Experiences of a common man!

Category: नेपाली Page 4 of 5

पुस्तक समीक्षा: झोला

‘झोला’ कथासंग्रहमा प्रसिद्ध आख्यानकार कृष्ण धरावासीका बाह्रवटा कथा राखिएका छन् । यीमध्ये केही पछिसम्म सम्झन सकिने खालका छन् । सबै कथाहरूको छोटो चर्चा गर्दछु ।

पहिलो कथा ‘झोला’ सर्वप्रिय कथा हो । सतीप्रथाको विकराल दृश्य प्रस्तुत भएको यो कथा ‘श्रुति संवेग’मा प्रस्तुत भएको थियो । त्यसपछि नै एउटा अनलाइनमा भेटेको थिएँ अनि बाबाले पढेर सुनाउनुभएको थियो । यस कथामा आधारित चलचित्र पनि बनिसकेको छ जसलाई धेरै प्रशंसा गरिएको थियो । यो कथासंग्रह को सबैभन्दा उत्कृष्ट कथा पनि ‘झोला’ नै हो ।

‘ठेकुवाकी आमा’ पनि मन परेको अर्को कथा हो । ठेकुवाकी आमाले ठेकुवा (छोरा) लिएर राजेन्द्र साहुसँग पोइल गएपछि कथा सुरु भएको छ । उसको विगत बुझेपछि उसले लिएको कदम ठीकै लाग्छ । तर पछि उसले गरेको गल्तीले ल्याएको वियोगान्तले रुवायो ।

‘ती दिन कहिले आउलान ?’ लेखनको दृष्टिकोणले अनौठो छ । यस्तो किसिमको कथा पहिले पढेको थिइनँ । पात्रहरूको नाम नदिई संवाद मात्रै दिइएकोछ । कसले बोलेको भन्ने बुझ्न चाहिँ बुलेट पोइन्ट हेर्नुपर्ने हुन्छ । कुनै आन्दोलन या द्वन्द्वकालको अवस्था छ भन्ने बुझिन्छ यो कथाका संवादमा तर पात्रहरूसँग कनेक्सन नभएकाले खासै मन परेन ।

चौथो कथा ‘उनीहरूले कहिले गीत गाए?’ म पात्रले सानैमा गरेको सोही प्रश्न र उमेर ढल्किएपछि पाएको प्रश्नमा केन्द्रित छ । यसले सामान्य कुरा देखाएर गहिरो भाव बोकेको छ । अर्को कथा ‘साँघु काट्नु’ले क्रान्तिकारीहरूले साँघु (पुल) काटेको कुरालाई एउटा बच्चा ले कसरी बुझ्छ भन्ने कुरा देखाइएको छ ।

‘भो छाड्नुस् ती पुराना कुरा’ले एउटी महिलाका निर्णयहरू प्रस्तुत गरेको छ । यद्यपि पात्रहरूको विकास राम्ररी गरिएको छैन । घटनाहरू कथाकै लागि मात्र भएजस्ता लाग्छन् ।

‘इस्कुस’ कथाले अनौठो यौन मनोविज्ञान समेटेको छ । बिहे गरेको छ महिनापछि श्रीमतीसँग भेट्न हिंडेको ‘म’ पात्रले इस्कुसलाई ‘विशेष’ देखेको कुराले हास्या सिर्जना गरेको छ । ‘विश्वास’ कथाले भने वर्षौंदेखि सँगै रहेका जोडीले पनि कसरी एकअर्कालाई शंका गर्न सक्छन् भन्ने देखाएको छ । यो कथामा शंकाले लंका जलाउँदैन । यो कुरा मनपर्यो ।

जातीय भेदभाव सानै उमेरदेखि कसरी सुरु हुन सक्छ भन्ने कथा हो ‘एउटा सानो केटो’ । ‘म’ पात्रले एउटा ब्राहमण केटोलाई कसैलाई पनि भेदभाव गर्न हुन्न भनेर सिकाएको यो कथा ठीकै लाग्यो ।

‘मह’ कथाले सोझालाई बाठाले कसरी झुक्क्याउन सक्छन् भन्ने देखाएको छ । त्यस्तै माथिल्लो पदका कर्मचारीको मूर्खता र सफाई गर्न पनि तल्लो पदका कर्माचारी पर्खिनै पर्ने “बाध्यता”लाई व्यङ्ग्य गरेको छ ।

