Experiences of a common man!

Category: नेपाली Page 3 of 5

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १)

तीन महिनाजति पहिले किनेका किताबमध्ये एउटा थियो “बाह्रखरी उत्कृष्ट कथा २०८०” । २०७५ को पहिलो संस्करण त pdf मा वेबसाइटबाट सिधै डाउनलोड गर्ने मिल्ने गरी राखिदिएको थियो बाह्रखरीले । पछिल्ला संस्करणप्रति खासै आकर्षण थिएन । त्यही पनि किताब पसलमा देखेपछि कस्ता कथा चैं उत्कृष्ट २५ मा परेछन् भन्ने उत्सुकता पलाएपछि किनेको थिएँ । तर अफिस आउँदा लाग्ने समय, थकान, छोरीसँग खेल्न मन लाग्ने अनि अलिकति निस्किएको समयमा माथि भनिएको परीक्षाको तयारीका लागि पढ्ने गरेकाले उत्कृष्ट कथा २०८० थन्किएको थियो । राति पौने तीन बजे कथाहरू पढिने भइयो ।

सङ्ग्रहका कथामध्ये पुरस्कृत भएकालाई सबैभन्दा अन्तिममा पढ्ने सोच बनाएँ अनि बाँकीमध्येबाट पहिलो छनौटमा पर्‍यो दिव्य गिरीको “असार पन्ध्र” । खेती किसानी गर्नेहरूको लागि असार १५ ठूलो उत्सव हो । त्यसकै सेरोफेरोमा कथा होला भन्ने लाग्यो तर हैन रैछ । विपद् असंवेदनशील नेतृत्व भयो भने गरीबहरूले कस्तो समस्या भोग्नुपर्छ भन्ने कथाको मूल मर्म रहेछ । सङ्ग्रहको आवरण पनि यही कथामा आधारित जस्तो लाग्यो । यद्यपि विषय जति चाखलाग्दो छ लेखाइ भने त्यति छैन । धनबहादुर बिकको परिचय दिँदै सुरु भएको कथाको पहिलो खण्डमा उसको जीवनी मात्रै छ । झिँझो लाग्ने गरी प्रत्येक पात्रलाई “धनबहादुर अर्थात् धने” को शैलीमा परिचय दिइन्छ । त्यसमा पनि गल्ती छ । मनसरालाई धनबहादुरकी बहिनी भनिएको छ । पछिल्लो खण्डमा पनि धनबहादुर र उसकी श्रीमतीलाई दाजुभाउजू नै भनेकी छिन् । तर मनसराले जन्माएको बालकृष्ण धनबहादुर भन्दा २ वर्ष मात्रै कान्छो छ ।

पहिलो गाँसमा ढुङ्गा परेजस्तो भयो । बेचैन हुँदै कथाका पात्रको नातागाता केलाएँ । मेरो हिसाब नमिलेको हो कि जस्तो लाग्यो । सुत्न लागेको म जुरुक्क उठेर कलम र कागज लिएर चित्र बनाउन थाले । अहँ, कथामा मनसरा धनबहादुरकी बहिनी हुनै सक्दिन । बहिनीको छोरो आफूभन्दा २ वर्ष कसरी हुन सम्भव छ ? दिदीको भए मिल्छ बरू । यत्रो गल्ती भएको कथा “उत्कृष्ट” कसरी हुन सक्छ ? विभिन्न चरण पार गर्दै पाठक सामू आएको कथामा यति ठूलो गल्ती त नहुनु पर्ने हो । एउटा चरणमा एकजनाले पो गल्ती गर्न सक्छ । कथा पढ्दै नपढी छनौट भएको त हैन ? यो भन्दा राम्रो कथा उत्कृष्ट २५ मा पर्न छुट्यो कि ?

त्यसपछि पढेको अर्को कथा चैं छनौट समूहले पक्कै पढेको हुनुपर्छ । दीपक लोहनीको “दरबारको दु:ख” (पृ. १५७-१५८) मा रानीसाहेब कथाका सूत्रधारलाई भन्छिन्, “तपाईं पत्रकार हो ? म पत्रकारसँग आफ्ना व्यथा सुनाउँदिन । उनीहरू आफ्नो बिजनेसका लागि मात्रै आउँछन् ।”

सूत्रधार भन्छन्, “म पत्रकार हैन, कथाकार हुँ । दरबारका दु:ख समेटेको कथा लेखेर बाह्रखरी कथा प्रतियोगितामा पठाउँछु ।”

अब बाह्रखरी कथा प्रतियोगिताकै लागि लेखिएको कथा उत्कृष्ट नभई भयो त ? हुनै पर्‍यो नि । अनि प्रतियोगिताको लागि कथा पठाउँछु भन्दा बिजनेस नहुने रैछ क्यारे, रानीसाहेबले आफ्नो कथा सुनाइदिइन्  । सूत्रधारले इमान्दारी देखाए भनेर पो हो कि ?

उता कथा लामो छ भन्दै कथा सुरु गरेका सूत्रधार एकछिन पछि रानीसाहेबको जीवनीको सारांश दिन्छन् । केही अनुच्छेदमै उनी बालापनबाट वृद्धावास्थामा पुग्छिन् । धनसम्पत्तिको मातले बिग्रेका पुरुष पात्रहरूका कारण वृद्धाले भोगेको व्यथा सूत्रधारले कथा बनाएर प्रतियोगितामा पठाउँछन् । बाह्रखरीको उत्कृष्ट २५ मा पर्छ । आँसु बिक्छ भनेको यही होला । मलाई चैं आँसुले खासै छोएन । निद्राले छोयो बरू अनि झ्याप्प निदाएँ ।

भोलिपल्ट साँझ अफिसबाट घर फर्किँदा डा. श्रीधर खनालको कथा “जीपीटी २०००” पढियो । ChatGPT 4.0 ले तहल्का मच्चाइरहेको बेला जीपीटी २००० ले धमाका गर्ने आशा पलायो । कथाको सुरुवात राम्रो लाग्यो । जीपीटी २००० ले मोबाइलमा इन्स्टल गरेपछि इमेल, क्यामरा र लोकेसनको आधारमा ट्रयाकिङ गर्ने कुरासम्म कथा ठीकै थियो । ‘असुर’को दोस्रो सिजनको झल्को आउला जस्तो लागेको बेला उसले न्यारेटरलाई सर्वोत्कृष्ट भन्दै गरेको भविस्यवाणीले कताकता ‘म्याट्रिक्स’ को झल्को दियो । आपसी कलहका कारण मानिसहरू लोप भइसकेपछि पनि AI बच्ने कुरा अलि पत्यार नलाग्दो नै थियो । हुन त AI को भविस्यवाणी हो । मिल्नैपर्छ भन्ने छैन ।

त्योभन्दा पनि पत्याउन नसकिने कुरा चैं जीपीटीले आफूले सबैलाई ट्रयाक गरिरहेको कुरा कसैलाई भन्ला भन्ने हो । हामीले इन्स्टल गर्ने एप्लिकेसनहरूले हामीलाई ट्रयाक गर्ने कुरा नौलो हैन । जानी नजानी हामी permission पनि दिइरहेका हुन्छौँ । तर सिधै फोन र इमेल गरेर ट्रयाक गर्छौँ भने भने वाचकले झैं uninstall गरेर व्यापार चौपट हुन्छ होला । खैर, कथामा जताततै देखिने मानवीय प्रलयको डरको लामो वर्णन छ जुन अझै रोचक बन्न सक्थ्यो जस्तो लागिरह्यो ।

लगत्तै सञ्जय घिमिरेको “चन्द्रमा देब्रे, चन्द्रमा दाहिने” पढेँ । कविताका पङ्क्तिजस्ता छोटा वाक्य र चन्द्रमा दाहिने र देब्रे हुँदाको बिम्बले झ्याप्पै आकर्षित गर्‍यो । कथा भने कस्तो कस्तो लाग्यो । कथावाचकले १० वर्ष सम्म जसको गाडी चलाउँछ,  आरिस गर्छ । उसको उद्देश्य भनेको हाकिमलाई ड्राइभिङ सिटमा राखेर हाकिम जसरी ब्याक सिटमा बस्नु हो । इच्छा पूरा पनि हुन्छ । हाकिमले उसलाई अमेरिका बोलाएर काममा लगाइदिएर पनि लाइसेन्स परीक्षामा पटकपटक जानीजानी फेल भएपछि । जिन्दगीमा हुन सक्ने फेरबदल र irony देखाएका हुन् क्यारे कथाकारले तर धेरै नै सहज भयो कि भन्ने चैं लागिरह्यो ।

कथा सङ्ग्रहबाट पढेको पाँचौं कथा थियो, हिरा लामाको “मिटर ब्याज” । कथाकी मुख्य पात्र मैनालाई गाउँको ठालू मिटरब्याजी रत्नदासले श्रीमती नभएको मौका पारेर घरमा साँझ आउनु भनेर बोलाउँछ । ऊ रत्नदासकहाँ त्रसित र सशंकित हुँदै जान्छे । रत्नदासको एक स्पर्शपछि उसलाई विदेशिएर उतै हराएको लोग्ने मुकुन्दको अनि यौन प्यासको याद आउँछ । त्यसकै वशमा परेर रत्नदाससँग यौन सम्बन्ध राखेपछि रत्नदासले स्कूलको पिउनबाट आधारभूत कक्षाकी शिक्षिका बनाइदिन्छ ।

यो कथाले भन्न खोजेको के हो ? मैनाजस्ता लोग्ने विदेशिएका महिलाहरूमा यौनेच्छा हुनु अस्वाभाविक होइन तर आफूलाई नियन्त्रण गर्न सक्दैनन् भन्न खोजेको हो कि ? रत्नदासजस्ता परचक्रीलाई चिन्दैनन् भनेको हो कि ? सेक्सुअल फेवर्स दिएर फाइदा लिन सक्छन् भनेको हो कि ? यौनिक स्वच्छन्दता हुनुपर्छ भन्न खोजेको हो कि ? तर त्यसको परिणाम नि ?

