Experiences of a common man!

Tag: नेपाली Page 1 of 5

जेन जी आन्दोलन र यसले ल्याएका प्रश्नहरू

जेन जी आन्दोलनपछि यी कुराहरू अघिल्लो हप्ता एउटा मेलमा पठाएको थिएँ । ती कुराहरू र थपिएका कुराहरू (तारा चिन्ह (*) पछाडी) सहित यो तयार गरेको छु ।

१. सेप्टेम्बर ८ मा संसद भवन अगाडि प्रदर्शन गर्ने भन्ने कुरा सुरुमा आएको थियो । पछि निषेधित क्षेत्र हो भनेपछि माइतीघरमा सारे । तर त्यहाँबाट संसद भवनतिर कसले लग्यो ? शङ्कास्पद छ ।

२. संसद भवनमा प्रहरीले सजिलै छिर्न दियो । चैत १५ मा जसरी दुर्गा प्रसाईंलाई जोगाए, त्यसै गरि संसद भवनको वालमाथी चढ्नेलाई जोगाइएको छ । सुरुमा पुलिस डराएको जस्तो देखिन्छ तर एक हुल छिरेपछि फाएरिङ गरेर टाउको र छातिमा ताकेर गोली हानेर बच्चाहरूको समेत हत्या गरे । संसद भवन छिर्नेहरूलाई समाएर हिरासतमा राख्न सकिन्थ्यो होला, नरसंहार किन गरे ?

३. त्यस दिन र रात प्रहरीले जुन रबैया देखाए त्यसले जनतामा पीडा र आक्रोश थप्यो । प्रहरी भनेको हत्यारा हो भन्ने अवस्था हुन किन दिइयो ?

४. त्यस रात प्रधानमन्त्री र सञ्चारमन्त्रीले जे भने, त्यसले झनै आक्रोश बढायो । प्रधानमन्त्रीले राजीनामा दिएको भए वा कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको भए आक्रोश अलि कम हुन्थ्यो कि ? तर राजीनामा दिएपछि सत्तामा प्रचण्ड आउने थिए । तीनजानाको म्युजिकल चेयरले वाक्क भएका हामीहरूको आक्रोश कम हुन्थ्यो जस्तो चैं लाग्दैन ।

५. भोलिपल्ट नेताहरूका घर टार्गेट गरेर आक्रमण गरेको हेर्दा खुशी लागेको थियो । यिनीहरूले अत्याचार त गरेकै हुन् । तर स्थिति नियन्त्रण बाहिर जान्छ कि भन्ने डर पनि लागेरहेको थियो ।

६. ओलीको राजीनामापछि अलि शान्त हुन्छ कि भनेको त झन् उग्र पो भयो । संसद भवनमा आगो लगाए, सिंहदरबार जलाए, सर्वोच्च अदालत जलाए, अदुअआ लगायत संवैधानिक आयोग र संघीय, प्रदेश, र स्थानीय तहाका सयौं भवनमा आगो लगाए, तोड्फोड गरे । तर यत्रो आगजनी र तोड्फोड हुँदा त्यहीँ सुरक्षाका लागि खटिने सेनाले किन रोकेन ? सेनाले आन्दोलनकारीलाई गोली हान्नुपरेको भए झनै विकराल स्थिति आउन सक्थ्यो भन्ने सुनेँ तर मलाई चित्त बुझेकै छैन । सेनाले सर्लक्कै छोडिदियो । बन्दुक मात्रै तेर्स्याएको भए पनि रोक्न सक्थ्यो कि जस्तो लाग्छ ।

७. यी घटनामा केही पार्टी, एन्जियो र नेताहरूका क्रियाकलाप एकदमै शङ्कास्पद छ :
क) जेन जीका नाममा दर्जनौं समूह सुरुको दिनमै देखिए । तर प्रायः सबैले यो सामूहिक नेतृत्व हो भनेका छन् । अर्थात्, स्पष्ट नेतृत्व र दिशा थिएन ।

ख) बालेनका गतिविधिहरू शङ्कास्पद छ्न् । युवाहरूलाई जानुस् हामी पछि छौँ भन्ने तर उनीहरूसँग प्रत्यक्ष संवाद नगर्ने उनले संसद विघटन, प्रधानसेनापतिसँग वार्ताजस्ता एजेन्डा सेट गरे फेसबुक पोस्ट मार्फत् मात्रै । उनलाई भोट दिएर जिताउने र धेरै काममा समर्थन गरेँ तर he is still a mysterious character. (*बालेन शहीदहरूको अन्त्येष्टिमा नगएपछि विरोधको स्वर बढेको छ । उनलाई पनि अब सहज हुनेछैन ।)

ग) रास्वपा र यसका नेताहरूका गतिविधि पनि एकदमै शंकास्पद छन् । सुरुमा गणेश कार्कीले यो आन्दोलन जेन जीको हो अरूहरू सहभागी नहुनुहोला भने । भोलिपल्ट उनी युट्युब मिडिया, फेसबुकतिर देखिए । किन गएको भन्दा जेनजीका काका पुस्ता पनि जानुपर्छ भन्न थाले । पार्टीको सहभागिता नहुने भनेर पार्टी र रविले पनि विज्ञप्ति निकालेका थिए तर व्यक्तिगत रूपमा गएको भन्नेहरू पनि थिए । २४ गते रवि लामिछाने फर्जी कागजात देखाएर निस्किए । चलानी नं. नभएको, हातले मिति सच्याएको, गतिलो लेटरहेड नभएको चिठीको आधारमा छुट्नु गलत थियो जस्तो लाग्छ । यो विषयमा तपाईंले अझै राम्ररी बुझाउन सक्नुहुन्छ जस्तो लाग्छ ।

घ) रास्वपाका सांसदहरू कहिले संसदको औचित्य रहेन भनेर राजीनामा दिन्छन्, कहिले संसद नै चाहिन्छ भन्छन् ।

ङ) माओवादीको संलग्नता तोड्फोडमा हुन सक्ने सम्भावना पनि देखिएको छ । राप्रपाका कार्यकर्ता पनि देखिएका छन् । लगभग सबै पार्टीहरूले नै अराजकता फैलाएको देखिन्छ ।

च) हामी नेपाल भन्ने संस्थाले सुरु गरेको डिस्कर्ड सर्भरमा पहिले को नेता हो भन्ने खुलाएको थिएन । तर पछि सुदन गुरुङको नाम अघि आयो । उनीहरू २३ गते पनि संस्थाको नाम भएको ज्याकेट लगाएरौ गएका थिए । अनि जेन जी भन्ने उमेर समूहभन्दा बुढै देखिन्छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूसँग यो संस्थाको राम्रै कनेक्सन रैछ । हिजो बिहान एजेन्डा सेट गर्न पनि passive aggressive रूपमा लागेका थिए ।

च) हामी नेपालबाहेक अरू समूहहरू पनि छ्न् । तिनको नेतृत्वहरूको बारेमा पनि खासै थाहा छैन । Anonymous revolution V for Vendetta जस्तो फिल्महरूमा त राम्रै लाग्दो रैछ तर भोग्न अफ्ट्यारो ।

८. प्रधानसेनापतिसँग छलफल गर्नुपर्ने हुन सक्छ भनेर बालेनले भनेपछि साँझ प्रधानसेनापतिले सम्बोधन गरे । राष्ट्रपति हुँदाहुँदै प्रधानसेनापति बोल्न मिल्ने हो र ? अनि प्रधानसेनापतिले बोलेपछि सैनिक शासन सुरु भएको भन्न मिल्ला कि नमिल्ला । अन्तरिम नै भए पनि सैनिक शासन चलिरहेको छ । सिधै सैनिक शासन भन्दा पनि अन्तर्राष्ट्रिय शक्तिहरू आउलान् जस्तो लागेको छ । तर सेनामाथि पनि पूरै विश्वास गर्ने अवस्था छैन । तपाईंको पोस्टले पनि त्यस्तै सङ्केत गरेको छ ।

९. संविधानले संसद र दल नभएको अवस्था परिकल्पना नगरेकोले संवैधानिक रिक्तता देखिएको छ । निकास भनेको कि त संविधान संशोधन कि त संविधान खारेजी होला जस्तो लाग्छ । युवा पुस्ताले मात्रै यस्तो निर्णय गर्नु एकदमै घातक हुन सक्छ । काङ्ग्रेस र एमालेका नेताहरू छँदै छन् । ग्रासरुटमा पनि उनीहरूको पकड छँदै छ अहिले अलि खुम्चिएका भए पनि । यस्तोमा अर्को द्वन्द्व निस्किने सम्भावना देख्छु ।

*१०. भदौ २८ को साँझ पूर्व प्रधानन्यायाधीस सुशीला कार्कीलई प्रधानमन्त्रीको सिफारिस र सम्मतिमा राष्ट्रपतिद्वारा प्रधानमन्त्री नियुक्त गरियो । आवश्यकताको सिद्धानत भन्दै यो संविधान र संविधानवाद विपरीत कामलई राजनीतिक वैधता दिइयो । यसले भविस्यमा थप जटिलता ल्याउने सम्भावना धेरै छ । स्वतन्त्र तिब्बत अभियान पार्टनर रहेको हामी नेपालको संलग्नता, दलाई लामाको शुभकामना सन्देश जस्ता कुराहरूले भूराजनीतिक जटिलता बढाउने निश्चित छ ।

*११. आन्दोलनकारीका प्रतिनिधिहरूले राष्ट्रपतिसँग कुनै लिखित सम्झौता गरेनन् तर अहिले गर्न खोज्दैछन् । त्यसमा सम्झौतालाई संविधानलाई माथि राख्ने कुरा थियो तर पछि सामाजिक सञ्जालबाट हटाए । द्वन्द्व अझै बढ्ने सम्भावना देखिन्छ ।

*१२. पारदर्शिता र जवाफदेहिता मागेर गरिएको आन्दोलनका सम्झौताहरू बन्द कोठामा भइरहेका छन् । किन ? बुझ्न सकेको छैन ।

मनमा आएका धेरै कुरा लेखेँ । अझै पनि केही कुरा बाँकी नै छ्न् कि जस्तो भइरहेको छ । डर र संशयहरू छन् । कसैलाई विश्वास गर्न नसक्ने कस्तो व्यवस्था, समाज, अनि राजनीती बनेको रैछ भनेर चिन्ता लागेको छ । यस्तो अवस्थामा भविस्य कस्तो होला भन्ने चिन्ता पनि छ । आततायी शासकको हठ र विभिन्न तत्त्वहरूको खेलले कस्तो भयावह परिणाम ल्याउने रैछ भनेर पीर पनि परेको छ ।

Deep Vein Thrombosis (DVT)

धमनी फुटेर रगत जम्ने अनि खुट्टा सुन्निने समस्याः डीप भेन थ्रोम्बोसिस (DVT)

सावधान: यो व्यक्तिगत/पारिवारिक अनुभवहरूमा आधारित ब्लग हो र पाठकहरूलाई डीप भेन थ्रोम्बोसिस (DVT) बारे सचेत गराउनको लागि मात्र हो। यसमा चिकित्सा सल्लाह वा प्रेस्क्रिप्शन समावेश छैन।

के तपाईंले कहिल्यै आफ्नो खुट्टामा अस्पष्ट सुन्निने, दुख्ने, वा भारीपन अनुभव गर्नुभएको छ जुन ठीक हुन मान्दैन ?

हामी सामान्यतः यस्ता समस्यालाई थकान वा बाउँडेको होला भनेर बेवास्ता गर्छौं। यद्यपि, हामी सावधान हुनुपर्छ किनकि यो गम्भीर कुराको संकेत हुन सक्छ । जस्तै, डीप भेन थ्रोम्बोसिस (DVT) ।

यसको बारेमा कुरा गरौँ ।

DVT को बारेमा कसरी थाहा पायौँ ?

सोनुको दुखेको र सुन्निएको खुट्टा

साउन १९, सोमबार । मेरी श्रीमती सोनुले दिउँसो ४ बजेतिर मलाई भिडियो कल गरिन्, रुँदै देब्रे खुट्टामा पोल्यो र सुन्नियो भनिन् । हाम्रो सानो छोराको जन्म भएको लगभग चार हप्ता भइसकेको थियो र उनी छोरालाई स्तनपान गराइरहेकी थिइन्। त्यो रात उनले कम्मर र तिघ्रामा दुखाइको गुनासो गरेकी थिइन्। अलि बढी बस्नु परेको हुँदा दुखेको होला भन्ने सोचियो र खासै वास्ता गरिएन । भिडियो कलमा उनको भावभङ्गीले भने दुखाइ गहिरो र गम्भीर भएको संकेत गर्‍यो ।

मैले तुरुन्तै अफिसबाट बिदा लिएँ र राइड सेयर गरेर मोटरसाइकलबाट घरतिर लागेँ । लगभग ४० मिनेटको त्यो सवारीमा अत्यन्तै भयानकदेखि तुलनात्मक रूपमा रमाइलोसम्म विभिन्न परिदृश्यहरूको कल्पना गरिरहेको थिएँ ।

घर पुगेपछि, मैले उनलाई मुस्कुराएको पाएँ । दुखेको त थियो तर अलिअली हिँड्डुल गरेको देख्दा मेरो परिवार र छिमेकी अङ्कल आन्टीहरू सबैजना ढुक्क भयौँ । हामीलाई लागेको थिएन कि दुखाइ बढ्दै जानेछ तर दुख्नै छाडेन ।

हामीले गरेका गल्तीहरू

सोनुको पीडा रात्री स्तनपान सत्रहरूमा सुरु भएको थियो । उनले मालिस गर्ने दिदीलाई पीडा कम गर्न भनिन् । दुर्भाग्यवश, पीडा झन् बढ्यो । उनी प्यासेजमा जोडिएको बाथरूमसम्म पनि हिँड्न सकिनन् ।

खुट्टा बाउँडिएको ठानेर हामीले दुखेको खुट्टामा नियमित रूपमा मालिस, बरफ र तातो पानी लगायौं । तिनीहरूले अस्थायी राहत त दिए तर सुन्निन र दुख्न कम भएन । सोनुले नजिकैको क्लिनिकमा डाक्टरको प्रेस्क्रिप्शनअनुसार पेन किलर पनि खाइन् तर तिनीहरूले काम गरेनन् ।

उपचार

अवस्था बिग्रँदै जाँदा सोनुको खुट्टा नीलो नीलो हुन थाल्यो। बिहीबार बिहान ८ बजेतिर हामीले उनलाई चाबहिलको ओम अस्पताल लग्यौं र एक अर्थोपेडिक सर्जनको अपोइन्टमेन्ट लियौँ । उनले तुरुन्तै अल्ट्रासाउन्डको लागि पठाए । रिपोर्टमा DVT देखिएपछि उनले हामीलाई हृदय/रक्तसञ्चार रोग विशेषज्ञकहाँ रेफर गरे । हामीसँग दुई विकल्प थिए: १) दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञको प्रतीक्षा गर्ने, वा २) महाराजगञ्जको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा जाने ।

हामीले पछिल्लो रोज्यौँ ।

त्यहाँका डाक्टरले (अर्थोपेडिक डाक्टरले रेफर गरेको होइन, अरू नै) सोनुलाई खाने औषधि दिए र दुई हप्तापछि आउनु भने । डाक्टरले पाँच सेकेन्ड पनि सोनुलाई हेर्ने र कुरा गर्ने गरेनन् । हामी सन्तुष्ट भएनौं तर हामीले औषधि किन्यौँ । औषधि खाँदै गर्दा, दुखाइ र सुन्निने क्रम बिस्तारै कम हुँदै गयो।

अहिले सोनु धेरै बिसेक भएकी छिन् र बिस्तारै आफ्ना दैनिक गतिविधिहरू पुनः सुरु गर्दैछिन् । लामो समयसम्म उभिनु, हिँड्नु वा बस्नु अझै पनि पीडादायी हुन्छ । उनी अझै पनि अर्को दुई महिनासम्म डाक्टरले तोकेको औषधि सेवन गरिरहेकी छिन् ।

अब हामीले हाम्रो अनुभव वर्णन गरिसकेपछि, अलि औपचारिक परिभाषामा आऔं।

डीप भेन थ्रोम्बोसिस (DVT) भनेको के हो?

डीप भेन थ्रोम्बोसिस भनेको एउटा यस्तो अवस्था हो जहाँ पेल्भिस (कम्मर), तिघ्रा, र पिडौँलाका गहिरा धमनी (अक्सिजनरहित रगत बोक्ने पातला नसा) मा कुनै कारणवश रगत जम्छ अर्थात् क्लट बन्छ । यसरी जमेको रगतले खुट्टा सुन्नाउँछ । यी नसाहरूले रगतलाई मुटुमा फिर्ता लैजाने हुँदा जब क्लटले रक्तप्रवाह सुस्त बनाउँछ वा रोक्छ, गम्भीर समस्याहरू निम्तिन सक्छन् । जब क्लट बाक्लो हुँदै फोक्सोसम्म पुग्छ, यसले र पल्मोनरी एम्बोलिज्म (PE) गराउँछ जसले ज्यानसमेत लिन सक्छ ।

तपाईंले किन ख्याल गर्नुपर्छ?

DVT का लक्षणहरू प्रायः देखिँदैन । यो सूक्ष्म रूपमा सुरु हुन सक्छ, जस्तै :-

  • पिडुँलामा थोरै दुखाइ
  • एउटा खुट्टामा भारी महसुस
  • हल्का सुन्निने वा नीलो देखिने

मानिसहरूले प्रायः DVT लाई मांसपेशीमा तनाव, धेरै लामो समयसम्म उभिनु, वा खराब रक्तसञ्चार ठान्ने गल्ती गर्छन् (हामीले जस्तै) । तर जब क्लट तपाईंको फोक्सोमा जान सक्छ, रक्त प्रवाह र अक्सिजन अवरुद्ध गर्न सक्छ र आपतकालीन अवस्था निम्त्याउन सक्छ ।

जोखिममा को हुन सक्छ ?

यी व्यक्तिहरू DVT बाट पीडित हुने उच्च जोखिममा छन्:

  • सुत्केरी महिलाहरू (विशेष गरी सिजेरियन सेक्शन पछि, जस्तै सोनु)
  • लामो समयसम्म बस्नु वा सुत्नु पर्ने जो कोही (डेस्कको काम, लामो यात्रा)
  • हालसालै शल्यक्रिया वा चोटपटक लागेको व्यक्ति
  • धूम्रपान गर्ने, मोटोपना भएका वा गर्भनिरोधक चक्की, एन्टिकोआगुलेन्ट र केही न्यूरोसप्रेसेन्ट जस्ता औषधिहरू लिने व्यक्ति
  • क्लटिंग विकारको पारिवारिक इतिहास भएको व्यक्ति

ध्यान दिनुपर्ने एउटा कुरा के हो भने स्वस्थ व्यक्तिहरूमा पनि अवस्थाअनुसार DVT विकास हुन सक्छ ।

बेवास्ता गर्न नहुने लक्षणहरू

  • कम्मर, तिघ्रा वा पिँडुलाको दुखाइ
  • खुट्टा सुन्निनु वा “कसिएको” महसुस हुनु
  • खुट्टामा जलन
  • खुट्टा नीलो वा रातो देखिनु
  • आराम गरेपछि पनि हिँड्न गाह्रो हुनु

केले मद्दत गर्छ?

