रह्मलुट गरिरहेकै छन् । सङ्गठन नहुनु पनि उनको हारको कारण थियो तर सङ्गठन किन नबाउने भन्ने कुरामा भने उनी प्रष्ट थिए :
सङ्गठनले हामीलाई पक्षपाती बनाउँछ । हामी निष्पक्ष हुन सक्दैनौँ । एउटा सङ्गठनमा भएपछि मैले गल्ती गरेँ भने पनि तिमीहरूले मलाई चुपचाप साथ दिनुपर्छ । सङ्गठन भन्नेबित्तिकै कोभन्दा को ठुलो भन्ने कुरा सबभन्दा अगाडि आउँछ । (पृ. २०७)
जीवनको अन्त्यतिर थाहा पाउनुपर्नेले थाहा पाएनन्, पाएकाले पनि साथ छोडेकाले उनी विरक्तिएको कुरा पढ्दै गर्दा मन साह्रै कुँडियो । रूपचन्द्रले स्वतन्त्र हुँदा पाएको सूर्य चिह्नको फाइदा एमालेले लिएको रहेछ भन्ने थाहा पाउँदा छक्कै परेँ । बालेन र हर्कले लौरो चिह्नमा छुट्टाछुट्टै ठाउँमा जितेपछि त्यही चिह्न लिएर मधुसूदन पाठक (सिते बा) हरूले पार्टी खोलेको कुरा झट्ट याद आयो ।
उपन्यासका कमजोर पक्ष
“रूदाने” को सबैभन्दा कमजोर पक्ष तिथिमिति, उमेर ठ्याक्कै नहुनु हो । तिथिमिति थाहा पाउन इतिहासका धेरै कुरामा जानकार हुनुपर्छ । राणाकाल कहिले सुरु भयो, पञ्चायत कहिलेदेखि लागू भयो, जनमतसङ्ग्रह कहिले भयो, जनआन्दोलन कहिले भयो भन्ने त याद थियो । तर रूपचन्द्र बिष्ट प्रधानपञ्च कहिले भए, उनको विवाह कहिले भयो, नारायणीमा कहिले फाल हाले अनि कति समय हराए, राष्ट्रिय पञ्चायतका सदस्य कहिले भए भन्ने प्रश्नहरूको जवाफका लागि अरू सामग्रीको आवश्यकता पर्छ । उपन्यासकारले रूदानेले झैं, “आफैं थाहा पा भाते, पत्ता लगा” पो भनेका हुन् कि ?
उपन्यासको अर्को कमजोर पक्ष शोविङ (showing) भन्दा टेलिङ (telling) को ज्यादा प्रयोग हो । “कविता लेखेँ” भनेको ठाउँमा उनले लेखेकामध्ये कुनै कविता राख्न सकिन्थ्यो । कसैलाई केही कुरा भनेको वा छलफल भएको भनिएको विषयमा दोहोरो संवाद राखिएको भए हुन्थ्यो । उपन्यासका रूदाने धेरैजसो पर्चामा लेखिएका र केही पुराना रेकर्डमा भनेका कुराहरू संवादका रूपमा बोलिरहन्छन् । वाचक मात्रै बोलिरहँदा वास्तविक रूपचन्द्र विष्ट आफू मात्रै बोल्थे अरूका कुरा सुन्दैनथे कि भन्ने पर्यो । अरूका कुरा नसुन्ने त थिएनन् होला । नारायणीमा फाल हानेर साधुको भेषमा आएपछि अनि राष्ट्रिय पञ्चायतको सदस्य भएपछि भाइको कुरा सुनेका प्रसङ्गले गर्दा उनी अरूका कुरा सुन्दैनथे भन्न पनि सकिँदैन ।
रूपचन्द्र विष्टले “व्यवस्था निर्दलीय राजनीति बहुदलीय हुनुपर्छ” भनेका रहेछन् विमर्शसँगको अन्तरवार्तामा (स्रोत: थाहा-निष्पक्ष सक्रियताको अभ्यास, पृ. २२४, https://thaha-rudane.org/) । उपन्यासमा पनि यो नारा आउँछ तर व्याख्या भने आउँदैन । यो विषय मलाई एकदमै रोचक लाग्यो तर ठ्याक्कै कस्तो हो बुझ्नै सकिनँ । फेरि त्यही अन्तरवार्तामा (किताबमा अलि पछि) “बहुदलीय बहुला व्यवस्था हो । निर्दलीय निर्दयी व्यवस्था हो ।” भनेका रहेछन् । बहुला र निर्दयी व्यवस्थाको संयोजन ठीक होला र भनेर न पत्रकारले सोधेका छन् न त उपन्यासका कुनै पात्रले ।
केही गहकिला नारा पनि छुटेका रहेछन् । जस्तै :
एक प्रश्न
चार माना माटोसँग तेरो नाता पर्यो भनेर माटाको भाँडाले तँसित दोस्ती सोस्ती गर्यो भनेर बसिस् कैद गमलामा सिङ्गै पृथ्वीलाई छोडेर ।
हामी कसैका होइनौं, कोही हाम्रा होइनन् हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो
उपन्यासका सुन्दर पक्ष
घटनाक्रमको शिलशिलेवार प्रस्तुति, रूदानेका जीवनका मुख्य घटना र थाहा दर्शनको परिचय यस उपन्यासका सबल पक्ष हुन् । अघिल्लो पुस्तामा केही छाप छोडेका तर पछिल्लो पुस्ताले बिर्सिन लागिसकेका पात्रको बारेमा थप जान्ने उत्सुकता जगाउन उपन्यास सफल छ । रूपचन्द्र विष्टको विगतलाई हेर्दै वर्तमानमा केही पाठ सिक्न सकिन्छ जुन यस लेखको अन्त्यमा समेटिएका छन् ।
केही बिझेका कुरा
यो जीवनी नभएर उपन्यास भएकाले औपन्यासिक स्वतन्त्रताको अपेक्षा स्वाभाविक नै हो । यद्यपि लेखकले नै किताबमा “यस्तो त भएको थिएन भन्ने लाग्यो भने लेखकको सफलता हो” लेख्दा चैं संशय जाग्यो । “घनचक्कर”को वाचकले कुन सत्य कुन कल्पना कुन घटनाको कस्तो शिलशिला थाहा नपाएजस्तो रनभुल्लमा त परिएन ?
