Experiences of a common man!

Tag: Why Nepal is poor

Why Nations Fail

राष्ट्र किन असफल हुन्छन् – समीक्षा Why Nations Fail

सन् २०११ मा अरब स्प्रिङ्ग भइरहँदा इजिप्सियनहरूले भनेका यी कुरा हामी नेपालमा पनि भनिरहन्छौँ —

“We are suffering from corruption, oppression and bad education. We are living amid a corrupt system which has to change.”


अर्थात्, “हामी भ्रष्टाचार, दमन र कुशिक्षाले पीडित छौँ । हामी यस्तो भ्रष्ट प्रणालीमा छौँ जुन परिवर्तन हुनै पर्छ ।”

भ्रष्ट प्रणालीमा हामी कसरी पुग्छौँ ? कसरी त्यस्तो प्रणालीले देशलाई नै असफल बनाउँछ ? के भ्रष्टाचार र असफलताको दुष्चक्रबाट उम्किन सकिन्छ ? सकिन्छ भने कसरी ? यस्तै प्रश्नका उत्तर ड्यारोन एसेमोलु र जेम्स रबिन्सनले Why Nations Fail किताबमार्फत् दिने प्रयास गरेका छन् ।

पुस्तकमा समेटिएका विषयहरू

पुस्तकको मुख्य थेसिस

एसेमोलु र रबिन्सन आफ्नो तर्क यसरी राख्छन्–कुनै पनि देशको उन्नति तब हुन्छ जब राज्यशक्ति केन्द्रीकृत हुन्छ र समावेशी आर्थिक तथा राजनीतिक संस्थाहरूको निर्माण गर्छ ।

यहाँ केन्द्रीकृत राज्यशक्ति भन्नाले निरङ्कुशता नभई राज्यभित्र सक्षम र सबल कानूनी शासनको प्रत्याभूति हो । त्यस्तै, समावेशिताको अर्थ राज्यका सम्पूर्ण पक्षको राज्यमा अर्थपूर्ण सहभागिता भन्ने बुझिन्छ । यदि केन्द्रीकृत शासन, समावेशी आर्थिक र राजनीतिक संस्थाहरू मध्ये कुनै एकको मात्रै कमी भयो भने पनि राज्य असफलतातर्फ उन्मुख हुन्छ । तीनवटै अवस्था भएनन् भने राष्ट्र पूर्णतः असफल हुन्छ ।

राज्य लिएका ससाना नीतिहरूको प्रभाव विशेष परिस्थिति (Critical juncture) मा अझै गहिरो गरि देखापर्छ । जस्तै, युरोपमा ब्ल्याक डेथले जनसङ्ख्यामा असर पार्दा बेलायतमा म्याग्ना कार्टाको प्रभावले दासत्वको अन्त्य भयो तर पूर्वी युरोपमा दासत्व झनै बढ्यो । म्याग्ना कार्टा र दासत्व उन्मुलनले बेलायतमा ल्याएका परिवर्तनले औद्योगिक क्रान्तिलाई टेवा दियो र विश्वको सबैभन्दा धनी र शक्तिशाली राष्ट्र बन्न सक्यो ।

भूगोल, संस्कृति र रोगको प्रभाव

एसेमोलु र रबिन्सनले आफ्नो तर्क प्रस्तुत गर्ने क्रममा राष्ट्रको सफलतामा भूगोल, संस्कार, र रोगको खासै भूमिका नहुने कुरा उल्लेख गरेका छन् । यसका लागि प्रस्तुत गरेका केही उदाहरण हुन्: एरिजोना, अमेरिका र मेक्सिकोका सीमाले छुट्याएको एउटै ईतिहास, भूबनोट र संस्कृति भएका दुई नोगेल्स शहर, उत्तर र दक्षिण कोरिया, बोट्स्वाना र उसका छिमेकी मुलुकहरू आदि । उस्तै भूगोल र संस्कृति भए पनि यी ठाउँमा स्थापित फरकफरक आर्थिक र राजनीतिक संरचनाले जनताको जीवनमा भिन्नभिन्न तरिकाले असर पार्ने तर्क लेखकहरूको छ ।