‘मास्टरबाबु’ पनि मन परेको कथा हो । यसमा बाहिर एउटा र भित्र अर्को रुप भएको एउटा पात्रको बयान छ । यसको आश्चर्यजनक अन्त्यले मास्टरबाबुप्रतिको हेराइ नै परिवर्तन हुन्छ ।

संग्रहको अन्तिम कथा ‘बसकी केटी’मा बस यात्राका दौरान ‘म’पात्र र उसकी छेउमा बसेकी एउटी केटीको बारेमा छ । ‘म’पात्रका मनमा खेल्ने कुराहरूमा पुरुष मनोविज्ञान देखिन्छ ।

समग्रमा, ३.५/५

View my other reviews on Goodreads

७ दिन ७ पुस्तक

फेसबुकमा केही वर्षदेखि नै ७ दिन ७ पुस्तक च्यालेन्ज देखेकाे थिएँ । नेपाली पुस्तकप्रेमीहरूले पठन संस्कृतिकाे प्राेत्साहनका लागि ७ दिनसम्म ७ वटा पुस्तक कुनै पनि व्याख्या वा समीक्षाविना पाेस्ट गरिरहेका थिए । समीक्षासहितकाे चुनाैति पनि देखेकाे हुँदा केही नलेखी फाेटाे मात्र राख्दा कसैले ‘ढर्रा पारेकाे’ भन्ने हाे कि भन्ने शंका जाग्थ्याे । गुगलबाट खाेजेर किताबकाे फाेटाे राख्न पनि गाह्राे छैन । व्याख्या वा समीक्षाविना पाेस्ट गरिरहँदा अरूलाई पठनप्रति आकर्षण गर्न सकिन्छ र ? भन्ने प्रश्न पनि मनमा थियाे ।

साथी गौरी बम्जनको च्यालेन्ज स्वीकार गर्नुअघि माथी उठेका प्रश्नहरू बारे सोचेँ । व्याख्या गर्न मन हुँदा पनि नगरेर फोटोहरू हालेँ । ती पुस्तकहरू यहाँ प्रस्तुत गरेको छु । अनि ती पुस्तक किन छानेँ भन्ने कुरा पनि समेटेको छु (च्यालेन्ज दौरान नलेखे पनि) ।

१. मोती र गुलाफ (लोककथा सङ्ग्रह)- शिवहरि अधिकारी

कक्षा १ मा छँदै पुरस्कार स्वरूप पाएको यो किताब धेरै नै प्रिय छ । यसमा भएका ६ वटा कथाले मन छुन्छन् अनि केही नैतिक शिक्षा पनि दिन्छन् । धेरै वर्ष छिमेकमा बसेर फिर्ता आएकोले गर्दा पनि यो किताबप्रती आशक्ति अलि बढी छ ।

२. बनारसमा बेचिएकी बहिनी (निबन्ध सङ्ग्रह)– नगेन्द्र

आठ कक्षामा छँदा किताब र पत्रिका राखेको बक्सामा एकदिन यो पुस्तक भेटेको थिएँ । टङ्कनमा धेरै गल्ती भए पनि यसले सुरुमै आकर्षित गर्‍यो । यी निबन्धहरूले निबन्धप्रतिको दृष्टिकोण नै परिवर्तन गरे । मेरा कतिपय ब्लग पनि यी निबन्धबाट प्रभावित छन् ।

३. धुवाँ (कथा सङ्ग्रह)–आत्माराम शर्मा

बाबाले ल्याउनुभएको यो किताब ५ कक्षादेखिका धेरै बिदाहरूमा पढेको थिएँ । सामान्य मान्छेका असामान्य कथाहरूले रुवाउँथे । नपढेको धेरै भएको हुँदा धेरै कुरा याद छैनन् । फेरि छिट्टै पढ्नुपर्ने पुस्तक हो यो ।

४. एउटा कथा भन्नु न हजूरआमा (बालकथा सङ्ग्रह)- रमेश विकल

रमेश विकलका कथा र उपन्यासहरू विभिन्न उमेर समूह लक्षित छ्न् । बालबालिकाका लेखिएका यस सङ्ग्रहका कथाहरूले कल्पनाको संसारमा पुर्‍याउँछ्न् ।

५. जंगबहादुर (ऐतिहासिक उपन्यास)–श्रीकृष्ण श्रेष्ठ

साधना मासिकमा जङ्गबहादुर उपन्यासका अंश पढ्दा आङ सिरिङ्ग हुन्थ्यो । सानोमा धेरै पटक यी अंश पढेको थिएँ । पूरा उपन्यास पढ्न भने पोहोर साल मात्र जुर्‍यो, त्यो पनि जापान टुरको दौरान । यस उपन्यासको समीक्षा पोहोर साल लेखिसकेको छु ।