धेरै ठाउँमा रूपचन्द्रले आफूले गरेको ठीक अरूले गरेको बेठीक भनेका छन् । पञ्चायतको समर्थन पनि गरेका रहेछन् । उपन्यासमा यो कुरै छैन । उनले पञ्चायतको नेतृत्वमा सबै नराम्रा छैनन् केही नराम्राले हैकम जमाएका छन् भने झैं गणतन्त्रका नेताहरूका बारेमा पनि सुन्दै आएको कुरा हो । फेरि बहुदलीय पद्धतिले जित्ने भएपछि अवसरवादी झैं यसको समर्थन गरेको देखिन्छ उपन्यासमा । यस्तो हैन भन्ने लेखहरू पनि भेटिए तर खुङ्खार पञ्चे, मण्डलेहरू प्रजातन्त्रका हिमायती बनेर शासन गरिरहेकै छन् । कुन वयवस्था ठीक भन्ने कुराको बहस जरुरी थियो ।
स्वास्थ्य सुधार भइरहेका बेला किन बिरामी परे अनि मृत्युअघि के स्वास्थ्य समस्या देखिएको थियो भन्ने कुरा उपन्यासमा प्रष्ट छैन । कुनै षड्यन्त्रमा परे कि भनेर कुनै पात्रले सोचेका पनि छैनन् ।
धनुष के. को “थाहा” नाम गरेको युट्युब च्यानलमा रामनारायण बिडारीलाई विरोधी समूहले जनकल्याण मावि मा भर्ना गरेर ल्याएको भनिएको रहेछ । रामनारायण बिडारीले पनि पद्मोदयमा पढाई छाडेर जनकल्याण गएको अनि रूपचन्द्र बिष्टका विरुद्धमा नाराबाजी गरेको स्वीकारेका छन् । तर गुरु रूपचन्द्रले बिडारीलाई विश्वास गरेर पटकपटक मौका पनि दिएका छन् । तर फेरि एक ठाउँमा बिडारीलाई ढिलो आएको भनेर मुखमा थुकेको अनि बिडारीले अत्ति भयो भनेर चुनावी प्रचारप्रसार छोडेको प्रसङ्ग पनि छ । वर्षौं सँगै हिँडेका चेलालाई ढिलो भएकै कारण थुके होलान् भन्ने चैं पत्याउनै गाह्रो भयो । अनि पछि बिडारी काठमाडौं-१ बाट चुनावमा उठेका बेला सहयोग गर्न पनि आए । यी गुरुचेला बिचको सम्बन्धमा भएका उतारचढाव त देखियो तर घटनाक्रमका कारण र भावनाहरू अलि नमिलेजस्तो, केही नपुगेजस्तो लाग्यो ।
अजेयराज सुमार्गी अति नै सकारात्मक रूपमा आउनु पनि मलाई अचम्म लाग्यो । नेपालका सबै नेतालाई खल्तीमा राख्छु भन्ने विवादित व्यापारी सुमार्गीले जनमुखी राजनीति गरेका त होलान् तर आफ्नै फाइदाको लागि हो कि ? “रूदाने” पुस्तक विमोचन उनकै हातबाट गरिएको रैछ । विष्टको परिवार वा आफन्तबाट कोही किन थिएनन् मञ्चमा ? थाहा आन्दोलनमा लागेकाहरू नै एकअर्का प्रति पूर्वाग्रही भएका हुन् कि ? रूपचन्द्रका भतिज रणसङ्ग्राम बिष्टले त सुमार्गीलाई कालाकुवेरको संज्ञा दिँदै थाहा दर्शन भन्दै कालो धन जोडेको आरोप नै लगाएका रहेछन् । तथापि घर बनाउने बेलामा भएको मुद्दामामिला पछि रूपचन्द्रले दाजुभाइसँग खासै सम्पर्क नगरेजस्तो उपन्यासमा देखिन्छ । दागबत्ती दिनसमेत स्वनाम साथी (शशि शेरचन) लाई रूपचन्द्रले छानेको र सोहीअनुसार गरिएकाले घरपरिवारले नै वास्ता नगरेको हो कि भन्ने पनि प्रश्न उब्जिन्छ ।
केटाकेटी बिग्रे बाबुआमा दोषी जनता बिग्रे सरकार दोषी सरकार बिग्रे व्यवस्था दोषी यथार्थमुखी, कर्तव्यमुखी बाहेक पछुवा, भगुवा सारा दोषी
जात ठुलो कि जनता ? नाता ठुलो कि न्याय ? स्वार्थ ठुलो कि निस्वार्थ ?
– रूदाने
समाज बिग्रेको, देश बिग्रेको हामी देखिरहेका छौँ । जता हेर्यो त्यतै दूषित सोच र राजनीति देखेर वर्तमान पुस्ता आजित भएको छ । आफ्नो र आफ्नो परिवारको पेट भर्नु नै प्राय: सबैको चिन्ताको विषय बनेको छ । चरम राजनीतिकरण र दलीयकरणले हामीलाई दास बनाइरहेकै छ जसका बारेमा पहिले पनि लेखिसकेको छु : के नेपालीको दलीय सोच तोडिएला ? । प्रजातन्त्र लोकतन्त्र जे भने पनि सत्तामा रहनेकै हालीमुहाली छ । लोकतन्त्रमै शङ्का छ । स्वतन्त्रता नाम मात्रैको छ (के हामी स्वतन्त्र छौँ ?) । रूपचन्द्र विष्ट राजनीतिमा आउँदा गरीब जनताको अवस्था जस्तो थियो अहिले पनि त्यस्तै छ । समयसँग आउनेबाहेक तात्विक परिवर्तन छैन । समाज पावर र पैसाको पछि कुदेको छ । पावर र पैसा हुनेहरू मैमत्त साँढेजस्ता छन्, कामवासना र मदिराका दास बनेका छन् । धर्म (नैतिकता) बिर्सेका छन् । एकले अर्कोलाई विश्वास गर्नै सकिँदैन । यस्तोमा हामी एकजना मसिहा वा नायक खोज्दैछौँ जसले सारा समस्या एक झट्कामा समाधान गरिदियोस् । तर मसिहाले समस्या समाधान गर्ने हैन । आफ्नो लडाईं आफैं लड्ने हो ।
रूदानेले पनि त्यही नै भनिरहे । छाप्रेको राजनीति महल हुनेले गर्दैन । महिलाको राजनीति पुरुषले गर्दैन । विकास कुनै नेताले ल्याउने हैन, जनता आफैंले हो । यसतर्फ काम भइरहेजस्तो त देखिन्छ तर जबसम्म सबै जाग्दैनन् तबसम्म देश विकास हुन असम्भव छ । जे छ ठीक छ भन्ने प्रवित्ति त गलत हो नै, भएका सम्पदा नचिन्नु र चिनेर पनि उपयोग गर्न नसक्नाले हामी गरीब बन्दै गएका छौं । केही व्यक्तिले प्रयास गरेर देश विकास हुने हैन । त्यसबेला रूदाने वैकल्पिक राजनीति गर्दै थिए, अहिले बालेन, हर्क, गोपी हमालहरू आएका छन् । विरोधीहरूको पनि कमी छैन । पहिला पञ्चायत र पछि दलहरू रूपचन्द्रलाई सिध्याउन लागे । अहिले राजनीतिक दलहरू स्वतन्त्र व्यक्तिहरूमा के कमजोरी भेटिन्छ र प्रहार गर्न सकिन्छ भन्ने दाउ खोजिरहन्छन् । यिनलाई असफल बनाएर होस् वा यिनकै कार्यलाई अपनाउदै होस् जनतालाई भ्रमित बनाउन लागिपरेका छन् । पञ्चायतकालमा दरबार र दरबारका आसेपासेले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबै कब्जा गरेका थिए । अहिले “राजनीतिक” दलहरूले त्यस्तै गरेका छन् । पञ्चायत कालमा झैँ अहिलेका दलहरू सुकुम्बासी उत्पादन गर्न उद्दत छन् सस्तो काम र भोटका लागि ।
चरम राजनीतीकरण विरुद्ध केही प्रयास भए पनि ती पर्याप्त छैनन् । दलीयकरणको विरोध गर्न दल नै खोल्नुपर्ने अफ्ठ्यारो व्यवस्था छ । बहुदल लागू हुँदा पञ्चायतलाई “खाए पाएर अघाएका” र बहुदलवादीलाई “खान नपाएका” भन्दै “हेर्दै जानू बहुदलवादीले कसरी देश बिगार्छ्न्” भनेका रहेछन् । नभन्दै बहुदलवादीले देशलाई उल्टो बाटोमा लगेका छन् । व्यवस्था अन्त्य गर्न नदिन जनता फुटाएका छन् दल, जातजाति अनि अनेकौँ नाममा । “व्यवस्था ठीक छ, अवस्था मात्रै बेठीक हो” भन्ने साथीहरूले पनि व्यवस्था ठीक नभएरै अवस्था ठीक नभएको हो भन्ने बुझे हुन्थ्यो । अहिले उदाएका स्वतन्त्र आवाजहरू थाक्लान्, धर्ती छाडेर जालान् । उनीहरूका नाममा अरूले राजनीति गर्लान् । नागरिकले आफ्नो लडाईं नलडेसम्म खुद्रे राजनीतिक परिवर्तनलाई क्रान्ति भन्नुपर्ने अवस्था रहिरहनेछ । त्यसैले प्रश्न गरौँ, खोजौँ, बुझौँ, थाहा पाऔँ !
लोक सेवाको परीक्षा केन्द्र राखिएको एउटा स्कूल । अलि छिटै पुगेकाले यताउता गरिरहेको थिएँ । आँप(?) को रूखमुनि उभिएर अगाडिको ब्लकतिर हेरिरहेको थिएँ । एउटी सानी (सायद कक्षा एक या दुईमा पढ्ने) केटी झ्यालमा आइन् । उनी सँगै आए तीनचार जना अरु केटीहरू । “ओहो ! आज कति धेरै कति धेरै नौला मान्छेहरू !” उनीहरू भनिरहेका थिए । जिज्ञासा पनि थियो आफूआफू बीचमा, “आज के हो ? किन आएका यी मानिसहरू?”
