वृद्ध बाजे आज्ञा गर्नु हुन्छ– हे नाति नातिना हो ! त्यहाँ उप्रान्त नेपालमा लोडसेडिङ्गको चकचकी बढ्न थाल्यो । कस्तो भने- छिनमै आउने अनि छिनमै जाने । त्यो कस्तो थियो भने- कालो, अन्धकारको वस्त्र भिर्ने अनि सबैका घरघरमा एकैचोटि पसेर एकैचोटि निस्कन सक्ने- कुनै दैवी वा अलौकिक शक्तिभन्दा कम थिएन । हिउँद बढ्दै जाँदा मानवगण उसको प्रतिक्षामा बसेका देखिन्थे । कोही बच्चाबच्ची भन्थे- “लोडसेडिङ्ग आएपछि होमवर्क गरौँला, अलिबेर टिभी हेर्छौँ ।” केही तरुण जोडीका लागि ऊ वरदान भएको थियो । काम गर्नाका अल्छीले पनि चैनको सास फेर्दै भन्थे- “वाह ! लोडसेडिङ्ग आएपछि क्या मजासँग सुत्न पाइन्छ । सुत्न छाडेर को काम गरोस्, आ ऽऽऽ!”

वृद्ध बाजे आज्ञा गर्नुहुन्छ- “हे नाति नातिना हो ! अब के सुन्ने इच्छा छ ? सो मलाई बताओ ।” तब उम्रिँदैमा तीनपाते फुच्चे नातिले हात जोड्दै बिन्ती गरे- “हे बाजे ! लोडसेडिङ्गले कस्ता समस्या ल्यायो अनि समाधानका प्रयास कस्ता थिए ? सो विषयमा कहनुहोस् ।” तब वृद्ध बाजे आज्ञा गर्नुहुन्छ- लोडसेडिङ्गले सानादेखि ठूलासम्म सबैलाई दुःख दिएको भए तापनि प्रायः कोही चिन्तित देखिदैनथे । लोडसेडिङ्गलाई दिनचर्यामा ढाल्न खप्पिस भइसकेका थिए उनीहरू । तैपनि लोडसेडिङ्ग कस्तो समयमा आउँथ्यो भने- कोही टिभीमा फिलिम र सिरियल हेरिरहेका, कोही कम्प्युटरमा च्याट गरिरहेका, कोही राइस कुकरमा भात पकाइरहेका, कोही अँध्यारा पाइखानामा र कोही सिँढीमा चढिरहेका- यस्ता समयमा ऊ आउँथ्यो । अझ कोही अर्जेन्ट काम गरिरहेका अनि उद्योग धन्दामा व्यस्त भइरहँदा समेत त्यो आउँथ्यो । लोडसेडिङ्गको कारण कसैको सिरियल छुटेको थियो भने कसैको खाना बिग्रेको थियो । च्याट गर्दागर्दै ऊ अचानक आउँदा कतिको सम्बन्ध पनि टुटेको थियो ।

यस्तै रीतले दिव्य दुई सय वर्ष * बिते । हिउँदमा लोडसेडिङ्ग नआओस् भनेर कलाकारहरू, साहित्यकारहरू व्यङ्ग्य गर्न थाले । ठाउँठाउँमा इन्जिनियर र उद्योगीहरू सभा बस्न थाले । लोडसेडिङ्ग हटाउन मद्दत गर्नुपर्यो भनेर नेताहरूलाई पनि गुहारे तर सहयोग नपाएपछि बिजुली देव हो कि देवीलाई भेट्न भनी कुलेखानीको हाइड्रोपावर ‘प्लान्टमा’ पुगे । त्यहाँ बिजुली देव (कि देवी ?) लाई भेट्न नसकी त्रिशुली, कालीगण्डकीजस्ता ठूला जलविद्युत् परियोजनामा समेत उहाँको उपस्थिति नगण्य भएर गफ गर्न नपाएपछि अचम्म मान्दै गुगलमार्फत ध्यानदृष्टिले हेर्दा एउटा लघु जलविद्युत् आयोजनामा हुनुहुन्छ भन्ने थाहा पाएर त्यतै गए ।