६. घनचक्कर (उपन्यास)–सञ्जीव उप्रेती

७. लिखे (उपन्यास)–शरद पौडेल

पागलपनको कथा बोकेको घनचक्कर पहिलो चोटि पढ्दा कायल भएको थिएँ । कक्षा ९ मा एउटा प्रतियोगितामा पुरस्कारको रूपमा पाएको दिन करिब ५ घण्टामा पढिसकेको थिएँ । त्यसपछिका वर्षहरूमा पढ्दा हरेक पल्ट नयाँ कथा र सोच भेटेको छु । पढेका नेपाली उपन्यासमध्ये सबैभन्दा माथिल्लो तहमा घनचक्करलाई राख्ने गरेको छु ।

नवयुवा मासिकमा लिखेका केही अंश पढेको थिएँ । “जङ्गबहादुर”झैँ यो किताब पनि देख्नेबित्तिकै किनेको थिएँ । बाग्लुङको सानो गाउँमा अछुत भनेर ठूला जात भनाउँदाले दिएका दु:ख र लिखेले सानै उमेरमा गर्नुपरेको संघर्षले मुटु कुँड्याउँछ ।

अन्त्यमा, मेरा प्रश्नका जवाफ पाएँ । व्याख्या नै नगरे पनि पुस्तकप्रति आकर्षित गराउन सकिँदो रहेछ । त्यसो भए यति लामो लेख किन ? किनकी यो नलेखी चित्त बुझाउनै सकिनँ । अनि यो लेखमार्फत अझै धेरैलाई आकर्षित गर्न सक्छु कि भन्ने सानो प्रयास (आश) हो ।

टियू गन्थन

बिहान ६-७ बजेबाट नै टियूतिर हिँड्छु । घरबाट कीर्तिपुर पुग्न दुईवटा गाडी चढ्नुपर्छ । २६ वा २७ नम्बरका गाडी शहीदगेट/सुन्धारा पुग्छ्न् । पुरानो बसपार्क (जुन नयाँ बन्ने तर्खरमा छ र खुलामञ्चमा सरेको छ) बाट कीर्तिपुर जाने २१ नम्बरको गाडी चल्छन् । ती गाडी शहीदगेटमा रोकिन्छन् केहीबेर । अहिले त्यहीँबाट २१ नम्बरे गाडी चढ्छु । पोहोर खुला मञ्चबाट चढ्थेँ । भाग्यले साथ दियो भने घरबाट हिँडेको ४५ मिनेटमा नै भूगर्भशास्त्र केन्द्रीय विभाग पुग्छु । नत्र बिहानको समयमा प्राय: एक घन्टा लाग्छ । दिउँसो र साँझ भने डेढदुई घन्टा सामान्य हो । किनकी अध्ययन गर्न चाहनेलाई सहज होस् भनेर छात्रावासमा वास दिन सक्दैन मेरो विश्वविद्यालय ।

टियू गेटले पहिले सबैलाई स्वागत गर्थ्यो । अचेल आफ्नै गाडी र बाइक भएका वा तिनीसँग आउनेलाई मात्र गर्छ । सार्वजनिक यातायात चढ्नेलाई ल्याब स्कुल देखि उता नयाँ बाटो बनेको छ । टियूले पुरानो बाटो बिग्रेको भनी नयाँ बाटोबाट चलाउन लगायो भनी गाडी चलाउनेहरू भन्थे । तर कीर्तिपुरबाट आउँदा थोरै भए पनि गाडी चलेकै हुन्छ्न् । पुरानो बाटो पनि बनेको छैन । त्रिविले वर्गभेद त गरेको होइन ? कहिलेकाहीँ सोच्छु । होइन होला जस्तो लाग्छ । तर हो कि ? … (आ.. जेसुकै होस् !)