समावेशी संस्थामाथि खतरा

आर्थिक-राजनीतिक असमानताका कारण समावेशी संस्थाहरू (inclusive institutions) पनि बिस्तारै शोषक (extractive) बन्न सक्नेतर्फ पनि लेखकद्वयले संशय व्यक्त गरेका छन् । यसको मुख्य उदाहरणका रूपमा रोमन साम्राज्य र त्यसको असफलताबाट निस्किएको रोमन गणतन्त्र र भेनिसलाई प्रस्तुत गरेका छन् । त्यहाँ आर्थिक र राजनीतिक शक्ति सीमित व्यक्तिहरूमा पुगेपछि नवप्रवर्तन रोकिएको र मानिसहरू नयाँ सहज ठाउँमा बसाइँसराइ र व्यापार गर्न थालेको विषयले संस्थाहरू कति संवेदनशील हुन्छन् भन्ने थाहा हुन्छ । अहिले समावेशी र सफल भनिएको बेलायतमा सन् १२१५ मा म्याग्ना कार्टाको घोषणा र सन् १६८८ मा गौरवमय क्रान्ति (Glorious Revolution) को बिचमा राज्य खासै समावेशी नभएको र जनताको आर्थिक विकास गर्न राज्य त्यति सफल नभएको इतिहास पनि प्रस्तुत गरेका छन् ।

शासक र नवप्रवर्तन

शासकहरू नवप्रवर्तन र प्रविधि अपनाउन किन चाहँदैनन् ? के उनीहरूले प्रविधि नबुझेर त्यसो गरेका हुन् ? एसेमोलु र रबिन्सन भन्छन्–शासन शक्ति हुनेहरूका लागि नवप्रवर्तन र प्रविधि चुनौती हुन् उनीहरूको शोषक प्रणाली विरुद्ध । उनीहरू जुन प्रविधि र प्राविधिकले आफ्नो फाइदा नहुने देख्छन्, तिनलाई नष्ट गरिदिन्छन् । बेलायतमा १६८८ को गौरवमय क्रान्तिपूर्व राजा र रानीले थुप्रै प्रविधि रोकेका रहेछन् । १६८८ पछि भने उपनिवेशबाट कमाएर धनी भएका व्यापारी र वैज्ञानिकहरूको आवाज सशक्त हुँदै गएको देखिन्छ ।

बेलायत, उपनिवेश, र असफल राष्ट्रहरू

बेलायत र उसका उपनिवेशहरूमा भने द्वैधता देखिन्छ । बेलायत भित्र समावेशी संस्थाहरू क्रमशः स्थापना भइरहँदा बेलायतीहरूले उपनिवेशहरूमा भने स्रोत दोहनका लागि शोषकी संस्थाहरू स्थापना गरेका थिए । अफ्रिकामा दासहरूको किनबेच गर्नेमा बेलायतीहरू प्रमुख थिए । बेलायतमा विरोध बढ्दै जाँदा दासत्व गैरकानुनी त भयो तर अफ्रिकाका राज्यहरू दासत्वबाट टाढिएनन् । अर्कोतिर स्रोत र रैथानेहरूको अभाव भएका ठाउँमा (अमेरिका, क्यानडा, अस्ट्रेलिया) भने नचाहँदा नचाहँदै समावेशी किसिमका संस्था स्थापित हुँदै गएराज्यको नीति र आवश्यकता अनुसार संस्थाहरू निर्माण हुन्छन् भन्ने यहाँबाट बुझिन्छ । बेलायतीबाहेक दक्षिण अमेरिकामा स्पेनी र पोर्चुगिज अनि दक्षिण पूर्वी एसिया डचहरूले गरेका आततायी व्यवहारको ईतिहास पनि पुस्तकमा समेटिएको छ ।

पुस्तकमा असफल राष्ट्रहरूको पनि चर्चा छ । तीमध्ये मुख्यतः सोमालिया हो । त्यहाँ केन्द्रीकृत शक्ति नहुँदा राजनीतिक विकास हुनै सकेन । आर्थिक मुद्दाहरू पनि कहिले पनि उठेनन् । फलस्वरूप, मलिलो माटो र समुद्रमा पहुँच भएर पनि सोमालिया अस्थिरता, द्वन्द्व र चरम गरीबीको शिकार भएको छ ।