यो लेख चिकित्सा सल्लाह नभएकाले तपाईंलाई कुन औषधि लिने भनेर बताउँदैनौं । यद्यपि धेरै खाने र सुईबाट दिइने औषधिहरू उपलब्ध छन् । डाक्टरले तपाईंको अवस्था हेरेर उपचार गर्छन् । यद्यपि यी कुराहरू उपयोगी हुन सक्छन् :-

  • DVT का लक्षणहरूको बारेमा जागरूकता
  • अस्पतालमा तुरुन्तै गएर डाक्टरको सल्लाह मार्फत निदान
  • लामो यात्रा वा डेस्क काम गर्दा नियमित हिँडडुल
  • सुत्दा आफ्नो खुट्टालाई ऊँचो राख्ने
  • आफ्नो शरीरलाई चिन्ने, विशेष गरी सुत्केरी अवस्थामा

जति छिटो समस्या पत्ता लाग्छ, जटिलताहरूबाट प्रायः बच्न सकिन्छ ।

अन्त्यमा

आफ्नो शरीरलाई स्याहार गर्नुहोस् । तपाईंको खुट्टाले तपाईंलाई बोक्छ। यदि केहि असहज महसुस हुन्छ भने आफ्ना खुट्टाहरूलाई आराम दिनुहोस् । दुखेका बेला सुत्दाखेरी तिनीहरूलाई सिरानी वा कपडा लगाएर उँचो राख्नुस् । केही शंका लागेमा डाक्टरलाई भेट्न कहिल्यै नहिचकिचाउनुहोस्।

यदि हामीलाई पहिले DVT बारे थाहा भएको भए हामी अझ सतर्क हुन्थ्यौँ होला । जागरूकताले जीवन बचाउन सक्छ । त्यसैले यो पोस्ट आवश्यक पर्ने व्यक्तिसँग सेयर गर्नुहोला ।

>>> अङ्ग्रेजी संस्करण पढ्नः https://storiesofsandeept.com/2025/08/18/deep-vein-thrombosis-dvt/

धर्म चाहिन्छ, अन्धविश्वास होइन

धर्म चाहिन्छ, अन्धविश्वास होइन

अस्तित्वको सङ्कट

केही समयदेखि गलेको छु । शारीरिक र मानसिक थकान त छ तर त्यति मात्रै हैन,अस्तित्वमै सङ्कट महसुस गरेको छु । यो निद्राले मेटाउने थकान होइन । यो त बोल्न खोज्दा भिडबाट चिच्याउनेहरू, विज्ञानलाई परम्पराभन्दा अलग राख्नेहरू, धर्मको नाममा अन्धविश्वास थोपर्नेहरू अनि विवेकको साटो आज्ञापालन गर्नेहरूको चिच्याहटले लगाउने थकाई हो ।

केही दिनअघि फेसबुकमा एउटा पोस्ट देखेँ। एकजना बुबाले आफ्नी छोरीलाई रजस्वला अवस्थाका महिलाहरूले मन्दिर, भान्सा, वा जनै छुन नहुने कारण विज्ञानसँग जोडेर “सकरात्मक र नकरात्मक उर्जा” को नाममा बुझाउँदै थिए । रजस्वलाको रक्तस्रावलाई “नकारात्मक चार्ज” को रूपमा व्याख्या गर्दै मन्दिरको “सकरात्मक चार्ज” सँग जुधाउँदा र भएर विस्फोट हुने दाबी गर्दै थिए ।

यो सबै कुरा सुन्दा एकछिन त हाँसो उठ्यो । विज्ञानलाई चुनौती दिन विज्ञानकै साहारा तर त्यस पोस्टलाई डाक्टरहरू, शिक्षित मानिसहरू ले लाइक, सेयर र समर्थन गरेर कमेन्ट गरेको देखेँ ।

त्यसबेला म वास्तवमै झल्यास्स झस्किएँ ।

धर्म र अन्धविश्वासको फरक बिर्सिएको समाज

हामी अहिले जुन धारमा बगिरहेका छौँ, त्यो धर्मको रक्षा होइन, अन्धविश्वासको वैज्ञानिक व्याख्याको दुष्प्रयास हो ।धर्म भनेको नीतिपथ हो । यो न्याय, सत्य, विवेक र करुणाको संयोजन हो । धर्मले प्रश्न गर्न सिकाउँछ, विवेक जगाउँछ, र आत्माको आवाज सुन्ने अभ्यास गराउँछ। तर अन्धविश्वास? त्यो त प्रश्नसँग डराउँछ। परम्पराको नाममा अन्यायलाई पनि पवित्र ठान्छ।

हाम्रो पूर्वजहरूले विचार, शंका, र तर्क गरे । देवतासमेतलाई प्रश्न गरे । आस्तिक, नास्तिक सबै मतका कुरा सुने । सुनेनन् मात्रै, शिक्षामा अङ्गीकार गरे । तर हामी चैँ रजस्वलाजस्ता शारीरिक प्रक्रिया लाई “अपवित्र” भनेर व्यवहारमा असमानता लादिरहेका छौँ ।

आफ्नै घरमा चुप लाग्नु परेको छ

अवस्था कतिसम्म खराब छ भने आफूले बुझेको कुरा आफ्नै घरमा पनि भन्न सक्दिनँ । नजिकका मान्छेहरू नै तर्कसँग तर्किन्छन् । थोरै बोल्दैमा थाक्छु । धेरै बोलेँ भने बहुलाइस् भनिदिन्छन् ।

म सोच्छु, बुझ्छु, र कहिलेकाहीँ बोल्छु । तर जब कोही शक्तिमा भएको मानिस अघि आउँछ, म आत्तिन्छु अनि मौन हुन्छु।
किन?
किनभने मन अझै पनि अरूको स्वीकृति खोजिरहन्छ । “नाइँ” भन्न सक्दिनँ र त्यसकै कारण बारम्बार फस्छु ।

सत्यलाई धेरै मौन राखे मर्छ

कहिलेकाँही म आफूलाई एक्लो महसुस गर्छु । कहिलेकाहीँ लाग्छ, यहाँ अलि धेरै बसेँ भने पागल हुन्छु । तपाईंलाई कति लाग्छ यस्तो ? सत्य बोल्नेहरू प्रायः एक्लै पारिएकै देख्छु । एक्लो वृहस्पति झुठो भन्छन् । हामीलाई समाज र शक्तिको संरचनाले अलग राखेका छन् । तर सत्य धेरै दबियो भने बिस्तारै मर्छ । त्यसैले हामी जुट्नै पर्छ । धर्मको साँचो अर्थलाई आत्मसात् गर्नैपर्छ ।

धर्म कसैलाई बोझ हुनैसक्दैन किनकी धारण गरिने नैसर्गिक सारतत्त्व नै धर्म हो । धर्म जीवनको आधार हो।

धर्म विज्ञानभन्दा फरक होइन । विज्ञानको सदुपयोग गरेर जगतको कल्याण गर्नु धर्म हो भने दुरुपयोग गर्नु अधर्म । परम्परा पनि सबै धार्मिक हुँदैनन् । कतिपय परम्परा “धर्म”को नाममा अधर्म फैलाइरहेका छन् ।

यति कुरा बुझाउन पनि गाह्रो छ यो समाजमा । कोही “धर्म” शब्द सुन्दै नाक खुम्च्याउँछन् अनि कोही कुप्रथालाई धर्मको नाम दिइरहेका छन् ।

अरूलाई सम्झाउन सके पनि नसके पनि कम्तीमा आफैँलाई बदलौँ । परिवर्तनको सुरुवात हुने त्यसरी नै हो।

आउनुस्, धर्म पुनः परिभाषित गरौं

हाम्रो धर्मले भनेको थियो, “रजस्वलाको बेला विश्राम गर, आराम गर”, तर हामीले यसलाई “छुने नछुने”, “शुद्ध र अशुद्ध” मा सीमित बनायौँ । हाम्रो धर्मले भनेको थियो, “सत्य बोल”, तर हामीले परम्पराको नाममा आँखा चिम्ल्यौँ ।

हामीलाई फेरि धर्म चाहिएको छ । नाम मात्रैको वा कुनै पुस्तकमा लेखिएको धर्म चाहिएको होइन, चाहिएको त विवेक, न्याय, करुणाको धर्म हो।

अन्तिम सन्देश

सत्यले भीड माग्दैन,
उसले एकजना सच्चा आत्मा खोज्छ—
जो थाक्दासमेत झुट बोल्दैन।

>> Read the English version of this post here.

साहित्य सर्जकको साङ्केतिक चित्र A symbolic image of a writer creating literature

सोचबाट साहित्य उमार्ने सर्जकहरूको नाममा

सोचको वीजारोपण

चलचित्र “इन्सेप्सन” ‘आइडिया’ अर्थात् सोचको वीजारोपणको कथा हो । यसमा एउटा समूह आफ्नो ‘टार्गेट’को सपनामा गएर उसको दिमागमा कुनै सोच राखिदिन्छन्, जुन ‘भाइरस’ सरी फैलिन्छ । रमाइलो कुरा के भने त्यो मानिसलाई त्यो सोच आफैँ आएजस्तो लाग्छ । ऊ ठान्छ, त्यस्तो सोच ऊ आफूले बाहेक अरूले सोच्न सक्दैन ।

हाम्रो सोचहरू पनि आफैँ आउँदैनन् । अधिकांश मानिसलाई व्यक्तिगत संघर्ष, समाज, देखे, सुनेका अनि पढेका कथा र स्वैरकल्पनाले किसिसकिसिमका सोचको विजारोपण गरिदिन्छन् । जस्तो कि एउटा समाचारबाट प्रेरित भएर मैले आई एम द डेभिल लेखेको थिएँ भने ह्वाट्स द पोइन्टको परिदृश्य र क्लाइमेक्स सपनामा देखेको थिएँ । यसरी आउने सोचहरूले सर्जकहरूको मस्तिष्कमा चैँ ती सोच यसरी बढ्छन् कि त्यसको बारेमा केही नलेखेसम्म नबनाएसम्म छटपटी भइरहन्छ । तर जति नै छटपटी भए पनि धेरै सोचहरू अक्षरमा परिवर्तन हुँदैनन् । धेरै लेख्ने साहित्यकारहरू पनि मनमा आएका सबै कुरा लेख्दैनन् ।

किन बन्दैनन् सबै सोचहरू साहित्य ? केले छेक्छ?

मानिस आफैँ र उसको समाज पनि साहित्य सिर्जनामा बाधक हुन सक्छन् । अधिकांशले लेख्ने समय छुट्याउन सक्दैनन् । विभिन्न काममा अल्मलिँदा नलेखिएको सोच आफैँ हराएर जान्छ । लेख्न पनि मन लाग्न छोड्छ । कतिपय लेख्न अल्छी गर्छन् । समाज पनि एकदम छिटो परिवर्तित भइरहेको छ । आजका सामाजिक मान्यता भोलि गलत हुन सक्छन् । यसरी कतिपय सोचहरू असान्दर्भिक भइदिन्छन् अनि दृष्टिकोणमा आएको परिवर्तनका कारण पुरानो सोचका बारेमा प्राय: लेख्दैनन् ।

राइटर्स ब्लक

साहित्य सिर्जनाको सबैभन्दा गाह्रो काम “लेख्न थाल्नु हो” । लेखकहरूलाई, अझ ठूला आकारका साहित्य सिर्जना गर्ने साहित्यकारहरूलाई एकदमै सताउने एउटा समस्या हो ‘राइटर्स ब्लक’ । त्यस्तो अवस्था हो, जब मनमा लेख्ने हुटहुटी भइरहँदा पनि लेखकहरू केही लेख्न सक्दैन् । लेख्न थाल्दा वा बीचमा, कुनै पनि बेला यो समस्या आउन सक्छ । “पाठशाला”का सर्जक तीर्थ गुरुङले हालै यो समस्या आएको ट्विट गर्नुभएको थियो । जर्ज आर. आर. मार्टिन, जसको पुस्तकहरूको आधारमा सफल सिरिज बन्यो, अन्तिम पुस्तकहरू लेख्न संघर्ष गरिरहनुभएको छ । ‘राइटर्स ब्लक’ केही कारणहरू छन् :

१. सोचेजस्तो लेख्न सकिनँ/सक्दिनँ कि भन्ने डर । (पर्फेक्सनको चाहना ।)

२. पूरै लेख्न सक्दिनँ कि भन्ने शंका ।

३. नयाँ साधकलाई ‘रिजेक्सन’को डर । स्थापित साधकमाथि प्रशंसकको अपेक्षा ।                

३. खुलेर नबोलेका कुराहरूलाई लेखनमा ढाल्न खोज्न उत्पन्न संवेदना ।

४. लेखकको आर्थिक-सामाजिक-मानसिक अवस्था ।

‘राइटर्स ब्लक’ हटाउने उपायहरू

स्टेफेन किंगसँगको एउटा संवादका क्रममा ‘पर्फेर्क्सनिस्ट’ भनेर चिनिइनुहुने जर्ज आर. आर. मार्टिन सोध्नुहुन्छ, “तपाईं छोटो समयमा यति धेरै कसरी लेख्नुहुन्छ ?” किंगको साधारण तर महत्त्वपूर्ण जवाफ आउँछ, “म सधैँ दिनको छ पाना लेख्छु ।”

किंगको एउटा नियम रहेछ, हरेक दिन कम्तीमा छ पाना (२००० शब्द )लेख्ने । त्यसलाई राम्रो नराम्रोको कसीमा नराख्ने । कुनै उपन्यासको पहिलो ‘ड्राफ्ट’ तयार भएपछि डेढ महिना त्यसलाई थन्काउने । कतै घुम्न जाने या अरू नै केही लेख्ने । अनि डेढ महिनाअघिको सिर्जनालाई परिमार्जन गर्ने । किंगको नियमले ‘राइटर्स ब्लक’ हटाउने उपायहरू दिन्छन् :

१. नियमित लेख्ने ।

२. जस्तो भए पनि सोचलाई कागजमा उतार्ने ।

३. लेखिसकेको चीजलाई पछि सम्पादन/परिमार्जन गर्ने ।

“केही लेखेकै छैन भने केही परिमार्जन गर्न सकिन्न” भनिन्छ । यो काम त्यति सजिलो भने छैन । जापानी ‘एनिमेटेड’ चलचित्र “विस्पर अफ द हार्ट”मा साहित्यकार बन्ने सपना देख्ने शिजुकुलाई हजुरबुबा निशीले एउटा ढुंगा दिन्छ । त्यो ढुंगा भित्र एमराल्ड (हरियो रङ्गको महँगो मणि) च्यापिएको छ । शिजुकुको पहिलो ‘ड्राफ्ट’ पढिसकेपछि निशीले भन्छ, “तिमीले मिहिनेतसँग यो कथा लेखेर यस्तै पत्थर उत्खनन् गर्यौ । यसलाई ‘पोलिस’ गरेर बहुमुल्य मणि निकाल्न तिमीले अझै धेरै मिहिनेत गर्नुपर्छ ।”

नयाँ कि नक्कल ?

व्यावसायिक रूपमा कुनै पनि साहित्यिक कृति प्रकाशन गर्न सजिलो छैन । सम्पादकहरूले हिज्जे शुद्धिकरणदेखि कथानकको बनावटसम्मका विषयमा टिप्पणी गर्छन् । अनेकौं पटक पुनर्लेखन गर्छन् लेखकहरू । बुद्धिसागरको “कर्नाली ब्लुज”का ड्राफ्टहरूको अग्लो चांग धेरै अघि उहाँको फेसबुक पेजमा देखेको थिएँ । ग्याब्रियल गार्सिया मार्खेजको “वन हन्ड्रेड इयर्स अफ सोलिट्युड”को पहिलो ‘ड्राफ्ट’ एकदमै फरक थियो रे । यसरी परिस्कृत भएर आएका उत्कृष्ट किताबहरू पढ्दा नयाँ साहित्यकारहरूलाई उत्प्रेरणा मिल्छ । तर कतिपयलाई भने लेख्न झनै गाह्रो पनि बनाइदिन्छ । किनभने:

१. सोच नयाँ रहेनछ ।

२. स्वाद जति छिटो विकसित हुन्छ, कला त्यति छिटो हुँदैन ।

भनिन्छ, संसारमा ‘ओरिजिनल’ केही पनि छैन । तथापि नयाँ सोचहरू आउँदै नआउने चाहीँ होइन । नयाँ गर्न सकिएन भने उपाय छ—नक्कल गर्नु । यसमा साधकले सावधान हुन भने निकै जरुरी छ । कला/साहित्यमा नक्कलको एउटा मूलमन्त्र हो : “एकजनाको नक्कल गर्नु चोरी हो, सयजनाको नक्कल गर्नु चाहिँ कला ।” अर्को : “नक्कल यति राम्ररी गर्नु कि नक्कल गरेको थाहै नहोस् ।”

साहित्यकारको बाटो

“विस्पर अफ द हार्ट”मै शिजुकुले लेखक बन्छु भन्दा उसको पिताले भन्छन्, “तिमीले कमैले लिने फरक बाटो रोज्यौ । यसको जिम्मेवारी तिमी आफैँले लिनुपर्छ ।” प्राय: साहित्यकारहरूको जीवन सरल हुँदैन, आफ्नै मनमा हुने अन्तरद्वन्द्व, पारिवारिक बेमेल, फरक सोच भएका कारण समाजले गर्ने अपेक्षा र द्वन्द्व, आर्थिक समस्या आदिले गर्दा । धेरैजसो साहित्यकारका एकदमै थोरै मित्र हुन्छन् । कतिपय उत्कृष्ट लेखकहरू डिप्रेसनको शिकार भएका उदाहरण छन् । नेपाली हास्यव्यंग्य साहित्यका सम्राट भैरव अर्यालका आत्महत्या वरिपरिका घटनाक्रमले मर्माहत बनाउँछ । त्यस्तै, जापानी छोटा कथाका पिता आकुतागावाका मानसिक छटपटीका कथाहरू एकदमै पीडादायी छन् ।

अन्तरद्वन्द्व, आत्मसंदेह अनि विभिन्न संघर्ष पछि साहित्य साधकले आफ्नो सोच पाठकसामू पस्किन्छन् । कमै मात्रै साहित्यकारले आर्थिक रूपमा सफलता पाउँछन् । कतिपय सोच र सोचको प्रस्तुति पाठक/स्रोतालाई चित्त बुझ्दैन । कहिलेकाहिँ त पाठकले साहित्यकारको सोचसम्म पुग्नै सक्दैनन् । कतिपय पाठकले आफ्नो रुचि र विचार अनुसारको साहित्यकारले रचोस् भन्ने पनि चाहन्छन् । कुनैकुनै पुस्तक त पाठकले नै च्यात्छन्, जलाउँछन् । यस्तो देख्दा, सुन्दा चाहिँ मन चसक्क दुख्छ । त्यसो त लेखिएका सबै कुरा राम्रा हुन्छन् भन्ने छैन । ‘प्रोपगान्डा’ र द्वेष फैलाउने उद्देश्य राखेर पनि पुस्तकहरू लेखिन्छन् । यस्ता पुस्तकहरूको भण्डाफोर गर्न पनि ती पुस्तक पढ्नु पर्ने हुन्छ ।

सफलता, असफलतालाई खासै महत्त्व नदिएर, अनेकौं दु:ख पार गरेर आफ्नो सोचको सूर्यबाट विश्वलाई प्रकाशित गर्न सक्ने सम्पूर्ण साहित्य सर्जकमा नमन ।

(नोटः यस लेखको मूल रूप पहिलो पटक साहित्यपोस्टमा २०२० जुन १७ मा प्रकाशित भएको थियो । लेखको अङ्ग्रेजी संस्करण यहाँ पढ्न सकिन्छ ।)

जनसङ्ख्या नीतिले सम्बोधन गर्न खोजेको परिदृश्य

राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ मार्फत नेपालले सम्बोधन गर्न खोजेका विषयहरू

विश्व जनसङ्ख्या दिवस (असार २७) को अवसरमा नेपाल सरकारले नयाँ जनसङ्ख्या नीति सार्वजनिक गर्‍यो। त्यस कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभएको वाक्यांश, “२० वर्षमा विवाह गर, ३० वर्षमा तीन सन्तान जन्माऊ” सामाजिक सञ्जालमा निकै चर्चित भयो। प्रधानमन्त्रीका धेरै भनाइहरूजस्तै यसले पनि मीम र मजाकको रूपमा व्यापक ध्यान पायो। धेरै युवाहरूले सरकारलाई रोजगारीको सट्टा उत्पादनशील जनशक्तिलाई विदेश पठाउने योजनाको आलोचना गरे। तर सामाजिक सञ्जालको चर्चाले २०७८ को जनगणनाले देखाएको चित्रलाई सम्बोधन गर्ने गरी तयार गरिएको राष्ट्रिय जनसङ्ख्या नीति २०८२ ले उठाएका केही गम्भीर मुद्दाहरू छायामा परे।