बिस्तारै बगिरहेको प्रमाण देखिने, धुँजाधुँजा परेका बाटाहरू अनि तरहतरहका संरचनाले टियूमा स्वागत गर्छन् । नयाँ बाटोबाट ओर्लिँदा सबैभन्दा पहिले देखिन्छ आँखा अस्पताल जुन विश्वविद्यालय अन्तर्गतको भएपनी उपचार सोचेजस्तो सस्तो छैन । अर्को छेउमा देखिन्छन् पुरुष छात्रावास । सबै अटाउँदैनन् यी छात्रावासमा । एक वर्ष पढिसकेपछि बल्ल “सिट” पाइन्छ । त्यसमा पनि होडबाजी र राजनीति चल्छ ।

अलि पर आउँछ जनबोलीको तीनकुने । रङ उडिसकेको बोर्डमा लेखिएको छ “TU Coronation Ground” (अङ्ग्रेजीमै) । त्यहाँ कसैको मूर्ति छ, जुन देख्न मलाई एक वर्षै लाग्यो होला । त्यो मूर्ति पहिलो उपकुलपति सुवर्ण समशेरको हो कि जस्तो लाग्छ । ठ्याक्कै याद छैन । किनकी त्यो “चौर” घेरिएको छ पर्खालले अनि भित्र ढाकेका छन् अग्ला घाँसहरूले ।

पिच उप्केको छ ठाउँठाउँमा, पानी पर्दा खोला बग्छ । यस्तो गर्नुपर्थ्यो, उस्तो गर्नुपर्थ्यो भन्ने प्रशस्त मानिस भेला हुने यो विश्वविद्यालयका संरचना पनि छक्क पर्दा हुन् । भन्दा हुन्, “गफ हाँक्न छोडेर एउटा मात्रै काम ठीकसँग गरेर देखाओ त !”

असार २५ गते त्रिभुवन विश्वविद्यालयले साठीऔं त्रिवि दिवस मनायो । उपकुलपतिको नयाँ भवन उद्घाटन गर्न कुलपति (प्रधानमन्त्री) जाँदा जुन कन्तविजोग त्रिविले देखायो, त्यसले लज्जाबोध भयो । त्योभन्दा लाजमर्दा काण्डहरू– गोल्ड मेडलको किनबेच, परीक्षाफलमा गरिएका अनियमितता, आर्थिक अनियमितता, जग्गा बाँडफाँड आदिले कहिलेकाहीँ त सोच्न बाध्य बनाउँछ, ‘उच्च शिक्षाको लागि त्रिवि रोजेर गलत त गरिनँ ।’

२०१३ सालतिर देशभित्रै विश्वविद्यालयको खाँचो महसुस गरेर तत्कालीन शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटाको भिजनलाई तत्कालीन राजा महेन्द्रले साथ दिएका थिए । विश्वविद्यालयका लागि ठूलो ठाउँ लिएर अध्ययन अनुसन्धान गर्ने उद्देश्यले कीर्तिपुरमा जग्गा अधिग्रहण गरी त्रिविको स्थापना गरिएको थियो । त्यस यता कीर्तिपुर क्षेत्र शिक्षाको पर्याय बनेको छ । यद्यपि यो जग्गा विवाद बेलाबेलामा आइरहन्छ, जातीयताको रङ्ग घोलेर ।

पाइलापाइलामा गरिने राजनीति, दम्भी अजासुहरू अनि मनपरी गर्न उद्दत कर्मचारीतन्त्रले त्रिभुवन विश्वविद्यालय कति थेग्ला ? शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि टीयूको संरचना र कार्यपद्दती नै परिवर्तन गर्नुपर्ने देखिन्छ ।

राधाको सम्झनामा

देख्दैमा राधाका दुई नयन बसिगएथ्यो पिरती
कोकिल वाणी, मुस्कानको मधुरता मन हर्ने अति ।
खेल खेलमा मित्रता भएको थियो गहिरो जति
टुट्ने हो कि ती प्रिय सखीको साथ लाग्दथ्यो पीर अति ।।

अर्कैकी बनेर डोलीमा चढी जब गइन् राधा रानी
भन्न नसकी गुम्सिएका भाव सम्झी बढ्यो ग्लानि ।
कान्हाको मन छ धेरै बलवान् भन्दछ सारा गोकुल
देख्दैनन् ती मुहारको मुस्कानले लुकाएको शूल ।।

मुरलीको दु:खी विरही धुन गुन्जाई वृन्दावनमा
डुल्दछ सम्झनाले कृष्ण यो, सन्ताप बोकेर मनमा ।
योगीको मार्ग चिनी ती बुद्धिमती प्रियाको सङ्गतले
राधाकृष्णको प्रेम अमर भनी चिन्नेछ जगतले ।।

रातो सूर्य

सूर्य रातो छ नभमा
मिर्मिरे हो या सन्ध्या ?