इतिहासको अनिश्चितता

इतिहास ठ्याक्कै यही दिशामा जान्छ भन्न सकिँदैन र कुनैबेला समावेशी भनिएका राष्ट्र पछि शोषक पनि बन्न सक्छन् भन्ने तर्क Why Nations Fail भित्र भेटिन्छ । तिनलाई सरकारले नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने कुराले राष्ट्रको भविस्य निर्धारण गर्छ । उदाहरणका लागि अमेरिकामा १९औं शताब्दीमा उदाएका लुटेरा ब्यारोनहरू (Robber Barons) लाई लिन सकिन्छ । त्यस समय थोरै पुँजीबाट ठूला उद्योगी बनेकाहरूले आफ्नो प्रभाव बढाउन साना उद्योगलाई धराशायी बनाउने, आफूभित्र गाभ्ने र प्रतिस्पर्धा निष्तेज गर्ने काम गरेका थिए । उदाहरणका लागि एन्ड्र्यु कार्नेगीले स्टील, जोन डी. रकफेलरले पेट्रोलियम र जे. पी. मोर्गनले बैङ्किङ क्षेत्रमा मोनोपोली बनाएका थिए । अमेरिकी कङ्ग्रेसमा पनि उनीहरूको बलियो प्रभाव थियो । यद्यपि बीसौँ शताब्दीको सुरुवातमा राष्ट्रपति बनेका थियोडोर रूजवेल्टले मोनोपोलीहरू बन्द गर्ने प्रतिबद्धता गरे र उनी पछि आएका विलियम टाफ्ट र उड्रो विल्सनहरूले मोनोपोलीहरूलाई टुक्र्याएर प्रतिस्पर्धालाई प्रोत्साहन गरे । प्रतिस्पर्धाकै कारण अमेरिका नयाँ लगानीको लागि आकर्षक हुन थाल्यो र बिल गेट्सजस्ता धनाड्य आउन सके । प्रतिस्पर्धालाई प्रोत्साहन गर्न नसकेको भए मेक्सिकोमा जस्तो राजनीतिक र आर्थिक प्रभावको आधारमा उद्योग सञ्चालन गर्नुपर्ने हुन सक्थ्यो भन्ने तर्क एसेमोलु र रबिन्सनले गरेका छन् ।

सुचक्र (Virtuous Cycle)

उदार र समावेशी अर्थतन्त्रले त्यस्तै राजनीति माग गर्ने र समावेशी राजनीतिले समावेशी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने चक्र नै सुचक्र हो । यस्तो चक्र बेलायतमा गौरवमय क्रान्तिपछि र अमेरिकामा स्वतन्त्रताको घोषणापछि देख्न सकिन्छ । अघिल्लो खण्डमा उल्लिखित अमेरिकी मोनोपोलीहरूको अवसान सुचक्रको एउटा उदाहरण हो । अर्को उदाहरण अमेरिकामै फ्रयाङ्क्लिन डी. रूजवेल्टले सर्वोच्च अदालतको शक्ति सीमित गर्न चाहेको तर संसदले अस्वीकार गरेको प्रसङ्ग पनि हो ।

दुष्चक्र (Vicious Cycle)

शोषक राजनीतिले अर्थतन्त्रलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्ने र आर्थिकरूपमा सबल भएकाहरूले आफ्नो पक्षमा राजनीति गर्ने शिलशिलालाई दुष्चक्र भन्न सकिन्छ । धेरैजसो अफ्रिकी, दक्षिण अमेरिकी र एसियाली देशहरू यस्तो चक्रमा फसेका छन् । सोमालिया, अर्जेन्टिना, र उत्तर कोरियालाई उदाहरणका रूपमा लिन सकिन्छ ।

दुष्चक्रबाट उन्मुक्ति

शोषक राजनीति र अर्थतन्त्रको दुष्चक्रबाट उम्किन सम्भव छ । यसका लागि राजनीति र बजार दुवै समावेशी बन्दै जानुपर्छ । उदाहरणका लागि दक्षिण कोरियामा १९६० को दशकमा जनरल पार्क चुङ ही राष्ट्रपति बने । उनले राजनीतिक रूपमा अधिनायक शैली लिए पनि अर्थतन्त्रमा भने निकै सुधार गरे । उनको हत्यापछि राष्ट्रपति बनेका चुन डु-ह्वान झनै क्रूर बन्न थाले । तर अर्थतन्त्रको र चेतनाको विकासले उक्त शासन व्यवस्थालाई चुनौती दिने साहस दक्षिण कोरियालीहरूलाई दियो । फलस्वरूप दक्षिण कोरियामा १९९७ देखि लोकतान्त्रिक व्यवस्था कायम भयो ।