हामी पनि त स्कूलमा नयाँ मानिस आउँदा यस्तै कुराकानी गर्थ्यौं नि ! “को आए ? किन आए ?” जस्ता प्रश्नले मन उथलपुथल हुन्थ्यो । जवाफ नपाउन्जेल आँखा कक्षा बाहिर डुल्थे । तर बाहिर हेर्ने अनुमति कहाँ हुन्थ्यो र ? गुरु, गुरुआमाहरूले थाहा पाउनुभयो भने त सजाय पनि हुन्थ्यो । कक्षामा पढाइ नभएका बेला (लिजर)मा मात्रै बाहिर हेर्न पाइन्थ्यो । त्यो पनि डराइ डराइ !
यी साना नानीहरूको पनि लिजर पो थियो कि ? नभए त शिक्षकले बाहिर हेर्न पक्कै दिँदैनथे । उनीहरूको क्रियाकलापले भने मलाई तोत्तोचानको याद दिलायो । “सन् १९३० तिरकी जापानी तोत्तो-चानको सन् २०२० को दशकका नेपाली नानीहरूसँग के सम्बन्ध ?” एक मनले जवाफ माग्यो । अर्को मनले भन्यो, “बालसुलभ चञ्चलता त जहाँ र जहिले पनि उस्तै हुन्छ, हैन ?” मनको वादविवाद चलिरहेकै बेला परीक्षार्थी मध्येकी एक महिलाले ती बालिकाहरूतिर हेरेर हात हल्लाइन् । जवाफमा सुरुमा झ्यालबाहिर हेर्ने अग्ली केटीले हात हल्लाई । म अनायास मुस्कुराएँ । उनीहरूले भने मलाई याद गरेनन् । केही बेर पछि तिनै साना नानीहरू म उभिएको ठाउँमा हेर्न थाले । मैले हात हल्लाएँ । उनीहरू लजाए । अघि एक अपरिचित महिलालाई सजिलै हात हल्लाएका नानीहरू अहिले एक अपरिचित पुरुषसँग भने लजाए । त्यसमा सायद डर पनि मिसिएको थियो कि ?
***
इन्टु मिन्टु लण्डनमा
हाम्रो बाबा पल्टनमा
स्कुलको पाले दाइ
पहिलो घण्टी बजाइदेऊ
टिनिनिनिनी… झ्याप्प
एकछिनपछि बच्चाहरूले गीत गाउँदै खेलेको सुनियो । नोस्टाल्जिक भइयो । यो गीतिखेल कति पुरानो हो थाहा छैन तर सानामा खेलेको याद अझै ताजा छ । सुगम पोखरेलको एउटा गीतमा पनि यो अट्यो । धेरै अघि नै बालबोलीमा बसिसकेको यो गीत अहिलेका केटाकेटी पनि यही गीत गाइरहेका छन् । केही वर्षपछि सायद मेरी छोरी पनि यो खेलमा सहभागी हुनेछिन् र सायद उनीपछिको पुस्ता पनि।
यति शक्तिशाली यो गीतिखेल कसले सुरु गर्यो होला ? कसरी फैलियो होला ? मन कल्पिन थाल्यो । कतिपय कुराहरु जीवनमा यसरी धुलिएका हुन्छन् कि तिनको सुरुवात कसरी भयो भन्ने कुरा कल्पना समेत गरिँदो रहेनछ । तर अब भने यो बालखेलको रचयिताबारे जान्न मन भयो । जान्न मन भयो इन्दु र मिन्टु को थिए ? कसरी लण्डन पुगे ? गीत गाउने बच्चाका बाबु पल्टनमा कसरी पुगे ? कुन पल्टनमा छन् अनि कहाँ लडाई गर्दैछन ? फर्किएर आउलान् कि नाउलान् ? जिउँदै आउलान् कि बाकसमा ?
मनमा आएका यी प्रश्नहरूको उत्तर भेटिएन । तर जवाफको अभावमा मन कहाँ शान्त भयो र ? यो त झनै छट्पटियो । अरू प्रश्नलाई थाती राखेर इन्दु र मिन्टु कस्ता थिए होलान् र कसरी लण्डन पुगे होलान् भनी कल्पिन थाल्यो । इन्टु मिन्टु सम्भ्रान्त वा लाहुरे परिवारमा जन्मिएका थिए कि ? कम्तीमा ४० वर्ष अघि गीत रचिएको थियो भने त्यो कालखण्डमा लण्डन जाने ल्याकत धनीमनी र बेलायती गोर्खा रेजिमेन्टमा सैनिक सेवामा भर्ती हुनेसँग मात्रै थियो । धेरै सम्पत्ति भएका तर ठूला व्यापार नभएका धेरै नेपाली परिवार बेलयात मात्रै होइन, अमेरिका, अस्ट्रेलिया र युरोपेली देशहरूप्रति आकर्षित हुने गरेको धेरै समय भइसकेको छ । उनीहरू यहाँ अवसर देख्दैनन् । अवसर भए पनि विदेशी मुद्रा साटेर आउने रकम र उताको जीवनशैलीको लालसाले गर्दा नेपालमा अडिन सक्दैनन् । पछि केही मध्यम वर्गीय परिवारका सदस्यहरू पनि यही सिको गर्दै उता पुगे । अहिले रहरले देश बस्नेको सङ्ख्या नगण्य छ ।
गीतिखेलका पात्रहरूका बाबाहरू पल्टनमा छन् । कुन पल्टनमा होलान् बाबा ? बेलायती गोर्खा पल्टनमा कि भारतको गोर्खा पल्टनमा ? सिंगापुरमा कि हङकङमा ? खाडीमा पसिना चुहाउँदै छन् कि ? कतै कुल्ली र दरबानको काम गर्दै मुस्किलले कमाइरहेका छन् कि ? गाउँघरमा पल्टने हुँ भन्दा मान बढ्ने भएकाले पल्टनमा छु भनेर ढाँटेका पो हुन् कि ? इन्टु मिन्टु जति सुरक्षित र सम्पन्न छैनन् कि ? सम्पन्न हुन पनि सक्छन् तर यी बाबाहरू सुन्दर भविष्य लागि ज्यान हत्केलामा राखेर श्रम बेच्न पुगेका पक्कै हुन् ।
हाम्रो पुस्ता केही हदसम्म “पल्टने” बाबाहरूले पालेका हुन् । तिनका छोराछोरीले पनि त्यही बाटो अँगालेका छन्। जुन सङ्ख्यामा देश छोड्नेको लर्को छ, त्यसले हामीलाई सङ्कटमा लाने निश्चित छ । तर पनि राज्य गम्भीर बनेको छैन। हुन त उसले जनतालाई विदेशमा बेच्ने नीति लिएको छ । उसका कान बन्द छन् । सुन्न तयार छैन युवा पुस्ताको क्रन्दन । युवा पुस्ता सरकारी सेवा प्रति पनि आक्रोशित छन् अनि निजी संस्थामा हुने श्रम शोषणले गलेका छन् । केही युवाहरू सरकारी जागिरको चौतारीमा आराम खोजिरहेका छन् । म आफैँ पनि त्यस्तो चौतारी खोज्दैछु । खोज सफल हुन्छ हुँदैन थाहा छैन तर यसले पनि सन्तुष्ट बनाउला जस्तो लाग्दैन । राजनीति र प्रशासनमा युवाहरूको दह्रो हस्तक्षेप नभई अहिलेको अवस्था परिवर्तन हुन सक्दैन । यद्यपि, नवपुस्तामा भरिएको निराशा समाधान नहुने हो कि भन्ने डर छ । यो अन्तत: देशका लागि नै घातक हुन सक्छ । यो अन्धकारको अवस्थाबाट उज्यालोतर्फ लाने शक्ति युवाहरूमै छ । हामीहरू संयमित, इमान्दार र लगनशील हुन चाहिँ आवश्यक छ ।
