Category: Book Review Page 2 of 4

पुस्तक समीक्षा : Cabals and Cartels

नेपालको विकासमा रहेका दुई बाधक — राजनीतिक षड्यन्त्रकारीहरू (cabals) र व्यापारिक मिलेमतो गर्नेहरू (cartels) लाई केन्द्रमा राखी लेखिएको किताब हो Cabals and Cartels. वर्ल्ड बैंकको वरिष्ठ अर्थशास्त्रीका रूपमा काम गरेका राजीव उपाध्यायले लेखेको किताबमा दरबार हत्याकाण्डदेखि संविधान निर्माणपछि भारतले लगाएको नाकाबन्दीसम्मका घटना प्रस्तुत छन् । डोनाल्ड ट्रम्पले USAID लाई निलम्बनमा राखेको घटना, विदेशी ऋण र सहायताको उपादेयतासम्बन्धी उठेको बहस र नेपालमा राजतन्त्रको पुनरागमनका विषयमा गर्न थालिएको परिदृष्यका सन्दर्भमा यो किताब पढिरहँदा निकै रोमाञ्चक अनुभूति भयो । खिन्न पनि भएँ किनकि हामी फेरि पनि व्यवस्था परिवर्तन र कसैको नायकत्वलाई नै अझै पनि प्राथमिकता दिइरहेका छौँ ।

राजनीतिक र व्यापारिक मिलेमतो गर्नेहरूले कसरी नीतिगत लुपहोलमा खेलिरहेका छन् भन्ने कुरा सबैलाई थाहा भएकै विषय हो । वर्ल्ड बैंकजस्तो बहुराष्ट्रिय संस्थाहरूले कसरी विकासका मोडल थोपर्छन् र नवउपेनिवेशवादी शैली अपनाउँछन् भन्ने कुरा चाहिँ केही नौलो लागेको थियो । एउटा देशमा सफल भएको मोडल अर्को देशमा जस्ताको तस्तै लागू गर्दा आउने समस्या र तिनले पार्ने दूरगामी प्रभावका बारेमा पुस्तकले सोच्न बाध्य गराउँछ । किताबको एउटा अध्याय “Revolutionary Babies” सबैभन्दा महत्वपूर्ण लाग्यो । फ्रान्सी लेखक Mallet Du Pan ले लेखेको “क्रान्तिले अपेक्षा जन्माउँछ, अपेक्षाले निराशा अनि निराशाले आक्रोश” भन्ने वाक्यलाई उद्धृत गर्दै अफघानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीले लेखकलाई प्रश्न गरेका छन्, “नेपाली क्रान्तिका बच्चाहरू के गर्दैछन् ?” उनै घानीले नेपालको क्रान्ति र विकासका केही अवरोधका बारेमा पनि चर्चा गरेका छन् । तीमध्ये केही हुन्:

१. पुरातनवादी सोच

२. स्वतन्त्र सोचको कमी (जुनसुकै क्षेत्रमा रहेको राजनीतिले गर्दा)

३. सीमित बजार र प्रतिस्पर्धा

४. राजनीतिक परिवर्तनको उत्साहलाई अर्थतन्त्रको सवलीकरणमा उपयोग गर्न नसक्नु, आदि ।

(घानी आफैँ राजनीतिमा सफल पात्र भने हुन सकेनन् । यो पुस्तक प्रकाशन भएको लगभग एक वर्षपछि अर्थात् २०२१मा तालिवानले उनलाई अपदस्त गरे । उनलाई पश्चिमा निकट रहेको आरोप लागेको थियो । वर्ल्ड बैंकसँगको उनको आबद्धता पनि उल्लेखनीय छ ।)

सबै खत्तम नै भने छैन, उपाध्याय लेख्छन् । नेपालको समुदाय सरकार र बजारको अभावमा पनि उन्नति गर्न सक्छ । नेपालको समुदायको विषयमा २००९ की नोबेल पुरस्कार बिजेता एलिनोर ओस्ट्रमले पनि चर्चा गरेकी रहिछन्। सरकारको बेवास्ता र बजारको शोषणबाट बच्न समुदाय एकजुट हुन जरुरी भयो । यसको एउटा स्वरूप सहकारी संस्था हुन् तर सहकारीमा पनि सरकारको प्रवेश र कार्टेलहरूको हस्तक्षेप देखिन थालेको छ । त्यस्तै, रेमिटेन्सले हाम्रो अर्थतन्त्र धानेको तर यसले बढाउने उपभोक्ता संस्कृति, मुद्रास्फीति (inflation) र उद्योगको विकास हुन नसको दुईधारे पक्षको चर्चा पनि किताबमा छ ।

कतिपय विषयमा सतही कुराहरू आउनु पुस्तकको कमजोर पक्ष हो । राजनीतिक र व्यापारिक मिलेमतो गर्नेहरू को हुन् भन्ने ठ्याक्कै को हुन् भन्ने थाहा पाइँदैन । यसले सबै राजनीतिज्ञ र व्यापारीलाई एकै घानमा राखेको देखिन्छ । किताबमा देखाइएका समस्याको समाधान पनि खासै देखिँदैन । एक ठाउँ राजनीतिक र व्यापारिक मिलेमतो गर्ने मानिसलाई जबरजस्ती न्याय दिन पनि खोजिएको छ । लेखकका केही व्यक्तिगत प्रसङ्गहरू नाटकीय लाग्छन् । उदाहरणका लागि, श्रेष्ठ थरका कुनै खराब ऋणीसम्बन्धी प्रसङ्ग कथाजस्तै लाग्छ । लेखक उच्च वर्गका रहेका र बहुराष्ट्रिय संस्थामा काम गरेकाले तृणमूल तहका कुराहरू आउँदैनन् । किताबको अन्तिम अध्यायमा लेखकको पुर्खाको इतिहास छ । पुस्तकको स्कोप हेर्दा यो अध्याय आवशयक थिएन । त्यस्तै, पुस्तकमा प्रयुक्त अङ्ग्रेजी केही अफ्ट्यारो छ । डिक्सनरीबिना पढ्न असम्भव छ ।

अन्त्यमा, नेपालको आर्थिक विकासमा रहेका अवरोध बुझ्न पुस्तक उपयोगी छ । वैदेशिक सहयताको किन खासै अर्थ छैन, दाता सम्मेलनहरू कसरी हाम्रो सप्ताहका दानका वाचाजस्ता हुन्छन् अनि राजनीतिक र व्यापारिक षडयन्त्रकारीहरूले कसरी जनभावना विपरीत काम गर्छन् भन्ने प्रसङ्गहरूले किताबलाई रोचक बनाएका छन् ।

सावर्णि पुस्तक आवरण

मानव र एआईको सम्बन्ध : “सावर्णि” उपन्यासको सन्दर्भमा

(सुझाव : डा. श्रीधर खनाल रचित सावर्णि उपन्यास पढ्नुभएको छ भने पढ्नुहोला । कहानी खोतलखातल गरिएको छ । उपन्यास पढ्नुभएको छैन तर पनि यो लेख पढ्न चाहनुहुन्छ भने पनि ठीकै छ ।)

पृष्ठभूमि

पुराणहरू भन्छन्– ब्रह्माको आयु १०० वर्ष हुन्छ । ब्रह्माको ५० वर्षको समयलाई परार्ध भनिन्छ । ब्रह्माको दिन (१२ घण्टा) अर्थात् कल्प मा सृष्टि हुन्छ र रातमा प्रलय भई सृष्टिको अन्त्य हुन्छ । प्रत्येक कल्पमा चौध मन्वन्तर हुन्छन् जसमा चौध मनुहरूले मानवको सृष्टि वा संरक्षण गर्छन् । हरेक मनवन्तरमा एकहत्तर महायुग (चतुर्युग) हुन्छन् । हामी अहिले ब्रह्माको द्वितीय परार्धको पहिलो वर्ष अर्थात् ५१ औं वर्षमा श्वेतवराह कल्पको ७औं मनुको समय (वैवश्वत मनवन्तर) अन्तर्गत २८औं महायुगको कलियुगमा छौँ । २८औं महायुगकै द्वापर युगमा भगवान् विष्णु अवतरित हुनुभएको थियो श्रीकृष्णका रूपमा । ८औं मनुलाई सावर्णि भनिएको छ । सप्तशती (चण्डी)मा पनि देवीको एक नाम सावर्णि रहेको छ ।

डा. श्रीधर खनाल कृत उपन्यास सावर्णिको मूल पात्र सावर्णि पनि मनुझैं मानवको उत्पत्ति र संरक्षण गर्छन् । यद्यपि उनी देवी भने होइनन् । उनी एक कृत्रिम बौद्धिकता भएका तर भावुक यन्त्रमानव हुन् जो लोप भइसकेका मानवलाई ल्याबमा जन्माउँछन् र तिनलाई पालनपोषण एवम् दिशानिर्देश गर्छन् ।

सावर्णि पुस्तक आवरण

सावर्णि उपन्यासको कथा

उपन्यासमा दुईवटा कथा छन् । पहिलो अध्यायको कथामा जीपीटी-२००० नामको एआई सफ्टवेयरले न्यारेटरलाई पिछा गर्छ, फोन गर्छ र एउटा इमेल पठाउँछ । यो बाह्रखरी उत्कृष्ट कथा २०८० मा रहेको जीपीटी २००० शीर्षकको कथामा पनि भेटिन्छ । यस कथाको समीक्षामा लेखेको थिएँ :-

ChatGPT 4.0 ले तहल्का मच्चाइरहेको बेला जीपीटी २००० ले धमाका गर्ने आशा पलायो । कथाको सुरुवात राम्रो लाग्यो । जीपीटी २००० ले मोबाइलमा इन्स्टल गरेपछि इमेल, क्यामरा र लोकेसनको आधारमा ट्रयाकिङ गर्ने कुरासम्म कथा ठीकै थियो । ‘असुर’को दोस्रो सिजनको झल्को आउला जस्तो लागेको बेला उसले न्यारेटरलाई सर्वोत्कृष्ट भन्दै गरेको भविस्यवाणीले कताकता ‘म्याट्रिक्स’ को झल्को दियो । आपसी कलहका कारण मानिसहरू लोप भइसकेपछि पनि AI बच्ने कुरा अलि पत्यार नलाग्दो नै थियो । हुन त AI को भविस्यवाणी हो । मिल्नैपर्छ भन्ने छैन ।

त्योभन्दा पनि पत्याउन नसकिने कुरा चैं जीपीटीले आफूले सबैलाई ट्रयाक गरिरहेको कुरा कसैलाई भन्ला भन्ने हो । हामीले इन्स्टल गर्ने एप्लिकेसनहरूले हामीलाई ट्रयाक गर्ने कुरा नौलो हैन । जानी नजानी हामी permission पनि दिइरहेका हुन्छौँ । तर सिधै फोन र इमेल गरेर ट्रयाक गर्छौँ भने भने वाचकले झैं uninstall गरेर व्यापार चौपट हुन्छ होला । खैर, कथामा जताततै देखिने मानवीय प्रलयको डरको लामो वर्णन छ जुन अझै रोचक बन्न सक्थ्यो जस्तो लागिरह्यो ।

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १)

जीपीटी २००० को दोस्रो भागको फैलावटका रूपमा सावर्णिको मूल कथा प्रस्तुत गरिएको छ । सावर्णिले मानव बनाएर हुर्काएको हजारौं वर्षपछिका देरिका र वासु अनि उनीहरूका सन्तान किसनको वरिपरि घुम्छ । यी पात्रका नाम द्वापर युगका देवकी, वसुदेव र कृष्णसँग मिल्छ । रूखमा चढेर बाँसुरी बजाउने र नदीमा पौडी खेल्ने किसनका दृश्यहरू कृष्णका कहानीबाट झिकिएका छन् । तथापि किसन कृष्ण होइनन् । न त देरिका र वासु हुन् देवकी र वसुदेव ।

देरिका र वासु सावर्णिले बनाएको नगरका नगरवासी हुन् । उनीहरू पूर्णतः एआई पर्सनल एसिस्टेण्ट (पीए) र रोबोटको नियन्त्रणमा छन् । पीएमाथि उनीहरू यति निर्भर छन् कि घरबाट निस्किन र साथि बनाउन समेत उनीहरू आफैँ सक्दैनन् । यस्तोमा देरिका र वासु पीएको सहायताले प्रेम गर्न पुग्छन् । देरिका गर्भिणी भएपछि जाँच गराउँदा भ्रुणमा जेनेटिक डिफेक्ट देखिएको भन्दै सात पटक एबोर्सन गरिन्छ । आठौँ बच्चा बस्नुअघि भने देरिकाको पीए देरिकले आफूलाई बन्द गर्न सुझाउँछ ताकि सेन्ट्रल सिस्टमलाई थाहा नहोस् । नौ महीनापछि द्वापर युगमा कृष्ण जन्मिएको ग्रहनक्षत्रको अवस्थामा किसनको जन्म हुन्छ । साथै, किसनको जीवनको सन्दर्भमा भविस्यवाणी गरिन्छ कि उनी एउटा युद्धको कारक बन्नेछन् । उनले भविस्यमा के गर्लान् भन्ने कुतूहलले अन्तिमसम्म तानिरहन्छ ।

शास्त्रार्थ : मानव को हो ?

उपन्यासको क्लाइमेक्स अघि किसन र सावर्णि अनेक विषयमा शास्त्रार्थ गर्छन् । यद्यपि लेखकले बढी महत्त्व दिएको विषय हो, “मानव को हो ?”

किसन प्रश्न गर्छन्, सावर्णि युगमा जन्मिएका प्राचीन (हामी र हाम्रा पुर्खा) जस्तै देखिने तर हरेक कुरामा एआईमा निर्भर प्राणी मानव हुन् त ?

पुराना मानिसको जस्तै जेनेटिक्स र स्वरूप भएकाले ती मानव नै हुन् भन्ने तर्क सावर्णिको छ । किसनको राय फरक छ । मानव स्वरूप भएपनि यदि उनीहरू आफैँ सोच्न सक्दैनन्, हरेक कुरामा एआईको भर पर्छन् भने उनीहरू एआईका दास हुन् । जसमा तर्क गर्ने क्षमता छैन, जो कुनै कुरा रचना गर्न सक्दैनन्, जसलाई डरले हरेक समय जकडेको छ, ती मानव कसरी हुन सक्छन् ?