मैनाले पछि प्रतिकार गरी वा मुकुन्दको खबर आयो अथवा स्वयम् गाउँ फर्कियो भने के होला ? धेरै दिन भएकै छैन, एकजनाले वैदेशिक रोजगारीबाट फर्किएको केही दिनमै श्रीमतीलाई मारेको । किन मारेको भन्दा “जसको लागि मैले मेरो जवानी सक्काएँ, त्यसैले धोका दिएपछि म के गरूँ ?” यस्तै लोग्ने विदेश गएका जाने अनि स्वास्नीले मोज गर्ने, सम्पत्ति नै लिएर अर्कासँग जानेजस्ता समाजमा घट्न पुगेका दुष्परिणामको बीजारोपण पो हो कि यो कथा ? प्रष्ट छैन ।

गलत कामको परिणाम पनि सही हुने अहिलेको समाजको यथार्थ देखाउन खोजिएको पो हो कि ? विद्रोह गर्नेभन्दा नगर्नेले फाइदा लिन सक्छन् भनिएको पो हो कि ? समाजमा विद्रोह नभए पनि कथामा त हुन सक्छ नि । के कलममा पनि विद्रोहको कमी हुन थालेको हो ? लेखकहरूमा नै विद्रोही भावना कमी हुन थालेको त होइन ? यी प्रश्न अहिलेसम्म पढेका र उत्कृष्ट भनिएका “मिटर ब्याज” र “असार पन्ध्र” ले मनमा उठाए ।

भोलिपल्ट अफिस जाँदा पढेको कथा “ख्याक” अहिलेसम्म मलाई सबैभन्दा मन परेको कथा हो । शारीरिक रूपले अशक्त जीवन सपनामा भने हातखुट्टा सजिलै चलाउन सक्छ । तर ऊ सपनामा कालो ख्याक बारम्बार देखिरहन्छ । डरको बिम्ब बनेको ख्याकको डरलाई उसकी आमाले हटाउन खोजिरहेकी हुन्छिन् । जुन दिन देखि ऊ ख्याकसँग डराउन छोड्छ ख्याक कालोबाट सेतो हुँदै जान्छ । उसले खोला थुनेर नाङ्गा पाखाहरू हरियाली बनाउने जुन सपना देखेको छ, त्यो पूरा गर्न मिहिनेत गर्न थाल्छ र अन्ततः सफलता हात पार्छ ।

जीवनको सपनाको दृश्यबाट सुरु भएको कथामा घरी सपना घरी विपना देखिन्छ तर अन्त्य सम्म आइपुग्दा सपना र विपनाको बीचमा कुनै अन्तर नै रहँदैन । कथा पढिसक्दा कक्षा १२ मा पढेको ग्याबृयल गार्सिया मार्खेजको भूतीया जहाजको कहानी याद आएको थियो ।

सातौं कथा “म, जल्लाद प्राणनाथ” पनि मन परेको थियो । रबर्ट जोशीले लेखेको कथामा जल्लाद प्राणनाथलाई भारतबाट बाली बोलाइएको छ कसैलाई मृत्युदण्ड दिन । जसलाई मृत्युदण्ड दिइँदैछ, ऊसँग प्राणनाथले बदलाको भावना राखेको छ । यद्यपि कथाको मूल मर्म चैं प्राणनाथ र उसकी छोरी आधीको सम्बन्ध हो । कथामा flashback को प्रयोग राम्रोसँग गरिएको छ र कतैकतै दार्शनिक पनि छ । कथाकारले फाँसी दिने जल्लादका विषयमा राम्रो अध्ययन गरेको पनि देखिन्छ । केही कुराहरू भने अधुरा र अस्पष्ट छन् । जस्तो कि, मृत्युदण्ड दिएको मानिसले कसलाई बचाउन खोजेको हो ? कथाको अन्तिममा आउने अनिशा को हो ? मृत्युदण्ड पाउने केटा र अनिशाले किन आधीलाई किन पवित्र मन भएकी भन्छन् ? यी प्रश्नहरूको जवाफ पाउनको लागि सायद फेरि फेरि पनि यो कथा पढ्नेछु ।

२०८१ को पहिलो दिनको झिसमेसेमा अन्तरपछि रमा सुवेदीको अर्को ‘म’ पढेँ । कथाको सुरुवात रहस्यमय लाग्यो । मूल कथा भने सिमोन द बुभाको “द सेकेन्ड सेक्स” बयान वरिपरि घुमेको छ । कथाकारको वा कथाका पात्रको भन्दा पनि बुभाको विचारले प्राथमिकता पाएको छ । बुक रिभ्यु जस्तो पनि लाग्यो कताकता । महिलालाई घरको काम गर्न कतिको सकस छ, उनीहरू किन बाँधिन्छन् र बन्धनबाट उम्किन के गर्न सक्छन् भन्ने सन्देशको पाटो राम्रो भए तापनि कथामा अरू कसैको नभएर कथाकै पात्रको विचार हावी भएको भए अझै सशक्त हुन्थ्यो कि ?

एक दुई अनुच्छेद टाइप गर्दागर्दै धेरै भइसकेछ । किताब पनि एक तिहाई सकिएछ । अरू कथा र समग्र कथा सङ्ग्रहका बारेमा भन्न बाँकी कुरा थुप्रै रहे । आगामी भागमा गरौंला है त ।

देश सिध्याउने दलालहरुको नाममा !

“एसियाको सबभन्दा गरीब देशको नागरिक भएकोमा बधाई छ !” फेसबुकमा देखियो । केही छिन पछि अर्को पोस्टमा भेटिएको थियो, “International Monetary Fund (IMF) ले सार्वजनिक गरेको प्रतिवेदनले नेपाललाई एसियाकै सबैभन्दा गरीब देश भनेको छ ।” IMF ले २०२३ अक्टोबरको “World Economic Outlook” निकालेको छ भन्ने कुरा गूगल सर्चबाट थाहा भयो । प्रतिवेदन सर्सर्ती हेर्दा त्यस्तो लेखिएको कतै भेटिन्न ! “Find” tool प्रयोग गरेर poor keyword खोज्दा पनि सिधै कुनै देशलाई धनी भनेकै छैन ! अलमल्ल परें । ५-६ घण्टापछि ट्विटर (सरी, X) मा FACTS ले राखेको एउटा ग्राफ भेटेँ । त्यसमा हरेक महादेशका सबभन्दा गरीब देशहरू थिए । स्रोत थियो अप्रिलको World Economic Outlook । त्यसमा पनि खोजें । खोजेको कुरा पाइनँ । फेरि गूगलमा खोज्दा चाहिँ एउटा लिङ्क भेटियो । Global Finance Magazine को त्यो पेजमा FACTS ले राखेका देशहरूको सूची थियो । त्यस पत्रिकाले IMF कै अप्रिलको प्रतिवेदनको आधारमा गरीब देशहरूको सूची तयार गरेको रहेछ । यमन र अफगनिस्तान जस्ता युद्धपीडित देशहरूलाई नराख्दा नेपाल एसियाको सबैभन्दा गरीबमध्येकै देश रहेछ । (IMF को interactive page यता हेर्नुहोला ।) हुन त गरीबीको मापन गर्न प्रयोग गरिएका index हरूमा केही समस्या छन् भनेर IMF ले नै भनेको छ तर हामी धनले त गरीब भयौँ नै, सोचले समेत दरिद्र छौँ । यसमा कुनै शङ्का नगरे हुन्छ !

यति हुँदा पनि हाम्रा शासक, प्रशासक, कर्मचारी र अलिकति पनि शक्ति हुने जोसुकैलाई भने लज्जाबोध छैन । यी र केही “जान्नेसुन्ने” मानिसहरूको तर्क कस्तो हुन्छ भने, “राजाको शासनमा कहाँ अहिले जस्तो थियो ? अहिले त्यो बेला भन्दा धेरै राम्रो छ ! जनताले बोल्न पाएका छन् ! राजाको पालामा राजदरबार नजिकका मान्छेसँग मात्रै धन थियो । अहिले जोसुकैलाई कमाउने मौका छ । त्यसैले, पहिलेभन्दा धनी छन् त जनता !”

समयको क्रमसँगै आफैं हुने परिवर्तनमै रमाउने यी वर्ग देशमा कुनै समस्या नै देख्दैनन् । समस्या नदेखे पछि समाधान गर्नै परेन ! समस्या किन देखिँदैन भने यिनको आँखामा पट्टी बाँधिएको छ–सत्ता, शक्ति र सम्पत्तिको । सत्ता, शक्ति र सम्पत्ति आर्जन मात्रै उद्देश्य भएपछि मानिस भ्रष्ट बन्छ । धर्म र कर्तव्य के हो भन्ने बिर्सिएका यिनीहरूले सहीलाई झुठ र गलतलाई सही बनाइदिन्छन् । असल मानिसहरूलाई यिनीहरू आफ्नो वशमा पार्न खोज्छन् ताकि आफूजस्तै बनाउन सकियोस् । अरूलाई दोषी देख्ने यिनका आँखाले आफूलाई भने असल देखाउन खोज्छन् । यसरी अधर्म फैलिन्छ हरेकको मनमा । मेरो देश यस्तै अधर्मीले भरिएको रहेछ । ज्ञान, विज्ञान र धर्म लत्याउने गतिछाडा दलालहरूले भरिएको देश गरीब नभए के हुन्छ ?

ए शासक, प्रशासक, कर्मचारी, व्यापारी र थोरै मात्रै पनि शक्ति पाउने वित्तिकै मैमत्त हुनेहरू ! तिमीहरूको धर्म के हो ? देशमा बनेका कानून, नीति, नियमलाई सत्कर्मका साथ पालना गरेर जनकल्याण गर्नु हैन ? देशको हित हुँदा तिमीहरूको हित हुने हैन ? सत्ता, शक्ति र सम्पत्तिको लागि जे पनि गर्ने ? अनेक सुविधा लिने अनि कसैको स्वार्थ पूरा गर्न घुस, गिफ्ट, दान लिने ? कानूनको धज्जी उडाउने अनि हास्दै हिँडने ? लाज पचाएर अझै एक अर्कालाई गाली गरेर आम जनतालाई भ्रमित पार्ने ? अनि मिलेमतो गर्न पायो भने चै जे पनि गर्ने ?

तिमीहरूले आफ्नो आत्मा त बेच्यौ नै, मान्छे पनि बेच्छौ । तिमीहरू यति मूर्ख छौ कि तिमीहरूलाई लाग्छ आफ्ना आफन्तहरू तिमीले बेचेका छैनौ । तर तिमीहरूका सन्तानहरू अहिले कहाँ छन् ? के गर्दैछन् ? तिमीहरूका साथमा छन् ? साथमा भएकाहरू कुन स्वार्थका लागि बसेका छन् ? मनैदेखि कर्तव्य वुझेर स्याहार सुसार गर्छन् ? तिमीहरूका कुरा मान्छन् ? यहाँ करोडौंको धनसम्पत्ति भए पनि तिमीहरूका सन्तान किन विदेशमा दुःख गर्न खोज्छन् ? सोचेका छौ कहिले ? सोच्ने भए गति किन छाड्थ्यौ होला र ?