अस्थिर आर्थिक प्रगति

शोषक राजनीति भएका ठाउँमा पनि आर्थिक वृद्धि सम्भव हुन्छ किनकि शासकहरू उक्त आर्थिक वृद्धिको लाभ लिन पाउँछन् । त्यस्तो आर्थिक वृद्धिले जनताको जीवनमा भने खासै सकारात्मक प्रभाव पार्न सक्दैन । पारिहाले पनि त्यस्तो वृद्धि दिगो हुन सक्दैन । यसका लागि लेखकद्वयले स्टालिनकालीन सोभियत संघ र हालको चीनलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । स्टालिनले लिएका नीतिले सोभियत संघलाई सैन्य शक्ति त दियो तर कालान्तरमा खण्डित गरिदियो । चीनले समावेशी राजनीतिक संस्थाको विकास नगरेमा त्यहाँको आर्थिक विकास दिगो नहुने र भविस्यमा लोकतान्त्रिक व्यवस्थातर्फ अघि बढ्ने सम्भावना देखिन्छ, किताबले भन्छ ।

पुस्तकमा रहेका केही समस्याहरू

Why Nations Fail मा राष्ट्रभित्रका संस्थाहरू बाहेक अरू पक्षहरूलाई नकारिएको छ । भूगोल र भूराजनीतिको प्रभावको विषयमा पुस्तकमा चर्चा छैनअन्तर्राष्ट्रिय संस्थाहरूको प्रभावका कारण देशले लिने नीतिका विषयमा पनि पुस्तक मौन छ । उदाहरणका लागि अमेरिकामा सन् १९३० को आर्थिक मन्दी (The Great Depression) पछि लोकतान्त्रिक समाजवादमा आधारित किन्सीयन अर्थतन्त्र लागू भयो । त्यसैको सिको युरोपले पनि गर्‍यो । त्यस्तै, सन् १९४४ को ब्रेट्टन उड्स सम्मेलन, दोस्रो विश्वयुद्धपछि युरोपको पुनर्निर्माणका लागि अपनाइएको मार्शल प्लान, रिचर्ड निक्सनद्वारा गरिएको गोल्ड स्टान्डर्डको अन्त्य, सन् १९८० पछि अमेरिकामा रोनाल्ड रेगन र बेलायतमा मार्गारेट थ्याचरको सहमतिपछि उदाएको नवउदारवाद, त्यसमा आधारित IMF र World Bank का गतिविधि, Washington Consensus र तिनले भूराजनीतिमा पारेका प्रभावलाई पूरै बेवास्ता गरिएको छ । त्यसैगरी पश्चिमा गुप्तचर संस्थाहरूले गर्ने शासन परिवर्तन, उदीयमान अर्थतन्त्रमा धक्का लाग्ने गरी “सफल राष्ट्र”हरूले लिने नीतिलगायतका विषय पनि यस मोडलमा अटेका छैनन् ।

प्राचीन राज्यहरूको असफलताका बारेमा लेखिएका कुराहरू संस्थामा आधारित थिए भन्ने कुरा अलि अमिल्दो लाग्छ । नाटुफियन सभ्यताको अन्त्य शोषणका कारण भएको हो भन्ने तर्कलाई पुष्टि गर्ने पर्याप्त आधार रहेनछन् । शिकारी नै भए पनि वासस्थान बनाएर बस्न थालेका उनीहरू राज्यका रूपमा संगठित थिए भन्न सकिँदैन । बरू इजिप्सियन र सुमेरियन राज्यका शोषणका अनगिन्ती प्रमाण भेटिने रहेछन् । त्यस्तै, माया सभ्यताको अन्त्य शोषणकै कारण भएको भन्न सकिने प्रमाण पुग्दैन ।

सिङ्गापुरको एकदलीय शासन व्यवस्था (लोकतान्त्रिक भनिए पनि) र त्यहाँ भएको विकास समेटिएको छैन । चीनका सन्दर्भमा सी चीन फिङले तेस्रो कार्यकालका लागि गरेको संविधान संशोधनले चिनियाँ कम्युनिस्ट पार्टीको शासनलाई अझै बलियो बनाउने देखिएको छ ।