यूरेसियन र इन्डियन टेक्टोनिक प्लेटहरूको टकराव पछि बनेको हिमालय पर्वतमा अवस्थित नेपाल भूकम्पीय दृष्टिकोणले जोखिममा रहेको क्षेत्र हो । भूकम्पको विषयमा ऐतिहासिक दस्तावेज चाहिं सन् १२५५ देखि भेटिएको छ । त्यस भूकम्पका कारण काठमाडौं उपत्यका (तत्कालीन नेपाल) राजा अभय मल्ल सहित एक तिहाइ जनसंख्याको मृत्यु भएको थियो । हाल सन् १३४४, १५०५, १८३३ का भूकम्पका विषयमा केही जानकारी हात लागेको छ । वि. सं. १९९२ मा मेजर जनरल ब्रह्म शमशेरले लेखेको “नेपालको महाभूकम्प १९९०” त्यस सम्बन्धी महत्त्वपूर्ण पुस्तक हो । उनले नेपालमा सिस्मोग्राफ नभएका कारण वैज्ञानिक अध्ययन हुन नसकेको र त्यस बिहारलाई केन्द्रविन्दु मानिए पनि अरू ठाउँमा हुन सक्ने अनुमान गरेका थिए । पछिल्ला अध्ययनले नेपालको पूर्वी पहाड (सगरमाथाबाट करीब १० कि. मि. दक्षिण) लाई केन्द्रविन्दुका रूपमा स्थापित गरेका छन् । त्यसैगरी वि. सं. २०४५ मा उदयपुर केन्द्रविन्दु बनाई गएको भूकम्पपश्चात् गरिएका उद्दार र पुनर्निर्माणका विषयमा सरकारी दस्तावेजहरू पाउन सकिन्छ । त्यही भूकम्पपछि नेपलमा भवन निर्माण संहिताको समेत निर्माण भएको रहेछ ।
नेपालमा ठूलो भूकम्प जाने र त्यसले जिउधनको धेरै क्षति गर्ने पूर्वानुमानहरू आइरहेकै थिए । खासगरी काठमाडौं पश्चिममा उद्गम हुने महाभूकम्पको सम्भावनाका विषयमा अध्ययन भइरहेकै समयमा २०७२ वैशाख १२ गते बिहान ११ : ५६ मा गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाई ७.६ लोकल म्यागनिट्युड (७.८ मोमेन्ट म्यागनिट्युड) को भूकम्प गयो । भूकम्पका कारण ८,९७० को मृत्यु भयो भने २२,३०२ जना घाइते भए । भूकम्प ठ्याक्कै यही मिति र समयमा जान्छ भन्ने पूर्वानुमान गर्न नसकिने भएकाले यसको पूर्वतयारी गर्दा जुनसुकै समयमा जान सक्छ भनेर तयार रहनुपर्छ । तर तत्कालीन प्रधानमन्त्री सुशील कोइराला विदेशमा भएका कारण देखाउँदै उद्धार कार्यमा केही ढिलाई भयो । कुन संयन्त्रले के गर्ने भन्ने कुरा पहिल्यै व्यवस्थित भएको भए अन्योल हुने थिएन ।
यही भूकम्पको वैज्ञानिक पक्ष, राहत र उद्दार एवम् पुनर्निर्माणका विषयमा लेखिएको पुस्तक हो–“बहत्तर सालको भूकम्प” । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका सदस्य रहिसक्नु भएका प्रा. डा. तारानिधि भट्टराई, प्रा. डा. निमानन्द रिजाल, र डा. किशोर थापाले लेख्नुभएको पुस्तकलाई एक आधिकारिक दस्तावेजका रूपमा लिन सकिन्छ ।
पुस्तकको सुरुका तीन अध्याय भूगर्भ र भूकम्पका विद्यार्थीका लागि उपयोगी छन् । यो खण्ड पढ्दा प्रा. डा. तारानिधि भट्टराईले कक्षामा पढाउनुभएका कुराहरू सम्झँदै उहाँकै बोल्ने शैलीमा पढेँ । विश्वविद्यालयमा अंग्रेजीमा पढेका कुरा नेपालीमा पढ्दा अनौठो लागेपनि अंग्रेजीमा पढ्दा भन्दा अझै प्रष्टसँग बुझियो । विश्वविद्यालयको परीक्षा नेपालीमा हुनुपर्छ भन्ने मेरो विचार झनै दरिलो भयो । भूगर्भ र भूकम्पशास्त्र नपढेका पाठकलाई भने केही समस्या हुन सक्छ । जस्तो कि, प्राइमरी वेभ, सेकेण्डरी वेभ र टाइम सिरिज (पृष्ठ ५४) को बारेमा थाहा नभएका पाठकको सहजताका लागि तिनलाई चिनाउने गरी चित्रहरू राखिएको भए हुन्थ्यो । त्यसैगरी, Modified Mercalli र EMS-98 intensity scale का बारेमा नाम मात्र दिइएको छ । ती तालिकाहरू अनुसूचीमा समेटिएको भए अझै प्रष्ट बुझिन्थ्यो ।
नेपालमा भूकम्पपछि गरिएका उद्धार र राहत एवम् पुनर्निर्माणका विषय पुस्तकमा समेटिएको छ । पुनर्निर्माणका क्रममा आएका समस्या र तिनलाई कसरी समाधान गरियो भन्ने कुराहरू यसमा आएका छन् । तथापि सबै समस्याका समाधान नभइसकेको अवस्था छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएपश्चात् विपद व्यवस्थापन चक्र अन्तर्गत पर्ने विपदअघिको पूर्वानुमान र पूर्वतयारी तथा विपदपछिको उद्धार, राहत र पुनर्निर्माणलाई समेट्ने प्रयास भएको छ । यस सन्दर्भमा “बहत्तर सालको भूकम्प” विषय विज्ञद्वारा लेखिएको विपद व्यवस्थापनसँग सरोकार राख्ने वैज्ञानिक, प्रशासक र तीनै तहका सरकारका प्रतिनिधिहरूले पढ्ने पर्ने किताब हो ।
पुस्तक: बहत्तर सालको भूकम्प
लेखक: प्रा. डा. तारानिधि भट्टराई, प्रा. डा. निमानन्द रिजाल, डा. किशोर थापा
बिहानीले दिनको संकेत गर्छ भन्छन् । मङ्सिर ४ को चुनावमा तेस्रो भएको पार्टीका नेता जुन राजनीतिक दाउपेचको आडमा प्रधानमन्त्री बने अनि त्यसको रमिते मतदाता हुनुपर्यो, यो राम्रो बिहानीको संकेत हुँदै हैन । नेपाली कांग्रेसले ८९ सिट जितेको थियो । उसले प्रत्यक्ष तर्फ सदर मतको २५.७१% र समानुपातिकमा २३.१९% मत पाएको छ । जम्मा ७८ सिट जितेको नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिकमा क्रमशः २६.९५% र ३०.८३% मत पाएको छ । तर सरकारको नेतृत्व गरेको छ प्रत्यक्षमा ११.१३% र समानुपातिकमा ९.३७% मत ल्याएको नेकपा माओवादी केन्द्रले !