नयाँ सुरुवात ?
वा अन्त्यको सुरुवात
सडक, गल्ली र घरहरूमा
बगेको लाल रङ्गको ?

नीलो किनाराले घेरेको रातो
मुस्कुराइ रहला
सूर्यको लाल प्रकाशमा ?

चुप !

थाहा थियो तर चुप थियौँ । बोल्यो कि पोल्यो ! अपशब्दको वर्षा हुन्थ्यो । बोल्न खोज्नेलाई किचकिचे बनाइदिन्थ्यौँ । चुप बस्थ्यौँ । अझै पनि खुलेर बोलेका छैनौँ ।

सार्वजनिक यातायातमा अनेक सास्ती भोगेर यात्रा गरेका छौँ त्यो पनि प्रायः जसो बढी शुल्कमा । १३ रूपैयाँ लाग्ने ठाउँमा १५ रूपैयाँ तिरेका छौँ । यस्तो होइन भन्यो भने कुनै यात्रीले नै भनिदिन्छ, “दुई रूपैयाँको लागि किचकिच किन गर्‍या ?” लाग्छ, दुई रूपैयाँ त साह्रै सानो रकम हो जसका लागि बोल्नु पनि पाप हो ।

हामी सौखिन नेपालीहरूलाई सिक्का बोक्न मन लाग्दैन । १, २ रूपैयाँको नोट राष्ट्र बैँकले छाप्न छोडेको कति भो कति । सिक्कै पनि कहाँ पर्याप्त छ र ? २०६५-६६ साल यताका सिक्का मैले त भेटेको छैन । एक दुई रूपैयाँ चलाउनु छैन भने १३, १७, १९ जस्ता अङ्कमा भाडादर किन बनाउनु ?

यो भाडादर वैज्ञानिक छ । उनीहरू लुट्न खोज्छन् । हामी लुरुक्क परेर घुँडा टेक्छौँ । टेक्न नचाहनेको हात समातेरै तान्छौँ अनि झुकाउछौँ ।

हामी विद्यार्थी (म सहित) त पढेका मुर्ख नै भयौँ । यातायातमा ४५% छुट पाइन्छ तर २५% भन्दा कममा पनि रमाउछौँ । १३ रूपैयाँको भाडादरको ४५% हुन्छ ५ रूपैयाँ ८५ पैसा । तर १० रूपैयाँ तिर्छौँ । तीन रूपैयाको छुटमा रमाउछौँ । कसैलाई सोच्ने फुर्सद छैन । फुर्सद हुनेलाई अर्काको खुट्टा तान्न पाए पुग्छ ।

सरकार अहिले यातायात व्यवसायीलाई कम्पनीका रूपमा दर्ता गराउन प्रयास गर्दै छ । राम्रो ! तर भाडादरको कुरा अझै के हुने हो थाहा छैन । बोल्नु नपरे त झन् राम्रो ! बोल्नु पर्‍यो भने ? नानीदेखिको बानी न हो, चुप लागुँला !

नारीवाद: एक दृष्टिकोण

रावणले अपहरण गरेकी सीतालाई उनको राजा र प्रजाले अपनाएनन् । जीवनका अन्तिम क्षणसम्म वनवासी भइन् । तिनै सीताका “पति” रामले छलले बालीलाई मारेपछी तारालाई “जो तिम्रो पति थिएन, त्यसका लागि शोक गर्नुपर्दैन” भनिदिए । रावणको ध्यान भङ्ग गर्ने मन्दोदरीलाई नङ्ग्याए, अफसोच गरेनन् । कुमारी आमा कुन्तीले आफ्नै छोरोलाई पराइजस्तो व्यवहार भएको सहनपर्‍यो । एक दिन उनका पाँच भाइ छोराले भने, “हेर्नुस् त आमा, हामीले के ल्यायौँ” । उनले नहेरेरै भनिन्, “बाँडेर लिनू” । अर्जुनले स्वयंवर गरेर आएकी राजकुमारी द्रौपदीलाई मान्छेसम्म गनेनन् पाण्डवहरूले । कौरवले पनि रानी द्रौपदीलाई “वेश्या” भने । जुवामा थापे पाण्डवले, हुर्मत लिए कौरवले । विश्वयुद्धको तत्कालीन कारण बन्यो त्यही, जसमा कुरु वंश झन्डै विनाश भयो ।