लेखकहरूले आफ्नो मूल थेसिस किताबभरी दोहोराइरहन्छन् । यस्तो लाग्छ कि पटकपटक एउटै कुरा भनेर यही एउटा तर्क नै सम्पूर्ण सत्य हो भन्ने देखाउन खोजेका हुन् । एउटै कुरा दोहोरिरहँदा केही झिँझो पनि लाग्छ । यद्यपि, विशेष परिस्थितिको विश्लेषण र इतिहासको अनिश्चितताका कारण एसेमोलु र रबिन्सनको मोडलमा पूर्वानुमान गर्ने क्षमता (predictability) को कमी छ । भइसकेका घटनाको विश्लेषणका लागि भने केही मद्दत अवश्य गर्छ तर संस्थाहरूलाई मात्रै प्राथमिकता दिने हो भने राजनीतिक र आर्थिक परिवर्तनका अन्य आयामलाई केलाउन सकिँदैन

नेपालको सन्दर्भ

पुस्तकमा नेपालको नाम केही ठाउँमा भेटिनुबाहेक विस्तृत चर्चा छैन । यद्यपि, एसेमोलु र रबिन्सनको मोडलभित्र राख्दा नेपालमा शोषक राजनीतिक व्यवस्थाले चलाएको शोषक आर्थिक प्रणालीका कारण हामी दुष्चक्रमा परेका छौँ भन्न सकिन्छ ।

आधुनिक नेपालको सुरुवात पृथ्वीनारायण शाहले वि. सं. १८२५ मा कान्तिपुरलाई हराएपछि भएको मान्ने गरिन्छ । त्यस समयमा राज्य विस्तारमा सहायता गर्ने भाइभारदारमा शक्ति केन्द्रीत थियो । राज्य विस्तार हुँदै गर्दा भौगोलिक एकीकरण भए पनि राजनीतिक एकीकरण हुन सकेन । अङ्ग्रेजसँग महकालीपारि नेपालले हार्नुको कारण त्यहाँ नेपालको राजनीतिक र सैन्य शक्तिको कमजोर उपस्थिति पनि थियो । अझै पनि नेपालका कतिपय ठाउँमा राज्यको उपस्थिति छैन जसले गर्दा कानुनी शासनको अभाव छ र सीमित व्यक्तिहरूले शोषण गरिरहेकै छन् ।

राणाकालमा देशमा बलियो शासन त आयो तर त्यो पनि भाइभारादारकै मिलेमतोमा सीमित थियो । राणा र पहुँचवालाका लागि मात्रै शिक्षाको व्यवस्था गर्ने तर केही नयाँ गर्न खोज्दा खेद्ने चलन राणाहरूले नै चलाए । शिक्षा र राजनीतिमा सुधार ल्याउन चाहेने देवपद्म समशेरहरू लखेटिए । गेहेन्द्रले वीर गन बनाएर हतियार कारखाना चलाउँदा चन्द्रले भाँजो हाले । चन्द्रले सती प्रथा र दासत्वको अन्त्य गरे र त्रिचन्द्र कलेजको स्थापना पनि गरे । यद्यपि कलेजमा जोकोहीको पहुँच थिएन ।

२००७ सालमा प्रजातन्त्र स्थापना भए पनि शासन केही सम्भ्रान्तका लागि मात्रै सीमित भयो । पहिलो आम निर्वाचनबट बनेको संसद र सरकारले पनि जनजीवनमा खासै परिवर्तन ल्याउन सकेन । त्यसपछि राजा महेन्द्रले सुरु गरेको पञ्चायत व्यवस्थाले सडक सञ्जाल विस्तारउद्योगहरू स्थापना गर्‍यो तर जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सकेन । केही सम्भ्रान्तको पकड (elite capture) पञ्चायतमा देखियो ।

तर जुन पकडको विरुद्धमा प्रजातन्त्रको पुनःस्थापना, लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको स्थापना भयो, त्यसलाई पराजित गर्न नेपाल अझै सक्षम भएको छैन । सीमित स्रोत र अर्थतन्त्र पनि सीमित व्यक्तिमा केन्द्रीत भएकाले गणतन्त्रप्रति पनि जनतामा वितृष्णा उब्जिन थालेको छ । केही आर्थिक-सामाजिक सूचकहरूमा नेपालको प्रगति त देखिएको छ तर सुशासन कमजोर हुँदा जनताले देख्ने गरी देशको विकास हुन सकेको छैन ।

नेपालको अवस्था फेर्न नवप्रवर्तनलाई प्राथमिकता दिँदै प्रतिस्पर्धात्मक औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता छ । तथापि त्यसो गरेमा जनता सक्षम हुने र आफ्नो राजनीतिक शक्ति कमजोर भई सत्ताबाट बाहिरिनुपर्ने डरका कारण राजनीतिक नेतृत्व झन्झन् शोषक बन्दै गएको छ ।