अहिले नै पनि हामी मानव भएर जीउन सकेका छैनौँ । मानव सिर्जित कृषि र आय आर्जनका कार्य, धन, समाज, राजनीतिजस्ता विषयले हामीलाई स्वतन्त्र बनाउन दिएका छैनन् । त्यसैले त रुसोले द सोसल कन्ट्र्याक्ट मा लेखेका छन्, “मानिस स्वतन्त्र जन्मन्छ तर त्यसपछि सर्वत्र साङ्लोले बाँधिन्छ ।” क्याल्कुलेटर, कम्प्युटर, स्मार्टफोनजस्ता आविष्कारले हाम्रो जीवन सहज बनाएका छन्, सूचनामा पहुँच पनि बढाएको छ तर हामीलाई अल्छि पनि त बनाइरहेको छ । धेरै दिमाग लगाउने कामहरू सहजताका हिसाबले कम्प्युटर र मोबाइललाई त दिइ नै सकेका छौँ । अहिले मज्जाले दोहोरो कुरा गर्न सक्ने अनि हाम्रो भाषा बुझेर हाम्रा सवाल हल गर्न सक्ने Generative Pre-trained Transformer (GPT) प्रोग्रामहरूले हामीलाई मोहनी लगाएका छन् । Virtual reality ले पनि हामीलाई बाँध्न थालिसकेको छ । अझै विकसित हुँदै जाँदा प्रविधिले हामीलाई “Her”, “Matrix”, “I, Robot”, “Terminator”, “Ready Player One” जस्ता चलचित्रमा देखाइएको जस्तो संसार अब टाढा छैन भन्न सकिन्छ ।

सूचनामा छिनमै पहुँच भएका हामीले विकसित गरेका स्मार्ट प्रोग्रामभन्दा स्मार्ट हुनु अबको हाम्रो चुनौती छ । ChatGPT ले पनि त आफैं भनेको छ कि उसको जवाफ गलत हुन सक्छ । खासगरी प्राविधिक विषयमा यसको प्रयोग गर्दा cross-question गर्न जानिएन, critically हेर्न सकिएन भने गलत सूचना पाउन र फैलिन सक्छ । केहीदिनअघि बुकाहोलिक्समा किताबहरू सम्बन्धी टृभियाको लामो सूचि देखिएको थियो । अङ्ग्रेजीबाट नेपालीमा ChatGPT ले अनुवाद गरेको भनिएको सो पोस्टमा एउटा टृभिया थियो, “हुर्री र नशा जस्ता शब्दहरू शेक्सपियरले आविष्कार गरेका थिए ।” शेक्सपियरले नेपालीमा त कुनै शब्द आविष्कार गरेका हैनन् । अङ्ग्रेजीमा के रहेछन् भनेर सोधेको थिएँ । एक जना साथीले मेसेजमा भनिदिनुभयो तर त्यो पोस्टको कमेन्टमा कपी-पेस्ट गरेँ है भन्ने विद्वान साथीहरू पनि हुनुहुन्थ्यो । ChatGPT माथि पढेलेखेका विद्वानले नै पूर्ण विश्वास गर्नु अनि त्यहाँ दिइएका तथ्य केलाउन नखोज्नुले मलाई त्यस्तै त्रसित बनायो ।

अहिले त एआईले बनाएका चित्र, चलचित्र, गीतसङ्गीत, लेख रचना इन्टरनेटभरि छरपस्ट छन् । Deepfake (एउटाको शरीरमा अर्काको अनुहार राख्ने) जस्ता प्रविधि त दश वर्षअघि नै आइसकेको थियो । अब चाहिँ हातहातमा आउँदैछन् । कुन साँचो कुन झुठो भन्ने छुट्याउन झन्झन् गाह्रो हुँदैछ । भविस्यमा यसले अझ विकराल समस्या ल्याउन सक्नेछ । हाम्रा बाजागाजा लोप हुन सक्नेछन्, हाम्रो रचनागर्भ खाली हुन सक्नेछन् अनि हामी आत्मविश्वासहीन भई एआईको नियन्त्रणमा हुनेछौँ ।

यस्तो हुन नदिन हामी सजग हुनुपर्छ । हरेक कुरालाई भेरिफाई गर्नुपर्छ । आफ्नो रचना बैंकलाई रिचार्ज गरिराख्नुपर्छ । सम्बन्धहरू गाँस्नुपर्छ । प्रविधि साक्षरता बढाउँदै प्रविधिलाई उछिन्नुपर्छ ।

केही अनुत्तरित प्रश्नहरू

सावर्णिमा किसनले आफैँ घरबाहिर जानु, बाँसुरी बजाउनु, रूख चढ्नु, पौडी खेल्नुजस्ता कार्यलाई क्रान्तिकारी भनिएको छ किनभने सावर्णिको नगरमा ती कहिल्यै नगरिएका कुरा हुन् । यिनै कुराले कथालाई रोचक बनाउँछन् । किसनले गरेका कामको सजाय सावर्णिले देलान् कि नदेलान् भन्ने मनमा परिरह्यो अनि कथाले अनौठा मोड लिइरह्यो । अन्तिमसम्म आइपुग्दा भने केही प्रश्नहरू आइरहे जसको जवाफ पाइएन ।

१. सावर्णिलाई कसले डिजाइन गर्‍यो ?

२. उनलाई एआई प्रमुख किन र कसरी बनाइयो ?

३. मानवहरू लोप भएको वर्षौंपछि सावर्णि कसरी “जीवित हुन” सके ?

४. सावर्णिको शरीर कुन वस्तुले बनेको थियो ? उनलाई बाँधेको साङ्लो के को थियो ? फलाम, स्टील वा आल्मुनियम त हजारौं वर्षमा पूरै खिइन्छन् । प्लास्टिकमा समेत त्यत्रो समयमा त परिवर्तन आउँछ ।

५. सावर्णिजस्ता अरू यन्त्रमानव किन एउटा पनि रहेनन् ?

६. उपन्यास भन्छ, “पृथ्वीमा ठूलठूला चिरा परेको थिए ।” ती चिराले असुरक्षा पनि बढाएको छ । तथापि जुन सावर्णिले जेनेटिक रिकोडिङ गरेर मानव भ्रुण ल्याबमा तयार गर्न सके तिनले चिराहरू पुर्न वा बन्द गर्न किन सकेनन् ?

७. सावर्णिले मानिसहरूलाई किन भाग्यवादी बनाए ? बालकको न्वारानसँगै गरिने भविस्यवाणीलाई किन महत्त्व दिइएको ?

८. जेनेटिक रिकोडिङ गरेर बनाइएका मानवका सन्तानबाट जन्मिएका किसनमा पुराना मानिसको जिन कसरी आयो ?

९. किसनले बुवालाई खाना पकाउन किन लाएनन् ? किन आमालाई मात्रै लगाए ?

१०. जहाँ मानिसहरू एआईको नियन्त्रणमा रहन्छन् र जेलजस्तो जीवन बिताउँछन् त्यहाँ सजाय र जेलको व्यवस्था किन चाहिन्छ ?

११. किसनले सानोमा कानून तोड्दा सजाय पाए । तर पछि जेल जाने बेलामा त बेकसुर थिए । सावर्णिले पनि स्वीकारेका छन् अनि फेरि जेल जान किन राजी भए ? किसनमा विद्रोह उब्जिएर अरूलाई पनि पीएबाट स्वतन्त्र हुन आह्वान गरेका भए ?

१२. किसन जेल जाने बेला र त्यसपछि वासु कता गए ?

१३. मङ्गलबाट मानिस फर्किन सक्छ भन्ने पूर्वानुमान गरेर देरिकमार्फत देरिकालाई किसन जन्माउन प्रेरित गर्ने सावर्णि मङ्गल ग्रहबाट मानिसहरू आउँदा किन छक्क पर्छन् ?

१४. मङ्गलको हावापानीमा एड्याप्ट भएर आणविक हातहतियार बनाउने पुस्तासम्म पुग्न साँच्चै चैं कतिको सम्भव होला ?

१५. किसनको सल्लाह मानेर सावर्णिले मानव आफू र आफ्नो सिस्टमबाट मुक्त गर्लान् ? (यहाँ सावर्णि २ को सम्भाव्यता देख्दै छु ।)

सोचमग्न बनाएका केही कुरा

उपन्यासमा एआईको नियन्त्रणमा नरहेका मानिसलाई धेरै ठाउँमा मूर्ख, युद्ध गर्न चाहने र घातक चित्रित गरिएको छ । “मानवविनाको पृथ्वी सुन्दर थियो ।” दुईतीन ठाउँ लेखिएको छ । यद्यपि सावर्णि एक्लो महसुस गर्छन् र बचेखुचेका शुक्रकीट र डिम्ब प्रयोग गरी केही जेनेटिक हेरफेर गरेर मानव नै तयार पार्छन् । नौ दश बच्चालाई हुर्काउन सुरुमा पीए रोबोट तयार गरेको भने पनि निरन्तरता दिइरहेकै छन् । त्यस समयमा पहिलेझैं वनस्पति र पशुपन्छी थिए पनि भनिएको छ तर मानव जीवनका लागि अनुकूल थिएन, विकिरण धेरै थिए आदि इत्यादि जस्ता विरोधाभास हुने कुरा पनि भनिएको छ ।

सावर्णिले कानून लुकाएका छन् । कतिपय कानूनको बारेमा पीएलाई पनि थाहा छैन । फेरि सावर्णिले इतिहास लुकाएका मात्रै छैनन् अन्तिमसम्म आइपुग्दा तोडमरोड नै गरेका छन् । पहिलोचोटि पढ्दा मलाई सावर्णि करूणामय लागे । मानवलाई बचाउन उनले गरेका प्रयासप्रति कृतज्ञ भए । दोस्रोपटकमा भने उनका नकारात्मक पाटो बढी खुले । अन्तिम अनुच्छेदका दृश्यहरू त भयानक नै लागे । उपन्यासमा सिधासिधा मानवलाई जति क्रूर भनिएको छ, त्यस्तै क्रूर सावर्णिलाई पाएँ ।

चित्त नबुझेका कुरा

१. नारायणस्वरूप श्रीकृष्णको चरित्रबाट प्रेरित किसनलाई पछिल्लो भागमा कमजोर बनाइएको छ । श्रीकृष्णको चरित्र नदेखाई मौलिक कथा पेश गरिएको भए अझै राम्रो हुन्थ्यो ।

२. व्याकरणीय समस्याहरू, जस्तै :

क) भूत कालको बीचमा वर्तमान कालको प्रयोग ।

ख) एकै अर्थका दुई कुरा सँगसँगै आउनु (redundancy), उदाहरण : “देरिकाले आस्ते-आस्ते मीठो र स्वादिलो खाना पकाउन सिक्दै गई ।”, “धुन खास अनि विशेष थियो ।” आदि ।

“प्रोफेसनल” प्रकाशनहरूबाट प्रकाशित कृतिहरूमा यति धेरै व्याकरणमा समस्या हुनु नहुने हो ।

३. Stephen Hawking को नाम नेपालीमा स्टेफन हकिङ्स र इस्टेफेन हकिङ्स लेखिएको । स्टेफेन हकिङ हुन्छ होला । हकिङ्स त हुँदै हुँदैन ।

अन्त्यमा

कथानकले बढाउने हुटहुटी र दार्शनिक पक्षले सावर्णिलाई पठनीय बनाएका छन् । यद्यपि कथामा भर्न बाँकी खाडल थुप्रै छन् । सावर्णिको पात्रलाई अझै एक्स्प्लोर गर्न सकिन्छ र कथाहरू विस्तार गर्ने ठाउँ अझै छन् । उपन्यास प्रकाशनमा अलि हतार गरिएको हो कि भन्ने पनि लाग्यो । द्वापर युगको कथासँग नजोडिएर मौलिक कथा सिर्जना गरिएको भए अझै उत्कृष्ट बन्न सक्थ्यो ।

निर्विकल्प पुस्तक आवरण

पुस्तक समीक्षा: निर्विकल्प

बाहुन परिवारमा जन्मिएर पनि मलाई संस्कृत आउँदैन । शिक्षा प्रणाली नै त्यस्तै थियो र छ । संस्कृत भनेको पुरेत्याइँ गर्नको लागि मात्रै हो र यो मृत हुन लागेको भाषा पढेर केही हुँदैन भन्ने सोच ८-१० वर्षको उमेरमा घुस्यो । वेद, पुराण, रामायण, महाभारत, गीता आदि इत्यादि पढ्न अरू भाषाको सहारा लिनुपर्ने भयो । संस्कृत थोरै मात्रै पनि सिक्नुपर्ला भन्ने सोच आइरहेका बेला उत्प्रेरकका रूपमा “निर्विकल्प” भेटेँ ।

निर्विकल्प पुस्तक आवरण

संस्कृत भाषा, वैदिक सनातन धर्म र हिन्दू सभ्यताका विभिन्न आयामको परिचयात्मक पुस्तक हो “निर्विकल्प” । सिद्धराज पन्तद्वारा लिखित यस पुस्तकलाई चार खण्डमा विभाजित गरिएको छ । संस्कृत वाङ्मय लगायतका विभिन्न सन्दर्भमार्फत् सनातन धर्मका बारेमा सरल शब्दमा बुझाउने प्रयास गरिएको छ ।

पहिलो खण्ड “नचिनेको मणि” मा सारा ब्रह्माण्ड र सम्पूर्ण प्राणी पृथ्वी, जल, तेज, वायु र आकाश अर्थात् पञ्चमहाभूतबाट बन्ने भएकाले “वसुधैव कुटुम्बकम” को मन्त्र सनातनीहरूले अपनाउने मत छ । यस खण्डमा सत्य एक भएपनि अनेक मत हुन सक्ने तर्क प्रस्तुत गर्दै सनातन धर्मले कुनै पनि पन्थका मतलाई अस्वीकार नगर्ने कुरामा जोड दिइएको छ । त्यस्तै, वैदिक परम्परा, श्रुति, स्मृति, इतिहास, आगम, सिद्धान्त र दर्शनको परिचय छ ।

पुस्तकको दोस्रो खण्ड “धर्म विज्ञान” रहेको छ । यसमा संस्कृत भाषाको निर्माण, सात बार किन र कसरी रहे, छन्दको मिठासजस्ता विषयहरू समेटिएको छ । साथै, श्रीमद्भागवत गीतामा रहेको निष्काम कर्मयोगको विषय पनि उठाइएको छ । एउटा अध्यायमा “धर्म निरपेक्ष” शब्दको पूर्ण रूपमा खण्डन गरिएको छ । चर्च र राजाबिचको द्वन्द्वका कारण चर्चलाई राजाका निर्ण्यबाट स्वतन्त्र राख्न आविष्कार भएको सेक्युलारिज्मको अनुवाद “धर्म निरपेक्ष” होइन । राज्यको कुनै धर्म हुँदैन भनेर “धर्म निरपेक्ष” शब्दको प्रयोग हुनु नै विस्मयकारी छ । किनकि राज्य (सञ्चालक) को धर्म जनतालाई सुख, समृद्धि, सुरक्षा आदि कुराहरूलाई सहज बनाउनु हो । पन्थ वा सम्प्रदायलाई धर्म भन्ने गरिएको प्रति लेखकको असन्तुष्टि छ जसमा म पनि सहमत छु ।

