“एसियाको सबभन्दा गरीब देशको नागरिक भएकोमा बधाई छ !” फेसबुकमा देखियो । केही छिन पछि अर्को पोस्टमा भेटिएको थियो, “International Monetary Fund (IMF) ले सार्वजनिक गरेको प्रतिवेदनले नेपाललाई एसियाकै सबैभन्दा गरीब देश भनेको छ ।” IMF ले २०२३ अक्टोबरको “World Economic Outlook” निकालेको छ भन्ने कुरा गूगल सर्चबाट थाहा भयो । प्रतिवेदन सर्सर्ती हेर्दा त्यस्तो लेखिएको कतै भेटिन्न ! “Find” tool प्रयोग गरेर poor keyword खोज्दा पनि सिधै कुनै देशलाई धनी भनेकै छैन ! अलमल्ल परें । ५-६ घण्टापछि ट्विटर (सरी, X) मा FACTS ले राखेको एउटा ग्राफ भेटेँ । त्यसमा हरेक महादेशका सबभन्दा गरीब देशहरू थिए । स्रोत थियो अप्रिलको World Economic Outlook । त्यसमा पनि खोजें । खोजेको कुरा पाइनँ । फेरि गूगलमा खोज्दा चाहिँ एउटा लिङ्क भेटियो । Global Finance Magazine को त्यो पेजमा FACTS ले राखेका देशहरूको सूची थियो । त्यस पत्रिकाले IMF कै अप्रिलको प्रतिवेदनको आधारमा गरीब देशहरूको सूची तयार गरेको रहेछ । यमन र अफगनिस्तान जस्ता युद्धपीडित देशहरूलाई नराख्दा नेपाल एसियाको सबैभन्दा गरीबमध्येकै देश रहेछ । (IMF को interactive page यता हेर्नुहोला ।) हुन त गरीबीको मापन गर्न प्रयोग गरिएका index हरूमा केही समस्या छन् भनेर IMF ले नै भनेको छ तर हामी धनले त गरीब भयौँ नै, सोचले समेत दरिद्र छौँ । यसमा कुनै शङ्का नगरे हुन्छ !

यति हुँदा पनि हाम्रा शासक, प्रशासक, कर्मचारी र अलिकति पनि शक्ति हुने जोसुकैलाई भने लज्जाबोध छैन । यी र केही “जान्नेसुन्ने” मानिसहरूको तर्क कस्तो हुन्छ भने, “राजाको शासनमा कहाँ अहिले जस्तो थियो ? अहिले त्यो बेला भन्दा धेरै राम्रो छ ! जनताले बोल्न पाएका छन् ! राजाको पालामा राजदरबार नजिकका मान्छेसँग मात्रै धन थियो । अहिले जोसुकैलाई कमाउने मौका छ । त्यसैले, पहिलेभन्दा धनी छन् त जनता !”

समयको क्रमसँगै आफैं हुने परिवर्तनमै रमाउने यी वर्ग देशमा कुनै समस्या नै देख्दैनन् । समस्या नदेखे पछि समाधान गर्नै परेन ! समस्या किन देखिँदैन भने यिनको आँखामा पट्टी बाँधिएको छ–सत्ता, शक्ति र सम्पत्तिको । सत्ता, शक्ति र सम्पत्ति आर्जन मात्रै उद्देश्य भएपछि मानिस भ्रष्ट बन्छ । धर्म र कर्तव्य के हो भन्ने बिर्सिएका यिनीहरूले सहीलाई झुठ र गलतलाई सही बनाइदिन्छन् । असल मानिसहरूलाई यिनीहरू आफ्नो वशमा पार्न खोज्छन् ताकि आफूजस्तै बनाउन सकियोस् । अरूलाई दोषी देख्ने यिनका आँखाले आफूलाई भने असल देखाउन खोज्छन् । यसरी अधर्म फैलिन्छ हरेकको मनमा । मेरो देश यस्तै अधर्मीले भरिएको रहेछ । ज्ञान, विज्ञान र धर्म लत्याउने गतिछाडा दलालहरूले भरिएको देश गरीब नभए के हुन्छ ?

