Experiences of a common man!

Category: नेपाली Page 2 of 5

स्वतन्त्रता सङ्ग्राम

स्वतन्त्रता सङ्ग्राम

(समर्पण: नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन अर्पण गर्ने सम्पूर्ण योद्धाहरूमा ।)

कुनै कोठामा अरूले थुन्दा पीडा हुन्छ । त्योभन्दा ठूलो पीडा हुन्छ आफूलाई आफ्नै शरीरले थुन्दा । अहिले म त्यही अवस्थामा छु । एउटा खुट्टा काटिँदा नै यसको अलिअलि अनुभव भइसकेको थियो । अहिले त पूरै अन्धकार छ । हातगोडा चल्दैनन् । चिच्याउन खोज्छु तर बोली फुट्दैन ।

मन पनि प्रायः निष्क्रिय नै रहन्छ । होश भएको बेला कानले आवाज टिप्छ तर मेसिनको पिपपिप बाहेक केही आवाज सुन्दिनँ । नाकले स्प्रिटको बास्ना चिन्छ । अस्पतालमा छु कि भन्ने आशङ्का छ तर सत्य थाहा छैन ।

आफ्नै शरीरसँग मनले स्वतन्त्रता सङ्ग्राम गर्दै छ । यो निर्जीवजस्तो शरीरबाट मुक्त हुन चाहन्छ तर सक्दैन । कति दिनदेखि जिउँदो लास भएको छु ? थाहा छैन । यो शरीरलाई फेरि चलाउन सक्छु जस्तो पनि लाग्दैन । मलाई यो अवस्थामा राख्नेले छिटै मुक्ति देला जस्तो पनि छैन । कसले किन मलाई यसरी पाल्दै छ ?

मलाई यसरी राख्नुपर्ने कारण स्मृतिपटमा खोज्दै छु । केही दृश्य चलचित्र जसरी घुम्दैछन् ।

दृश्य १

खाना पस्केर मुखमा हाल्नै लागेको थिएँ, कसैले ढोका ढक्ढकायो । “को हो ?” भित्रबाटै सोधेँ । कोही बोलेन । ह्वीलचेयर गुडाउँदै कोठासम्म पुगेर कमप्युटर स्क्रीनमा हेरेँ । सीसीटिभीले खिचेको भिडियोमा दुईजना अजङ्गका अङ्गरक्षकका बीचमा उभिएको होचोहोचो मान्छेलाई कतै देखेदेखे जस्तो लाग्यो ।

“अर्जुन, ढोका खोल त ।” इन्टरकमबाट आएको स्वर सुनेपछि बल्ल चिनेँ । नवीन पो रहेछ । सँगै कलेज पढेका थियौँ । सरकारमा रहेको पार्टीले बुन्ने प्रोपागान्डाको योजना र प्रचार गर्न माहिर थियो । प्रधानमन्त्रीले पछिल्लो पटक निर्वाचित हुनेवित्तिकै गठन गरेको सञ्चार नियमन बोर्डमा ठाउँ दिएका थिए । केही दिनअघि रामेश्वर सम्पादक भएको आवाज अनलाइनमा सरकारको आलोचना गरेर एउटा लेख पठाएको थिएँ । नागरिकलाई सरकारले फैलाएको भ्रमबाट निस्कन अपिल गरेकै कारण नवीन आफैँ मलाई पक्रन त आएन ? मनमा डरले ढ्याङ्ग्रो ठोक्यो । हुन पनि नियमन ऐनको आडमा बोर्डले सरकारविरुद्ध लेखेबोलेकै कारण जोकोहीलाई जेल हाल्न थालेको थियो । सरकारको आलोचना गर्नु फलामको चिउरा चपाउनभन्दा गाह्रो बन्दै थियो ।

“के कामले आयौ, नवीन ?” भित्रैबाट सोधेँ । “मैले लेखेको कुरा पढेर समात्न त आएनौ ?”

“कुन लेख ? आज यता आउने काम पर्‍यो अनि पुरानो साथीलाई भेट्छु भनेर पो आएँ त ।”

के नवीन साँचो बोल्दैछ ? सँगै गएको आन्दोलनमा म घाइते भएको यत्तिका वर्ष हालचाल सोध्न नआएको ऊ अहिले किन आयो ? मनमा कुरा खेलाउँदै ढोका खोल्न गएँ ।

ढोका खोल्नासाथ नवीनले हास्दै भन्यो, “अर्जुन­­ ! मेरो दोस्त ! धेरै पछि पो भेट भयो त है । झुस्स दाह्री पालेर नचिनिने पो भएछौ त ।”

मैले पनि मुस्कुराउँदै भनेँ, “तिमी पनि फेरिएछौ । सधैँ साधारण कपडामा देखेको । त्यो पनि १०-१५ वर्ष भयो भेट नभएको । अस्ति फोटोमा त यस्तो अनौठो लागेको थिएन । तर यसरी अचानक कालो सुटबुट अनि कालै चस्मा लगाएर दलबलका साथ आएपछि कसरी पो चिन्नू ? बरू भित्रै आऊ न ।”

ऊ मुसुक्क हास्दै भित्र आयो अनि पछाडिबाट ह्वीलचेयर ठेल्दै भन्यो, “भित्र कति बस्छौ यार ? कहिलेकाहीँ बाहिरको हावा पनि खाऊ न ।”

नवीनले किन त्यसो भन्यो ? उसलाई थाहा थियो र म केही दिनदेखि बाहिर ननिस्केको कुरा ? नयाँ शङ्का उब्जियो । डर बढ्यो । “खाना खाँन लाग्याथेँ । खाना खाइसकेर हावा खान जाऔँला नि, हुन्न ?”

“हुन्न, हुन्न । फुर्सद छैन । जिम्मेवारी नै त्यस्तै छ । फेरि हेर न, तिमीले चाहेर पनि मेरो इच्छा बेगर केही गर्न सक्दैनौ ।”

केही बोल्न सकिनँ । मेरो हिँडडुलको साधन नै उसको हातमा थियो । नवीनले सुसेल्दै सरासर गेटबाहिर पुर्‍यायो । उसको कालो रङ्गको गाडी बाटो पारी देखेँ । ड्राइभरले गाडी घुमायो । सँगसँगै आएका बडीगार्डले मलाई जुरुक्क बोके अनि गाडीको पछाडिको सिटमा राखे । एउटा बडीगार्ड मेरो दायाँतिर बस्यो । नवीन मेरो देब्रेतिर बस्यो । अर्कोले ह्वीलचेयर घरभित्र पुर्‍यायो । एकछिन पछि अगाडिको सिटमा आयो । गाडी गुड्यो । मनमनै आत्तिएँ ।

“मलाई कहाँ लाँदैछौ नवीन ?

“त्यो त तिमी आफैँले थाहा पाउँछौ अर्जुन । तर कहिलेकाहीँ गन्तव्य थाहा नभए पनि यात्रा रमाइलै हुन्छ । धैर्य गर ।” ऊ मुस्कुराउँदै बोल्यो ।

“किन लाँदैछौ ?”

“तिमी प्रश्न धेरै गर्छौ अर्जुन ।”

“तिमीले नै सिकाको हौ नवीन ।”

“मलाई गुरु मान्छौ भने अबदेखि प्रश्न नगर ।”

“अहँ, मेरो विवेकले मलाई चुप लागेर बस्न दिँदैन । स्कुलमा शुक्रलाल सर र क्याम्पसमा तिमीले राजनीतिक चेतको साँचो नदिएको भए सायद म मेरो विवेकलाई ताला लगाउन सिक्थेँ होला । तर खै किन हो तिमी अन्धभक्त भएर निस्कियौ । हामी त नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि सँगै लडेका थियौँ । बिर्स्यौ ?”

फेरि मुसुक्क हास्यो । मुस्कान सबैभन्दा ठूलो हतियार हो भन्छन् । उसको हासोले मेरो मथिङ्गल खल्बलियो । उसको विगतको धोका सम्झिएँ अनि भनेँ, “हुन त कसरी पो सम्झिनथ्यौ र ? तिमी त आन्दोलनबाटै भाग्याथ्यौ ।”

मुसुक्क हास्दै भन्यो, “भागेको थिइनँ म । संयोगले बचेको थिएँ । तर तिमी बुझ्दैनौ ।”

उसको त्यो कृत्रिम बोलीमा फसिनँ । भनेँ, “आजसम्म त मलाई सम्झेनौ । के छ कसो छ कहिले पनि सोधेनौ । फेरि तिम्रो कला थाहा छ मलाई । अनि आफ्नो स्वार्थको लागि तिमी जे पनि गर्न सक्छौ ।”

ऊ फेरि बोलेन । मैले ऊसँग बहस गर्न खोजेँ तर ऊ हासेरै मलाई जित्दै थियो । म चाहिँ अवाक् हुनुपरेकोमा रिसले मुर्मुरिँदै थिएँ । ऊसँग हार्दै थिएँ ।

गाडी गुडिरह्यो । नवीनसँग वादविवाद गर्न उसको विद्यार्थीकालदेखि अहिलेसम्मका थुप्रै प्रसङ्गमा सवाल गर्न छाडिनँ । नवीनले जवाफ नदिन छाडेन । कतिपय कुरा त हासेरै टारिदियो । झन्नै दुई घण्टा गाडी रोकिएपछि उसका बडीगार्डहरूले मलाई जुरुक्क बोकेर भुइँमा बसाए । कालो शिशा भएको गाडीबाट घाममा आउँदा एकछिन आँखा तिर्मिरायो ।

“उज्यालोमा अचानक आएपछि आँखा खोल्न गाह्रो हुँदो रैछ नि हैन ?” नवीनले कटाक्ष गर्‍यो । “तिमी अँध्यारोमा यति अभ्यस्त भयौ कि हामीले देखाएको उन्नतिको चमकले पनि तिमीलाई बिझाउँछ ।”

अलि प्रस्ट देख्न थालेपछि नवीनलाई हेरेँ । ऊ डाँडाको छेउमा उभिएर पाइन्टका खल्तीमा हात राखेर परका फाँट हेर्दै थियो । मभन्दा धेरै नै अग्लो देखिएको थियो । भन्दै थियो, “धेरै भएछ यता नआएको । यी हिमाल, पहाड, फाँट नहेरेको । फुर्सदै नहुने ।”

मलाई उसका कुरा सुन्न मन थिएन । तैपनि सोधेँ, “यो कुन ठाउँ हो ? के गर्न यहाँ ल्यायौ ?”

नवीन फरक्क फर्कियो र मलाई एकछिन नियाल्यो । मुहारमा दिग्दारी थियो । उसले कोटको टाँक खोल्यो अनि मेरो छेउमा कसेर बस्दै भन्यो, “यस्तो मनोरम ठाउँमा आएर पनि तिमी अझै प्रश्न गर्दैछौ ? के, किन, कसरी जस्ता प्रश्नहरूले तिम्रो दृष्टिकोण नै दूषित गरेका छन् । एकछिन शान्त होऊ, प्रश्नहरू बन्द गर । दृष्टिकोण बदल यार ।”

मैले बुझिनँ ।

“भनेँ त । प्रश्नहरू बन्द गर । सरकारले गलत गरिरहेको छ भन्ने विचार त्यागिदेऊ । तिमीले सरकार र नियमन बोर्डको बारेमा गलत सोच राखेका छौ, अर्जुन । तिमी ठान्छौ, सरकार स्वेच्छाचारी बन्दैछ । बोर्डको प्रयोग गरेर स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ । त्यो बोर्डको सदस्य भएकाले तिम्रो लागि म भिलेन भएको छु । तर ध्यान दिएर हेर त, बोर्डले कुनै कुरामा बोल्न रोक लगाएकै छैन । कहिलेकाहीँ राज्य र सरकारका विरुद्ध अफवाह फैलाउने देशद्रोहीलाई पक्रेको कुरालाई ठूलो इस्यू बनाउन जरुरी नै छैन । भ्रामक समाचार र सूचनाले लोकतन्त्रको हत्या गर्छ । हामी त्यस्ता गलत कुराहरूलाई निर्मूल पार्न खोज्दैछौँ । तर पनि सबैलाई रोक्न गाह्रो छ । केही तिमीजस्ता प्रश्नकर्ताका दृष्टिमा परिहाल्छन् । अनि सबै कुरा नबुझी नकरात्मक दृष्टिकोण बनाउछौ । सरकार गलत छ, केही काम गर्दैन, जनतालाई दमन गर्छ, आदि इत्यादि । उफ् ! दृष्टिकोण बदल । हामीले गरेका राम्रा काम पनि हेर न ।”

“राम्रो कामलाई नराम्रो कहिले पनि भनेको छैन मैले । तर राम्रो छवि मात्र देखाउने अनि कमजोरीलाई अफवाह भन्ने सरकार प्रोपागाण्डावादी हो भनेर तिमीले नै सिकाको याद छ ?”

“किन नहुनु ? तर बेला त्यसो भनेको बेला परिस्थिति फरक थियो नि । तिमीलाई पनि थाहा छ कसरी त्यो बेला राजाले अधिनायक बनेर निर्वाचित सरकारलाई अनेक लाञ्छना लगाएर बर्खास्त गरेको थियो । स्वेच्छाचारी शासनको विरोध गर्दा हामीलाई “देशद्रोही” भनेको थियो ।”

“त्यति बेला र अहिलेमा के नै फरक छ र ? सत्य र लोकतन्त्रका लागि बोल्नेहरू अहिले पनि देशद्रोही नै त भनिन्छन् नि !”

“तिमी किन बुझेर पनि बुझ पचाउँछौ, अर्जुन ? हामीलाई देशद्रोही भन्नेहरू निरङ्कुश, अधिनायकवादी थिए भन्ने किन बिर्सिन्छौ ? अहिलेको हाम्रो सरकार जननिर्वाचित हो । हामीले जनताको म्यान्डेट बोकेका छौँ । तिम्रो दृष्टिदोषको कारण तिमी दुवैलाई एकै देख्छौ । तिमी अँध्यारोमा यति अभ्यस्त भयौ कि उज्यालो तिमीलाई बिझ्छ । आजकै उदाहरण लिऊँ न । तिमी सोच्दै छौ कि मैले तिमीलाई अपहरण गरेर यहाँ ल्याएँ । तर मैले तिमीलाई अपहरण गरेकै हैन । म त तिमीसँग केही समय बिताउन चाहन्छु अनि तिम्रो सरकारप्रतिको दृष्टिकोण परिवर्तन गर्न चाहन्छु । तर हेर न, वैचारिक मतभेदले एउटा पुरानो साथीसँग पनि समय बिताउन कति मुस्किल गराउँदो रहेछ ।”

“ह्वीलचेयर खोसेर यहाँ ल्याएका छौ, अपहरण पनि हैन भन्दैछौ । तिमी त ठ्याक्कै तिम्रो सरकारजस्तै भएछौ ।” व्यङ्ग्य गरेँ ।

“अघि भनिसकेँ तिमीलाई अपहरण गरेको हैन । केही प्रमाण पनि छैन, अर्जुन ।” नवीन फिस्स हाँस्यो । “तैपनि साथीसाथीमा यस्तो त सामान्य नै हो नि ।”

मौनता छायो । एउटा सिन्काजस्तो घाँस चुँडेर दाँत कोट्याउँदै नवीनले भन्यो, “तिमी अझै पनि इतिहासमा रुमल्लिएका छौ, अर्जुन । तिम्रो मनमा अझै पनि त्यो सामन्ती सरकारका कर्तुतहरूले डेरा जमाएका छन् । तिमीलाई शङ्का छ जनताको यो सरकार पनि त्यस्तै बन्छ कि भन्ने । शङ्काले डर पैदा गरेको छ, कतै यो सरकारले पनि जनताका अधिकार खोस्ने त होइन ? नियमन बोर्डमार्फत् सत्तामा टिकिरहन विरोधीहरूलाई दमन गर्ने त हैन ? शङ्काले लङ्का जलाउँछ, मित्र । तिम्रो शङ्काको आगोले देशलाई खरानी बनाउँछ । त्यसैले शङ्काको निवारण गर्न जरुरी छ ।”

नवीनले मलाई सम्झायो सरकारका योजना र कामकारबाहीहरू । कुन योजनाले के परिवर्तन गर्छ र जनताको जीवनमा कसरी फरक पर्छ । अन्त्यमा भन्यो, “फेरि भन्छु, शङ्का र प्रश्न गर्न बन्द गरिदेऊ, अर्जुन । यसले हाम्रो समय मात्र नाश गरिरहेको छ । फेरि पार्टी र सरकारले प्रश्नलाई निषेध गरेको पनि छैन । तिमीले गर्ने प्रश्न त हामी पनि उठाइरहेका छौँ । छ्लफल गरेका छौँ सदन र सडकमा । समस्या समाधान गरेका छौँ । सरकारको विरोध गरेर तिमीले आफ्नो मात्रै हैन, देशकै समय र स्रोत बर्बाद गर्दैछौ । त्यसको साटो हामीलाई निश्चिन्त सहयोग गर । सबैलाई फाइदा हुनेछ ।”

लामो प्रवचनपछि नवीनका गार्डले गाडीबाट खाजा निकाले । खान मन थिएन तर नवीनले नखाएसम्म घर लगिदिन्न भन्यो । आफ्नो लाचारी अनि नवीनलाई मनमनै सरापेँ । खाइसकेपछि मुस्कुराउँदै भन्यो, “यो कहिले नबिर्स कि तिमीले सरकारी नुन खाएका छौ । सरकारले तिमीलाई पालेको छ । तिम्रो ह्वीलचेयर, तिम्रो दानापानी, सब सरकारी देन हुन् । यीमध्ये कुनै एकको कटौती गरिदियौँ भने तिम्रो अवस्था के हुन्छ होला ? कल्पना गर त ।”

एकछिन भाउन्न भयो । बसिरहेको भुइँ भासिएझैँ लाग्यो । सरकारसँग जीजीविषाको लागि मैले केही मागेको थिइनँ । जसोतसो आफ्नै कमाई खाएको थिएँ । सामाजिक सुरक्षा सरकारको दायित्व थियो । सरकारले दिएको भत्ता लिँदैमा सरकारको गुणगान मात्रै गर्नुपर्छ भन्ने पनि त थिएन । नागरिकले दुःख गरेर तिरेको करबाट तलबभत्ता लिनेले नै देश बर्बाद पारेका थिए । म देश बचाउन खोज्दै थिएँ । नागरिकको करको सदुपयोगको कुरा गर्दै थिएँ । तर यी कुरा भन्नुको कुनै तुक थिएन । नवीनले हाँसेरै टार्ने थियो । रिसाउँदै उसलाई हेर्न बाहेक केही गर्न सकिनँ ।

ऊ अझै भन्दै थियो, “यो पनि नबिर्स कि हामीसँग कसले के गर्दैछ भन्ने सबै जानकारी छ । जनताको सुरक्षाको लागि जनताले दिएको अधिकार प्रयोग गर्दा हामी कसरी तानाशाही भयौँ । हाम्रो सरकार लोकतान्त्रिक छ, अर्जुन । यहाँ प्रतिरोध गर्न पाइन्छ, बोल्न पाइन्छ, प्रश्न गर्न पाइन्छ । तर स्वतन्त्रताको पनि त सीमा हुन्छ नि, हैन र ?”

जनताले वैधता दिए भन्दैमा उनीहरूकै अधिकार कुण्ठित गर्नु जायज हो र ? नवीन किन देखिरहेको थिएन स्वतन्त्रताको अपहरण ? किन सुनिरहेको थिएन स्वाधीनताको चित्कार ? संविधान संशोधन गरेर स्वतन्त्रताको सीमा तोक्ने सरकारलाई अझै किन लोकतान्त्रिक भनिरहेको थियो ? कतै म नै गलत त थिइनँ ? के मैले सत्तारूढ दल र व्यक्तिहरूलाई बुझ्न नसकेरै प्रश्न गरिरहेको थिएँ ?

पलभरमै झसङ्ग भएँ । नवीनले यही चाहेको थियो । ऊ मलाई भ्रममा पार्न खोज्दै थियो । म कसैगरी पनि उसको जालमा फस्नु हुँदैनथ्यो । प्रश्न र तर्कहरूले घेरे । यस्तैमा नवीनका मान्छेहरूले मलाई फेरि बोकेर गाडीमा चढाए । घर पुगेपछि फेरि अघिजस्तै गरी बोकेर ह्वीलचेयरमा राखे । नवीन मुस्कुराइ नै रहेको थियो ।

दृश्य २

रामेश्वरको फोन आयो, “अर्जुनजी, तपाईंको लेख प्रकाशन गर्न बोर्डले अनुमति दियो । किन, कसरी नसोध्नुहोला । म आफैँ छक्क परेको छु …तर तपाईं सतर्क रहनुहोला है ।” 

नवीनले टाकुरीमा प्रवचन सुनाएको केही दिन भएको थियो । नवीनको कुरा सुन्दा त त्यो लेख निस्किने कुनै आशै गरेको थिइनँ । रामेश्वरको कलले चकित भएँ । उनलाई धन्यवाद दिएँ । एक मनले त खुशी भएँ तर कताकता डर पनि लाग्यो । यस्तैमा नवीनको मेसेज आयो, मैले त्यत्रो सम्झाउँदा पनि तिमीले त्यस्तो लेख छपाएरै छाड्यौ ? तिमीले त आफूलाई मात्र हैन, मलाई पनि अफ्ठ्यारोमा पार्‍यौ । भन के गरूँ म ? 