ल सुन ! तिमीहरूका सन्तान तिमीसँग छैनन् किनकी उनीहरूलाई (प्रत्यक्ष नभए उनीहरूको ब्रह्मलाई थाहा छ) त्यो धन सत्यको हैन । तिमीहरू ज्ञानलाई दुत्कार्छौ, तिमीहरूका सन्तान अनैतिक बन्दै जान्छन् । तिमी विज्ञानको उपहास गर्छौ, तिमीहरूका सन्तानले यहाँ अवसर गुमाउँछन् । तिमीहरू अधर्म गर्छौ, तिमीहरूका सन्तान टाढिँदै जान्छन् । तिमीहरू दुष्कर्म गर्छौ अनि परिणाम राम्रो हुन्छ ? वर्षौं “मिहिनेत” गरेर कमाएको तिमीहरूका घरमा तिमीहरू किन एक्ला छौ ? तिम्रै कुकर्मको फल हैन ? एउटा पुस्ताले गरेको कुकर्मले आउने सन्तानहरूलाई कतिसम्म पिर्छ भन्ने त थाहा छ त तिमीहरूलाई ! महाभारत बिर्स्यौ ?

हुन त तिमीहरू महाभारत (र अरू शास्त्र) लाई फगत कहानी मान्छौ । त्यहाँ भएका सत्कर्मका उपदेश तिमीहरूलाई विष लाग्छ । तर मस्तिष्कको कुनामा कतै स्वविवेक भएको भए तिमी देख्थ्यौ कसरी इन्द्रीयलाई वशमा राख्न नसकेका शान्तनुले गर्दा उनका राजा हुन योग्य छाेरा राजा बन्न पाएनन् । राजगद्दीप्रति सधैँ वफादार हुन खोज्दा भीष्म, द्रोण र कृपाचार्यले धर्मका विरुद्ध बोल्न सकेनन् । विभिन्न पात्रका कुकर्म, द्वेष र महत्त्वाकांक्षाले भएको युद्धमा शान्तनुका सन्तान मात्रै नासिएनन्, लगभग पूरै भारतवर्षको विनाश भयो । तिमीहरू पनि एउटा सभ्यता विनाश गर्दैछौ । तिमीहरूले नपाएर मात्रै हो, पाउने भए यो देश उहिल्यै बेचिसक्थ्यौ । र त बेलाबेला भन्छौ, “नेपाल भारत, चीन, वा अरू कुनै देशमा विलय भएको भए नि हुन्थ्यो !” कुलाङ्घारहरू !

दशैंकाे बेला छ । वर्षभरिको “दुःखकाे फल” भित्र्याउने समय यही हो भन्दै सेवाग्राहीसँग खुल्लम खुल्ला रकम माग्ने सरकारी कर्मचारीदेखि दशैंका नाममा बढी पैसा उठाउने पसले, होटेल र गाडी साहुहरू सबै चोर हौ । तैपनि नैतिकता नभएका तिमीहरू खुब मजाले आशीर्वाद दिन्छौ सन्तानलाई, “ज्ञानी हुनू, ठूलो मान्छे हुनू, सबैले मान्ने हुनू !” अनि तिम्रा कर्म चै के हो ? छोराछोरीका आँखामा हेरेर आदर्शका गफ गर्न कसरी सक्छौ ? कति सम्म चैं किच्चक हौ ?

तिमीहरूलाई यहाँ कसले मान्छ ? तिमीहरूमा न ज्ञान छ न विज्ञान मान्छौ न त धर्म । जो तिमीहरूलाई नमस्ते गर्दै आउँछ नि, तिमीहरूलाई सम्मान गर्न हैन, कि त तिमीहरूबाट काम लिन आउँछ कि त बाध्यताले । जसको मुखमा एउटा अनि मनमा अर्को कुरा हुन्छ, त्यस्तो मानिसको सङ्गत गर्नु तरबारको धारमा हिँड्नु बराबर हो भनेर शास्त्रले पनि भन्छ । तिमीहरूको सङ्गत गर्यो भने साधु पनि कि त चोर बन्छ कि त शुलीमा चढ्छ ।

हुन त तिमीहरू बेलगाम घोडा हौ । तिमीहरूलाई शास्त्र व्यर्थ लाग्छ, अर्ती गाली लाग्छ, कानून, विधि र विज्ञान बोझ लाग्छ तर तिमीहरूका सन्तान त तिमीहरूलाई आफ्नै लाग्छ नि हैन ? मरेर जाँदा तिमीहरूले लाने केही हैन, सबै कुरा छोडरै जान्छौ । सुकर्म छाड्यौ भने तिम्रा सन्तान पनि खुशी हुन्छन् तर कुकर्मले तिनलाई पनि सुख दिँदैन । कमसेकम तिनका लागि त केही सत्कर्म गर !

धनभन्दा माथि देश हो अनि देशभन्दा माथि धर्म ! यति बुझ्ने यहाँ कोही देख्दिन । देश राजनीतिले खत्तम भएको हैन, कुनीति र कुनियतले हो । राजनीति भनेको त राजा (इन्द्रीय र लोकभन्दा माथि हुने) को नीति अनि नीतिको राजा हो । नीतिको जग नैतिकतामा हुन्छ जुन हामी नेपालीमा छँदै छैन । उज्वल थापाले भनेझैं एकले अर्कोलाई पाएसम्म लुट्न तयार छौं हामी । यो लुटको चक्रव्यूह तोड्न सक्ने अर्जुनलाई यहाँ युद्धभूमिबाट लखेटिन्छ । केही गरौँ भन्ने अभिमन्युजस्ता जोशिला तर अनुभव कम भएका युवाहरूलाई चक्रव्यूहमा फसाएर मारिन्छ । शकुनि र दुर्योधनको राज छ यहाँ । भीष्म र द्रोणहरू लाचार भई दुष्टहरूको साथ दिइरहेका छन् । यो सब देखेर दिक्क भएका मानिसहरू देश छोडिरहेका छन् । म तिमीहरूका सब कर्तुत निराश भएर हेर्दै भन्दै छु, “यो देश उँभो लाग्ने छाँट छैन ।”

र, यति निराश म कहिले पनि भएको थिइनँ ।

हिजोआज

हिजोआज केहीले उत्साहित बनाउँदैन । पढाई, काम, “गहन बहस”, सामान्य छलफल, सामाजिक सञ्जालमा हुने तर्क बितर्क सबै बेतुकका लाग्छन् । आदर्शका कुरा ढोङ्ग जस्ता लाग्छन् अनि सहयोग र सान्त्वना, फगत स्वार्थ पूरा गर्ने माध्यम ।
आजकल बोझ लाग्छ हर कुरा । कार्यालय, घर, नाता, सम्बन्ध, मित्रता, शिक्षा, शिक्षालय सबैले औपचारिकतामा बाँधेझैँ लाग्छ । ज्ञानको कुनै मतलब छैन, क्षमताको कुनै अर्थ छैन जबसम्म औपचारिकता पूरा हुँदैन । तर आफूभन्दा शक्तिशाली कसैको अघिपछि लाग्नुस्, औपचारिकता कै लागि बनेका नियम कानूनको पनि केही लाग्दैन ।

हिजोआज लेख्न पनि मन लाग्दैन । यो किन लेख्दैछु थाहा छैन । मनको बोझ हलुका होस् भनेर नै होला तर यहाँ पनि मिलाएर लेख्नुपर्ने बाध्यता छ । मनमा शब्दहरू खेलाउनु अनि एकएक अक्षर मिलाउँदै टाइप गर्नु पनि बोझिलो बन्दैछ । तथापि मनका कुरा अक्षरमा पोख्न बाहेक अरू उपाय देख्दिनँ ।


हुन त लेखेर केही हुने पनि हैन । कुनै बेला हरेक इस्यूमा लेख्न मन लाग्थ्यो । केही गलत भएको भए कसरी ठीक गर्न सकिन्छ भनेर सुझाव दिन मन लाग्थ्यो । अहिले आफ्नै विवेक बन्द गरेर हिँड्नु परेको छ । जहाँ पाइलै पिच्छे बेइमानी चल्छ, त्यहाँ इमानको अर्थ के ? जहाँ दोग्लापन पुगिन्छ, त्यहाँ सत्यको अस्तित्व के ?


यहाँको पागलपनको गुरुत्वाकर्षणले तान्दै तान्दै मलाई पनि पागल पो बनाउने हो कि ? अलि बढी नै निराशावादी भइयो कि ? तर यो समाज, देश र पूरै मानव सभ्यताको उँधो गति मात्रै देख्ने म मात्रै त नहूँला नि है ?

इन्टु मिन्टु लण्डनमा

लोक सेवाको परीक्षा केन्द्र राखिएको एउटा स्कूल । अलि छिटै पुगेकाले यताउता गरिरहेको थिएँ । आँप(?) को रूखमुनि उभिएर अगाडिको ब्लकतिर हेरिरहेको थिएँ । एउटी सानी (सायद कक्षा एक या दुईमा पढ्ने) केटी झ्यालमा आइन् । उनी सँगै आए तीनचार जना अरु केटीहरू । “ओहो ! आज कति धेरै कति धेरै नौला मान्छेहरू !” उनीहरू भनिरहेका थिए । जिज्ञासा पनि थियो आफूआफू बीचमा, “आज के हो ? किन आएका यी मानिसहरू?”

हामी पनि त स्कूलमा नयाँ मानिस आउँदा यस्तै कुराकानी गर्थ्यौं नि ! “को आए ? किन आए ?” जस्ता प्रश्नले मन उथलपुथल हुन्थ्यो । जवाफ नपाउन्जेल आँखा कक्षा बाहिर डुल्थे । तर बाहिर हेर्ने अनुमति कहाँ हुन्थ्यो र ? गुरु, गुरुआमाहरूले थाहा पाउनुभयो भने त सजाय पनि हुन्थ्यो । कक्षामा पढाइ नभएका बेला (लिजर)मा मात्रै बाहिर हेर्न पाइन्थ्यो । त्यो पनि डराइ डराइ !