पुराण/इतिहास/मिथकमा थुप्रै उदाहरण पाइन्छ नारीका दु:खका । हामीले बर्सेनि पढ्ने “स्वस्थानी व्रतकथा”मा सतीदेवीलाई नारायणले छल गरेर जोगी रूपधारी महादेवको हातमा सुम्पिदिन्छन् । कसैको चित्त बुझ्दैन तर “मेरो कर्मले यस्तै पारिल्यायो, के गर्ने” भन्दै सतीदेवी जान्छिन् । सतीदेवीका आमाबाबु भने तिनै छली नारायणलाई पुज्छ्न्, छोरीज्वाइँलाई हेला गरेर । सतीदेवी यज्ञको आगोमा होमिन्छिन् । तिनै देवीलाई देखाएर हज्जारौं वर्ष चल्छ पतिको लाशसँग जिउँदै जल्ने सतीप्रथा ।

“कर्म”को खेल दोहोरिन्छ गोमाको जीवनीमा पटकपटक । भाग्यवादको चङ्गुलमा अझैसम्म नारीहरू पिल्सिएका छन् । पतिव्रता वृन्दाको पति जालन्धर “पार्वतीलाई छल गर्न जान्छु” भन्छ । वृन्दाले पतिलाई त्यति प्रेम गर्दागर्दै पनि जालन्धर बाहिर चाहार्छ । उता नारायण पनि वृन्दालाई छल्न पुग्छन् उसैगरी । नारायणकी पत्नी लक्ष्मीको त नाम पनि आउँदैन । पुराणहरूमा “राक्षस” हुन् वा “भगवान्”, कुनै पुरुषबाट कुनै नारी सुरक्षित छैनन् ।

पुराण र कथाहरूको माध्यमबाट हाम्रो पुरुष अवचेतनमा नै नारीलाई हेप्नुपर्छ र नारी भोग्या मात्रै हो भन्ने पारिएको छ । त्यस्तै, नारी अवचेतनमा पुरुषको “दास” बन्नुपर्छ भन्ने कुरा बसेको छ । नारीवादी चेतनाले अवचेतनका यसप्रकारका गलत कुराका विरुद्धमा बोल्नु पर्छ भन्ने मान्यता संसारभर नै छ । पुरुषको शोषकवादी सोच ढाल्नु नारीवादको मूल उद्देश्य हुनुपर्छ । बोक्सीका नाममा सताइएका, दाइजोका लागि यातना दिइएका, मानव तस्करीमा परेका र यौनिक सन्तुष्टिका माध्यम बनाइएका वास्तविक पीडितहरूको न्याय नै नारीवादको ध्येय हुनुपर्छ ।

तर नारीवादमा “र्‍याडिकलिज्म”(Radicalism) हाबी छ। यो नारीवादले पुरुषलाई गलत मात्र देख्छ । नारीले पनि गल्ती गर्छन् भन्ने कुरालाई नजरअन्दाज गरिदिन्छ । शोषकवादी पुरुषको साटोमा शोषकवादी नारी स्थापित हुनुपर्छ भन्ने गलत मान्यता बोक्नु कदापि सही हुन सक्दैन । कानूनी आडमा पुरुषको जीवन तहसनहस पार्ने प्रवृति बढ्दो छ । पैसाका लागि केही नारीहरूले डिभोर्सको सहायता लिएका छन् । कोही प्रेमी या पतिलाई धोका दिँदै एनजीओ (NGO)को आडमा उल्टो पुरुषलाई नै अप्ठ्यारोमा पार्नेको संख्या पनि बढ्दो छ ।

व्यभिचार, धूम्रपान र मध्यपानलाई स्वतन्त्रताको प्रतीक मान्नेहरूको पनि कमी छैन । यी सब गलत हुन् भन्ने जान्दाजान्दै “पुरुषले गर्न हुने, महिलाले किन नहुने ?” भन्ने नारीहरूको कमी छैन अचेल । असल खराबको पहिचान गर्न सक्ने जुन नारीवादी चेतना छ, त्यसलाई र्‍याडिकलिज्मले ध्वस्त पारेको देखिन्छ ।

पीडित र पीडक जुनसुकै लिङ्गका हुनसक्छन् । केही फटाहा पुरुषका कारण सबै पुरुषलाई अनि केही बदमास महिलाका कारण सबै महिलालाई गलत देख्नु राम्रो होइन । तर एकले अर्कालाई शङ्का गर्ने वातावरण छ । शङ्काले लङ्का जलाउँछ भन्ने उखान छ । अर्थात्, जहाँ एकले अर्कालाई विश्वस गर्नै सक्दैन, त्यहाँ साथ र समन्वय कसरी हुन सक्छ ?