पढ्दापढ्दै नवीनको अर्को मेसेज आयो, तिमीलाई कसैले फोन त गरेको छैन नि ? 

रामेश्वरले फोन गरेको नवीनले थाहा पाइसकेको थियो । स्वाभाविक थियो । सबै सञ्चार माध्यम सरकारको निगरानीमा थिए । तर कतै ऊ आँफै समस्यामा त परेन ? उसको मेसेजले त्रास बढायो । मेरा औँला मोबाइलको किबोर्डमा चल्न लाग्दै थिए, स्क्रिनमा अडिए । मनमा नयाँ विचार आयो–नवीनजत्तिको चलाख र सरकारको विश्वासपात्र कुनै समस्यामा पर्न सक्दैन । ऊ पक्कै मलाई झुक्याउन खोज्दै थियो । रिसले डरको ठाउँ लियो । केही लेखूँ कि नलेखूँ भयो । लामो सास तानेँ । केही जवाफ दिइनँ भने नवीनले जित्नेथ्यो । उसलाई यत्तिकै जित्न दिन सकिन्नथ्यो । उसको हतियार ऊमाथि नै प्रयोग गर्ने निधो गरेर टाइप गरेँ, मुस्कुराऊ  । अनि मोबाइल फुत्त ओछ्यानमा फालेँ ।

दृश्य ३

“सरकार जनताको समर्थन चाहन्छ । सँगसँगै जनतालाई नियन्त्रण पनि गर्न खोज्छ । अवैधानिक तरिका वा कूमार्फत गरिएको नियन्त्रण दिगो हुँदैन । जनताले उकुसमुकुस महशुस गर्छन् अनि अधिनायकवादी सत्ताविरुद्ध ढिलोचाँडो क्रान्ति गर्छन् । जननिर्वाचित सरकारले वैधानिक तरिकाबाट जनतालाई नियन्त्रण गर्छन् । एक पटक चुनाव जितेपछि पाँच वर्षसम्म कानून बनाए पनि नबनाए पनि मनपरी निर्णय गरे पनि जनताको नाम लिएर जनतालाई मूर्ख बनाउन सरकारले वैधानिकता पाउँछ । अन्टसन्ट कानून बनाएर, मनपरी लागू गरेर विरोधीलाई तह लगाउन पाउँछ । उसलाई यो पनि थाहा छ कि जनताका आधारभूत आवश्यकतामाथि नियन्त्रण गर्न सक्यो भने जनता सरकारको गुलाम बन्न थाल्छ । चाहेर नचाहेर जनताले रासन, इन्धन, सामाजिक सुरक्षा लगायतका आधारभूत कुराका लागि आफूलाई बेचिसकेको हुन्छ । त्यसमाथि जनताका प्रत्येक विवरण विदेशीलाई बेच्ने  सरकारले देश नै बेचिदिन्छ । अफशोस, जनतालाई आफू र आफ्नो देश बेचिएको थाहापत्तो हुँदैन ।” 

रामेश्वरको हातमा जाग जनता शीर्षकको मेरो लेखको प्रिन्ट थियो । उनको मुहारमा चिन्ताका रेखा देख्दा बुझेँ–अन्य सम्पादकझैँ यिनी पनि त्यो लेख प्रकाशन गर्न तयार थिएनन् । भन्न थाले, “लेख त राम्रो छ, अर्जुनजी तर केही नपुगेजस्तो …अलि बढी निराशावादी । अलिकति आशावादी भएको भए त पक्कै छाप्ने थिएँ ।”

“आशावादी कुरा पनि छन् त तलपट्टि ।”

एकछिन गमेर सानो स्वरमा भने, “हाम्रो अनलाइनमा छाप्न पाए केही हलचल त हुन्छ होला ।” यसरी प्रशंसा गर्दा त लेख छापिने हो कि भन्ने आशा पलाएको थियो तर त्यो आशा हुर्किन नपाउँदै निमोठे, “तर यस्तो लेख कसरी प्रकाशन गर्ने ? तपाईं आफैं भन्नुस् त अर्जुनजी ।”

“तपाईं आफैँ भन्दै हुनुहुन्छ त यसले तरङ्ग पैदा गर्छ भनेर अनि फेरि आफैँ हिच्किचाउनु हुन्छ ।”

“अर्जुनजी, तपाईँलाई थाहै छ सरकारको कामले देश शान्त तलाउजस्तो बनेको छ । यस्तो शान्त तलाउमा ढुङ्गा फालेर अशान्त किन बनाउने, हैन र ? जे भइरहेको छ, राम्रै भइरहेको छ । यत्तिकै चल्न दिऊँ न ।”

“के भन्दै हुनुहुन्छ रामेश्वरजी ? तलाउ शान्त भएको हैन । जलकुम्भी उम्रेर पानी नै नदेखिने भएको छ । तलाउ जोगाउन जतिसक्दो छिटो जलकुम्भी फाल्नु नै बुद्धिमानी हुन्छ । तपाईँलाई पनि थाहा छ मेरो लेख सत्यको उद्घोष हो । त्यसैले त तपाईं त्यसको माध्यम बन्न खोज्दै हुनुहुन्छ । तर किन डराइ पनि रहनु भएको छ ? अलिकति आँट गर्नुस् । हामीले सत्य उजागर नगरे कसले गर्छ ?”

“हुन त हो ।” उनले आँखा नजुधाई भने । “तर यसरी लेखहरू हामीकहाँ छाप्नुभन्दा आफ्नै ब्लग वा वेबसाइटमा राख्नुभए हुन्थ्यो नि । जति कमाई हुन्थ्यो आफ्नै हुन्थ्यो । रिस्क पनि तपाईँलाई मात्रै हुन्थ्यो ।”

“मेरो वेबसाइट ब्यान भएको थाहा छैन र तपाईँलाई ? नयाँ वेबसाइट बनाउन पनि अनुमति पाएको छैन । जहिल्यै झुलाइराख्छ्न् । तैपनि उनीहरूले दिएको टेम्प्लेट चलाउनुको विकल्प छैन । सामाजिक सञ्जाल पूरै सरकारी नियन्त्रणमा छन् । भीपीएन चलाउँदा महिनौँ इन्टरनेट बन्द गरिदिन्छन् । अनि नबोली नेलेखी बस्न मन लाग्दैन । आफैँ पब्लिस गर्न पाएको भए गरिहाल्थेँ नि । किन यसरी रिस्क लिन्थेँ र ?”

रामेश्वरले गालामा हात लगाएर एकछिन गमे अनि भने, “प्रकाशन गर्न गाह्रो छ  नि, अर्जुनजी ।” एकछिन चुप लागे अनि एकै सासमा साउती मार्दै भने, “हामी पनि कहाँ सुरक्षित छौँ र ? अनलाइन सामग्री मात्रै हैन, कल र मेसेजसमेत सरकारी निगरानीमा छ । अघिल्लो महिना सरकारले गरेका भ्रष्टाचारसम्बन्धी समाचार बनाएका सोनम र एकेन्द्रको अहिले कुनै अत्तोपत्तो छैन । म नै कहिले समातिन्छु थाहा छैन । म समातिएँ भने मेरी बुढी आमालाई तातो पानी दिने पनि कोही हुँदैन ।”

अक्कमक्क भएँ । मेरो लेख कतै प्रकाशन होला जस्तो लागेन । केही छैन । पर्चा बनाएर टोलटोलमा छरेँ भने पनि कसैले त पढ्छ नै । राणाकालमा त्यसो गरेकै हुन् दशरथ चन्दहरूले । हामी आफैँले पनि पहिलेका आन्दोलनमा यस्तो गरेकै हौँ । अब त्यसै गर्छु भन्ने निश्चय गरेर रामेश्वरको अफिसबाट निस्किन लागेको के थिएँ, उनले “एकछिन पर्खिनुस् है” भन्दै रोके । कसैलाई फोनबाट मेसेज गरे अनि खुईय्य गर्दै भने, “अर्जुनजी, तपाईँले ठीकै भन्नुभो । सत्यको उजागर गर्नैपर्छ तर सबै लेख बोर्डमा पठाउनै पर्ने नियम तपाईंलाई थाहा नै छ । बोर्डमा फर्वार्ड गरिदिन्छु । लेख नछापिन सक्छ । छापिए पनि नछापिए पनि प्रतिकूल परिस्थिति आउन सक्छ । त्यसको जिम्मेवारी चैँ तपाईं आफैँले लिनुपर्छ, हुन्छ ?”

नियमन बोर्डको अनुमतिबिना कुनै पनि मिडिया र व्यक्तिले समेत कुनै पनि सामग्री प्रसारण गर्न सक्दैनथ्यो । सामाजिक सञ्जालहरू समेत सरकारी नियन्त्रणमा थिए । वर्तमान सरकार र नियमन बोर्डको विरोध भएको लेख बोर्डले पास गर्ने सम्भावना नै थिएन । लेख लेखेको कारण ममाथि र छापेको कारण रामेश्वर र उनको अनलाइनमाथि जस्तोसुकै कारबाही हुन सक्थ्यो । सायद लेख प्रकाशन गरेर भाइरल हुने लोभ थियो तर धेरै रिस्क लिन चाहँदैनथे । उनले सरकारमा रहेको कसैलाई मेसेज गरेपछि आएको निर्देशनबमोजिम काम गरे कि भन्ने शङ्का पनि लाग्यो तर यो एउटा मौका पनि थियो । त्यसैले भनेँ, “ठीक छ । म तपाईंहरूलाई अफ्ठ्यारोमा पार्दिनँ ।”

रामेश्वरले एउटा कागत प्रिन्ट गरे । मलाई दिँदै भने, “यसमा हस्ताक्षर गरिदिनुस् । प्रकृयामा गएन भने बोर्डले अफ्ठ्यारो पार्छ ।”

सम्झौता पढ्दा झसङ्ग भएँ । कतै रामेश्वरजस्ता इमान्दार भनिएका पत्रकार पनि सरकारको लागि काम गर्दै त छैनन् ? जे सुकै होस् । सत्य र स्वतन्त्रताको आवाज अब दबिनु हुँदैन । निःश्वास लिएँ । “मेरो लेख नितान्त व्यक्तिगत हो । यसले सम्पादक र प्रकाशकलाई कुनै अफ्ठ्यारो नपरोस्” लेखिएको त्यो सम्झौतामा हस्ताक्षर गरेँ ।

दृश्य ४

मोटो चश्मा लगाउने शुक्रलाल सरले मञ्चबाट मुठी कस्दै भन्नुभयो, “सत्ता सधैँ प्रशंसाको भोको हुन्छ । थोरै आलोचना पनि उसलाई बिझ्छ । राम्रो काम गरे धन्यवाद दिन कन्जुस्याइँ गरिँदैन तर ऊ असाध्यै लोभी हुन्छ । उसलाई डर पनि हुन्छ, एक पटक उसले आफ्नो कमजोरी स्वीकार गर्‍यो भने उसको शक्ति क्षीण हुन्छ । त्यसैले सत्य बोल्नेहरूमाथि आक्रमण गरिहाल्छ । हामीसँग छन्, हाम्रै श्रमको मूल्य लुट्नेहरूको प्रमाण। हामीसँग छन्, हाम्रो पसिनाले बनाएको देश बेच्नेहरूको दस्तावेज। हामी चुप लाग्ने छैनौँ, हामी लड्नेछौँ। सत्य बोल्न डराउने होइन, सत्यकै लागि सिङ्गो देश उठ्नेछ।”

परर्र ताली बज्यो । शुक्रलाल सर ओर्लिनुभयो । उहाँको उद्घोषले मेरो जीउमा काँडा उमारिदिएको थियो । अरूहरूमा पनि उत्साहको सञ्चार भएको देखियो । यस्तो लाग्यो कि उहाँका शब्दहरू स्कूलको चौरबाट वरपर रहेका सबका मन-मनमा गुन्जिए । चौध वर्षको मैले उहाँको एक घण्टाको भाषण केहीकेही मात्रै बुझे पनि मनमा अनौठो उत्साह छायो । जिम्दारहरूको शासनबाट मुक्ति मिल्ने अनि नयाँ हुने आशा पलायो ।

चित्रपटमा चौर धमिलियो अनि म आफैँ देखापरेँ । बाटाभरि जानीनजानी शुक्रालाल सरकै भाषण दोहोर्‍याउँदै थिएँ । आफू अघिअघि लामा छायाँ पार्दै उत्साहित भएर दौडिँदै बाआमाले दुःख गरेर बनाएको खरले छाएको सानो छाप्रोमा पुगेँ । आमा भान्सामा धुवाँ फुक्दै हुनुहुन्थ्यो, बा पिंढीमा बसेर बिँडीको धुँवा तान्दै । मलाई खुशी हुँदै आएको देखेर बाले भन्नुभयो, “के भो आज ? निकै खुशी देखिन्छस् त ! जाँचको नतिजा आयो कि के हो ?”

फेरि आफैँ सम्झिनुभो, “अस्ति भर्खर पो फस् भएँ भनेर सुनाको थिस् क्यारे ! त्यसो भए तँ खुशी चैँ किन छस् ? लु भन् त ।”

“आज शुक्रलाल सरको कुरा सुनेर मन त्यसै खुशी भयो । उहाँ भन्नुहुन्छ, अब छिट्टै क्रान्ति सफल हुन्छ रे । जिम्दारहरूको हालीमुहाली सकिन्छ अनि हामीजस्ता किसानको आफ्नो सरकार बन्छ रे ।”

“त्यसका कुरा धेरै नसुन् अनि पछि पनि नलाग् ।” बाले आदेश दिनुभो । “नुनको सोझो नगर्नेको भर हुन्न । आफैँ सरकारी शिक्षक भएर सरकारको विरोध गरी बस्छ । फेरि त्यसका क्रान्तिले त्यसकै नेता अघि बढ्ने हुन् । हामीलाई हुने केही पनि हैन ।”

भान्साबाट आमाले हाम्रो कुरा सुनिरहनु भएको रैछ । भन्नुभो, “पहिला पनि धर्ती नै उलटपुलट पार्ने जस्ता गफ दिएर जिम्दारहरूको विरोध गर्न लगायो । गरियो पनि । अर्को साल बाली बिग्रियो । ऋण दिने कोही भएन । तिनै जिम्दारको शरणमा जान पर्यो । हामी जस्तालाई जिम्दारको विरोध गरेर केही फाइदा छैन ।”

“हो नि ।” बाले सही थाप्नुभो । “तिनै जिम्दारको कृपाले दुई छाक खान पाइएको छ, गतिला कपडा लाउन सकिएको छ, तँलाई पढाउन सकेका छौँ । अरू के चाहियो ?”

“यस्तै सोचले गर्दा त हो नि उनीहरूले हामीलाई पेल्न सकेका ।”

“चुप लाग् । धेरै जान्ने न हो । त्यो शुक्रेका कुरा सुनेर जिम्दारसँग जोरी खोजे भोकै परिन्छ । त्यो शहरबाट आएको मास्टर शहरै जान्छ । दुःख चैँ हामीले पाउछौँ ।”

“त्यस्तो हुँदैन । हामीले थोरै मात्रै आँट गर्‍यौँ भने आफ्नो भाग्यको मालिक हामी आफैँ बन्न सक्छौँ ।”

“भो भो परेन मालिक बन्न । हामी किसानले जति नै आँट गरे पनि जिम्दारले गाउँ छाड्दैनन् । ल गइहाले भने हामीलाई मर्दापर्दा कसलाई गुहार्ने ? त्यो भोकमरी शुक्रेलाई ?”

बाका कुरा सुनेर मेरा कान कन्सिरी ताते । कोठामा गएँ अनि एकछिन एक्लै भुत्भुताएँ । आमाले खाना खान बोलाउनु भयो । खान मन थिएन तर कर गरिरहनु भयो अनि भान्सामा गएँ । खाना पस्किँदै आमाले भन्नुभो, “धेरै क्रान्ति भन्दै नहिँड् है, अर्जुन । गाल आइपर्छ । अस्तिसम्म कसैले भाषण गर्यो भने धरपकड हुन्थ्यो । शुक्रेले अचेल दिनै भाषण दिँदै हिँड्न थालेको छ । जिम्दार काजीहरू जाँच्न चाहन्छन् कोको उनीहरूको समर्थन गर्छन्, कोको विरोध गर्छन् । एकदुई दिन पख् । काजीका विरोधीहरूलाई पाता कसेर लैजान्छन् । तँ सानै छस्, दुनियाँ देखेको छैनस् । काजीहरूसँग त्यस्तो शक्ति हुँदा पनि किन शुक्रेलाई बोल्न छुट दिइरहेका छन् त ?”

भान्साको त्यो दृश्य अलप भयो । स्कूल जाने बाटो देखियो जहाँ म हतारहतार हिँड्दै थिएँ । घाँसदाउरा गर्दा ढिलो भइसकेको थियो । चौतारानेर आइपुग्दा तलतिर केही कल्याङमल्याङ सुनेँ । कोही भन्दै थियो, “अब पनि चेतिनस् भने सिधै माथि पुग्छस् ।”

“तिमीहरूजस्ता भुस्यहासँग डराउँदिनँ । जे गर्न सक्छौ, गर ।”

पछिल्लो स्वर शुक्रलाल सरको जस्तै लाग्यो । आमाले केही दिनअघि भन्नुभएको कुरा याद आयो । डर लाग्यो । हत्तपत्त चौतारीको पीपलपछाडि छेलिएर उभिएँ । प्रहरी पोशाकमा भएका दुईजनाले शुक्रलाल सरलाई लात्ती हान्दै, लघार्दै, कठालो समात्दै लगे । म चिच्याउन खोजेँ तर कसैले पछाडिबाट मेरो मुख थुनिदियो । फर्केर हेर्दा आमालाई देखेँ । नबोल्, आँखाले इशारा गर्नुभयो । डर र आश्चर्यले कि बोली फुट्नै दिएन ।

“खेतमा काम गर्दैथेँ,” एकछिनपछि आमाले साउतीमा भन्नुभयो । “शुक्रेलाई पक्रेको देखेँ । कता चैँ लान्छन् भनेर छेलिँदै पछि लागेको त तँ पो भेटिइस् । तँ पक्कै कराउँछस् भनेर तँलाई रोकेँ । नकरा, बाबु । कराइस् भने तँलाई पनि लैजान्छन् ।”

आमा घुँक्कघुँक्क रुनु भयो । उहाँको अनुमान सत्य भएको थियो । काजी जिम्दारका विरोधीहरू समातिँदै थिए । पहिले श्याम सरलाई लगे, शान्ति दिदी रातारात काठमाडौं फर्किइन्, मीने काकालाई घिस्याउँदै लगे । वरपरका गाउँबाट धेरै धरपकडमा परे भन्ने सुनिएको थियो । गिरफतारीले त्रास बढाएका थिए । क्रान्तिको आवाज दबिएको थियो । म किंकर्तव्यविमूढ भई शुक्रलाल सरलाई लगेको दृश्य हेरिरहेँ । आँखा रसाए । केही गर्न नसकेकोमा पछुतो लाग्यो । अबदेखि कहिले पनि विद्रोहको आवाज थुन्ने छैन, मनमनै प्रण लिएँ ।  

दृश्य ५

“जनआन्दोलन अब छिट्टै उत्कर्षमा पुग्नेछ ।” युनिभर्सिटी क्याम्पसको एउटा कोठमा भेला भएका विद्यार्थीलाई नवीन भन्दै थियो, “अब हामी पनि विश्वविद्यालयबाट पनि जुलुस निकालेर आन्दोलनमा सहभागी हुनुपर्छ । तर जुलुसले मात्र हुँदैन, हाम्रो रणनीति बलियो हुनुपर्छ। पुलिस आउनेछ, तर हामी पछि हट्नेछैनौँ। परिआए तिनलाई पन्छाउँदै पनि अघि बढ्नुपर्छ । सबै समूहमा बाँडिऔँ, नारा लगाउने, विरोध गर्ने, खबर फैलाउने सबै भूमिकामा तयार होऔँ।”

