Tag: नेपाल

रातो सूर्य

सूर्य रातो छ नभमा
मिर्मिरे हो या सन्ध्या ?

नयाँ सुरुवात ?
वा अन्त्यको सुरुवात
सडक, गल्ली र घरहरूमा
बगेको लाल रङ्गको ?

नीलो किनाराले घेरेको रातो
मुस्कुराइ रहला
सूर्यको लाल प्रकाशमा ?

मौन धारण

शहीदका नाममा मौन धारण गर्न
छातिमा हात राखेर शिर झुकाउँदा
सोच्छु–
जहाँ
क्रान्तिको डरले घरमै बस्नेहरू,
व्यक्तिगत इबीमा फस्नेहरू,
स्वार्थको राजनीतिमा पस्नेहरू,
मरेर जाँदा “शहीद” मानिन्छ,
त्यहाँ शहीदको सम्मान कसरी पो हुन्छ ?

सोच्छु–
क्रान्ति र आन्दोलनका नाममा उदाएका भुइँमान्छेहरू
जब
सत्तामोहमा परेर,
अपराधको बाटो पक्रेर,
स्वाभिमानलाई बिर्सेर,
क्रान्तिको मर्म लत्याएर,
जनलाई घात गरेर
देश बेच्न पनि पछि पर्दैनन्,

धुरुधुरु रुँदा हुन् ती महात्माहरू
जसले
आमाबाबुको काख छाडेर
जीवनसाथीलाई एक्लो पारेर
छोराछोरीलाई सुनौलो सपना बाँढेर
मित्रजनलाई विश्वास गरेर घात नगरी
क्रान्ति सफल पार्न
देशका लागि प्राणको आहुती दिए !

मान !

 न्याय नपाई कोही रोइरहँदा

               न्यायालयको मान रह्यो सायद !

अपराधीहरू खुल्लमखुल्ला हिँडिरहँदा

               न्यायालयको मान बढ्यो सायद !

न्यायकै किनबेच चलिरहँदा

               न्यायालयको इज्जतले आकाश छोयो सायद !

र त,

     न्याय पाउँ भन्नेहरू 

                   न्यायालायमै रोइरहेछ्न् !

     अपराधी समाऊ भन्नेहरू

                     डरले काँपिरहेछ्न् !

      न्यायको किनबेच नगर भन्नेहरू

                     कठघरामा उभ्याइरहेछ्न् !

© सन्दीप्त

नेता कसरी बन्ने ?

अलि पुरानो फोटो नेताहरूको । स्रोत: nayasamachar.com

नेपालमा अहिले चुनावी चहलपहल निकै नै छ । नेताहरू घरदैलोमा व्यस्त छन् तर घरमै बस्नेले चाहिँ सायदै तिनका मुख देखे होलान् । खैर, “तिनीहरू नेता कसरी पो नेता बने हौ ? अनि हामी चाईँ कसरी बन्ने ?” भन्ने प्रश्न कसैलाई उठेको भए ती प्रश्नको जवाफ खोज्ने प्रयास यो प्रबन्ध हो ।
चरण १: यी प्रश्न आफूले आफैँलाई सोधेर नेता हुने गुण छ कि छैन पत्ता लगाउनुस् :

के तपाईं:

१. धुर्त हुनुहुन्छ ?

२. अरूलाई औँलामा नचाउन सक्नुहुन्छ ?

३. स्वार्थी हुनुहुन्छ ?

४. अर्काको मन दुखाएर हाँस्न सक्नुहुन्छ ?

५. आफन्त, नातागोता, साथीसँगी, गुरु वा जोसुकैलाई कोखामा छुरा हानेर अघि बढ्न सक्नुहुन्छ ?

६. जनताले जे भने पनि कानमा तेल हालेर सुतेजस्तो गर्न सक्नुहुन्छ ?