तेस्रो खण्ड “वर्णाश्रमधर्म” सोही विषयमा केन्द्रित छ । वर्णाश्रम धर्मलाई वेद, पुराण, स्मृति, इतिहास सबैमा महत्त्व दिइएको छ । “निर्विकल्प” मा पनि मनुस्मृति र महाभारतको शान्तिपर्वमा वर्णित वर्णाश्रम व्यवस्थाको चर्चा गरिएको छ जसले ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्रका विशेषताको बारेमा जानकारी पाइन्छ । चारै वर्णका धर्मका विषयमा विशेष चर्चा छ । वर्णाश्रम न्याय प्रणालीमा शुद्रलाई कम सजाय र ब्राह्मणलाई सबैभन्दा धेरै सजाय दिइने कुरा पढ्दा आश्चर्यमा परेको थिएँ । यसमा लेखकको तर्क यस्तो किसिमको छ, “कुनै विशेषज्ञ चिकित्सकले लापरबाही गरेमा उपचाररत व्यक्तिको मृत्यु हुन सक्छ र उसले ज्यानमारा मुद्दा खेप्नुपर्ने हुन सक्छ तर सफाइ गर्ने कर्मचारीको गल्ती क्षम्य हुन सक्छ ।”

त्यस्तै, यस खण्डमा कोभोडलगायतका विभिन्न उदाहरण दिएर छुवाछूत कुनै न कुनै रूपमा हुने तर्क दिइएको छ । छुवाछूतका भौतिक, मनोवैज्ञानिक र सामाजिक कारण केलाउँदै छुवाछूत संस्थागत भएको हालको अवस्थाको पनि विरोध गरिएको छ ।

अन्तिम खण्ड “आततायी कालखण्ड” हिन्दू जातिले भोगेका आक्रमण र तिनबाट भएको धर्म र सनातनीको क्षयीकरणलाई समेटेको छ । इस्लाम पन्थको सुरुवात, “काफिर” विरुद्धका आक्रमण, हिन्दू राज्यमाथि गरिएका छलकपट र लुटको विवरण छ । नालन्दाजस्ता विश्वविद्यालयमा हुने विद्यार्थी छनौट प्रकृया, वरपरका गुरुकुलको वर्णन साथै तिनको विनाशको चर्चा छ । राति विवाह गर्ने, हिन्दू नारीहरूले घुम्टो लगाउने, बालविवाहजस्ता प्रचलन त्यही बेला सुरु भएको रहेछ । यस्तै विवरण लेखनाथ पौड्यालको “सत्य-कलि-संवाद” मा पनि रहेछ्न् ।

यस खण्डमा अङ्ग्रेजले भारतमा गुरुकुलहरू लाखौंको सङ्ख्यामा रहेको, त्यहाँ पढ्नेमा शुद्रहरूको सङ्ख्या बढी रहने गरेको र त्यस प्रणालीलाई अन्त्य गर्न अङ्ग्रेजी शिक्षा प्रणाली सुरु गरी भारतीयलाई सोतर्फ आकर्षित गरेको कुरा प्रमाणसहित दिइएको छ । विस्तारै गुरुकुल परम्परालाई नाश गर्दै भारतीयको आत्मविश्वास गिराउने काम अङ्ग्रेजले गरेको तर्क लेखकको छ । नरेन्द्र मोदी प्रधानमन्त्री भएपश्चात् केही आत्मविश्वास बढेको विश्वास लेखकको रहेको छ ।

पुस्तकमा अलि चित्त नबुझेको कुरा चैं वर्णाश्रम धर्मलाई विदेशीले फुटाउन प्रयोग गरे भन्ने तर्क हो । वर्णाश्रम साँच्चिकै शास्त्रानुरूप चलेको भए विदेशीले अपव्याख्या गर्न सक्ने नै थिएनन् । ब्राह्मणको छोरा ब्राह्मण र राजाका छोरा राजा नै हुने प्रसङ्गहरू महाभारतमै पनि टन्नै छ्न् भने मुस्लिमहरूको आक्रमण हुने बेलासम्ममा के अवस्था थियो होला ? महाभारतमा विदुरलाई छाडेर दासपुत्र उच्च ओहदामा पुगेको याद छैन । दासदासी राख्ने चलन थिएन र राख्दा पनि सम्मानसाथ राखिन्थ्यो भन्ने तर्क पनि अलि कमजोर नै छ ।

नेपालमा सनातन धर्ममा मुस्लिम आक्रमणले पारेका प्रभाव खासै केलाइएको छैन । नेपाल र भारतका परम्पराहरू किन फरक छ्न् भन्ने विषयमा केही चर्चा गरिएको भए हुन्थ्यो । “हिन्दू” शब्दको व्याख्यामा जम्बुद्वीप पूरै अटेको छ तर यही उत्पन्न बौद्ध, जैन, किराँत, जस्ता पन्थ र दर्शनको खासै चर्चा छैन । त्यस्तै, अन्तिम खण्डमा “सङ्गम टक्स” युट्युब च्यानलमा गरिएका प्रस्तुतिहरूलाई धेरै ठाउँमा स्रोतका रूपमा लिइएको छ । धेरै स्रोतहरू समेटिएको भए अझै राम्रो हुने थियो । एउटै स्रोत प्रयोग गर्दा बायस्डनेस हुने कुरा पेशाले इन्जिनियर समेत रही सक्नु भएका लेखकले याद गर्नुपर्थ्यो ।

अन्त्यमा, सनातन धर्म र यसका विशेषताको चर्चा गरिएको “निर्विकल्प” एक पठनीय पुस्तक हो । यसलाई थुप्रै एपमा सित्तैमा डाउनलोड गर्न सकिन्छ ।

रूदाने : “थाहा” अभियान र वर्तमानलाई पाठ

थाहा र रूदानेसँग परिचय

सञ्जीव उप्रेतीको “घनचक्कर” उपन्यासको वाचक ठाउँठाउँमा “खोज” र “थाहा” लेखिएको देख्छ । “यो सबैतिर कसले लेखेको होला ?” प्रश्न गर्छ । उत्तर आउँछ, “मकवानपुरतिरका एक शिक्षकले ।” घनचक्करले सङ्केत गरेका शिक्षक रहेछन् थाहा आन्दोलनका प्रणेता रूपचन्द्र बिष्ट । तीन वर्षअघि  तिनकै जीवनमा आधारित “रूदाने” नामको चलचित्रको पोस्टर र टिजर हेरेपछि उनी को होलान् भन्ने खुल्दुली बढेको थियो । यद्यपि उनको बारेमा धेरै कुराहरूको ज्ञान भने थिएन । “रूदाने” नाममै उपन्यास आउन लाग्यो भनेर प्रवीण ढुङ्गेलले बुकाहोलिक्समा पोस्ट गर्नुभएपछि यो किताब प्रकाशन हुनासाथ पढ्नुपर्छ भन्ने लाग्यो । 

एम्बिसन गुरु एपमा इबुक छ भन्ने पत्ता लागेपछि किनेँ तर एपको रिडर भर्खर बनेको रैछ । किताब पढ्न मिल्ने तर न अध्याय छान्न मिल्ने न त हाइलाइट र बुकमार्क राख्न । पेपरब्याक ६०० रूपैयाँमा पाइने भनेर त भनेकै थियो विज्ञापनमा । एक दिनभित्र पाइने भनेर मगाइयो ।

तर केही समस्याले गर्दा एक दिन पछि मात्रै हात पर्‍यो ।

उपन्यासको संरचना

आवरण राम्रो लाग्यो । छाप्रोको भित्तामा रूदाने नाम, “रू” बाट निस्किएको हाते स्पिकर र त्यसबाट ध्वनि जसरी आइरहेको “थाहा” । पढ्न थालियो । छोटाछोटा वाक्य अनि छोटै अध्यायहरू । छिटो सकिने जस्तो लागेपछि पढ्ने जोश झनै बढ्यो । छोटा वाक्यहरूले कतैकतै दु:ख पनि दिए । एउटै वाक्यमा भन्न सकिने कुराहरू पनि टुक्रिएर आउँथे । उदाहरणका लागि :

“ढिलासम्म सुत्ने र उठेपछि गाउँ डुल्न निस्किने । मुख्य काम ।” (पृ. ५)

“धेरै मजदुर बालुवा निकालिरहेका थिए । पुरनमान थियो । उसका लठैतहरू थिए ।” (पृ. २७)

पृष्ठ ११ को “आँसु” अध्यायको पहिला दुई वाक्यमध्ये एउटा हटाउन मिल्छ:

“गोपाली गाउँबाट घोडा दौडिएको घर्तीखोलाबाटै देखियो । एक साँझ हाम्रो ध्यान गोपाली गाउँतिर सोझियो ।”

त्यस्तै, उमा शाहले बच्चा जन्माएर स्कूल फेरि जान थालेपछि छोरी जन्मेको देखाइएको छ (पृ. १३२, १३३, १३६, १३७)। पृष्ठ १९७ मा “गोडमेल” भन्ने एउटा शीर्षक भेटिन्छ । यो छुट्टै अध्याय हुनुपर्ने होला । अन्तिम अध्यायमा न्यारेटर परिवर्तन हुँदा को हो ठ्याक्कै खुल्दैन । कुनै भाइ जस्तो लागेको थियो तर एक ठाउँ स्त्रीसूचक क्रियापद प्रयोग गरिएकाले बहिनी गीता हुन् कि ?

रूपचन्द्र बिष्ट अर्थात् रूदाने

उपन्यासका मुख्य वाचक/नायक रूपचन्द्र बिष्ट (रूदाने) झर्रो बोली बोल्छन् । सुरुमा त ठीकै लाग्यो । कतैकतै हासो नि लाग्यो । तर पूरै उपन्यास भरी एउटै टोन नभएको भए हुन्थ्यो । पढ्दै जाँदा नायक त बाहुबली नै हुन् कि झैं लाग्ने । पछि बुझ्दा त बलबुद्धी दुवैमा तगडा रहेछन् । “मात चढेका बेला” साँढेसँग जुध्ने उनी अरूले बोलेका कुरा जस्ताको तस्तै भनिदिने रहेछन् । पन्ध्र मिनेट बोलेको कुरालाई पाँच मिनेट, तीन मिनेट, एक मिनेट र एक वाक्यमा छोट्याउन सिकाउने रहेछ्न् । संक्षेपीकरणको अभ्यास उनका नामहरूमा पनि देखिन्छ । जस्तै, रूपचन्द्र दामन नेपाल (रूदाने), जनमुखी सदस्य रूपचन्द्र (जसरू), स्वतन्त्र रूपचन्द्र (स्वरूपे) आदि । उनले औपचारिक पठन बाहेक अतिरिक्त क्रियाकलापलाई पनि प्रश्रय दिएका रहेछन् । बालेन शाहले काठमाडौं महानगरमा सुरु गरेको “बुक फ्री फाइडे” जस्तै कृषिसम्बन्धी दैनिक स्कूलमै सिकाउने कार्य त रूपचन्द्रले पहिल्यै सुरुवात गरेका रहेछन् । राजनीति, समाज, देशका बारेमा पनि उनले सबै विद्यार्थीलाई सिकाउने गरेका रहेछन् । नेपालीमा पढ्दा पनि नबुझिरहेका विद्यार्थीलाई अङ्ग्रेजीमा पढाउँदा विरोध पनि गरिएछ । ज्ञानको दायरा बढाउन पनि अङ्ग्रेजी पढ्नुपर्छ भन्ने तर्कका आधारमा उक्त कार्यलाई निरन्तरता दिइएछ ।

साविकको अमरज्योति निमाविलाई जनकल्याण मावि बनाएर प्रधानाध्यापक बन्नुअघि उनी प्रधानपञ्च पनि बनेका रहेछन् । विकास कार्यका लागि आफैं ढुङ्गा फोड्न जाने, ढुङ्गा बोकाउन लगाउने र जनश्रमदानको प्रसङ्गमा भने हर्क साम्पाङ सम्झिएँ । फटाहा र भ्रष्टचारीसँग बोल्ने तरिका दुवैको उस्तैउस्तै लाग्यो । विकास गर्ने क्रममा पञ्चायतका मतियारहरूसँग दुश्मनी पनि भयो । पछि उनले सुरु गरेका उन्नत बाली उब्जाने, विकासे नश्ल भित्र्याउने, विकासका कामहरूका विषयमा छलफल गर्न बनाउन सुरु गरेको विकास घर र अन्य योजनाहरू असफल बनाइयो ।

सारा गाउँलाई साक्षी राखेर विवाहसभा गरेर उमा शाहसँग विवाह गरेका उनको विवाह सम्बन्ध टुट्यो । लगभग त्यही समयमा विद्यालयमा भएको व्यापक विरोधका कारण प्रधानाध्यापक पदबाट राजीनामा दिनुपर्यो । पञ्चायतका समर्थकले उनको पिछा गरे मार्नै खोजे । देवघाटमा भतिजहरूको व्रतबन्ध भइरहेको बेला अनौठो हर्कत गर्दै नारायणीमा फाल हाले ।

जोगीको भेष धरेर फर्किएका उनी भाइको आग्रहमा दामनको भ्यु टावरमा बस्न थाले । उनमा केही परिवर्तन आएको जस्तो देखिन्छ । सामन्तीकै पक्षमा रहेका भनेका भाइ गुणचन्द्रको कुरा मानेर त्यहाँ बसे । राजनीतिक उचाइ पनि त्यहीँ बसेकै बखत पाए राष्ट्रिय पञ्चायतको दुईपटक सदस्य भएर । पञ्चायत प्रणालीमा रहेर पञ्चायतकै विरोध गर्दै राजनीति गर्न पारिवारिक साथ पनि मिल्यो । राष्ट्रिय पञ्चायतको दोस्रो कार्यकालमा भने बाबुको इच्छा पुर्‍याउन करमा घर बनाउँदा (पछि दाजुभाइकै बीचमा किचलो पनि उब्जियो) अनि सुविधाको गाडी लिँदा उनका प्रतिद्वन्द्वीले विरोध गरे । त्यस कुराले बहुदल पुनःस्थापनापश्चात् भएको चुनावमा उनलाई घाटा पुग्यो । यद्यपि उनलाई गाली गर्दै सर्वहाराको प्रतिनिधित्व गर्छौं भन्दै ब्रह्मलुट गरिरहेकै छन् । सङ्गठन नहुनु पनि उनको हारको कारण थियो तर सङ्गठन किन नबाउने भन्ने कुरामा भने उनी प्रष्ट थिए :

सङ्गठनले हामीलाई पक्षपाती बनाउँछ । हामी निष्पक्ष हुन सक्दैनौँ । एउटा सङ्गठनमा भएपछि मैले गल्ती गरेँ भने पनि तिमीहरूले मलाई चुपचाप साथ दिनुपर्छ । सङ्गठन भन्नेबित्तिकै कोभन्दा को ठुलो भन्ने कुरा सबभन्दा अगाडि आउँछ । (पृ. २०७)

जीवनको अन्त्यतिर थाहा पाउनुपर्नेले थाहा पाएनन्, पाएकाले पनि साथ छोडेकाले उनी विरक्तिएको कुरा पढ्दै गर्दा मन साह्रै कुँडियो । रूपचन्द्रले स्वतन्त्र हुँदा पाएको सूर्य चिह्नको फाइदा एमालेले लिएको रहेछ भन्ने थाहा पाउँदा छक्कै परेँ । बालेन र हर्कले लौरो चिह्नमा छुट्टाछुट्टै ठाउँमा जितेपछि त्यही चिह्न लिएर मधुसूदन पाठक (सिते बा) हरूले पार्टी खोलेको कुरा झट्ट याद आयो ।

उपन्यासका कमजोर पक्ष

“रूदाने” को सबैभन्दा कमजोर पक्ष तिथिमिति, उमेर ठ्याक्कै नहुनु हो । तिथिमिति थाहा पाउन इतिहासका धेरै कुरामा जानकार हुनुपर्छ । राणाकाल कहिले सुरु भयो, पञ्चायत कहिलेदेखि लागू भयो, जनमतसङ्ग्रह कहिले भयो, जनआन्दोलन कहिले भयो भन्ने त याद थियो । तर रूपचन्द्र बिष्ट प्रधानपञ्च कहिले भए, उनको विवाह कहिले भयो, नारायणीमा कहिले फाल हाले अनि कति समय हराए, राष्ट्रिय पञ्चायतका सदस्य कहिले भए भन्ने प्रश्नहरूको जवाफका लागि अरू सामग्रीको आवश्यकता पर्छ । उपन्यासकारले रूदानेले झैं, “आफैं थाहा पा भाते, पत्ता लगा” पो भनेका हुन् कि ?