नेपालको जनसङ्ख्या सम्बन्धी चिन्ताहरू

१. घट्दो वृद्धिदर

२०७८ को जनगणना अनुसार नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२% मात्र रहेको छ, जुन २०६८ को १.३५% भन्दा कम हो। कुल प्रजनन दर १.९४ मा झरेको छ, जुन अपेक्षित २.१ भन्दा तल छ। अघिल्लो दशकमा नेपालले युवा जनशक्तिमा आधारित ‘जनसाङ्ख्यिक लाभांश’ को कुरा गर्थ्यो, तर अब त्यो लाभांश गुम्ने संकेत देखिएको छ।

१.१ सम्भावित नकारात्मक जनसाङ्ख्यिक लाभांश

घट्दो वृद्धिदरका कारण १५–५९ वर्षको सक्रिय जनसङ्ख्या घट्नेछ। यद्यपि नेपालमा हाल ६२% सक्रिय जनसङ्ख्या छ, यो अझै घटेमा उत्पादनका लागि आवश्यक मानव स्रोत अभाव हुनसक्छ।

१.२ वृद्ध जनसङ्ख्या

२०६८ मा ८.१% जनसङ्ख्या ६० वर्ष माथिका थिए भने अहिले त्यो १०.२१% पुगेको छ। स्वास्थ्य सेवामा सुधारसँगै यो दर अझ बढ्नेछ। वृद्ध जनसङ्ख्या हेरचाहमा सरकार र सक्रिय जनसङ्ख्याले थप खर्च व्यहोर्नु पर्नेछ।

१.३ पूर्वाधारको न्यून उपयोग

जनसङ्ख्या कम हुँदा निर्माण भएका पूर्वाधार प्रयोगमा नआउने सम्भावना हुन्छ। मानवीय स्रोतको अभावले आर्थिक गतिविधिमा समेत असर पार्दछ।

१.४ परिवार नियोजन कार्यक्रमको उल्टो दिशा

सरकारले अब युवालाई सन्तान जन्माउन प्रोत्साहित गर्नुपर्ने अवस्था आएको छ। तर विवाह गर्न र बच्चा जन्माउन चाहने युवाको सङ्ख्या कम छ। बेरोजगारी, महँगी, र उद्यमशीलताको अवसरको अभाव यसको प्रमुख कारण हो।

२. तीव्र बाह्य बसाईसराई

२०२३ मा मात्र ७०,९१५ नेपालीहरू स्थायी रूपमा देश छाडे। ८ लाखभन्दा बढी नेपाली विदेश रोजगारीमा गए, जसको ८९.५% पुरुष थिए। १ लाखभन्दा बढी विद्यार्थीहरू अध्ययनका लागि विदेश गए। थोरै मात्र फर्किए।
यो विश्वव्यापीकरण प्रेरित प्रवृत्तिले देशको कुशल जनशक्ति गुमाएको छ। साथै, प्रवासी नेपालीहरू विदेशी देशहरूमा स्थायी बसोबास गर्न थालेपछि रेमिट्यान्सको स्रोत समेत गुम्ने डर देखिएको छ।

३. प्रविधिमा तीव्र परिवर्तन

गत पाँच वर्षमा प्रविधिले काम गर्ने तरिका परिवर्तन गरेको छ। अटोमेसन, रोबोटिक्स, र कृत्रिम बौद्धिकता (AI) ले श्रमिकको आवश्यकता घटाएको छ। नेपाल प्रविधि उत्पादन गर्न र अपनाउनमा पछि परेको अवस्था छ। अर्कोतर्फ, विकसित देशहरूमा श्रमिकको माग घट्न सक्नेछ जसले गर्दा नेपालमा बेरोजगारी बढ्न सक्ने खतरा छ।

माथिका समस्याहरू समाधान गर्न प्रस्तावित नीतिहरू

जनसङ्ख्या नीति २०८२ अनुसार, परिवार नियोजन कार्यक्रमहरूलाई समसामयिक आवश्यकताअनुसार पुनरावलोकन गर्ने भनिएको छ। यसले प्रजनन स्वास्थ्य सेवामा सुधार ल्याउने, जन्मदर बढाउने, र युवाहरूलाई विवाह र सन्तानप्रति प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

बाह्य रोजगारलाई सीपमा आधारित बनाउने, AI जस्ता प्रविधिहरूमा ज्ञान बढाउने, र राष्ट्रिय विकासमा मानव स्रोत प्रयोग गर्ने नीति बनाइएको छ।
आन्तरिक प्रवासलाई व्यवस्थित गर्न:

  • सूचना प्रणाली सुधार्ने
  • ग्रामीण क्षेत्रमा आर्थिक क्रियाकलाप विस्तार गर्ने
  • एकीकृत बस्ती विकासमार्फत आन्तरिक बसाई सराइ प्रणालीकरण गर्ने भनिएको छ।

प्रविधि सम्बन्धी चुनौती समाधान गर्न:

  • शिक्षा प्रणालीलाई उद्यमशीलता र उत्पादनमुखी बनाउने
  • सीप र दक्षता अभिवृद्धि गर्ने,
  • AI र नयाँ प्रविधिमा प्रशिक्षण दिने,
  • पर्यटन, कृषि, पूर्वाधार, वनजन्य उद्योगमा लगानी बढाउने नीति प्रस्ताव गरिएको छ।

व्यवहारिक वास्तविकता

नीति जति नै विस्तृत भए पनि यथार्थ फरक छ। पूर्वाधार कमजोर छन्, शिक्षा प्रणाली प्रभावहीन छ, र युवाको निराशा चुलिएको छ। सरकारले यदि संरचनागत सुधार नगरेर केवल विदेशमा युवालाई पठाउने नीति अपनायो भने, नीतिले अपेक्षित परिणाम दिन सक्दैन।
उद्यमशीलता र आमरोजगारीमा लगानी नगरीकन जनसङ्ख्या नीति असफल हुने सम्भावना धेरै छ।

नेपालीहरूलाई बोल्न रोक लगाइएको साङ्केतिक चित्र

बोल्न पाइन्छ ?

बोल्नलाई बोल्न त पाइन्छ
बोल्ने पनि तरिका चाहिन्छ


स्वप्न सुमन र अभिज्ञा घिमिरेको गीत सुन्दै फेसबुक स्क्रोल गर्दै थिएँ । समाचार देखियो – रवि लामिछानेलाई समर्थन गर्दै प्रधानमन्त्रीको आलोचना गरेको भन्दै एक महिला पक्राउ । अस्तितिर दिलभूषण पाठकलाई हिल्टन होटलका बारेमा समाचार बनाएपछि पक्राउ गरेको खबर आएको थियो । अलि अघि सिधाकुराले मुद्दा मामिलामा हुने लेनदेनको विषयमा सार्वजनिक गरेको डार्क फाइल्स अदालतको अनादर गरेको भन्दै उक्त सामग्री हटाउन लगाइएको थियो । पछि सामग्री नै फेक हो भनेर तीनजनालाई कारबाही भएको थियो । अझै अगाडि सरकारले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकलाई प्रतिबन्ध गरेको थियो । झन्डै एक वर्षपछि प्रतिबन्ध फुकुवा भयो ।

यी घटनाहरू केलाउँदा लोकतन्त्र, गणतन्त्रमा बोल्न पाइन्छ भन्नेहरू अहिले आफैँ विरोधको अवाज बन्द गर्न तल्लीन देखिन्छन् । अभिव्यक्तिको स्वतन्त्रता संविधानको धारा १७ द्वारा प्रदत्त अधिकार हो । यसले कुनै विचारलाई निषेध गर्न नपाइने व्यवस्था गरेको छ । त्यस्तै, धारा १९ ले कुनै प्रसारण माध्यममा प्रकाशित सामग्रीकै कारण कसैलाई पक्राउ नगरिने कुरा सुनिश्चित छ ।

तर संविधानले नै सार्वभौमसत्ता र अखण्डताको रक्षा, व्यक्तिगत गोपनीयता र मर्यादाको सम्मानजस्ता विषयमा मनासिब प्रतिबन्ध लगाउन पाइने व्यवस्था पनि गरेको छ । र यसकै दुरुपयोग गरेर सत्ता र सत्ताको नजिक हुनेले आफ्ना विरोधमा आउने आवाज दबाउन थालेका छन् । अझ अनलाइनमा प्रकाशन हुने सामग्रीको विषयमा कानूनमा भएको लुपहोल प्रयोग गरेर दु:ख पनि बढी नै दिन थालेका छन् ।

यस्तो किन हुन्छ ? स्वतन्त्रता सङ्ग्राम कथामा लेखेको छु :

सत्ता सधैँ प्रशंसाको भोको हुन्छ । थोरै आलोचना पनि उसलाई बिझ्छ ।

तर आलोचना सहन नसक्ने सत्ताधारीलाई ठीक पार्ने ब्रह्मास्त्र खरो आलोचना नै हो । ब्रायन मार्टिन पुस्तक इन्फर्मेसन लिबरेसनमा लेख्छन्,

“आलोचना गर्दा निष्कर्ष दिने भन्दा पनि तथ्यहरू प्रस्तुत गरिदिनुस् । सही गलतको निर्णय पाठक/श्रोताले गर्नेछन् ।”

उनी थप्छन्,

“कुनै नेताले भ्रष्टाचारी हो भन्नुभन्दा उसलाई यो कम्पनीले यति रकम बुझायो भनिदिनुस् ।”

“जुन कुरा भन्नुहुन्छ त्यसको ठोस प्रमाण सङ्कलन गर्नुस् अनि आफ्ना साथीभाइ र अरूहरूलाई पठाउनुस् ।”

अहिलेको परिस्थितिमा बोल्न गाह्रो छ । बोल्न भने छाडिन्न । त्यसैले जे बोलिन्छ, तथ्य सहित बोल्नुपर्ने छ । र त :

बोल्नलाई बोल्न त पाइन्छ
बोल्ने पनि तरिका चाहिन्छ

Why Nations Fail

राष्ट्र किन असफल हुन्छन् – समीक्षा Why Nations Fail

सन् २०११ मा अरब स्प्रिङ्ग भइरहँदा इजिप्सियनहरूले भनेका यी कुरा हामी नेपालमा पनि भनिरहन्छौँ —

“We are suffering from corruption, oppression and bad education. We are living amid a corrupt system which has to change.”


अर्थात्, “हामी भ्रष्टाचार, दमन र कुशिक्षाले पीडित छौँ । हामी यस्तो भ्रष्ट प्रणालीमा छौँ जुन परिवर्तन हुनै पर्छ ।”

भ्रष्ट प्रणालीमा हामी कसरी पुग्छौँ ? कसरी त्यस्तो प्रणालीले देशलाई नै असफल बनाउँछ ? के भ्रष्टाचार र असफलताको दुष्चक्रबाट उम्किन सकिन्छ ? सकिन्छ भने कसरी ? यस्तै प्रश्नका उत्तर ड्यारोन एसेमोलु र जेम्स रबिन्सनले Why Nations Fail किताबमार्फत् दिने प्रयास गरेका छन् ।

पुस्तकमा समेटिएका विषयहरू

पुस्तकको मुख्य थेसिस

एसेमोलु र रबिन्सन आफ्नो तर्क यसरी राख्छन्–कुनै पनि देशको उन्नति तब हुन्छ जब राज्यशक्ति केन्द्रीकृत हुन्छ र समावेशी आर्थिक तथा राजनीतिक संस्थाहरूको निर्माण गर्छ ।

यहाँ केन्द्रीकृत राज्यशक्ति भन्नाले निरङ्कुशता नभई राज्यभित्र सक्षम र सबल कानूनी शासनको प्रत्याभूति हो । त्यस्तै, समावेशिताको अर्थ राज्यका सम्पूर्ण पक्षको राज्यमा अर्थपूर्ण सहभागिता भन्ने बुझिन्छ । यदि केन्द्रीकृत शासन, समावेशी आर्थिक र राजनीतिक संस्थाहरू मध्ये कुनै एकको मात्रै कमी भयो भने पनि राज्य असफलतातर्फ उन्मुख हुन्छ । तीनवटै अवस्था भएनन् भने राष्ट्र पूर्णतः असफल हुन्छ ।

राज्य लिएका ससाना नीतिहरूको प्रभाव विशेष परिस्थिति (Critical juncture) मा अझै गहिरो गरि देखापर्छ । जस्तै, युरोपमा ब्ल्याक डेथले जनसङ्ख्यामा असर पार्दा बेलायतमा म्याग्ना कार्टाको प्रभावले दासत्वको अन्त्य भयो तर पूर्वी युरोपमा दासत्व झनै बढ्यो । म्याग्ना कार्टा र दासत्व उन्मुलनले बेलायतमा ल्याएका परिवर्तनले औद्योगिक क्रान्तिलाई टेवा दियो र विश्वको सबैभन्दा धनी र शक्तिशाली राष्ट्र बन्न सक्यो ।

भूगोल, संस्कृति र रोगको प्रभाव

एसेमोलु र रबिन्सनले आफ्नो तर्क प्रस्तुत गर्ने क्रममा राष्ट्रको सफलतामा भूगोल, संस्कार, र रोगको खासै भूमिका नहुने कुरा उल्लेख गरेका छन् । यसका लागि प्रस्तुत गरेका केही उदाहरण हुन्: एरिजोना, अमेरिका र मेक्सिकोका सीमाले छुट्याएको एउटै ईतिहास, भूबनोट र संस्कृति भएका दुई नोगेल्स शहर, उत्तर र दक्षिण कोरिया, बोट्स्वाना र उसका छिमेकी मुलुकहरू आदि । उस्तै भूगोल र संस्कृति भए पनि यी ठाउँमा स्थापित फरकफरक आर्थिक र राजनीतिक संरचनाले जनताको जीवनमा भिन्नभिन्न तरिकाले असर पार्ने तर्क लेखकहरूको छ ।

समावेशी संस्थामाथि खतरा

आर्थिक-राजनीतिक असमानताका कारण समावेशी संस्थाहरू (inclusive institutions) पनि बिस्तारै शोषक (extractive) बन्न सक्नेतर्फ पनि लेखकद्वयले संशय व्यक्त गरेका छन् । यसको मुख्य उदाहरणका रूपमा रोमन साम्राज्य र त्यसको असफलताबाट निस्किएको रोमन गणतन्त्र र भेनिसलाई प्रस्तुत गरेका छन् । त्यहाँ आर्थिक र राजनीतिक शक्ति सीमित व्यक्तिहरूमा पुगेपछि नवप्रवर्तन रोकिएको र मानिसहरू नयाँ सहज ठाउँमा बसाइँसराइ र व्यापार गर्न थालेको विषयले संस्थाहरू कति संवेदनशील हुन्छन् भन्ने थाहा हुन्छ । अहिले समावेशी र सफल भनिएको बेलायतमा सन् १२१५ मा म्याग्ना कार्टाको घोषणा र सन् १६८८ मा गौरवमय क्रान्ति (Glorious Revolution) को बिचमा राज्य खासै समावेशी नभएको र जनताको आर्थिक विकास गर्न राज्य त्यति सफल नभएको इतिहास पनि प्रस्तुत गरेका छन् ।

शासक र नवप्रवर्तन

शासकहरू नवप्रवर्तन र प्रविधि अपनाउन किन चाहँदैनन् ? के उनीहरूले प्रविधि नबुझेर त्यसो गरेका हुन् ? एसेमोलु र रबिन्सन भन्छन्–शासन शक्ति हुनेहरूका लागि नवप्रवर्तन र प्रविधि चुनौती हुन् उनीहरूको शोषक प्रणाली विरुद्ध । उनीहरू जुन प्रविधि र प्राविधिकले आफ्नो फाइदा नहुने देख्छन्, तिनलाई नष्ट गरिदिन्छन् । बेलायतमा १६८८ को गौरवमय क्रान्तिपूर्व राजा र रानीले थुप्रै प्रविधि रोकेका रहेछन् । १६८८ पछि भने उपनिवेशबाट कमाएर धनी भएका व्यापारी र वैज्ञानिकहरूको आवाज सशक्त हुँदै गएको देखिन्छ ।

बेलायत, उपनिवेश, र असफल राष्ट्रहरू

बेलायत र उसका उपनिवेशहरूमा भने द्वैधता देखिन्छ । बेलायत भित्र समावेशी संस्थाहरू क्रमशः स्थापना भइरहँदा बेलायतीहरूले उपनिवेशहरूमा भने स्रोत दोहनका लागि शोषकी संस्थाहरू स्थापना गरेका थिए । अफ्रिकामा दासहरूको किनबेच गर्नेमा बेलायतीहरू प्रमुख थिए । बेलायतमा विरोध बढ्दै जाँदा दासत्व गैरकानुनी त भयो तर अफ्रिकाका राज्यहरू दासत्वबाट टाढिएनन् । अर्कोतिर स्रोत र रैथानेहरूको अभाव भएका ठाउँमा (अमेरिका, क्यानडा, अस्ट्रेलिया) भने नचाहँदा नचाहँदै समावेशी किसिमका संस्था स्थापित हुँदै गएराज्यको नीति र आवश्यकता अनुसार संस्थाहरू निर्माण हुन्छन् भन्ने यहाँबाट बुझिन्छ । बेलायतीबाहेक दक्षिण अमेरिकामा स्पेनी र पोर्चुगिज अनि दक्षिण पूर्वी एसिया डचहरूले गरेका आततायी व्यवहारको ईतिहास पनि पुस्तकमा समेटिएको छ ।

पुस्तकमा असफल राष्ट्रहरूको पनि चर्चा छ । तीमध्ये मुख्यतः सोमालिया हो । त्यहाँ केन्द्रीकृत शक्ति नहुँदा राजनीतिक विकास हुनै सकेन । आर्थिक मुद्दाहरू पनि कहिले पनि उठेनन् । फलस्वरूप, मलिलो माटो र समुद्रमा पहुँच भएर पनि सोमालिया अस्थिरता, द्वन्द्व र चरम गरीबीको शिकार भएको छ ।

इतिहासको अनिश्चितता

इतिहास ठ्याक्कै यही दिशामा जान्छ भन्न सकिँदैन र कुनैबेला समावेशी भनिएका राष्ट्र पछि शोषक पनि बन्न सक्छन् भन्ने तर्क Why Nations Fail भित्र भेटिन्छ । तिनलाई सरकारले नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने कुराले राष्ट्रको भविस्य निर्धारण गर्छ । उदाहरणका लागि अमेरिकामा १९औं शताब्दीमा उदाएका लुटेरा ब्यारोनहरू (Robber Barons) लाई लिन सकिन्छ । त्यस समय थोरै पुँजीबाट ठूला उद्योगी बनेकाहरूले आफ्नो प्रभाव बढाउन साना उद्योगलाई धराशायी बनाउने, आफूभित्र गाभ्ने र प्रतिस्पर्धा निष्तेज गर्ने काम गरेका थिए । उदाहरणका लागि एन्ड्र्यु कार्नेगीले स्टील, जोन डी. रकफेलरले पेट्रोलियम र जे. पी. मोर्गनले बैङ्किङ क्षेत्रमा मोनोपोली बनाएका थिए । अमेरिकी कङ्ग्रेसमा पनि उनीहरूको बलियो प्रभाव थियो । यद्यपि बीसौँ शताब्दीको सुरुवातमा राष्ट्रपति बनेका थियोडोर रूजवेल्टले मोनोपोलीहरू बन्द गर्ने प्रतिबद्धता गरे र उनी पछि आएका विलियम टाफ्ट र उड्रो विल्सनहरूले मोनोपोलीहरूलाई टुक्र्याएर प्रतिस्पर्धालाई प्रोत्साहन गरे । प्रतिस्पर्धाकै कारण अमेरिका नयाँ लगानीको लागि आकर्षक हुन थाल्यो र बिल गेट्सजस्ता धनाड्य आउन सके । प्रतिस्पर्धालाई प्रोत्साहन गर्न नसकेको भए मेक्सिकोमा जस्तो राजनीतिक र आर्थिक प्रभावको आधारमा उद्योग सञ्चालन गर्नुपर्ने हुन सक्थ्यो भन्ने तर्क एसेमोलु र रबिन्सनले गरेका छन् ।