“अस्ति प्राध्यापक र विद्वानहरूको भेलामा पुलिसले धरपकड गरेको थियो ।” कसैले अँध्यारो भएतिरबाट भन्यो ।

“कतिजना थिए त्यो भेलामा ?” नवीनले सोध्यो ।

“त्यै पच्चीस तीसजना थिए होलान् ।”

“अनि त्यति सानो कुनै प्रतिकार नगर्नेहरूको भेला बिथोल्न पुलिसलाई के गाह्रो हुन्छ त ? हामी यहाँ झन्डै अढाई तीन सय जति छौँ । भोलि आन्दोलनमा स्थानीयसँग जोडिँदा हज्जारौं हुनेछौँ । फेरि आइलाग्नेमाथि जाइ पनि लाग्नेछौँ । यत्रो क्रान्ति भइरहेको बेला हामी हात बाँधेर बस्ने कुरै आउँदैन ।”

“आज दिउँसो पुलिसले अन्धाधुन्ध गोली चलायो रे ।” हाम्रै ब्याचकी अस्मिताले भनी, “सडकमा रगतको आहालै थियो रे ।”

नवीनले उसको आँखामा हेर्दै सोध्यो, “डर लाग्यो अनि तिमीलाई ।”

नजर अलिकति झुकाउँदै उसले भनी, “लागिहाल्छ नि डर त । मान्छेको जीवन, उसका सपना एकै पलमा नाश गरिदिन्छन् पापीहरू ।”

“तर यसरी डराएर त पशु पनि बाँच्दैन । हामी त मानिस हौँ नि । डरले बाँधिएर बाँच्नुभन्दा मुक्तिको लडाईं लड्दै मर्ने हो ।”

उसले नवीनलाई हेरी । मुहारमा बेग्लै चमक आएको थियो । उसले सायद आफूभित्र पनि हिम्मत बढिरहेको महसुस गरी।

“जुलुसको सबैभन्दा अगाडि चैं को हुन्छ ?” एक वर्ष जुनियर विवेकले सोध्यो ।

“विवेक हुन्छ सबैभन्दा अगाडि ।” मैले भनेँ । सबै गलल्ल हाँसे । विवेक रातोपिरो भयो ।

“यो विवेक भनेको हैन हौ ।” चुकचुकाउँदै भनेँ । “तिमीहरूले कुरै बुझेनौ ।”

“को विवेक भनेको त ?” कसैले सोध्यो ।

“हामी भित्रको विवेक जसले साँचो झुठो, राम्रो नराम्रो छुट्याउन सघाउँछ । त्यो विवेक जसले हामीलाई पीडाका बीच पनि सुखको बाटो देखाउँछ । शुक्रलाल सर भन्नुहुन्थ्यो, हाम्रो विवेकले नै हामीलाई प्रश्न उठाउन, प्रतिरोध गर्न र परिवर्तन सम्भव छ भन्ने नै हुन्छ । हाम्रो विवेकले नै हामीलाई क्रान्तिको लागि नैतिक बल दिएको हुन्छ । हो त्यही विवेक हुनेछ भोलि पनि सबैभन्दा अगाडि । जबसम्म हामीसँग विवेक छ, हामी कसैको पछाडि छैनौँ, हामी कसैको अघि छैनौँ—हामी सँगै छौँ, एकै मोर्चामा छौँ !”

हलमा गडगड ताली बज्यो, सुईय्य सिट्ठी बज्यो । नारा घन्कियो, “लोकतन्त्र जिन्दावाद !! गणतन्त्र जिन्दावाद !!!”

दृश्य ६

“लोकतन्त्र जिन्दावाद !! गणतन्त्र जिन्दावाद !!!”

टियुबाट बल्खु जाने सडकमा नाराहरू चारैतिर गुन्जिँदै थिए । अघिल्ला दिनका तुलनामा ती अझै चर्का भएका थिए ।नवीन र म जुलुसको अग्रपङ्क्तिमा थियौँ । पुलिसहरू खासै नदेखिएकाले हामी निर्भीक भएर स्वतन्त्रताका नारा घन्काइरहेका थियौँ । जोस्सिँदै, नारा लाउँदै, गीत गाउँदा गाउँदै उत्साह यति बढेछ कि म जुलुसभन्दा अलि अगाडि नै बल्खु पुल पुगेछु । पछाडि फर्केर साथीहरूलाई हातको इशाराले बोलाउँदै थिएँ, दाहिने खुट्टा प्याट्ट पड्कियो । लड्खडाउँदै भुइँमा बसेँ । वरिपरि रगतको आहाल बन्यो । होश आउँदा हस्पिटलमा थिएँ । दुई दिन बितिसकेको रैछ । इन्फेक्सन फैलिँदै गरेको दाहिने खुट्टा डाक्टरले काटेछन् । एउटा खुट्टा नभएको थाहा पाएपछि बेस्सरी रोएँ । तर जे हुनु भइसकेको थियो । मरेको थिइनँ, दिमाग खुस्केको थिएन। आफूले आफैँलाई सम्हालेँ । दावा, विवेक, साधना, रञ्जु र अरू साथीहरूमा आँशु छ्चल्किए ।

सबैभन्दा नजिक रहेको नवीनलाई देखिनँ । केही त भएन उसलाई, प्रश्न गरेँ ।

“नवीन दाइलाई त हामीले अस्तिदेखि नै देखेकै छैनौँ । कुनै चौकीमा हुनुहुन्छ भन्ने पनि सुनेको छैन ।” विवेकले भन्यो ।

“कतै पक्राउमा पो पर्यो कि ?”

“मैले त तपाईंसँग हुनुहुन्छ होला भन्ठानेको थिएँ ।” साधनाले भनी । “केही भइहाल्यो भने तपाईंहरूले एकअर्कालाई सहयोग गर्ने बाचा पनि त गर्नुभएको थियो ।”

“हुन त हो ।” मैले भनेँ, “तर अचानक गोली चल्यो । बेलामा म पनि भाग्थेँ होला । अथवा धरपकडमा पर्थेँ होला ।”

“तर…” दावाले केही भन्न खोज्यो अनि अड्कियो । अरूहरूले टाउको हल्लाएर नबोल्न इशारा गरे ।

“के हो हँ ? के कुरा लुकाइराख्या छौ ?”

“केही हैन ।” सबैले पालैपालो भने ।

“तिमीहरू पक्कै केही त लुकाइराख्या छौ । तिमीहरूको मुहार र हाउभाउले नै सबै कुरा भनिसक्यो ।”

केही छिनको मौनतापछि विवेकले भन्यो, “खासमा तपाईं अगाडि जाँदै गर्दा नवीन दाइ सानेपातिर तर्किँदै हुनुहुन्थ्यो । तपाईंलाई गोली लागेपछि भागाभाग भयो । कोही भिडमा किचिए । हामीले तपाईंलाई बचाउन घेरा हाल्न आयौँ । अस्मितालाई त्यही बेला गोली लाग्यो । दावाले तपाईंलाई जसोतसो बोकेर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍यायो । त्यहाँ संयोगले एम्बुलेन्स पाइयो अनि त्यसमै यहाँसम्म ल्यायौँ । नवीन दाइलाई फेरि देखेको छैन तर उहाँलाई सम्भावित झडपबारे केही थाहा थियो जस्तो लाग्छ । झडप सुरु हुनेबित्तिकै उहाँ जुलुसबाट हट्नुभयो । उहाँले सावधानी अपनाउनभएको पनि हुन सक्छ । तर हामीसँग सम्पर्कमा त आउनुपर्छ नि ।”

अरूले सहमतिमा शिर हल्लाए । म चैँ आत्तिएँ, “अनि अस्मितालाई के भो ?”

“ऊ त…” साधना भक्कानिन थाली । अरूका आँखामा पनि छहरा बगे ।

मेरो मन चिसो भयो । शरीर त गलेकै थियो, मन मस्तिष्क सबै गले । मैले आफ्नो हात हेरेँ । अस्मिता­ ! ऊ सायद यिनै हात समाउन आएकी थिई । यी हातमा अब उसको बलिदानको रगत लागेको थियो । आफैँसँग बाचा गरेँ, “यी हातहरूले अन्याय सहनेछैनन् ।”

दृश्य ७

ह्वीलचेयर छिटोछिटो गुडाउँदै सुन्धारा पुगेँ । साँझ पर्न लागिसकेको थियो । रामेश्वरको अनलाइनमा छापिएको लेख एक हप्ता मात्रै इन्टरनेटमा बस्यो । सामाजिक सञ्जालमा दुईतीन दिन राम्रै बहस भयो सरकारका पक्ष विपक्षमा । सातौँ दिनसम्ममा बहसका लागि अर्कै कुरा निस्कियो । रामेश्वरले सुटुक्क लेख आफ्नो वेबसाइटबाट झिक्यो । भन्यो, “लेखको विपक्षमा रहेको एउटा समूहले रिपोर्ट गरेपछि त्यसलाई डाउन गर्नुपर्‍यो ।” नेट र अनलाइन पत्रिकाको भर पर्न नसकिने भयो । सरकारले गरेका र गर्न खोजेका छलछामका सूचना केही इमान्दार राजनेता र कर्मचारीबाट लिने गर्थेँ । तिनलाई आफ्नै हातले लेखेर, फोटोकपी गरेर, लुकिछिपी छर्न थालेको थिएँ । शहरभरि राखिएका सीसीटिभीबाट जोगिँदै, मानिसका आँखाबाट जोगिँदै पर्चा छर्न कम्ता सकस थिएन ।

नयाँ धरहरा अघि राखिएको ठूलो स्क्रीनमा एउटा कार्टुन दोहोरिरहेको थियो । कार्टुनमा एउटा मानिस जोडसँग कराइरहेको थियो । आवाज त थिएन तर स्पीच बबलमा लेखिएको थियो, “सरकार मुर्दावाद ! लोकतन्त्र मुर्दावाद !! गणतन्त्र मुर्दावाद !!!” उसलाई वरिपरिबाट आएर अरु मानिसले घेर्न थाले । उसले कतै भाग्ने ठाउँ पाएन । पुलिसले उसलाई समातेर लग्यो । अरू मानिसहरूले उसलाई उसलाई पालैपालो चड्‌कन हाने अनि पुलिसलाई सलाम । “देशद्रोही को ?” प्रधानमन्त्रीको आँखीभौँ खुम्चिएको गम्भीर अनुहारको दाहिने छेउमा जवाफहरू आउँदै, जाँदै थिए । “देशद्रोही त्यो, जो लोकतन्त्रको विरोध गर्छ ! देशद्रोही त्यो, जो गणतन्त्रका उपलब्धिलाई स्वीकार गर्न चाहँदैन !! देशद्रोही त्यो, जो सरकारले दिएको सुविधा भोग गरेर सरकारकै विरोध गर्छ !!!”

काठमाडौँ आउने नयाँ मानिस र साना केटाकेटीबाहेक शहरका चोकचोकका स्क्रीनमा चलिरहने त्यो कार्टुन प्रायःले वास्ता गर्न छाडिसकेका थिए । आज पनि ६, ७ वर्षका दुई केटाकेटी ध्यान दिएर हेरिरहेका थिए । उनीहरूको हात समाइरहेको ३३, ३४ वर्षको मान्छेलाई प्रश्न गर्न थाले ।

“कार्टुनको त्यो मान्छेलाई किन पिटेका बाबा ?” केटोले सोध्यो।

“त्यो सरकारको विरोध गर्छ । गणतन्त्रका उपलब्धिलाई मान्दैन। त्यसैले।”

“कसैले सरकारको बारेमा नराम्रो भन्यो भने त्यसलाई पुलिसले लान्छ हो, मामा ?” केटीले सोधी ।

“हो नि । सरकारको विरोध गरेर बोल्नु हुँदैन, लेख्नु हुँदैन, विरोध गरेर लेखेका कुरा पढ्नु हुँदैन । त्यस्तो काम गर्नेलाई पुलिसले समाएर लैजान्छ ।”

“सरकारको विरोध चैँ किन गर्छन् मान्छेहरू ?” केटोले एकछिन सोचेर भन्यो ।

“कोही त्यस्तै विरोधै गर्न मात्रै जन्मेका हुन्छन् के बाबु । तिनको अरू काम हुन्न । नचाहिँदा झिनामसिना कुरा निकालेर बस्छन् । त्यस्ताका कुरा सुन्नुहुन्न । देख्यौ भने पुलिस बोलाऊ है ।”

केटाकेटीले हस् भन्दै टाउको हल्लाए । म झसङ्ग भएँ । शिक्षितहरू पनि सरकारी प्रोपागाण्डाको प्रभावमा परेका थिए । लडाईँ अब सरकारसँग मात्रै छैन, सरकारका हरेक कुरा पत्याउने मानिससँग पनि छ । केही विशेष गर्नैपर्छ । यिनीहरूको मनमा सानै भए पनि विद्रोहको झिल्को बाल्नुपर्छ, निधो गरेँ । ह्वीलचेयर र झोलामा लुकाएका पर्चा दुवै हातमा समातेँ । झोलाबाट म कागज मात्रै निकालिरहेको थिइँन । निकालिरहेको थिएँ–हिजोको विवेक, आजको साँचो र भोलिको चेत खोल्ने शब्दहरू। भएभरको बल लगाएर एक झट्कामा पर्चाहरू आकाशतिर हुर्‍याएँ अनि चिच्याएँ–

“जाग ए, सुतेकाहरू !

बिउँझिएर हेर तिमीहरूमाथि गरिएका छलहरू !!

उठ, जुट

खत्तम गरिदेऊ अन्यायहरू !!!”

कार्टुनमा झैँ मलाई मानिसहरूले घेरे । केही पुलिस आए । तीमध्ये एउटाले एक मुक्का मुखमा बजार्‍यो । कसैले ह्वीलचेयर लडायो । टाउको थिचेर कसैले भुईँको धुलो चटायो अनि पाता फर्काएर हात बाँध्यो । कोही डराइडराइ पर्चा उठाएर पढ्न थाले । बच्चाहरू पनि तिनको नक्कल गर्न थाले । कोही मलाई सहयोग गर्न अघि बढ्न थाले । ती पर्चा उठाउने, पढ्ने र सहयोग गर्न आउनेहरूले पनि वर्दीधारीको गोदाइ खाए । बच्चाहरूलाई पनि छाडेनन् जल्लादहरूले । बेकारमा पिटाइ खानु परेकाहरू प्रतिरोधमा उत्रिए । बच्चाका अभिभावकहरू उल्टै पुलिसमाथि मुक्का बर्साउन थाले । सानोतिनो झडप नै सुरु भयो । धेरैजसो भने रमिता हेर्दै थिए । कोही तर्किँदै पनि थिए । तिनीहरू लाचार थिए जसरी म शुक्रलाल सरको गिरफ्तारीको बेला भएको थिएँ । त्यसैले तिनीहरूमाथि दया पलायो । बेस्सरी कराएँ, “दास मात्रै भयौ भन्ठानेको थिएँ, मानव पनि हुन छाडिसकेछौ ।”

कसैले च्यापुमा एक लात्ती बजार्‍यो । जिब्रो टोकियो । झनन्न भयो । बोल्न खोजेँ तर बोली लर्बरियो । बारम्बार कुटाइ खाइरहेँ । शरीर गल्यो, शिर थिचियो, होश गुम्न लाग्यो । तर पनि कराउन छाडिनँ–

“मर्न अब मलाई डर छैन,

डर छ त केवल मौनताको !

डर छ त पलपल मरिसकेकासँग

सक्दैनन् सवाल गर्न जो !!! …”

***

दृश्यहरूको शिलशिला रोकिन्छ । मन मात्रै चल्दा पनि थकाई लाग्दो रहेछ । धेरैपछि मेसिनको पिपपिपबाहेक अर्को आवाज सुनिन्छ —

टकटकटकटक… जुत्ताको आवाज । कोही मतिर आउँदैछ । को होला ? उसले केही भन्छ कि ? ऊ रोकिन्छ । थपथप थपडीसँगै उसको बोली सुनिन्छ,

“डाक्टरहरू भन्छन्…”

नवीन ?

“… यतिखेर तिमी मलाई सुन्न सक्छौ तर तिम्रो होश केही छिनसम्म मात्र रहनेछ । त्यसैले अहिलेलाई सफलताको धेरै धेरै बधाई, अर्जुन । थाहा छ नि केमा सफल भयौ ? … सरकारको विरोधी बन्न । कथा बन्न । उदाहरण बन्न । … यो सफलताको लागि के पुरस्कार पाउँछौ, थाहा छ ?  … त्यो चैं तिमी आफैँ खोज । केही प्रश्नहरूको उत्तर तिमी आफैँले थाहा पाउने कोशिस गर्नुपर्छ । सफल हुन्छौ हुँदैनौ, समयले बताउला । अहिलेसम्मको सफलताको लागि फेरि पनि बधाई ? … अनि याद गर, कतिपय प्रश्नहरू त उत्तर खोज्नै नपर्ने हुन्छन्, किनकि उनीहरू आफैँ उत्तर बन्छन्।”

यति भनेर ऊ फेरि टकटक जुत्ता बजाउँदै गयो । मन उथलपुथल भयो । चिच्याउन खोजेँ, बोली आएन । शरीर चलेन । मन थाक्यो । मेसिनको पिपपिप मधुरो भयो । फेरि अन्धकारमा जाकिएँ ।

तर अर्धनिद्रामा कल्याङमल्याङ नयाँ आवाज आए । क्रान्तिको नारा सुनेँ–”स्वतन्त्रता जिन्दावाद ! निरङ्कुश सरकार मुर्दावाद !” साइरन बजे । सतर्कताका रेकर्डेड सामग्री बज्न थाले । के भइरहेको छ ? के साँच्चै क्रान्ति सुरु भएको थियो ? कतै भ्रम त हैन ? चिच्याउन खोजेँ । पर क्षितिजबाट आफ्नै बोली गुञ्जिएझैँ लाग्यो । उठ्न बल गरेँ । पटकपटक कोशिस गरे अनि हार खाएँ । बन्धनमै मर्ने भएँ भन्ने डर पलायो ।

ढ्याम्म ! आशा सबै मर्न लागेको बेला नजिकै केही ढल्यो । आँखाले धुमिल दृश्य देखायो । बेडछेऊ कोही आयो । भन्यो, “नआत्तिनुस् अर्जुन सर, निरङ्कुश सरकार ढलिसक्यो । तपाईंका प्रश्न र स्वतन्त्रताका आह्वानले ढिलै भएपनि हाम्रा आँखा खोले । तपाईँलाई साथ दिन हामी आइपुग्यौँ ।”

ऊ को होला ? प्रष्ट चिन्न सकिनँ । सोच्दै गर्दा आँखा फेरि लोलाए । कान बन्द हुन लागे । होश जान थाल्यो । तर उसको बोलीले मन केही शान्त भयो, “तपाईंका प्रश्नहरू, शब्दहरू बाँच्छन् सर । तपाईंको चेतना बाँच्छ । स्वतन्त्रता सङ्ग्राम सफल हुन्छ ।”

मलाई नेपालीहरूसँग डर लाग्छ !