उपन्यासको अर्को कमजोर पक्ष शोविङ (showing) भन्दा टेलिङ (telling) को ज्यादा प्रयोग हो । “कविता लेखेँ” भनेको ठाउँमा उनले लेखेकामध्ये कुनै कविता राख्न सकिन्थ्यो । कसैलाई केही कुरा भनेको वा छलफल भएको भनिएको विषयमा दोहोरो संवाद राखिएको भए हुन्थ्यो । उपन्यासका रूदाने धेरैजसो पर्चामा लेखिएका र केही पुराना रेकर्डमा भनेका कुराहरू संवादका रूपमा बोलिरहन्छन् । वाचक मात्रै बोलिरहँदा वास्तविक रूपचन्द्र विष्ट आफू मात्रै बोल्थे अरूका कुरा सुन्दैनथे कि भन्ने पर्यो । अरूका कुरा नसुन्ने त थिएनन् होला । नारायणीमा फाल हानेर साधुको भेषमा आएपछि अनि राष्ट्रिय पञ्चायतको सदस्य भएपछि भाइको कुरा सुनेका प्रसङ्गले गर्दा उनी अरूका कुरा सुन्दैनथे भन्न पनि सकिँदैन ।

हुन त एउटा किताबमा कुनै व्यक्तिको सिङ्गो जीवन समेट्न असम्भव हुन्छ तर केही महत्त्वपूर्ण कुराहरू छुटेका छन् । विष्णुप्रसाद आचार्यले अनलाइन खबरमा लेखेको “रूदाने” उपन्यासको समीक्षामा रूपचन्द्र बिष्टका एक छोरी र एक छोरा थिए भन्ने पढियो तर उपन्यासमा एक छोरीको मात्रै कुरा छ । ती पनि सपनाजस्तो आउँछिन् अनि त्यसै बिलाउँछिन् । सम्बन्ध विच्छेद पछि उमा शाह र छोराछोरी कहाँ गए, रूपचन्द्रसँग सम्पर्कमा थिए कि थिएनन् भन्ने खुल्दैन । केपी ओली जम्माजम्मी दुई ठाउँ आउँछन् तर दुईको बीचमा खासै संवाद हुँदैन जबकि एउटा फोटोमा दुबै “थाहा” लेखिएको स्कुटरपछाडि देखिन्छन् ।

रूपचन्द्र विष्टले “व्यवस्था निर्दलीय राजनीति बहुदलीय हुनुपर्छ” भनेका रहेछन् विमर्शसँगको अन्तरवार्तामा (स्रोत: थाहा-निष्पक्ष सक्रियताको अभ्यास, पृ. २२४, https://thaha-rudane.org/) । उपन्यासमा पनि यो नारा आउँछ तर व्याख्या भने आउँदैन । यो विषय मलाई एकदमै रोचक लाग्यो तर ठ्याक्कै कस्तो हो बुझ्नै सकिनँ । फेरि त्यही अन्तरवार्तामा (किताबमा अलि पछि) “बहुदलीय बहुला व्यवस्था हो । निर्दलीय निर्दयी व्यवस्था हो ।” भनेका रहेछन् । बहुला र निर्दयी व्यवस्थाको संयोजन ठीक होला र भनेर न पत्रकारले सोधेका छन् न त उपन्यासका कुनै पात्रले ।

केही गहकिला नारा पनि छुटेका रहेछन् । जस्तै :

एक प्रश्न

चार माना माटोसँग
तेरो नाता पर्‍यो भनेर
माटाको भाँडाले तँसित
दोस्ती सोस्ती गर्‍यो भनेर
बसिस् कैद गमलामा
सिङ्गै पृथ्वीलाई छोडेर ।

हामी कसैका होइनौं, कोही हाम्रा होइनन्
हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो

उपन्यासका सुन्दर पक्ष

घटनाक्रमको शिलशिलेवार प्रस्तुति, रूदानेका जीवनका मुख्य घटना र थाहा दर्शनको परिचय यस उपन्यासका सबल पक्ष हुन् । अघिल्लो पुस्तामा केही छाप छोडेका तर पछिल्लो पुस्ताले बिर्सिन लागिसकेका पात्रको बारेमा थप जान्ने उत्सुकता जगाउन उपन्यास सफल छ । रूपचन्द्र विष्टको विगतलाई हेर्दै वर्तमानमा केही पाठ सिक्न सकिन्छ जुन यस लेखको अन्त्यमा समेटिएका छन्  ।

केही बिझेका कुरा

यो जीवनी नभएर उपन्यास भएकाले औपन्यासिक स्वतन्त्रताको अपेक्षा स्वाभाविक नै हो । यद्यपि लेखकले नै किताबमा “यस्तो त भएको थिएन भन्ने लाग्यो भने लेखकको सफलता हो” लेख्दा चैं संशय जाग्यो । “घनचक्कर”को वाचकले कुन सत्य कुन कल्पना कुन घटनाको कस्तो शिलशिला थाहा नपाएजस्तो रनभुल्लमा त परिएन ?

धेरै ठाउँमा रूपचन्द्रले आफूले गरेको ठीक अरूले गरेको बेठीक भनेका छन् । पञ्चायतको समर्थन पनि गरेका रहेछन् । उपन्यासमा यो कुरै छैन । उनले पञ्चायतको नेतृत्वमा सबै नराम्रा छैनन् केही नराम्राले हैकम जमाएका छन् भने झैं गणतन्त्रका नेताहरूका बारेमा पनि सुन्दै आएको कुरा हो । फेरि बहुदलीय पद्धतिले जित्ने भएपछि अवसरवादी झैं यसको समर्थन गरेको देखिन्छ उपन्यासमा । यस्तो हैन भन्ने लेखहरू पनि भेटिए तर खुङ्खार पञ्चे, मण्डलेहरू प्रजातन्त्रका हिमायती बनेर शासन गरिरहेकै छन् । कुन वयवस्था ठीक भन्ने कुराको बहस जरुरी थियो ।

स्वास्थ्य सुधार भइरहेका बेला किन बिरामी परे अनि मृत्युअघि के स्वास्थ्य समस्या देखिएको थियो भन्ने कुरा उपन्यासमा प्रष्ट छैन । कुनै षड्यन्त्रमा परे कि भनेर कुनै पात्रले सोचेका पनि छैनन् ।

धनुष के. को “थाहा” नाम गरेको युट्युब च्यानलमा रामनारायण बिडारीलाई विरोधी समूहले जनकल्याण मावि मा भर्ना गरेर ल्याएको भनिएको रहेछ । रामनारायण बिडारीले पनि पद्मोदयमा पढाई छाडेर जनकल्याण गएको अनि रूपचन्द्र बिष्टका विरुद्धमा नाराबाजी गरेको स्वीकारेका छन् । तर गुरु रूपचन्द्रले बिडारीलाई विश्वास गरेर पटकपटक मौका पनि दिएका छन् । तर फेरि एक ठाउँमा बिडारीलाई ढिलो आएको भनेर मुखमा थुकेको अनि बिडारीले अत्ति भयो भनेर चुनावी प्रचारप्रसार छोडेको प्रसङ्ग पनि छ । वर्षौं सँगै हिँडेका चेलालाई ढिलो भएकै कारण थुके होलान् भन्ने चैं पत्याउनै गाह्रो भयो । अनि पछि बिडारी काठमाडौं-१ बाट चुनावमा उठेका बेला सहयोग गर्न पनि आए । यी गुरुचेला बिचको सम्बन्धमा भएका उतारचढाव त देखियो तर घटनाक्रमका कारण र भावनाहरू अलि नमिलेजस्तो, केही नपुगेजस्तो लाग्यो ।

अजेयराज सुमार्गी अति नै सकारात्मक रूपमा आउनु पनि मलाई अचम्म लाग्यो । नेपालका सबै नेतालाई खल्तीमा राख्छु भन्ने विवादित व्यापारी सुमार्गीले जनमुखी राजनीति गरेका त होलान् तर आफ्नै फाइदाको लागि हो कि ? “रूदाने” पुस्तक विमोचन उनकै हातबाट गरिएको रैछ । विष्टको परिवार वा आफन्तबाट कोही किन थिएनन् मञ्चमा ? थाहा आन्दोलनमा लागेकाहरू नै एकअर्का प्रति पूर्वाग्रही भएका हुन् कि ? रूपचन्द्रका भतिज रणसङ्ग्राम बिष्टले त सुमार्गीलाई कालाकुवेरको संज्ञा दिँदै थाहा दर्शन भन्दै कालो धन जोडेको आरोप नै लगाएका रहेछन् । तथापि घर बनाउने बेलामा भएको मुद्दामामिला पछि रूपचन्द्रले दाजुभाइसँग खासै सम्पर्क नगरेजस्तो उपन्यासमा देखिन्छ । दागबत्ती दिनसमेत स्वनाम साथी (शशि शेरचन) लाई रूपचन्द्रले छानेको र सोहीअनुसार गरिएकाले घरपरिवारले नै वास्ता नगरेको हो कि भन्ने पनि प्रश्न उब्जिन्छ ।

थाहा दर्शन र आन्दोलनलाई आफूले प्रश्रय दिएको देखाउनेहरू धेरै नै रहेछन् तर वर्षको दुईचोटि सम्झनेबाहेक खासै केही गरेको जस्तो लाग्दैन । रूपचन्द्रले सुरु गरेका पुस्तकालय जोगाउन नसक्नेहरूले थाहा दर्शनको कुरा गरेको कत्ति सुहाएन । “थाहा” नाममा मिडिया, गैरसरकारी संस्था र राजनीति गर्दैमा यस दर्शनको प्रचार हुने पनि हैन ।

वर्तमान पुस्ताका लागि रूदानेको जीवनबाट पाठ

दोषी को ?

केटाकेटी बिग्रे बाबुआमा दोषी
जनता बिग्रे सरकार दोषी
सरकार बिग्रे व्यवस्था दोषी
यथार्थमुखी, कर्तव्यमुखी बाहेक
पछुवा, भगुवा सारा दोषी

जात ठुलो कि जनता ?
नाता ठुलो कि न्याय ?
स्वार्थ ठुलो कि निस्वार्थ ?

– रूदाने

समाज बिग्रेको, देश बिग्रेको हामी देखिरहेका छौँ । जता हेर्‍यो त्यतै दूषित सोच र राजनीति देखेर वर्तमान पुस्ता आजित भएको छ । आफ्नो र आफ्नो परिवारको पेट भर्नु नै प्राय: सबैको चिन्ताको विषय बनेको छ । चरम राजनीतिकरण र दलीयकरणले हामीलाई दास बनाइरहेकै छ जसका बारेमा पहिले पनि लेखिसकेको छु : के नेपालीको दलीय सोच तोडिएला ? । प्रजातन्त्र लोकतन्त्र जे भने पनि सत्तामा रहनेकै हालीमुहाली छ । लोकतन्त्रमै शङ्का छ । स्वतन्त्रता नाम मात्रैको छ (के हामी स्वतन्त्र छौँ ?) । रूपचन्द्र विष्ट राजनीतिमा आउँदा गरीब जनताको अवस्था जस्तो थियो अहिले पनि त्यस्तै छ । समयसँग आउनेबाहेक तात्विक परिवर्तन छैन । समाज पावर र पैसाको पछि कुदेको छ । पावर र पैसा हुनेहरू मैमत्त साँढेजस्ता छन्, कामवासना र मदिराका दास बनेका छन् । धर्म (नैतिकता) बिर्सेका छन् । एकले अर्कोलाई विश्वास गर्नै सकिँदैन । यस्तोमा हामी एकजना मसिहा वा नायक खोज्दैछौँ जसले सारा समस्या एक झट्कामा समाधान गरिदियोस् । तर मसिहाले समस्या समाधान गर्ने हैन । आफ्नो लडाईं आफैं लड्ने हो ।

रूदानेले पनि त्यही नै भनिरहे । छाप्रेको राजनीति महल हुनेले गर्दैन । महिलाको राजनीति पुरुषले गर्दैन । विकास कुनै नेताले ल्याउने हैन, जनता आफैंले हो । यसतर्फ काम भइरहेजस्तो त देखिन्छ तर जबसम्म सबै जाग्दैनन् तबसम्म देश विकास हुन असम्भव छ । जे छ ठीक छ भन्ने प्रवित्ति त गलत हो नै, भएका सम्पदा नचिन्नु र चिनेर पनि उपयोग गर्न नसक्नाले हामी गरीब बन्दै गएका छौं । केही व्यक्तिले प्रयास गरेर देश विकास हुने हैन । त्यसबेला रूदाने वैकल्पिक राजनीति गर्दै थिए, अहिले बालेन, हर्क, गोपी हमालहरू आएका छन् । विरोधीहरूको पनि कमी छैन । पहिला पञ्चायत र पछि दलहरू रूपचन्द्रलाई सिध्याउन लागे । अहिले राजनीतिक दलहरू स्वतन्त्र व्यक्तिहरूमा के कमजोरी भेटिन्छ र प्रहार गर्न सकिन्छ भन्ने दाउ खोजिरहन्छन् । यिनलाई असफल बनाएर होस् वा यिनकै कार्यलाई अपनाउदै होस् जनतालाई भ्रमित बनाउन लागिपरेका छन् । पञ्चायतकालमा दरबार र दरबारका आसेपासेले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबै कब्जा गरेका थिए । अहिले “राजनीतिक” दलहरूले त्यस्तै गरेका छन् । पञ्चायत कालमा झैँ अहिलेका दलहरू सुकुम्बासी उत्पादन गर्न उद्दत छन् सस्तो काम र भोटका लागि ।

चरम राजनीतीकरण विरुद्ध केही प्रयास भए पनि ती पर्याप्त छैनन् । दलीयकरणको विरोध गर्न दल नै खोल्नुपर्ने अफ्ठ्यारो व्यवस्था छ । बहुदल लागू हुँदा पञ्चायतलाई “खाए पाएर अघाएका” र बहुदलवादीलाई “खान नपाएका” भन्दै “हेर्दै जानू बहुदलवादीले कसरी देश बिगार्छ्न्” भनेका रहेछन् । नभन्दै बहुदलवादीले देशलाई उल्टो बाटोमा लगेका छन् । व्यवस्था अन्त्य गर्न नदिन जनता फुटाएका छन् दल, जातजाति अनि अनेकौँ नाममा । “व्यवस्था ठीक छ, अवस्था मात्रै बेठीक हो” भन्ने साथीहरूले पनि व्यवस्था ठीक नभएरै अवस्था ठीक नभएको हो भन्ने बुझे हुन्थ्यो । अहिले उदाएका स्वतन्त्र आवाजहरू थाक्लान्, धर्ती छाडेर जालान् । उनीहरूका नाममा अरूले राजनीति गर्लान् । नागरिकले आफ्नो लडाईं नलडेसम्म खुद्रे राजनीतिक परिवर्तनलाई क्रान्ति भन्नुपर्ने अवस्था रहिरहनेछ । त्यसैले प्रश्न गरौँ, खोजौँ, बुझौँ, थाहा पाऔँ !