यी साना नानीहरूको पनि लिजर पो थियो कि ? नभए त शिक्षकले बाहिर हेर्न पक्कै दिँदैनथे । उनीहरूको क्रियाकलापले भने मलाई तोत्तोचानको याद दिलायो । “सन् १९३० तिरकी जापानी तोत्तो-चानको सन् २०२० को दशकका नेपाली नानीहरूसँग के सम्बन्ध ?” एक मनले जवाफ माग्यो । अर्को मनले भन्यो, “बालसुलभ चञ्चलता त जहाँ र जहिले पनि उस्तै हुन्छ, हैन ?” मनको वादविवाद चलिरहेकै बेला परीक्षार्थी मध्येकी एक महिलाले ती बालिकाहरूतिर हेरेर हात हल्लाइन् । जवाफमा सुरुमा झ्यालबाहिर हेर्ने अग्ली केटीले हात हल्लाई । म अनायास मुस्कुराएँ । उनीहरूले भने मलाई याद गरेनन् । केही बेर पछि तिनै साना नानीहरू म उभिएको ठाउँमा हेर्न  थाले । मैले हात हल्लाएँ । उनीहरू लजाए । अघि एक अपरिचित महिलालाई सजिलै हात हल्लाएका नानीहरू अहिले एक अपरिचित पुरुषसँग भने लजाए । त्यसमा सायद डर पनि मिसिएको थियो कि ?

***

इन्टु मिन्टु लण्डनमा

हाम्रो बाबा पल्टनमा

स्कुलको पाले दाइ

पहिलो घण्टी बजाइदेऊ

टिनिनिनिनी… झ्याप्प

एकछिनपछि बच्चाहरूले गीत गाउँदै खेलेको सुनियो । नोस्टाल्जिक भइयो । यो गीतिखेल कति पुरानो हो थाहा छैन तर सानामा खेलेको याद अझै ताजा छ । सुगम पोखरेलको एउटा गीतमा पनि यो अट्यो । धेरै अघि नै बालबोलीमा बसिसकेको यो गीत अहिलेका केटाकेटी पनि यही गीत गाइरहेका छन् । केही वर्षपछि सायद मेरी छोरी पनि यो खेलमा सहभागी हुनेछिन् र सायद उनीपछिको पुस्ता पनि।

यति शक्तिशाली यो गीतिखेल कसले सुरु गर्यो होला ? कसरी फैलियो होला ? मन कल्पिन थाल्यो । कतिपय कुराहरु जीवनमा यसरी धुलिएका हुन्छन् कि तिनको सुरुवात कसरी भयो भन्ने कुरा कल्पना समेत गरिँदो रहेनछ । तर अब भने यो बालखेलको रचयिताबारे जान्न मन भयो । जान्न मन भयो इन्दु र मिन्टु को थिए ? कसरी लण्डन पुगे ? गीत गाउने बच्चाका बाबु पल्टनमा कसरी पुगे ? कुन पल्टनमा छन् अनि कहाँ लडाई गर्दैछन ? फर्किएर आउलान् कि नाउलान् ? जिउँदै आउलान् कि बाकसमा ?

मनमा आएका यी प्रश्नहरूको उत्तर भेटिएन । तर जवाफको अभावमा मन कहाँ शान्त भयो र ? यो त झनै छट्पटियो । अरू प्रश्नलाई थाती राखेर इन्दु र मिन्टु कस्ता थिए होलान् र कसरी लण्डन पुगे होलान् भनी कल्पिन थाल्यो । इन्टु मिन्टु सम्भ्रान्त वा लाहुरे परिवारमा जन्मिएका थिए कि ? कम्तीमा ४० वर्ष अघि गीत रचिएको थियो भने त्यो कालखण्डमा लण्डन जाने ल्याकत धनीमनी र बेलायती गोर्खा रेजिमेन्टमा सैनिक सेवामा भर्ती हुनेसँग मात्रै थियो । धेरै सम्पत्ति भएका तर ठूला व्यापार नभएका धेरै नेपाली परिवार बेलयात मात्रै होइन, अमेरिका, अस्ट्रेलिया र युरोपेली देशहरूप्रति आकर्षित हुने गरेको धेरै समय भइसकेको छ । उनीहरू यहाँ अवसर देख्दैनन् । अवसर भए पनि विदेशी मुद्रा साटेर आउने रकम र उताको जीवनशैलीको लालसाले गर्दा नेपालमा अडिन सक्दैनन् । पछि केही मध्यम वर्गीय परिवारका सदस्यहरू पनि यही सिको गर्दै उता पुगे । अहिले रहरले देश बस्नेको सङ्ख्या नगण्य छ ।

गीतिखेलका पात्रहरूका बाबाहरू पल्टनमा छन् । कुन पल्टनमा होलान् बाबा ? बेलायती गोर्खा पल्टनमा कि भारतको गोर्खा पल्टनमा ? सिंगापुरमा कि हङकङमा ? खाडीमा पसिना चुहाउँदै छन् कि ? कतै कुल्ली र दरबानको काम गर्दै मुस्किलले कमाइरहेका छन् कि ? गाउँघरमा पल्टने हुँ भन्दा मान बढ्ने भएकाले पल्टनमा छु भनेर ढाँटेका पो हुन् कि ? इन्टु मिन्टु जति सुरक्षित र सम्पन्न छैनन् कि ? सम्पन्न हुन पनि सक्छन् तर यी बाबाहरू सुन्दर भविष्य लागि ज्यान हत्केलामा राखेर श्रम बेच्न पुगेका पक्कै हुन् ।

हाम्रो पुस्ता केही हदसम्म “पल्टने” बाबाहरूले पालेका हुन् । तिनका छोराछोरीले पनि त्यही बाटो अँगालेका छन्। जुन सङ्ख्यामा देश छोड्नेको लर्को छ, त्यसले हामीलाई सङ्कटमा लाने निश्चित छ । तर पनि राज्य गम्भीर बनेको छैन। हुन त उसले जनतालाई विदेशमा बेच्ने नीति लिएको छ । उसका कान बन्द छन् । सुन्न तयार छैन युवा पुस्ताको क्रन्दन । युवा पुस्ता सरकारी सेवा प्रति पनि आक्रोशित छन् अनि निजी संस्थामा हुने श्रम शोषणले गलेका छन् । केही युवाहरू सरकारी जागिरको चौतारीमा आराम खोजिरहेका छन् । म आफैँ पनि त्यस्तो चौतारी खोज्दैछु । खोज सफल हुन्छ हुँदैन थाहा छैन तर यसले पनि सन्तुष्ट बनाउला जस्तो लाग्दैन । राजनीति र प्रशासनमा युवाहरूको दह्रो हस्तक्षेप नभई अहिलेको अवस्था परिवर्तन हुन सक्दैन । यद्यपि, नवपुस्तामा भरिएको निराशा समाधान नहुने हो कि भन्ने डर छ । यो अन्तत: देशका लागि नै घातक हुन सक्छ । यो अन्धकारको अवस्थाबाट उज्यालोतर्फ लाने शक्ति युवाहरूमै छ । हामीहरू संयमित, इमान्दार र लगनशील हुन चाहिँ आवश्यक छ ।

२०८०/०१/२५

सडकपेटी, बटुवा र व्यापार

यो साता सडकपेटीको व्यापारले समाचारमा ठूलै ठाउँ पायो । ठेलामा मकै बेच्ने एक दम्पतिको ठेला महानगर प्रहरीले लगेको दृश्य कसैले सामाजिक सञ्जालमा हालेपछि तीन धारका प्रतिक्रिया देखापरे । यस लेखमा ती तीन धारका चर्चा गर्दै भविष्यका सम्भावित परिदृश्य प्रस्तुत गर्छु ।

तीन धारका प्रतिक्रिया

१. महानगरले दु:खी गरीबलाई झनै दु:ख दियो

नगर प्रहरीले जबर्जस्ती मकै पोल्दापोल्दैको ठेला लगेको दृश्य हेर्दा मेरो मनमा झट्ट आएको प्रतिक्रिया यही थियो । दम्पतीको आक्रोश र रुवाइ मनमा बिझ्यो । महानगरले गल्ती नै गरेको हो भन्ने मनमा आयो । “यही हो त नयाँ सोच लिएर आएका मेयरको काम ?” भन्ने प्रतिक्रियाका पछि लागेर मनमनै बालेन शाहलाई गाली पनि गरेँ ।

२. महानगरले जे गर्यो ठीक गर्‍यो

भिडियो हेरेको केही घण्टा बितिसकेपछि आएको यो तर्कअनुसार महानगरको सुन्दरता र स्वास्थ्यलाई ठेला गाडा व्यपारले बिगारेको छ । नियममा बाँधिनु नपर्ने, करको दायरामा नआउने, फुटपाथ कब्जा गर्ने कथित व्यापारीप्रति सहानुभूति जनाउनु बेकार हो । यो तर्क कानूनी र नीतिगत रूपमा ठीक होला तर व्यावहारिक नभए झैं लाग्यो । झन् रिस उठ्यो ।

३. सडकमा गरिने व्यापारलाई स्थान र समय छुट्याएर व्यवस्थित गर्न सकिन्छ

सडक व्यापार संसारभर मानिसहरूले गर्छन् । सरकार/नगरले ठाउँ र समय छुट्याउँछ । त्यहीअनुसार व्यापारीहरू आफ्ना मालसामान विक्री गर्छन् । व्यापार करको दायरामा पर्ने हुनाले अर्थतन्त्रको हिस्सा हुन्छ । अरू देशबाट समेत स्ट्रीट फुड र स्ट्रीट प्रोडक्टका चाख्न, किन्नका लागि पर्यटकहरू जान्छन् । यो प्रतिक्रिया अरूभन्दा चित्त बुझ्यो तर कुन ठाउँ र समय दिने भन्ने समस्या आउँछ । प्रशासनिक र व्यवस्थापकीय कमजोरीका कारण भनेजस्तो सजिलो होला त ? भन्ने प्रश्न उब्जियो ।

भविष्यमा के होला ?