साँझको समय । सुन्धाराको काठमाडौं मल अगाडि गाडी कुरिरहेको थिएँ । पन्ध्र मिनेटभन्दा बढी भइसक्यो बाटो हेरेको तर आफ्नो रुटको गाडी आएन । सुन्धाराबाट घर आउने रुटमा ठूला बस र साना माइक्रोबस गरेर पन्ध्र सोह्र गाडी चल्छ्न् तर साँझको समयमा सधैँ कुर्न पर्छ । अरू दिन त गाडी कुर्न झ्याउ लाग्दा खाजा खान/किन्न सङ्कटा, न्युरोड पुग्थेँ । आज चैं पेट खाली हुँदा पनि एकछिनमा गाडी आइहाल्ला नि त भन्दाभन्दै अन्त गइनँ । पेट कुइँकुइँ गर्न थालेपछि जे पर्ला भनेर उल्टो पाउ सङ्कटातिर जान लाग्दै थिएँ, घर नजिकै जाने बस आइपुग्यो । मानिसहरूको एउटा हुल बसको छेउमा पुग्यो । यस्तो बेला म अलि सुरक्षित स्थानमा बस्न रुचाउँछु । जति नै जबर्जस्ती गरे पनि सिटमा बस्न पाइने होइन भनेर ।  धकेलाधकेल गर्दै मानिसहरू बसमा चढ्न थाले । एकजना महिला ठेमलठेलमा लडिन् । उनीसँगै आएकी एकजनाले उठाइहालिन् नत्र बसको चक्कामा पर्नेथिइन् । उनी लडेको देखेर अर्की एउटी महिला भने हाँसिरहेकी थिइन् ।

अर्को कुनै साँझ । गाडीकै पर्खाइ । बल्लतल्ल भीडमभीड एउटा बस आइपुग्यो । म बिस्तारै बसको ढोकानेर पुगेँ । एकजना मान्छे चढ्ने वित्तिकै भित्रबाट बाहिर निस्कियो । रुट झुक्किएर होला भन्ने लागेको थियो । म बसभित्र पस्नासाथै कसैले मोबाइल हरायो भन्न थाले ।

अरू कुनै दिन । बसको यात्रा थानकोटदेखि सुन्धारासम्म । कलङ्कीमा एउटा दस बाह्रजनाको समूह चढ्यो । केही बच्चाहरू थिए अनि दुईजना अधबैंसे । चढ्ने बेलामा ढिला गरेकाले अलिकति रिस पनि उठ्यो । ठूलो स्वरमा हल्ला गर्दा दिक्क पनि लाग्यो । तर उनीहरूको कुराकानीबाट खेलाडी र प्रशिक्षक रहेछन् भन्ने थाहा भयो । बसको भाडा दिने बेलामा एक जनाको कति भनेर मुख्य प्रशिक्षकले सोधे । कन्डकटरले ३५ भन्यो जबकि भाडा २० रूपैयाँ लिन्छन् । (हुन त भाडा १९ रूपैयाँ हो तर एक रूपैयाँ कसैले राख्दैनन् अनि माग्यो भने पनि पेसेन्जरले नै एक रूपैयाँको लागि किन किचलो गरेको भन्न थाल्छन् । कति दानी ! आहा!) पहिले एकचोटी काठमाडौं आएको नयाँ टोलीलाई बढी भाडा लिँदा पनि आफूले केही नभनेको याद आयो अनि “भाडा त २० रूपैयाँ हो ।” भनेँ । कर्के नजर लाउँदै कन्डक्टरले भाडा काट्यो । बीस नै लिँदा पनि फाइदा उसैलाई भइरहेको थियो । खेलाडीको टोली राष्ट्रपति रनिङ शिल्डमा खेल्न हेटौंडाबाट आएको रहेछ । शुभकामना दिएँ ।

यी घटना हेर्दा सामान्य लाग्छ । तर यिनले हाम्रा डरलाग्दा मानसिकता देखाइदिन्छ्न् । मानिसको चरित्र सङ्कटको समयमा चिनिन्छ भनिन्छ । गाडी ढिला आएर समयमा घर जान नपाउनु पनि सानोतिनो सङ्कट नै हो । तर त्यति सामान्य सङ्कटमा पनि हामी संयमित हुन सक्दैनौँ । अधीर छौँ हामी । दुई मिनेट पनि कुर्न सक्ने क्षमता हामीमा छैन । अनि भीडको पछि लाग्छौँ । ज्यान फालेर भए पनि हामीलाई गन्तव्यमा पुग्नु परेको छ ।

मोबाइल फोन चोरीको घटना पनि नर्मल ठान्छौँ हामी । प्रायः सधैं भइरहेकै त हो ! फोनको खोजी हुन्छ । चोरको खोजी हुन्छ । न फोन भेटिन्छ न त चोर ! “अँ, चोर पनि त कुनै दिन साधु बन्न सक्छ, रत्नाकर वाल्मीकि भएजस्तै ।” हामी भनिदिन्छौँ । अज्ञानवश । वाल्मीकि रत्नाकर डाँकुबाट ऋषि बनेका हुन् कि होइनन् भन्ने बहस भारतको सर्वोच्च अदालतमा पुगेपछि वाल्मीकि कहिले पनि डाँकु थिएनन भनेर फैसला गरिदिएको छ । यही अपराधको सामान्यीकरणले गर्दा हामीमाथी दमन गर्नेलाई पनि हामी सजिलै माफी दिन्छौँ । प्रेम नै पो गर्छौँ त, स्टकहोम सिन्ड्रोमबाट ग्रसित भएर !

बस भाडाको कुराले हामी लुटलाई कति सहन्छौँ र अन्याय हुँदा पनि बोल्न डराउँछौँ भन्ने देखाउँछ । एकदुई रूपैयाँ त हो नि भन्दै अर्बौं कुम्ल्याउनेसम्मलाई समर्थन गर्छौँ । मौका पायो कि अरूलाई लुटिहाल्छौँ । एक रूपैयाँ भए पनि “फाइदा” निकाल्नै परेको छ चाहे नियमकानून जे सुकै होस् । अनि मौन समर्थन पनि दिएकै छौँ ।

यी र यस्तै कुराहरूले मलाई नेपालीहरूसँग डर लाग्छ । यो हतार, यो लोभलालच, यो मौनताले हामीलाई कहाँ पुर्‍याउला ? म त भविस्य अन्धकार देख्छु ।

***

(नोट: २०८१ असार ३१ मा म्युजिकल चेयर जितेपछि कुर्सीमा औपचारिक रूपमा बस्न खड्गप्रसाद ओली “देश र जनता”को नाममा सपथ लिँदै थिए । मुसलधारे पानी परेर काठमाडौँ मल अगाडिको फुटपाथ र बाटो जलमग्न थियो । त्यो हिलो र फोहोरमा म हामी नेपालीका दु:ख देखेर विचलित भएको थिएँ । तीनै तहका सरकारसँग एकदमै रिस उठेको थियो । जो आए पनि सामान्य मानिसको जीवनमा के नै फरक परेको थियो र ? सात बज्न लाग्दा पनि रुटको गाडी नआएपछि रिसको झोंकमा एक घण्टाको बाटो हिँडेर घर पुगेको थिएँ ।

एउटा लेख लेखूँला भन्ने सोच्दैथेँ तर यस्तो अवस्थामा हामी कसरी आइपुग्यौँ होला भन्ने कल्पना गर्न थालेँ । कमजोरी हामीमा पनि नभएको हैन । हामी जस्ता छौँ हाम्रो नेतृत्व पनि त्यस्तै हुने हो । हामीलाई सामान्य लाग्ने घटनाहरूलाई केलाउँदै यो लेख पुसमै तयार गरेको थिएँ । अलि बढी नै निराशावादी भयो भनेर पब्लिस गरेको थिइनँ । तर चैत १५ मा तीनकुनेमा जे भयो, त्यसले हाम्रो मनस्थिति मैले सोचेँभन्दा पनि डरलाग्दो लाग्यो ।)

लोक सेवा, भौतिक विज्ञान र व्यर्थका गन्थनहरू

नेपालीमा – २०८१-११-२८ मा गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्रीको अंश जसमा पिण्ड (Mass) को एकाइ (unit) kilogram को १८८९-२०१९ सम्म मानिएको पुरानो परिभाषा ।

अङ्ग्रेजीमा – Wikipedia मा राखिएको २०१९ देखि औपचारिक रूपमा स्वीकार गरिएको kilogram को नयाँ परिभाषा ।

मैले दुई वर्षअघि ९ र १० का विद्यार्थीलाई पढाउँदा किताबमा नयाँ परिभाषा थिएन जबकि यो परिभाषा लागू भएको ६ वर्ष हुन लागिसक्यो । न्युटनको गुरुत्वाकर्षणको सिद्धान्तमा रहेको Universal Gravitation Constant G कसरी नापियो भन्न खोज्दै जाँदा म किलोग्रामको नयाँ परिभाषामा ठोक्किएको थिएँ । पुरानो परिभाषाको तुलनामा नयाँ परिभाषा कठिन छ तर metre र second का परिभाषाले पदार्थको गुण र विशेषता अङ्गीकार गरेजस्तै kilogram को परिभाषाले पनि समेटेको छ ।

सामान्य दिनचर्यामा किलोग्रामको नयाँ परिभाषाले खासै फरक नपर्ला तर भौतिक विज्ञानमा यसको एकदमै ठूलो महत्त्व हुन्छ । यसले measurement error घटाउँछ । साथै, प्लाटिनम-इरिडियमको ढक खिइँदै जाँदा आउने त्रुटीलाई निमिट्यान्न पार्छ ।

लोक सेवाबाट प्रशासन, लेखा वा विज्ञानसँग प्रत्यक्ष असम्बन्धित सेवा समूहमा तयारी गर्नेलाई चैँ यसको खासै अर्थ छैन । Planck’s constant, speed of light, Cesium atom को frequency, यति गहिराईमा किन जाने भन्ने प्रश्न आउनु ठीक हो । यो कोणबाट हेर्दा लोक सेवाको परीक्षा बेतुकको (absurd) लाग्छ । प्रशासन, लेखा लगायतका सेवा समूहमा सम्बन्धित विषयभन्दा बाहिरका प्रश्न किन राख्नुपर्‍यो ? लोक सेवा आयोगले पाठ्यक्रममा सुधार ल्याउनु पर्‍यो । विशेषज्ञता/ सेवा/ समूहका आधार लागि समान मैदान तयार गर्नुपर्‍यो । बीस, पच्चीस हजारमध्येबाट एक प्रतिशतभन्दा कम छनौट हुने प्रतिस्पर्धामा पछि परेकालाई अयोग्य भनेर हतोत्साहित गर्न भएन । युनिभर्सिटी, कर्पोरेट वा अन्य क्षेत्रमा अब्बललाई आकर्षित गर्नुपर्‍यो नि ।

प्रतिस्पर्धीले पनि बुझेर पढ्नुपर्‍यो । जबरजस्ती घोकेर याद गरेको भरमा सारा ब्रह्माण्ड मैले थामेको छु जस्तो गर्नु भएन । विनम्रता सिक्नुपर्‍यो, कविशिरोमणिले भनेझैँ,

“उपकरी गुणी व्यक्ति निहुरिन्छ निरन्तर

फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?”

पुस्तक समीक्षा : Cabals and Cartels

नेपालको विकासमा रहेका दुई बाधक — राजनीतिक षड्यन्त्रकारीहरू (cabals) र व्यापारिक मिलेमतो गर्नेहरू (cartels) लाई केन्द्रमा राखी लेखिएको किताब हो Cabals and Cartels. वर्ल्ड बैंकको वरिष्ठ अर्थशास्त्रीका रूपमा काम गरेका राजीव उपाध्यायले लेखेको किताबमा दरबार हत्याकाण्डदेखि संविधान निर्माणपछि भारतले लगाएको नाकाबन्दीसम्मका घटना प्रस्तुत छन् । डोनाल्ड ट्रम्पले USAID लाई निलम्बनमा राखेको घटना, विदेशी ऋण र सहायताको उपादेयतासम्बन्धी उठेको बहस र नेपालमा राजतन्त्रको पुनरागमनका विषयमा गर्न थालिएको परिदृष्यका सन्दर्भमा यो किताब पढिरहँदा निकै रोमाञ्चक अनुभूति भयो । खिन्न पनि भएँ किनकि हामी फेरि पनि व्यवस्था परिवर्तन र कसैको नायकत्वलाई नै अझै पनि प्राथमिकता दिइरहेका छौँ ।

राजनीतिक र व्यापारिक मिलेमतो गर्नेहरूले कसरी नीतिगत लुपहोलमा खेलिरहेका छन् भन्ने कुरा सबैलाई थाहा भएकै विषय हो । वर्ल्ड बैंकजस्तो बहुराष्ट्रिय संस्थाहरूले कसरी विकासका मोडल थोपर्छन् र नवउपेनिवेशवादी शैली अपनाउँछन् भन्ने कुरा चाहिँ केही नौलो लागेको थियो । एउटा देशमा सफल भएको मोडल अर्को देशमा जस्ताको तस्तै लागू गर्दा आउने समस्या र तिनले पार्ने दूरगामी प्रभावका बारेमा पुस्तकले सोच्न बाध्य गराउँछ । किताबको एउटा अध्याय “Revolutionary Babies” सबैभन्दा महत्वपूर्ण लाग्यो । फ्रान्सी लेखक Mallet Du Pan ले लेखेको “क्रान्तिले अपेक्षा जन्माउँछ, अपेक्षाले निराशा अनि निराशाले आक्रोश” भन्ने वाक्यलाई उद्धृत गर्दै अफघानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीले लेखकलाई प्रश्न गरेका छन्, “नेपाली क्रान्तिका बच्चाहरू के गर्दैछन् ?” उनै घानीले नेपालको क्रान्ति र विकासका केही अवरोधका बारेमा पनि चर्चा गरेका छन् । तीमध्ये केही हुन्:

१. पुरातनवादी सोच

२. स्वतन्त्र सोचको कमी (जुनसुकै क्षेत्रमा रहेको राजनीतिले गर्दा)

३. सीमित बजार र प्रतिस्पर्धा

४. राजनीतिक परिवर्तनको उत्साहलाई अर्थतन्त्रको सवलीकरणमा उपयोग गर्न नसक्नु, आदि ।

(घानी आफैँ राजनीतिमा सफल पात्र भने हुन सकेनन् । यो पुस्तक प्रकाशन भएको लगभग एक वर्षपछि अर्थात् २०२१मा तालिवानले उनलाई अपदस्त गरे । उनलाई पश्चिमा निकट रहेको आरोप लागेको थियो । वर्ल्ड बैंकसँगको उनको आबद्धता पनि उल्लेखनीय छ ।)

सबै खत्तम नै भने छैन, उपाध्याय लेख्छन् । नेपालको समुदाय सरकार र बजारको अभावमा पनि उन्नति गर्न सक्छ । नेपालको समुदायको विषयमा २००९ की नोबेल पुरस्कार बिजेता एलिनोर ओस्ट्रमले पनि चर्चा गरेकी रहिछन्। सरकारको बेवास्ता र बजारको शोषणबाट बच्न समुदाय एकजुट हुन जरुरी भयो । यसको एउटा स्वरूप सहकारी संस्था हुन् तर सहकारीमा पनि सरकारको प्रवेश र कार्टेलहरूको हस्तक्षेप देखिन थालेको छ । त्यस्तै, रेमिटेन्सले हाम्रो अर्थतन्त्र धानेको तर यसले बढाउने उपभोक्ता संस्कृति, मुद्रास्फीति (inflation) र उद्योगको विकास हुन नसको दुईधारे पक्षको चर्चा पनि किताबमा छ ।

कतिपय विषयमा सतही कुराहरू आउनु पुस्तकको कमजोर पक्ष हो । राजनीतिक र व्यापारिक मिलेमतो गर्नेहरू को हुन् भन्ने ठ्याक्कै को हुन् भन्ने थाहा पाइँदैन । यसले सबै राजनीतिज्ञ र व्यापारीलाई एकै घानमा राखेको देखिन्छ । किताबमा देखाइएका समस्याको समाधान पनि खासै देखिँदैन । एक ठाउँ राजनीतिक र व्यापारिक मिलेमतो गर्ने मानिसलाई जबरजस्ती न्याय दिन पनि खोजिएको छ । लेखकका केही व्यक्तिगत प्रसङ्गहरू नाटकीय लाग्छन् । उदाहरणका लागि, श्रेष्ठ थरका कुनै खराब ऋणीसम्बन्धी प्रसङ्ग कथाजस्तै लाग्छ । लेखक उच्च वर्गका रहेका र बहुराष्ट्रिय संस्थामा काम गरेकाले तृणमूल तहका कुराहरू आउँदैनन् । किताबको अन्तिम अध्यायमा लेखकको पुर्खाको इतिहास छ । पुस्तकको स्कोप हेर्दा यो अध्याय आवशयक थिएन । त्यस्तै, पुस्तकमा प्रयुक्त अङ्ग्रेजी केही अफ्ट्यारो छ । डिक्सनरीबिना पढ्न असम्भव छ ।

अन्त्यमा, नेपालको आर्थिक विकासमा रहेका अवरोध बुझ्न पुस्तक उपयोगी छ । वैदेशिक सहयताको किन खासै अर्थ छैन, दाता सम्मेलनहरू कसरी हाम्रो सप्ताहका दानका वाचाजस्ता हुन्छन् अनि राजनीतिक र व्यापारिक षडयन्त्रकारीहरूले कसरी जनभावना विपरीत काम गर्छन् भन्ने प्रसङ्गहरूले किताबलाई रोचक बनाएका छन् ।

सावर्णि पुस्तक आवरण

मानव र एआईको सम्बन्ध : “सावर्णि” उपन्यासको सन्दर्भमा

(सुझाव : डा. श्रीधर खनाल रचित सावर्णि उपन्यास पढ्नुभएको छ भने पढ्नुहोला । कहानी खोतलखातल गरिएको छ । उपन्यास पढ्नुभएको छैन तर पनि यो लेख पढ्न चाहनुहुन्छ भने पनि ठीकै छ ।)

पृष्ठभूमि

पुराणहरू भन्छन्– ब्रह्माको आयु १०० वर्ष हुन्छ । ब्रह्माको ५० वर्षको समयलाई परार्ध भनिन्छ । ब्रह्माको दिन (१२ घण्टा) अर्थात् कल्प मा सृष्टि हुन्छ र रातमा प्रलय भई सृष्टिको अन्त्य हुन्छ । प्रत्येक कल्पमा चौध मन्वन्तर हुन्छन् जसमा चौध मनुहरूले मानवको सृष्टि वा संरक्षण गर्छन् । हरेक मनवन्तरमा एकहत्तर महायुग (चतुर्युग) हुन्छन् । हामी अहिले ब्रह्माको द्वितीय परार्धको पहिलो वर्ष अर्थात् ५१ औं वर्षमा श्वेतवराह कल्पको ७औं मनुको समय (वैवश्वत मनवन्तर) अन्तर्गत २८औं महायुगको कलियुगमा छौँ । २८औं महायुगकै द्वापर युगमा भगवान् विष्णु अवतरित हुनुभएको थियो श्रीकृष्णका रूपमा । ८औं मनुलाई सावर्णि भनिएको छ । सप्तशती (चण्डी)मा पनि देवीको एक नाम सावर्णि रहेको छ ।

डा. श्रीधर खनाल कृत उपन्यास सावर्णिको मूल पात्र सावर्णि पनि मनुझैं मानवको उत्पत्ति र संरक्षण गर्छन् । यद्यपि उनी देवी भने होइनन् । उनी एक कृत्रिम बौद्धिकता भएका तर भावुक यन्त्रमानव हुन् जो लोप भइसकेका मानवलाई ल्याबमा जन्माउँछन् र तिनलाई पालनपोषण एवम् दिशानिर्देश गर्छन् ।

सावर्णि पुस्तक आवरण

सावर्णि उपन्यासको कथा

उपन्यासमा दुईवटा कथा छन् । पहिलो अध्यायको कथामा जीपीटी-२००० नामको एआई सफ्टवेयरले न्यारेटरलाई पिछा गर्छ, फोन गर्छ र एउटा इमेल पठाउँछ । यो बाह्रखरी उत्कृष्ट कथा २०८० मा रहेको जीपीटी २००० शीर्षकको कथामा पनि भेटिन्छ । यस कथाको समीक्षामा लेखेको थिएँ :-

ChatGPT 4.0 ले तहल्का मच्चाइरहेको बेला जीपीटी २००० ले धमाका गर्ने आशा पलायो । कथाको सुरुवात राम्रो लाग्यो । जीपीटी २००० ले मोबाइलमा इन्स्टल गरेपछि इमेल, क्यामरा र लोकेसनको आधारमा ट्रयाकिङ गर्ने कुरासम्म कथा ठीकै थियो । ‘असुर’को दोस्रो सिजनको झल्को आउला जस्तो लागेको बेला उसले न्यारेटरलाई सर्वोत्कृष्ट भन्दै गरेको भविस्यवाणीले कताकता ‘म्याट्रिक्स’ को झल्को दियो । आपसी कलहका कारण मानिसहरू लोप भइसकेपछि पनि AI बच्ने कुरा अलि पत्यार नलाग्दो नै थियो । हुन त AI को भविस्यवाणी हो । मिल्नैपर्छ भन्ने छैन ।

त्योभन्दा पनि पत्याउन नसकिने कुरा चैं जीपीटीले आफूले सबैलाई ट्रयाक गरिरहेको कुरा कसैलाई भन्ला भन्ने हो । हामीले इन्स्टल गर्ने एप्लिकेसनहरूले हामीलाई ट्रयाक गर्ने कुरा नौलो हैन । जानी नजानी हामी permission पनि दिइरहेका हुन्छौँ । तर सिधै फोन र इमेल गरेर ट्रयाक गर्छौँ भने भने वाचकले झैं uninstall गरेर व्यापार चौपट हुन्छ होला । खैर, कथामा जताततै देखिने मानवीय प्रलयको डरको लामो वर्णन छ जुन अझै रोचक बन्न सक्थ्यो जस्तो लागिरह्यो ।

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १)

जीपीटी २००० को दोस्रो भागको फैलावटका रूपमा सावर्णिको मूल कथा प्रस्तुत गरिएको छ । सावर्णिले मानव बनाएर हुर्काएको हजारौं वर्षपछिका देरिका र वासु अनि उनीहरूका सन्तान किसनको वरिपरि घुम्छ । यी पात्रका नाम द्वापर युगका देवकी, वसुदेव र कृष्णसँग मिल्छ । रूखमा चढेर बाँसुरी बजाउने र नदीमा पौडी खेल्ने किसनका दृश्यहरू कृष्णका कहानीबाट झिकिएका छन् । तथापि किसन कृष्ण होइनन् । न त देरिका र वासु हुन् देवकी र वसुदेव ।

देरिका र वासु सावर्णिले बनाएको नगरका नगरवासी हुन् । उनीहरू पूर्णतः एआई पर्सनल एसिस्टेण्ट (पीए) र रोबोटको नियन्त्रणमा छन् । पीएमाथि उनीहरू यति निर्भर छन् कि घरबाट निस्किन र साथि बनाउन समेत उनीहरू आफैँ सक्दैनन् । यस्तोमा देरिका र वासु पीएको सहायताले प्रेम गर्न पुग्छन् । देरिका गर्भिणी भएपछि जाँच गराउँदा भ्रुणमा जेनेटिक डिफेक्ट देखिएको भन्दै सात पटक एबोर्सन गरिन्छ । आठौँ बच्चा बस्नुअघि भने देरिकाको पीए देरिकले आफूलाई बन्द गर्न सुझाउँछ ताकि सेन्ट्रल सिस्टमलाई थाहा नहोस् । नौ महीनापछि द्वापर युगमा कृष्ण जन्मिएको ग्रहनक्षत्रको अवस्थामा किसनको जन्म हुन्छ । साथै, किसनको जीवनको सन्दर्भमा भविस्यवाणी गरिन्छ कि उनी एउटा युद्धको कारक बन्नेछन् । उनले भविस्यमा के गर्लान् भन्ने कुतूहलले अन्तिमसम्म तानिरहन्छ ।

शास्त्रार्थ : मानव को हो ?