सुचक्र (Virtuous Cycle)

उदार र समावेशी अर्थतन्त्रले त्यस्तै राजनीति माग गर्ने र समावेशी राजनीतिले समावेशी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने चक्र नै सुचक्र हो । यस्तो चक्र बेलायतमा गौरवमय क्रान्तिपछि र अमेरिकामा स्वतन्त्रताको घोषणापछि देख्न सकिन्छ । अघिल्लो खण्डमा उल्लिखित अमेरिकी मोनोपोलीहरूको अवसान सुचक्रको एउटा उदाहरण हो । अर्को उदाहरण अमेरिकामै फ्रयाङ्क्लिन डी. रूजवेल्टले सर्वोच्च अदालतको शक्ति सीमित गर्न चाहेको तर संसदले अस्वीकार गरेको प्रसङ्ग पनि हो ।

दुष्चक्र (Vicious Cycle)

शोषक राजनीतिले अर्थतन्त्रलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्ने र आर्थिकरूपमा सबल भएकाहरूले आफ्नो पक्षमा राजनीति गर्ने शिलशिलालाई दुष्चक्र भन्न सकिन्छ । धेरैजसो अफ्रिकी, दक्षिण अमेरिकी र एसियाली देशहरू यस्तो चक्रमा फसेका छन् । सोमालिया, अर्जेन्टिना, र उत्तर कोरियालाई उदाहरणका रूपमा लिन सकिन्छ ।

दुष्चक्रबाट उन्मुक्ति

शोषक राजनीति र अर्थतन्त्रको दुष्चक्रबाट उम्किन सम्भव छ । यसका लागि राजनीति र बजार दुवै समावेशी बन्दै जानुपर्छ । उदाहरणका लागि दक्षिण कोरियामा १९६० को दशकमा जनरल पार्क चुङ ही राष्ट्रपति बने । उनले राजनीतिक रूपमा अधिनायक शैली लिए पनि अर्थतन्त्रमा भने निकै सुधार गरे । उनको हत्यापछि राष्ट्रपति बनेका चुन डु-ह्वान झनै क्रूर बन्न थाले । तर अर्थतन्त्रको र चेतनाको विकासले उक्त शासन व्यवस्थालाई चुनौती दिने साहस दक्षिण कोरियालीहरूलाई दियो । फलस्वरूप दक्षिण कोरियामा १९९७ देखि लोकतान्त्रिक व्यवस्था कायम भयो ।

अस्थिर आर्थिक प्रगति

शोषक राजनीति भएका ठाउँमा पनि आर्थिक वृद्धि सम्भव हुन्छ किनकि शासकहरू उक्त आर्थिक वृद्धिको लाभ लिन पाउँछन् । त्यस्तो आर्थिक वृद्धिले जनताको जीवनमा भने खासै सकारात्मक प्रभाव पार्न सक्दैन । पारिहाले पनि त्यस्तो वृद्धि दिगो हुन सक्दैन । यसका लागि लेखकद्वयले स्टालिनकालीन सोभियत संघ र हालको चीनलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । स्टालिनले लिएका नीतिले सोभियत संघलाई सैन्य शक्ति त दियो तर कालान्तरमा खण्डित गरिदियो । चीनले समावेशी राजनीतिक संस्थाको विकास नगरेमा त्यहाँको आर्थिक विकास दिगो नहुने र भविस्यमा लोकतान्त्रिक व्यवस्थातर्फ अघि बढ्ने सम्भावना देखिन्छ, किताबले भन्छ ।

पुस्तकमा रहेका केही समस्याहरू

Why Nations Fail मा राष्ट्रभित्रका संस्थाहरू बाहेक अरू पक्षहरूलाई नकारिएको छ । भूगोल र भूराजनीतिको प्रभावको विषयमा पुस्तकमा चर्चा छैनअन्तर्राष्ट्रिय संस्थाहरूको प्रभावका कारण देशले लिने नीतिका विषयमा पनि पुस्तक मौन छ । उदाहरणका लागि अमेरिकामा सन् १९३० को आर्थिक मन्दी (The Great Depression) पछि लोकतान्त्रिक समाजवादमा आधारित किन्सीयन अर्थतन्त्र लागू भयो । त्यसैको सिको युरोपले पनि गर्‍यो । त्यस्तै, सन् १९४४ को ब्रेट्टन उड्स सम्मेलन, दोस्रो विश्वयुद्धपछि युरोपको पुनर्निर्माणका लागि अपनाइएको मार्शल प्लान, रिचर्ड निक्सनद्वारा गरिएको गोल्ड स्टान्डर्डको अन्त्य, सन् १९८० पछि अमेरिकामा रोनाल्ड रेगन र बेलायतमा मार्गारेट थ्याचरको सहमतिपछि उदाएको नवउदारवाद, त्यसमा आधारित IMF र World Bank का गतिविधि, Washington Consensus र तिनले भूराजनीतिमा पारेका प्रभावलाई पूरै बेवास्ता गरिएको छ । त्यसैगरी पश्चिमा गुप्तचर संस्थाहरूले गर्ने शासन परिवर्तन, उदीयमान अर्थतन्त्रमा धक्का लाग्ने गरी “सफल राष्ट्र”हरूले लिने नीतिलगायतका विषय पनि यस मोडलमा अटेका छैनन् ।

प्राचीन राज्यहरूको असफलताका बारेमा लेखिएका कुराहरू संस्थामा आधारित थिए भन्ने कुरा अलि अमिल्दो लाग्छ । नाटुफियन सभ्यताको अन्त्य शोषणका कारण भएको हो भन्ने तर्कलाई पुष्टि गर्ने पर्याप्त आधार रहेनछन् । शिकारी नै भए पनि वासस्थान बनाएर बस्न थालेका उनीहरू राज्यका रूपमा संगठित थिए भन्न सकिँदैन । बरू इजिप्सियन र सुमेरियन राज्यका शोषणका अनगिन्ती प्रमाण भेटिने रहेछन् । त्यस्तै, माया सभ्यताको अन्त्य शोषणकै कारण भएको भन्न सकिने प्रमाण पुग्दैन ।

सिङ्गापुरको एकदलीय शासन व्यवस्था (लोकतान्त्रिक भनिए पनि) र त्यहाँ भएको विकास समेटिएको छैन । चीनका सन्दर्भमा सी चीन फिङले तेस्रो कार्यकालका लागि गरेको संविधान संशोधनले चिनियाँ कम्युनिस्ट पार्टीको शासनलाई अझै बलियो बनाउने देखिएको छ ।

लेखकहरूले आफ्नो मूल थेसिस किताबभरी दोहोराइरहन्छन् । यस्तो लाग्छ कि पटकपटक एउटै कुरा भनेर यही एउटा तर्क नै सम्पूर्ण सत्य हो भन्ने देखाउन खोजेका हुन् । एउटै कुरा दोहोरिरहँदा केही झिँझो पनि लाग्छ । यद्यपि, विशेष परिस्थितिको विश्लेषण र इतिहासको अनिश्चितताका कारण एसेमोलु र रबिन्सनको मोडलमा पूर्वानुमान गर्ने क्षमता (predictability) को कमी छ । भइसकेका घटनाको विश्लेषणका लागि भने केही मद्दत अवश्य गर्छ तर संस्थाहरूलाई मात्रै प्राथमिकता दिने हो भने राजनीतिक र आर्थिक परिवर्तनका अन्य आयामलाई केलाउन सकिँदैन

नेपालको सन्दर्भ

पुस्तकमा नेपालको नाम केही ठाउँमा भेटिनुबाहेक विस्तृत चर्चा छैन । यद्यपि, एसेमोलु र रबिन्सनको मोडलभित्र राख्दा नेपालमा शोषक राजनीतिक व्यवस्थाले चलाएको शोषक आर्थिक प्रणालीका कारण हामी दुष्चक्रमा परेका छौँ भन्न सकिन्छ ।

आधुनिक नेपालको सुरुवात पृथ्वीनारायण शाहले वि. सं. १८२५ मा कान्तिपुरलाई हराएपछि भएको मान्ने गरिन्छ । त्यस समयमा राज्य विस्तारमा सहायता गर्ने भाइभारदारमा शक्ति केन्द्रीत थियो । राज्य विस्तार हुँदै गर्दा भौगोलिक एकीकरण भए पनि राजनीतिक एकीकरण हुन सकेन । अङ्ग्रेजसँग महकालीपारि नेपालले हार्नुको कारण त्यहाँ नेपालको राजनीतिक र सैन्य शक्तिको कमजोर उपस्थिति पनि थियो । अझै पनि नेपालका कतिपय ठाउँमा राज्यको उपस्थिति छैन जसले गर्दा कानुनी शासनको अभाव छ र सीमित व्यक्तिहरूले शोषण गरिरहेकै छन् ।

राणाकालमा देशमा बलियो शासन त आयो तर त्यो पनि भाइभारादारकै मिलेमतोमा सीमित थियो । राणा र पहुँचवालाका लागि मात्रै शिक्षाको व्यवस्था गर्ने तर केही नयाँ गर्न खोज्दा खेद्ने चलन राणाहरूले नै चलाए । शिक्षा र राजनीतिमा सुधार ल्याउन चाहेने देवपद्म समशेरहरू लखेटिए । गेहेन्द्रले वीर गन बनाएर हतियार कारखाना चलाउँदा चन्द्रले भाँजो हाले । चन्द्रले सती प्रथा र दासत्वको अन्त्य गरे र त्रिचन्द्र कलेजको स्थापना पनि गरे । यद्यपि कलेजमा जोकोहीको पहुँच थिएन ।

२००७ सालमा प्रजातन्त्र स्थापना भए पनि शासन केही सम्भ्रान्तका लागि मात्रै सीमित भयो । पहिलो आम निर्वाचनबट बनेको संसद र सरकारले पनि जनजीवनमा खासै परिवर्तन ल्याउन सकेन । त्यसपछि राजा महेन्द्रले सुरु गरेको पञ्चायत व्यवस्थाले सडक सञ्जाल विस्तारउद्योगहरू स्थापना गर्‍यो तर जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सकेन । केही सम्भ्रान्तको पकड (elite capture) पञ्चायतमा देखियो ।

तर जुन पकडको विरुद्धमा प्रजातन्त्रको पुनःस्थापना, लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको स्थापना भयो, त्यसलाई पराजित गर्न नेपाल अझै सक्षम भएको छैन । सीमित स्रोत र अर्थतन्त्र पनि सीमित व्यक्तिमा केन्द्रीत भएकाले गणतन्त्रप्रति पनि जनतामा वितृष्णा उब्जिन थालेको छ । केही आर्थिक-सामाजिक सूचकहरूमा नेपालको प्रगति त देखिएको छ तर सुशासन कमजोर हुँदा जनताले देख्ने गरी देशको विकास हुन सकेको छैन ।

नेपालको अवस्था फेर्न नवप्रवर्तनलाई प्राथमिकता दिँदै प्रतिस्पर्धात्मक औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता छ । तथापि त्यसो गरेमा जनता सक्षम हुने र आफ्नो राजनीतिक शक्ति कमजोर भई सत्ताबाट बाहिरिनुपर्ने डरका कारण राजनीतिक नेतृत्व झन्झन् शोषक बन्दै गएको छ ।

अन्त्यमा,

ड्यारोन एसेमोलु र जेम्स रबिन्सनको Why Nations Fail आर्थिक विकास र समृद्धिमा राष्ट्रका आन्तरिक संस्थाहरूको महत्त्वका बारेमा बुझ्न उपयोगी छ । यद्यपि यसमा अन्य भूराजनीतिक पक्षलाई स्थान नदिएको हुँदा यसको थेसिस सीमित छ । पुस्तकमा दिइएका उदाहरणलाई जस्ताको तस्तै ग्रहण गर्नुभन्दा अन्य पक्षलाई पनि विचार गर्दै पढ्नुपर्ने हुन्छ । गहन अध्ययन गर्न नसक्ने पाठकका लागि संस्थाको महत्त्व मात्रै महत्त्वपूर्ण लाग्न सक्ने हुँदा यस पुस्तकलाई सावधानीपूर्वक पढ्नु उचित हुन्छ ।

स्वतन्त्रता सङ्ग्राम

स्वतन्त्रता सङ्ग्राम

(समर्पण: नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन अर्पण गर्ने सम्पूर्ण योद्धाहरूमा ।)

कुनै कोठामा अरूले थुन्दा पीडा हुन्छ । त्योभन्दा ठूलो पीडा हुन्छ आफूलाई आफ्नै शरीरले थुन्दा । अहिले म त्यही अवस्थामा छु । एउटा खुट्टा काटिँदा नै यसको अलिअलि अनुभव भइसकेको थियो । अहिले त पूरै अन्धकार छ । हातगोडा चल्दैनन् । चिच्याउन खोज्छु तर बोली फुट्दैन ।

मन पनि प्रायः निष्क्रिय नै रहन्छ । होश भएको बेला कानले आवाज टिप्छ तर मेसिनको पिपपिप बाहेक केही आवाज सुन्दिनँ । नाकले स्प्रिटको बास्ना चिन्छ । अस्पतालमा छु कि भन्ने आशङ्का छ तर सत्य थाहा छैन ।

आफ्नै शरीरसँग मनले स्वतन्त्रता सङ्ग्राम गर्दै छ । यो निर्जीवजस्तो शरीरबाट मुक्त हुन चाहन्छ तर सक्दैन । कति दिनदेखि जिउँदो लास भएको छु ? थाहा छैन । यो शरीरलाई फेरि चलाउन सक्छु जस्तो पनि लाग्दैन । मलाई यो अवस्थामा राख्नेले छिटै मुक्ति देला जस्तो पनि छैन । कसले किन मलाई यसरी पाल्दै छ ?

मलाई यसरी राख्नुपर्ने कारण स्मृतिपटमा खोज्दै छु । केही दृश्य चलचित्र जसरी घुम्दैछन् ।

दृश्य १

खाना पस्केर मुखमा हाल्नै लागेको थिएँ, कसैले ढोका ढक्ढकायो । “को हो ?” भित्रबाटै सोधेँ । कोही बोलेन । ह्वीलचेयर गुडाउँदै कोठासम्म पुगेर कमप्युटर स्क्रीनमा हेरेँ । सीसीटिभीले खिचेको भिडियोमा दुईजना अजङ्गका अङ्गरक्षकका बीचमा उभिएको होचोहोचो मान्छेलाई कतै देखेदेखे जस्तो लाग्यो ।

“अर्जुन, ढोका खोल त ।” इन्टरकमबाट आएको स्वर सुनेपछि बल्ल चिनेँ । नवीन पो रहेछ । सँगै कलेज पढेका थियौँ । सरकारमा रहेको पार्टीले बुन्ने प्रोपागान्डाको योजना र प्रचार गर्न माहिर थियो । प्रधानमन्त्रीले पछिल्लो पटक निर्वाचित हुनेवित्तिकै गठन गरेको सञ्चार नियमन बोर्डमा ठाउँ दिएका थिए । केही दिनअघि रामेश्वर सम्पादक भएको आवाज अनलाइनमा सरकारको आलोचना गरेर एउटा लेख पठाएको थिएँ । नागरिकलाई सरकारले फैलाएको भ्रमबाट निस्कन अपिल गरेकै कारण नवीन आफैँ मलाई पक्रन त आएन ? मनमा डरले ढ्याङ्ग्रो ठोक्यो । हुन पनि नियमन ऐनको आडमा बोर्डले सरकारविरुद्ध लेखेबोलेकै कारण जोकोहीलाई जेल हाल्न थालेको थियो । सरकारको आलोचना गर्नु फलामको चिउरा चपाउनभन्दा गाह्रो बन्दै थियो ।

“के कामले आयौ, नवीन ?” भित्रैबाट सोधेँ । “मैले लेखेको कुरा पढेर समात्न त आएनौ ?”

“कुन लेख ? आज यता आउने काम पर्‍यो अनि पुरानो साथीलाई भेट्छु भनेर पो आएँ त ।”

के नवीन साँचो बोल्दैछ ? सँगै गएको आन्दोलनमा म घाइते भएको यत्तिका वर्ष हालचाल सोध्न नआएको ऊ अहिले किन आयो ? मनमा कुरा खेलाउँदै ढोका खोल्न गएँ ।

ढोका खोल्नासाथ नवीनले हास्दै भन्यो, “अर्जुन­­ ! मेरो दोस्त ! धेरै पछि पो भेट भयो त है । झुस्स दाह्री पालेर नचिनिने पो भएछौ त ।”

मैले पनि मुस्कुराउँदै भनेँ, “तिमी पनि फेरिएछौ । सधैँ साधारण कपडामा देखेको । त्यो पनि १०-१५ वर्ष भयो भेट नभएको । अस्ति फोटोमा त यस्तो अनौठो लागेको थिएन । तर यसरी अचानक कालो सुटबुट अनि कालै चस्मा लगाएर दलबलका साथ आएपछि कसरी पो चिन्नू ? बरू भित्रै आऊ न ।”

ऊ मुसुक्क हास्दै भित्र आयो अनि पछाडिबाट ह्वीलचेयर ठेल्दै भन्यो, “भित्र कति बस्छौ यार ? कहिलेकाहीँ बाहिरको हावा पनि खाऊ न ।”

नवीनले किन त्यसो भन्यो ? उसलाई थाहा थियो र म केही दिनदेखि बाहिर ननिस्केको कुरा ? नयाँ शङ्का उब्जियो । डर बढ्यो । “खाना खाँन लाग्याथेँ । खाना खाइसकेर हावा खान जाऔँला नि, हुन्न ?”

“हुन्न, हुन्न । फुर्सद छैन । जिम्मेवारी नै त्यस्तै छ । फेरि हेर न, तिमीले चाहेर पनि मेरो इच्छा बेगर केही गर्न सक्दैनौ ।”

केही बोल्न सकिनँ । मेरो हिँडडुलको साधन नै उसको हातमा थियो । नवीनले सुसेल्दै सरासर गेटबाहिर पुर्‍यायो । उसको कालो रङ्गको गाडी बाटो पारी देखेँ । ड्राइभरले गाडी घुमायो । सँगसँगै आएका बडीगार्डले मलाई जुरुक्क बोके अनि गाडीको पछाडिको सिटमा राखे । एउटा बडीगार्ड मेरो दायाँतिर बस्यो । नवीन मेरो देब्रेतिर बस्यो । अर्कोले ह्वीलचेयर घरभित्र पुर्‍यायो । एकछिन पछि अगाडिको सिटमा आयो । गाडी गुड्यो । मनमनै आत्तिएँ ।

“मलाई कहाँ लाँदैछौ नवीन ?

“त्यो त तिमी आफैँले थाहा पाउँछौ अर्जुन । तर कहिलेकाहीँ गन्तव्य थाहा नभए पनि यात्रा रमाइलै हुन्छ । धैर्य गर ।” ऊ मुस्कुराउँदै बोल्यो ।

“किन लाँदैछौ ?”

“तिमी प्रश्न धेरै गर्छौ अर्जुन ।”

“तिमीले नै सिकाको हौ नवीन ।”

“मलाई गुरु मान्छौ भने अबदेखि प्रश्न नगर ।”

“अहँ, मेरो विवेकले मलाई चुप लागेर बस्न दिँदैन । स्कुलमा शुक्रलाल सर र क्याम्पसमा तिमीले राजनीतिक चेतको साँचो नदिएको भए सायद म मेरो विवेकलाई ताला लगाउन सिक्थेँ होला । तर खै किन हो तिमी अन्धभक्त भएर निस्कियौ । हामी त नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि सँगै लडेका थियौँ । बिर्स्यौ ?”