१. कतिपय कुराहरूजस्तै यो पनि केही दिनको लागि मात्रै मसाला बन्ला । समय बित्दै गएपछि र नयाँ मुद्दा आएपछि यो विषय यत्तिकै सेलाउला ।

२. कुनै व्यक्तिलाई देवत्वकरण गर्ने अनि साना गल्ती हुँदा दानवीकरण गर्ने नेपालीको समस्या नै भइसक्यो । बालेन शाहलाई चुनाव जित्दैमा देउताजस्तो पुज्नु जरुरी थिएन । कानून कार्यान्वयन गराउन खोज्दा दानव बनाउनुपर्ने पनि छैन । पुरानो शैली नदोहोरियोस् भन्ने कामना गर्नेहरूले उचित सल्लाह र बहस गर्दा राम्रै निष्कर्ष आउला । उचाल्ने र पछार्नेदेखि बालेन शाह सजग हुनुपर्ने देखिन्छ । सफल हुनका लागि उनले सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

३. हिजो साँझ घरछेउमा ठेला गुडाउँदै, मकै पोल्दै एकजना दिदी आउनुभयो । तीस रूपैयाँ तिरेर एक घोगा मकै खाइयो । यसो सोच्दा सामाजिक सञ्जाल र समाज फरक हुन् भन्ने लाग्यो । सामाजिक सञ्जालमा मानिसहरू पक्ष र विपक्षमा बहस गर्छन् तर समाज फरक छ । समस्याका समाधान कतै बीचमा छन् ।

४. मिहिनेत गरेर खाने मान्छेले मिहिनेत गर्न पाउने वातावरण हुनुपर्छ । कानून लागू गर्छु भनेर मात्रै पनि हुँदैन । कानूनले सबैलाई सहुलियत दिनुपर्छ । प्रत्येक वडामा रहेका खाली ठाउँ वा पार्कका सीमित क्षेत्रमा सीमित सङ्ख्यामा व्यापार गर्न दिने व्यवस्था गर्न सकिन्छ । फोहोर व्यवस्थापन लगायतका समस्या आउलान् तर समस्या समाधान गर्ने उपाय खोज्न सकिन्छ ।

५. सडकमा धेरै बिक्छ भनेर पसल भएका मानिसहरू पनि पेटी मिचेर व्यापार गरिरहेका देखिन्छन् । तिनलाई कानूनअनुसार कारबाही हुनैपर्छ ।

अन्त्यमा, सडक व्यापार व्यवस्थापन गर्न भृकुटीमण्डपमा ठाउँ दिँदा शहर कुरुप देखियो भन्ने तर्क पनि देखियो कतै । झट्ट हेर्दा ठीकै हो । तर त्यसलाई व्यवस्थित बनाउनै नसकिने हो र ? त्रिपाल हटाएर विभिन्न संस्कृति जनाउने स्थायी संरचना बनाउँदा पर्यटनलाई दिगो फाइदा नै होला । अरू देशमा गरिएका राम्रा कामहरूको अनुकरण गर्न अझै सकेका छैनौ हामीले । सबैलाई फाइदा हुने काम गर्न नेतृत्व तह तयार हुनैपर्छ ।

के नेपालीको दलीय सोच तोडिएला ?

वैशाख ३० गते स्थानीय तहको निर्वाचन आउन दुई दिन बाँकी थियो । घरमा कसलाई भोट हाल्ने भन्ने विषयमा छलफल हुँदै थियो । “भोट किन हाल्ने ?” मैले सोधेँ । “वडा समितिका अध्यक्ष र सदस्य बन्न कै लागि ठूला (भ्रष्ट) नेताको अघिपछि लाग्ने अनि आम नागरिकका टोलमा पनि नआउने उम्मेदवारलाई किन जिताउने ?”

बाबाले सम्झाउन खोज्नुभयो । “एकदुई जनाले भोट नहालेर के हुन्छ ? एकजनाले बढी भोट हाल्यो भने पनि कुनै एउटाले जितिहाल्छ । यति पर्सेन्ट ल्याउनैपर्ने भन्ने बाध्यता पनि छैन ।”

“त्यसो भए खराबमध्येबाट मात्रै छान्नुपर्ने हो त ? राम्रा उम्मेदवार दिन सक्दैनन् दलहरूले ?”

“दिँदैनन् ।”

“अनि किन भोट हाल्ने त ?” मलाई चित्त बुझ्दै बुझेन । “अनि चुनावअघि त यस्तो घमण्ड गर्छन् । चुनाव जितेको भोलिपल्ट देखि के होला ?”

प्रमुख पदका एक उम्मेदवारको रवैया मन परिरहेको थिएन । प्रष्ट विरोध गरेँ । “बालेन शाहले राम्रा र गर्न सकिने योजनाहरू ल्याएका छन् । इन्जिनियर हुन् । प्राविधिक ज्ञान पनि छ । एकचोटि मौका दिऊँ न ।”

तर पार्टीमा सक्रिय रहनु भएका मेरा परिवारका सदस्यहरूले आफ्नो दलबाट आएका उम्मेदवार बाहेक विकल्प नै देख्नुभएन । स्वतन्त्र उम्मेद्वारले जिते पनि वडाध्यक्षहरू पार्टीबाट आउछन् । केही गर्न सक्दैन । जित्न सक्नेलाई नै भोट दिनुपर्छ । ‘हुन त पार्टी बाहेकका मान्छेलाई टिक्न निदिएको जताततै देखेको हो तर एउटा मौका दिँदा त हुन्थ्यो होला । अनि मौका दिए त जसले पनि जित्न सक्छ नि !’ मनमनै भनेँ । चुनावको नतिजा जे भए पनि स्वतन्त्र विचारलाई समर्थन गर्ने निर्णय गरेँ ।

जे सुकै होला भन्दै भोट हालेको, बालेन शाहले जिते । मतगणना सुरु भएको ५ दिनसम्म त उनले जित्छन् जस्तो लागेकै थिएन मलाई त । काठमाडौं महानगरपालिका बाहेक धरान, धनगढी र जनकपुर उपमहानगरहरूमा पनि स्वतन्त्र रूपमा उठेका व्यक्तिहरूले चुनाव जिते । कुनै एउटा पार्टीको गढ भनेर चिनिएका धेरै ठाउँहरूमा अर्कै पार्टी वा व्यक्ति विजयी भए । स्थानीय निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली छ जसको भरपुर उपयोग पार्टीगत राजनीतिबाट आजित भएका आम नागरिकले गरे ।

लोकतन्त्रमा दलहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । हाम्रो त संविधानले नै “बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र”लाई आत्मसात् गरेको छ । त्यति मात्र हैन, समानुपातिक निर्वाचन प्रणालीले दलविहीनतालाई अस्वीकार गरिदिएको छ । यस्तोमा नेपालीहरूमा दलीय सोच हुनु अस्वाभाविक हैन । तर आफ्नो पार्टी सधैँ ठीक, सधैँ राम्रो भन्ने जुन तरिकाको सोच छ, त्यो परिवर्तन हुन जरुरी छ ।

आफ्नो स्वार्थ हेरेर कुनै राजनीतिक दलको आड लिने मानिसहरू धेरै सङ्ख्यामा छन् । उनीहरू न ती राजनीतिक दलका सिद्धान्त बुझ्छन्, न त नीति अनुसार चल्छन् । लाखौं रूपैयाँ “नेता”हरूका खल्तीमा भरिदिने हो पनि जोसुकै त्यो पार्टीको खुङ्खार नेता भनेर चिनिन्छ । यस्तो विचलनले पार्टीका इमानदार कार्यकर्ताको चित्त दुखाएको छ । यसको परिणाम चुनावमै देखिएको छ । टाउकेहरू अझै पनि अन्तर्घात र धाँधली भनिरहेका छन् । आफ्ना गल्ती सुधार्ने कुनै सोच देखिँदैन उनीहरूमा ।

यस्तोमा पार्टीका “नेता” भनाउँदालाई लाइनमा ल्याउने काम कार्यकर्ताको हो तर उनीहरू पनि आफ्नै स्वार्थमा अल्मलिएका छ्न् । नेतृत्व तह असहमति सहन सकिरहेको छैन । हरेक सिद्धान्त त प्रक्रियाको निर्मम समीक्षा हुनुपर्छ भन्नेहरू नै विरोधका मसिना स्वरहरूदेखि झस्केका जस्ता देखिन्छन् । यस्तो वाक्क लाग्दो राजनीतिको विकल्प केही ठाउँमा युवापुस्ताले खोज्न थालेको देखिन्छ ।

यद्यपि धेरै ठाउँमा सशक्त इमानदार विकल्प छैनन् । संघ र प्रदेशमा संसदीय व्यवस्था भएकाले राजनीतिक दलको विकल्प पनि राजनीतिक दल नै हुन् । कि त नयाँ इमानदार दल आउनुपर्‍यो कि त अहिलेका बेइमान दलहरू सुध्रिनुपर्‍यो । देश हाँक्ने मौका पाएका नेता र तिनका दलको त सुध्रिने छाँट छैन । पहिले इमानदार राजनीति गर्ने भनेर खुलेका पार्टी पनि कुर्सीकै राजनीति गर्न अग्रसर भएको देखिएकाले गर्दा नयाँ पार्टीहरूमा झट्ट विश्वास गर्ने अवस्था देखिएको छैन । कोभिड दौरान देखिएको “Enough is Enough” आन्दोलन संस्थागत गर्न चुकेकाले त्यस आन्दोलनको नेतृत्व पनि सशक्त हुने कुरामा शङ्कै छ । तथापि, पहिलेभन्दा फरक गर्न सक्ने मौका भने उनीहरूमा छ ।

नेपालमा अहिलेको जस्तो दलीय सोच हट्ला त ? असम्भव जस्तै देखिन्छ । तर दलमा आवद्ध भए पनि नभए पनि काम गर्न सक्ने मानिस छान्न भने नागरिकले चाहेको देखिन्छ । कुनै वादभन्दा पनि असहज परिस्थितिमा समेत भरोसा गर्न सक्ने नेतृत्व नागरिकले खोजेका छन् । खोजेजस्ता नेताहरू भेट्न गाह्रो होला तर केही प्रयास यही नै रहनेछ ।

डियर कमरेड

प्रकाश सपुतको गीत र भिडियोले तपाईंको मन पोलेछ । “हामीले त्यसलाई बोल्न सिकायौं अहिले हामी विरुद्ध बोल्ने ?” भन्ने प्रश्न गर्दा तपाईंको स्तर ठ्याक्कै त्यही सत्ताधारीको जस्तो भएको छ, जसको विरोध तपाईंहरू गर्नुहुन्थ्यो । कुनै बेला तपाईंले गाउने गीतहरू, देखाउने नाटकहरूका विरुद्ध सत्ता लाग्थ्यो । आज अरूका रचना माथि जाइलाग्ने स्थानमा पुग्नुभएछ । सामाजिक सञ्जालमा गीत बन्द गर्ने देखि सर्जकलाई मार्नेसम्मका कुरा गरिरहँदा एउटा कुरा भन्न मन लाग्यो, सत्तामा उक्लिएर शासक हुन सफल हुनुभएकोमा बधाई छ !