अन्त्यमा,

ड्यारोन एसेमोलु र जेम्स रबिन्सनको Why Nations Fail आर्थिक विकास र समृद्धिमा राष्ट्रका आन्तरिक संस्थाहरूको महत्त्वका बारेमा बुझ्न उपयोगी छ । यद्यपि यसमा अन्य भूराजनीतिक पक्षलाई स्थान नदिएको हुँदा यसको थेसिस सीमित छ । पुस्तकमा दिइएका उदाहरणलाई जस्ताको तस्तै ग्रहण गर्नुभन्दा अन्य पक्षलाई पनि विचार गर्दै पढ्नुपर्ने हुन्छ । गहन अध्ययन गर्न नसक्ने पाठकका लागि संस्थाको महत्त्व मात्रै महत्त्वपूर्ण लाग्न सक्ने हुँदा यस पुस्तकलाई सावधानीपूर्वक पढ्नु उचित हुन्छ ।

देश सिध्याउने दलालहरुको नाममा !

“एसियाको सबभन्दा गरीब देशको नागरिक भएकोमा बधाई छ !” फेसबुकमा देखियो । केही छिन पछि अर्को पोस्टमा भेटिएको थियो, “International Monetary Fund (IMF) ले सार्वजनिक गरेको प्रतिवेदनले नेपाललाई एसियाकै सबैभन्दा गरीब देश भनेको छ ।” IMF ले २०२३ अक्टोबरको “World Economic Outlook” निकालेको छ भन्ने कुरा गूगल सर्चबाट थाहा भयो । प्रतिवेदन सर्सर्ती हेर्दा त्यस्तो लेखिएको कतै भेटिन्न ! “Find” tool प्रयोग गरेर poor keyword खोज्दा पनि सिधै कुनै देशलाई धनी भनेकै छैन ! अलमल्ल परें । ५-६ घण्टापछि ट्विटर (सरी, X) मा FACTS ले राखेको एउटा ग्राफ भेटेँ । त्यसमा हरेक महादेशका सबभन्दा गरीब देशहरू थिए । स्रोत थियो अप्रिलको World Economic Outlook । त्यसमा पनि खोजें । खोजेको कुरा पाइनँ । फेरि गूगलमा खोज्दा चाहिँ एउटा लिङ्क भेटियो । Global Finance Magazine को त्यो पेजमा FACTS ले राखेका देशहरूको सूची थियो । त्यस पत्रिकाले IMF कै अप्रिलको प्रतिवेदनको आधारमा गरीब देशहरूको सूची तयार गरेको रहेछ । यमन र अफगनिस्तान जस्ता युद्धपीडित देशहरूलाई नराख्दा नेपाल एसियाको सबैभन्दा गरीबमध्येकै देश रहेछ । (IMF को interactive page यता हेर्नुहोला ।) हुन त गरीबीको मापन गर्न प्रयोग गरिएका index हरूमा केही समस्या छन् भनेर IMF ले नै भनेको छ तर हामी धनले त गरीब भयौँ नै, सोचले समेत दरिद्र छौँ । यसमा कुनै शङ्का नगरे हुन्छ !

यति हुँदा पनि हाम्रा शासक, प्रशासक, कर्मचारी र अलिकति पनि शक्ति हुने जोसुकैलाई भने लज्जाबोध छैन । यी र केही “जान्नेसुन्ने” मानिसहरूको तर्क कस्तो हुन्छ भने, “राजाको शासनमा कहाँ अहिले जस्तो थियो ? अहिले त्यो बेला भन्दा धेरै राम्रो छ ! जनताले बोल्न पाएका छन् ! राजाको पालामा राजदरबार नजिकका मान्छेसँग मात्रै धन थियो । अहिले जोसुकैलाई कमाउने मौका छ । त्यसैले, पहिलेभन्दा धनी छन् त जनता !”