आमालाई पहिलो गुरु मानिन्छ भने घरपरिवारलाई पहिलो पाठशाला । नारीलाई नै घरपरिवार र समाजको सूत्रधार मानिन्छ । यद्यपि परिवार र समाजलाई अघि बढाउने काम नारीको मात्रै होइन, पुरुषको पनि हो । नारी र पुरुषको सहकार्यले नै संसार चल्दछ । “नारीपुरुष एकै रथका दुई पाङ्ग्रा हुन्” भनेर त्यसै भनिएको होइन ।

माइती जान नपाउने चेली

सुविधाले सम्पन्न भएका ठाउँमा

चेलीहरू माइती गइरहँदा हुन् ।

हासो र खुसी नराखी दाउमा

आमाबाबालाई खुसी राखिरहँदा हुन् ।।

***

चेलीहरू माइतीघर आउलान् भन्ने

आशैआशमा बित्छ यो जुनी !

आमाबाबालाई खुसी राख्लान् भन्ने

सपनामै अल्झन्छ यो जुनी !!

******

आशैआशमा बित्छ यो जुनी

जन्मघरमा फेरि पाइला राखुँला भनी !

सपनामै अल्झन्छ यो जुनी

आमाबाबासँग फेरि भेट होला भनी !!

***

जन्मघरमा फेरि पाइला राखुँला भनी

सोच्छु बिहा भई आएको यो ठाउँमा ।

आमाबाबासँग फेरि भेट होला भनी

नौ डाँडापारिको त्यो जन्मगाउँमा ।।

******

[मलाया शैली पान्टुममा नेपाली कविता लेख्ने यो प्रयाश । यस शैलीमा पहिलो स्टेन्जा (stanza) का दोस्रो र चौथो हरफ दोस्रो स्टेन्जामा पहिलो र तेस्रो हरफ बन्छ्न् अर्थात् दोहोरिन्छ्न् ।

गोर्खा मनकामना …

“उठ्, हामीसँग मनकामना हिँड् ।” ठुल्ममीको आवाज आयो ।

“जानू दादा, फुर्सद पनि छ ।” बहिनीले भनी ।

साउन १० गते मङ्गलबार मेरा कानमा परेका पहिला शब्दहरू यिनै थिए । म भने निद्राबाट राम्रोसँग ब्युँझिएकै थिइन । के भइरहेको छ भनेर बुझ्नै सकिन निकै बेर त । सपना पो हो कि ? एकछिन रनभुल्लमा परेपछि सपना होइन भन्ने लाग्यो अनि नुहाउनु पो पर्छ भन्दै जुरुक्क उठेँ ।

शरीर भित्र र बाहिर सफा भएपछि चियाको चुस्की लिँदै बिस्कुट चप्लक्क चोब्दै चपाएँ । मन्दिर जानु थियोे तर भोक असाध्यै लागेको थियो । पेटको जलन शान्त भयो । साँच्चै भैरव अर्यालले भनेझैँ भुँडी पूजा नभएसम्म केही गर्न मन नलाग्दो रहेछ ।

सवा ६ बजेतिर ठुल्ममी र ठुल्बाबासँग घरबाट निस्किएँ । कालो बादल बर्सिन थाल्यो । घरबाट धुम्बाराही चोक नपुग्दै मसिनो भए पनि भिज्ने गरि पानी परिसकेको थियो । ठुल्बाबा त लमकलमक अघि लागिहाल्नु भो । ठुल्ममीलाई चैँ हिँड्न गाह्रो हुन थालेको रैछ । त्यसमाथि मामूको सानो चप्पल लगाउनु भएको थियो । उहाँको गतिमा हिँडेँ म पनि, छाता ओढ्दै ।

धुम्बाराही चोकमा पुग्नेबित्तिकै महानगर यातायात चढियो । हुन त चक्रपथ परिक्रमा गर्ने गाडी पाउन गाह्राे छैन तर जुन पहिला आयो त्यही नै चढियो । पहिले महानगर यातायातको गाडी चढ्दा बस्न अफ्ठ्यारो भएको थिएन । त्यो गाडीमा बस्दा चैँ अगाडिको सिटमा घुँडा ठोकियो । ‘घुँडा नठोक्किने सिट स्पेस भएको गाडी पाउन पनि अति मुस्किल !’ मेरो सोच ।