उपर्युक्त गुणहरू तपाईंसँग छ भने मात्रै तपाईं राजनीतिक नेता बन्न सक्नुहुन्छ । नत्र त तपाईंको यात्रा सुरु नै हुँदैन । भइहाल्यो भने पनि कतै कुनामा बसेर रुनुपर्छ ।

चरण २: प्रवेश

चरण १ मा पास नभए पनि चरण २ मा आउन सक्नुहुन्छ तर दिगो उपलब्धिका लागि चरण १ मा भएका कुराहरू आफूमा जतिसक्दो चाँडो लागू गर्नुहोला । फाइदा तपाईंलाई नै हो । अब जान्नुस् यो चरणमा के गर्ने:

१. तपाईं आफ्नै पार्टी खोल्न चाहनुहुन्छ ? यसका लागि विचार र (वा) कार्यशैली मिल्ने (यसमा अरूलाई थर्काउने कार्यशैली पनि हुन सक्छ) एकदम धेरै मानिसहरू भेला पार्नुपर्ने हुन्छ । अरूलाई कन्भिन्स गर्न पनि धेरै समय र उर्जा खर्चिनुपर्छ । समय अलि बढी नै लाग्न सक्छ यदि तपाईं चरण १ मा भएका गुणहरूलाई नजरअन्दाज गर्दै हुनुहुन्छ भने ।

२. यदि तपाईंलाई छिटो माथी जानु छ भने चाहिँ स्थापित पार्टीमा लाग्नुस् । धेरैजसो मानिसहरू ठूला पार्टीको सदस्य बन्छन् तर साना पार्टी पनि शानदार पो हुन्छन् त ।

एउटा उदाहरण दिउँ है त । मेरो कलेजमा थुप्रै पार्टीका भ्रातृ संगठन (भन्नलाई स्वतन्त्र विद्यार्थी युनियन) छन् । नेपाली कांग्रेसको नेविसंघ र नेकपा एमालेको अनेरास्ववियुमा लाग्नेहरूको संख्या धेरै छ । खिचातानी पनि यिनमै धेरै छ ।

साना पार्टीका भ्रातृ संगठन धेरै छन्, कार्यकर्ता थोरै । कम्पिटिसन शून्य बराबर । सदस्य बन्नेवित्तिकै माथिल्लो पद हातमा । अनि पावर पनि ठूला संगठन जति नै । हेर्नुस् त काइदा !

कुन ठाउँबाट राजनीति सुरु गर्नुहुन्छ भन्ने कुराले पनि फरक पार्दछ तपाईंको जिन्दगीमा । एक चोटि फेरि मेरो कलेजतिर आँखा डुलाऔँ । तपाईँ प्रायः देख्नुहुनेछ, नेताहरू :

  • नयाँ विद्यार्थीलाई भर्ना गर्न मद्दत गर्दै हुन्छन् ।
  • पुराना विद्यार्थीका समस्या समाधान गर्दै हुन्छन् ।
  • विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् ।

यिनीहरू पब्लिक रिलेसन (Public Relation) बनाइरहेका छन् जुन भविष्यका लागि लाभदायक हुन्छन् । मेरो एक जना साथी छ जसलाई म जुनसुकै बेला फोन गरेर जुनसुकै काम लगाउन सक्छु । भोलि ऊ कुनै चुनावमा उठ्यो भने म भन्दिन्छु नि “यसले काम गर्न सक्छ” । उसले यसरी भोटर कमाउँदै छ ।

आफ्नो समुदायमा राजनीति गरेर अघि बढ्न चाहनेलाई चुनौतीको पहाड नै आउँछ । चरण १ मा भएका गुण नभए पहाड फोर्न गाह्रो हुन्छ ।

चरण ३: कुटनीति / चालबाजी

महाभारतमा शकुनिको भूमिका सम्झनुस् त । कसरी धृतराष्ट्र र उनका छोरालाई भड्काउँछन् । उनको धुर्त्याइँले पाण्डवहरू जुवामा मात्र हारेनन्, कुरुक्षेत्रको युद्ध पनि भयो ।

कुटनीतिक चालबाजी एउटा कला हो । राजनीती गर्नेहरूले आफूले भनेको ठीक, अरूले भनेको बेठीक भन्ने पारेर जनतालाई आफ्नो पक्षमा पार्छन् । अझ कतिपय अवस्थामा अस्थिरता ल्याइदिन्छ्न् ।

गेम अफ थ्रोन्समा लिटलफिङ्गर भन्छ:

अस्थिरता सिँढी हो ।

यसका उदाहरणले मेरो मुटु चिरिन्छ । हाम्रा नेताहरूले पनि अस्थिरतालाई भर्र्याङ् बनाएका छन् । जब स्थिरता आउँछ, उनीहरू माथि हुन्छन् । पुष्पकमल दहाल (प्रचण्ड) ज्वलन्त उदाहरण हुन् जसको बारेमा मैले चर्चा गरिरहनै पर्दैन । 