समयको क्रमसँगै आफैं हुने परिवर्तनमै रमाउने यी वर्ग देशमा कुनै समस्या नै देख्दैनन् । समस्या नदेखे पछि समाधान गर्नै परेन ! समस्या किन देखिँदैन भने यिनको आँखामा पट्टी बाँधिएको छ–सत्ता, शक्ति र सम्पत्तिको । सत्ता, शक्ति र सम्पत्ति आर्जन मात्रै उद्देश्य भएपछि मानिस भ्रष्ट बन्छ । धर्म र कर्तव्य के हो भन्ने बिर्सिएका यिनीहरूले सहीलाई झुठ र गलतलाई सही बनाइदिन्छन् । असल मानिसहरूलाई यिनीहरू आफ्नो वशमा पार्न खोज्छन् ताकि आफूजस्तै बनाउन सकियोस् । अरूलाई दोषी देख्ने यिनका आँखाले आफूलाई भने असल देखाउन खोज्छन् । यसरी अधर्म फैलिन्छ हरेकको मनमा । मेरो देश यस्तै अधर्मीले भरिएको रहेछ । ज्ञान, विज्ञान र धर्म लत्याउने गतिछाडा दलालहरूले भरिएको देश गरीब नभए के हुन्छ ?

ए शासक, प्रशासक, कर्मचारी, व्यापारी र थोरै मात्रै पनि शक्ति पाउने वित्तिकै मैमत्त हुनेहरू ! तिमीहरूको धर्म के हो ? देशमा बनेका कानून, नीति, नियमलाई सत्कर्मका साथ पालना गरेर जनकल्याण गर्नु हैन ? देशको हित हुँदा तिमीहरूको हित हुने हैन ? सत्ता, शक्ति र सम्पत्तिको लागि जे पनि गर्ने ? अनेक सुविधा लिने अनि कसैको स्वार्थ पूरा गर्न घुस, गिफ्ट, दान लिने ? कानूनको धज्जी उडाउने अनि हास्दै हिँडने ? लाज पचाएर अझै एक अर्कालाई गाली गरेर आम जनतालाई भ्रमित पार्ने ? अनि मिलेमतो गर्न पायो भने चै जे पनि गर्ने ?

तिमीहरूले आफ्नो आत्मा त बेच्यौ नै, मान्छे पनि बेच्छौ । तिमीहरू यति मूर्ख छौ कि तिमीहरूलाई लाग्छ आफ्ना आफन्तहरू तिमीले बेचेका छैनौ । तर तिमीहरूका सन्तानहरू अहिले कहाँ छन् ? के गर्दैछन् ? तिमीहरूका साथमा छन् ? साथमा भएकाहरू कुन स्वार्थका लागि बसेका छन् ? मनैदेखि कर्तव्य वुझेर स्याहार सुसार गर्छन् ? तिमीहरूका कुरा मान्छन् ? यहाँ करोडौंको धनसम्पत्ति भए पनि तिमीहरूका सन्तान किन विदेशमा दुःख गर्न खोज्छन् ? सोचेका छौ कहिले ? सोच्ने भए गति किन छाड्थ्यौ होला र ?

ल सुन ! तिमीहरूका सन्तान तिमीसँग छैनन् किनकी उनीहरूलाई (प्रत्यक्ष नभए उनीहरूको ब्रह्मलाई थाहा छ) त्यो धन सत्यको हैन । तिमीहरू ज्ञानलाई दुत्कार्छौ, तिमीहरूका सन्तान अनैतिक बन्दै जान्छन् । तिमी विज्ञानको उपहास गर्छौ, तिमीहरूका सन्तानले यहाँ अवसर गुमाउँछन् । तिमीहरू अधर्म गर्छौ, तिमीहरूका सन्तान टाढिँदै जान्छन् । तिमीहरू दुष्कर्म गर्छौ अनि परिणाम राम्रो हुन्छ ? वर्षौं “मिहिनेत” गरेर कमाएको तिमीहरूका घरमा तिमीहरू किन एक्ला छौ ? तिम्रै कुकर्मको फल हैन ? एउटा पुस्ताले गरेको कुकर्मले आउने सन्तानहरूलाई कतिसम्म पिर्छ भन्ने त थाहा छ त तिमीहरूलाई ! महाभारत बिर्स्यौ ?

हुन त तिमीहरू महाभारत (र अरू शास्त्र) लाई फगत कहानी मान्छौ । त्यहाँ भएका सत्कर्मका उपदेश तिमीहरूलाई विष लाग्छ । तर मस्तिष्कको कुनामा कतै स्वविवेक भएको भए तिमी देख्थ्यौ कसरी इन्द्रीयलाई वशमा राख्न नसकेका शान्तनुले गर्दा उनका राजा हुन योग्य छाेरा राजा बन्न पाएनन् । राजगद्दीप्रति सधैँ वफादार हुन खोज्दा भीष्म, द्रोण र कृपाचार्यले अधर्मका विरुद्ध बोल्न सकेनन् । विभिन्न पात्रका कुकर्म, द्वेष र महत्त्वाकांक्षाले भएको युद्धमा शान्तनुका सन्तान मात्रै नासिएनन्, लगभग पूरै भारतवर्षको विनाश भयो । तिमीहरू पनि एउटा सभ्यता विनाश गर्दैछौ । तिमीहरूले नपाएर मात्रै हो, पाउने भए यो देश उहिल्यै बेचिसक्थ्यौ । र त बेलाबेला भन्छौ, “नेपाल भारत, चीन, वा अरू कुनै देशमा विलय भएको भए नि हुन्थ्यो !” कुलाङ्घारहरू !