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – ४)

उत्कृष्ट कथा, २०८० का अतिथि कथाहरू र अन्य केही कुराहरू यस भागमा समेट्ने छु । अतिथि कथाहरू पुस्तकमा भएको क्रमअनुसार नै समीक्षा गर्नेछु ।

अतिथि कथाहरू

पहिलो कथा दकस (भगीरथी श्रेष्ठले) ले यस्ती महिलाको कथा भनेको छ जो वृद्धावस्था उन्मुख छिन् र छोराबुहारीबाट छुट्टिएर उनीहरूकै घरमा तल्लो कोठामा बस्न थालेकी छिन् । उमेर ढल्किँदै गएपछि एउटी महिलाले महसुस गर्ने हीनताबोध र त्यसबाट उत्पन्न हुने स्वतन्त्रताको खोजी यस कथामा देख्न सकिन्छ । आफ्नो दिनचर्या र साहित्यिक रुचि छोराबुहारीले मन नपराएको ठान्छिन् र भित्रभित्रै जल्छिन् । फेरि छुट्टै बस्न खोज्दा समाजले के भन्ला भन्ने अनि छोराबुहारीसँग टाढिइँदै जाने हो कि भन्ने डर पनि छ । छोराबुहारीले उनकै राम्रोको लागि धेरै दौडधुप नगर्नु भन्ने सल्लाह पनि उनलाई बिझ्छ । समाजमा देखिएकै घटनालाई राम्रोसँग उतारिएको छ कथामा ।

दोस्रो अतिथि कथा हो भाउपन्थीको “रिक्त” । यो कथामा धेरै कुरा आएका छ्न् । चिया पसलदेखि कलेजको राजनीति र बिहे गर्न केटी खोज्ने कुरा देखि जोगी बन्ने विचारसम्म । “म” पात्रदेखि रिस पनि उठ्छ कतैकतै अनि माया पनि लाग्छ । आजकलको युवाहरूमा भएको नैराश्यता सबै नै टपक्कै टिपेका छन् लेखकले । कथाको शैलीमा भने न्यारेसन बढी भएकाले मलाई चैं पढ्दापढ्दै अल्छी पनि लाग्यो । यद्यपि विषय भने रोचक नै छ ।

डा. राजेन्द्र विमलको “पुत्रऋण” एकदमै मन पर्‍यो । एक परिवारको तीन पुस्ताका मानिसले गरेका राम्रा नराम्रा कुराको फेहरिस्त छ । ठेकेदार महादेव खड्काले अथाह सम्पत्ति जोडेपछि उसका छोराहरू गणेश, कार्तिकेय र अभिनन्दन अनि नातिनातिनीहरूको पतन हुँदै गएको नैतिकता र बढ्दै गएको दम्भ देखाइएको छ । धनसम्पत्तिको लोभ र चाहनाले केकस्ता अवस्था आउनसक्छन् भन्ने विश्लेषण छ । कथाको अन्तिममा आउने ट्विस्टले त दिमाग नै खल्बलाइदियो ।

कथा सङ्ग्रहको अन्तिम कथा “यात्राबाट छुटेपछि…” ले पत्रमित्रताबाट कुनै समय जोडिएका र जीवनको उत्तरार्धतिर भेट भएका दीपशिखा र सिद्धार्थ को कहानी भन्छ । दुवैजनाको जिन्दगी आआफ्नै ढंगबाट चलेको छ । दुवैका आआफ्नै पीडा पनि छन् । तर उनीहरूलाई दु:खको तारले जोडेको छ । कथामा थुप्रै दार्शनिक कुराहरू आउँछन् । मनोवैज्ञानिक द्वन्द्व पनि छ दुईबिचमा । कथाको अन्त्य सुखमय होला भन्ने लागेको थियो तर अलि निराशाजनक लाग्यो । कथामा “तिम्रो दु:खको कारण तिमी आफैं नै हौ” भनिएकोले मैले आफ्नै इच्छा र अपेक्षाका कारण दु:ख मानेँ कि भन्ने लाग्यो ।

आवरण

आवरणमा गुरुङ जातिको पोशाकमा एकजना मानिस देखिन्छ । उसको अगाडि ऊ भन्दा ठूलो डोजरको बकेट छ । पृष्ठभूमिमा रहेको रूखभन्दा डोजर प्रष्ट देखिन्छ । डोजरले रूख ढालेको र मानिसले निरीह भई हेर्नुपरेको परिस्थित चित्रले भन्दछ । यो चित्र “बुढो लाकुँरीको रूख” कथासँग बढी मिल्दोजुल्दो छ । तथापि “चेपाङ, चमेरा र चिउरी”, “असार पन्ध्र” र “साक्षी” कथाहरूमा पनि यस्तैयस्तै कुराहरू आएका छ्न् । आन्तरिक तथा बाह्य बसाइँसराइको पीडा, सांस्कृतिक परिवर्तन र विचलन एवम् विकासको नाममा गरिएको प्रकृतिको दोहन यी कथाहरूमा अटाएका छन् । तसर्थ आवरण चित्रले पनि उत्कृष्ट हुन सफल कथाहरूमध्ये चारवटा कथाको प्रतिनिधित्व गरेको देखिन्छ ।

अन्त्यमा,

एउटै किताब धेरै समय लगाएर पढ्ने बानी नभए पनि विभिन्न परिस्थितिले गर्दा त्यसो गर्नुपर्ने भयो । बिचमा थुप्रै किताब पढियो अनि रिभ्यु पनि लेखियो । त्यसैले “उत्कृष्ट कथा, २०८०” अधुरै छोडिने हो कि भन्ने डर पनि थियो । कथा पढेर रिभ्यु लेखेपछि ब्लगमा प्रकाशन गर्ने र बुकाहोलिक्समा सेयर गर्ने काम नगरेको भए ब्लग र रिभ्यु दुवै अलपत्र पर्न पनि सक्थे । यसर्थ बुकाहोलिक्स परिवारलाई धेरै धेरै धन्यवाद । टप २५ मा पर्नुभएका अनिता पन्थी, राजेन्द्र अधिकारी, जेएन दाहाल, प्रमोद प्याकुरेल, श्रीधर खनाल एवम् अन्य साहित्य साधकहरूको प्रतिक्रियाले पनि हौसला दिइरह्यो । उहाँहरूप्रति आभारी छु ।

सबैभन्दा पहिले पढेको कथामा थुप्रै कमजोरी भेटेको थिएँ । तर एउटा कथाको रिभ्यु मात्रैले सबै पच्चीस कथाकारका कथालाई न्याय दिन सक्दैन भनेर एउटा ठूलै आँट गरेको थिएँ । फेरि फेरि यस्तो गर्न सम्भव पनि नहोला । यो क्रमलाई अब भने बिट मारेँ । अरू कुनै पुस्तकको समीक्षा, लेख, कथा वा कवितामा फेरि पनि आउने कोशिस गर्नेछु ।

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – ३)

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? भाग – १ र २ माथि आएका प्रतिक्रियाले निकै हौसला दिए । तेस्रो भागका लागि समय व्यवस्थापन गर्नु चुनौती त थियो तर इच्छा गरे उपाय निस्किनेरहेछ । छिमेकमा ठूलै राजनीतिक परिवर्तन यसबीच पनि भयो । यद्यपि पठन, लेखन, व्यक्तिगत र अफिसियल कामलाई केही व्यवस्थित गर्न सफल भइयो यसपालि । भाग – २ लेख्दाको समयभन्दा अलि शान्त पनि छ मन । भाग – ३ का लागि दुई हप्ताको डेडलाइन राखेको थिएँ । दुई दिन ढिला भए पनि पहिलेभन्दा धेरै सुधारेको छु । तेस्रो भागमा बाँकी ९ वटा कथाको रिभ्यु प्रस्तुत गरेको छु ।

बाह्रखरी उत्कृष्ट कथा, २०८० मा सङ्ग्रहित कथामध्ये मैले पढेको १७ औँ कथा थियो अनिता पन्थीको “जुलुस उठेको रात” । कथा चिठीको शैलीमा बुनिएको छ । गाउँमा बाख्रा वस्तु चराउन लगेको प्रसङ्गबाट दशैँमा गरिने पशुबलिको दृश्यसम्म पुग्छ । बलिपछि वाचकको मन धेरै नै विचलित हुन्छ र कथामा यसको प्रस्तुतीकरण निकै नै सबल छ ।

पशुबलि ठीक कि बेठीक भन्ने कुरामा निकै नै बहस हुने गरेको छ । दशैँको परिवेशमा त यसले बढी नै चर्चा पाउने गरेको छ । धर्मशास्त्रहरूमा पनि यो विषयमा विभिन्न समयमा वादविवाद भएको छ । कति ठाउँमा चैं संस्कारकै रूपमा चलिआएको छ । फेरि आफूले खाने जेसुकै कुरा भगवानलाई चढाउनुपर्छ भन्ने कुराले गर्दा पनि पशुबलि यत्तिकै अन्त्य हुने छाँट देखिँदैन । कहिलेकाहीँ पशुबलि देख्दा नराम्रो लागेपनि आफैं मासु सेवन गर्ने भएकोले हिपोकृटिक भइदिन्छु । मानिस साँच्चै नै द्वैधताले भरिएको प्राणी हो ।

यस्तै द्वैधता रमेशजंग थापाको “ओथ” कथामा पनि देखिन्छ । मेडिकल इन्टर्नसिपको पहिलो दिनमा नव डाक्टरहरूले देखेभोगेका कुरा यस कथामा छ । चिकित्सकले सबै इगो छाडेर बिरामीको सेवा गर्नु नै उसको परमधर्म हो । विनम्रता पनि उसमा आवश्यक हुन्छ । हिप्पोक्रेटिक ओथ (Hippocratic Oath) ले पनि यही सिकाउँछ । यद्यपि, केही सिनियर डाक्टरहरूले नयाँ इन्टर्नमाथि देखाउने अभद्रताले मन चस्स हुन्छ । अरू धेरै ठाउँमा पनि यस्तो हुने गरेकोले गर्दा नयाँ पुस्ता दिमोटिभेटेड भएको देखेको छु । कथाको अन्त्यमा भने सिनियर डाक्टरले मृत घोषणा गरिसकेको व्यक्तिलाई मुख्य पात्रले बचाउँछ । नयाँ पुस्ताले फरक तरिकाले सोच्छ र काम गर्छ भन्ने देखाएको हो कि जस्तो लाग्यो । थुप्रै मेडिकल शब्दावलीको प्रयोग भएको देख्दा लेखक यस क्षेत्रमा निकै भिजेको जस्तो लाग्छ । हिप्पोक्रेटिक ओथको सार्थकता देखाएको यो कथा मलाई औधी मनपर्‍यो ।

अर्को कथा “तेजाब” (विक्रम नेपाल) ले एसिड आक्रमणको विषय समेटेको छ । संवेदनशील विषयलाई पनि निकै सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । एसिड आक्रमण गर्ने र सहज विक्री गर्नेमाथि बनेको फितलो कानूनमाथि आक्रोश पनि छ । पुरुषहरूको मानसिकता केही हदसम्म उजागर गरेको छ । कथामा दुईवटा न्यारेटर छ्न् । पुरुष न्यारेटर नभएको भए पनि खासै फरक पर्ला जस्तो चैं लागेन । यद्यपि उक्त पात्रमार्फत् एसिड आक्रमण पीडित महिलालाई हेरिएकोले पीडितप्रतिको बाहिरी दृष्टिकोण बुझ्न सघाउने हुँदा अनावश्यक पनि लाग्दैन ।

कथासङ्ग्रहबाट पढेको बीसौं कथा थियो, जेएन दाहालको “अन्ठाउन्नको रसिद” । सन् १९५८ मा भुटानमा नागरिकता ऐन जारी भएको रहेछ । त्यही वर्ष दक्षिणी भुटानमा घरजग्गाको तिरोमा छुट पनि दिइएको रहेछ । पछि १९८५ मा नागरिकतासम्बन्धी नयाँ ऐन लागू भएपछि अन्ठाउन्न सालको रसिद खोजेर नेपाली भाषीलाई भुटान दु:ख दिएको र नागरिकताविहीन बनाएको कथा यसमा समेटिएको छ । भुटानी शरणार्थीको विषयमा केही कुरा थाहा भएको भए पनि १९५८ मा गरिएको वयवस्थाले १९८५ पछि असर गरेको रहेछ भन्ने थाहा थिएन । त्यसैले पनि कथा रोचक लाग्यो । नागरिक नरहेपछि भारतबाट विवाह गरेर भुटान आएकी नेपालीभाषी सीताको बिग्रेको मनोभाव र त्यसबाट उत्पन्न परिस्थिति मार्मिक छ । स्थानीय लवजको प्रयोग मीठो छ । चिसो हावा आएको प्रसङ्गमा पनि “अचेल दक्षिणका लागि सबै कुरा यसरी नै आइरहेको छ चिसिएर” जस्ता वाक्यले मन कुँडिन्छ ।

केही ठाउँमा टाइपो भेटिन्छ यहाँ पनि । कथामा जनगणनालाई पृष्ठ ६३ मा “सेन्सेस” र “सेन्सस” दुवै लेखेको भेटिन्छ । पृष्ठ ६७ मा “सत्ताईस”को सट्टा “सत्ताई” भएको छ । कथा हृदयस्पर्शी भएकाले गल्तीहरू खासै याद भने हुँदैनन् ।