दुई वर्षअघि एमाले र माके एक थिए र नेकपा कहलाइन्थे । त्यो बेला आलोपालो प्रधानमन्त्री हुनुपर्छ भन्न थालेपछि एमालेका नेताले पार्टी फुटाइदिएका थिए । माकेका नेताले एक्लै नजित्ने संकेत पाएपछि चुनावमा कांग्रेसलाई बुई बोक्न लगाए । जब गन्तब्य आइपुग्यो, बुई बोक्नेलाई लात्ती हान्दै फेरि एमालेका नेतासँग मिल्न गए । एकले अर्कोलाई सत्तो सराप गर्ने तिनीहरू अहिले फेरि ‘लङ्गौटिया यार’ बनेका छन् । लात्ती खाने दलका नेताले पनि आफ्नो स्वार्थका लागि लात्ती हान्नेकै पाउ मोल्न गए, विश्वासको मत दिंदै ।
सत्तामा पुग्नको लागि जे पनि गर्ने यिनीहरूको नक्कचरो पाराले आजित भएका नेपालीहरू विकल्पहरू खोजिरहेका थिए / छन् । केही पार्टीहरू चुनावमा उदाए पनि । तर अरूभन्दा फरक हुन्छौं भन्ने उनीहरू सत्ताको तर मार्न व्यस्त छन् । २० सिट जितेको रास्वपाका सभापति गृहमन्त्री बने । नागरिकताको विषयमा अन्तिम निर्णय दिने गृहमन्त्रीको नै नागरिकता विवादमा छ र अदालतले मुद्दा हेरिरहेको छ । “अदालतमा मुद्दा चलिरहेकाले नबोलेका” पार्टीका नेताहरूमा पनि सत्ता र शक्तिकै आसक्ति देखिरहेको छु । यद्यपि मौका पाएको बेला केही सुधार गर्छन् कि भन्ने झिनो आशा छ ।
अहिलेको मन्त्रिपरिषद् यस्तो खिचडी बनेको छ कि के भन्ने ? गणतन्त्रवादीदेखि राजावादीसम्म अनि संघीयताका पृष्ठपोषकदेखि विरोधीसम्म सबैले मौका पाएका छन् । सायद समावेशीकरण भनेको यही होला । जे होस्, राज्य समावेशी बनाउनुपर्छ भनेर वकालत गर्ने पार्टीले नेतृत्व लिएको सरकार समाबेशी देखिएको छैन । गरीब, दलित र सीमान्तकृतलाई जति नै उत्थान गर्नुपर्छ भने पनि यो प्रणाली उनीहरूको पहुँचमा छैन ।
उसो त राजनीति सीमित व्यक्ति र पार्टीहरूकै नियन्त्रणमा छ । उनीहरू हामीलाई भोट हाल्न लगाउँछन् मीठा सपना देखाउँदै । अनि हामी मत हालिदिन्छौं । हुन त हामीसँग उपाय पनि छैन । न हामी कसैलाई भोट नहाल्ने भनेर मतपत्रमै छाप हान्न पाउछौं न त छानिएका प्रतिनिधिको काम चित्त नबुझ्दा तिनलाई फिर्ता बोलाउनै सक्छौँ । नेताहरू मैमत्त साँढेजस्ता बन्छन् अनि हामी चैं बाली खाएको देख्दादेख्दै पनि धपाउन नसकेर आफूले आफैंलाई सराप्छौँ । यति नै त होला नि हामीले पाउने लोकतन्त्र !
घण्टाघरपट्टिको त्रि-चन्द्र कलेजको भवन । पाँच वर्षअघि गुगलमा सर्च गर्दा भेटिएको यो फोटोमा कलेजको नाम मेटिएको छ ।
वि.सं. १९७५ भदौ १२ गते चन्द्र समशेरले त्रिभुवन-चन्द्र कलेजको उद्घाटन गरेका थिए । चन्द्र समशेरले “कलेज खोलेर मैले राणा शासनको चिहान खनेँ” भनेका थिए रे । राणा शासनको चिहान कलेजले खन्यो या उनी आफैंले लागू गरेको क्लास (राणाहरूको वर्गीकरण) ले भन्ने विश्लेषण इतिहासविद्हरूले गरेका होलान् तर (उच्च) शिक्षालाई समस्याका रूपमा देख्ने शासकहरूको दृष्टिकोण यसले प्रष्ट देखाउँछ ।
त्रि-चन्द्र कलेज बिरामी भएको धेरै भइसक्यो । पाँच वर्षअघि शताब्दी कविता लेख्दा नै घण्टाघरपट्टिको पुरानो बिल्डिंगको स्थिति खराब थियो । भित्ताहरू उप्किरहेका थिए, ठाउँठाउँमा पीपल उम्रेको थियो, छत चुहिन थालेको थियो । म आफैँ “यो त भूतघरजस्तो देखिन्छ” भनिरहन्थें साथीहरूसँग । भूकम्पपछि भूर्गभशास्त्रको प्रयोगशाला बन्द भएको थियो । अझसम्म प्रयोगात्मक कक्षा राम्रोसँग संचालन भएका छैनन् । मस्जिदपट्टिको खण्ड पहिले नै जीर्ण थियो । अहिले भत्किएको छ । भूकम्पको बारेमा पढ्ने पढाउने, इन्जिनियरिङ संरचना भूकम्प थेग्न सक्ने हुनुपर्छ भन्ने विज्ञहरू भएकै ठाउँमा सात वर्षसम्म पनि सुधार नहुनु ठूलो विडम्बना हो । वैज्ञानिक र विज्ञलाई त्यसै त नपत्याइने हाम्रो समाजमा यसले दिने नकारात्मक सन्देशका बारेमा भनिरहनु नपर्ला ।
त्रि-चन्द्र कलेज सधैं राजनीतिको केन्द्रमा रहँदै आएको छ । राजदरबार र सिंहदारबार नजिकै भएकाले पनि होला । तर यो कलेजले राजनीतिमा खेल्न सक्ने भूमिका चन्द्र समशेरले नै अनुमान गरेको देखिन्छ । राणाविरोधी आन्दोलनदेखि गणतन्त्रको आवाजसम्म त्रि-चन्द्र कलेजका विद्यार्थीको भूमिका छ । “यी राजनीतिक परिवर्तनले समाजलाई के फाइदा भयो र ?” भन्नुहुन्छ भने यसरी प्रश्न सोध्ने अधिकार दिलाउने आन्दोलन यिनै हुन् ।
तर राजनीती नै त्रि-चन्द्र कलेजको अभिशाप हो । यही कलेजमा प्रजातन्त्र, गणतन्त्र र स्वतन्त्रताका आवाज उठाउँदै सत्तामा पुगेकाहरू सायद अब त्यस्तो आवाज दबाउन चाहन्छन् । त्रि-चन्द्रको उत्थानमा आफ्नो राजनीतिको चिहान देख्छन् सायद उनीहरू । नत्र सात वर्षसम्म शिक्षा र राजनीतिको बनेको ठाउँ किन बेवास्तामा पर्थ्यो ?
त्रि-चन्द्र बचाउनका लागि फेरि पनि विद्यार्थीहरू सडकमा उत्रनु पर्यो । यसले बेस्सरी पोल्यो मलाई । यतिका वर्ष आफूले शिक्षा लिएको ठाउँ कसरी बिर्सेँ ? लेखहरू लेख्न किन छाडेँ ? #SaveTrichandra अभियानमा स्वर मिलाउन किन सकिनँ ?
यो कलेज सरकारको दायित्वमा पर्छ या विश्वविद्यालयको दायित्वमा पर्छ थाहा छैन । तर यसप्रति विद्यार्थीको दायित्व पक्का छ । पैसा उठाएर हुन्छ कि प्राविधिक सहयोग गरेर हुन्छ वा नेताहरूलाई निद्राबाट ब्युझाएर हुन्छ, लौ न केही गरौँ ! शिक्षाको ऐतिहासिक धरोहरलाई मासिन रोकौं । केही त गरौं !