फेरि मुसुक्क हास्यो । मुस्कान सबैभन्दा ठूलो हतियार हो भन्छन् । उसको हासोले मेरो मथिङ्गल खल्बलियो । उसको विगतको धोका सम्झिएँ अनि भनेँ, “हुन त कसरी पो सम्झिनथ्यौ र ? तिमी त आन्दोलनबाटै भाग्याथ्यौ ।”

मुसुक्क हास्दै भन्यो, “भागेको थिइनँ म । संयोगले बचेको थिएँ । तर तिमी बुझ्दैनौ ।”

उसको त्यो कृत्रिम बोलीमा फसिनँ । भनेँ, “आजसम्म त मलाई सम्झेनौ । के छ कसो छ कहिले पनि सोधेनौ । फेरि तिम्रो कला थाहा छ मलाई । अनि आफ्नो स्वार्थको लागि तिमी जे पनि गर्न सक्छौ ।”

ऊ फेरि बोलेन । मैले ऊसँग बहस गर्न खोजेँ तर ऊ हासेरै मलाई जित्दै थियो । म चाहिँ अवाक् हुनुपरेकोमा रिसले मुर्मुरिँदै थिएँ । ऊसँग हार्दै थिएँ ।

गाडी गुडिरह्यो । नवीनसँग वादविवाद गर्न उसको विद्यार्थीकालदेखि अहिलेसम्मका थुप्रै प्रसङ्गमा सवाल गर्न छाडिनँ । नवीनले जवाफ नदिन छाडेन । कतिपय कुरा त हासेरै टारिदियो । झन्नै दुई घण्टा गाडी रोकिएपछि उसका बडीगार्डहरूले मलाई जुरुक्क बोकेर भुइँमा बसाए । कालो शिशा भएको गाडीबाट घाममा आउँदा एकछिन आँखा तिर्मिरायो ।

“उज्यालोमा अचानक आएपछि आँखा खोल्न गाह्रो हुँदो रैछ नि हैन ?” नवीनले कटाक्ष गर्‍यो । “तिमी अँध्यारोमा यति अभ्यस्त भयौ कि हामीले देखाएको उन्नतिको चमकले पनि तिमीलाई बिझाउँछ ।”

अलि प्रस्ट देख्न थालेपछि नवीनलाई हेरेँ । ऊ डाँडाको छेउमा उभिएर पाइन्टका खल्तीमा हात राखेर परका फाँट हेर्दै थियो । मभन्दा धेरै नै अग्लो देखिएको थियो । भन्दै थियो, “धेरै भएछ यता नआएको । यी हिमाल, पहाड, फाँट नहेरेको । फुर्सदै नहुने ।”

मलाई उसका कुरा सुन्न मन थिएन । तैपनि सोधेँ, “यो कुन ठाउँ हो ? के गर्न यहाँ ल्यायौ ?”

नवीन फरक्क फर्कियो र मलाई एकछिन नियाल्यो । मुहारमा दिग्दारी थियो । उसले कोटको टाँक खोल्यो अनि मेरो छेउमा कसेर बस्दै भन्यो, “यस्तो मनोरम ठाउँमा आएर पनि तिमी अझै प्रश्न गर्दैछौ ? के, किन, कसरी जस्ता प्रश्नहरूले तिम्रो दृष्टिकोण नै दूषित गरेका छन् । एकछिन शान्त होऊ, प्रश्नहरू बन्द गर । दृष्टिकोण बदल यार ।”

मैले बुझिनँ ।

“भनेँ त । प्रश्नहरू बन्द गर । सरकारले गलत गरिरहेको छ भन्ने विचार त्यागिदेऊ । तिमीले सरकार र नियमन बोर्डको बारेमा गलत सोच राखेका छौ, अर्जुन । तिमी ठान्छौ, सरकार स्वेच्छाचारी बन्दैछ । बोर्डको प्रयोग गरेर स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ । त्यो बोर्डको सदस्य भएकाले तिम्रो लागि म भिलेन भएको छु । तर ध्यान दिएर हेर त, बोर्डले कुनै कुरामा बोल्न रोक लगाएकै छैन । कहिलेकाहीँ राज्य र सरकारका विरुद्ध अफवाह फैलाउने देशद्रोहीलाई पक्रेको कुरालाई ठूलो इस्यू बनाउन जरुरी नै छैन । भ्रामक समाचार र सूचनाले लोकतन्त्रको हत्या गर्छ । हामी त्यस्ता गलत कुराहरूलाई निर्मूल पार्न खोज्दैछौँ । तर पनि सबैलाई रोक्न गाह्रो छ । केही तिमीजस्ता प्रश्नकर्ताका दृष्टिमा परिहाल्छन् । अनि सबै कुरा नबुझी नकरात्मक दृष्टिकोण बनाउछौ । सरकार गलत छ, केही काम गर्दैन, जनतालाई दमन गर्छ, आदि इत्यादि । उफ् ! दृष्टिकोण बदल । हामीले गरेका राम्रा काम पनि हेर न ।”

“राम्रो कामलाई नराम्रो कहिले पनि भनेको छैन मैले । तर राम्रो छवि मात्र देखाउने अनि कमजोरीलाई अफवाह भन्ने सरकार प्रोपागाण्डावादी हो भनेर तिमीले नै सिकाको याद छ ?”

“किन नहुनु ? तर बेला त्यसो भनेको बेला परिस्थिति फरक थियो नि । तिमीलाई पनि थाहा छ कसरी त्यो बेला राजाले अधिनायक बनेर निर्वाचित सरकारलाई अनेक लाञ्छना लगाएर बर्खास्त गरेको थियो । स्वेच्छाचारी शासनको विरोध गर्दा हामीलाई “देशद्रोही” भनेको थियो ।”

“त्यति बेला र अहिलेमा के नै फरक छ र ? सत्य र लोकतन्त्रका लागि बोल्नेहरू अहिले पनि देशद्रोही नै त भनिन्छन् नि !”

“तिमी किन बुझेर पनि बुझ पचाउँछौ, अर्जुन ? हामीलाई देशद्रोही भन्नेहरू निरङ्कुश, अधिनायकवादी थिए भन्ने किन बिर्सिन्छौ ? अहिलेको हाम्रो सरकार जननिर्वाचित हो । हामीले जनताको म्यान्डेट बोकेका छौँ । तिम्रो दृष्टिदोषको कारण तिमी दुवैलाई एकै देख्छौ । तिमी अँध्यारोमा यति अभ्यस्त भयौ कि उज्यालो तिमीलाई बिझ्छ । आजकै उदाहरण लिऊँ न । तिमी सोच्दै छौ कि मैले तिमीलाई अपहरण गरेर यहाँ ल्याएँ । तर मैले तिमीलाई अपहरण गरेकै हैन । म त तिमीसँग केही समय बिताउन चाहन्छु अनि तिम्रो सरकारप्रतिको दृष्टिकोण परिवर्तन गर्न चाहन्छु । तर हेर न, वैचारिक मतभेदले एउटा पुरानो साथीसँग पनि समय बिताउन कति मुस्किल गराउँदो रहेछ ।”

“ह्वीलचेयर खोसेर यहाँ ल्याएका छौ, अपहरण पनि हैन भन्दैछौ । तिमी त ठ्याक्कै तिम्रो सरकारजस्तै भएछौ ।” व्यङ्ग्य गरेँ ।

“अघि भनिसकेँ तिमीलाई अपहरण गरेको हैन । केही प्रमाण पनि छैन, अर्जुन ।” नवीन फिस्स हाँस्यो । “तैपनि साथीसाथीमा यस्तो त सामान्य नै हो नि ।”

मौनता छायो । एउटा सिन्काजस्तो घाँस चुँडेर दाँत कोट्याउँदै नवीनले भन्यो, “तिमी अझै पनि इतिहासमा रुमल्लिएका छौ, अर्जुन । तिम्रो मनमा अझै पनि त्यो सामन्ती सरकारका कर्तुतहरूले डेरा जमाएका छन् । तिमीलाई शङ्का छ जनताको यो सरकार पनि त्यस्तै बन्छ कि भन्ने । शङ्काले डर पैदा गरेको छ, कतै यो सरकारले पनि जनताका अधिकार खोस्ने त होइन ? नियमन बोर्डमार्फत् सत्तामा टिकिरहन विरोधीहरूलाई दमन गर्ने त हैन ? शङ्काले लङ्का जलाउँछ, मित्र । तिम्रो शङ्काको आगोले देशलाई खरानी बनाउँछ । त्यसैले शङ्काको निवारण गर्न जरुरी छ ।”

नवीनले मलाई सम्झायो सरकारका योजना र कामकारबाहीहरू । कुन योजनाले के परिवर्तन गर्छ र जनताको जीवनमा कसरी फरक पर्छ । अन्त्यमा भन्यो, “फेरि भन्छु, शङ्का र प्रश्न गर्न बन्द गरिदेऊ, अर्जुन । यसले हाम्रो समय मात्र नाश गरिरहेको छ । फेरि पार्टी र सरकारले प्रश्नलाई निषेध गरेको पनि छैन । तिमीले गर्ने प्रश्न त हामी पनि उठाइरहेका छौँ । छ्लफल गरेका छौँ सदन र सडकमा । समस्या समाधान गरेका छौँ । सरकारको विरोध गरेर तिमीले आफ्नो मात्रै हैन, देशकै समय र स्रोत बर्बाद गर्दैछौ । त्यसको साटो हामीलाई निश्चिन्त सहयोग गर । सबैलाई फाइदा हुनेछ ।”

लामो प्रवचनपछि नवीनका गार्डले गाडीबाट खाजा निकाले । खान मन थिएन तर नवीनले नखाएसम्म घर लगिदिन्न भन्यो । आफ्नो लाचारी अनि नवीनलाई मनमनै सरापेँ । खाइसकेपछि मुस्कुराउँदै भन्यो, “यो कहिले नबिर्स कि तिमीले सरकारी नुन खाएका छौ । सरकारले तिमीलाई पालेको छ । तिम्रो ह्वीलचेयर, तिम्रो दानापानी, सब सरकारी देन हुन् । यीमध्ये कुनै एकको कटौती गरिदियौँ भने तिम्रो अवस्था के हुन्छ होला ? कल्पना गर त ।”

एकछिन भाउन्न भयो । बसिरहेको भुइँ भासिएझैँ लाग्यो । सरकारसँग जीजीविषाको लागि मैले केही मागेको थिइनँ । जसोतसो आफ्नै कमाई खाएको थिएँ । सामाजिक सुरक्षा सरकारको दायित्व थियो । सरकारले दिएको भत्ता लिँदैमा सरकारको गुणगान मात्रै गर्नुपर्छ भन्ने पनि त थिएन । नागरिकले दुःख गरेर तिरेको करबाट तलबभत्ता लिनेले नै देश बर्बाद पारेका थिए । म देश बचाउन खोज्दै थिएँ । नागरिकको करको सदुपयोगको कुरा गर्दै थिएँ । तर यी कुरा भन्नुको कुनै तुक थिएन । नवीनले हाँसेरै टार्ने थियो । रिसाउँदै उसलाई हेर्न बाहेक केही गर्न सकिनँ ।

ऊ अझै भन्दै थियो, “यो पनि नबिर्स कि हामीसँग कसले के गर्दैछ भन्ने सबै जानकारी छ । जनताको सुरक्षाको लागि जनताले दिएको अधिकार प्रयोग गर्दा हामी कसरी तानाशाही भयौँ । हाम्रो सरकार लोकतान्त्रिक छ, अर्जुन । यहाँ प्रतिरोध गर्न पाइन्छ, बोल्न पाइन्छ, प्रश्न गर्न पाइन्छ । तर स्वतन्त्रताको पनि त सीमा हुन्छ नि, हैन र ?”

जनताले वैधता दिए भन्दैमा उनीहरूकै अधिकार कुण्ठित गर्नु जायज हो र ? नवीन किन देखिरहेको थिएन स्वतन्त्रताको अपहरण ? किन सुनिरहेको थिएन स्वाधीनताको चित्कार ? संविधान संशोधन गरेर स्वतन्त्रताको सीमा तोक्ने सरकारलाई अझै किन लोकतान्त्रिक भनिरहेको थियो ? कतै म नै गलत त थिइनँ ? के मैले सत्तारूढ दल र व्यक्तिहरूलाई बुझ्न नसकेरै प्रश्न गरिरहेको थिएँ ?

पलभरमै झसङ्ग भएँ । नवीनले यही चाहेको थियो । ऊ मलाई भ्रममा पार्न खोज्दै थियो । म कसैगरी पनि उसको जालमा फस्नु हुँदैनथ्यो । प्रश्न र तर्कहरूले घेरे । यस्तैमा नवीनका मान्छेहरूले मलाई फेरि बोकेर गाडीमा चढाए । घर पुगेपछि फेरि अघिजस्तै गरी बोकेर ह्वीलचेयरमा राखे । नवीन मुस्कुराइ नै रहेको थियो ।

दृश्य २

रामेश्वरको फोन आयो, “अर्जुनजी, तपाईंको लेख प्रकाशन गर्न बोर्डले अनुमति दियो । किन, कसरी नसोध्नुहोला । म आफैँ छक्क परेको छु …तर तपाईं सतर्क रहनुहोला है ।” 

नवीनले टाकुरीमा प्रवचन सुनाएको केही दिन भएको थियो । नवीनको कुरा सुन्दा त त्यो लेख निस्किने कुनै आशै गरेको थिइनँ । रामेश्वरको कलले चकित भएँ । उनलाई धन्यवाद दिएँ । एक मनले त खुशी भएँ तर कताकता डर पनि लाग्यो । यस्तैमा नवीनको मेसेज आयो, मैले त्यत्रो सम्झाउँदा पनि तिमीले त्यस्तो लेख छपाएरै छाड्यौ ? तिमीले त आफूलाई मात्र हैन, मलाई पनि अफ्ठ्यारोमा पार्‍यौ । भन के गरूँ म ? 

पढ्दापढ्दै नवीनको अर्को मेसेज आयो, तिमीलाई कसैले फोन त गरेको छैन नि ? 

रामेश्वरले फोन गरेको नवीनले थाहा पाइसकेको थियो । स्वाभाविक थियो । सबै सञ्चार माध्यम सरकारको निगरानीमा थिए । तर कतै ऊ आँफै समस्यामा त परेन ? उसको मेसेजले त्रास बढायो । मेरा औँला मोबाइलको किबोर्डमा चल्न लाग्दै थिए, स्क्रिनमा अडिए । मनमा नयाँ विचार आयो–नवीनजत्तिको चलाख र सरकारको विश्वासपात्र कुनै समस्यामा पर्न सक्दैन । ऊ पक्कै मलाई झुक्याउन खोज्दै थियो । रिसले डरको ठाउँ लियो । केही लेखूँ कि नलेखूँ भयो । लामो सास तानेँ । केही जवाफ दिइनँ भने नवीनले जित्नेथ्यो । उसलाई यत्तिकै जित्न दिन सकिन्नथ्यो । उसको हतियार ऊमाथि नै प्रयोग गर्ने निधो गरेर टाइप गरेँ, मुस्कुराऊ  । अनि मोबाइल फुत्त ओछ्यानमा फालेँ ।

दृश्य ३

“सरकार जनताको समर्थन चाहन्छ । सँगसँगै जनतालाई नियन्त्रण पनि गर्न खोज्छ । अवैधानिक तरिका वा कूमार्फत गरिएको नियन्त्रण दिगो हुँदैन । जनताले उकुसमुकुस महशुस गर्छन् अनि अधिनायकवादी सत्ताविरुद्ध ढिलोचाँडो क्रान्ति गर्छन् । जननिर्वाचित सरकारले वैधानिक तरिकाबाट जनतालाई नियन्त्रण गर्छन् । एक पटक चुनाव जितेपछि पाँच वर्षसम्म कानून बनाए पनि नबनाए पनि मनपरी निर्णय गरे पनि जनताको नाम लिएर जनतालाई मूर्ख बनाउन सरकारले वैधानिकता पाउँछ । अन्टसन्ट कानून बनाएर, मनपरी लागू गरेर विरोधीलाई तह लगाउन पाउँछ । उसलाई यो पनि थाहा छ कि जनताका आधारभूत आवश्यकतामाथि नियन्त्रण गर्न सक्यो भने जनता सरकारको गुलाम बन्न थाल्छ । चाहेर नचाहेर जनताले रासन, इन्धन, सामाजिक सुरक्षा लगायतका आधारभूत कुराका लागि आफूलाई बेचिसकेको हुन्छ । त्यसमाथि जनताका प्रत्येक विवरण विदेशीलाई बेच्ने  सरकारले देश नै बेचिदिन्छ । अफशोस, जनतालाई आफू र आफ्नो देश बेचिएको थाहापत्तो हुँदैन ।” 

रामेश्वरको हातमा जाग जनता शीर्षकको मेरो लेखको प्रिन्ट थियो । उनको मुहारमा चिन्ताका रेखा देख्दा बुझेँ–अन्य सम्पादकझैँ यिनी पनि त्यो लेख प्रकाशन गर्न तयार थिएनन् । भन्न थाले, “लेख त राम्रो छ, अर्जुनजी तर केही नपुगेजस्तो …अलि बढी निराशावादी । अलिकति आशावादी भएको भए त पक्कै छाप्ने थिएँ ।”

“आशावादी कुरा पनि छन् त तलपट्टि ।”

एकछिन गमेर सानो स्वरमा भने, “हाम्रो अनलाइनमा छाप्न पाए केही हलचल त हुन्छ होला ।” यसरी प्रशंसा गर्दा त लेख छापिने हो कि भन्ने आशा पलाएको थियो तर त्यो आशा हुर्किन नपाउँदै निमोठे, “तर यस्तो लेख कसरी प्रकाशन गर्ने ? तपाईं आफैं भन्नुस् त अर्जुनजी ।”

“तपाईं आफैँ भन्दै हुनुहुन्छ त यसले तरङ्ग पैदा गर्छ भनेर अनि फेरि आफैँ हिच्किचाउनु हुन्छ ।”

“अर्जुनजी, तपाईँलाई थाहै छ सरकारको कामले देश शान्त तलाउजस्तो बनेको छ । यस्तो शान्त तलाउमा ढुङ्गा फालेर अशान्त किन बनाउने, हैन र ? जे भइरहेको छ, राम्रै भइरहेको छ । यत्तिकै चल्न दिऊँ न ।”

“के भन्दै हुनुहुन्छ रामेश्वरजी ? तलाउ शान्त भएको हैन । जलकुम्भी उम्रेर पानी नै नदेखिने भएको छ । तलाउ जोगाउन जतिसक्दो छिटो जलकुम्भी फाल्नु नै बुद्धिमानी हुन्छ । तपाईँलाई पनि थाहा छ मेरो लेख सत्यको उद्घोष हो । त्यसैले त तपाईं त्यसको माध्यम बन्न खोज्दै हुनुहुन्छ । तर किन डराइ पनि रहनु भएको छ ? अलिकति आँट गर्नुस् । हामीले सत्य उजागर नगरे कसले गर्छ ?”

“हुन त हो ।” उनले आँखा नजुधाई भने । “तर यसरी लेखहरू हामीकहाँ छाप्नुभन्दा आफ्नै ब्लग वा वेबसाइटमा राख्नुभए हुन्थ्यो नि । जति कमाई हुन्थ्यो आफ्नै हुन्थ्यो । रिस्क पनि तपाईँलाई मात्रै हुन्थ्यो ।”

“मेरो वेबसाइट ब्यान भएको थाहा छैन र तपाईँलाई ? नयाँ वेबसाइट बनाउन पनि अनुमति पाएको छैन । जहिल्यै झुलाइराख्छ्न् । तैपनि उनीहरूले दिएको टेम्प्लेट चलाउनुको विकल्प छैन । सामाजिक सञ्जाल पूरै सरकारी नियन्त्रणमा छन् । भीपीएन चलाउँदा महिनौँ इन्टरनेट बन्द गरिदिन्छन् । अनि नबोली नेलेखी बस्न मन लाग्दैन । आफैँ पब्लिस गर्न पाएको भए गरिहाल्थेँ नि । किन यसरी रिस्क लिन्थेँ र ?”