कोखामा छुरा घोप्ने काम पनि चालबाजीको विशेषता हो । एकजना मेरो छिमेकीलाई चुनावमा “टिकट” दिने वाचा गरियो । पक्का आउँछ भन्दै बधाई दिने पनि भेटिए ।

मनोनयनमा भने उनको नातेदारको नाम आयो । ती नातेदारले विरोध गरेनन् । मनोनयनमा हेराफेरी गर्न सक्नेलाई ती नातेदारले हातमा लिएछन् । यसरी आफन्तलाई पनि धोका दिन सके तपाईंको राजनीतिक यात्रा उकालो लाग्नेछ । शुभकामना !

चरण ५: अरूले जेसुकै भने पनि “बाल” नदिने 

अरूले तपाईंको गल्ती औँलाइदिए भने तिनको औँला काटिदिनुस् । यो त तपाईंले सुनेको प्रमाण पो हो क्यारे ! यसो गर्नुस्, सुन्दै नसुन्नुस् । हुन त यो गुण तपाईँमा पहिले नै छ । जति गाली गरे पनि, जति सरापे पनि, एउटा कानबाट छिरेको कुरो अर्को कानबाट निकालिदिनुस् । यसो गरेपछी न अरूको पिर, न प्रेसरको चिन्ता !

***

द्रष्टव्य:

१. यी चरणहरूलाई नजरअन्दाज गर्न त तपाईं राजनीतिक परिवारमा जन्मिनुपर्छ । बा प्रभावशाली थिए भने त उनले बसाएको जगमा चुनावैपिच्छे जीत दर्ता भइहाल्छ ।

२. माथि उल्लिखित चरण र गुणहरूमध्ये पब्लिक रिलेसन र सानो पार्टीबाट उक्लिने उपायबाहेक अरू सबै व्यङ्ग्य हुन् । सिधा भन्ठानेर त्यसै गर्नुभो भने मलाई अवगाल नआओस् !

अझै सजिलो बनाइदिन्छु । यी काम नगर्नुस् :

  • चोरबाटो नलिनुस्
  • नकारात्मक चालबाजी नगर्नुस्
  • कोखामा छुरा नहान्नुस्, जेल पर्नुहोला !
  • रचनात्मक प्रतिक्रियालाई आत्मसात् गर्नुस्

३. नेतामा हुनैपर्ने दुई कुरा हुन् : ज्ञान र बोल्ने क्षमता । यी दुईलाई प्राथमिकता दिनुस् ।

शुभकामना !

***

[प्रस्तुत लेख Quora.com मा How do I become a political leader in Nepal को जवाफको नेपाली रूपान्तरण हो ।]

के पढेलेखेकाले देश बिगारेका हुन् ?

“पढेलेखेका मान्छेले देश बिगारे ।”–कसैले लेखेको थियो फेसबुकमा । पुस महिनामा देखिएको यो पोस्टको बारेमा घरमा छलफल भएपछि डायरीमा टिपेँ । समाज, कलेज, स्कुल र आफैँलाई नियालेँ अनि फेसबुकमा भेटिएको त्यस वाक्यको पक्षमा केही तर्क निकालेँ । ती तर्क पालैपालो राख्छु । आफूलाई पढेलेखेका मान्छेमा राख्छु । यसो गर्दा म आत्मालोचना पनि गरिरहेको हुनेछु ।
१. पढेलेखेकाले सानातिना काम गर्दैनन् । उनीहरू सानातिना काम देख्दै देख्दैनन् । भन्नलाई काम सानोठूलो हुँदैन भने पनि खाना पकाउने, फोहोर सफा गर्ने, झाडी उखेल्ने जस्ता कामलाई तल्लो स्तरको देख्छन् । केहीले त्यस्तो ठानेनन् भने पनि सकेसम्म पन्छिन्छन् । मोबाइल र सामाजिक संजाल ती कामबाट भाग्न सहयोग गर्ने साथी भएका छन् ।