***You can read the English version of this article here.***
आफूलाई मन लागेका कुरा बिना कुनै रोकटोक गर्न पाउनुलाई हामी स्वतन्त्र भएको मान्दछौँ । तर स्वतन्त्रताका पनि सीमा हुन्छन् । समाज र कानूनले बर्जित गरेका क्रियाकलाप गर्न हामीलाई छुट छैन । त्यस्ता क्रियाकलाप गरेमा सामाजिक बहिष्करण देखि कानूनी कारबाहीसम्म हुन सक्छ । यसर्थ मानिस पूर्ण रूपमा स्वतन्त्र छैन ।
रुसो भन्छन्, “मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र बाँधिएको हुन्छ ।” जन्मसिद्ध स्वतन्त्रताको हकमाथि राज्यले अङ्कुश लगाउँछ भन्ने आशय उनी व्यक्त गर्छन् । जर्ज बर्नाड शअ “स्वतन्त्रता” शीर्षकको निबन्ध वाचन गर्ने क्रममा भन्छन्, “प्रकृतिले पनि मानिसलाई बाँधेको छ” । दैनिक क्रियाकलाप जस्तै सुत्ने, उठ्ने, दिसापिसाब गर्ने, खाना खाने लगायतका कुराहरूलाई प्रकृतिले नियन्त्रण गरेको हुन्छ । तर यस्ता गर्नै पर्ने अत्यावश्यक क्रियाकलापलाई हामी बोझ ठान्दैनौँ, उनी भन्छन्, किनकी प्रकृतिको नियन्त्रणले गर्दा नै जीवन सम्भव छ ।
मानिसले मानिसलाई गर्ने नियन्त्रण चैं हामीलाई बोझिलो लाग्छ । केही महीनाअघि लेखेको What’s the Point? कथामा वाचक (म पात्र) नोकरी (जब) गर्न मन गर्दैन । ऊ भन्छ, “नोकरी अभिशाप हो । यसले मानिसलाई पैसा र रोजगारदाताको दास बनाउँछ । पैसाकै लागि तपाईं काम गर्नुहुन्छ । बोसले पैसा दिन छाड्यो भने तपाईं काम नै छाडिदिनुहुन्छ । नोकरीले तपाईंको स्वतन्त्रता खोस्छ ।”
यो नितान्त व्यक्तिगत अनुभवबाट प्रेरित भएर लेखेको कुरा थियो । शअको निबन्धमा लगभग यस्तै तर अझ कडा शब्दमा रोजगारदाताप्रती रोष छ:
“तपाईंको रोजगारदाताले कपाल यसरी काट् भन्न सक्छ । यस्तो रङको, यस्तो खालक लुगा लगा भन्न सक्छ र यति बेलादेखी यति बेलासम्म काम गर् भन्न सक्छ । उसको आदेश टेर्नुभएन भने उसले जुनसुकै बेला पनि तपाईंलाई सडकमा पुर्याइदिन सक्छ . . . छोटकरीमा, राजनीतिक तानाशाहले तपाईंलाई जति नियन्त्रण गर्न सक्छ, रोजगारीदाताले त्योभन्दा बढी नियन्त्रण गर्न सक्छ ।”
राजनीतिक स्वतन्त्रताको सन्दर्भमा जर्ज बर्नाड शअ भन्छन्,
सरकारहरूले नागरिकमाथि दासता थोपर्छन् र त्यसलाई स्वतन्त्रता भन्छन् । सरकारहरूले मालिकको लालचलाई निश्चित सीमाभित्र राखेर नागरिकको दासताको हदलाई भने नियन्त्रण गर्छन् । मानिसलाई आफ्नो सम्पत्तिका रूपमा बेचबिखन गर्न पाउने दासप्रथा ज्यालामजदूरी प्रथाभन्दा महँगो भएपछि उनीहरूले दासप्रथा उन्मूलन गरे । यसले गर्दा कुन मालिकको कुन काम गर्ने भन्ने छनोट गर्न कामदार स्वतन्त्र भए । यसलाई उनीहरूले स्वतन्त्रताको विजय भनी जयगान गाए । जति स्वतन्त्र भए पनि कामदार त बेघरबार नै हुन्छन् ।
त्यस्तै चुनावका विषयमा उनी भन्छन् :
. . . उनीहरू कामदारलाई चुनावमा भोट हाल्ने अधिकार दिन्छन्, हरेक पाँच वर्ष जस्तोमा आमचुनाव हुने व्यवस्था मिलाउँछन् । चुनावमा धनी दुई जना उम्मेदवारले तपाईंसँग भोट माग्छन् । तपाईले यी दुई धनीमध्ये जसलाई पनि छान्ने स्वतन्त्रता पाउनुभएको हुन्छ । हो, तपाईंले यस्तो कुराको छनोट गर्न पाउनुहुन्छ, जसले तपाईलाई पहिलेभन्दा अलिकति पनि बढी स्वतन्त्र बनाउँदैन किनभने यसो गर्दा तपाईंको कामको बोझ कत्ति पनि घट्दैन । अनि समाचारपत्रले तपाईलाई के कुरामा विश्वास दिलाउँछन् भने तपाईंको मतले निर्वाचनको परिणाम निर्धारण गयो । यति हुनेबित्तिकै तपाईं प्रजातान्त्रिक मुलुकको स्वतन्त्र नागरिक हुनुभयो । छक्क लाग्छ, तपाई कति मूर्ख हुनुहुन्छ भने यस्तो कुरा पत्याइहाल्नुहुन्छ ।
उनी थप्छन्, “१० मध्ये ९ मतदाता साधारण कामदार भए पनि उनीहरूमध्ये थोरैलाई मात्र आफ्नै वर्गका मानिसलाई भोट दिऊँ भनेर मनाउन सकिन्छ ।” यसको कारण के हो भने शासक भनेको रवाफिलो, चट्ट परेका लुगा लगाउने र विशेष अदब भएको मान्छे हो भन्ने मानसिकता हो ।
यी हरफहरू पढ्दै गर्दा ८ वर्षअघि आफूले लेखेको “Democracy or Aristodemocracy?” शीर्षकको ब्लग पो याद आयो । त्यसमा लेखेको थिएँ, “लोकतन्त्र भएका देशहरूमा जोकोही उम्मेदवार सजिलै बन्न पाउँछ तर विजेता प्राय: उही हुन्छ, जसले पैसाको खोला बगाउन सक्छ ।”
माथि नै भनियो, मानिसलाई समाज र कानूनको बाँधेको हुन्छ । शअ पनि कानूनले स्वतन्त्रता संकुचित गर्छ भन्छन् अनि थप्छन्,
कानून विवेकसम्मत छन् र तिनलाई निष्पक्ष ढङ्गले लागू गरिएको छ भने तपाईंले कानूनविरुद्ध गुनासो गर्ने कारण हुँदैन किनभने कानूनले सामान्यतया तपाईंमाथि हातपात, डकैती र अराजकता हुन नदिएर तपाईंको स्वतन्त्रताको मात्रा बढाउँछ ।
यहाँ रमाइलो विरोधाभाष छ । कानूनले स्वतन्त्रतालाई सीमित पनि गर्दो रहेछ अनि स्वतन्त्रताको रक्षा पनि गर्दो रहेछ । आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अर्काको स्वतन्त्रता हनन हुनुहुँदैन भन्नु पनि त स्वतन्त्रताको सीमितता नै त हो नि, हैन र ?
एकाबिहानै एउटा समाचारमा आँखा पर्यो । मनमा चस्स बिझायो । स्वर सम्राट नारायण गोपालको घर सङ्कटमा रहेछ । समाचारमा लेखिएको रहेछ–देवकोटाको घर पुनःनिर्माण हुन लागे पनि स्वर सम्राट नारायण गोपालको घर वेवास्तामा परेको छ । देवकोटाको घर पनि संरक्षण गरिएको चैं हैन । पूरै भत्काएर गरिएको पुनःनिर्माण हो । नयाँ बनाइएको घरमा पुरानो जत्तिको महत्व नहोला । वास्तवमा, हामीले सम्मान गर्दै आएका साहित्यकार र कलाकारका अमूल्य सम्पत्तिको रक्षा हामीले गर्नै सकेका छैनौँ ।
हामी साहित्य र कलालाई सम्मान गर्नै जान्दैनौँ । प्राचीन र मध्यकालीन कलाकार (मूर्तिकार, चित्रकार, वास्तुकलाविद्, साहित्यकार) हरू को सूची हामीसँग छैन । एकजना अरनिको प्रसिद्ध छन् मूर्तिकला र वास्तुकलामा, त्यो पनि चीन गएर सम्मानित भएकाले । सानै उमेरमा चीन जाने टोलीको नेतृत्व गर्ने अरनिकोले नेपालमा सिर्जना गरेका कलाहरू केके हुन् ? अरनिकोको वास्तविक नाम र ठेगानाका बारेमा पनि अझै अन्जान छु । अध्ययन भएको होला तर कुनै पाठ्यक्रममा पढ्ने मौका पाएको छैन । विदेशमा ख्याति नपाएसम्म आजपनि राज्यले चिन्दैन । परम्परा किन छोड्नु, हैन ?