उपन्यासको क्लाइमेक्स अघि किसन र सावर्णि अनेक विषयमा शास्त्रार्थ गर्छन् । यद्यपि लेखकले बढी महत्त्व दिएको विषय हो, “मानव को हो ?”

किसन प्रश्न गर्छन्, सावर्णि युगमा जन्मिएका प्राचीन (हामी र हाम्रा पुर्खा) जस्तै देखिने तर हरेक कुरामा एआईमा निर्भर प्राणी मानव हुन् त ?

पुराना मानिसको जस्तै जेनेटिक्स र स्वरूप भएकाले ती मानव नै हुन् भन्ने तर्क सावर्णिको छ । किसनको राय फरक छ । मानव स्वरूप भएपनि यदि उनीहरू आफैँ सोच्न सक्दैनन्, हरेक कुरामा एआईको भर पर्छन् भने उनीहरू एआईका दास हुन् । जसमा तर्क गर्ने क्षमता छैन, जो कुनै कुरा रचना गर्न सक्दैनन्, जसलाई डरले हरेक समय जकडेको छ, ती मानव कसरी हुन सक्छन् ?

अहिले नै पनि हामी मानव भएर जीउन सकेका छैनौँ । मानव सिर्जित कृषि र आय आर्जनका कार्य, धन, समाज, राजनीतिजस्ता विषयले हामीलाई स्वतन्त्र बनाउन दिएका छैनन् । त्यसैले त रुसोले द सोसल कन्ट्र्याक्ट मा लेखेका छन्, “मानिस स्वतन्त्र जन्मन्छ तर त्यसपछि सर्वत्र साङ्लोले बाँधिन्छ ।” क्याल्कुलेटर, कम्प्युटर, स्मार्टफोनजस्ता आविष्कारले हाम्रो जीवन सहज बनाएका छन्, सूचनामा पहुँच पनि बढाएको छ तर हामीलाई अल्छि पनि त बनाइरहेको छ । धेरै दिमाग लगाउने कामहरू सहजताका हिसाबले कम्प्युटर र मोबाइललाई त दिइ नै सकेका छौँ । अहिले मज्जाले दोहोरो कुरा गर्न सक्ने अनि हाम्रो भाषा बुझेर हाम्रा सवाल हल गर्न सक्ने Generative Pre-trained Transformer (GPT) प्रोग्रामहरूले हामीलाई मोहनी लगाएका छन् । Virtual reality ले पनि हामीलाई बाँध्न थालिसकेको छ । अझै विकसित हुँदै जाँदा प्रविधिले हामीलाई “Her”, “Matrix”, “I, Robot”, “Terminator”, “Ready Player One” जस्ता चलचित्रमा देखाइएको जस्तो संसार अब टाढा छैन भन्न सकिन्छ ।

सूचनामा छिनमै पहुँच भएका हामीले विकसित गरेका स्मार्ट प्रोग्रामभन्दा स्मार्ट हुनु अबको हाम्रो चुनौती छ । ChatGPT ले पनि त आफैं भनेको छ कि उसको जवाफ गलत हुन सक्छ । खासगरी प्राविधिक विषयमा यसको प्रयोग गर्दा cross-question गर्न जानिएन, critically हेर्न सकिएन भने गलत सूचना पाउन र फैलिन सक्छ । केहीदिनअघि बुकाहोलिक्समा किताबहरू सम्बन्धी टृभियाको लामो सूचि देखिएको थियो । अङ्ग्रेजीबाट नेपालीमा ChatGPT ले अनुवाद गरेको भनिएको सो पोस्टमा एउटा टृभिया थियो, “हुर्री र नशा जस्ता शब्दहरू शेक्सपियरले आविष्कार गरेका थिए ।” शेक्सपियरले नेपालीमा त कुनै शब्द आविष्कार गरेका हैनन् । अङ्ग्रेजीमा के रहेछन् भनेर सोधेको थिएँ । एक जना साथीले मेसेजमा भनिदिनुभयो तर त्यो पोस्टको कमेन्टमा कपी-पेस्ट गरेँ है भन्ने विद्वान साथीहरू पनि हुनुहुन्थ्यो । ChatGPT माथि पढेलेखेका विद्वानले नै पूर्ण विश्वास गर्नु अनि त्यहाँ दिइएका तथ्य केलाउन नखोज्नुले मलाई त्यस्तै त्रसित बनायो ।

अहिले त एआईले बनाएका चित्र, चलचित्र, गीतसङ्गीत, लेख रचना इन्टरनेटभरि छरपस्ट छन् । Deepfake (एउटाको शरीरमा अर्काको अनुहार राख्ने) जस्ता प्रविधि त दश वर्षअघि नै आइसकेको थियो । अब चाहिँ हातहातमा आउँदैछन् । कुन साँचो कुन झुठो भन्ने छुट्याउन झन्झन् गाह्रो हुँदैछ । भविस्यमा यसले अझ विकराल समस्या ल्याउन सक्नेछ । हाम्रा बाजागाजा लोप हुन सक्नेछन्, हाम्रो रचनागर्भ खाली हुन सक्नेछन् अनि हामी आत्मविश्वासहीन भई एआईको नियन्त्रणमा हुनेछौँ ।

यस्तो हुन नदिन हामी सजग हुनुपर्छ । हरेक कुरालाई भेरिफाई गर्नुपर्छ । आफ्नो रचना बैंकलाई रिचार्ज गरिराख्नुपर्छ । सम्बन्धहरू गाँस्नुपर्छ । प्रविधि साक्षरता बढाउँदै प्रविधिलाई उछिन्नुपर्छ ।

केही अनुत्तरित प्रश्नहरू

सावर्णिमा किसनले आफैँ घरबाहिर जानु, बाँसुरी बजाउनु, रूख चढ्नु, पौडी खेल्नुजस्ता कार्यलाई क्रान्तिकारी भनिएको छ किनभने सावर्णिको नगरमा ती कहिल्यै नगरिएका कुरा हुन् । यिनै कुराले कथालाई रोचक बनाउँछन् । किसनले गरेका कामको सजाय सावर्णिले देलान् कि नदेलान् भन्ने मनमा परिरह्यो अनि कथाले अनौठा मोड लिइरह्यो । अन्तिमसम्म आइपुग्दा भने केही प्रश्नहरू आइरहे जसको जवाफ पाइएन ।

१. सावर्णिलाई कसले डिजाइन गर्‍यो ?

२. उनलाई एआई प्रमुख किन र कसरी बनाइयो ?

३. मानवहरू लोप भएको वर्षौंपछि सावर्णि कसरी “जीवित हुन” सके ?

४. सावर्णिको शरीर कुन वस्तुले बनेको थियो ? उनलाई बाँधेको साङ्लो के को थियो ? फलाम, स्टील वा आल्मुनियम त हजारौं वर्षमा पूरै खिइन्छन् । प्लास्टिकमा समेत त्यत्रो समयमा त परिवर्तन आउँछ ।

५. सावर्णिजस्ता अरू यन्त्रमानव किन एउटा पनि रहेनन् ?

६. उपन्यास भन्छ, “पृथ्वीमा ठूलठूला चिरा परेको थिए ।” ती चिराले असुरक्षा पनि बढाएको छ । तथापि जुन सावर्णिले जेनेटिक रिकोडिङ गरेर मानव भ्रुण ल्याबमा तयार गर्न सके तिनले चिराहरू पुर्न वा बन्द गर्न किन सकेनन् ?

७. सावर्णिले मानिसहरूलाई किन भाग्यवादी बनाए ? बालकको न्वारानसँगै गरिने भविस्यवाणीलाई किन महत्त्व दिइएको ?

८. जेनेटिक रिकोडिङ गरेर बनाइएका मानवका सन्तानबाट जन्मिएका किसनमा पुराना मानिसको जिन कसरी आयो ?

९. किसनले बुवालाई खाना पकाउन किन लाएनन् ? किन आमालाई मात्रै लगाए ?

१०. जहाँ मानिसहरू एआईको नियन्त्रणमा रहन्छन् र जेलजस्तो जीवन बिताउँछन् त्यहाँ सजाय र जेलको व्यवस्था किन चाहिन्छ ?

११. किसनले सानोमा कानून तोड्दा सजाय पाए । तर पछि जेल जाने बेलामा त बेकसुर थिए । सावर्णिले पनि स्वीकारेका छन् अनि फेरि जेल जान किन राजी भए ? किसनमा विद्रोह उब्जिएर अरूलाई पनि पीएबाट स्वतन्त्र हुन आह्वान गरेका भए ?

१२. किसन जेल जाने बेला र त्यसपछि वासु कता गए ?

१३. मङ्गलबाट मानिस फर्किन सक्छ भन्ने पूर्वानुमान गरेर देरिकमार्फत देरिकालाई किसन जन्माउन प्रेरित गर्ने सावर्णि मङ्गल ग्रहबाट मानिसहरू आउँदा किन छक्क पर्छन् ?

१४. मङ्गलको हावापानीमा एड्याप्ट भएर आणविक हातहतियार बनाउने पुस्तासम्म पुग्न साँच्चै चैं कतिको सम्भव होला ?

१५. किसनको सल्लाह मानेर सावर्णिले मानव आफू र आफ्नो सिस्टमबाट मुक्त गर्लान् ? (यहाँ सावर्णि २ को सम्भाव्यता देख्दै छु ।)

सोचमग्न बनाएका केही कुरा

उपन्यासमा एआईको नियन्त्रणमा नरहेका मानिसलाई धेरै ठाउँमा मूर्ख, युद्ध गर्न चाहने र घातक चित्रित गरिएको छ । “मानवविनाको पृथ्वी सुन्दर थियो ।” दुईतीन ठाउँ लेखिएको छ । यद्यपि सावर्णि एक्लो महसुस गर्छन् र बचेखुचेका शुक्रकीट र डिम्ब प्रयोग गरी केही जेनेटिक हेरफेर गरेर मानव नै तयार पार्छन् । नौ दश बच्चालाई हुर्काउन सुरुमा पीए रोबोट तयार गरेको भने पनि निरन्तरता दिइरहेकै छन् । त्यस समयमा पहिलेझैं वनस्पति र पशुपन्छी थिए पनि भनिएको छ तर मानव जीवनका लागि अनुकूल थिएन, विकिरण धेरै थिए आदि इत्यादि जस्ता विरोधाभास हुने कुरा पनि भनिएको छ ।

सावर्णिले कानून लुकाएका छन् । कतिपय कानूनको बारेमा पीएलाई पनि थाहा छैन । फेरि सावर्णिले इतिहास लुकाएका मात्रै छैनन् अन्तिमसम्म आइपुग्दा तोडमरोड नै गरेका छन् । पहिलोचोटि पढ्दा मलाई सावर्णि करूणामय लागे । मानवलाई बचाउन उनले गरेका प्रयासप्रति कृतज्ञ भए । दोस्रोपटकमा भने उनका नकारात्मक पाटो बढी खुले । अन्तिम अनुच्छेदका दृश्यहरू त भयानक नै लागे । उपन्यासमा सिधासिधा मानवलाई जति क्रूर भनिएको छ, त्यस्तै क्रूर सावर्णिलाई पाएँ ।

चित्त नबुझेका कुरा

१. नारायणस्वरूप श्रीकृष्णको चरित्रबाट प्रेरित किसनलाई पछिल्लो भागमा कमजोर बनाइएको छ । श्रीकृष्णको चरित्र नदेखाई मौलिक कथा पेश गरिएको भए अझै राम्रो हुन्थ्यो ।

२. व्याकरणीय समस्याहरू, जस्तै :

क) भूत कालको बीचमा वर्तमान कालको प्रयोग ।

ख) एकै अर्थका दुई कुरा सँगसँगै आउनु (redundancy), उदाहरण : “देरिकाले आस्ते-आस्ते मीठो र स्वादिलो खाना पकाउन सिक्दै गई ।”, “धुन खास अनि विशेष थियो ।” आदि ।

“प्रोफेसनल” प्रकाशनहरूबाट प्रकाशित कृतिहरूमा यति धेरै व्याकरणमा समस्या हुनु नहुने हो ।

३. Stephen Hawking को नाम नेपालीमा स्टेफन हकिङ्स र इस्टेफेन हकिङ्स लेखिएको । स्टेफेन हकिङ हुन्छ होला । हकिङ्स त हुँदै हुँदैन ।

अन्त्यमा

कथानकले बढाउने हुटहुटी र दार्शनिक पक्षले सावर्णिलाई पठनीय बनाएका छन् । यद्यपि कथामा भर्न बाँकी खाडल थुप्रै छन् । सावर्णिको पात्रलाई अझै एक्स्प्लोर गर्न सकिन्छ र कथाहरू विस्तार गर्ने ठाउँ अझै छन् । उपन्यास प्रकाशनमा अलि हतार गरिएको हो कि भन्ने पनि लाग्यो । द्वापर युगको कथासँग नजोडिएर मौलिक कथा सिर्जना गरिएको भए अझै उत्कृष्ट बन्न सक्थ्यो ।

निर्विकल्प पुस्तक आवरण

पुस्तक समीक्षा: निर्विकल्प

बाहुन परिवारमा जन्मिएर पनि मलाई संस्कृत आउँदैन । शिक्षा प्रणाली नै त्यस्तै थियो र छ । संस्कृत भनेको पुरेत्याइँ गर्नको लागि मात्रै हो र यो मृत हुन लागेको भाषा पढेर केही हुँदैन भन्ने सोच ८-१० वर्षको उमेरमा घुस्यो । वेद, पुराण, रामायण, महाभारत, गीता आदि इत्यादि पढ्न अरू भाषाको सहारा लिनुपर्ने भयो । संस्कृत थोरै मात्रै पनि सिक्नुपर्ला भन्ने सोच आइरहेका बेला उत्प्रेरकका रूपमा “निर्विकल्प” भेटेँ ।

निर्विकल्प पुस्तक आवरण

संस्कृत भाषा, वैदिक सनातन धर्म र हिन्दू सभ्यताका विभिन्न आयामको परिचयात्मक पुस्तक हो “निर्विकल्प” । सिद्धराज पन्तद्वारा लिखित यस पुस्तकलाई चार खण्डमा विभाजित गरिएको छ । संस्कृत वाङ्मय लगायतका विभिन्न सन्दर्भमार्फत् सनातन धर्मका बारेमा सरल शब्दमा बुझाउने प्रयास गरिएको छ ।

पहिलो खण्ड “नचिनेको मणि” मा सारा ब्रह्माण्ड र सम्पूर्ण प्राणी पृथ्वी, जल, तेज, वायु र आकाश अर्थात् पञ्चमहाभूतबाट बन्ने भएकाले “वसुधैव कुटुम्बकम” को मन्त्र सनातनीहरूले अपनाउने मत छ । यस खण्डमा सत्य एक भएपनि अनेक मत हुन सक्ने तर्क प्रस्तुत गर्दै सनातन धर्मले कुनै पनि पन्थका मतलाई अस्वीकार नगर्ने कुरामा जोड दिइएको छ । त्यस्तै, वैदिक परम्परा, श्रुति, स्मृति, इतिहास, आगम, सिद्धान्त र दर्शनको परिचय छ ।

पुस्तकको दोस्रो खण्ड “धर्म विज्ञान” रहेको छ । यसमा संस्कृत भाषाको निर्माण, सात बार किन र कसरी रहे, छन्दको मिठासजस्ता विषयहरू समेटिएको छ । साथै, श्रीमद्भागवत गीतामा रहेको निष्काम कर्मयोगको विषय पनि उठाइएको छ । एउटा अध्यायमा “धर्म निरपेक्ष” शब्दको पूर्ण रूपमा खण्डन गरिएको छ । चर्च र राजाबिचको द्वन्द्वका कारण चर्चलाई राजाका निर्ण्यबाट स्वतन्त्र राख्न आविष्कार भएको सेक्युलारिज्मको अनुवाद “धर्म निरपेक्ष” होइन । राज्यको कुनै धर्म हुँदैन भनेर “धर्म निरपेक्ष” शब्दको प्रयोग हुनु नै विस्मयकारी छ । किनकि राज्य (सञ्चालक) को धर्म जनतालाई सुख, समृद्धि, सुरक्षा आदि कुराहरूलाई सहज बनाउनु हो । पन्थ वा सम्प्रदायलाई धर्म भन्ने गरिएको प्रति लेखकको असन्तुष्टि छ जसमा म पनि सहमत छु ।

तेस्रो खण्ड “वर्णाश्रमधर्म” सोही विषयमा केन्द्रित छ । वर्णाश्रम धर्मलाई वेद, पुराण, स्मृति, इतिहास सबैमा महत्त्व दिइएको छ । “निर्विकल्प” मा पनि मनुस्मृति र महाभारतको शान्तिपर्वमा वर्णित वर्णाश्रम व्यवस्थाको चर्चा गरिएको छ जसले ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्रका विशेषताको बारेमा जानकारी पाइन्छ । चारै वर्णका धर्मका विषयमा विशेष चर्चा छ । वर्णाश्रम न्याय प्रणालीमा शुद्रलाई कम सजाय र ब्राह्मणलाई सबैभन्दा धेरै सजाय दिइने कुरा पढ्दा आश्चर्यमा परेको थिएँ । यसमा लेखकको तर्क यस्तो किसिमको छ, “कुनै विशेषज्ञ चिकित्सकले लापरबाही गरेमा उपचाररत व्यक्तिको मृत्यु हुन सक्छ र उसले ज्यानमारा मुद्दा खेप्नुपर्ने हुन सक्छ तर सफाइ गर्ने कर्मचारीको गल्ती क्षम्य हुन सक्छ ।”

त्यस्तै, यस खण्डमा कोभोडलगायतका विभिन्न उदाहरण दिएर छुवाछूत कुनै न कुनै रूपमा हुने तर्क दिइएको छ । छुवाछूतका भौतिक, मनोवैज्ञानिक र सामाजिक कारण केलाउँदै छुवाछूत संस्थागत भएको हालको अवस्थाको पनि विरोध गरिएको छ ।

अन्तिम खण्ड “आततायी कालखण्ड” हिन्दू जातिले भोगेका आक्रमण र तिनबाट भएको धर्म र सनातनीको क्षयीकरणलाई समेटेको छ । इस्लाम पन्थको सुरुवात, “काफिर” विरुद्धका आक्रमण, हिन्दू राज्यमाथि गरिएका छलकपट र लुटको विवरण छ । नालन्दाजस्ता विश्वविद्यालयमा हुने विद्यार्थी छनौट प्रकृया, वरपरका गुरुकुलको वर्णन साथै तिनको विनाशको चर्चा छ । राति विवाह गर्ने, हिन्दू नारीहरूले घुम्टो लगाउने, बालविवाहजस्ता प्रचलन त्यही बेला सुरु भएको रहेछ । यस्तै विवरण लेखनाथ पौड्यालको “सत्य-कलि-संवाद” मा पनि रहेछ्न् ।