दशैंकाे बेला छ । वर्षभरिको “दुःखकाे फल” भित्र्याउने समय यही हो भन्दै सेवाग्राहीसँग खुल्लम खुल्ला रकम माग्ने सरकारी कर्मचारीदेखि दशैंका नाममा बढी पैसा उठाउने पसले, होटेल र गाडी साहुहरू सबै चोर हौ । तैपनि नैतिकता नभएका तिमीहरू खुब मजाले आशीर्वाद दिन्छौ सन्तानलाई, “ज्ञानी हुनू, ठूलो मान्छे हुनू, सबैले मान्ने हुनू !” अनि तिम्रा कर्म चै के हो ? छोराछोरीका आँखामा हेरेर आदर्शका गफ गर्न कसरी सक्छौ ? कति सम्म चैं किच्चक हौ ?

तिमीहरूलाई यहाँ कसले मान्छ ? तिमीहरूमा न ज्ञान छ न विज्ञान मान्छौ न त धर्म । जो तिमीहरूलाई नमस्ते गर्दै आउँछ नि, तिमीहरूलाई सम्मान गर्न हैन, कि त तिमीहरूबाट काम लिन आउँछ कि त बाध्यताले । जसको मुखमा एउटा अनि मनमा अर्को कुरा हुन्छ, त्यस्तो मानिसको सङ्गत गर्नु तरबारको धारमा हिँड्नु बराबर हो भनेर शास्त्रले पनि भन्छ । तिमीहरूको सङ्गत गर्यो भने साधु पनि कि त चोर बन्छ कि त शुलीमा चढ्छ ।

हुन त तिमीहरू बेलगाम घोडा हौ । तिमीहरूलाई शास्त्र व्यर्थ लाग्छ, अर्ती गाली लाग्छ, कानून, विधि र विज्ञान बोझ लाग्छ तर तिमीहरूका सन्तान त तिमीहरूलाई आफ्नै लाग्छ नि हैन ? मरेर जाँदा तिमीहरूले लाने केही हैन, सबै कुरा छोडरै जान्छौ । सुकर्म छाड्यौ भने तिम्रा सन्तान पनि खुशी हुन्छन् तर कुकर्मले तिनलाई पनि सुख दिँदैन । कमसेकम तिनका लागि त केही सत्कर्म गर !

धनभन्दा माथि देश हो अनि देशभन्दा माथि धर्म ! यति बुझ्ने यहाँ कोही देख्दिन । देश राजनीतिले खत्तम भएको हैन, कुनीति र कुनियतले हो । राजनीति भनेको त राजा (इन्द्रीय र लोकभन्दा माथि हुने) को नीति अनि नीतिको राजा हो । नीतिको जग नैतिकतामा हुन्छ जुन हामी नेपालीमा छँदै छैन । उज्वल थापाले भनेझैं एकले अर्कोलाई पाएसम्म लुट्न तयार छौं हामी । यो लुटको चक्रव्यूह तोड्न सक्ने अर्जुनलाई यहाँ युद्धभूमिबाट लखेटिन्छ । केही गरौँ भन्ने अभिमन्युजस्ता जोशिला तर अनुभव कम भएका युवाहरूलाई चक्रव्यूहमा फसाएर मारिन्छ । शकुनि र दुर्योधनको राज छ यहाँ । भीष्म र द्रोणहरू लाचार भई दुष्टहरूको साथ दिइरहेका छन् । यो सब देखेर दिक्क भएका मानिसहरू देश छोडिरहेका छन् । म तिमीहरूका सब कर्तुत निराश भएर हेर्दै भन्दै छु, “यो देश उँभो लाग्ने छाँट छैन ।”

र, यति निराश म कहिले पनि भएको थिइनँ ।

Powered by WordPress & Theme by Anders Norén

SUBSCRIBE

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.