मल्लकालका केही साहित्य र साहित्यकारका नाम सामान्य ज्ञानका किताबमा भेटिन्छ । त्यसबेलाका राजाहरू नै साहित्यकार ! पढ्ने लेख्ने राजाहरू मात्रै भएर हो कि ? जसले लेखेपनि ती महत्त्वपूर्ण ग्रन्थहरू र तिनमा के छ्न् भन्ने कुरा विद्यालयदेखि नै पढाइनु पर्ने हो । तर पाठ्यक्रम निर्माण गर्नेहरू आफ्ना कमसल लेखहरू पाठ्यक्रममा राख्न तत्पर छन् ।
आधुनिक नेपालमा (पहिले पर्वते या खसकुरा भनिने) नेपालीलाई केन्द्रविन्दुमा राखियो । सुवानन्द दासले लेखेको “पृथ्वीनारायण” काव्य नेपालीको पहिलो साहित्य भनेर घोकेको छु तर त्यसमा ठ्याक्कै के छ थाहा छैन । मोतीराम भट्टले नभेटेका भए भानुभक्त आचार्यलाई कतै गुमनाम हुने थिए । महत्त्व दिइएको भाषाका साहित्य पनि संरक्षित छैनन् । नेपाल भाषा, मैथिली, अवधी, तामाङ, किराँती लगायतका भाषा र जनजातिका साहित्य संरक्षण हुने कुरै भएन ।
सरकार त उदासीन भयो भयो, हाम्रा केही साहित्यकारहरू क्रान्तिकारी बन्ने नाममा इतिहासको संरक्षण नगरे पनि हुन्छ भन्ने विचार राख्छ्न् । देवकोटाको घर भत्काइएको विषयमा एकजना “लेखक”ले त्यो घर जोगाइयोस् या भत्काइयोस् मतलब भएन भन्ने आशयको ट्विट गरेपछि एउटा लेख नै लेखेको थिएँ । नारायण गोपालको घरको संरक्षण गर्ने विषयमा पनि उनको विचार जान्न मन लागेको छ ।
यसै साता महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर प्रज्ञा प्रतिष्ठानले भत्कायो । तर्क थियो, “घर जीर्ण थियो । सबलीकरण गर्न भन्दा भत्काएर नयाँ बनाउन सस्तो पर्ने भयो । नयाँ भवन सङ्ग्रहालय बन्छ । के नराम्रो हुन्छ र ?”
वाहियात तर्क गर्न, कानूनका छिद्र समात्न र दलका पछि लागेर विद्वान हुँ भन्दै हाँक दिन नेपालका प्राज्ञिक भनाउँदाहरूको विशेषता नै हो । उनीहरूमा न इतिहासको चेत छ न त भविष्यको सही योजना नै । ध्यान छ त केबल आत्मरति, अलिकति धन र नचाहिने कुरा गर्न ।
आम सर्वसाधारणलाई महाकवि देवकोटाको घर भत्काइँदैछ भनेर सचेत नगराउने “अभियन्ता” र मिडिया अर्को ठूलो समस्याका रूपमा अघि बढेका छन् । नेपालीमै लेख्ने एकजना “साहित्यकार”को ट्वीटले नेताहरूले रोपेको जातीय/भाषिक द्वेषयुक्त राजनीतिको प्रभाव प्रष्ट देखाएको छ । वर्तमानमा सुधार चाहने, अरू भाषाको उत्थान चाहने उनलाई नेपाली भाषासँग चैं समस्या किन छ ? नेपाली भाषालाई मात्रै महत्त्व दिने नीति कुनै बेला राज्यले लिएको थियो तर अब अरू भाषा संस्कृतिको संरक्षणको कुरा गर्दा नेपालीलाई बाहिर राख्नुपर्ने हो ? कुनै यो विषयमा नाम चलेका “फुल टाइम व्यावसायिक” लेखकहरूको मौनता अर्को दु:खद पाटो हो । इतिहासको सम्मान नगर्ने उनीहरू वर्तमानमा सम्मान पुगेन भन्न कसरी सक्छन् ? भविष्यमा तिनका नाम मेटिँदैन भन्ने के छ ?
अघिल्लो साता मदन पुरस्कारको छनौटमा परेका उत्कृष्ट पुस्तकहरू मध्ये एक पुस्तक यस्तो पनि थियो जसले वर्ग विभेदलाई प्रश्रय दिएको थियो । एक चोटि मात्रै छापिने र प्रिअर्डर गरेकाले मात्रै पाउने भनिएको उक्त कथा-सङ्ग्रह बजारमा सहजै पाइन थालेको सुनेको छु । प्रकाशक र पाठकसँग सिधै सम्पर्क बनाएको, वितरकलाई बीचमा आउन नदिएको भन्ने प्रकाशक अझै पनि नयाँ छापिँदैन भनिरहेका छन् । तर “आउट अफ स्टक” भनिएका ठाउँमा पनि फेरि बिक्री भइरहेको छ । अर्थात् प्रकाशकले प्रिअर्डरबाट मात्रै बिक्री गरेको भने पनि अलिकति सचेत पाठकले त्यो पत्याइहाल्ने स्थिति छैन ।
अनि लेखक भक्ति पनि मज्जैले देख्न पाइयो यो हप्ता । आफूलाई मन पर्ने लेखकको किताबको कमजोरी अरू पाठकले औँल्याउँदा लेखकमाथिको आक्रमण गरेको भन्ने विद्वान् पनि देखियो । पाठकले प्रतिक्रिया दिँदैमा कुनै लेखकका फ्यान त्यसरी उत्रिनु नै अनौठो लाग्यो । यस्तो भक्तिले त लेखकले सधैं पोजिटिभ रिभ्यु मात्र पाउँछ । जे लेखे पनि हुन्छ भन्ने मानसिकता उसमा हाबी हुन थाल्छ । लेखनको गुणस्तर स्वाभाविक रूपमा घट्छ । यो साहित्यको लागि कदापि राम्रो हुन सक्दैन ।
पाठक प्रतिक्रियालाई व्यक्तिगत आक्रमण ठान्ने, प्रकाशकले दिनदहाडै लुट्ने अनि प्राज्ञहरूले प्राज्ञिक धर्म पूरा नगर्ने प्रवृति नेपाली साहित्यलाई अधोगतितर्फ लान उद्दत रहेका छ्न् । सचेत पाठक, पाठकलाई सम्मान गर्ने लेखक/प्रकाशक र सही एजेन्डा बोकेका प्राज्ञ नभएसम्म नेपाली साहित्यलाई सही बाटो देखाउन गाह्रो पर्ने देखिन्छ ।
सोनुले आफ्नो कोठामा रहेको किताबहरूको सेल्फ देखाएकी थिइन् । सुबिन भट्टराईका “मनसुन” बाहेकका सबै किताब माथि नै थिए । “मनसुन” खासै मन परेको थिएन । सुबिन भट्टराईको किताब पढिहाल्न खासै मन थिएन तर पहिलोपल्ट ससुराली गएको, काम पनि केही थिएन । अल्छी लागिरहेको थियो । मोबाइल चलाएर बस्नुभन्दा किताब पढ्नै ठीक लाग्यो । राम्रो नराम्रो जेसुकै होस्, पढ्छु भनेर “कथाकी पात्र” उठाएँ । सङ्ग्रहका १९ मध्ये पहिले शीर्ष कथा छाने । मन छोयो । अघिपछि गर्दै सबै कथा पढेँ । प्रत्येक कथाको चर्चा (कथासङ्ग्रहमा रहेको क्रमानुसार) छोटकरीमा गरेको छु ।
औडाहा: कथाको पुरुष “म” पात्रले आफ्नो बिहेकै रात आफ्नी श्रीमतीको पहिले अरू नै सँग प्रेम रहेको थाहा पाउँछ । त्यसपछि उत्पन्न छटपटीको यो कथाले पुरुष र पितृसत्तात्मक मानसिकतालाई एकदम राम्रोसँग देखाएको छ ।
औडाहा–२: औडाहाकै कथा हो यो । तर “म” पात्र महिला छे । आफ्नो पहिलेको प्रेम सम्बन्धका बारेमा भन्नु हुन्थ्यो या हुँदैनथ्यो भन्ने द्वन्द्वमा ऊ फसेकी छे ।
यी दुवै कथा राम्रो लाग्यो तर समस्या लिएर गुम्सिनुको साटो समाधानला उपाय खोजेको भए हुन्थ्यो भन्ने लागिरह्यो ।
मनपरेकोसाथी: 2nd person narrative कथाहरूमा खासै प्रयोग हुँदैन । तर यस्ता कथाहरू मलाई मनपर्छन् । “तिमी” सम्बोधन गर्दै कथावाचकले आफ्नी प्रिय साथीलाई मनका कुराहरू लेखेको छ । यो प्रेम कथा मन छुने चिठीझैँ छ ।
अन्तराल: “म” पात्रले आफ्नो बाल्यकाल र किशोरावस्थाको कथा यसमा भन्दछ । ऊ दाजु सुमनबाट सानोमा प्रभावित भएको थियो । त्यसैगरी भान्जा प्रज्ञान “म” पात्रले जे गर्यो त्यही पछ्याउँछ । तर वर्षौँपछि भेट हुँदा प्रज्ञानले नराम्रो घटनामात्रै सम्झिरहेको हुन्छ । मामाभान्जाको सम्बन्धमा केन्द्रित सुन्दर कथा हो यो, सङ्ग्रहको उत्कृष्टमध्येको एक ।