यस खण्डमा अङ्ग्रेजले भारतमा गुरुकुलहरू लाखौंको सङ्ख्यामा रहेको, त्यहाँ पढ्नेमा शुद्रहरूको सङ्ख्या बढी रहने गरेको र त्यस प्रणालीलाई अन्त्य गर्न अङ्ग्रेजी शिक्षा प्रणाली सुरु गरी भारतीयलाई सोतर्फ आकर्षित गरेको कुरा प्रमाणसहित दिइएको छ । विस्तारै गुरुकुल परम्परालाई नाश गर्दै भारतीयको आत्मविश्वास गिराउने काम अङ्ग्रेजले गरेको तर्क लेखकको छ । नरेन्द्र मोदी प्रधानमन्त्री भएपश्चात् केही आत्मविश्वास बढेको विश्वास लेखकको रहेको छ ।

पुस्तकमा अलि चित्त नबुझेको कुरा चैं वर्णाश्रम धर्मलाई विदेशीले फुटाउन प्रयोग गरे भन्ने तर्क हो । वर्णाश्रम साँच्चिकै शास्त्रानुरूप चलेको भए विदेशीले अपव्याख्या गर्न सक्ने नै थिएनन् । ब्राह्मणको छोरा ब्राह्मण र राजाका छोरा राजा नै हुने प्रसङ्गहरू महाभारतमै पनि टन्नै छ्न् भने मुस्लिमहरूको आक्रमण हुने बेलासम्ममा के अवस्था थियो होला ? महाभारतमा विदुरलाई छाडेर दासपुत्र उच्च ओहदामा पुगेको याद छैन । दासदासी राख्ने चलन थिएन र राख्दा पनि सम्मानसाथ राखिन्थ्यो भन्ने तर्क पनि अलि कमजोर नै छ ।

नेपालमा सनातन धर्ममा मुस्लिम आक्रमणले पारेका प्रभाव खासै केलाइएको छैन । नेपाल र भारतका परम्पराहरू किन फरक छ्न् भन्ने विषयमा केही चर्चा गरिएको भए हुन्थ्यो । “हिन्दू” शब्दको व्याख्यामा जम्बुद्वीप पूरै अटेको छ तर यही उत्पन्न बौद्ध, जैन, किराँत, जस्ता पन्थ र दर्शनको खासै चर्चा छैन । त्यस्तै, अन्तिम खण्डमा “सङ्गम टक्स” युट्युब च्यानलमा गरिएका प्रस्तुतिहरूलाई धेरै ठाउँमा स्रोतका रूपमा लिइएको छ । धेरै स्रोतहरू समेटिएको भए अझै राम्रो हुने थियो । एउटै स्रोत प्रयोग गर्दा बायस्डनेस हुने कुरा पेशाले इन्जिनियर समेत रही सक्नु भएका लेखकले याद गर्नुपर्थ्यो ।

अन्त्यमा, सनातन धर्म र यसका विशेषताको चर्चा गरिएको “निर्विकल्प” एक पठनीय पुस्तक हो । यसलाई थुप्रै एपमा सित्तैमा डाउनलोड गर्न सकिन्छ ।

रूदाने : “थाहा” अभियान र वर्तमानलाई पाठ

थाहा र रूदानेसँग परिचय

सञ्जीव उप्रेतीको “घनचक्कर” उपन्यासको वाचक ठाउँठाउँमा “खोज” र “थाहा” लेखिएको देख्छ । “यो सबैतिर कसले लेखेको होला ?” प्रश्न गर्छ । उत्तर आउँछ, “मकवानपुरतिरका एक शिक्षकले ।” घनचक्करले सङ्केत गरेका शिक्षक रहेछन् थाहा आन्दोलनका प्रणेता रूपचन्द्र बिष्ट । तीन वर्षअघि  तिनकै जीवनमा आधारित “रूदाने” नामको चलचित्रको पोस्टर र टिजर हेरेपछि उनी को होलान् भन्ने खुल्दुली बढेको थियो । यद्यपि उनको बारेमा धेरै कुराहरूको ज्ञान भने थिएन । “रूदाने” नाममै उपन्यास आउन लाग्यो भनेर प्रवीण ढुङ्गेलले बुकाहोलिक्समा पोस्ट गर्नुभएपछि यो किताब प्रकाशन हुनासाथ पढ्नुपर्छ भन्ने लाग्यो । 

एम्बिसन गुरु एपमा इबुक छ भन्ने पत्ता लागेपछि किनेँ तर एपको रिडर भर्खर बनेको रैछ । किताब पढ्न मिल्ने तर न अध्याय छान्न मिल्ने न त हाइलाइट र बुकमार्क राख्न । पेपरब्याक ६०० रूपैयाँमा पाइने भनेर त भनेकै थियो विज्ञापनमा । एक दिनभित्र पाइने भनेर मगाइयो ।

तर केही समस्याले गर्दा एक दिन पछि मात्रै हात पर्‍यो ।

उपन्यासको संरचना

आवरण राम्रो लाग्यो । छाप्रोको भित्तामा रूदाने नाम, “रू” बाट निस्किएको हाते स्पिकर र त्यसबाट ध्वनि जसरी आइरहेको “थाहा” । पढ्न थालियो । छोटाछोटा वाक्य अनि छोटै अध्यायहरू । छिटो सकिने जस्तो लागेपछि पढ्ने जोश झनै बढ्यो । छोटा वाक्यहरूले कतैकतै दु:ख पनि दिए । एउटै वाक्यमा भन्न सकिने कुराहरू पनि टुक्रिएर आउँथे । उदाहरणका लागि :

“ढिलासम्म सुत्ने र उठेपछि गाउँ डुल्न निस्किने । मुख्य काम ।” (पृ. ५)

“धेरै मजदुर बालुवा निकालिरहेका थिए । पुरनमान थियो । उसका लठैतहरू थिए ।” (पृ. २७)

पृष्ठ ११ को “आँसु” अध्यायको पहिला दुई वाक्यमध्ये एउटा हटाउन मिल्छ:

“गोपाली गाउँबाट घोडा दौडिएको घर्तीखोलाबाटै देखियो । एक साँझ हाम्रो ध्यान गोपाली गाउँतिर सोझियो ।”

त्यस्तै, उमा शाहले बच्चा जन्माएर स्कूल फेरि जान थालेपछि छोरी जन्मेको देखाइएको छ (पृ. १३२, १३३, १३६, १३७)। पृष्ठ १९७ मा “गोडमेल” भन्ने एउटा शीर्षक भेटिन्छ । यो छुट्टै अध्याय हुनुपर्ने होला । अन्तिम अध्यायमा न्यारेटर परिवर्तन हुँदा को हो ठ्याक्कै खुल्दैन । कुनै भाइ जस्तो लागेको थियो तर एक ठाउँ स्त्रीसूचक क्रियापद प्रयोग गरिएकाले बहिनी गीता हुन् कि ?

रूपचन्द्र बिष्ट अर्थात् रूदाने

उपन्यासका मुख्य वाचक/नायक रूपचन्द्र बिष्ट (रूदाने) झर्रो बोली बोल्छन् । सुरुमा त ठीकै लाग्यो । कतैकतै हासो नि लाग्यो । तर पूरै उपन्यास भरी एउटै टोन नभएको भए हुन्थ्यो । पढ्दै जाँदा नायक त बाहुबली नै हुन् कि झैं लाग्ने । पछि बुझ्दा त बलबुद्धी दुवैमा तगडा रहेछन् । “मात चढेका बेला” साँढेसँग जुध्ने उनी अरूले बोलेका कुरा जस्ताको तस्तै भनिदिने रहेछन् । पन्ध्र मिनेट बोलेको कुरालाई पाँच मिनेट, तीन मिनेट, एक मिनेट र एक वाक्यमा छोट्याउन सिकाउने रहेछ्न् । संक्षेपीकरणको अभ्यास उनका नामहरूमा पनि देखिन्छ । जस्तै, रूपचन्द्र दामन नेपाल (रूदाने), जनमुखी सदस्य रूपचन्द्र (जसरू), स्वतन्त्र रूपचन्द्र (स्वरूपे) आदि । उनले औपचारिक पठन बाहेक अतिरिक्त क्रियाकलापलाई पनि प्रश्रय दिएका रहेछन् । बालेन शाहले काठमाडौं महानगरमा सुरु गरेको “बुक फ्री फाइडे” जस्तै कृषिसम्बन्धी दैनिक स्कूलमै सिकाउने कार्य त रूपचन्द्रले पहिल्यै सुरुवात गरेका रहेछन् । राजनीति, समाज, देशका बारेमा पनि उनले सबै विद्यार्थीलाई सिकाउने गरेका रहेछन् । नेपालीमा पढ्दा पनि नबुझिरहेका विद्यार्थीलाई अङ्ग्रेजीमा पढाउँदा विरोध पनि गरिएछ । ज्ञानको दायरा बढाउन पनि अङ्ग्रेजी पढ्नुपर्छ भन्ने तर्कका आधारमा उक्त कार्यलाई निरन्तरता दिइएछ ।

साविकको अमरज्योति निमाविलाई जनकल्याण मावि बनाएर प्रधानाध्यापक बन्नुअघि उनी प्रधानपञ्च पनि बनेका रहेछन् । विकास कार्यका लागि आफैं ढुङ्गा फोड्न जाने, ढुङ्गा बोकाउन लगाउने र जनश्रमदानको प्रसङ्गमा भने हर्क साम्पाङ सम्झिएँ । फटाहा र भ्रष्टचारीसँग बोल्ने तरिका दुवैको उस्तैउस्तै लाग्यो । विकास गर्ने क्रममा पञ्चायतका मतियारहरूसँग दुश्मनी पनि भयो । पछि उनले सुरु गरेका उन्नत बाली उब्जाने, विकासे नश्ल भित्र्याउने, विकासका कामहरूका विषयमा छलफल गर्न बनाउन सुरु गरेको विकास घर र अन्य योजनाहरू असफल बनाइयो ।

सारा गाउँलाई साक्षी राखेर विवाहसभा गरेर उमा शाहसँग विवाह गरेका उनको विवाह सम्बन्ध टुट्यो । लगभग त्यही समयमा विद्यालयमा भएको व्यापक विरोधका कारण प्रधानाध्यापक पदबाट राजीनामा दिनुपर्यो । पञ्चायतका समर्थकले उनको पिछा गरे मार्नै खोजे । देवघाटमा भतिजहरूको व्रतबन्ध भइरहेको बेला अनौठो हर्कत गर्दै नारायणीमा फाल हाले ।

जोगीको भेष धरेर फर्किएका उनी भाइको आग्रहमा दामनको भ्यु टावरमा बस्न थाले । उनमा केही परिवर्तन आएको जस्तो देखिन्छ । सामन्तीकै पक्षमा रहेका भनेका भाइ गुणचन्द्रको कुरा मानेर त्यहाँ बसे । राजनीतिक उचाइ पनि त्यहीँ बसेकै बखत पाए राष्ट्रिय पञ्चायतको दुईपटक सदस्य भएर । पञ्चायत प्रणालीमा रहेर पञ्चायतकै विरोध गर्दै राजनीति गर्न पारिवारिक साथ पनि मिल्यो । राष्ट्रिय पञ्चायतको दोस्रो कार्यकालमा भने बाबुको इच्छा पुर्‍याउन करमा घर बनाउँदा (पछि दाजुभाइकै बीचमा किचलो पनि उब्जियो) अनि सुविधाको गाडी लिँदा उनका प्रतिद्वन्द्वीले विरोध गरे । त्यस कुराले बहुदल पुनःस्थापनापश्चात् भएको चुनावमा उनलाई घाटा पुग्यो । यद्यपि उनलाई गाली गर्दै सर्वहाराको प्रतिनिधित्व गर्छौं भन्दै ब्रह्मलुट गरिरहेकै छन् । सङ्गठन नहुनु पनि उनको हारको कारण थियो तर सङ्गठन किन नबाउने भन्ने कुरामा भने उनी प्रष्ट थिए :

सङ्गठनले हामीलाई पक्षपाती बनाउँछ । हामी निष्पक्ष हुन सक्दैनौँ । एउटा सङ्गठनमा भएपछि मैले गल्ती गरेँ भने पनि तिमीहरूले मलाई चुपचाप साथ दिनुपर्छ । सङ्गठन भन्नेबित्तिकै कोभन्दा को ठुलो भन्ने कुरा सबभन्दा अगाडि आउँछ । (पृ. २०७)

जीवनको अन्त्यतिर थाहा पाउनुपर्नेले थाहा पाएनन्, पाएकाले पनि साथ छोडेकाले उनी विरक्तिएको कुरा पढ्दै गर्दा मन साह्रै कुँडियो । रूपचन्द्रले स्वतन्त्र हुँदा पाएको सूर्य चिह्नको फाइदा एमालेले लिएको रहेछ भन्ने थाहा पाउँदा छक्कै परेँ । बालेन र हर्कले लौरो चिह्नमा छुट्टाछुट्टै ठाउँमा जितेपछि त्यही चिह्न लिएर मधुसूदन पाठक (सिते बा) हरूले पार्टी खोलेको कुरा झट्ट याद आयो ।

उपन्यासका कमजोर पक्ष

“रूदाने” को सबैभन्दा कमजोर पक्ष तिथिमिति, उमेर ठ्याक्कै नहुनु हो । तिथिमिति थाहा पाउन इतिहासका धेरै कुरामा जानकार हुनुपर्छ । राणाकाल कहिले सुरु भयो, पञ्चायत कहिलेदेखि लागू भयो, जनमतसङ्ग्रह कहिले भयो, जनआन्दोलन कहिले भयो भन्ने त याद थियो । तर रूपचन्द्र बिष्ट प्रधानपञ्च कहिले भए, उनको विवाह कहिले भयो, नारायणीमा कहिले फाल हाले अनि कति समय हराए, राष्ट्रिय पञ्चायतका सदस्य कहिले भए भन्ने प्रश्नहरूको जवाफका लागि अरू सामग्रीको आवश्यकता पर्छ । उपन्यासकारले रूदानेले झैं, “आफैं थाहा पा भाते, पत्ता लगा” पो भनेका हुन् कि ?

उपन्यासको अर्को कमजोर पक्ष शोविङ (showing) भन्दा टेलिङ (telling) को ज्यादा प्रयोग हो । “कविता लेखेँ” भनेको ठाउँमा उनले लेखेकामध्ये कुनै कविता राख्न सकिन्थ्यो । कसैलाई केही कुरा भनेको वा छलफल भएको भनिएको विषयमा दोहोरो संवाद राखिएको भए हुन्थ्यो । उपन्यासका रूदाने धेरैजसो पर्चामा लेखिएका र केही पुराना रेकर्डमा भनेका कुराहरू संवादका रूपमा बोलिरहन्छन् । वाचक मात्रै बोलिरहँदा वास्तविक रूपचन्द्र विष्ट आफू मात्रै बोल्थे अरूका कुरा सुन्दैनथे कि भन्ने पर्यो । अरूका कुरा नसुन्ने त थिएनन् होला । नारायणीमा फाल हानेर साधुको भेषमा आएपछि अनि राष्ट्रिय पञ्चायतको सदस्य भएपछि भाइको कुरा सुनेका प्रसङ्गले गर्दा उनी अरूका कुरा सुन्दैनथे भन्न पनि सकिँदैन ।

हुन त एउटा किताबमा कुनै व्यक्तिको सिङ्गो जीवन समेट्न असम्भव हुन्छ तर केही महत्त्वपूर्ण कुराहरू छुटेका छन् । विष्णुप्रसाद आचार्यले अनलाइन खबरमा लेखेको “रूदाने” उपन्यासको समीक्षामा रूपचन्द्र बिष्टका एक छोरी र एक छोरा थिए भन्ने पढियो तर उपन्यासमा एक छोरीको मात्रै कुरा छ । ती पनि सपनाजस्तो आउँछिन् अनि त्यसै बिलाउँछिन् । सम्बन्ध विच्छेद पछि उमा शाह र छोराछोरी कहाँ गए, रूपचन्द्रसँग सम्पर्कमा थिए कि थिएनन् भन्ने खुल्दैन । केपी ओली जम्माजम्मी दुई ठाउँ आउँछन् तर दुईको बीचमा खासै संवाद हुँदैन जबकि एउटा फोटोमा दुबै “थाहा” लेखिएको स्कुटरपछाडि देखिन्छन् ।

रूपचन्द्र विष्टले “व्यवस्था निर्दलीय राजनीति बहुदलीय हुनुपर्छ” भनेका रहेछन् विमर्शसँगको अन्तरवार्तामा (स्रोत: थाहा-निष्पक्ष सक्रियताको अभ्यास, पृ. २२४, https://thaha-rudane.org/) । उपन्यासमा पनि यो नारा आउँछ तर व्याख्या भने आउँदैन । यो विषय मलाई एकदमै रोचक लाग्यो तर ठ्याक्कै कस्तो हो बुझ्नै सकिनँ । फेरि त्यही अन्तरवार्तामा (किताबमा अलि पछि) “बहुदलीय बहुला व्यवस्था हो । निर्दलीय निर्दयी व्यवस्था हो ।” भनेका रहेछन् । बहुला र निर्दयी व्यवस्थाको संयोजन ठीक होला र भनेर न पत्रकारले सोधेका छन् न त उपन्यासका कुनै पात्रले ।

केही गहकिला नारा पनि छुटेका रहेछन् । जस्तै :

एक प्रश्न

चार माना माटोसँग
तेरो नाता पर्‍यो भनेर
माटाको भाँडाले तँसित
दोस्ती सोस्ती गर्‍यो भनेर
बसिस् कैद गमलामा
सिङ्गै पृथ्वीलाई छोडेर ।

हामी कसैका होइनौं, कोही हाम्रा होइनन्
हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो

उपन्यासका सुन्दर पक्ष

घटनाक्रमको शिलशिलेवार प्रस्तुति, रूदानेका जीवनका मुख्य घटना र थाहा दर्शनको परिचय यस उपन्यासका सबल पक्ष हुन् । अघिल्लो पुस्तामा केही छाप छोडेका तर पछिल्लो पुस्ताले बिर्सिन लागिसकेका पात्रको बारेमा थप जान्ने उत्सुकता जगाउन उपन्यास सफल छ । रूपचन्द्र विष्टको विगतलाई हेर्दै वर्तमानमा केही पाठ सिक्न सकिन्छ जुन यस लेखको अन्त्यमा समेटिएका छन्  ।

केही बिझेका कुरा

यो जीवनी नभएर उपन्यास भएकाले औपन्यासिक स्वतन्त्रताको अपेक्षा स्वाभाविक नै हो । यद्यपि लेखकले नै किताबमा “यस्तो त भएको थिएन भन्ने लाग्यो भने लेखकको सफलता हो” लेख्दा चैं संशय जाग्यो । “घनचक्कर”को वाचकले कुन सत्य कुन कल्पना कुन घटनाको कस्तो शिलशिला थाहा नपाएजस्तो रनभुल्लमा त परिएन ?