रामेश्वरले गालामा हात लगाएर एकछिन गमे अनि भने, “प्रकाशन गर्न गाह्रो छ  नि, अर्जुनजी ।” एकछिन चुप लागे अनि एकै सासमा साउती मार्दै भने, “हामी पनि कहाँ सुरक्षित छौँ र ? अनलाइन सामग्री मात्रै हैन, कल र मेसेजसमेत सरकारी निगरानीमा छ । अघिल्लो महिना सरकारले गरेका भ्रष्टाचारसम्बन्धी समाचार बनाएका सोनम र एकेन्द्रको अहिले कुनै अत्तोपत्तो छैन । म नै कहिले समातिन्छु थाहा छैन । म समातिएँ भने मेरी बुढी आमालाई तातो पानी दिने पनि कोही हुँदैन ।”

अक्कमक्क भएँ । मेरो लेख कतै प्रकाशन होला जस्तो लागेन । केही छैन । पर्चा बनाएर टोलटोलमा छरेँ भने पनि कसैले त पढ्छ नै । राणाकालमा त्यसो गरेकै हुन् दशरथ चन्दहरूले । हामी आफैँले पनि पहिलेका आन्दोलनमा यस्तो गरेकै हौँ । अब त्यसै गर्छु भन्ने निश्चय गरेर रामेश्वरको अफिसबाट निस्किन लागेको के थिएँ, उनले “एकछिन पर्खिनुस् है” भन्दै रोके । कसैलाई फोनबाट मेसेज गरे अनि खुईय्य गर्दै भने, “अर्जुनजी, तपाईँले ठीकै भन्नुभो । सत्यको उजागर गर्नैपर्छ तर सबै लेख बोर्डमा पठाउनै पर्ने नियम तपाईंलाई थाहा नै छ । बोर्डमा फर्वार्ड गरिदिन्छु । लेख नछापिन सक्छ । छापिए पनि नछापिए पनि प्रतिकूल परिस्थिति आउन सक्छ । त्यसको जिम्मेवारी चैँ तपाईं आफैँले लिनुपर्छ, हुन्छ ?”

नियमन बोर्डको अनुमतिबिना कुनै पनि मिडिया र व्यक्तिले समेत कुनै पनि सामग्री प्रसारण गर्न सक्दैनथ्यो । सामाजिक सञ्जालहरू समेत सरकारी नियन्त्रणमा थिए । वर्तमान सरकार र नियमन बोर्डको विरोध भएको लेख बोर्डले पास गर्ने सम्भावना नै थिएन । लेख लेखेको कारण ममाथि र छापेको कारण रामेश्वर र उनको अनलाइनमाथि जस्तोसुकै कारबाही हुन सक्थ्यो । सायद लेख प्रकाशन गरेर भाइरल हुने लोभ थियो तर धेरै रिस्क लिन चाहँदैनथे । उनले सरकारमा रहेको कसैलाई मेसेज गरेपछि आएको निर्देशनबमोजिम काम गरे कि भन्ने शङ्का पनि लाग्यो तर यो एउटा मौका पनि थियो । त्यसैले भनेँ, “ठीक छ । म तपाईंहरूलाई अफ्ठ्यारोमा पार्दिनँ ।”

रामेश्वरले एउटा कागत प्रिन्ट गरे । मलाई दिँदै भने, “यसमा हस्ताक्षर गरिदिनुस् । प्रकृयामा गएन भने बोर्डले अफ्ठ्यारो पार्छ ।”

सम्झौता पढ्दा झसङ्ग भएँ । कतै रामेश्वरजस्ता इमान्दार भनिएका पत्रकार पनि सरकारको लागि काम गर्दै त छैनन् ? जे सुकै होस् । सत्य र स्वतन्त्रताको आवाज अब दबिनु हुँदैन । निःश्वास लिएँ । “मेरो लेख नितान्त व्यक्तिगत हो । यसले सम्पादक र प्रकाशकलाई कुनै अफ्ठ्यारो नपरोस्” लेखिएको त्यो सम्झौतामा हस्ताक्षर गरेँ ।

दृश्य ४

मोटो चश्मा लगाउने शुक्रलाल सरले मञ्चबाट मुठी कस्दै भन्नुभयो, “सत्ता सधैँ प्रशंसाको भोको हुन्छ । थोरै आलोचना पनि उसलाई बिझ्छ । राम्रो काम गरे धन्यवाद दिन कन्जुस्याइँ गरिँदैन तर ऊ असाध्यै लोभी हुन्छ । उसलाई डर पनि हुन्छ, एक पटक उसले आफ्नो कमजोरी स्वीकार गर्‍यो भने उसको शक्ति क्षीण हुन्छ । त्यसैले सत्य बोल्नेहरूमाथि आक्रमण गरिहाल्छ । हामीसँग छन्, हाम्रै श्रमको मूल्य लुट्नेहरूको प्रमाण। हामीसँग छन्, हाम्रो पसिनाले बनाएको देश बेच्नेहरूको दस्तावेज। हामी चुप लाग्ने छैनौँ, हामी लड्नेछौँ। सत्य बोल्न डराउने होइन, सत्यकै लागि सिङ्गो देश उठ्नेछ।”

परर्र ताली बज्यो । शुक्रलाल सर ओर्लिनुभयो । उहाँको उद्घोषले मेरो जीउमा काँडा उमारिदिएको थियो । अरूहरूमा पनि उत्साहको सञ्चार भएको देखियो । यस्तो लाग्यो कि उहाँका शब्दहरू स्कूलको चौरबाट वरपर रहेका सबका मन-मनमा गुन्जिए । चौध वर्षको मैले उहाँको एक घण्टाको भाषण केहीकेही मात्रै बुझे पनि मनमा अनौठो उत्साह छायो । जिम्दारहरूको शासनबाट मुक्ति मिल्ने अनि नयाँ हुने आशा पलायो ।

चित्रपटमा चौर धमिलियो अनि म आफैँ देखापरेँ । बाटाभरि जानीनजानी शुक्रालाल सरकै भाषण दोहोर्‍याउँदै थिएँ । आफू अघिअघि लामा छायाँ पार्दै उत्साहित भएर दौडिँदै बाआमाले दुःख गरेर बनाएको खरले छाएको सानो छाप्रोमा पुगेँ । आमा भान्सामा धुवाँ फुक्दै हुनुहुन्थ्यो, बा पिंढीमा बसेर बिँडीको धुँवा तान्दै । मलाई खुशी हुँदै आएको देखेर बाले भन्नुभयो, “के भो आज ? निकै खुशी देखिन्छस् त ! जाँचको नतिजा आयो कि के हो ?”

फेरि आफैँ सम्झिनुभो, “अस्ति भर्खर पो फस् भएँ भनेर सुनाको थिस् क्यारे ! त्यसो भए तँ खुशी चैँ किन छस् ? लु भन् त ।”

“आज शुक्रलाल सरको कुरा सुनेर मन त्यसै खुशी भयो । उहाँ भन्नुहुन्छ, अब छिट्टै क्रान्ति सफल हुन्छ रे । जिम्दारहरूको हालीमुहाली सकिन्छ अनि हामीजस्ता किसानको आफ्नो सरकार बन्छ रे ।”

“त्यसका कुरा धेरै नसुन् अनि पछि पनि नलाग् ।” बाले आदेश दिनुभो । “नुनको सोझो नगर्नेको भर हुन्न । आफैँ सरकारी शिक्षक भएर सरकारको विरोध गरी बस्छ । फेरि त्यसका क्रान्तिले त्यसकै नेता अघि बढ्ने हुन् । हामीलाई हुने केही पनि हैन ।”

भान्साबाट आमाले हाम्रो कुरा सुनिरहनु भएको रैछ । भन्नुभो, “पहिला पनि धर्ती नै उलटपुलट पार्ने जस्ता गफ दिएर जिम्दारहरूको विरोध गर्न लगायो । गरियो पनि । अर्को साल बाली बिग्रियो । ऋण दिने कोही भएन । तिनै जिम्दारको शरणमा जान पर्यो । हामी जस्तालाई जिम्दारको विरोध गरेर केही फाइदा छैन ।”

“हो नि ।” बाले सही थाप्नुभो । “तिनै जिम्दारको कृपाले दुई छाक खान पाइएको छ, गतिला कपडा लाउन सकिएको छ, तँलाई पढाउन सकेका छौँ । अरू के चाहियो ?”

“यस्तै सोचले गर्दा त हो नि उनीहरूले हामीलाई पेल्न सकेका ।”

“चुप लाग् । धेरै जान्ने न हो । त्यो शुक्रेका कुरा सुनेर जिम्दारसँग जोरी खोजे भोकै परिन्छ । त्यो शहरबाट आएको मास्टर शहरै जान्छ । दुःख चैँ हामीले पाउछौँ ।”

“त्यस्तो हुँदैन । हामीले थोरै मात्रै आँट गर्‍यौँ भने आफ्नो भाग्यको मालिक हामी आफैँ बन्न सक्छौँ ।”

“भो भो परेन मालिक बन्न । हामी किसानले जति नै आँट गरे पनि जिम्दारले गाउँ छाड्दैनन् । ल गइहाले भने हामीलाई मर्दापर्दा कसलाई गुहार्ने ? त्यो भोकमरी शुक्रेलाई ?”

बाका कुरा सुनेर मेरा कान कन्सिरी ताते । कोठामा गएँ अनि एकछिन एक्लै भुत्भुताएँ । आमाले खाना खान बोलाउनु भयो । खान मन थिएन तर कर गरिरहनु भयो अनि भान्सामा गएँ । खाना पस्किँदै आमाले भन्नुभो, “धेरै क्रान्ति भन्दै नहिँड् है, अर्जुन । गाल आइपर्छ । अस्तिसम्म कसैले भाषण गर्यो भने धरपकड हुन्थ्यो । शुक्रेले अचेल दिनै भाषण दिँदै हिँड्न थालेको छ । जिम्दार काजीहरू जाँच्न चाहन्छन् कोको उनीहरूको समर्थन गर्छन्, कोको विरोध गर्छन् । एकदुई दिन पख् । काजीका विरोधीहरूलाई पाता कसेर लैजान्छन् । तँ सानै छस्, दुनियाँ देखेको छैनस् । काजीहरूसँग त्यस्तो शक्ति हुँदा पनि किन शुक्रेलाई बोल्न छुट दिइरहेका छन् त ?”

भान्साको त्यो दृश्य अलप भयो । स्कूल जाने बाटो देखियो जहाँ म हतारहतार हिँड्दै थिएँ । घाँसदाउरा गर्दा ढिलो भइसकेको थियो । चौतारानेर आइपुग्दा तलतिर केही कल्याङमल्याङ सुनेँ । कोही भन्दै थियो, “अब पनि चेतिनस् भने सिधै माथि पुग्छस् ।”

“तिमीहरूजस्ता भुस्यहासँग डराउँदिनँ । जे गर्न सक्छौ, गर ।”

पछिल्लो स्वर शुक्रलाल सरको जस्तै लाग्यो । आमाले केही दिनअघि भन्नुभएको कुरा याद आयो । डर लाग्यो । हत्तपत्त चौतारीको पीपलपछाडि छेलिएर उभिएँ । प्रहरी पोशाकमा भएका दुईजनाले शुक्रलाल सरलाई लात्ती हान्दै, लघार्दै, कठालो समात्दै लगे । म चिच्याउन खोजेँ तर कसैले पछाडिबाट मेरो मुख थुनिदियो । फर्केर हेर्दा आमालाई देखेँ । नबोल्, आँखाले इशारा गर्नुभयो । डर र आश्चर्यले कि बोली फुट्नै दिएन ।

“खेतमा काम गर्दैथेँ,” एकछिनपछि आमाले साउतीमा भन्नुभयो । “शुक्रेलाई पक्रेको देखेँ । कता चैँ लान्छन् भनेर छेलिँदै पछि लागेको त तँ पो भेटिइस् । तँ पक्कै कराउँछस् भनेर तँलाई रोकेँ । नकरा, बाबु । कराइस् भने तँलाई पनि लैजान्छन् ।”

आमा घुँक्कघुँक्क रुनु भयो । उहाँको अनुमान सत्य भएको थियो । काजी जिम्दारका विरोधीहरू समातिँदै थिए । पहिले श्याम सरलाई लगे, शान्ति दिदी रातारात काठमाडौं फर्किइन्, मीने काकालाई घिस्याउँदै लगे । वरपरका गाउँबाट धेरै धरपकडमा परे भन्ने सुनिएको थियो । गिरफतारीले त्रास बढाएका थिए । क्रान्तिको आवाज दबिएको थियो । म किंकर्तव्यविमूढ भई शुक्रलाल सरलाई लगेको दृश्य हेरिरहेँ । आँखा रसाए । केही गर्न नसकेकोमा पछुतो लाग्यो । अबदेखि कहिले पनि विद्रोहको आवाज थुन्ने छैन, मनमनै प्रण लिएँ ।  

दृश्य ५

“जनआन्दोलन अब छिट्टै उत्कर्षमा पुग्नेछ ।” युनिभर्सिटी क्याम्पसको एउटा कोठमा भेला भएका विद्यार्थीलाई नवीन भन्दै थियो, “अब हामी पनि विश्वविद्यालयबाट पनि जुलुस निकालेर आन्दोलनमा सहभागी हुनुपर्छ । तर जुलुसले मात्र हुँदैन, हाम्रो रणनीति बलियो हुनुपर्छ। पुलिस आउनेछ, तर हामी पछि हट्नेछैनौँ। परिआए तिनलाई पन्छाउँदै पनि अघि बढ्नुपर्छ । सबै समूहमा बाँडिऔँ, नारा लगाउने, विरोध गर्ने, खबर फैलाउने सबै भूमिकामा तयार होऔँ।”

“अस्ति प्राध्यापक र विद्वानहरूको भेलामा पुलिसले धरपकड गरेको थियो ।” कसैले अँध्यारो भएतिरबाट भन्यो ।

“कतिजना थिए त्यो भेलामा ?” नवीनले सोध्यो ।

“त्यै पच्चीस तीसजना थिए होलान् ।”

“अनि त्यति सानो कुनै प्रतिकार नगर्नेहरूको भेला बिथोल्न पुलिसलाई के गाह्रो हुन्छ त ? हामी यहाँ झन्डै अढाई तीन सय जति छौँ । भोलि आन्दोलनमा स्थानीयसँग जोडिँदा हज्जारौं हुनेछौँ । फेरि आइलाग्नेमाथि जाइ पनि लाग्नेछौँ । यत्रो क्रान्ति भइरहेको बेला हामी हात बाँधेर बस्ने कुरै आउँदैन ।”

“आज दिउँसो पुलिसले अन्धाधुन्ध गोली चलायो रे ।” हाम्रै ब्याचकी अस्मिताले भनी, “सडकमा रगतको आहालै थियो रे ।”

नवीनले उसको आँखामा हेर्दै सोध्यो, “डर लाग्यो अनि तिमीलाई ।”

नजर अलिकति झुकाउँदै उसले भनी, “लागिहाल्छ नि डर त । मान्छेको जीवन, उसका सपना एकै पलमा नाश गरिदिन्छन् पापीहरू ।”

“तर यसरी डराएर त पशु पनि बाँच्दैन । हामी त मानिस हौँ नि । डरले बाँधिएर बाँच्नुभन्दा मुक्तिको लडाईं लड्दै मर्ने हो ।”

उसले नवीनलाई हेरी । मुहारमा बेग्लै चमक आएको थियो । उसले सायद आफूभित्र पनि हिम्मत बढिरहेको महसुस गरी।

“जुलुसको सबैभन्दा अगाडि चैं को हुन्छ ?” एक वर्ष जुनियर विवेकले सोध्यो ।

“विवेक हुन्छ सबैभन्दा अगाडि ।” मैले भनेँ । सबै गलल्ल हाँसे । विवेक रातोपिरो भयो ।

“यो विवेक भनेको हैन हौ ।” चुकचुकाउँदै भनेँ । “तिमीहरूले कुरै बुझेनौ ।”

“को विवेक भनेको त ?” कसैले सोध्यो ।

“हामी भित्रको विवेक जसले साँचो झुठो, राम्रो नराम्रो छुट्याउन सघाउँछ । त्यो विवेक जसले हामीलाई पीडाका बीच पनि सुखको बाटो देखाउँछ । शुक्रलाल सर भन्नुहुन्थ्यो, हाम्रो विवेकले नै हामीलाई प्रश्न उठाउन, प्रतिरोध गर्न र परिवर्तन सम्भव छ भन्ने नै हुन्छ । हाम्रो विवेकले नै हामीलाई क्रान्तिको लागि नैतिक बल दिएको हुन्छ । हो त्यही विवेक हुनेछ भोलि पनि सबैभन्दा अगाडि । जबसम्म हामीसँग विवेक छ, हामी कसैको पछाडि छैनौँ, हामी कसैको अघि छैनौँ—हामी सँगै छौँ, एकै मोर्चामा छौँ !”

हलमा गडगड ताली बज्यो, सुईय्य सिट्ठी बज्यो । नारा घन्कियो, “लोकतन्त्र जिन्दावाद !! गणतन्त्र जिन्दावाद !!!”

दृश्य ६

“लोकतन्त्र जिन्दावाद !! गणतन्त्र जिन्दावाद !!!”

टियुबाट बल्खु जाने सडकमा नाराहरू चारैतिर गुन्जिँदै थिए । अघिल्ला दिनका तुलनामा ती अझै चर्का भएका थिए ।नवीन र म जुलुसको अग्रपङ्क्तिमा थियौँ । पुलिसहरू खासै नदेखिएकाले हामी निर्भीक भएर स्वतन्त्रताका नारा घन्काइरहेका थियौँ । जोस्सिँदै, नारा लाउँदै, गीत गाउँदा गाउँदै उत्साह यति बढेछ कि म जुलुसभन्दा अलि अगाडि नै बल्खु पुल पुगेछु । पछाडि फर्केर साथीहरूलाई हातको इशाराले बोलाउँदै थिएँ, दाहिने खुट्टा प्याट्ट पड्कियो । लड्खडाउँदै भुइँमा बसेँ । वरिपरि रगतको आहाल बन्यो । होश आउँदा हस्पिटलमा थिएँ । दुई दिन बितिसकेको रैछ । इन्फेक्सन फैलिँदै गरेको दाहिने खुट्टा डाक्टरले काटेछन् । एउटा खुट्टा नभएको थाहा पाएपछि बेस्सरी रोएँ । तर जे हुनु भइसकेको थियो । मरेको थिइनँ, दिमाग खुस्केको थिएन। आफूले आफैँलाई सम्हालेँ । दावा, विवेक, साधना, रञ्जु र अरू साथीहरूमा आँशु छ्चल्किए ।

सबैभन्दा नजिक रहेको नवीनलाई देखिनँ । केही त भएन उसलाई, प्रश्न गरेँ ।

“नवीन दाइलाई त हामीले अस्तिदेखि नै देखेकै छैनौँ । कुनै चौकीमा हुनुहुन्छ भन्ने पनि सुनेको छैन ।” विवेकले भन्यो ।

“कतै पक्राउमा पो पर्यो कि ?”

“मैले त तपाईंसँग हुनुहुन्छ होला भन्ठानेको थिएँ ।” साधनाले भनी । “केही भइहाल्यो भने तपाईंहरूले एकअर्कालाई सहयोग गर्ने बाचा पनि त गर्नुभएको थियो ।”

“हुन त हो ।” मैले भनेँ, “तर अचानक गोली चल्यो । बेलामा म पनि भाग्थेँ होला । अथवा धरपकडमा पर्थेँ होला ।”

“तर…” दावाले केही भन्न खोज्यो अनि अड्कियो । अरूहरूले टाउको हल्लाएर नबोल्न इशारा गरे ।

“के हो हँ ? के कुरा लुकाइराख्या छौ ?”