ए शासक, प्रशासक, कर्मचारी, व्यापारी र थोरै मात्रै पनि शक्ति पाउने वित्तिकै मैमत्त हुनेहरू ! तिमीहरूको धर्म के हो ? देशमा बनेका कानून, नीति, नियमलाई सत्कर्मका साथ पालना गरेर जनकल्याण गर्नु हैन ? देशको हित हुँदा तिमीहरूको हित हुने हैन ? सत्ता, शक्ति र सम्पत्तिको लागि जे पनि गर्ने ? अनेक सुविधा लिने अनि कसैको स्वार्थ पूरा गर्न घुस, गिफ्ट, दान लिने ? कानूनको धज्जी उडाउने अनि हास्दै हिँडने ? लाज पचाएर अझै एक अर्कालाई गाली गरेर आम जनतालाई भ्रमित पार्ने ? अनि मिलेमतो गर्न पायो भने चै जे पनि गर्ने ?

तिमीहरूले आफ्नो आत्मा त बेच्यौ नै, मान्छे पनि बेच्छौ । तिमीहरू यति मूर्ख छौ कि तिमीहरूलाई लाग्छ आफ्ना आफन्तहरू तिमीले बेचेका छैनौ । तर तिमीहरूका सन्तानहरू अहिले कहाँ छन् ? के गर्दैछन् ? तिमीहरूका साथमा छन् ? साथमा भएकाहरू कुन स्वार्थका लागि बसेका छन् ? मनैदेखि कर्तव्य वुझेर स्याहार सुसार गर्छन् ? तिमीहरूका कुरा मान्छन् ? यहाँ करोडौंको धनसम्पत्ति भए पनि तिमीहरूका सन्तान किन विदेशमा दुःख गर्न खोज्छन् ? सोचेका छौ कहिले ? सोच्ने भए गति किन छाड्थ्यौ होला र ?

ल सुन ! तिमीहरूका सन्तान तिमीसँग छैनन् किनकी उनीहरूलाई (प्रत्यक्ष नभए उनीहरूको ब्रह्मलाई थाहा छ) त्यो धन सत्यको हैन । तिमीहरू ज्ञानलाई दुत्कार्छौ, तिमीहरूका सन्तान अनैतिक बन्दै जान्छन् । तिमी विज्ञानको उपहास गर्छौ, तिमीहरूका सन्तानले यहाँ अवसर गुमाउँछन् । तिमीहरू अधर्म गर्छौ, तिमीहरूका सन्तान टाढिँदै जान्छन् । तिमीहरू दुष्कर्म गर्छौ अनि परिणाम राम्रो हुन्छ ? वर्षौं “मिहिनेत” गरेर कमाएको तिमीहरूका घरमा तिमीहरू किन एक्ला छौ ? तिम्रै कुकर्मको फल हैन ? एउटा पुस्ताले गरेको कुकर्मले आउने सन्तानहरूलाई कतिसम्म पिर्छ भन्ने त थाहा छ त तिमीहरूलाई ! महाभारत बिर्स्यौ ?

हुन त तिमीहरू महाभारत (र अरू शास्त्र) लाई फगत कहानी मान्छौ । त्यहाँ भएका सत्कर्मका उपदेश तिमीहरूलाई विष लाग्छ । तर मस्तिष्कको कुनामा कतै स्वविवेक भएको भए तिमी देख्थ्यौ कसरी इन्द्रीयलाई वशमा राख्न नसकेका शान्तनुले गर्दा उनका राजा हुन योग्य छाेरा राजा बन्न पाएनन् । राजगद्दीप्रति सधैँ वफादार हुन खोज्दा भीष्म, द्रोण र कृपाचार्यले अधर्मका विरुद्ध बोल्न सकेनन् । विभिन्न पात्रका कुकर्म, द्वेष र महत्त्वाकांक्षाले भएको युद्धमा शान्तनुका सन्तान मात्रै नासिएनन्, लगभग पूरै भारतवर्षको विनाश भयो । तिमीहरू पनि एउटा सभ्यता विनाश गर्दैछौ । तिमीहरूले नपाएर मात्रै हो, पाउने भए यो देश उहिल्यै बेचिसक्थ्यौ । र त बेलाबेला भन्छौ, “नेपाल भारत, चीन, वा अरू कुनै देशमा विलय भएको भए नि हुन्थ्यो !” कुलाङ्घारहरू !