२. पढेलेखेका मान्छे घमण्डी हुन्छन् । मास्टर्स, पीएचडी गरेका विद्वानहरूले जुन सम्मान पाउँछन्, त्यसले गर्दा ती अभिमानी भइदिन्छन् । पीएचडी गर्ने मान्छेले एउटा विषयको सानो अंशमा विद्वता पाएको हुन्छ । तर ऊ यसरी प्रस्तुत हुन्छ कि यस्तो लाग्छ उसले नजानेको केही छैन । पीएचडी ज्ञानको अन्त्य होइन भन्ने बिर्सेर ऊ ठान्छ, “म जति जान्ने कोही छैन । मैले कसैको कुरा सुन्नै पर्दैन ।”

३. नजानेको कुरा ‘मैले जानेको छैन’ भन्न नसक्नु पनि पढेलेखेका मान्छेको अहमको पराकाष्ठा हो । शिक्षकहरू प्रायः यस्तो विमारीका सिकार छन् । विद्यार्थीमा पनि यो रोग सारिदिन्छन् उनीहरू । यो रोगले शिक्षक र विद्यार्थीलाई एकअर्काबाट टाढिन सहयोग गर्छ । शिक्षक र विद्यार्थी नै एकअर्कालाई विश्वास गर्न सक्दैनन् भने राम्रो पठनपाठन कसरी हुन्छ ?

४. आफूले बिगारेको कुरा पनि अरूले सपार्दिओस् भन्ने ठान्छ्न् पढेलेखेका मानिस । अधिकांश समय अरूलाई गाली गर्दै बिताउँछ्न् । कतिपय बुद्धिजीवीहरू त राजनीतिजस्तो तुच्छ केही छैन भन्छन् तर ताक पर्दा राजनीति आफैं गर्छन् ।

५. पढेलेखेकाले कुरा घुमाउन जान्दछन् । शब्दजालमा माकुराले पुतली फसाएझैं फसाउन उनीहरू माहिर हुन्छन् । नियम पनि उनीहरू नै जान्दछन् अनि नियम बङ्ग्याउन पनि । एकछिन कुनै चोकमा गएर उभिनुहोस्, जानाजान ट्राफिक नियम पालना गर्ने पढेलेखेका मानिस सयौं भेटिन्छन् । सरकारी काम नगर्ने, काम छिटो गराउन घुस दिनेहरू पनि पढेलेखेका मान्छे नै हुन् ।

आफूलाई सधैं सही र अरूलाई सधैं गलत देख्ने, अरूका कुरा सुन्न नचाहने, आफ्नो ज्ञान सीमित भए पनि सर्वज्ञ ठान्ने पढेलेखेकाहरूकै कारण हामीले दु:ख पाएका हौँ भन्ने निष्कर्ष पो निकालेँ मैले त । सहमत हुनुहुन्छ ?

​व्यवस्थापिका र कार्यपालिकालाई खुला पत्र

माननीय सांसदज्यूहरू, प्रधानमन्त्रीज्यू एवम् मन्त्रीज्यूहरू,

आज राष्ट्रिय भुकम्प सुरक्षा दिवसका अवसरमा यो पत्र लेख्दै छु । मलाई लाग्दैन देशका सबैभन्दा शक्तिशाली र जिम्मेवार व्यक्तित्वहरूलाई सानातिना कुराहरू सम्झाइरहनु पर्दैन तर मन मान्दैन । २०७२ वैशाखको भुकम्प पीडितका सम्बन्धमा केही कुरा गरौं भन्ने लागिरहेछ ।

हामी (यहाँहरू समेत) सबैले कुनै न कुनै रूपमा वैशाख १२, २०७२ को भुकम्पले ल्याएका समस्या भोगेकै हौँ । दुर्गममा भने मानिसहरूले अझ धेरै समस्या भोग्नु परिरहेको छ । उनीहरूले बाँस गुमाए, आफन्त गुमाए तर आश मारेनन् । हामीलाई लागेको थियो हाम्रो अभिभावक कहीँ छ, गरीब नै भए पनि हाम्रा दु:ख कम गर्न सक्ने अभिभावक ।

तर हाम्रा अभिभावक हाम्रा पीडा महसुस नै नगर्दा रहेछन् । कसरी सक्नुहोला जब यहाँहरू वातानुकुलित घर, कार्यालयमा बस्नुहुन्छ र त्यस्तै सवारीसाधनमा यात्रा गर्नुहुन्छ । हामीले हरक्षण महसुस गर्ने चिसो यहाँहरू महसुस नै गर्नुहुन्न । हाम्रा पीडा बुझ्नै सक्नुहुन्न ।