अर्काकीस्वास्नी: बद्रीकी श्रीमती अङ्गुरी लक्ष्मणसँग भाग्छे । तर बद्री बिरामी छ भन्ने खबर पाएपछि फर्किन्छे । उसलाई फर्काउने जिम्मा “म” पात्रले पाएको छ । तथापि बद्रीसँग उसको केही दुश्मनी छ । बदलाको यो कहानी रोचक छ । अन्तिममा उसले भनेको कुरा साँचो हो या हैन भन्ने कुराले अझै पनि मलाई पोलिरहेको छ ।
तिमीमलाईकिनप्रेमगर्छौ ? : “म” पात्रकी प्रेमिकाले “स्वार्थ नभएको कोही छैन” भन्दै यो प्रश्न सोध्छे । “म” पात्रले जवाफ दिन नसकेपछि उसकी प्रेमिकाले दिएको जवाफ एकदम चित्तबुझ्दो लाग्यो । यो जहिले पनि याद आइरहने कथा हो ।
बिहेकोनिम्तोमा : “म” पात्रकी छिमेकी साथीको बिहे छ । तर अचानक उसलाई अर्को प्रिय साथीको मलामी जानुपर्छ । बिहेमा ढिलो गरी पुगेको उसको हुलिया र अनुहार हेरेर छिमेकीहरू उसलाई हौवामा “देवदास” बनाइदिन्छन् । यो कथामा सामाजिक मनोविज्ञान निकै राम्रोसँग प्रस्तुत गरिएको छ ।
“मान्छे, आफूकहाँ हो ?” : फोन सेक्स (डिटेल्ड हैन) समेटिएको कथा हो यो । केटाहरूको मनोविज्ञान देखाइएको छ । तर सङ्ग्रहको सबैभन्दा कमजोर कथा हो यो ।
भ्रमयासत्य ? : “म” पात्रले नेपाल यातायातमा एउटी राम्री केटी देख्छ । केटीले पनि उसलाई बारम्बार हेर्छे । पहिले कतै चिनेको हो कि जस्तो लाग्छ । केटीसँग आँट गरेर सोध्छ । केटीले “महिला सिटमा बस्नुभएको रहेछ, छोड्नुहुन्छ कि भनेर हेरेको । छोड्भएन ।” भनिदिन्छे । यद्यपि महिला सिटमा बसेको कुरा पहिल्यै आइसकेकाले यो क्षणमा जुन पन्च मुखैमा लाग्नुपर्थ्यो, हावामा बत्तिन्छ । अनि कथाले बल्ड्याङ खान्छ । यसर्थ यो पनि एउटा कमजोर कथा हो ।
बर्बादी : “म” पात्र आफूभन्दा बढी उमेरकी पात्रसँग शारीरिक सम्बन्ध राख्छ । यसमा ड्रामा त छ तर एउटा साथीबाहेक अरू गाउँलेलाई थाहै नहुनु चैं त्यति पत्यारिलो लागेन ।
तीनकथा : तीन मिल्ने केटाहरू निमेष, साकार र किशोर (न्यारेटर) सपनासँग पालैपालो प्रेममा पर्छन् । वर्षौँपछी भेट हुँदा अरूसँग बिहे गरेर गएकी सपनाको बारेमा कुरा चल्छ । यी तीन पात्रहरूमा समयसँगै आएको परिवर्तनले राम्रै झट्का दिएको थियो ।
देहरादुनएक्स्प्रेस : “म” पात्र देहरादुनबाट गोरखपुर जाँदा रेलमा एउटी राम्री केटीलाई देख्छ । तर केटी यात्राभरी चुप बस्छे । संकोचले ऊ केटीको सुन्दरताका बारेमा भन्न सक्दैन । पछि अरू यात्रीबाट केटीको जिब्रो उसकी सौतेनी आमाले थुतिदिएको थाहा पाउँछ ।
यो कथाले मलाई ७-८ कक्षातिर गुलमोहरमा पढेको रस्किन बन्डको कथा “The Eyes are not Here/The Eyes Have It” सम्झाइदिएको थियो ।
अपसोस : हिन्दू “म” पात्र मुस्लिम केटीसँग प्रेम गर्न पुग्छ । तर प्रेम असफल रहन्छ । “म” पात्रले पाठकसँग कुराकानी गरेझैँ लाग्छ तर बीचमा यो शैली छुटेको हुँदा एकै शैलीमा लेखिएको हुन्थ्यो जस्तो लागेको थियो ।
घृणा : “म” पात्रको छिमेकमा एउटी बूढी आमै छिन् जसलाई ऊ पटक्कै मन पराउँदैन । तर जब तिनी बित्छिन् उसको मन शून्य हुन्छ ।
कथाकीपात्र : कथाकार “म” पात्र कथा लेख्न सकिरहेको छैन । Writer’s block ले पीडित ऊ आफ्नी श्रीमतीलाई हेर्छ अनि आफ्ना लागि उसले गरेका त्यागहरू सम्झिन्छ । अन्ततः श्रीमतीलाई ऊ आफ्नो कथाकी मुख्य पात्र बनाउँछ । यो कथा राम्रो लागेकैले गर्दा सङ्ग्रहका अरू कथा पढ्न उत्साहित भएको थिएँ ।
बूढोरपिज्जा : एउटा बूढोलाई पिज्जा खान मन लाग्छ तर सबैले उसलाई गिज्याउँछ्न् । जब बल्लतल्ल खान पाउँछ, उसलाई मन पर्दैन । बूढा मानिसको इच्छा र त्यसले निम्त्याउँने द्वन्द्व निकै रोचक लागेको थियो ।
भगाइहरू : “म” पात्र आफ्नो बिहेबाट भाग्छ । उसले यसो ठीक गर्यो कि गरेन भन्ने प्रश्न आइरहन्छ ।
मननपरेकोसाथी : “म” पात्रलाई केशव मनपर्दैन तर उनीहरू घरिघरि ठोक्किइरहन्छ्न् । बेइमान साथीहरू सम्झाउँछ यो कथाले ।
नदीकिनारकोप्रेम : “म” पात्र निरुसँग प्रेम गर्न थाल्छ तर आफ्नो “चेला” गोविन्दसँग उसले प्रेम गर्न थाल्छे । नदीकिनारका दृश्यहरू सुन्दर छन् । तराईको याद दिलाएको थियो ।
“कथाकी पात्र” सुबिन भट्टराईको पहिलो प्रकाशित कृति भए पनि पछिल्ला किताबभन्दा सशक्त देखिन्छन् । एकाध कथाबाहेक उनको प्रस्तुति मीठो छ । कतैकतै जटिल शब्दहरूको अनावश्यक र अपत्यारिलो प्रयोगबाहेक सरल भाषाशैली अपनाएका छन् ।
[नोट: “कथाकी पात्र” पढेपछि “समर लभ” पढ्न मन लागेको थियो । फेरि ससुराली जाँदा पढेँ । तर “समर लभ” मलाई मन परेन । सुरुदेखि नै यसमा समस्या छन् । कथाको प्लट पनि कहीँ पुग्दैन । चाँडै नै यसका बारेमा छुट्टै चर्चा गर्नेछु ।]
To provide the best experiences, we use technologies like cookies to store and/or access device information. Consenting to these technologies will allow us to process data such as browsing behavior or unique IDs on this site. Not consenting or withdrawing consent, may adversely affect certain features and functions.
Functional
Always active
The technical storage or access is strictly necessary for the legitimate purpose of enabling the use of a specific service explicitly requested by the subscriber or user, or for the sole purpose of carrying out the transmission of a communication over an electronic communications network.
Preferences
The technical storage or access is necessary for the legitimate purpose of storing preferences that are not requested by the subscriber or user.
Statistics
The technical storage or access that is used exclusively for statistical purposes.The technical storage or access that is used exclusively for anonymous statistical purposes. Without a subpoena, voluntary compliance on the part of your Internet Service Provider, or additional records from a third party, information stored or retrieved for this purpose alone cannot usually be used to identify you.
Marketing
The technical storage or access is required to create user profiles to send advertising, or to track the user on a website or across several websites for similar marketing purposes.