बल्लतल्ल बिजुली देव (कि देवी ?) को दर्शन पाएका थिए- उहाँ त तारमा पो दौडदै हनुहुँदो रहेछ । ती विद्वानवर्गले स्तुति गाउँदै भने- हे बिजुली देव वा देवी, जे भएपनि ! हाम्रो पुकार सुनेर हाम्रो सङ्कट निवारण गरिदिनुहोस् । हे देव (वा देवी ?) ! हजुर कस्ता भने- उज्यालोमा रही उज्यालोमै रम्ने, यस्ता हजुरलाई कोटिकोटि नमस्कार छ ! अन्धकारको साथी लोडसेडिङ्गलाई तह लगाउन सक्ने यस्ता हजुरलाई कोटिकोटि नमस्कार ! भक्तजनमाथि आशिष् दिएर कहिले खाना पकाउन त कहिले अर्काकी छोरी फकाउन मद्दत गर्ने यस्ता हजुरलाई कोटिकोटि नमस्कार ! हे भक्तवत्सल, हे निरञ्जन, निराकार ! हजुरको शक्ति असीमित छ । एकै ठाउँबाट तारमार्फत घरघरमा दौडन सक्ने हजुरलाई कोटिकोटि नमस्कार छ ! लोडसेढिङ्गको प्रहारले पटकपटक मृत्यु वरण गरेपनि अमर भइरहेका यस्ता हजुरलाई कोटिकोटि नमस्कार छ । ठूलाठूला घरमा चौबिसै घण्टा आएर तिनकै घर छेउका सोझा सिधा नेपालीका घरमा पाहुना बनेर झुल्कने यस्ता हजुरलाई कोटिकोटि नमस्कार ! हजुरको महिमाको वर्णन गर्न हजार जिब्रा भएका शेषनाग (विचरा, उनको त मान्छेको जस्तो बोली नै छैन, के गरून् !) र सरस्वती (तिनले कुन देउताको महिमा पूर्ण रूपले गरेकी छन् र हजुरको गरून् !) ले पनि नसकेका, हामी तुच्छ (नागभन्दा पनि ?) मनुष्यले कसरी सकौँला ? त्यसैले हाम्रो प्रार्थना सुनी कृपा गर्नुहोस्, प्रभु (कि माता जेसुकै होस्) !

विद्वानवर्गका यस्ता सुमधुर वचनले प्रशन्न भई बिजुली देव (कि देवी?) एकछिन वेग अलि कम गरेर भन्नुहुन्छ- हे नेपाली कलाकार, साहित्यकार, इन्जिनियर र उद्योगी हो ! तिमीहरूको प्रार्थनादेखि म खुसी भएँ तर अहिले नै लोडसेडिङ्गलाई हराउने तागत मसँग छैन । खास गरी अन्धकार बाले उसलाई आफ्नै सन्तान सरह रेखदेख गरेकाले पनि म भन्दा लोडसेडिङ्ग हृष्टपुष्ट छ । अन्धकार बाको यस्तो कामको विरोध पनि त म गर्न सक्दिनँ । (बिचरा बिजुली देव हो कि देवी हो!- नाति) फेरि लोडसेडिङ्ग म भन्दा धीर भएको छ । कतिसम्म भने- लगातार आठ दश घण्टा पनि एकै ठाउँ बस्न सक्ने । म चाहिँ चञ्चल हुनाले कहिले यता कहिले उता गरिरहन्छु । मेरा कुरालाई अन्यथा नलेओ भक्तजन ! तर अहिलेको मेरो अवस्था लोडसेडिङ्गलाई परास्त गर्न सक्षम छैन ।”

तब बाजेकी फुच्ची तर छुच्ची नातिनी बिन्ती गर्छिन्- “हे बाजे ! त्यसो भए उहाँ चिरकालका लागि शक्तिहीन रहनुहुन्छ ? के उहाँ आउनुहुन्न ?” नातिनीका प्रश्न सुनी बाजे भन्नुहुन्छ- बिजुलीले त्यही बेला ती विद्वानवर्ग सँग आउन त मान्नुभएन तर एउटा उपाय सुझाउनु भयो- “म अहिले सानो परियोजनामा मज्जाले कुदेको छु । अरू यस्तै ठाउँमा म हरपल दौडेको छु । ठूला परियोजनामा कहिलेकाहीँ कुद्दा भन्दा धेरै खुसी यहाँ छ । त्यसैले हे भक्तजन ! लघु जलविद्युतमा हात बढाओ, वैकल्पिक ऊर्जाको खोजी गर, गाउँशहरमा तिनलाई पुर्याओ । ठूला आयोजना राष्ट्रिय हित अनुसार सम्पन्न गराओ; कसैको स्वार्थका लागि तिनलाई बन्द नगर । विद्युत प्राधिकरणका भ्रष्ट कर्मचारीलाई डाँडामात्र होइन, देशै कटाओ । यति गर्नसके लोडसेडिङ्ग पराजित भइजाला ।”

यति भनीसकी उहाँ तारमार्फत वेगसँग गाउँका घरघरमा पुग्नुभयो । विद्वानवर्गले वाल्ल परेर एकछिन त्यो दृश्य हेर्दै उहाँको वाणी मनन गरी आआफ्ना आश्रममा फिर्दा भए ।

।।इति श्री नेपाल पुराणे हिउँद खण्डे विद्युत माहात्म्ये बाजे नातिनातिना संवादे श्री लोडसेडिङ्ग बढ्त कथायं बिजुली प्रार्थना वर्णनं नाम सङ्कटोध्याय ।।


* दिव्य दुई सय वर्ष = बीस वर्ष

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.