धेरै ठाउँमा रूपचन्द्रले आफूले गरेको ठीक अरूले गरेको बेठीक भनेका छन् । पञ्चायतको समर्थन पनि गरेका रहेछन् । उपन्यासमा यो कुरै छैन । उनले पञ्चायतको नेतृत्वमा सबै नराम्रा छैनन् केही नराम्राले हैकम जमाएका छन् भने झैं गणतन्त्रका नेताहरूका बारेमा पनि सुन्दै आएको कुरा हो । फेरि बहुदलीय पद्धतिले जित्ने भएपछि अवसरवादी झैं यसको समर्थन गरेको देखिन्छ उपन्यासमा । यस्तो हैन भन्ने लेखहरू पनि भेटिए तर खुङ्खार पञ्चे, मण्डलेहरू प्रजातन्त्रका हिमायती बनेर शासन गरिरहेकै छन् । कुन वयवस्था ठीक भन्ने कुराको बहस जरुरी थियो ।

स्वास्थ्य सुधार भइरहेका बेला किन बिरामी परे अनि मृत्युअघि के स्वास्थ्य समस्या देखिएको थियो भन्ने कुरा उपन्यासमा प्रष्ट छैन । कुनै षड्यन्त्रमा परे कि भनेर कुनै पात्रले सोचेका पनि छैनन् ।

धनुष के. को “थाहा” नाम गरेको युट्युब च्यानलमा रामनारायण बिडारीलाई विरोधी समूहले जनकल्याण मावि मा भर्ना गरेर ल्याएको भनिएको रहेछ । रामनारायण बिडारीले पनि पद्मोदयमा पढाई छाडेर जनकल्याण गएको अनि रूपचन्द्र बिष्टका विरुद्धमा नाराबाजी गरेको स्वीकारेका छन् । तर गुरु रूपचन्द्रले बिडारीलाई विश्वास गरेर पटकपटक मौका पनि दिएका छन् । तर फेरि एक ठाउँमा बिडारीलाई ढिलो आएको भनेर मुखमा थुकेको अनि बिडारीले अत्ति भयो भनेर चुनावी प्रचारप्रसार छोडेको प्रसङ्ग पनि छ । वर्षौं सँगै हिँडेका चेलालाई ढिलो भएकै कारण थुके होलान् भन्ने चैं पत्याउनै गाह्रो भयो । अनि पछि बिडारी काठमाडौं-१ बाट चुनावमा उठेका बेला सहयोग गर्न पनि आए । यी गुरुचेला बिचको सम्बन्धमा भएका उतारचढाव त देखियो तर घटनाक्रमका कारण र भावनाहरू अलि नमिलेजस्तो, केही नपुगेजस्तो लाग्यो ।

अजेयराज सुमार्गी अति नै सकारात्मक रूपमा आउनु पनि मलाई अचम्म लाग्यो । नेपालका सबै नेतालाई खल्तीमा राख्छु भन्ने विवादित व्यापारी सुमार्गीले जनमुखी राजनीति गरेका त होलान् तर आफ्नै फाइदाको लागि हो कि ? “रूदाने” पुस्तक विमोचन उनकै हातबाट गरिएको रैछ । विष्टको परिवार वा आफन्तबाट कोही किन थिएनन् मञ्चमा ? थाहा आन्दोलनमा लागेकाहरू नै एकअर्का प्रति पूर्वाग्रही भएका हुन् कि ? रूपचन्द्रका भतिज रणसङ्ग्राम बिष्टले त सुमार्गीलाई कालाकुवेरको संज्ञा दिँदै थाहा दर्शन भन्दै कालो धन जोडेको आरोप नै लगाएका रहेछन् । तथापि घर बनाउने बेलामा भएको मुद्दामामिला पछि रूपचन्द्रले दाजुभाइसँग खासै सम्पर्क नगरेजस्तो उपन्यासमा देखिन्छ । दागबत्ती दिनसमेत स्वनाम साथी (शशि शेरचन) लाई रूपचन्द्रले छानेको र सोहीअनुसार गरिएकाले घरपरिवारले नै वास्ता नगरेको हो कि भन्ने पनि प्रश्न उब्जिन्छ ।

थाहा दर्शन र आन्दोलनलाई आफूले प्रश्रय दिएको देखाउनेहरू धेरै नै रहेछन् तर वर्षको दुईचोटि सम्झनेबाहेक खासै केही गरेको जस्तो लाग्दैन । रूपचन्द्रले सुरु गरेका पुस्तकालय जोगाउन नसक्नेहरूले थाहा दर्शनको कुरा गरेको कत्ति सुहाएन । “थाहा” नाममा मिडिया, गैरसरकारी संस्था र राजनीति गर्दैमा यस दर्शनको प्रचार हुने पनि हैन ।

वर्तमान पुस्ताका लागि रूदानेको जीवनबाट पाठ

दोषी को ?

केटाकेटी बिग्रे बाबुआमा दोषी
जनता बिग्रे सरकार दोषी
सरकार बिग्रे व्यवस्था दोषी
यथार्थमुखी, कर्तव्यमुखी बाहेक
पछुवा, भगुवा सारा दोषी

जात ठुलो कि जनता ?
नाता ठुलो कि न्याय ?
स्वार्थ ठुलो कि निस्वार्थ ?

– रूदाने

समाज बिग्रेको, देश बिग्रेको हामी देखिरहेका छौँ । जता हेर्‍यो त्यतै दूषित सोच र राजनीति देखेर वर्तमान पुस्ता आजित भएको छ । आफ्नो र आफ्नो परिवारको पेट भर्नु नै प्राय: सबैको चिन्ताको विषय बनेको छ । चरम राजनीतिकरण र दलीयकरणले हामीलाई दास बनाइरहेकै छ जसका बारेमा पहिले पनि लेखिसकेको छु : के नेपालीको दलीय सोच तोडिएला ? । प्रजातन्त्र लोकतन्त्र जे भने पनि सत्तामा रहनेकै हालीमुहाली छ । लोकतन्त्रमै शङ्का छ । स्वतन्त्रता नाम मात्रैको छ (के हामी स्वतन्त्र छौँ ?) । रूपचन्द्र विष्ट राजनीतिमा आउँदा गरीब जनताको अवस्था जस्तो थियो अहिले पनि त्यस्तै छ । समयसँग आउनेबाहेक तात्विक परिवर्तन छैन । समाज पावर र पैसाको पछि कुदेको छ । पावर र पैसा हुनेहरू मैमत्त साँढेजस्ता छन्, कामवासना र मदिराका दास बनेका छन् । धर्म (नैतिकता) बिर्सेका छन् । एकले अर्कोलाई विश्वास गर्नै सकिँदैन । यस्तोमा हामी एकजना मसिहा वा नायक खोज्दैछौँ जसले सारा समस्या एक झट्कामा समाधान गरिदियोस् । तर मसिहाले समस्या समाधान गर्ने हैन । आफ्नो लडाईं आफैं लड्ने हो ।

रूदानेले पनि त्यही नै भनिरहे । छाप्रेको राजनीति महल हुनेले गर्दैन । महिलाको राजनीति पुरुषले गर्दैन । विकास कुनै नेताले ल्याउने हैन, जनता आफैंले हो । यसतर्फ काम भइरहेजस्तो त देखिन्छ तर जबसम्म सबै जाग्दैनन् तबसम्म देश विकास हुन असम्भव छ । जे छ ठीक छ भन्ने प्रवित्ति त गलत हो नै, भएका सम्पदा नचिन्नु र चिनेर पनि उपयोग गर्न नसक्नाले हामी गरीब बन्दै गएका छौं । केही व्यक्तिले प्रयास गरेर देश विकास हुने हैन । त्यसबेला रूदाने वैकल्पिक राजनीति गर्दै थिए, अहिले बालेन, हर्क, गोपी हमालहरू आएका छन् । विरोधीहरूको पनि कमी छैन । पहिला पञ्चायत र पछि दलहरू रूपचन्द्रलाई सिध्याउन लागे । अहिले राजनीतिक दलहरू स्वतन्त्र व्यक्तिहरूमा के कमजोरी भेटिन्छ र प्रहार गर्न सकिन्छ भन्ने दाउ खोजिरहन्छन् । यिनलाई असफल बनाएर होस् वा यिनकै कार्यलाई अपनाउदै होस् जनतालाई भ्रमित बनाउन लागिपरेका छन् । पञ्चायतकालमा दरबार र दरबारका आसेपासेले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबै कब्जा गरेका थिए । अहिले “राजनीतिक” दलहरूले त्यस्तै गरेका छन् । पञ्चायत कालमा झैँ अहिलेका दलहरू सुकुम्बासी उत्पादन गर्न उद्दत छन् सस्तो काम र भोटका लागि ।

चरम राजनीतीकरण विरुद्ध केही प्रयास भए पनि ती पर्याप्त छैनन् । दलीयकरणको विरोध गर्न दल नै खोल्नुपर्ने अफ्ठ्यारो व्यवस्था छ । बहुदल लागू हुँदा पञ्चायतलाई “खाए पाएर अघाएका” र बहुदलवादीलाई “खान नपाएका” भन्दै “हेर्दै जानू बहुदलवादीले कसरी देश बिगार्छ्न्” भनेका रहेछन् । नभन्दै बहुदलवादीले देशलाई उल्टो बाटोमा लगेका छन् । व्यवस्था अन्त्य गर्न नदिन जनता फुटाएका छन् दल, जातजाति अनि अनेकौँ नाममा । “व्यवस्था ठीक छ, अवस्था मात्रै बेठीक हो” भन्ने साथीहरूले पनि व्यवस्था ठीक नभएरै अवस्था ठीक नभएको हो भन्ने बुझे हुन्थ्यो । अहिले उदाएका स्वतन्त्र आवाजहरू थाक्लान्, धर्ती छाडेर जालान् । उनीहरूका नाममा अरूले राजनीति गर्लान् । नागरिकले आफ्नो लडाईं नलडेसम्म खुद्रे राजनीतिक परिवर्तनलाई क्रान्ति भन्नुपर्ने अवस्था रहिरहनेछ । त्यसैले प्रश्न गरौँ, खोजौँ, बुझौँ, थाहा पाऔँ !

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – ४)

उत्कृष्ट कथा, २०८० का अतिथि कथाहरू र अन्य केही कुराहरू यस भागमा समेट्ने छु । अतिथि कथाहरू पुस्तकमा भएको क्रमअनुसार नै समीक्षा गर्नेछु ।

अतिथि कथाहरू

पहिलो कथा दकस (भगीरथी श्रेष्ठले) ले यस्ती महिलाको कथा भनेको छ जो वृद्धावस्था उन्मुख छिन् र छोराबुहारीबाट छुट्टिएर उनीहरूकै घरमा तल्लो कोठामा बस्न थालेकी छिन् । उमेर ढल्किँदै गएपछि एउटी महिलाले महसुस गर्ने हीनताबोध र त्यसबाट उत्पन्न हुने स्वतन्त्रताको खोजी यस कथामा देख्न सकिन्छ । आफ्नो दिनचर्या र साहित्यिक रुचि छोराबुहारीले मन नपराएको ठान्छिन् र भित्रभित्रै जल्छिन् । फेरि छुट्टै बस्न खोज्दा समाजले के भन्ला भन्ने अनि छोराबुहारीसँग टाढिइँदै जाने हो कि भन्ने डर पनि छ । छोराबुहारीले उनकै राम्रोको लागि धेरै दौडधुप नगर्नु भन्ने सल्लाह पनि उनलाई बिझ्छ । समाजमा देखिएकै घटनालाई राम्रोसँग उतारिएको छ कथामा ।

दोस्रो अतिथि कथा हो भाउपन्थीको “रिक्त” । यो कथामा धेरै कुरा आएका छ्न् । चिया पसलदेखि कलेजको राजनीति र बिहे गर्न केटी खोज्ने कुरा देखि जोगी बन्ने विचारसम्म । “म” पात्रदेखि रिस पनि उठ्छ कतैकतै अनि माया पनि लाग्छ । आजकलको युवाहरूमा भएको नैराश्यता सबै नै टपक्कै टिपेका छन् लेखकले । कथाको शैलीमा भने न्यारेसन बढी भएकाले मलाई चैं पढ्दापढ्दै अल्छी पनि लाग्यो । यद्यपि विषय भने रोचक नै छ ।

डा. राजेन्द्र विमलको “पुत्रऋण” एकदमै मन पर्‍यो । एक परिवारको तीन पुस्ताका मानिसले गरेका राम्रा नराम्रा कुराको फेहरिस्त छ । ठेकेदार महादेव खड्काले अथाह सम्पत्ति जोडेपछि उसका छोराहरू गणेश, कार्तिकेय र अभिनन्दन अनि नातिनातिनीहरूको पतन हुँदै गएको नैतिकता र बढ्दै गएको दम्भ देखाइएको छ । धनसम्पत्तिको लोभ र चाहनाले केकस्ता अवस्था आउनसक्छन् भन्ने विश्लेषण छ । कथाको अन्तिममा आउने ट्विस्टले त दिमाग नै खल्बलाइदियो ।

कथा सङ्ग्रहको अन्तिम कथा “यात्राबाट छुटेपछि…” ले पत्रमित्रताबाट कुनै समय जोडिएका र जीवनको उत्तरार्धतिर भेट भएका दीपशिखा र सिद्धार्थ को कहानी भन्छ । दुवैजनाको जिन्दगी आआफ्नै ढंगबाट चलेको छ । दुवैका आआफ्नै पीडा पनि छन् । तर उनीहरूलाई दु:खको तारले जोडेको छ । कथामा थुप्रै दार्शनिक कुराहरू आउँछन् । मनोवैज्ञानिक द्वन्द्व पनि छ दुईबिचमा । कथाको अन्त्य सुखमय होला भन्ने लागेको थियो तर अलि निराशाजनक लाग्यो । कथामा “तिम्रो दु:खको कारण तिमी आफैं नै हौ” भनिएकोले मैले आफ्नै इच्छा र अपेक्षाका कारण दु:ख मानेँ कि भन्ने लाग्यो ।

आवरण

आवरणमा गुरुङ जातिको पोशाकमा एकजना मानिस देखिन्छ । उसको अगाडि ऊ भन्दा ठूलो डोजरको बकेट छ । पृष्ठभूमिमा रहेको रूखभन्दा डोजर प्रष्ट देखिन्छ । डोजरले रूख ढालेको र मानिसले निरीह भई हेर्नुपरेको परिस्थित चित्रले भन्दछ । यो चित्र “बुढो लाकुँरीको रूख” कथासँग बढी मिल्दोजुल्दो छ । तथापि “चेपाङ, चमेरा र चिउरी”, “असार पन्ध्र” र “साक्षी” कथाहरूमा पनि यस्तैयस्तै कुराहरू आएका छ्न् । आन्तरिक तथा बाह्य बसाइँसराइको पीडा, सांस्कृतिक परिवर्तन र विचलन एवम् विकासको नाममा गरिएको प्रकृतिको दोहन यी कथाहरूमा अटाएका छन् । तसर्थ आवरण चित्रले पनि उत्कृष्ट हुन सफल कथाहरूमध्ये चारवटा कथाको प्रतिनिधित्व गरेको देखिन्छ ।

अन्त्यमा,

एउटै किताब धेरै समय लगाएर पढ्ने बानी नभए पनि विभिन्न परिस्थितिले गर्दा त्यसो गर्नुपर्ने भयो । बिचमा थुप्रै किताब पढियो अनि रिभ्यु पनि लेखियो । त्यसैले “उत्कृष्ट कथा, २०८०” अधुरै छोडिने हो कि भन्ने डर पनि थियो । कथा पढेर रिभ्यु लेखेपछि ब्लगमा प्रकाशन गर्ने र बुकाहोलिक्समा सेयर गर्ने काम नगरेको भए ब्लग र रिभ्यु दुवै अलपत्र पर्न पनि सक्थे । यसर्थ बुकाहोलिक्स परिवारलाई धेरै धेरै धन्यवाद । टप २५ मा पर्नुभएका अनिता पन्थी, राजेन्द्र अधिकारी, जेएन दाहाल, प्रमोद प्याकुरेल, श्रीधर खनाल एवम् अन्य साहित्य साधकहरूको प्रतिक्रियाले पनि हौसला दिइरह्यो । उहाँहरूप्रति आभारी छु ।

सबैभन्दा पहिले पढेको कथामा थुप्रै कमजोरी भेटेको थिएँ । तर एउटा कथाको रिभ्यु मात्रैले सबै पच्चीस कथाकारका कथालाई न्याय दिन सक्दैन भनेर एउटा ठूलै आँट गरेको थिएँ । फेरि फेरि यस्तो गर्न सम्भव पनि नहोला । यो क्रमलाई अब भने बिट मारेँ । अरू कुनै पुस्तकको समीक्षा, लेख, कथा वा कवितामा फेरि पनि आउने कोशिस गर्नेछु ।

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – ३)

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? भाग – १ र २ माथि आएका प्रतिक्रियाले निकै हौसला दिए । तेस्रो भागका लागि समय व्यवस्थापन गर्नु चुनौती त थियो तर इच्छा गरे उपाय निस्किनेरहेछ । छिमेकमा ठूलै राजनीतिक परिवर्तन यसबीच पनि भयो । यद्यपि पठन, लेखन, व्यक्तिगत र अफिसियल कामलाई केही व्यवस्थित गर्न सफल भइयो यसपालि । भाग – २ लेख्दाको समयभन्दा अलि शान्त पनि छ मन । भाग – ३ का लागि दुई हप्ताको डेडलाइन राखेको थिएँ । दुई दिन ढिला भए पनि पहिलेभन्दा धेरै सुधारेको छु । तेस्रो भागमा बाँकी ९ वटा कथाको रिभ्यु प्रस्तुत गरेको छु ।

बाह्रखरी उत्कृष्ट कथा, २०८० मा सङ्ग्रहित कथामध्ये मैले पढेको १७ औँ कथा थियो अनिता पन्थीको “जुलुस उठेको रात” । कथा चिठीको शैलीमा बुनिएको छ । गाउँमा बाख्रा वस्तु चराउन लगेको प्रसङ्गबाट दशैँमा गरिने पशुबलिको दृश्यसम्म पुग्छ । बलिपछि वाचकको मन धेरै नै विचलित हुन्छ र कथामा यसको प्रस्तुतीकरण निकै नै सबल छ ।

पशुबलि ठीक कि बेठीक भन्ने कुरामा निकै नै बहस हुने गरेको छ । दशैँको परिवेशमा त यसले बढी नै चर्चा पाउने गरेको छ । धर्मशास्त्रहरूमा पनि यो विषयमा विभिन्न समयमा वादविवाद भएको छ । कति ठाउँमा चैं संस्कारकै रूपमा चलिआएको छ । फेरि आफूले खाने जेसुकै कुरा भगवानलाई चढाउनुपर्छ भन्ने कुराले गर्दा पनि पशुबलि यत्तिकै अन्त्य हुने छाँट देखिँदैन । कहिलेकाहीँ पशुबलि देख्दा नराम्रो लागेपनि आफैं मासु सेवन गर्ने भएकोले हिपोकृटिक भइदिन्छु । मानिस साँच्चै नै द्वैधताले भरिएको प्राणी हो ।

यस्तै द्वैधता रमेशजंग थापाको “ओथ” कथामा पनि देखिन्छ । मेडिकल इन्टर्नसिपको पहिलो दिनमा नव डाक्टरहरूले देखेभोगेका कुरा यस कथामा छ । चिकित्सकले सबै इगो छाडेर बिरामीको सेवा गर्नु नै उसको परमधर्म हो । विनम्रता पनि उसमा आवश्यक हुन्छ । हिप्पोक्रेटिक ओथ (Hippocratic Oath) ले पनि यही सिकाउँछ । यद्यपि, केही सिनियर डाक्टरहरूले नयाँ इन्टर्नमाथि देखाउने अभद्रताले मन चस्स हुन्छ । अरू धेरै ठाउँमा पनि यस्तो हुने गरेकोले गर्दा नयाँ पुस्ता दिमोटिभेटेड भएको देखेको छु । कथाको अन्त्यमा भने सिनियर डाक्टरले मृत घोषणा गरिसकेको व्यक्तिलाई मुख्य पात्रले बचाउँछ । नयाँ पुस्ताले फरक तरिकाले सोच्छ र काम गर्छ भन्ने देखाएको हो कि जस्तो लाग्यो । थुप्रै मेडिकल शब्दावलीको प्रयोग भएको देख्दा लेखक यस क्षेत्रमा निकै भिजेको जस्तो लाग्छ । हिप्पोक्रेटिक ओथको सार्थकता देखाएको यो कथा मलाई औधी मनपर्‍यो ।

अर्को कथा “तेजाब” (विक्रम नेपाल) ले एसिड आक्रमणको विषय समेटेको छ । संवेदनशील विषयलाई पनि निकै सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । एसिड आक्रमण गर्ने र सहज विक्री गर्नेमाथि बनेको फितलो कानूनमाथि आक्रोश पनि छ । पुरुषहरूको मानसिकता केही हदसम्म उजागर गरेको छ । कथामा दुईवटा न्यारेटर छ्न् । पुरुष न्यारेटर नभएको भए पनि खासै फरक पर्ला जस्तो चैं लागेन । यद्यपि उक्त पात्रमार्फत् एसिड आक्रमण पीडित महिलालाई हेरिएकोले पीडितप्रतिको बाहिरी दृष्टिकोण बुझ्न सघाउने हुँदा अनावश्यक पनि लाग्दैन ।

कथासङ्ग्रहबाट पढेको बीसौं कथा थियो, जेएन दाहालको “अन्ठाउन्नको रसिद” । सन् १९५८ मा भुटानमा नागरिकता ऐन जारी भएको रहेछ । त्यही वर्ष दक्षिणी भुटानमा घरजग्गाको तिरोमा छुट पनि दिइएको रहेछ । पछि १९८५ मा नागरिकतासम्बन्धी नयाँ ऐन लागू भएपछि अन्ठाउन्न सालको रसिद खोजेर नेपाली भाषीलाई भुटान दु:ख दिएको र नागरिकताविहीन बनाएको कथा यसमा समेटिएको छ । भुटानी शरणार्थीको विषयमा केही कुरा थाहा भएको भए पनि १९५८ मा गरिएको वयवस्थाले १९८५ पछि असर गरेको रहेछ भन्ने थाहा थिएन । त्यसैले पनि कथा रोचक लाग्यो । नागरिक नरहेपछि भारतबाट विवाह गरेर भुटान आएकी नेपालीभाषी सीताको बिग्रेको मनोभाव र त्यसबाट उत्पन्न परिस्थिति मार्मिक छ । स्थानीय लवजको प्रयोग मीठो छ । चिसो हावा आएको प्रसङ्गमा पनि “अचेल दक्षिणका लागि सबै कुरा यसरी नै आइरहेको छ चिसिएर” जस्ता वाक्यले मन कुँडिन्छ ।