“केही हैन ।” सबैले पालैपालो भने ।

“तिमीहरू पक्कै केही त लुकाइराख्या छौ । तिमीहरूको मुहार र हाउभाउले नै सबै कुरा भनिसक्यो ।”

केही छिनको मौनतापछि विवेकले भन्यो, “खासमा तपाईं अगाडि जाँदै गर्दा नवीन दाइ सानेपातिर तर्किँदै हुनुहुन्थ्यो । तपाईंलाई गोली लागेपछि भागाभाग भयो । कोही भिडमा किचिए । हामीले तपाईंलाई बचाउन घेरा हाल्न आयौँ । अस्मितालाई त्यही बेला गोली लाग्यो । दावाले तपाईंलाई जसोतसो बोकेर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍यायो । त्यहाँ संयोगले एम्बुलेन्स पाइयो अनि त्यसमै यहाँसम्म ल्यायौँ । नवीन दाइलाई फेरि देखेको छैन तर उहाँलाई सम्भावित झडपबारे केही थाहा थियो जस्तो लाग्छ । झडप सुरु हुनेबित्तिकै उहाँ जुलुसबाट हट्नुभयो । उहाँले सावधानी अपनाउनभएको पनि हुन सक्छ । तर हामीसँग सम्पर्कमा त आउनुपर्छ नि ।”

अरूले सहमतिमा शिर हल्लाए । म चैँ आत्तिएँ, “अनि अस्मितालाई के भो ?”

“ऊ त…” साधना भक्कानिन थाली । अरूका आँखामा पनि छहरा बगे ।

मेरो मन चिसो भयो । शरीर त गलेकै थियो, मन मस्तिष्क सबै गले । मैले आफ्नो हात हेरेँ । अस्मिता­ ! ऊ सायद यिनै हात समाउन आएकी थिई । यी हातमा अब उसको बलिदानको रगत लागेको थियो । आफैँसँग बाचा गरेँ, “यी हातहरूले अन्याय सहनेछैनन् ।”

दृश्य ७

ह्वीलचेयर छिटोछिटो गुडाउँदै सुन्धारा पुगेँ । साँझ पर्न लागिसकेको थियो । रामेश्वरको अनलाइनमा छापिएको लेख एक हप्ता मात्रै इन्टरनेटमा बस्यो । सामाजिक सञ्जालमा दुईतीन दिन राम्रै बहस भयो सरकारका पक्ष विपक्षमा । सातौँ दिनसम्ममा बहसका लागि अर्कै कुरा निस्कियो । रामेश्वरले सुटुक्क लेख आफ्नो वेबसाइटबाट झिक्यो । भन्यो, “लेखको विपक्षमा रहेको एउटा समूहले रिपोर्ट गरेपछि त्यसलाई डाउन गर्नुपर्‍यो ।” नेट र अनलाइन पत्रिकाको भर पर्न नसकिने भयो । सरकारले गरेका र गर्न खोजेका छलछामका सूचना केही इमान्दार राजनेता र कर्मचारीबाट लिने गर्थेँ । तिनलाई आफ्नै हातले लेखेर, फोटोकपी गरेर, लुकिछिपी छर्न थालेको थिएँ । शहरभरि राखिएका सीसीटिभीबाट जोगिँदै, मानिसका आँखाबाट जोगिँदै पर्चा छर्न कम्ता सकस थिएन ।

नयाँ धरहरा अघि राखिएको ठूलो स्क्रीनमा एउटा कार्टुन दोहोरिरहेको थियो । कार्टुनमा एउटा मानिस जोडसँग कराइरहेको थियो । आवाज त थिएन तर स्पीच बबलमा लेखिएको थियो, “सरकार मुर्दावाद ! लोकतन्त्र मुर्दावाद !! गणतन्त्र मुर्दावाद !!!” उसलाई वरिपरिबाट आएर अरु मानिसले घेर्न थाले । उसले कतै भाग्ने ठाउँ पाएन । पुलिसले उसलाई समातेर लग्यो । अरू मानिसहरूले उसलाई उसलाई पालैपालो चड्‌कन हाने अनि पुलिसलाई सलाम । “देशद्रोही को ?” प्रधानमन्त्रीको आँखीभौँ खुम्चिएको गम्भीर अनुहारको दाहिने छेउमा जवाफहरू आउँदै, जाँदै थिए । “देशद्रोही त्यो, जो लोकतन्त्रको विरोध गर्छ ! देशद्रोही त्यो, जो गणतन्त्रका उपलब्धिलाई स्वीकार गर्न चाहँदैन !! देशद्रोही त्यो, जो सरकारले दिएको सुविधा भोग गरेर सरकारकै विरोध गर्छ !!!”

काठमाडौँ आउने नयाँ मानिस र साना केटाकेटीबाहेक शहरका चोकचोकका स्क्रीनमा चलिरहने त्यो कार्टुन प्रायःले वास्ता गर्न छाडिसकेका थिए । आज पनि ६, ७ वर्षका दुई केटाकेटी ध्यान दिएर हेरिरहेका थिए । उनीहरूको हात समाइरहेको ३३, ३४ वर्षको मान्छेलाई प्रश्न गर्न थाले ।

“कार्टुनको त्यो मान्छेलाई किन पिटेका बाबा ?” केटोले सोध्यो।

“त्यो सरकारको विरोध गर्छ । गणतन्त्रका उपलब्धिलाई मान्दैन। त्यसैले।”

“कसैले सरकारको बारेमा नराम्रो भन्यो भने त्यसलाई पुलिसले लान्छ हो, मामा ?” केटीले सोधी ।

“हो नि । सरकारको विरोध गरेर बोल्नु हुँदैन, लेख्नु हुँदैन, विरोध गरेर लेखेका कुरा पढ्नु हुँदैन । त्यस्तो काम गर्नेलाई पुलिसले समाएर लैजान्छ ।”

“सरकारको विरोध चैँ किन गर्छन् मान्छेहरू ?” केटोले एकछिन सोचेर भन्यो ।

“कोही त्यस्तै विरोधै गर्न मात्रै जन्मेका हुन्छन् के बाबु । तिनको अरू काम हुन्न । नचाहिँदा झिनामसिना कुरा निकालेर बस्छन् । त्यस्ताका कुरा सुन्नुहुन्न । देख्यौ भने पुलिस बोलाऊ है ।”

केटाकेटीले हस् भन्दै टाउको हल्लाए । म झसङ्ग भएँ । शिक्षितहरू पनि सरकारी प्रोपागाण्डाको प्रभावमा परेका थिए । लडाईँ अब सरकारसँग मात्रै छैन, सरकारका हरेक कुरा पत्याउने मानिससँग पनि छ । केही विशेष गर्नैपर्छ । यिनीहरूको मनमा सानै भए पनि विद्रोहको झिल्को बाल्नुपर्छ, निधो गरेँ । ह्वीलचेयर र झोलामा लुकाएका पर्चा दुवै हातमा समातेँ । झोलाबाट म कागज मात्रै निकालिरहेको थिइँन । निकालिरहेको थिएँ–हिजोको विवेक, आजको साँचो र भोलिको चेत खोल्ने शब्दहरू। भएभरको बल लगाएर एक झट्कामा पर्चाहरू आकाशतिर हुर्‍याएँ अनि चिच्याएँ–

“जाग ए, सुतेकाहरू !

बिउँझिएर हेर तिमीहरूमाथि गरिएका छलहरू !!

उठ, जुट

खत्तम गरिदेऊ अन्यायहरू !!!”

कार्टुनमा झैँ मलाई मानिसहरूले घेरे । केही पुलिस आए । तीमध्ये एउटाले एक मुक्का मुखमा बजार्‍यो । कसैले ह्वीलचेयर लडायो । टाउको थिचेर कसैले भुईँको धुलो चटायो अनि पाता फर्काएर हात बाँध्यो । कोही डराइडराइ पर्चा उठाएर पढ्न थाले । बच्चाहरू पनि तिनको नक्कल गर्न थाले । कोही मलाई सहयोग गर्न अघि बढ्न थाले । ती पर्चा उठाउने, पढ्ने र सहयोग गर्न आउनेहरूले पनि वर्दीधारीको गोदाइ खाए । बच्चाहरूलाई पनि छाडेनन् जल्लादहरूले । बेकारमा पिटाइ खानु परेकाहरू प्रतिरोधमा उत्रिए । बच्चाका अभिभावकहरू उल्टै पुलिसमाथि मुक्का बर्साउन थाले । सानोतिनो झडप नै सुरु भयो । धेरैजसो भने रमिता हेर्दै थिए । कोही तर्किँदै पनि थिए । तिनीहरू लाचार थिए जसरी म शुक्रलाल सरको गिरफ्तारीको बेला भएको थिएँ । त्यसैले तिनीहरूमाथि दया पलायो । बेस्सरी कराएँ, “दास मात्रै भयौ भन्ठानेको थिएँ, मानव पनि हुन छाडिसकेछौ ।”

कसैले च्यापुमा एक लात्ती बजार्‍यो । जिब्रो टोकियो । झनन्न भयो । बोल्न खोजेँ तर बोली लर्बरियो । बारम्बार कुटाइ खाइरहेँ । शरीर गल्यो, शिर थिचियो, होश गुम्न लाग्यो । तर पनि कराउन छाडिनँ–

“मर्न अब मलाई डर छैन,

डर छ त केवल मौनताको !

डर छ त पलपल मरिसकेकासँग

सक्दैनन् सवाल गर्न जो !!! …”

***

दृश्यहरूको शिलशिला रोकिन्छ । मन मात्रै चल्दा पनि थकाई लाग्दो रहेछ । धेरैपछि मेसिनको पिपपिपबाहेक अर्को आवाज सुनिन्छ —

टकटकटकटक… जुत्ताको आवाज । कोही मतिर आउँदैछ । को होला ? उसले केही भन्छ कि ? ऊ रोकिन्छ । थपथप थपडीसँगै उसको बोली सुनिन्छ,

“डाक्टरहरू भन्छन्…”

नवीन ?

“… यतिखेर तिमी मलाई सुन्न सक्छौ तर तिम्रो होश केही छिनसम्म मात्र रहनेछ । त्यसैले अहिलेलाई सफलताको धेरै धेरै बधाई, अर्जुन । थाहा छ नि केमा सफल भयौ ? … सरकारको विरोधी बन्न । कथा बन्न । उदाहरण बन्न । … यो सफलताको लागि के पुरस्कार पाउँछौ, थाहा छ ?  … त्यो चैं तिमी आफैँ खोज । केही प्रश्नहरूको उत्तर तिमी आफैँले थाहा पाउने कोशिस गर्नुपर्छ । सफल हुन्छौ हुँदैनौ, समयले बताउला । अहिलेसम्मको सफलताको लागि फेरि पनि बधाई ? … अनि याद गर, कतिपय प्रश्नहरू त उत्तर खोज्नै नपर्ने हुन्छन्, किनकि उनीहरू आफैँ उत्तर बन्छन्।”

यति भनेर ऊ फेरि टकटक जुत्ता बजाउँदै गयो । मन उथलपुथल भयो । चिच्याउन खोजेँ, बोली आएन । शरीर चलेन । मन थाक्यो । मेसिनको पिपपिप मधुरो भयो । फेरि अन्धकारमा जाकिएँ ।

तर अर्धनिद्रामा कल्याङमल्याङ नयाँ आवाज आए । क्रान्तिको नारा सुनेँ–”स्वतन्त्रता जिन्दावाद ! निरङ्कुश सरकार मुर्दावाद !” साइरन बजे । सतर्कताका रेकर्डेड सामग्री बज्न थाले । के भइरहेको छ ? के साँच्चै क्रान्ति सुरु भएको थियो ? कतै भ्रम त हैन ? चिच्याउन खोजेँ । पर क्षितिजबाट आफ्नै बोली गुञ्जिएझैँ लाग्यो । उठ्न बल गरेँ । पटकपटक कोशिस गरे अनि हार खाएँ । बन्धनमै मर्ने भएँ भन्ने डर पलायो ।

ढ्याम्म ! आशा सबै मर्न लागेको बेला नजिकै केही ढल्यो । आँखाले धुमिल दृश्य देखायो । बेडछेऊ कोही आयो । भन्यो, “नआत्तिनुस् अर्जुन सर, निरङ्कुश सरकार ढलिसक्यो । तपाईंका प्रश्न र स्वतन्त्रताका आह्वानले ढिलै भएपनि हाम्रा आँखा खोले । तपाईँलाई साथ दिन हामी आइपुग्यौँ ।”

ऊ को होला ? प्रष्ट चिन्न सकिनँ । सोच्दै गर्दा आँखा फेरि लोलाए । कान बन्द हुन लागे । होश जान थाल्यो । तर उसको बोलीले मन केही शान्त भयो, “तपाईंका प्रश्नहरू, शब्दहरू बाँच्छन् सर । तपाईंको चेतना बाँच्छ । स्वतन्त्रता सङ्ग्राम सफल हुन्छ ।”

मलाई नेपालीहरूसँग डर लाग्छ !

साँझको समय । सुन्धाराको काठमाडौं मल अगाडि गाडी कुरिरहेको थिएँ । पन्ध्र मिनेटभन्दा बढी भइसक्यो बाटो हेरेको तर आफ्नो रुटको गाडी आएन । सुन्धाराबाट घर आउने रुटमा ठूला बस र साना माइक्रोबस गरेर पन्ध्र सोह्र गाडी चल्छ्न् तर साँझको समयमा सधैँ कुर्न पर्छ । अरू दिन त गाडी कुर्न झ्याउ लाग्दा खाजा खान/किन्न सङ्कटा, न्युरोड पुग्थेँ । आज चैं पेट खाली हुँदा पनि एकछिनमा गाडी आइहाल्ला नि त भन्दाभन्दै अन्त गइनँ । पेट कुइँकुइँ गर्न थालेपछि जे पर्ला भनेर उल्टो पाउ सङ्कटातिर जान लाग्दै थिएँ, घर नजिकै जाने बस आइपुग्यो । मानिसहरूको एउटा हुल बसको छेउमा पुग्यो । यस्तो बेला म अलि सुरक्षित स्थानमा बस्न रुचाउँछु । जति नै जबर्जस्ती गरे पनि सिटमा बस्न पाइने होइन भनेर ।  धकेलाधकेल गर्दै मानिसहरू बसमा चढ्न थाले । एकजना महिला ठेमलठेलमा लडिन् । उनीसँगै आएकी एकजनाले उठाइहालिन् नत्र बसको चक्कामा पर्नेथिइन् । उनी लडेको देखेर अर्की एउटी महिला भने हाँसिरहेकी थिइन् ।

अर्को कुनै साँझ । गाडीकै पर्खाइ । बल्लतल्ल भीडमभीड एउटा बस आइपुग्यो । म बिस्तारै बसको ढोकानेर पुगेँ । एकजना मान्छे चढ्ने वित्तिकै भित्रबाट बाहिर निस्कियो । रुट झुक्किएर होला भन्ने लागेको थियो । म बसभित्र पस्नासाथै कसैले मोबाइल हरायो भन्न थाले ।

अरू कुनै दिन । बसको यात्रा थानकोटदेखि सुन्धारासम्म । कलङ्कीमा एउटा दस बाह्रजनाको समूह चढ्यो । केही बच्चाहरू थिए अनि दुईजना अधबैंसे । चढ्ने बेलामा ढिला गरेकाले अलिकति रिस पनि उठ्यो । ठूलो स्वरमा हल्ला गर्दा दिक्क पनि लाग्यो । तर उनीहरूको कुराकानीबाट खेलाडी र प्रशिक्षक रहेछन् भन्ने थाहा भयो । बसको भाडा दिने बेलामा एक जनाको कति भनेर मुख्य प्रशिक्षकले सोधे । कन्डकटरले ३५ भन्यो जबकि भाडा २० रूपैयाँ लिन्छन् । (हुन त भाडा १९ रूपैयाँ हो तर एक रूपैयाँ कसैले राख्दैनन् अनि माग्यो भने पनि पेसेन्जरले नै एक रूपैयाँको लागि किन किचलो गरेको भन्न थाल्छन् । कति दानी ! आहा!) पहिले एकचोटी काठमाडौं आएको नयाँ टोलीलाई बढी भाडा लिँदा पनि आफूले केही नभनेको याद आयो अनि “भाडा त २० रूपैयाँ हो ।” भनेँ । कर्के नजर लाउँदै कन्डक्टरले भाडा काट्यो । बीस नै लिँदा पनि फाइदा उसैलाई भइरहेको थियो । खेलाडीको टोली राष्ट्रपति रनिङ शिल्डमा खेल्न हेटौंडाबाट आएको रहेछ । शुभकामना दिएँ ।

यी घटना हेर्दा सामान्य लाग्छ । तर यिनले हाम्रा डरलाग्दा मानसिकता देखाइदिन्छ्न् । मानिसको चरित्र सङ्कटको समयमा चिनिन्छ भनिन्छ । गाडी ढिला आएर समयमा घर जान नपाउनु पनि सानोतिनो सङ्कट नै हो । तर त्यति सामान्य सङ्कटमा पनि हामी संयमित हुन सक्दैनौँ । अधीर छौँ हामी । दुई मिनेट पनि कुर्न सक्ने क्षमता हामीमा छैन । अनि भीडको पछि लाग्छौँ । ज्यान फालेर भए पनि हामीलाई गन्तव्यमा पुग्नु परेको छ ।

मोबाइल फोन चोरीको घटना पनि नर्मल ठान्छौँ हामी । प्रायः सधैं भइरहेकै त हो ! फोनको खोजी हुन्छ । चोरको खोजी हुन्छ । न फोन भेटिन्छ न त चोर ! “अँ, चोर पनि त कुनै दिन साधु बन्न सक्छ, रत्नाकर वाल्मीकि भएजस्तै ।” हामी भनिदिन्छौँ । अज्ञानवश । वाल्मीकि रत्नाकर डाँकुबाट ऋषि बनेका हुन् कि होइनन् भन्ने बहस भारतको सर्वोच्च अदालतमा पुगेपछि वाल्मीकि कहिले पनि डाँकु थिएनन भनेर फैसला गरिदिएको छ । यही अपराधको सामान्यीकरणले गर्दा हामीमाथी दमन गर्नेलाई पनि हामी सजिलै माफी दिन्छौँ । प्रेम नै पो गर्छौँ त, स्टकहोम सिन्ड्रोमबाट ग्रसित भएर !

