बिहान कलेज जान समयमै निस्कन खोजे पनि कहिले के मा कहिले के मा अल्मलिन्छु । हतार गर्दै निस्कन्छु । आफूलाई चाहिने चीजबीज छुट्छन् । ‘छुटे छुटुन् है !’ भन्दै पुग्छु गाडी चढ्न । गाडी चढ्ने कुनै निश्चित बिसौनी छैन । भित्री सडकमा न ट्राफिक चाप न त गस्ती । जहाँ गाडी भेट्यो त्यहीँ हात दियो, गाडी रोकिन्छ तर यति हतारमा हुन्छ कि पाइला राख्न नपाउँदै हिँडिसक्छ । लड्दैपड्दै सीट सम्म पुग्छु । बसमा तै बिसेक, माइक्रोबसमा त कहिलेकाहीँ बस्ने ठाउँसम्म हुन्न । कोच्चिन्छु । गन्तव्यसम्म पुग्न हतार छ ।

मैले मात्रै हतार गरेर भएन । चालक दलका दुई सदस्यलाई आराम छ । अघि म चढ्दा हुइँकाउने चालक दाजु अहिले कछुवाको चालमा अघि बढाउनुहुन्छ । “मान्छे नै छैन,” सहचालक भन्नुहुन्छ । म चाहिँ घडी हेर्छु अनि आत्तिन्छु । ढिला हुन लागिसक्यो ।

गाडीले वेग लिएपछि दङ्ग पर्छु । अचानक घ्याच्च ब्रेक लाग्छ । अगाडि हुत्तिन्छु । धन्न नाकको डाँडी भाँचिएन । “के गरी चलाको हौ ?” यात्रुहरू आक्रोशित हुन्छन् । “पचासी आइसक्यो” सहचालकको आवाज सुनिन्छ । पछाडिको गाडीले उछिन्यो भने पेसेन्जर पाइन्न । चालक दललाई हतार भयो अहिले चाहिँ । यात्रु चढाउने र ओराल्ने काम तीव्र गतिमा हुन्छ । वेग बढेको गाडी कतै जाकिने हो कि कसैलाई ठोकिदिने हो कि, सातो जान्छ ।

टुँडिखेल पूर्वको पुरानो बसपार्क नयाँ बनाउन हटाएपछि खुल्लामञ्चमा पुग्यो । केही महिनापछि भृकुटीमण्डपमा माइक्रोबस र अधिकांश गाडी रोक्न प्रतिबन्ध लाग्यो । अचम्मको कुरा चाहिँ के भने ती स्टपका प्रतीक्षालयमा प्रतिबन्धको केही दिनअघि मात्रै नयाँ रङ्ग लगाइएको थियो । अब जमलदेखि सुन्धाराका बीचमा कतै गाडी रोक्न पाइन्न । तर हामी यात्रुलाई नीतिनियमले कहाँ बाँध्छ र ? घण्टाघर ओर्लिनुपर्नेलाई जमलमा ओर्लिन हुन्न । अरू बेला ‘नियमसियम बाल’ भन्ने चालकदल सकेसम्म जमलमा नै ओर्लिदियोस् भन्छ । तर ढिट यात्रुका सामुन्ने प्रायः लाचार हुन्छ अनि झारिदिन्छ जहाँ यात्रु चाहन्छ । यस्तो दृश्य वागबजारको आकाशे पुल, भृकुटीमण्डप अगाडिको प्रतीक्षालय र शहीदगेटमा सधैँजसो बिहानपख देखिन्छ । दिउँसो ट्राफिक प्रहरीले बढी निगरानी गर्ने हुनाले यात्रुलाई गाली गर्दै र यात्रुको गाली सुन्दै भए पनि जमल र सुन्धारामा नै गाडी रोक्छ चालकदल ।

“कति हतार हो हामीलाई ?” आफैँलाई प्रश्न गर्छु । ज्यानलाई हत्केलामा राखेर, असुरक्षित तरिकाले बाटो काटेर, ट्राफिक नियमको पालाना नगरी हामी छिटो ठाउँमा पुग्ने नाममा यो के गर्दैछौँ ? यस्तो बेतुकको हतारो केका लागि ?

हामीलाई हामीले खोजेको ठाउँमै गाडी आइदिनुपर्ने, जहाँ भन्यो त्यहीँ ओरालिदिनुपर्ने, ट्राफिक प्रहरीको लागि मात्रै नियम पालना गरिदिनुपर्ने, आदि इत्यादि समस्याको मूल जरो अनुशासनको कमी हो । सरकारले सबै ठाउँमा एकै किसिमको नियम लागू गराउन नसक्नुमा सरकारको कमजोरी त छँदै छ, कतै न कतै हामी आम जनता पनि त्यस्तो कमजोरीका कारक हौँ । ट्राफिक नियमका सामान्य काइदा पालना गर्न नसक्ने हामी नेपालीहरू अरू नियमकानून पनि लत्याउँदै उन्मुक्त साँढेझैँ हिँडेका छौँ । यस्तो हिँडाईले हामी विकास र समृद्धिको गन्तव्यमा पुगौँला ? म त सम्भावना ज्यादै कम देख्छु ।

हतारिनु र हतासिनु कमजोर मनस्थितिको उपज हो । हामीभन्दा पछि स्थापना भएका देशहरू अगाडि बढेको देख्दा हामी छ्ट्पटिन्छौँ । उनीहरूले समातेको बाटो पहिल्याउन खोज्छौँ । तर तिनका योजना हामीले लागू गर्न सक्दैनौँ । उनीहरूका र हाम्रा चुनौती र अवसर नै फरक छन् । स्काइस्क्रेपरहरू उनीहरूका समृद्धिका प्रतीक हुन् भनेर हामी पनि समृद्ध देखिने हतारमा त्यस्तै गगनचुम्बी भवन बनाउन थाल्छौँ । यस्तो देखावटी अनि योजनाविहीन प्रतिस्पर्धाले कतै हामीलाई भड्खालोमा जाक्ने त होइन ?

अनुशासन बिना कुनै योजनाको सफल कार्यान्वयन हुनै सक्दैन । जसरी पनि अघि बढ्ने नाममा सोचविचारै नगरी बाटो खन्दा पहिरो खस्ने सम्भावना बढ्छ । त्यस्तै अरूलाई उछिन्न खोज्दा हाम्रा मूल्यमान्यता परिवर्तन भएका छन् । जो धनी देखियो उसलाई सम्मान गर्ने समाज अनि संभ्रान्त बन्न हतार गर्नेहरूका कारण भ्रष्टाचारको चक्रव्यूहमा हामी फसेका छौँ । आफूलाई अनुशासित राख्ने मानिसहरू कागको हुलमा बकुल्ला बन्ने अवस्था रहेसम्म हामी हत्पतको काम लत्पत गरिरहने छौँ ।

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.