सक्षम, असक्षम; धनी गरीब जे भए पनि हामी यहाँहरूमाथी नै भर पर्नु परेको छ राजनीतिक दाउपेच र भ्रष्टाचारका कारण । केही भुकम्प पीडितसँग पैसा छ, घर बनाउन सक्छन्, बनाइरहेका पनि छ्न् । कतिले पैसा भएर पनि बनाउन सकेका छैनन् । यहाँहरूले नै भन्नुभएको थियो- “भुकम्प प्रतिरोधी घर बनाउनुपर्छ भविष्यको सुरक्षाको लागि ।” उनीहरूले माने । उनीहरूले प्राविधिकको आश गरे । कम्तिमा प्राविधिक तालिमको आश गरे । तर यहाँहरूले निराश बनाउनु भयो ।

अधिकांश पीडितसँग खान एक गाँस छैन । आर्थिक सहयोगविना घर बनाउन सम्भव छैन । एउटा पुनर्निर्माण प्राधिकरण बनाउनु भयो, प्रमुख आयुक्त कसलाई राख्ने भनेर विवाद गरिरहनुहुन्छ । यहाँहरूले भुकम्प पीडितका नाममा फोहोरी राजनीति गरिरहँदा उनीहरू चिसोले काँपिरहेका छन्, निस्सासिइरहेका छन् । यहाँहरूले नियमावली बनाइरहँदा बालक र वृद्धहरूले ज्यान गुमाइरहेका छन् ।

suntali

गिरानचौरको धुर्मुस-सुन्तली एकीकृत वस्ति । स्रोत: nepalaaja.com

यहाँहरूले राजधानी नजिकका पीडितलाई त केही गर्नुभएको छैन, दुर्गममा केही गर्नुहोला भन्ने त आश छैन । तर वचन दिनुभएको छ र त्यस्को लाज राख्नुहुन्छ भन्ने कामना गर्दछु किनभने जसले वचनको लाज राख्दैन त्यो त मान्छे नै होइन । तर केही सहयोगी मनहरूले वचन नदिएर पनि धेरै गरेका छन् । धुर्मुस-सुन्तलीले गरेका कार्यले यहाँहरू लज्जित हुनुपर्ने हो । उनीहरूको कदमले केही पीडितलाई आशाको किरण देखाएको छ, समुदाय दिएको छ अनि भविष्यको मार्ग पनि दिएको छ । धुर्मुस-सुन्तलीले गरेको कामको एक प्रतिशत मात्र पनि यहाँहरूमध्ये हरेकले गर्नुभएको भए, पीडितको जीवन कम्तिमा पाँच सय प्रतिशत राम्रो भैसक्ने थियो ।

भुकम्प पीडितले धेरै समस्या भोगिरहेका छन् । यहाँहरू शक्ति सन्तुलनमा व्यस्त हुनुहुन्छ तर केही समय निकालेर मनदेखि उनीहरूका घाउहरूमा मलम लगाउनुहोस्, आशीर्वाद लाग्नेछ । किनकि जनताको आशिर्वादविना यहाँहरू सत्ताको खेल खेल्नै सक्नुहुन्न ।

अंकित ढकाल “सन्दीप्त”

खोइ नागरिक समाज ?

हिजो अचानक यो प्रश्न मनमा उठ्यो । देशमा राजनीतिका नाममा ठगी भइरहँदा, कुटनीतिका नाममा लुटनीति चलिरहँदा अनि राज्य पुनर्संरचना (शब्दै कति गार्‍हो रै’छ टाइप गर्न !)का आवाज उठिरहँदा नागरिक समाज कता हरायो?  दश वर्षअघि राजाको प्रत्यक्ष शासनको विरोध हुँदा “नागरिक समाज” एकदम प्रचलित थियो । नागरिक समाज नभएको भए  २०६२/६३को आन्दोलन नै हुने थिएन ।

तत्कालिन अवस्थामा नागरिक समाजका कसरी बनेको थियो ? के उद्देश्य थिए ? इतिहास नबुझी हुन्न भन्ने ठानेर गुगल सर्च गरेको थिएँ । हिजो नै सेतोपाटिमा चुडामणि बस्नेतको एउटा लेख प्रकाशित भएको रै’छ । उक्त लेखलाई आधार मान्दा त्यो समयको नागरिक समाज तल दिइएका वर्गको समूह पो रै’छ-