बस भाडाको कुराले हामी लुटलाई कति सहन्छौँ र अन्याय हुँदा पनि बोल्न डराउँछौँ भन्ने देखाउँछ । एकदुई रूपैयाँ त हो नि भन्दै अर्बौं कुम्ल्याउनेसम्मलाई समर्थन गर्छौँ । मौका पायो कि अरूलाई लुटिहाल्छौँ । एक रूपैयाँ भए पनि “फाइदा” निकाल्नै परेको छ चाहे नियमकानून जे सुकै होस् । अनि मौन समर्थन पनि दिएकै छौँ ।

यी र यस्तै कुराहरूले मलाई नेपालीहरूसँग डर लाग्छ । यो हतार, यो लोभलालच, यो मौनताले हामीलाई कहाँ पुर्‍याउला ? म त भविस्य अन्धकार देख्छु ।

***

(नोट: २०८१ असार ३१ मा म्युजिकल चेयर जितेपछि कुर्सीमा औपचारिक रूपमा बस्न खड्गप्रसाद ओली “देश र जनता”को नाममा सपथ लिँदै थिए । मुसलधारे पानी परेर काठमाडौँ मल अगाडिको फुटपाथ र बाटो जलमग्न थियो । त्यो हिलो र फोहोरमा म हामी नेपालीका दु:ख देखेर विचलित भएको थिएँ । तीनै तहका सरकारसँग एकदमै रिस उठेको थियो । जो आए पनि सामान्य मानिसको जीवनमा के नै फरक परेको थियो र ? सात बज्न लाग्दा पनि रुटको गाडी नआएपछि रिसको झोंकमा एक घण्टाको बाटो हिँडेर घर पुगेको थिएँ ।

एउटा लेख लेखूँला भन्ने सोच्दैथेँ तर यस्तो अवस्थामा हामी कसरी आइपुग्यौँ होला भन्ने कल्पना गर्न थालेँ । कमजोरी हामीमा पनि नभएको हैन । हामी जस्ता छौँ हाम्रो नेतृत्व पनि त्यस्तै हुने हो । हामीलाई सामान्य लाग्ने घटनाहरूलाई केलाउँदै यो लेख पुसमै तयार गरेको थिएँ । अलि बढी नै निराशावादी भयो भनेर पब्लिस गरेको थिइनँ । तर चैत १५ मा तीनकुनेमा जे भयो, त्यसले हाम्रो मनस्थिति मैले सोचेँभन्दा पनि डरलाग्दो लाग्यो ।)

सावर्णि पुस्तक आवरण

मानव र एआईको सम्बन्ध : “सावर्णि” उपन्यासको सन्दर्भमा

(सुझाव : डा. श्रीधर खनाल रचित सावर्णि उपन्यास पढ्नुभएको छ भने पढ्नुहोला । कहानी खोतलखातल गरिएको छ । उपन्यास पढ्नुभएको छैन तर पनि यो लेख पढ्न चाहनुहुन्छ भने पनि ठीकै छ ।)

पृष्ठभूमि

पुराणहरू भन्छन्– ब्रह्माको आयु १०० वर्ष हुन्छ । ब्रह्माको ५० वर्षको समयलाई परार्ध भनिन्छ । ब्रह्माको दिन (१२ घण्टा) अर्थात् कल्प मा सृष्टि हुन्छ र रातमा प्रलय भई सृष्टिको अन्त्य हुन्छ । प्रत्येक कल्पमा चौध मन्वन्तर हुन्छन् जसमा चौध मनुहरूले मानवको सृष्टि वा संरक्षण गर्छन् । हरेक मनवन्तरमा एकहत्तर महायुग (चतुर्युग) हुन्छन् । हामी अहिले ब्रह्माको द्वितीय परार्धको पहिलो वर्ष अर्थात् ५१ औं वर्षमा श्वेतवराह कल्पको ७औं मनुको समय (वैवश्वत मनवन्तर) अन्तर्गत २८औं महायुगको कलियुगमा छौँ । २८औं महायुगकै द्वापर युगमा भगवान् विष्णु अवतरित हुनुभएको थियो श्रीकृष्णका रूपमा । ८औं मनुलाई सावर्णि भनिएको छ । सप्तशती (चण्डी)मा पनि देवीको एक नाम सावर्णि रहेको छ ।

डा. श्रीधर खनाल कृत उपन्यास सावर्णिको मूल पात्र सावर्णि पनि मनुझैं मानवको उत्पत्ति र संरक्षण गर्छन् । यद्यपि उनी देवी भने होइनन् । उनी एक कृत्रिम बौद्धिकता भएका तर भावुक यन्त्रमानव हुन् जो लोप भइसकेका मानवलाई ल्याबमा जन्माउँछन् र तिनलाई पालनपोषण एवम् दिशानिर्देश गर्छन् ।

सावर्णि पुस्तक आवरण

सावर्णि उपन्यासको कथा

उपन्यासमा दुईवटा कथा छन् । पहिलो अध्यायको कथामा जीपीटी-२००० नामको एआई सफ्टवेयरले न्यारेटरलाई पिछा गर्छ, फोन गर्छ र एउटा इमेल पठाउँछ । यो बाह्रखरी उत्कृष्ट कथा २०८० मा रहेको जीपीटी २००० शीर्षकको कथामा पनि भेटिन्छ । यस कथाको समीक्षामा लेखेको थिएँ :-

ChatGPT 4.0 ले तहल्का मच्चाइरहेको बेला जीपीटी २००० ले धमाका गर्ने आशा पलायो । कथाको सुरुवात राम्रो लाग्यो । जीपीटी २००० ले मोबाइलमा इन्स्टल गरेपछि इमेल, क्यामरा र लोकेसनको आधारमा ट्रयाकिङ गर्ने कुरासम्म कथा ठीकै थियो । ‘असुर’को दोस्रो सिजनको झल्को आउला जस्तो लागेको बेला उसले न्यारेटरलाई सर्वोत्कृष्ट भन्दै गरेको भविस्यवाणीले कताकता ‘म्याट्रिक्स’ को झल्को दियो । आपसी कलहका कारण मानिसहरू लोप भइसकेपछि पनि AI बच्ने कुरा अलि पत्यार नलाग्दो नै थियो । हुन त AI को भविस्यवाणी हो । मिल्नैपर्छ भन्ने छैन ।

त्योभन्दा पनि पत्याउन नसकिने कुरा चैं जीपीटीले आफूले सबैलाई ट्रयाक गरिरहेको कुरा कसैलाई भन्ला भन्ने हो । हामीले इन्स्टल गर्ने एप्लिकेसनहरूले हामीलाई ट्रयाक गर्ने कुरा नौलो हैन । जानी नजानी हामी permission पनि दिइरहेका हुन्छौँ । तर सिधै फोन र इमेल गरेर ट्रयाक गर्छौँ भने भने वाचकले झैं uninstall गरेर व्यापार चौपट हुन्छ होला । खैर, कथामा जताततै देखिने मानवीय प्रलयको डरको लामो वर्णन छ जुन अझै रोचक बन्न सक्थ्यो जस्तो लागिरह्यो ।

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १)

जीपीटी २००० को दोस्रो भागको फैलावटका रूपमा सावर्णिको मूल कथा प्रस्तुत गरिएको छ । सावर्णिले मानव बनाएर हुर्काएको हजारौं वर्षपछिका देरिका र वासु अनि उनीहरूका सन्तान किसनको वरिपरि घुम्छ । यी पात्रका नाम द्वापर युगका देवकी, वसुदेव र कृष्णसँग मिल्छ । रूखमा चढेर बाँसुरी बजाउने र नदीमा पौडी खेल्ने किसनका दृश्यहरू कृष्णका कहानीबाट झिकिएका छन् । तथापि किसन कृष्ण होइनन् । न त देरिका र वासु हुन् देवकी र वसुदेव ।

देरिका र वासु सावर्णिले बनाएको नगरका नगरवासी हुन् । उनीहरू पूर्णतः एआई पर्सनल एसिस्टेण्ट (पीए) र रोबोटको नियन्त्रणमा छन् । पीएमाथि उनीहरू यति निर्भर छन् कि घरबाट निस्किन र साथि बनाउन समेत उनीहरू आफैँ सक्दैनन् । यस्तोमा देरिका र वासु पीएको सहायताले प्रेम गर्न पुग्छन् । देरिका गर्भिणी भएपछि जाँच गराउँदा भ्रुणमा जेनेटिक डिफेक्ट देखिएको भन्दै सात पटक एबोर्सन गरिन्छ । आठौँ बच्चा बस्नुअघि भने देरिकाको पीए देरिकले आफूलाई बन्द गर्न सुझाउँछ ताकि सेन्ट्रल सिस्टमलाई थाहा नहोस् । नौ महीनापछि द्वापर युगमा कृष्ण जन्मिएको ग्रहनक्षत्रको अवस्थामा किसनको जन्म हुन्छ । साथै, किसनको जीवनको सन्दर्भमा भविस्यवाणी गरिन्छ कि उनी एउटा युद्धको कारक बन्नेछन् । उनले भविस्यमा के गर्लान् भन्ने कुतूहलले अन्तिमसम्म तानिरहन्छ ।

शास्त्रार्थ : मानव को हो ?

उपन्यासको क्लाइमेक्स अघि किसन र सावर्णि अनेक विषयमा शास्त्रार्थ गर्छन् । यद्यपि लेखकले बढी महत्त्व दिएको विषय हो, “मानव को हो ?”

किसन प्रश्न गर्छन्, सावर्णि युगमा जन्मिएका प्राचीन (हामी र हाम्रा पुर्खा) जस्तै देखिने तर हरेक कुरामा एआईमा निर्भर प्राणी मानव हुन् त ?

पुराना मानिसको जस्तै जेनेटिक्स र स्वरूप भएकाले ती मानव नै हुन् भन्ने तर्क सावर्णिको छ । किसनको राय फरक छ । मानव स्वरूप भएपनि यदि उनीहरू आफैँ सोच्न सक्दैनन्, हरेक कुरामा एआईको भर पर्छन् भने उनीहरू एआईका दास हुन् । जसमा तर्क गर्ने क्षमता छैन, जो कुनै कुरा रचना गर्न सक्दैनन्, जसलाई डरले हरेक समय जकडेको छ, ती मानव कसरी हुन सक्छन् ?

अहिले नै पनि हामी मानव भएर जीउन सकेका छैनौँ । मानव सिर्जित कृषि र आय आर्जनका कार्य, धन, समाज, राजनीतिजस्ता विषयले हामीलाई स्वतन्त्र बनाउन दिएका छैनन् । त्यसैले त रुसोले द सोसल कन्ट्र्याक्ट मा लेखेका छन्, “मानिस स्वतन्त्र जन्मन्छ तर त्यसपछि सर्वत्र साङ्लोले बाँधिन्छ ।” क्याल्कुलेटर, कम्प्युटर, स्मार्टफोनजस्ता आविष्कारले हाम्रो जीवन सहज बनाएका छन्, सूचनामा पहुँच पनि बढाएको छ तर हामीलाई अल्छि पनि त बनाइरहेको छ । धेरै दिमाग लगाउने कामहरू सहजताका हिसाबले कम्प्युटर र मोबाइललाई त दिइ नै सकेका छौँ । अहिले मज्जाले दोहोरो कुरा गर्न सक्ने अनि हाम्रो भाषा बुझेर हाम्रा सवाल हल गर्न सक्ने Generative Pre-trained Transformer (GPT) प्रोग्रामहरूले हामीलाई मोहनी लगाएका छन् । Virtual reality ले पनि हामीलाई बाँध्न थालिसकेको छ । अझै विकसित हुँदै जाँदा प्रविधिले हामीलाई “Her”, “Matrix”, “I, Robot”, “Terminator”, “Ready Player One” जस्ता चलचित्रमा देखाइएको जस्तो संसार अब टाढा छैन भन्न सकिन्छ ।

सूचनामा छिनमै पहुँच भएका हामीले विकसित गरेका स्मार्ट प्रोग्रामभन्दा स्मार्ट हुनु अबको हाम्रो चुनौती छ । ChatGPT ले पनि त आफैं भनेको छ कि उसको जवाफ गलत हुन सक्छ । खासगरी प्राविधिक विषयमा यसको प्रयोग गर्दा cross-question गर्न जानिएन, critically हेर्न सकिएन भने गलत सूचना पाउन र फैलिन सक्छ । केहीदिनअघि बुकाहोलिक्समा किताबहरू सम्बन्धी टृभियाको लामो सूचि देखिएको थियो । अङ्ग्रेजीबाट नेपालीमा ChatGPT ले अनुवाद गरेको भनिएको सो पोस्टमा एउटा टृभिया थियो, “हुर्री र नशा जस्ता शब्दहरू शेक्सपियरले आविष्कार गरेका थिए ।” शेक्सपियरले नेपालीमा त कुनै शब्द आविष्कार गरेका हैनन् । अङ्ग्रेजीमा के रहेछन् भनेर सोधेको थिएँ । एक जना साथीले मेसेजमा भनिदिनुभयो तर त्यो पोस्टको कमेन्टमा कपी-पेस्ट गरेँ है भन्ने विद्वान साथीहरू पनि हुनुहुन्थ्यो । ChatGPT माथि पढेलेखेका विद्वानले नै पूर्ण विश्वास गर्नु अनि त्यहाँ दिइएका तथ्य केलाउन नखोज्नुले मलाई त्यस्तै त्रसित बनायो ।

अहिले त एआईले बनाएका चित्र, चलचित्र, गीतसङ्गीत, लेख रचना इन्टरनेटभरि छरपस्ट छन् । Deepfake (एउटाको शरीरमा अर्काको अनुहार राख्ने) जस्ता प्रविधि त दश वर्षअघि नै आइसकेको थियो । अब चाहिँ हातहातमा आउँदैछन् । कुन साँचो कुन झुठो भन्ने छुट्याउन झन्झन् गाह्रो हुँदैछ । भविस्यमा यसले अझ विकराल समस्या ल्याउन सक्नेछ । हाम्रा बाजागाजा लोप हुन सक्नेछन्, हाम्रो रचनागर्भ खाली हुन सक्नेछन् अनि हामी आत्मविश्वासहीन भई एआईको नियन्त्रणमा हुनेछौँ ।

यस्तो हुन नदिन हामी सजग हुनुपर्छ । हरेक कुरालाई भेरिफाई गर्नुपर्छ । आफ्नो रचना बैंकलाई रिचार्ज गरिराख्नुपर्छ । सम्बन्धहरू गाँस्नुपर्छ । प्रविधि साक्षरता बढाउँदै प्रविधिलाई उछिन्नुपर्छ ।

केही अनुत्तरित प्रश्नहरू

सावर्णिमा किसनले आफैँ घरबाहिर जानु, बाँसुरी बजाउनु, रूख चढ्नु, पौडी खेल्नुजस्ता कार्यलाई क्रान्तिकारी भनिएको छ किनभने सावर्णिको नगरमा ती कहिल्यै नगरिएका कुरा हुन् । यिनै कुराले कथालाई रोचक बनाउँछन् । किसनले गरेका कामको सजाय सावर्णिले देलान् कि नदेलान् भन्ने मनमा परिरह्यो अनि कथाले अनौठा मोड लिइरह्यो । अन्तिमसम्म आइपुग्दा भने केही प्रश्नहरू आइरहे जसको जवाफ पाइएन ।

१. सावर्णिलाई कसले डिजाइन गर्‍यो ?

२. उनलाई एआई प्रमुख किन र कसरी बनाइयो ?

३. मानवहरू लोप भएको वर्षौंपछि सावर्णि कसरी “जीवित हुन” सके ?

४. सावर्णिको शरीर कुन वस्तुले बनेको थियो ? उनलाई बाँधेको साङ्लो के को थियो ? फलाम, स्टील वा आल्मुनियम त हजारौं वर्षमा पूरै खिइन्छन् । प्लास्टिकमा समेत त्यत्रो समयमा त परिवर्तन आउँछ ।

५. सावर्णिजस्ता अरू यन्त्रमानव किन एउटा पनि रहेनन् ?

६. उपन्यास भन्छ, “पृथ्वीमा ठूलठूला चिरा परेको थिए ।” ती चिराले असुरक्षा पनि बढाएको छ । तथापि जुन सावर्णिले जेनेटिक रिकोडिङ गरेर मानव भ्रुण ल्याबमा तयार गर्न सके तिनले चिराहरू पुर्न वा बन्द गर्न किन सकेनन् ?

७. सावर्णिले मानिसहरूलाई किन भाग्यवादी बनाए ? बालकको न्वारानसँगै गरिने भविस्यवाणीलाई किन महत्त्व दिइएको ?

८. जेनेटिक रिकोडिङ गरेर बनाइएका मानवका सन्तानबाट जन्मिएका किसनमा पुराना मानिसको जिन कसरी आयो ?

९. किसनले बुवालाई खाना पकाउन किन लाएनन् ? किन आमालाई मात्रै लगाए ?

१०. जहाँ मानिसहरू एआईको नियन्त्रणमा रहन्छन् र जेलजस्तो जीवन बिताउँछन् त्यहाँ सजाय र जेलको व्यवस्था किन चाहिन्छ ?

११. किसनले सानोमा कानून तोड्दा सजाय पाए । तर पछि जेल जाने बेलामा त बेकसुर थिए । सावर्णिले पनि स्वीकारेका छन् अनि फेरि जेल जान किन राजी भए ? किसनमा विद्रोह उब्जिएर अरूलाई पनि पीएबाट स्वतन्त्र हुन आह्वान गरेका भए ?

१२. किसन जेल जाने बेला र त्यसपछि वासु कता गए ?

१३. मङ्गलबाट मानिस फर्किन सक्छ भन्ने पूर्वानुमान गरेर देरिकमार्फत देरिकालाई किसन जन्माउन प्रेरित गर्ने सावर्णि मङ्गल ग्रहबाट मानिसहरू आउँदा किन छक्क पर्छन् ?

१४. मङ्गलको हावापानीमा एड्याप्ट भएर आणविक हातहतियार बनाउने पुस्तासम्म पुग्न साँच्चै चैं कतिको सम्भव होला ?

१५. किसनको सल्लाह मानेर सावर्णिले मानव आफू र आफ्नो सिस्टमबाट मुक्त गर्लान् ? (यहाँ सावर्णि २ को सम्भाव्यता देख्दै छु ।)

सोचमग्न बनाएका केही कुरा

उपन्यासमा एआईको नियन्त्रणमा नरहेका मानिसलाई धेरै ठाउँमा मूर्ख, युद्ध गर्न चाहने र घातक चित्रित गरिएको छ । “मानवविनाको पृथ्वी सुन्दर थियो ।” दुईतीन ठाउँ लेखिएको छ । यद्यपि सावर्णि एक्लो महसुस गर्छन् र बचेखुचेका शुक्रकीट र डिम्ब प्रयोग गरी केही जेनेटिक हेरफेर गरेर मानव नै तयार पार्छन् । नौ दश बच्चालाई हुर्काउन सुरुमा पीए रोबोट तयार गरेको भने पनि निरन्तरता दिइरहेकै छन् । त्यस समयमा पहिलेझैं वनस्पति र पशुपन्छी थिए पनि भनिएको छ तर मानव जीवनका लागि अनुकूल थिएन, विकिरण धेरै थिए आदि इत्यादि जस्ता विरोधाभास हुने कुरा पनि भनिएको छ ।

सावर्णिले कानून लुकाएका छन् । कतिपय कानूनको बारेमा पीएलाई पनि थाहा छैन । फेरि सावर्णिले इतिहास लुकाएका मात्रै छैनन् अन्तिमसम्म आइपुग्दा तोडमरोड नै गरेका छन् । पहिलोचोटि पढ्दा मलाई सावर्णि करूणामय लागे । मानवलाई बचाउन उनले गरेका प्रयासप्रति कृतज्ञ भए । दोस्रोपटकमा भने उनका नकारात्मक पाटो बढी खुले । अन्तिम अनुच्छेदका दृश्यहरू त भयानक नै लागे । उपन्यासमा सिधासिधा मानवलाई जति क्रूर भनिएको छ, त्यस्तै क्रूर सावर्णिलाई पाएँ ।

चित्त नबुझेका कुरा

१. नारायणस्वरूप श्रीकृष्णको चरित्रबाट प्रेरित किसनलाई पछिल्लो भागमा कमजोर बनाइएको छ । श्रीकृष्णको चरित्र नदेखाई मौलिक कथा पेश गरिएको भए अझै राम्रो हुन्थ्यो ।

२. व्याकरणीय समस्याहरू, जस्तै :

क) भूत कालको बीचमा वर्तमान कालको प्रयोग ।

ख) एकै अर्थका दुई कुरा सँगसँगै आउनु (redundancy), उदाहरण : “देरिकाले आस्ते-आस्ते मीठो र स्वादिलो खाना पकाउन सिक्दै गई ।”, “धुन खास अनि विशेष थियो ।” आदि ।

“प्रोफेसनल” प्रकाशनहरूबाट प्रकाशित कृतिहरूमा यति धेरै व्याकरणमा समस्या हुनु नहुने हो ।

३. Stephen Hawking को नाम नेपालीमा स्टेफन हकिङ्स र इस्टेफेन हकिङ्स लेखिएको । स्टेफेन हकिङ हुन्छ होला । हकिङ्स त हुँदै हुँदैन ।

अन्त्यमा

कथानकले बढाउने हुटहुटी र दार्शनिक पक्षले सावर्णिलाई पठनीय बनाएका छन् । यद्यपि कथामा भर्न बाँकी खाडल थुप्रै छन् । सावर्णिको पात्रलाई अझै एक्स्प्लोर गर्न सकिन्छ र कथाहरू विस्तार गर्ने ठाउँ अझै छन् । उपन्यास प्रकाशनमा अलि हतार गरिएको हो कि भन्ने पनि लाग्यो । द्वापर युगको कथासँग नजोडिएर मौलिक कथा सिर्जना गरिएको भए अझै उत्कृष्ट बन्न सक्थ्यो ।

Page 1 of 5

Powered by WordPress & Theme by Anders Norén