भेडा (भाग-२)

डेढ वर्षअघि भेडा शब्दलाई चुनावी सन्दर्भमा मात्रै बुझेको थिएँ । हिजो साँझ बल्ल यो शब्दको वास्तविक अर्थ बुझेँ ।

कुनै व्यक्ति वा दलले आफ्ना कुरा मान्नेलाई वा (मनाउनु पर्‍यो भने) जनताजनार्दन भन्दा रहेछन् । जब जनताजनार्दनले अरू कसैको पक्ष लिन्छ, उसलाई दुत्कार्दै भन्दा रहेछन्, “भेडो कहीँको!!

जतिसुकै आशावादी भए पनि नेपालको राजनीतिले आशालाग्दो बाटो कहिल्यै देखाएन । कुनै राजनीतिक पार्टी एनजीओ (NGO) शैलीमा काम गर्छन् त कुनै अधिनायकवादी सोच राखेर । पदको कुन हदसम्म लोभ छ भने पूर्वपार्टीप्रमुख र पूर्वप्रधानमन्त्री भएर देश हाँकिसकेकाहरू, जसले पार्टी बाहिर रहेर बृहत्तर हितका लागि लाग्नुपर्ने हो, पार्टीभित्र मर्यादाक्रमका लागि जोरी खोज्छन् । अनि तिनै तप्काका “व्यक्तित्वहरू” विदेशी मन्त्री/सचिवलाई हतारिँदै होटलमै ढोगभेट गर्न जान्छन् । तिनलाई चुनावमा जिताउनेले प्रश्न गर्‍यो भने जवाफ दिन्छन् (तिनीहरूभन्दा पनि उपबुज्रुक तिनका कार्यकर्ताहरू), “किन जान्ने हुन्छौ, भेडा हो ?”

जनताका झिनामसिना कुरा सुन्ने फुर्सद छैन उनीहरूलाई । ठूला सपना देख्दा आँखा यसरी टट्टिएका छन् कि नजिकको समस्या देख्दैनन् । आफू अघिको समस्या समाधान गरौँ अनि ठूला सपना साँचेको सुहाउँछ, मज्जा पनि आउँछ । तब कोही बुर्लुक्क उफ्रिन्छ, “सपना देखेको पनि देखी सहँदैनन् भेडाहरू ।”

साधारण नागरिक पलपल मरिरहेको छ । देशभित्र ऊ काम गरेर खान सक्दैन । यसका केही कारण छन्:

१. उसलाई विदेशमा पारिजातको फूल झरेझैँ पैसा झर्छ भन्ने सुनाइएको छ ।

२. नेपालमा काम गर्न उसलाई लाज लाग्छ । समाज नै त्यस्तै छ । काम गर्नेलाई खिसी गर्छ अनि काम नगरी फूर्ती देखाउँदै हिँड्नेलाई खुट्टामा ढोग्छ ।

३. कुनै उद्योगमा राजनीती घुस्यो भने धराशायी बनाएरै छोड्छ ।

४. जसरी पनि कमाउनुपर्छ भनेर लागिपरेका छन् मानिसहरू । भ्रष्टाचार नभएको ठाउँ छैन ।

५. भुइँमान्छेका बीचबाट नेता बनेकाहरू तिनको टाउको टेक्दै अघि बढेर आकाशमा पुगे । भुइँमान्छेहरू पातालमा भासिँदैछन् ।

मान्छेसँग जब विकल्प बाँकी हुँदैन, कि ऊ नयाँ कुराको खोजी गर्छ, कि भएका सर्जामलाई अलि भिन्न प्रकारले चलाउन खोज्छ । विदेशिनु नयाँ कुराको खोजी हो (किनकी नयाँ भनिएका पार्टीहरू जनतामाझ पुगेकै छैनन्) । त्यस्तै, दुईतीनवटा पार्टीलाई पालैपालो जिताउनु पुरानाप्रतिको नयाँ आशा हो । यो चलन नेपालको मात्रै होइन । अमेरिकामा प्रायः डेमोक्र्याट्स र रिपब्लिकन पार्टीहरू पालैपालो सत्तामा जान्छन् । त्यस्तै बेलायतमा लेबर र कन्जर्भेटिभले पालैपालो बर्चस्व बनाइरहन्छन् । हुन त ती पार्टीकै समर्थक बीच पनि दह्रो रस्साकस्सी चल्छ । तर जनतालाई “भेडा” भन्ने नेताको बारेमा चैँ आजसम्म सुनेको छैन ।

चेतनाको स्तर पनि एउटा मापक हुँदो हो । नेपालका सबै मानिस पढेलेखेका छैनन् । पढेलेखेका सबै विवेकी र नीतिवान छैनन् । यसर्थ पढेलेखेका चेतनशील र अनपढहरू अचेतनशील भन्ने छुट मलाई छैन । किनकी “भेडा” उपमा जन्माउने र फैलाउनेहरू शिक्षित भनाउँदा नै हुन् ।

हालसालै पत्रकार रवि लामिछाने जेल पर्दा उनको समर्थनमा जनसागर उर्लियो । ती जनतालाई फेरि पनि भनियो, “भेडा”; भन्नेहरू थिए जसले उनको कार्याक्रम हेरेका थिएनन्, कार्यक्रम मनपराउँदैनथे वा चिढिएका थिए । कार्यक्रम नहेरी मूल्यांकन गर्ने अन्तर्यामीहरूलाई त के भनूँ ? उनको शैलीमाथि बहस हुनुपर्छ भन्ने कुरामा म पनि विश्वास राख्छु र उनलाई देउता मानेर पुज्नु हुन्न भन्ने कुरामा म अडिग छु । तर उनलाई देउता मान्नेहरूप्रति दुराग्रह छैन । कुन परिस्थितिमा उनी कसका लागि उनी देउतातुल्य भए, म बुझ्छु । अनि उनले त्यत्रो वर्ष कार्याक्रम चलाउँदा चुइँक्क नगर्नेहरू उनी तल पर्दा कुर्लिएको देख्दा लाग्यो, “ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ ।”

आफूलाई अनुकूल हुँदा जनतालाई “भगवान” भन्ने अनि आफूलाई प्रतिकूल हुँदा “भेडा” भन्ने मानिसहरू विवेकका दुश्मन हुन् । जनताको शक्तिको आडमा सर्वोच्च सत्तामा पुगेकाहरूले जनतालाई यो हदसम्म गिराउन कसरी सक्छन् ? ताजुब लाग्छ !

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Previous

टियू गन्थन

Next

Bara-Parsa Tornado: Reconstruction and Lessons

2 Comments

  1. Hi, I haven’t seen you for a while. Can’t translate, but I can say I hope all is well with you. 😀

    • It’s been some time since I wrote anything except my assignment 😀 Had written something in between but didn’t publish (it was too personal). I’m well but my country and politics are not. So, some words on recent development 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered by WordPress & Theme by Anders Norén