त्यसपछि पढेको कथा थियो उमा शर्माको “तनुश्रीको भाडाको घर” । शीर्षक हेर्दा घरबेटी र डेरावालको कथा होला जस्तो लागेको थियो तर विषय फरक रहेछ । सरोगेसी र सरोगेट मदरको बारेमा बुनिएको कथा रहस्यमय ढङ्गले अघि बढ्छ । कथामा दुई मुख्य पात्र छन्– प्रीति र तनुश्री । पेशाले पत्रकार प्रीति न्यारेटर पनि हुन् । ससाना अनावश्यक जस्ता लाग्ने घटनाहरू जोड्दै प्रीति र तनुश्रीको कथा बुनिएको छ । कुरा नबुझी समाजले गर्ने टिप्पणी, पत्रकारिताका प्रसङ्ग र दुई पात्रहरूको अन्तरक्रियाले कथालाई रोचक बनाउँछन् । तनुश्रीले आफ्नो कथा भनिसक्दा आँखा रसाए । कथाको शीर्षक पनि उनले नै दिँदा झन् भावुक भइयो । नारीवादी दृष्टिकोणबाट समेत यो कथा अब्बल लाग्यो ।

कथासङ्ग्रहबाट पढेको २२औं कथा “मेरो कथा” (डिल्लीरमण पौडेल) ले मथिङ्गल खल्बल्यायो । कथा पढिसकेपछि टाइमलाइन उल्टोपाल्टो पारिएको हो कि जस्तो लाग्यो । क्रिस्टोफर र जोनाथन नोलानको “मेमेन्टो” पो सम्झिन पुगेँ । कथावाचक तथा मुख्य पात्र रमणलाई सुरुदेखि नै बिरामी देखाइएको र उसको अनुमति बेगर पनि सजिलै आइरहने घरबेटीकी अपाङ्ग छोरी रमिलाबिचको अन्तरक्रियाहरू अलि अस्वाभाविक लाग्छन् । रमिलाले एक ठाउँ तपाईंकै कारण जलेकी हुँ भनेकीले पनि कथा सीधा छैन भन्ने लागेको हो । रमणका स्मृतिहरू नै उसलाई दु:ख दिन आएका हुन् कि जस्तो लाग्यो । जे होस्, कथाले मज्जैले बाँध्यो अनि निकै बेर सोच्न बाध्य पनि बनायो ।

अब भने उत्कृष्ट कथाहरूमध्ये पनि सर्वोत्कृष्ट कथाहरू पढ्ने बेला आयो । तेस्रो स्थान प्राप्त गर्न सफल विजय हितानको “चेपाङ, चमेरा र चिउरी”बाट अन्तिम चरण सुरु गरियो । विजय हितानले मास्टर मित्रसेनको जीवनीमा आधारित “लाहुरेको रेलिमाई” का लागि २०७९ सालको अरनिको पुरस्कार पाउनुभएको अनि सुरुको च्याप्टर निकै रोचक लागेकाले “चेपाङ, चमेरा र चिउरी” प्रति अलि बढी अपेक्षा थियो । कथाको विषय राम्रो छ । चेपाङहरूले विवाहमा छोरीलाई चिउरी दाइजो दिने चलनको बारेमा सामान्य ज्ञानमा थुप्रैपटक पढेको थिएँ । लोक सेवा आयोगले लिने परीक्षाहरूमा पनि आइरहेकै हुन्छ । चिउरीको मह खाएको पनि छु । चमेरा र चिउरी बीचको सम्बन्ध भने थाहा थिएन । यस हिसाबले कथा ज्ञानवर्द्धक छ । अनि वातावरण संरक्षणको विषय उठान पनि राम्रो छ ।

कथा भने खासै रोचक लागेन । पात्रहरूका केही संवाद हटाइदिने हो भने निबन्धजस्तै लाग्छ । सञ्जुमायालाई पात्रका रूपमा अलि ननिखारिएको हो कि जस्तो पनि लाग्यो । धुलाम्मे सडक हुँदै घर नपुग्दै चिउरीको रुख कसले र किन ढाल्यो भन्ने उसले बुझिसक्नु पर्ने थियो । उच्च शिक्षा पढ्न थालेपछि चिउरी र चमेराबिचको सम्बन्ध बुझिन् (पृष्ठ.. ) भनिसकेपछि त्यही विषयमा सोचमग्न भइरहनु पर्ने थिएन । जुन जवाफ दाइलाई भोलिपल्ट दिन्छिन्, त्यही जवाफ अघिल्लै दिन पनि दिन सक्थिन । कथाको अन्त्यतिर विष्णुप्रसाद भन्ने पात्र आउँछन् तर उनी भएको भए पनि फरक पर्ने थिएन । सञ्जुले मन पराउन थालिन् भनिएको छ तर त्यसको पर्याप्त आधार देखिँदैन । कथामा देखाउने (showing) भन्दा सुनाउने (telling) बढी नै छ । “लाहुरेको रेलिमाई”को सुरुवातमा पात्रहरूको सजीव वर्णन पढेकोले पनि होला यस कथाबाट अलि निराश भएँ ।

द्वितीय स्थान प्राप्त प्रमोद प्याकुरेलको “काँचुली” मा धर्मद्वारा निर्देशित समाज, त्यसको मनोविज्ञान र बाल मनोविज्ञान समेटिएको छ । कुमारी राख्ने प्रचलनमा एकातिर धार्मिक-सांस्कृतिक पक्ष छ भने अर्को बाल मनोविज्ञान । बालसुलभ चञ्चलता र हासोका कारण पुजारी बिरामी पर्नु, आफ्नो इच्छा पूरा गर्नका लागि बालिकाले उठाएको कदमलाई देवीको उग्रचण्डी स्वरूप सम्झनु धार्मिक-सांस्कृतिक मनोविज्ञानको उपज नै हो । हालै मात्र ड्युन चलचित्रहरू हेरेको र उपन्यास पढ्दै गरेकोले पनि यो कुरा ठ्याक्कै बिझ्यो । धर्मको प्रभाव पढेलेखेका र वैज्ञानिक सोच राख्ने व्यक्तिहरूमा त हुन्छ भने त्यस्तै समाजको अंश बनेकाहरूमा नहुने कुरै भएन । कथाले कुमारी प्रथाको सिधै विरोध त गरेको जस्तो लागेन तर बाल मनोविज्ञानको ख्याल गर्नु चैं पर्छ भनेको झैं लाग्यो ।

अब पालो पहिलो स्थान पाउने कथाको । मनोजबाबु पन्तको “बुढो लाँकुरीको रूख”ले भेडीगोठमा पचासौं वर्ष बिताएका लछिमान गुरुङको एक दिनको कहानी भन्छ । सँगसँगै बसाइँसराइको कारण गाउँमा किशोर/युवा नभेटिने समस्या र “आधुनिक विकास”का नाममा आएको प्राचीनताको विनाश यसले संवाद र विम्बमार्फत् समेटेको छ । बाटुलो घरको रोदी, लाँकुरी रूखको कचहरी, लाहुर जाने युवाहरूको तयारी जस्ता विषय पनि यसमा आएका छन् । युद्धबाट ज्यान जोगाउन भागेको लछिमानले श्रीमतीको नाममा आएको आफ्नै “मृत्यु”को पेन्सन खाएको प्रसङ्गमा हास्यरस छ । गोठको उत्तराधिकारी खोज्न नसकिरहेको उनी अब भने कालबाट भाग्न नसक्ने स्थितिमा पुगेको छन् । सामान्य कथामा पनि लछिमानको चरित्र चित्रणसँगै, उसका सुखदुःख, गुरुङ संस्कृति, साथै लछिमान र लाँकुरीको रूखको सम्बन्धलाई समेट्न सक्नु नै यस कथाको शक्तिशाली पक्ष  हो ।

उत्कृष्ट कथाका पच्चीस प्रतियोगी कथा पढिसकियो । चार अतिथि कथाको समीक्षा र समग्र अनुभव लिएर अन्तिम भागमा उपस्थित हुनेछु ।

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – २)

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १) प्रकाशित गरेर फेसबुक ग्रुप बुकाहोलिक्समा सेयर गरेपछि प्रतिक्रियाको ओइरो नै लाग्यो । धेरै जनाको राम्रो प्रतिक्रियाले मन फुरुङ्ग भयो । बाँकी कथाहरूका बारेमा अझै राम्रो प्रतिक्रिया दिने चुनौती पनि थपियो । यद्यपि किताब पढ्न र रिभ्यु लेख्न अलि बढी नै समय लागिरहेको छ । अलि अलि पढ्दै लेख्दै गर्दा साढे तीन महिना पो बितिसकेछ ।

के भयो भने सुरुमा एउटा परीक्षाले अल्झायो । त्यसपछि अन्तर्राष्ट्रिय घटनाक्रमहरूले यस्तो मोड लिए कि तिनलाई नजरअन्दाज गर्नै सकिएन । दिनहुँ भएका घटना र ठूलै युद्धको आशङ्काले मन त्रसित भइरह्यो । फेरि आफैंमा आएका अनेक इमोसलन परिवर्तनले आफैंलाई दु:खी पाइरहेको छु । यसपालि गैरआख्यानहरूले धेरै नै तानेकाले कथाहरू पढ्न गाह्रो भइरहेको पनि छ । एउटा दुईटा कथा पढ्ने अनि लामै गैरआख्यानको किताब पढ्ने गर्दा लेख्ने क्रम पनि टुटेको छ । अलि शान्त भएपछि उत्कृष्ट कथा, २०८० को कथासूचि हेरेँ अनि पढेँ, वसन्तबायुङ राईको कथा “रातो भत्ता” ।

कथा सलल बगेको छ पूर्वी पहाडी जीवन देखाउँदै । लवज साह्रै मिठो लाग्छ । कथामा आउने मोडहरूले चकित बनाउँछन् । सम्पत्तिकै लागि सम्बन्धहरू बन्ने भत्कने क्रम चलिरहन्छ अन्त्यसम्मै । कथा मात्रै विकृत हो या समाज नै त्यस्तै बन्न थालेको हो ? मनमा डरलाग्दो प्रश्न उब्जिन्छ । पृ. ३३५ मा ठूलै त्रुटी भेटिन्छ, “[हाङबारू] बुढीलाई बेलाबेला माया, स्नेह र श्रद्धाले मुसार्थी । पानी दिन्थी ।” व्याकरणीय असङ्गति हाँसो उठ्ने खालको छ ।

त्यसपछि पाना पल्टाउँदै शंकर धितालको “साक्षी” पढ्न थालेँ । यसमा एउटा रूखलाई मुख्य पात्र बनाइएको छ । रूखले एउटा मानिस, उसको परिवार र समाजको कथा भनेको छ । जसको बारेमा रूखले प्रेमसहित बोलेको छ उनीहरू नै  पीडाको कारण बनेको प्रसङ्ग हृदयविदारक छ । पर्यावरणलाई ख्याल नगरी गरिने विकासले ल्याउने विनाशलाई देखाएको छ । रूख अरू पनि धेरैको जिन्दगीको साक्षी बनेको थियो होला । यस हिसाबले कथामा उपकथा थप्दै उपन्यास नै बनाउन पनि सकिन्छ । छोटो कथाका रूपमा त मर्मस्पर्शी छ नै ।

सङ्ग्रहबाट पढेको एघारौं कथा थियो, त्रिभुवनचन्द्र वाग्लेको “म्ह्याय्चा” । एउटा व्यक्तिलाई कुनै ठाउँमा  सैनिकहरूद्वारा कैद गरिएको छ । मधेसको कुरा एक ठाउँ बताएकाले ऊ त्यताबाट आएको हो भन्ने बुझिन्छ । वर्षाको मौसम छ । साउन १७ मा अस्पताल लगिएको जिकिर गर्छ र दिन गन्तीको लागि खानामा पाउने चनाबाट एकएक दाना छुट्याएको छ । कैदमा भएपनि खाना पकाउन चुल्हो पाएको छ । एकदिन एउटी नेवार केटीले खाना नपकाउनु भनेपछि उसकै कल्पनामा भित्ता कोट्याउँदै नग्न स्त्रीको चित्र बनाउँछ ।

अन्त्यमा आइपुग्दा कथावाचकले नारीहरूमा असीम शक्ति हुन्छ भन्छ । यद्यपि आमाले खाना दिएको र नेवार केटीले भित्ताको चित्रको विरुद्धमा गरेको गुनासोलाई नै शक्ति मान्ने हो भने सूत्रधारले किन त्यसो भनेको हो भन्ने बुझ्न मुश्किल छ । कथा अलि जटिल हुन पनि सक्छ र मैले सिम्बोलिजम नबुझेको हुन सक्छु । माफी चाहेँ ।

केही आधारभूत कुरामा यस कथामा पनि गल्ती भेटिन्छ । जस्तो कि, चित्र बनाउन थालेपछि चना राख्न बिर्सेको कारण वाचकले कति दिन बित्यो भन्ने बिर्सिन्छ । तर त्यही अनुच्छेदमा उसले पाँच दिन बित्यो, दुई दिन बित्यो पनि भन्छ । यस्तो सम्भव नै नहुनु पर्ने हो । मुद्राराक्षसले यहाँ पनि दु:ख दिएको छ । “सैनिकले भने” हुनुपर्नेमा “भनें” भएको छ ।

केही समयको विश्रामपछि दिनमान गुर्मछनको “सन्ताप” पढेँ । सुरुको वाक्यमै “तिमी कहिले आउछौं ?” पढ्नुपर्दा दिक्क लाग्यो । अघिल्लो भागमै भनिसकेको छु कि राष्ट्रियस्तरको प्रतियोगितापश्चात् प्रकाशित किताबमा कथैपिच्छे गल्ती भेटिनु राम्रो पक्कै हैन । कथाको एउटा पात्रको नाम जीवन भएकोले “…जीवन सम्झौतामै गुज्रिएको थियो” (पृ. १२०) जस्ता वाक्यहरूले कतैकतै झुक्यायो अनि दोहोर्याउनु पर्याे। “जिन्दगी” शब्दको प्रयोग गर्न सकिन्थ्यो । कथा पढिसक्दा भने मन आनन्दित भएको थियो ।

कथाकी मुख्य पात्र सुनीता बाध्यताले खाडीमा पुगेकी छे । उसको पति जीवन पनि पहिला विदेश गएको थियो र हात गुमाएको थियो । दुवै जनयुद्धका सिपाही थिए कुनै बेला । सुनीता घर फर्कन चाहेर पनि सकिरहेकी छैन । काम गर्ने ठाउँमा मालिकले यौन शोषण गरेर गर्भमा बच्चा आएपछि उसको आत्मविश्वास पूरै मरेको छ । जीवनले के भन्ला भन्ने डर पनि उत्तिकै छ । कथाको अन्त्यमा उसले रहस्य खोल्छे । जीवनले जुनसुकै अवस्थामा पनि स्वीकार्ने कुराले उसको मन शान्त हुन्छ ।