केही ठाउँमा टाइपो भेटिन्छ यहाँ पनि । कथामा जनगणनालाई पृष्ठ ६३ मा “सेन्सेस” र “सेन्सस” दुवै लेखेको भेटिन्छ । पृष्ठ ६७ मा “सत्ताईस”को सट्टा “सत्ताई” भएको छ । कथा हृदयस्पर्शी भएकाले गल्तीहरू खासै याद भने हुँदैनन् ।

त्यसपछि पढेको कथा थियो उमा शर्माको “तनुश्रीको भाडाको घर” । शीर्षक हेर्दा घरबेटी र डेरावालको कथा होला जस्तो लागेको थियो तर विषय फरक रहेछ । सरोगेसी र सरोगेट मदरको बारेमा बुनिएको कथा रहस्यमय ढङ्गले अघि बढ्छ । कथामा दुई मुख्य पात्र छन्– प्रीति र तनुश्री । पेशाले पत्रकार प्रीति न्यारेटर पनि हुन् । ससाना अनावश्यक जस्ता लाग्ने घटनाहरू जोड्दै प्रीति र तनुश्रीको कथा बुनिएको छ । कुरा नबुझी समाजले गर्ने टिप्पणी, पत्रकारिताका प्रसङ्ग र दुई पात्रहरूको अन्तरक्रियाले कथालाई रोचक बनाउँछन् । तनुश्रीले आफ्नो कथा भनिसक्दा आँखा रसाए । कथाको शीर्षक पनि उनले नै दिँदा झन् भावुक भइयो । नारीवादी दृष्टिकोणबाट समेत यो कथा अब्बल लाग्यो ।

कथासङ्ग्रहबाट पढेको २२औं कथा “मेरो कथा” (डिल्लीरमण पौडेल) ले मथिङ्गल खल्बल्यायो । कथा पढिसकेपछि टाइमलाइन उल्टोपाल्टो पारिएको हो कि जस्तो लाग्यो । क्रिस्टोफर र जोनाथन नोलानको “मेमेन्टो” पो सम्झिन पुगेँ । कथावाचक तथा मुख्य पात्र रमणलाई सुरुदेखि नै बिरामी देखाइएको र उसको अनुमति बेगर पनि सजिलै आइरहने घरबेटीकी अपाङ्ग छोरी रमिलाबिचको अन्तरक्रियाहरू अलि अस्वाभाविक लाग्छन् । रमिलाले एक ठाउँ तपाईंकै कारण जलेकी हुँ भनेकीले पनि कथा सीधा छैन भन्ने लागेको हो । रमणका स्मृतिहरू नै उसलाई दु:ख दिन आएका हुन् कि जस्तो लाग्यो । जे होस्, कथाले मज्जैले बाँध्यो अनि निकै बेर सोच्न बाध्य पनि बनायो ।

अब भने उत्कृष्ट कथाहरूमध्ये पनि सर्वोत्कृष्ट कथाहरू पढ्ने बेला आयो । तेस्रो स्थान प्राप्त गर्न सफल विजय हितानको “चेपाङ, चमेरा र चिउरी”बाट अन्तिम चरण सुरु गरियो । विजय हितानले मास्टर मित्रसेनको जीवनीमा आधारित “लाहुरेको रेलिमाई” का लागि २०७९ सालको अरनिको पुरस्कार पाउनुभएको अनि सुरुको च्याप्टर निकै रोचक लागेकाले “चेपाङ, चमेरा र चिउरी” प्रति अलि बढी अपेक्षा थियो । कथाको विषय राम्रो छ । चेपाङहरूले विवाहमा छोरीलाई चिउरी दाइजो दिने चलनको बारेमा सामान्य ज्ञानमा थुप्रैपटक पढेको थिएँ । लोक सेवा आयोगले लिने परीक्षाहरूमा पनि आइरहेकै हुन्छ । चिउरीको मह खाएको पनि छु । चमेरा र चिउरी बीचको सम्बन्ध भने थाहा थिएन । यस हिसाबले कथा ज्ञानवर्द्धक छ । अनि वातावरण संरक्षणको विषय उठान पनि राम्रो छ ।

कथा भने खासै रोचक लागेन । पात्रहरूका केही संवाद हटाइदिने हो भने निबन्धजस्तै लाग्छ । सञ्जुमायालाई पात्रका रूपमा अलि ननिखारिएको हो कि जस्तो पनि लाग्यो । धुलाम्मे सडक हुँदै घर नपुग्दै चिउरीको रुख कसले र किन ढाल्यो भन्ने उसले बुझिसक्नु पर्ने थियो । उच्च शिक्षा पढ्न थालेपछि चिउरी र चमेराबिचको सम्बन्ध बुझिन् (पृष्ठ.. ) भनिसकेपछि त्यही विषयमा सोचमग्न भइरहनु पर्ने थिएन । जुन जवाफ दाइलाई भोलिपल्ट दिन्छिन्, त्यही जवाफ अघिल्लै दिन पनि दिन सक्थिन । कथाको अन्त्यतिर विष्णुप्रसाद भन्ने पात्र आउँछन् तर उनी भएको भए पनि फरक पर्ने थिएन । सञ्जुले मन पराउन थालिन् भनिएको छ तर त्यसको पर्याप्त आधार देखिँदैन । कथामा देखाउने (showing) भन्दा सुनाउने (telling) बढी नै छ । “लाहुरेको रेलिमाई”को सुरुवातमा पात्रहरूको सजीव वर्णन पढेकोले पनि होला यस कथाबाट अलि निराश भएँ ।

द्वितीय स्थान प्राप्त प्रमोद प्याकुरेलको “काँचुली” मा धर्मद्वारा निर्देशित समाज, त्यसको मनोविज्ञान र बाल मनोविज्ञान समेटिएको छ । कुमारी राख्ने प्रचलनमा एकातिर धार्मिक-सांस्कृतिक पक्ष छ भने अर्को बाल मनोविज्ञान । बालसुलभ चञ्चलता र हासोका कारण पुजारी बिरामी पर्नु, आफ्नो इच्छा पूरा गर्नका लागि बालिकाले उठाएको कदमलाई देवीको उग्रचण्डी स्वरूप सम्झनु धार्मिक-सांस्कृतिक मनोविज्ञानको उपज नै हो । हालै मात्र ड्युन चलचित्रहरू हेरेको र उपन्यास पढ्दै गरेकोले पनि यो कुरा ठ्याक्कै बिझ्यो । धर्मको प्रभाव पढेलेखेका र वैज्ञानिक सोच राख्ने व्यक्तिहरूमा त हुन्छ भने त्यस्तै समाजको अंश बनेकाहरूमा नहुने कुरै भएन । कथाले कुमारी प्रथाको सिधै विरोध त गरेको जस्तो लागेन तर बाल मनोविज्ञानको ख्याल गर्नु चैं पर्छ भनेको झैं लाग्यो ।

अब पालो पहिलो स्थान पाउने कथाको । मनोजबाबु पन्तको “बुढो लाँकुरीको रूख”ले भेडीगोठमा पचासौं वर्ष बिताएका लछिमान गुरुङको एक दिनको कहानी भन्छ । सँगसँगै बसाइँसराइको कारण गाउँमा किशोर/युवा नभेटिने समस्या र “आधुनिक विकास”का नाममा आएको प्राचीनताको विनाश यसले संवाद र विम्बमार्फत् समेटेको छ । बाटुलो घरको रोदी, लाँकुरी रूखको कचहरी, लाहुर जाने युवाहरूको तयारी जस्ता विषय पनि यसमा आएका छन् । युद्धबाट ज्यान जोगाउन भागेको लछिमानले श्रीमतीको नाममा आएको आफ्नै “मृत्यु”को पेन्सन खाएको प्रसङ्गमा हास्यरस छ । गोठको उत्तराधिकारी खोज्न नसकिरहेको उनी अब भने कालबाट भाग्न नसक्ने स्थितिमा पुगेको छन् । सामान्य कथामा पनि लछिमानको चरित्र चित्रणसँगै, उसका सुखदुःख, गुरुङ संस्कृति, साथै लछिमान र लाँकुरीको रूखको सम्बन्धलाई समेट्न सक्नु नै यस कथाको शक्तिशाली पक्ष  हो ।

उत्कृष्ट कथाका पच्चीस प्रतियोगी कथा पढिसकियो । चार अतिथि कथाको समीक्षा र समग्र अनुभव लिएर अन्तिम भागमा उपस्थित हुनेछु ।

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – २)

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १) प्रकाशित गरेर फेसबुक ग्रुप बुकाहोलिक्समा सेयर गरेपछि प्रतिक्रियाको ओइरो नै लाग्यो । धेरै जनाको राम्रो प्रतिक्रियाले मन फुरुङ्ग भयो । बाँकी कथाहरूका बारेमा अझै राम्रो प्रतिक्रिया दिने चुनौती पनि थपियो । यद्यपि किताब पढ्न र रिभ्यु लेख्न अलि बढी नै समय लागिरहेको छ । अलि अलि पढ्दै लेख्दै गर्दा साढे तीन महिना पो बितिसकेछ ।

के भयो भने सुरुमा एउटा परीक्षाले अल्झायो । त्यसपछि अन्तर्राष्ट्रिय घटनाक्रमहरूले यस्तो मोड लिए कि तिनलाई नजरअन्दाज गर्नै सकिएन । दिनहुँ भएका घटना र ठूलै युद्धको आशङ्काले मन त्रसित भइरह्यो । फेरि आफैंमा आएका अनेक इमोसलन परिवर्तनले आफैंलाई दु:खी पाइरहेको छु । यसपालि गैरआख्यानहरूले धेरै नै तानेकाले कथाहरू पढ्न गाह्रो भइरहेको पनि छ । एउटा दुईटा कथा पढ्ने अनि लामै गैरआख्यानको किताब पढ्ने गर्दा लेख्ने क्रम पनि टुटेको छ । अलि शान्त भएपछि उत्कृष्ट कथा, २०८० को कथासूचि हेरेँ अनि पढेँ, वसन्तबायुङ राईको कथा “रातो भत्ता” ।

कथा सलल बगेको छ पूर्वी पहाडी जीवन देखाउँदै । लवज साह्रै मिठो लाग्छ । कथामा आउने मोडहरूले चकित बनाउँछन् । सम्पत्तिकै लागि सम्बन्धहरू बन्ने भत्कने क्रम चलिरहन्छ अन्त्यसम्मै । कथा मात्रै विकृत हो या समाज नै त्यस्तै बन्न थालेको हो ? मनमा डरलाग्दो प्रश्न उब्जिन्छ । पृ. ३३५ मा ठूलै त्रुटी भेटिन्छ, “[हाङबारू] बुढीलाई बेलाबेला माया, स्नेह र श्रद्धाले मुसार्थी । पानी दिन्थी ।” व्याकरणीय असङ्गति हाँसो उठ्ने खालको छ ।

त्यसपछि पाना पल्टाउँदै शंकर धितालको “साक्षी” पढ्न थालेँ । यसमा एउटा रूखलाई मुख्य पात्र बनाइएको छ । रूखले एउटा मानिस, उसको परिवार र समाजको कथा भनेको छ । जसको बारेमा रूखले प्रेमसहित बोलेको छ उनीहरू नै  पीडाको कारण बनेको प्रसङ्ग हृदयविदारक छ । पर्यावरणलाई ख्याल नगरी गरिने विकासले ल्याउने विनाशलाई देखाएको छ । रूख अरू पनि धेरैको जिन्दगीको साक्षी बनेको थियो होला । यस हिसाबले कथामा उपकथा थप्दै उपन्यास नै बनाउन पनि सकिन्छ । छोटो कथाका रूपमा त मर्मस्पर्शी छ नै ।

सङ्ग्रहबाट पढेको एघारौं कथा थियो, त्रिभुवनचन्द्र वाग्लेको “म्ह्याय्चा” । एउटा व्यक्तिलाई कुनै ठाउँमा  सैनिकहरूद्वारा कैद गरिएको छ । मधेसको कुरा एक ठाउँ बताएकाले ऊ त्यताबाट आएको हो भन्ने बुझिन्छ । वर्षाको मौसम छ । साउन १७ मा अस्पताल लगिएको जिकिर गर्छ र दिन गन्तीको लागि खानामा पाउने चनाबाट एकएक दाना छुट्याएको छ । कैदमा भएपनि खाना पकाउन चुल्हो पाएको छ । एकदिन एउटी नेवार केटीले खाना नपकाउनु भनेपछि उसकै कल्पनामा भित्ता कोट्याउँदै नग्न स्त्रीको चित्र बनाउँछ ।

अन्त्यमा आइपुग्दा कथावाचकले नारीहरूमा असीम शक्ति हुन्छ भन्छ । यद्यपि आमाले खाना दिएको र नेवार केटीले भित्ताको चित्रको विरुद्धमा गरेको गुनासोलाई नै शक्ति मान्ने हो भने सूत्रधारले किन त्यसो भनेको हो भन्ने बुझ्न मुश्किल छ । कथा अलि जटिल हुन पनि सक्छ र मैले सिम्बोलिजम नबुझेको हुन सक्छु । माफी चाहेँ ।

केही आधारभूत कुरामा यस कथामा पनि गल्ती भेटिन्छ । जस्तो कि, चित्र बनाउन थालेपछि चना राख्न बिर्सेको कारण वाचकले कति दिन बित्यो भन्ने बिर्सिन्छ । तर त्यही अनुच्छेदमा उसले पाँच दिन बित्यो, दुई दिन बित्यो पनि भन्छ । यस्तो सम्भव नै नहुनु पर्ने हो । मुद्राराक्षसले यहाँ पनि दु:ख दिएको छ । “सैनिकले भने” हुनुपर्नेमा “भनें” भएको छ ।

केही समयको विश्रामपछि दिनमान गुर्मछनको “सन्ताप” पढेँ । सुरुको वाक्यमै “तिमी कहिले आउछौं ?” पढ्नुपर्दा दिक्क लाग्यो । अघिल्लो भागमै भनिसकेको छु कि राष्ट्रियस्तरको प्रतियोगितापश्चात् प्रकाशित किताबमा कथैपिच्छे गल्ती भेटिनु राम्रो पक्कै हैन । कथाको एउटा पात्रको नाम जीवन भएकोले “…जीवन सम्झौतामै गुज्रिएको थियो” (पृ. १२०) जस्ता वाक्यहरूले कतैकतै झुक्यायो अनि दोहोर्याउनु पर्याे। “जिन्दगी” शब्दको प्रयोग गर्न सकिन्थ्यो । कथा पढिसक्दा भने मन आनन्दित भएको थियो ।

कथाकी मुख्य पात्र सुनीता बाध्यताले खाडीमा पुगेकी छे । उसको पति जीवन पनि पहिला विदेश गएको थियो र हात गुमाएको थियो । दुवै जनयुद्धका सिपाही थिए कुनै बेला । सुनीता घर फर्कन चाहेर पनि सकिरहेकी छैन । काम गर्ने ठाउँमा मालिकले यौन शोषण गरेर गर्भमा बच्चा आएपछि उसको आत्मविश्वास पूरै मरेको छ । जीवनले के भन्ला भन्ने डर पनि उत्तिकै छ । कथाको अन्त्यमा उसले रहस्य खोल्छे । जीवनले जुनसुकै अवस्थामा पनि स्वीकार्ने कुराले उसको मन शान्त हुन्छ ।

सुनीता घर फर्किन पाउँछे कि पाउँदिन भन्ने प्रष्ट छैन । जीवनले पछि राम्रै व्यवहार गर्ला भन्ने पनि निश्चित छैन । एउटी महिलाले पितृसत्तात्मक समाजको डरका कारण पतिको स्वीकारोक्ति लिनपर्ने स्थिति पनि देखिएको होला । तथापि महिलालाई नै दोष लगाउने समाजमा जीवनले देखाएको प्रेम र दिएको आश्वासनले निकै नै मन छोयो ।

सङ्ग्रहबाट पढेको तेह्रौं कथा थियो तैँ तैँ धितालको “अप्रिय पिताजी” । लेखकको नाम अनौठो लाग्यो । पात्रहरू बर्मामा भएकाले लेखकको नाम पनि त्यतै सम्बन्धित छ कि भन्ने लाग्यो । कथाको सुरुवात पनि आश्चर्यजनक छ । एउटी छोरीले आफ्नो नग्न तस्वीर देखेर बिरामी परेका पितालाई “अप्रिय” सम्बोधन गरेकी छिन् । हिन्दू धर्मकर्म र संस्कारमा हुर्काएकाले डर एवम् सोझोपनका कारण पुरुषहरूले फाइदा लिएको भन्ने तर्क छोरीको छ । यद्यपि छोरीले पनि पिताको सोच विपरीत कार्य पनि गरेकी छिन् । नग्न तस्बिर खिच्न र सर्कुलेट गर्न अरूकै हात भएकाले पिताले छोरीसँग एक फेर राम्रोसँग कुरा गरेको भए हुन्थ्यो भन्ने पनि लाग्छ । तर पितालाई पनि आफूले गरेको विश्वास तोडिएकाले उनको अवस्था र प्रतिक्रिया अस्वाभाविक लाग्दैन । छोरीले पनि पिताको मनोभावना बुझेर अप्रिय नभनेको भए हुन्थ्यो भन्ने लागिरह्यो ।

महेश चौलागाईंको कथा “गल्ली” निकै नै मनपर्‍यो । कथाकारले सरकारी कार्यालयमा कार्यालय समयपछि हुने बेथिति धेरै राम्रोसँग देखाएका छन् । कथा पढ्दै गर्दा अफिसमै त रक्सीसहितको पार्टी हुन्छ र जस्तो पनि लाग्यो । यद्यपि, त्यस्तो नहोला भन्न पनि सकिन्न । पदाधिकारीहरूको नैतिक पतन देखेकाले यस्तै कथा आफैंले पनि लेख्न सकेको भए हुन्थ्यो भन्ने पनि लागिरह्यो ।

“उत्कृष्ट कथा – २०८०” सङ्ग्रहबाट मैले पढेको पन्ध्रौं कथा थियो राजेन्द्र अधिकारी कृत “प्रायश्चित” । पतिको विवाहपूर्वको सम्बन्धको बारेमा थाहा पाएपछि पत्नीले महसुस गरेको पीडा र पतिले प्रायश्चितका लागि रोज्नुपरेको बाटोको बारेमा कथाले भन्छ । प्रायश्चितको परिणाम के हुन्छ भन्ने निश्चित छैन । यसले पात्रहरूमाथि कस्तो प्रभाव पार्ला भन्ने प्रश्न पनि बाँकी नै रहन्छ । छोटा छोटा साधारण वाक्य भएको कथा यस्ता प्रश्नहरूको उत्तर बताइदिएको भए हुन्थ्यो भन्ने मेरो मनमा लाग्यो ।

त्यसपछि पढेको राजेश सुवेदीको “सागी प्रेमी”ले दिमाग हल्लाइदियो । दक्षिण कोरियामा काम गर्न गएको मुख्य पात्रले त्यहाँका महिलाहरूले विदेशीलाई पैसाको लागि फसाउँछन् भन्ने सुनेको छ । यति हुँदाहुँदै पनि ऊ एउटी महिलासँग प्रेममा पर्छ । शङ्का उपशङ्काले गर्दा उसको मनस्थिति कसरी खल्बलिन्छ र सागी (कोरियनमा धोखेबाज) बन्न पुग्छ भन्ने कहानीमा देखाउन खोजिएको छ । सस्पेन्स, ट्वीस्ट र टर्नले गर्दा कथा पढ्न एकदम मज्जा आयो ।

भाग-१ झैँ भाग-२ मा पनि आठवटा कथाको समीक्षा गरेँ । अब बाह्रखरी कथा प्रतियोगिताको टप-२५ मा परेका उत्कृष्ट तीनसहित नौवटा कथा बाँकी रहे । तिनलाई भाग-३ मा समेट्नेछु । कथा सङ्ग्रहमा रहेका अतिथि कथा, भूमिका र अन्य कुरा भाग-४ मा पस्किनेछु ।

Page 2 of 5

Powered by WordPress & Theme by Anders Norén