उहिले राजा-राणाहरू बग्गीमा हुइँकिँदै कतै गए भने सडकको दायाँ-बायाँ उभिएर मानिसहरू स्वागत गर्थे रे ।त्यस्तो सवारीमा हिँडिरहेका बटुवालाई उभिनु पर्ने बाध्यता हुँदैनथ्यो रे । स्वतस्फूर्त उनीहरू राजा-राणाको दर्शन गर्थे रे, आफूलाई भाग्यमानी ठान्थे रे । चाकरी गर्ने राम्रो मौका पनि त्यही हुँन्थ्यो रे । केही गरी तिनको नजरमा परियो भने त सन्तानको पनि जीवन उकासिन्थ्यो । चाकरी गरेर ठूलाबडा भएका मानिसका सन्तान अहिले पनि क्या ठाँटसँग हिँड्छन् ! भलै देशमा राणा मात्रै होइन, राजाको पनि शासन छैन ।

तर सवारीको परम्परा अहिले पनि ज्यूँदै छ । भन्नुहोला, “न राणा छन्, न राजा, न त बग्गी; सवारीको परम्परा कसरी चल्छ ?” म भन्छु- समय फेरिएको छ नि त ! बग्गीको ठाउँमा चिल्ला कार छन् । अनि राजा-राणाका ठाउँमा जनताका प्रतिनिधि । यस्तो फेरिएको समयमा पनि सवारीको चलन चलिरहेको छ । किनकी सवारी हाम्रो इतिहास हो, हाम्रो संस्कृति हो ।

“इतिहासमा भएका कतिपय विषय मेटिन्छ, परिवर्तन गरिन्छ । राजारानीका नाम भएका स्कुल, कलेज, युनिभर्सिटी, बाटाघाटा लगभग सबै फेरिए ।” फेरि भन्नुहोला, “संस्कृति पनि त परिवर्तन हुन्छ । हाम्रो देशको मौलिक गीत-सङ्गीत, नाच-गान, पहिरन र खानामा पनि त पश्चिमा प्रभाव परिसकेको छ । सवारीको चलन किन परिवर्तन किन नगर्ने ?”

म फेरि पनि भन्छु- सवारीजस्तो विशिष्ट संस्कार पनि छोड्ने चिज हो त ? सवारी त हाम्रो एकमात्र साँस्कृतिक धरोहर हो । भुइँचालोले गर्दा हाम्रो देशमा चारवटा धरहरा ढले । हज्जारौं मन्दिर भत्किए । पश्चिमा धर्मसंस्कृतिले हाम्रा संस्कार बदले तर सवारीको चलन हटाउन सकेनन् । सक्ने छैनन् पनि । किनकी सवारी र त्योसँग गाँसिएको चाकरी हाम्रो जीनमा छ ।

भन्नुहोला, “मेरो जीन त शुद्ध छ । चाकरीको नाम निशान छैन । त्यसैले म सवारीको विरोध गर्छु ।” म सम्झाउँछु- त्यस्ता कुराहरू घरभित्र मात्रै गर्नू । भन्नुहुन्छ, “किन ?” म केही बोल्दिन । बाटोतिर हेर्न इशारा गर्छु । बाटो अचानक सुनसान भएको छ । एउटा पनि गाडी छैनन् । डराउनु होला कसैले बन्द गर्‍यो कि भनेर । म पुलिसतिर इशारा गर्छु । कसैलाई अभद्र पाराले बाटोमा साइकल नचलाउन आदेश दिँदै छन् । अर्का प्रहरी अलि परको आकाशे पुलमा नचढ्नु भन्दैछन् । अनि अर्का चाहिँ बटुवालाई फुटपाथमा उभिन लाउँदैछन् ।

केही बेरमा साइरन बालेको एउटा मोटरसाइकल देखापर्छ । अनि आउँछन्, सुरक्षाकर्मीका गाडी, झण्डा फर्फराएको सरकारी गाडी अनि फेरि पुलिस गाडी । हामी नतमस्तक भएर हेर्छौँ । सोच्नुहुन्छ, “जनताका राष्ट्रपति-प्रधानमन्त्री राजा-राणा जसरी हिँड्न थाले ।” म सोच्छु- हाम्रा सन्त्तानले भन्लान्, “हाम्रा बाउबाजे स्वतस्फूर्त गणतन्त्रका मूर्तिको सवारीलाई स्वागत गर्थे ।”

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.