  • समाजका केही अगुवाहरू,
  • काठमाडौंमा केही बुद्धिजीवी भनेर कहलिएकाहरू, र
  • सञ्चार क्षेत्र
  • केही गैरसरकारी संस्थाका अगुवाहरू

नागरिक समाजको उद्देश्य थिए- १) माओवादी द्वन्द्वको वार्ताद्वारा समाधान; २) लोकतन्त्र र गणतन्त्रको प्राप्ति; ३) समावेशीकरण; ४) राज्य पुनर्संरचना ।

पछिल्ला दुई उद्देश्य माओवादीलाई मुल धारको राजनीतिमा ल्याउने कडीका रूपमा मैले बुझेको छु । ०६२/६३को आन्दोलनमा ती सवाल कसरी उठेका थिए भन्ने चाहिँ मलाई याद छैन । (म बाह्र वर्षको मात्रै थिएँ नि त !) अघिल्ला दुई उद्देश्यमा जनताको प्रत्यक्ष चासो थियो र राजनीतिक दलको स्वार्थ पनि त्यहीँ गाँसिएको थियो ।

त्यस ताका राजाले शासन आफ्नो हातमा लिँदा दलहरूमाथि जनताको विश्वास नै थिएन । उनीहरूले गर्ने विरोधका कार्यक्रममा जनता जाँदैनथे (रक्तकुण्ड, कृष्ण अविरल) । उनीहरू एउटा माध्यम चाहन्थे जनतासम्म पुग्न । नागरिक समाज त्यस्तो एउटा पुल थियो । त्यही भएर नै नागरिक समाजविना आन्दोलन सम्भव थिएन ।

जनता आन्दोलनमा होमिए । राजाले शासन छोडे । विघटित प्रतिनिधि सभा पुनर्स्थापना भयो । लोकतन्त्र आयो । राजाको शक्ति सीमित भयो । संविधान सभाको निर्वाचन भयो । गणतन्त्र घोषणा भयो । जनताले आन्दोलनमा भनेका थिए- “खबरदार नेतगण धोका देलाउ ।” नागरिक समाजलाई भनेका थिए- “यी नेतालाई मुर्ख्याइँ गर्न नदिनू ।” 

तर लोकतन्त्र र गणतन्त्र आउँदासम्म नागरिक समाज हराउन थालिसकेको थियो ।

सेतोपाटिको लेखअनुसार जतिजति समावेशीकरणको अवाज उठ्यो, नागरिक समाज फुट्दै गयो । जबजब राज्य पुनर्संरचनाको कुरा उठ्यो, नागरिक समाज विभक्त हुँदै गयो । मधेस आन्दोलनले यसमा झन् मद्दत गर्‍यो । क्षणिक उद्देश्यका कारण नागरिक समाज टुक्रिएको हो भन्ने म मान्दछु ।

तत्कालिन नागरिक समाजले देशको मुख्य शत्रुलाई निर्मुल पार्न कुनै कदम नै नचालेको जस्तो म देख्छु । नेपालका मुख्य शत्रु हुन्- अस्थिरता र भ्रष्टाचार । यिनै दुई कारणले गर्दा राजनीतिक दलसँग आजित भएका जनताले राजाको प्रत्यक्ष शासनलाई समर्थन गरेका थिए । यिनै दुई कारणले गर्दा राजाको शासन डगमगाएको थियो । यिनै दुई कारणले भुकम्प पीडित जनताले उचित राहत पाएका  छैनन् । यिनै दुई कारणले नेपाल विदेशी चलखेलको केन्द्र बनेको छ । यिनै दुई कारणले जनता गणतन्त्र देखि नै आजित हुन थालिसके । समस्याको चुरो बुझेर पनि बुझ पचाउने राजनीतिकर्मी र बुद्धिजीवी भनाउदाले गर्दा नै हाम्रा समस्या समाधान नभएका हुन् ।

अफसोस, नेपालका बुद्धिजीवीहरू र सञ्चार क्षेत्र   जातीय, क्षेत्रीय, वर्गीय  रङ्गमा रङ्गिएका छन् । यस्तोमा हाम्रा समस्याहरू झन् बढ्दै छन् । कहिलेसम्म ? प्रश्न अनुत्तरित छ ।

Page 2 of 2

Powered by WordPress & Theme by Anders Norén

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.