सुनीता घर फर्किन पाउँछे कि पाउँदिन भन्ने प्रष्ट छैन । जीवनले पछि राम्रै व्यवहार गर्ला भन्ने पनि निश्चित छैन । एउटी महिलाले पितृसत्तात्मक समाजको डरका कारण पतिको स्वीकारोक्ति लिनपर्ने स्थिति पनि देखिएको होला । तथापि महिलालाई नै दोष लगाउने समाजमा जीवनले देखाएको प्रेम र दिएको आश्वासनले निकै नै मन छोयो ।

सङ्ग्रहबाट पढेको तेह्रौं कथा थियो तैँ तैँ धितालको “अप्रिय पिताजी” । लेखकको नाम अनौठो लाग्यो । पात्रहरू बर्मामा भएकाले लेखकको नाम पनि त्यतै सम्बन्धित छ कि भन्ने लाग्यो । कथाको सुरुवात पनि आश्चर्यजनक छ । एउटी छोरीले आफ्नो नग्न तस्वीर देखेर बिरामी परेका पितालाई “अप्रिय” सम्बोधन गरेकी छिन् । हिन्दू धर्मकर्म र संस्कारमा हुर्काएकाले डर एवम् सोझोपनका कारण पुरुषहरूले फाइदा लिएको भन्ने तर्क छोरीको छ । यद्यपि छोरीले पनि पिताको सोच विपरीत कार्य पनि गरेकी छिन् । नग्न तस्बिर खिच्न र सर्कुलेट गर्न अरूकै हात भएकाले पिताले छोरीसँग एक फेर राम्रोसँग कुरा गरेको भए हुन्थ्यो भन्ने पनि लाग्छ । तर पितालाई पनि आफूले गरेको विश्वास तोडिएकाले उनको अवस्था र प्रतिक्रिया अस्वाभाविक लाग्दैन । छोरीले पनि पिताको मनोभावना बुझेर अप्रिय नभनेको भए हुन्थ्यो भन्ने लागिरह्यो ।

महेश चौलागाईंको कथा “गल्ली” निकै नै मनपर्‍यो । कथाकारले सरकारी कार्यालयमा कार्यालय समयपछि हुने बेथिति धेरै राम्रोसँग देखाएका छन् । कथा पढ्दै गर्दा अफिसमै त रक्सीसहितको पार्टी हुन्छ र जस्तो पनि लाग्यो । यद्यपि, त्यस्तो नहोला भन्न पनि सकिन्न । पदाधिकारीहरूको नैतिक पतन देखेकाले यस्तै कथा आफैंले पनि लेख्न सकेको भए हुन्थ्यो भन्ने पनि लागिरह्यो ।

“उत्कृष्ट कथा – २०८०” सङ्ग्रहबाट मैले पढेको पन्ध्रौं कथा थियो राजेन्द्र अधिकारी कृत “प्रायश्चित” । पतिको विवाहपूर्वको सम्बन्धको बारेमा थाहा पाएपछि पत्नीले महसुस गरेको पीडा र पतिले प्रायश्चितका लागि रोज्नुपरेको बाटोको बारेमा कथाले भन्छ । प्रायश्चितको परिणाम के हुन्छ भन्ने निश्चित छैन । यसले पात्रहरूमाथि कस्तो प्रभाव पार्ला भन्ने प्रश्न पनि बाँकी नै रहन्छ । छोटा छोटा साधारण वाक्य भएको कथा यस्ता प्रश्नहरूको उत्तर बताइदिएको भए हुन्थ्यो भन्ने मेरो मनमा लाग्यो ।

त्यसपछि पढेको राजेश सुवेदीको “सागी प्रेमी”ले दिमाग हल्लाइदियो । दक्षिण कोरियामा काम गर्न गएको मुख्य पात्रले त्यहाँका महिलाहरूले विदेशीलाई पैसाको लागि फसाउँछन् भन्ने सुनेको छ । यति हुँदाहुँदै पनि ऊ एउटी महिलासँग प्रेममा पर्छ । शङ्का उपशङ्काले गर्दा उसको मनस्थिति कसरी खल्बलिन्छ र सागी (कोरियनमा धोखेबाज) बन्न पुग्छ भन्ने कहानीमा देखाउन खोजिएको छ । सस्पेन्स, ट्वीस्ट र टर्नले गर्दा कथा पढ्न एकदम मज्जा आयो ।

भाग-१ झैँ भाग-२ मा पनि आठवटा कथाको समीक्षा गरेँ । अब बाह्रखरी कथा प्रतियोगिताको टप-२५ मा परेका उत्कृष्ट तीनसहित नौवटा कथा बाँकी रहे । तिनलाई भाग-३ मा समेट्नेछु । कथा सङ्ग्रहमा रहेका अतिथि कथा, भूमिका र अन्य कुरा भाग-४ मा पस्किनेछु ।

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १)

तीन महिनाजति पहिले किनेका किताबमध्ये एउटा थियो “बाह्रखरी उत्कृष्ट कथा २०८०” । २०७५ को पहिलो संस्करण त pdf मा वेबसाइटबाट सिधै डाउनलोड गर्ने मिल्ने गरी राखिदिएको थियो बाह्रखरीले । पछिल्ला संस्करणप्रति खासै आकर्षण थिएन । त्यही पनि किताब पसलमा देखेपछि कस्ता कथा चैं उत्कृष्ट २५ मा परेछन् भन्ने उत्सुकता पलाएपछि किनेको थिएँ । तर अफिस आउँदा लाग्ने समय, थकान, छोरीसँग खेल्न मन लाग्ने अनि अलिकति निस्किएको समयमा माथि भनिएको परीक्षाको तयारीका लागि पढ्ने गरेकाले उत्कृष्ट कथा २०८० थन्किएको थियो । राति पौने तीन बजे कथाहरू पढिने भइयो ।

सङ्ग्रहका कथामध्ये पुरस्कृत भएकालाई सबैभन्दा अन्तिममा पढ्ने सोच बनाएँ अनि बाँकीमध्येबाट पहिलो छनौटमा पर्‍यो दिव्य गिरीको “असार पन्ध्र” । खेती किसानी गर्नेहरूको लागि असार १५ ठूलो उत्सव हो । त्यसकै सेरोफेरोमा कथा होला भन्ने लाग्यो तर हैन रैछ । विपद् असंवेदनशील नेतृत्व भयो भने गरीबहरूले कस्तो समस्या भोग्नुपर्छ भन्ने कथाको मूल मर्म रहेछ । सङ्ग्रहको आवरण पनि यही कथामा आधारित जस्तो लाग्यो । यद्यपि विषय जति चाखलाग्दो छ लेखाइ भने त्यति छैन । धनबहादुर बिकको परिचय दिँदै सुरु भएको कथाको पहिलो खण्डमा उसको जीवनी मात्रै छ । झिँझो लाग्ने गरी प्रत्येक पात्रलाई “धनबहादुर अर्थात् धने” को शैलीमा परिचय दिइन्छ । त्यसमा पनि गल्ती छ । मनसरालाई धनबहादुरकी बहिनी भनिएको छ । पछिल्लो खण्डमा पनि धनबहादुर र उसकी श्रीमतीलाई दाजुभाउजू नै भनेकी छिन् । तर मनसराले जन्माएको बालकृष्ण धनबहादुर भन्दा २ वर्ष मात्रै कान्छो छ ।

पहिलो गाँसमा ढुङ्गा परेजस्तो भयो । बेचैन हुँदै कथाका पात्रको नातागाता केलाएँ । मेरो हिसाब नमिलेको हो कि जस्तो लाग्यो । सुत्न लागेको म जुरुक्क उठेर कलम र कागज लिएर चित्र बनाउन थाले । अहँ, कथामा मनसरा धनबहादुरकी बहिनी हुनै सक्दिन । बहिनीको छोरो आफूभन्दा २ वर्ष कसरी हुन सम्भव छ ? दिदीको भए मिल्छ बरू । यत्रो गल्ती भएको कथा “उत्कृष्ट” कसरी हुन सक्छ ? विभिन्न चरण पार गर्दै पाठक सामू आएको कथामा यति ठूलो गल्ती त नहुनु पर्ने हो । एउटा चरणमा एकजनाले पो गल्ती गर्न सक्छ । कथा पढ्दै नपढी छनौट भएको त हैन ? यो भन्दा राम्रो कथा उत्कृष्ट २५ मा पर्न छुट्यो कि ?

त्यसपछि पढेको अर्को कथा चैं छनौट समूहले पक्कै पढेको हुनुपर्छ । दीपक लोहनीको “दरबारको दु:ख” (पृ. १५७-१५८) मा रानीसाहेब कथाका सूत्रधारलाई भन्छिन्, “तपाईं पत्रकार हो ? म पत्रकारसँग आफ्ना व्यथा सुनाउँदिन । उनीहरू आफ्नो बिजनेसका लागि मात्रै आउँछन् ।”

सूत्रधार भन्छन्, “म पत्रकार हैन, कथाकार हुँ । दरबारका दु:ख समेटेको कथा लेखेर बाह्रखरी कथा प्रतियोगितामा पठाउँछु ।”

अब बाह्रखरी कथा प्रतियोगिताकै लागि लेखिएको कथा उत्कृष्ट नभई भयो त ? हुनै पर्‍यो नि । अनि प्रतियोगिताको लागि कथा पठाउँछु भन्दा बिजनेस नहुने रैछ क्यारे, रानीसाहेबले आफ्नो कथा सुनाइदिइन्  । सूत्रधारले इमान्दारी देखाए भनेर पो हो कि ?

उता कथा लामो छ भन्दै कथा सुरु गरेका सूत्रधार एकछिन पछि रानीसाहेबको जीवनीको सारांश दिन्छन् । केही अनुच्छेदमै उनी बालापनबाट वृद्धावास्थामा पुग्छिन् । धनसम्पत्तिको मातले बिग्रेका पुरुष पात्रहरूका कारण वृद्धाले भोगेको व्यथा सूत्रधारले कथा बनाएर प्रतियोगितामा पठाउँछन् । बाह्रखरीको उत्कृष्ट २५ मा पर्छ । आँसु बिक्छ भनेको यही होला । मलाई चैं आँसुले खासै छोएन । निद्राले छोयो बरू अनि झ्याप्प निदाएँ ।

भोलिपल्ट साँझ अफिसबाट घर फर्किँदा डा. श्रीधर खनालको कथा “जीपीटी २०००” पढियो । ChatGPT 4.0 ले तहल्का मच्चाइरहेको बेला जीपीटी २००० ले धमाका गर्ने आशा पलायो । कथाको सुरुवात राम्रो लाग्यो । जीपीटी २००० ले मोबाइलमा इन्स्टल गरेपछि इमेल, क्यामरा र लोकेसनको आधारमा ट्रयाकिङ गर्ने कुरासम्म कथा ठीकै थियो । ‘असुर’को दोस्रो सिजनको झल्को आउला जस्तो लागेको बेला उसले न्यारेटरलाई सर्वोत्कृष्ट भन्दै गरेको भविस्यवाणीले कताकता ‘म्याट्रिक्स’ को झल्को दियो । आपसी कलहका कारण मानिसहरू लोप भइसकेपछि पनि AI बच्ने कुरा अलि पत्यार नलाग्दो नै थियो । हुन त AI को भविस्यवाणी हो । मिल्नैपर्छ भन्ने छैन ।

त्योभन्दा पनि पत्याउन नसकिने कुरा चैं जीपीटीले आफूले सबैलाई ट्रयाक गरिरहेको कुरा कसैलाई भन्ला भन्ने हो । हामीले इन्स्टल गर्ने एप्लिकेसनहरूले हामीलाई ट्रयाक गर्ने कुरा नौलो हैन । जानी नजानी हामी permission पनि दिइरहेका हुन्छौँ । तर सिधै फोन र इमेल गरेर ट्रयाक गर्छौँ भने भने वाचकले झैं uninstall गरेर व्यापार चौपट हुन्छ होला । खैर, कथामा जताततै देखिने मानवीय प्रलयको डरको लामो वर्णन छ जुन अझै रोचक बन्न सक्थ्यो जस्तो लागिरह्यो ।

लगत्तै सञ्जय घिमिरेको “चन्द्रमा देब्रे, चन्द्रमा दाहिने” पढेँ । कविताका पङ्क्तिजस्ता छोटा वाक्य र चन्द्रमा दाहिने र देब्रे हुँदाको बिम्बले झ्याप्पै आकर्षित गर्‍यो । कथा भने कस्तो कस्तो लाग्यो । कथावाचकले १० वर्ष सम्म जसको गाडी चलाउँछ,  आरिस गर्छ । उसको उद्देश्य भनेको हाकिमलाई ड्राइभिङ सिटमा राखेर हाकिम जसरी ब्याक सिटमा बस्नु हो । इच्छा पूरा पनि हुन्छ । हाकिमले उसलाई अमेरिका बोलाएर काममा लगाइदिएर पनि लाइसेन्स परीक्षामा पटकपटक जानीजानी फेल भएपछि । जिन्दगीमा हुन सक्ने फेरबदल र irony देखाएका हुन् क्यारे कथाकारले तर धेरै नै सहज भयो कि भन्ने चैं लागिरह्यो ।

कथा सङ्ग्रहबाट पढेको पाँचौं कथा थियो, हिरा लामाको “मिटर ब्याज” । कथाकी मुख्य पात्र मैनालाई गाउँको ठालू मिटरब्याजी रत्नदासले श्रीमती नभएको मौका पारेर घरमा साँझ आउनु भनेर बोलाउँछ । ऊ रत्नदासकहाँ त्रसित र सशंकित हुँदै जान्छे । रत्नदासको एक स्पर्शपछि उसलाई विदेशिएर उतै हराएको लोग्ने मुकुन्दको अनि यौन प्यासको याद आउँछ । त्यसकै वशमा परेर रत्नदाससँग यौन सम्बन्ध राखेपछि रत्नदासले स्कूलको पिउनबाट आधारभूत कक्षाकी शिक्षिका बनाइदिन्छ ।

यो कथाले भन्न खोजेको के हो ? मैनाजस्ता लोग्ने विदेशिएका महिलाहरूमा यौनेच्छा हुनु अस्वाभाविक होइन तर आफूलाई नियन्त्रण गर्न सक्दैनन् भन्न खोजेको हो कि ? रत्नदासजस्ता परचक्रीलाई चिन्दैनन् भनेको हो कि ? सेक्सुअल फेवर्स दिएर फाइदा लिन सक्छन् भनेको हो कि ? यौनिक स्वच्छन्दता हुनुपर्छ भन्न खोजेको हो कि ? तर त्यसको परिणाम नि ?