दशैंकाे बेला छ । वर्षभरिको “दुःखकाे फल” भित्र्याउने समय यही हो भन्दै सेवाग्राहीसँग खुल्लम खुल्ला रकम माग्ने सरकारी कर्मचारीदेखि दशैंका नाममा बढी पैसा उठाउने पसले, होटेल र गाडी साहुहरू सबै चोर हौ । तैपनि नैतिकता नभएका तिमीहरू खुब मजाले आशीर्वाद दिन्छौ सन्तानलाई, “ज्ञानी हुनू, ठूलो मान्छे हुनू, सबैले मान्ने हुनू !” अनि तिम्रा कर्म चै के हो ? छोराछोरीका आँखामा हेरेर आदर्शका गफ गर्न कसरी सक्छौ ? कति सम्म चैं किच्चक हौ ?

तिमीहरूलाई यहाँ कसले मान्छ ? तिमीहरूमा न ज्ञान छ न विज्ञान मान्छौ न त धर्म । जो तिमीहरूलाई नमस्ते गर्दै आउँछ नि, तिमीहरूलाई सम्मान गर्न हैन, कि त तिमीहरूबाट काम लिन आउँछ कि त बाध्यताले । जसको मुखमा एउटा अनि मनमा अर्को कुरा हुन्छ, त्यस्तो मानिसको सङ्गत गर्नु तरबारको धारमा हिँड्नु बराबर हो भनेर शास्त्रले पनि भन्छ । तिमीहरूको सङ्गत गर्यो भने साधु पनि कि त चोर बन्छ कि त शुलीमा चढ्छ ।

हुन त तिमीहरू बेलगाम घोडा हौ । तिमीहरूलाई शास्त्र व्यर्थ लाग्छ, अर्ती गाली लाग्छ, कानून, विधि र विज्ञान बोझ लाग्छ तर तिमीहरूका सन्तान त तिमीहरूलाई आफ्नै लाग्छ नि हैन ? मरेर जाँदा तिमीहरूले लाने केही हैन, सबै कुरा छोडरै जान्छौ । सुकर्म छाड्यौ भने तिम्रा सन्तान पनि खुशी हुन्छन् तर कुकर्मले तिनलाई पनि सुख दिँदैन । कमसेकम तिनका लागि त केही सत्कर्म गर !

धनभन्दा माथि देश हो अनि देशभन्दा माथि धर्म ! यति बुझ्ने यहाँ कोही देख्दिन । देश राजनीतिले खत्तम भएको हैन, कुनीति र कुनियतले हो । राजनीति भनेको त राजा (इन्द्रीय र लोकभन्दा माथि हुने) को नीति अनि नीतिको राजा हो । नीतिको जग नैतिकतामा हुन्छ जुन हामी नेपालीमा छँदै छैन । उज्वल थापाले भनेझैं एकले अर्कोलाई पाएसम्म लुट्न तयार छौं हामी । यो लुटको चक्रव्यूह तोड्न सक्ने अर्जुनलाई यहाँ युद्धभूमिबाट लखेटिन्छ । केही गरौँ भन्ने अभिमन्युजस्ता जोशिला तर अनुभव कम भएका युवाहरूलाई चक्रव्यूहमा फसाएर मारिन्छ । शकुनि र दुर्योधनको राज छ यहाँ । भीष्म र द्रोणहरू लाचार भई दुष्टहरूको साथ दिइरहेका छन् । यो सब देखेर दिक्क भएका मानिसहरू देश छोडिरहेका छन् । म तिमीहरूका सब कर्तुत निराश भएर हेर्दै भन्दै छु, “यो देश उँभो लाग्ने छाँट छैन ।”

र, यति निराश म कहिले पनि भएको थिइनँ ।

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.