सत्तालाई सत्यले पोल्छ किनभने त्यसले तिनका झुठहरू छताछुल्ल पारिदिन्छ । एउटा गीतको भिडियोले सत्तामा तपाईंलाई यति छटपटी भएको छ भने पक्कै त्यसले सत्य उजागर गरेको छ । स्वाभिमानलाई तिलाञ्जलि दिएर देश बेच्ने तपाईंका कमाण्डरहरूप्रति भने गर्व गर्नुहुन्छ । कमरेड, सत्ता र शक्तिमा यति मोह किन गर्नुहुन्छ ?

कुनै एउटा सिर्जनामा सबै समस्या कहाँ उजागर हुन्छन् र ? समस्याका चाङ चुलिएका छन् । तपाईंको दृष्टि धुलिएको छ । जानुस्, आँखा धुनुस्, चस्मा फेर्नुस् । आफूले धोका दिएका छापामार साथीहरूसँंग भेट्नुस् । क्रान्तिलाई धोका दिने तपाईंका कमाण्डरहरू माथि प्रश्न गर्नुस् सर्जक र सिर्जनामाथि आक्रमण गर्नु अघि ।

आक्रमण गर्नु नै छ भने अरू सिर्जनामा गर्नुस् । कैँची चलाउनुस् तपाईंका कमाण्डरको यथार्थ देखाउने यी गीत (र अरू पनि होलान्) माथि । सक्नुहुन्छ ?

घनचक्कर: भुल्भुलैया र भविस्यवाणी

“घनचक्कर” उपन्यास विशाल मिलन केन्द्र, चण्डोलले आयोजना गरेको एउटा प्रतियोगितामा पुरस्कारका रूपमा पाएको थिएँ । पन्ध्र वर्षको उमेर, उपन्यास पढ्ने तीव्र हुटहुटी ! नयाँ किताब समाएपछि बिहानदेखि साँझसम्म नबिसाई पढिसकेको थिएँ । सकिँदासम्म उपन्यासको ‘म’ पात्र सँगसँगै आफू पनि पागल त भइनँ जस्तो लागेको थियो । उपन्यासका राजनीतिक विषय केही बुझे पनि गहिराईमा चाहिँ पुग्न सकेको थिइनँ ।

त्यस यता एसएलसी, बाह्र र ब्याचलर पास गरिसकेपछि “घनचक्कर” पढेको थिएँ । प्रत्येक चोटि नयाँ अनुभव भएको थियो । नयाँ रहस्य खुलेका थिए । देशका घनचक्करहरू अलि बढी बुझ्दै गएर होला ।
मास्टर्स पढ्न कीर्तिपुर भर्ना भएदेखि नै “घनचक्कर” फेरि पढ्ने अनि समीक्षा लेख्ने इच्छा थियो । दरबारमार्ग, शहीदगेट, कालीमाटी, बल्खु हुँदै कीर्तिपुर पुग्दा कयौंपटक उपन्यासका दृश्यहरू आँखामा नाच्थे । बाटामा पुलिसहरू देख्दा घनचक्करको ‘म’ पात्र जस्तै कति पटक झस्केको छु । विश्वविद्यालय र देशको राजनीतिका भुलभुलैयामा रुमल्लिएको अनुभव गरेको छु । त्यसैले होला पढ्ने इच्छा भए पनि यो उपन्यास पढ्न भने डर लाग्थ्यो ।

यसपालि “घनचक्कर”पढ्दा केही भविष्यवाणीलाई ध्यान दिएँ । टावरहरूको पतन र उत्थानको प्रसङ्ग पहिले पनि याद गरेको हो । सत्तामा रहनेले टावरको निर्माणलाई अतिशय महत्त्व दिएको भएर त होला पहाडका टाकुरा र तराईका फाँटमा भ्यू टावर बनाउने ट्रेन्ड चलेको, नयाँ बनेको धरहरालाई ऐतिहासिक भीमसेन स्तम्भ नै पुनःनिर्माण गरेझैं प्रचार भएको ।
टावरहरू जबजब निरङ्कुशताका प्रतीक बनेका छन् तबतब कोही नायक जन्मिएको छ ती टावर ढाल्न । तथापि ती नायक कतै गुमनाम भएका छन् या त प्याजका डल्लामा परिणत भएका छ्न् । यिनमा मानवीय संवेदना नै छैन । आशा गरेका नेताहरूले निराश बनाएका छन् । निरङ्कुशतन्त्रको विरोध गर्नेहरू आफैं निरङ्कुश बनेका छन्, गुच्चा खेलेझैं राजनीति गरेका छन्, शक्ति संघर्षको घनचक्करमा नराम्ररी फसेका छन्, जनतालाई भ्रमको जालोमा फसाएका छन् । यस्तो संघर्षको बीचमा हर कोही धेरथोर पागल भएको छैन र ?

यस बाहेक आफ्नो जीवीकाका लागि गर्नुपर्ने दु:ख, काम र आरामका विरोधाभासमा परेर पनि मानिस घनचक्करमा परेको छ । प्रजातन्त्र र स्वतन्त्रताका आन्दोलन, आन्दोलनका उद्देश्य विपरितका गतिविधि, निरङ्कुशता अनि फेरि प्रजातन्त्रका लागि हुने संघर्ष एउटा यस्तो चक्कर हो जसबाट उम्कन प्रत्येक नागरिक प्रत्येक पल सचेत हुन जरुरी छ । घनचक्करसँग जुध्नु नै यसबाट उम्कने मुख्य उपाय हो भनेर आशावादी विचारमा उपन्यास सकिएको छ ।

यद्यपि देशमा शक्ति संघर्षका घनचक्कर चलिरहेकै छ । सञ्जीव उप्रेती सर उपन्यासको म पात्रझैं आशावादी भएर लोकतन्त्र र निरन्तर पक्षमा उभिनुभएको छ । मलाई नेपाली राजनीति बुझ्न सहयोग गरेको “घनचक्कर” आज पनि उत्तिकै सान्दर्भिक छ । कहिलेकाहीँ लाग्छ, यसमा भएका भविस्यवाणी असत्य भइदिए ! तर शक्ति संघर्ष मानवीय गुण नै हो । त्यसै यो घनचक्कर कहाँ अन्त्य हुन्छ र ?

सरकार ! नक्सा मात्रै निकालेर पुग्छ ?

(गणतान्त्रिक नेपालमा “सरकार” शब्द भद्दा लाग्छ । “सरकार” शब्द प्रयोग गरिरहँदा म आफूलाई भुईंमा बसेर गद्दीमा गमक्क परेर बसेको शासकको निगाह बक्स गरिरहेको कल्पना गर्छु । तर शासन संयन्त्रको लागि यो जत्तिको अर्को संबोधन छैन किनकी “सरकार” को चाकर नगरे सम्म जनताले जीवनका आधारभूत आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसैले त्यही शब्दले सम्बोधन गर्न बाध्य छु ।)

२०७७ जेठमा नेपालको नयाँ नक्सा पारित भयो । भारतसँग विवाद रहेको कालपानी क्षेत्र लाई समेटेर नक्सा बनाए पनि त्यहाँको वस्तु स्थिति बारे बुझ्न सरकार तयार भएको देखिँदैन । साझा कथाले यूट्युबमा राखेको भिडियो हेरे पछि सरकारप्रति रिस उठेको छ ।

नेपालको नयाँ नक्सा

कालापानी भू-भाग हाम्रो हो भन्ने कुरा भूगोलको आधारमा त गलत छैन तर त्यहाँ राज्यको अनुभूति खै त ? ज्यान हत्केलामा राखेर छाङरू सम्म पुगेको साझा कथाको रिपोर्टिङ (युट्युबबाट भिडियो हटाइसकेको रैछ–२०८२।०२।०८) को पहिलो भागमा नै त्यहाँ मात्र होइन, विवाद नभएको ठाउँमा पनि राज्यको उपस्थिति शून्य देखिन्छ । पारि भारतमा दुई लेनका सडक छन्, बस्तीहरू मा आधारभूत सुविधा छन् , लगातार सुरक्षा गस्ती छ । बाटो निर्माण चलिरहेकै छ । यता पट्टि नेपालमा डरलाग्दा ठाडा भीर छन्, पहिरो छ । सुरक्षाकर्मीको नाम निशान छैन । ठूला मान्छे आएको बेला मात्रै ड्युटी चल्छ । सीमाना जस्तो संवेदनशील क्षेत्रमा समेत कोही सैनिक प्रहरी र प्रशासन नहुनुले हामीलाई देशका साँध सीमाको कुनै मतलब छैन भन्ने देखाउँदैन र ?

सीमालाई गम्भीरताका साथ नलिएको त आफ्नै आँखाले देखेकै हुँ सिन्धुपाल्चोकको तातोपानीमा । मितेरी पुल अगाडि साइन बोर्ड छ जसमा लेखिएको छ ‘यहाँ फोटो / भिडियो खिच्न मनाही छ ।’ सँगै एउटा सानो पोस्ट छ जहाँ हरबखत एक जना सुरक्षाकर्मी हुनैपर्छ तर छैनन् । पारि चिनियाँहरू पहरा दिएर बसिरहेका छन छन् । फोटो खिच्न मनाही भने पनि ‘उताको नखिच्नु यतापट्टीको खिच्दा हुन्छ’ भनेर यता बाट अनुमति पाइयो । सुरक्षाकर्मीहरू चैं गफ चुट्नमा व्यस्त थिए । पारिबाट कोही आयो भने पनि यता थाहा पाउने स्थिति छैन तर पारिका सुरक्षाकर्मी हाम्रा एकएक गतिविधि ध्यान दिएर हेर्छन् ।

त्यो भन्दा पनि अप्ठ्यारो अवस्था साझा कथाले बनाएको वृत्तचित्रमा देखिन्छ । सरकार, हामीले यहाँ नक्सा पास गरायौँ, खुशीयाली मनायौँ । तर आफ्नो स्वामित्वको, त्यसमाथि विवादित क्षेत्रमा सेना किन नपठाएको ? यत्तिका वर्ष उता बाटो बनिरहँदा किन चुप बसेको ? ‘मलाई कसैले रिपोर्टिङ गरेनन्’ भनेर प्रधानमन्त्रीले भनिसक्दा पनि रिपोर्टिङ गर्ने संयन्त्र स्थापना गर्न अझै पनि ढिलासुस्ती किन ? सरकार, अझै कति लाचार बन्ने ? नेपालको जमिनमा बसेका तर नेपालको सरकारले काहिल्यै नहेरेका त्यहाँका नागरिकले अपराध बोध किन गर्नु पर्ने ? बस्नु अपराध आफ्नो जमिनमा विवाद निम्त्याइ सकेपछि समाधानको पहल किन गर्न नसकेको ?