मैनाले पछि प्रतिकार गरी वा मुकुन्दको खबर आयो अथवा स्वयम् गाउँ फर्कियो भने के होला ? धेरै दिन भएकै छैन, एकजनाले वैदेशिक रोजगारीबाट फर्किएको केही दिनमै श्रीमतीलाई मारेको । किन मारेको भन्दा “जसको लागि मैले मेरो जवानी सक्काएँ, त्यसैले धोका दिएपछि म के गरूँ ?” यस्तै लोग्ने विदेश गएका जाने अनि स्वास्नीले मोज गर्ने, सम्पत्ति नै लिएर अर्कासँग जानेजस्ता समाजमा घट्न पुगेका दुष्परिणामको बीजारोपण पो हो कि यो कथा ? प्रष्ट छैन ।

गलत कामको परिणाम पनि सही हुने अहिलेको समाजको यथार्थ देखाउन खोजिएको पो हो कि ? विद्रोह गर्नेभन्दा नगर्नेले फाइदा लिन सक्छन् भनिएको पो हो कि ? समाजमा विद्रोह नभए पनि कथामा त हुन सक्छ नि । के कलममा पनि विद्रोहको कमी हुन थालेको हो ? लेखकहरूमा नै विद्रोही भावना कमी हुन थालेको त होइन ? यी प्रश्न अहिलेसम्म पढेका र उत्कृष्ट भनिएका “मिटर ब्याज” र “असार पन्ध्र” ले मनमा उठाए ।

भोलिपल्ट अफिस जाँदा पढेको कथा “ख्याक” अहिलेसम्म मलाई सबैभन्दा मन परेको कथा हो । शारीरिक रूपले अशक्त जीवन सपनामा भने हातखुट्टा सजिलै चलाउन सक्छ । तर ऊ सपनामा कालो ख्याक बारम्बार देखिरहन्छ । डरको बिम्ब बनेको ख्याकको डरलाई उसकी आमाले हटाउन खोजिरहेकी हुन्छिन् । जुन दिन देखि ऊ ख्याकसँग डराउन छोड्छ ख्याक कालोबाट सेतो हुँदै जान्छ । उसले खोला थुनेर नाङ्गा पाखाहरू हरियाली बनाउने जुन सपना देखेको छ, त्यो पूरा गर्न मिहिनेत गर्न थाल्छ र अन्ततः सफलता हात पार्छ ।

जीवनको सपनाको दृश्यबाट सुरु भएको कथामा घरी सपना घरी विपना देखिन्छ तर अन्त्य सम्म आइपुग्दा सपना र विपनाको बीचमा कुनै अन्तर नै रहँदैन । कथा पढिसक्दा कक्षा १२ मा पढेको ग्याबृयल गार्सिया मार्खेजको भूतीया जहाजको कहानी याद आएको थियो ।

सातौं कथा “म, जल्लाद प्राणनाथ” पनि मन परेको थियो । रबर्ट जोशीले लेखेको कथामा जल्लाद प्राणनाथलाई भारतबाट बाली बोलाइएको छ कसैलाई मृत्युदण्ड दिन । जसलाई मृत्युदण्ड दिइँदैछ, ऊसँग प्राणनाथले बदलाको भावना राखेको छ । यद्यपि कथाको मूल मर्म चैं प्राणनाथ र उसकी छोरी आधीको सम्बन्ध हो । कथामा flashback को प्रयोग राम्रोसँग गरिएको छ र कतैकतै दार्शनिक पनि छ । कथाकारले फाँसी दिने जल्लादका विषयमा राम्रो अध्ययन गरेको पनि देखिन्छ । केही कुराहरू भने अधुरा र अस्पष्ट छन् । जस्तो कि, मृत्युदण्ड दिएको मानिसले कसलाई बचाउन खोजेको हो ? कथाको अन्तिममा आउने अनिशा को हो ? मृत्युदण्ड पाउने केटा र अनिशाले किन आधीलाई किन पवित्र मन भएकी भन्छन् ? यी प्रश्नहरूको जवाफ पाउनको लागि सायद फेरि फेरि पनि यो कथा पढ्नेछु ।

२०८१ को पहिलो दिनको झिसमेसेमा अन्तरपछि रमा सुवेदीको अर्को ‘म’ पढेँ । कथाको सुरुवात रहस्यमय लाग्यो । मूल कथा भने सिमोन द बुभाको “द सेकेन्ड सेक्स” बयान वरिपरि घुमेको छ । कथाकारको वा कथाका पात्रको भन्दा पनि बुभाको विचारले प्राथमिकता पाएको छ । बुक रिभ्यु जस्तो पनि लाग्यो कताकता । महिलालाई घरको काम गर्न कतिको सकस छ, उनीहरू किन बाँधिन्छन् र बन्धनबाट उम्किन के गर्न सक्छन् भन्ने सन्देशको पाटो राम्रो भए तापनि कथामा अरू कसैको नभएर कथाकै पात्रको विचार हावी भएको भए अझै सशक्त हुन्थ्यो कि ?

एक दुई अनुच्छेद टाइप गर्दागर्दै धेरै भइसकेछ । किताब पनि एक तिहाई सकिएछ । अरू कथा र समग्र कथा सङ्ग्रहका बारेमा भन्न बाँकी कुरा थुप्रै रहे । आगामी भागमा गरौंला है त ।

Book Review: Killers of the Flower Moon

The teaser of Martin Scorsese’s “Killers of the Flower Moon” captivated me in an instant. From the comments, I discovered that it is based on the book of the same name by David Grann. This is a review of the book.

The discovery of oil in Oklahoma in the early twentieth century made Osage the richest tribe on the planet. A few decades ago, the tribe had been chased from Kansas to bare land in Oklahoma and had been forced to adopt the ways of the white people. An officer is known to have said, “[American] Indian must conform to the white man’s ways, peacefully if they will, forcibly if they must.” 

Since Osage were hunters and gatherers, they were inept in farming. Also, because of the unproductive land, and the elimination of bison (their major source of food) by the whites, they were dying of famine. When the first oil well was tapped, they were elated. Having seen and experienced the exodus of other American Indian tribes, the Osage had made a deal with the federal government that they be granted headright over any mineral resources discovered in their new land. This gave them the riches. However, the U.S. government did not allow American Indian tribes to use the money on their own. They needed a white guardian. That’s why the Osage elders also believed that wealth was a curse.

In May 1921, the fears of the Osage materialized with the death of Anna Brown. Until 1925, there were 24 Osage murders, all of which had different modus operandi. The investigation of these murders got challenging because of corrupt local sheriffs, attorneys, and others in power. The Osage sought help from the federal government. However, even the federal government did not have an official investigation organization. The agents of the Bureau of Investigation, as it was called then, did not have the right to arrest anyone. In such a situation, Hoover, the BoI chief, sent Tom White for investigation. How Tom arranged a team and solved the mystery of the murders is the central narrative of David Grann’s 2016 non-fiction “Killers of the Flower Moon.”

The book chronicles the history of the Osage, from rags to riches and how their murders brought changes in the then Bureau of Investigation, and to eventual formation of the Federal Bureau of Investigation (FBI). Despite being a real story, at times, the plot sometimes seem to have been picked from a movie. (Or do the movies take some elements from the Osage murders?) It’s scary how racist policies of the white Americans against American Indians along with greed brought hell to indigenous tribes.

Towards the end of the book, Grann mentions that there were some errors in the way the murder cases were solved. Although Tom White and the Bureau of Investigation identified one major schemer, they overlooked several other possible criminals. Some murders still remain unsolved and many others ignored for illnesses. This gives the Osage murders a new perspective and the picture of a bigger problem at that time–systematic oppression.

There was a significant error in the book. Grann writes: 

“The head of Standard Oil warned a former Harding campaign aide, “I understand the Interior Department is just about to close a contract to lease Teapot Dome, and all through the industry it smells….I do feel that you should tell the President that it smells.” 

Because I had finished reading Leonardo Maugeri’s “The Age of Oil” recently, I knew that Standard Oil was dismantled in 1911. However, the Teapot Dome scandal occurred during the presidency of Warren G. Harding from 1921 to 1923. That’s why it is not possible for Standard Oil’s head to warn anybody about the “oil’s smells.”

Another error (?) is in the title. In the first page of the book, Grann refers to the large moon in May as the promoter of larger prairie plants such as the spiderwort and black-eyed Susans. These plants dominate and kill small flowers like Johnny jump-ups and bluets. The title is also a reference to a poem written in 2009 by an Osage poet, Elise Paschen. The poem also refers to the killer-of-the-flowers moon. That’s why the title feels somewhat wrong.

Other than these, I found the book informative and thought-provoking.

पुस्तक समीक्षा : बहत्तर सालको भूकम्प

यूरेसियन र इन्डियन टेक्टोनिक प्लेटहरूको टकराव पछि बनेको हिमालय पर्वतमा अवस्थित नेपाल भूकम्पीय दृष्टिकोणले जोखिममा रहेको क्षेत्र हो । भूकम्पको विषयमा ऐतिहासिक दस्तावेज चाहिं सन् १२५५ देखि भेटिएको छ । त्यस भूकम्पका कारण काठमाडौं उपत्यका (तत्कालीन नेपाल) राजा अभय मल्ल सहित एक तिहाइ जनसंख्याको मृत्यु भएको थियो । हाल सन् १३४४, १५०५, १८३३ का भूकम्पका विषयमा केही जानकारी हात लागेको छ । वि. सं. १९९२ मा मेजर जनरल ब्रह्म शमशेरले लेखेको “नेपालको महाभूकम्प १९९०” त्यस सम्बन्धी महत्त्वपूर्ण पुस्तक हो । उनले नेपालमा सिस्मोग्राफ नभएका कारण वैज्ञानिक अध्ययन हुन नसकेको र त्यस बिहारलाई केन्द्रविन्दु मानिए पनि अरू ठाउँमा हुन सक्ने अनुमान गरेका थिए । पछिल्ला अध्ययनले नेपालको पूर्वी पहाड (सगरमाथाबाट करीब १० कि. मि. दक्षिण) लाई केन्द्रविन्दुका रूपमा स्थापित गरेका छन् । त्यसैगरी वि. सं. २०४५ मा उदयपुर केन्द्रविन्दु बनाई गएको भूकम्पपश्चात् गरिएका उद्दार र पुनर्निर्माणका विषयमा सरकारी दस्तावेजहरू पाउन सकिन्छ । त्यही भूकम्पपछि नेपलमा भवन निर्माण संहिताको समेत निर्माण भएको रहेछ ।

नेपालमा ठूलो भूकम्प जाने र त्यसले जिउधनको धेरै क्षति गर्ने पूर्वानुमानहरू आइरहेकै थिए । खासगरी काठमाडौं पश्चिममा उद्गम हुने महाभूकम्पको सम्भावनाका विषयमा अध्ययन भइरहेकै समयमा २०७२ वैशाख १२ गते बिहान ११ : ५६ मा गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाई ७.६ लोकल म्यागनिट्युड (७.८ मोमेन्ट म्यागनिट्युड) को भूकम्प गयो । भूकम्पका कारण ८,९७० को मृत्यु भयो भने २२,३०२ जना घाइते भए । भूकम्प ठ्याक्कै यही मिति र समयमा जान्छ भन्ने पूर्वानुमान गर्न नसकिने भएकाले यसको पूर्वतयारी गर्दा जुनसुकै समयमा जान सक्छ भनेर तयार रहनुपर्छ । तर तत्कालीन प्रधानमन्त्री सुशील कोइराला विदेशमा भएका कारण देखाउँदै उद्धार कार्यमा केही ढिलाई भयो । कुन संयन्त्रले के गर्ने भन्ने कुरा पहिल्यै व्यवस्थित भएको भए अन्योल हुने थिएन ।

यही भूकम्पको वैज्ञानिक पक्ष, राहत र उद्दार एवम् पुनर्निर्माणका विषयमा लेखिएको पुस्तक हो–“बहत्तर सालको भूकम्प” । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका सदस्य रहिसक्नु भएका प्रा. डा. तारानिधि भट्टराई, प्रा. डा. निमानन्द रिजाल, र डा. किशोर थापाले लेख्नुभएको पुस्तकलाई एक आधिकारिक दस्तावेजका रूपमा लिन सकिन्छ ।

पुस्तकको सुरुका तीन अध्याय भूगर्भ र भूकम्पका विद्यार्थीका लागि उपयोगी छन् । यो खण्ड पढ्दा प्रा. डा. तारानिधि भट्टराईले कक्षामा पढाउनुभएका कुराहरू सम्झँदै उहाँकै बोल्ने शैलीमा पढेँ । विश्वविद्यालयमा अंग्रेजीमा पढेका कुरा नेपालीमा पढ्दा अनौठो लागेपनि अंग्रेजीमा पढ्दा भन्दा अझै प्रष्टसँग बुझियो । विश्वविद्यालयको परीक्षा नेपालीमा हुनुपर्छ भन्ने मेरो विचार झनै दरिलो भयो । भूगर्भ र भूकम्पशास्त्र नपढेका पाठकलाई भने केही समस्या हुन सक्छ । जस्तो कि, प्राइमरी वेभ, सेकेण्डरी वेभ र टाइम सिरिज (पृष्ठ ५४) को बारेमा थाहा नभएका पाठकको सहजताका लागि तिनलाई चिनाउने गरी चित्रहरू राखिएको भए हुन्थ्यो । त्यसैगरी, Modified Mercalli र EMS-98 intensity scale का बारेमा नाम मात्र दिइएको छ । ती तालिकाहरू अनुसूचीमा समेटिएको भए अझै प्रष्ट बुझिन्थ्यो ।

नेपालमा भूकम्पपछि गरिएका उद्धार र राहत एवम् पुनर्निर्माणका विषय पुस्तकमा समेटिएको छ । पुनर्निर्माणका क्रममा आएका समस्या र तिनलाई कसरी समाधान गरियो भन्ने कुराहरू यसमा आएका छन् । तथापि सबै समस्याका समाधान नभइसकेको अवस्था छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएपश्चात् विपद व्यवस्थापन चक्र अन्तर्गत पर्ने विपदअघिको पूर्वानुमान र पूर्वतयारी तथा विपदपछिको उद्धार, राहत र पुनर्निर्माणलाई समेट्ने प्रयास भएको छ । यस सन्दर्भमा “बहत्तर सालको भूकम्प” विषय विज्ञद्वारा लेखिएको विपद व्यवस्थापनसँग सरोकार राख्ने वैज्ञानिक, प्रशासक र तीनै तहका सरकारका प्रतिनिधिहरूले पढ्ने पर्ने किताब हो ।

पुस्तक: बहत्तर सालको भूकम्प

लेखक: प्रा. डा. तारानिधि भट्टराई, प्रा. डा. निमानन्द रिजाल, डा. किशोर थापा

पृष्ठ: ४०६

प्रकाशक: नेपा~लय

Page 2 of 4

Powered by WordPress & Theme by Anders Norén

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.