संघीय संसद्को नयाँ ‘लोगो’ जसले नेपालीको भावनामाथि उपहास गरेको छ

देशको कुनाकुनामा राज्यको उपस्थिति भए मात्रै देश बलियो र समृद्ध हुन्छ । नक्सा पास त संघीय संसदबाट भयो तर त्यही संघीय संसद्को लोगोले नयाँ नक्सा र जनभावना प्रति कटाक्ष गरेजस्तो लाग्छ । कालापानी क्षेत्रको समस्या समाधान नभएसम्म नक्सामा मात्रै राखेर गमक्क पर्न छुट छैन सरकार ! नक्सा सुरुवात मात्रे हो । यो पर्याप्त छैन । छिमेकीलाई बलमिच्याइँ गर्न नदिन हाम्रा संयन्त्र अझै लागेका छैनन् । केटाकेटी खेले जस्तो गरेर सीमा विवाद समाप्त हुँदैन । सरकार ! नक्सा मात्रै निकालेर हुन्छ ? झन्नै ६० वर्ष भो राज्यको उपस्थिति त्यहाँ नभएको । अझै कति ढिलाइ गर्ने हो ?

भगवान् रामको जन्मभूमि नेपालमा नै छ ?

भानुभक्तको जन्मदिन । उनका रामायणका हरफहरू प्रशस्तै देखिरहेको थिएँ । साँझ ट्वीटरमा राम नाम जप्नेहरूको कमी थिएन । त्यसैको निरन्तरता हो कि जस्तो लाग्यो । एकछिन पछि हेर्छु त राम जन्मभूमि अयोध्या भारतमा होइन नेपालको वीरगन्ज नजिकै ठोरीमा पो छ भनिरहेका छन् । के भएछ भनेर बुझ्दै जाँदा प्रधानमन्त्री ओलीले दिउँसोको कार्यक्रममा त्यसो भन्नुभएको रहेछ । के अयोध्या नेपालमै थियो ? यो प्रश्न उठाएको एउटा लेख (‘भगवान् राम नेपालमै जन्मेका आठ प्रमाण’, २०७५ कात्तिक ३०, सौर्य अनलाइन) घुम्दैफिर्दै आइपुग्यो । लोकमणि पौडेलले लेख्नु भएको त्यो लेखमा आठवटा ‘प्रमाण’ प्रस्तुत गरिएको रहेछ । यी ‘प्रमाण’हरूको विश्लेषण गर्ने प्रयास गर्छु ।

१. ५ सय किलोमिटर टाढाको अयोध्याबाट रथमा चढेर जनकपुर आइपुग्न सम्भव थिएन ।

यो तर्क साह्रै फितलो छ । विश्वामित्रले गर्न लागेको यज्ञ मारीच र ताटका राक्षसराक्षसीले पटकपटक भङ्ग गरेकाले यज्ञको रक्षा गर्न र राक्षसराक्षसीको वध गर्न रामलक्षमणलाई अयोध्याबाट कौशिकी किनारको आश्रममा लागेका थिए । यो कथाले वाल्मीकि रामायणको केही भूगोल बुझ्न मद्दत गर्छ । बाल काण्डको सर्ग २३ देखि ३० सम्म सरयू नदी र गङ्गाको संगमस्थलमा रहेको अङ्ग प्रदेश पुगेको, गङ्गा तरेर ताटकाको वनमा गएर उसको वध गरेको, वन पार गरेर विश्वामित्रको सिद्धाश्रममा मारीच र सुबाहु राक्षसबाट यज्ञ रक्षा गरेपछि बल्ल मिथिलातिर लागेको प्रसङ्ग छ । त्यस्तै सर्ग ३१-६५ मा शोणा नदीको किनारमा बसेर विशाला नगर हुँदै मिथिला पुगेको उल्लेख छ । उता रामजानकी विवाह निश्चित भएपछि दशरथलाई सन्देश पुर्‍याउने दूतहरू तीव्र गतिमा घोडा चढेर तीन दिनमा आइपुगेको बताउँछन् (वाल्मिकी रामायण १.६८.१) । त्यस्तै दशरथ नाना थरीका रथ लिएर चार दिनको बाटोबाट मिथिला पुग्छन् (वाल्मिकी रामायण १.६९.७)।

२. लक्ष्मणले सीतालाई वाल्मीकि आश्रममा छोडेर त्यही दिन फर्किए । भारतको अयोध्याबाट नेपालमा रहेको वाल्मिकी आश्रम २५० किलोमिटरको दूरीमा भएकाले एकै दिनमा फर्किन सम्भव छैन ।

नेपालको चितवनमा मात्रै वाल्मीकि आश्रम रहेको मान्ने हो भने यो ठीकै होला । लवकुशले पिङ खेलेका भनेका लहरा, रामको घोडा बाँधेको खम्बा, पुराना इनार नभएका होइनन् । तर भारतको उत्तर प्रदेश राज्यको बिठोरमा पनि वाल्मिकी आश्रम रहेछ । त्यही आश्रममा सीता र लवकुश बसेको र रामायण पनि त्यहीँ नै लेखिएको मान्यता रहेछ । वाल्मीकिको आश्रम हालको नेपालमा थियो कि भारतमा ? ऋषिमुनिहरू तप गर्दै धेरै ठाउँ पुग्थे । वाल्मीकिको आश्रम एउटा मात्रै हुनुपर्छ भन्ने छैन । एक ठाउँमा मात्रै हुनुपर्छ भन्ने पनि छैन । जसरी अचेल स्कूलका चेन हुन्छन्, गुरुकुल र आश्रमका पनि चेन हुन सक्छन् । हाल बिठोरमा रहेको आश्रममा लक्ष्मण सीतालाईले छाडेपछि हालको चितवनमा आएका पनि हुन सक्छन् । पछि उता गएका पनि हुनसक्छ ।  

यी दुवै आश्रममा सीता र लवकुशको कुनै सम्बन्ध नहुन पनि सक्छ । वाल्मीकि ऋषि हुनु अघि डकैती गर्दै दिन बिताउँथे । नारदले वाल्मीकिलाई राम नाम जप्न सिकाउँदा वाल्मीकिलाई रामका बारेमा थाहा नभए जस्तो लाग्छ । त्यस्तै नारदले वाल्मीकि ऋषि भइसकेपछि रामायण सुनाउँदा वाल्मीकि भन्दा राम धेरै नै प्राचीन जस्ता लाग्छन् । सीतालाई वाल्मीकि आश्रममा छाडिएको प्रसङ्ग उत्तरकाण्डमा छ जसलाई वाल्मीकिले रचेको नभई पछि थपिएको मान्नेहरूको सङ्ख्या पनि धेरै छ । वाल्मीकि रामायण डट नेटले उत्तरकाण्ड आफ्नो साइटमा राखेकै छैन ।       

३. सन् २००० मा प्रकाशित कमलेश्वरको उपन्यास ‘कितने पाकिस्तान’ मा अयोध्या रामको जन्मभूमि नभएको पुष्टि गरिएको छ ।

यो त मेरी म्यागडालिन जिजस क्राइष्टकी पत्नी थिइन् भनेर ड्यान ब्राउनले डा भिन्ची कोड उपन्यासमा भनेजस्तो भयो । अमिश त्रिपाठीले उपन्यासमा लेखेकाले रावण, हनुमान, गणेश म्युटेन्ट हुन् भन्ने पुष्टि भइसक्यो भन्न पनि नमिल्ला ! हुन त प्राचीन ग्रन्थको आधारमा रामको इतिहास केलाउन खोजिँदै छ र केही ऐतिहासिकता भेटिएको पनि छ तर ग्रन्थ र उपन्यासका “तथ्य” र “कल्पना” छुट्याउन पनि त कम गाह्रो छैन ।

४. भारतमा नक्कली लुम्बिनी बनाए जस्तै बाबरी मस्जिदमाथि हिन्दूहरूले हमला गरून् भनेर त्यो ठाउँलाई अयोध्या भनिएको हुनसक्छ ।

बुद्धकालिन सम्पदाहरू नेपाल र भारत मात्रै होइन अफगानिस्तानसम्म पनि भेटिएका छन् । नेपालको लुम्बिनीमा भेटिएको अशोक स्तम्भले त्यहीँ बुद्ध जन्मेका हुन् भन्ने सिद्ध गरिसकेको छ । लुम्बिनी विश्व सम्पदा सूचिमा रहेको पनि बीसौं वर्ष भइसक्यो । भारतले नक्कली लुम्बिनी बनाउन कसरी सक्ला ?

हाल अयोध्या भनिएको ठाउँ धेरै लामो इतिहासबाट गुज्रिएको छ । मुस्लिमहरूले यो क्षेत्रमा आक्रमण मात्र गरेनन्, शासन पनि गरे र कति ठाउँ तहसनहस पनि पारे । तेह्रौं शताब्दीमा सिमरौनगढ पतन भयो । त्यसै ताका कान्तिपुर र भादगाउँमा पनि लुट मच्चाए । बाबरी मस्जिद भएको ठाउँमा राम मन्दिर थियो भनेर हिन्दूहरूले मस्जिद गिराउनु उचित भने थिएन । तेह्रौँ शताब्दीका मुसलमान र बीसौँ शताब्दीका हिन्दू उस्तै हुन् ? होइनन् भने बाबरी मस्जिद ऐतिहासिक धरोहर थियो । साम्प्रदायिक दङ्गा नहुने गरी व्यवस्थापन गर्न सकिन्थ्यो । जति राम मन्दिर त्यति राम्रो भन्ने कुरा पनि सुनियो । त्यसो हो भने जति बुद्धका धाम त्यति राम्रो किन नभन्ने ?

५. नेपालको चितवन जिल्लामा रहेको माडी प्राचीन समयदेखि नै अयोध्यापुरीका नामले पनि जानिन्थ्यो । त्यसैले वास्तविक रामजन्म भूमि अयोध्या हुनुपर्छ । केही समय पहिलेसम्म त्यहाँस्थित एउटा गाविसको नाउँ अयोध्यापुरी रहेको थियो । अहिले टाँडी नगरपालिका भएपछि वडा ७ र ८ मा परेको छ । सो ठाउँबाट जनकपुर करिब १ सय ८० किमी पूर्वमा पर्छ भने वाल्मीकि आश्रम झण्डै ७० किमी पश्चिममा पर्छ । त्यहाँबाट रथमा चढेर एकै दिनमा वाल्मीकि आश्रम पुगेर फर्कन सकिन्छ ।

माडी (चितवन) कि ठोरी (पर्सा) ? प्रधानमन्त्री भन्नुहुन्छ ठोरी । पौडेल भन्नुहुन्छ, “प्रधानमन्त्रीज्यूले मेरो लेख पढेर राम जन्मभूमि नेपालमा पर्छ भन्नुभयो ।” फेरि पौडेलको लेखमा माडी छ । अध्ययन नै नभएको कुरामा दाबी कसरी हुन्छ ? प्रधानमन्त्रीज्यू, कुनै कुरा दाबी गर्दा फ्याक्ट चेक गरौँ न है अनि यो लेख/किताबको आधारमा भनेको पनि भन्दिउँ न है । अस्ति मात्रै भारतीय मिडियालाई फ्याक्ट देखाएनन् भनेर गाली गरियो । हेर्नुस् त, भोलिपल्टै माफी माग्नुपर्यो । लाज भयो ।  

६. “उता वाल्मीकि आश्रम अहिले पनि नेपालमै पर्छ । यो सबैले मानिआएको विषय हो । चितवन राष्ट्रिय निकुञ्ज तथा पर्सा वन्यजन्तु आरक्षको दक्षिणी सिमानामा अवस्थित यस आश्रममा नेपालकै भूमि भएर पुग्न सहज छैन । अहिले पनि त्रिवेणीबाट नारायणी पार गरेर इन्डियाको टंकी बजार पुगी इन्डियाकै वाल्मीकि बाघ संरक्षण क्षेत्र हुँदै सुननदी र पतनदी तरेर पुग्नुपर्ने अवस्था छ । यसमा नेपाल सरकारको खासै ध्यान पुगेको छैन ।“

भारतमा पनि वाल्मीकि आश्रम रहेछ भन्ने त माथि लेखिसकियो । नेपालमा रहेको आश्रम सुगम हुनुपर्छ र संरक्षण गर्नैपर्छ ।

७. “रामायणको अन्तिमतिर वाल्मीकि, सीता र लव कुशलाई लिएर पैदल यात्रा गरी रामलाई भेट्न गएको वर्णन छ । वाल्मीकिले सीताको पवित्रताका बारेमा रामलाई अवगत गराएर सीता तथा लव कुश तीनै जनालाई रामको जिम्मा लगाउने योजना थियो । उनीहरूको भेट भएको ठाउँ अहिलेको देवघाट हो । त्यो वेला रामले सीतालाई स्वीकार गर्दा जनतामा गलत सन्देश जाने सोचेकाले सहजतासँग वाल्मीकिको आग्रह शिरोपर गर्न सकेनन् । यसबाट दुःखी भएकी सीताले धरती मातालाई पुकारिन् । धरती फाटिन् र सीता धरतीमा समाहित भइन् । त्यो ठाउँको दर्शन गर्न अहिले पनि देवघाटमा तीर्थालुहरूको भिड लाग्छ ।“

उत्तरकाण्डको यो पारिवारिक भेटघाट चितवनको देवघाटमा नै भएको ऐतिहासिक प्रमाण छ र ? उत्तरकाण्ड किन सन्देहपूर्ण छ भनेर त माथि आइसक्यो । फेरि नदोहोर्याऊँ । तर रामायणलाई इतिहास मान्ने हो भने धर्ती मातालाई पुकारेको अनि धर्ती फाटेको कुरा चाहिँ पत्यारिलो लाग्दैन । 

८. “अहिलेको अयोध्यापुरीदेखि पश्चिम नारायणी नदी पार गरेपछि रामग्राम आउँछ । अयोध्यापुरीदेखि उत्तरतिर रामपुर छ । अयोध्यापुरीदेखि पूर्व सुनसरी जिल्लाको जंगलमा रामले धुनी जगाई आगो तापेको ठाउँ अद्यापि रामधुनीका नामले प्रसिद्ध छ । उता देवघाटसँग जोडिएको रामनगर पनि बिर्सनु हुँदैन । पाल्पामा पनि रामपुर छ । रामपुरसँगै काली नदीको किनारमा रामघाट छ जहाँबाट राम अन्तध्र्यान भएका थिए । रामायणमा रामले आफ्नो राज्य विस्तार गरेको प्रसङ्ग उल्लिखित छ । वरिपरिका रामनाम युक्त ठाउँहरू रामले विजय प्राप्त गरेका ठाउँहरू हुन सक्छन् ।”

राम जन्मभूमि भनिसकेपछि त्यसको वरिपरी रामको नाम भएका ठाउँ हुनु स्वाभाविक नै होला । तर यो पनि अनुमानमै सीमित छ । अरू नै कुनै राम पनि त हुन सक्छन् नि ! रामायणका रामभन्दा अघिका परशुराम पनि राम नामले नै चिनिन्थे । वाल्मिकी रामायणमा परशुरामलाई पटकपटक भार्गव राम र जामदग्न्य राम भनिएको छ दुई रामका बीचमा कन्फ्युजन नहोस् भनेर । विष्णुका दुई अवतारको नाम राम छ भने अरू कति राम होलान् ?

थप कुरा

अन्य स्रोत

माथि वाल्मीकि रामायणका आधारमा मात्रै विश्लेषण गरेँ । अरू रामायणबाट कुरा आए भने मेरा तर्क पनि काटिएलान्, सीमित अध्ययन भएकाले वाल्मीकि रामायणले नै पनि काट्न सक्छ । ठूलो कुरा होइन । रामायण मात्रै ३०० वटा सम्म रहेका छन् । नारद, वाल्मिकी, कालिदास, तुलसीदास, काम्बन, भानुभक्त त मैले थाहा पाएका केही रचयिता हुन् । रामायणका पात्रहरूका अनेक कथा छन् । विभिन्न क्षेत्र र भाषाका लोककथाहरूमा राम कहिले सामान्य मानिस, कहिले राजा त कहिले भगवान् बनेका छन् । पाली भाषाको ‘दशरथ जातक’मा राम र सीता दाजुबहिनी हुन्छन् । कुनैमा रावणवध रामले नभएर लक्ष्मणले गर्छन् । काम्बन रामायणमा सीता रावणकी छोरी हुन्छिन् । पहाड, सागर र पुष्पक विमान बोलेको जस्ता दन्त्यकथा रामायणमा अटाएका छन् भने विश्वामित्रको तपस्या, शिवधनु, परशुराम, जस्ता पौराणिक कथा पनि आएका छन् । यस्ता कठिनाई बावजुद रामायणको ऐतिहासिकता खोज्ने प्रयास भइरहेका छन् जुन निकै गाह्रो काम हो ।

वैज्ञानिक अध्ययन

असार १३, २०७७ मा भोगीराज चाम्लिङको ‘रामायणको लंका : श्रीलंका कि भारतमा ?’ शीर्षकको अन्वेषणमा आधारित एउटा लेख कान्तिपुरको कोसेलीमा छापिएको छ । लेखमा भाषिक अध्ययनका आधारमा लंकाको अर्थ टापू हुने, साथै भारतको मध्यप्रदेश स्थित क्षेत्रका आदिवासीका इतिहासका आधारमा उक्त क्षेत्रमा रामायणवर्णित लंका थियो भन्ने तर्कहरू सन्दर्भ सहित प्रस्तुत गरिएको छ । त्यसभन्दा अघि २०७६ असोज २५ मा नयाँ पत्रिकाले ‘लंकाकोण’ शीर्षकमा सौरभको लेख प्रकाशन गरेको छ । यसमा पनि सन्दर्भहरू दिँदै विभिन्न भाषामा लंकाको अर्थ दक्षिण र टापू भनिएको छ र रामायणको लंका मध्यप्रदेशमा पर्छ भन्ने कुरालाई पनि जोड दिइएको छ ।

वैज्ञानिक अध्ययन हुँदै जाँदा पुराना मान्यता फेरिएर नयाँ मान्यता स्थापित हुनु नौलो होइन । राम जन्मभूमिका विषयमा पनि उचित वैज्ञानिक अध्ययन भएर नयाँ कुरा आउनसक्छ तर अकस्मात नयाँ मान्यता आए भने तिनलाई आत्मसात् गर्न गाह्रो पनि हुन सक्छ । कोपर्निकस, ग्यालिलियो, डार्विनजस्ता वैज्ञानिकका प्रमाणित तथ्यलाई समेत जनमानसले सहजै ग्रहण गर्न सकेन ।

राम नामसँग जोडिएको अध्यात्म

रामलाई कथाको पात्र मान्ने हो भने उनी जहाँ जन्मिएका भए पनि के फरक पर्छ र ? ऐतिहासिक पात्र हुन् भने पनि जुन बेला उनी जन्मिए, त्यो बेलाको भूगोल अहिलेको जस्तो छँदै थिएन । उनी न नेपाली थिए न भारतीय । उनलाई मान्नेले उनका कर्मका आधारमा भगवान् मानेका छन् । उनका गल्ती देखाएर उनलाई भगवान् नमान्ने पनि छन् । भगवान् मान्ने हो भने त उनी सर्वव्यापी छन् । न आदि छ न अन्त्य । न जन्म न मरण । बुद्धका हकमा पनि लगभग यस्तै कुरा लागू हुन्छन् । अनि यस्ता विषयमा झगडा किन गर्नुपर्यो ?

तर म बबुरोले मात्रै होला यस्तो सोच्ने ! राम जन्मभूमिका नाममा उठेको विवाद साम्प्रदायिक द्वन्द्वमा परिणत भयो । त्यही द्वन्द्वबाट उठेर भारतीय जनता पार्टी राजनीति गरिरहेका छन् । भारतीय सर्वोच्च अदालतले बाबरी मस्जिद भत्काएको ठाउँमा राम मन्दिर बनाउन पाउने निर्णयलाई भारतीय प्रधानमन्त्री मोदीले राम्रै क्यास गरे । जुन रामको नाममा मोदी राजनीति गर्दैछन् तिनै रामको जन्मभूमिलाई फिक्का तर्कको आधारमा नेपालको भनेर दाबी नै गरिदिन्छन् ओली । कताकता डर लागिरहेको छ । भगवानका नाममा झगडा नगरौं भन्दा पनि कहिले बुद्ध त कहिले रामको विषयमा विवाद भइरहँदा रिचर्ड डकिन्सको ‘द गड डिल्युजन’मा पढेका (ठ्याक्कै यस्तै नभए पनि) शब्दहरू याद आइरहेको छ –“नरम भन्दा नरम धर्म (सम्प्रदाय) लाई मान्नेहरू पनि जुनसुकै बेला कट्टर हुन सक्छन् । त्यसैले सबै साम्प्रादाय हटाउनुपर्छ ।“

Page 3 of 5

Powered by WordPress & Theme by Anders Norén