सात बजे कलंकी पुग्यौँ । एकैछिनमा नारायणगढ जाने गाडी (माइक्रोबस) मा मनकामना (कुरिनटार) ओर्लिने भन्दै चढ्यौँ । सुरुमा प्रती व्यक्ति ३७० रुपैयाँ भन्दैथिए तर ३०० मै माने । सुरुमा त सोचिनँ तर एक जनालाई ५० रुपैयाँ जती महङ्गो पर्न गयो कि जस्तो चैँ लाग्यो ।

कलंकीमा सातै बजेदेखि जाम ! एक लेन बाटो खनेको छ अनि मास्तिर चोकमा पहिले बनेको आकाशे पुल भत्काएर बिजोग ! आधा घण्टापछि जाम खुल्यो । काठमाडौँ जिल्लाका नगरहरूको बिजोग पनि देखियो । बाटोभरी पानी परिरह्यो । हिलोले छ्पक्कै छोपेको छ काठमाडौँको सडकलाई । गाडीहरूले जोतेका छन् तिनलाई । कमी छ त रोपार र धानका बीउको ! काठमाडौँ महानगरपालिका, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका मुल बाटाहरू नै खेतजस्ता भएका छन् । कीर्तिपुरमा सडक निर्माणमा घोटाला भयो रे भन्ने सुनिएको थियो अघिल्लो दिन । स्मार्ट नगर बनाउँछौँ भन्ने निर्वाचित पदाधिकारीलाई सम्झेर हाँसो उठ्छ । माया पनि लागेर आउँछ । कम्तीमा सिटी त पहिला बनाउनुस् भन्ने सुझाव पनि दिन मन लाग्छ ।

धुवाँधुलोको शहर छुटेर गाडी नागढुङ्गाको ओरालो झर्यो । हिलो कम भएको थियो तर कुहिरोले डाँडो पुरै छेकेको थियो । पानीमा रुझ्दै गाडीले कुहिरो छिचोल्यो । नौबिसे आइपुग्दा त आकाश अलि खुलेको थियो, पानी पर्न पनि रोकिएको थियो ।

सिम्लेमा गाडी एकछिन रोकियो । पर पानीले डुबाइएका खेतमा खनजोत गर्दै रोपाइँ चल्दै थियो । मलाई रमाइलो लाग्दै थियो । ती किसानहरू चाहिँ रमाइ रहेका थिए वा सधैँ गर्नुपर्ने कामको बोझले थिचिएका थिए, थाहा नै भएन । अझ पर पर पहाडको टाकुरीमा सेतो-कालो बादल मडारिइ रहेका थिए । ती बादलले किसानलाई खुसीको सन्देश दिन्छन् सायद । तर कल्पना नै गर्न नसक्ने त्रास पो दिन्छन् कि सँगै बाढी पहिरो ल्याएर ।

IMG_0993
सिम्लेमा हाईवेबाट देखिएको दृश्य

 

त्यसपछि गाडी फेरि हुइँकियो । निकैबेर हावाले मुखमा हानिरह्यो । मुख अलिकति कुच्चियो कि जस्तो पनि लाग्थ्यो घरीघरी । तर मीठा गीत सुन्दै बाहिर हेर्दै हावा खानुको मज्जा शब्दमा वर्णन गर्नै सकिँदैन ! बैरेनी बजारमा बाटो बन्दै रहेछ । त्यहाँ पनि हिलो र धुलो देख्न पाइयो । काठमाडौंं झैँ निर्माणाधीन बजार रहेछ भन्ने मेरो मनमा पर्‍यो । तर अलि पर मोडमा पुग्दा खनिएको पहाड अस्थिर भएर अहिले नै ढुङ्गा खस्छन् कि जस्तो पनि देखियो । त्यो बजार कटे पछि फेरि रफ्तार पकड्यो माइक्रोले ।

साढे नौ बजेतिर मलेखु बजारमा गाडी गुड्दै थियो । मेरो मन पनि उड्दै थियो । परार साल हिउँदमा दुई साता बसेपछि त्यो ठाउँमा प्राणको अंश नै छोडे झैँ लाग्छ । त्यहाँ हिँडेका बाटा-गोरेटा, पहाड र खोलाहरूको सम्झना मस्तिष्कमा ताजा नै छ । गाडी त्यो क्षेत्रबाट जाँदै गर्दा सोच्छु–ओहो, धेरै नै पो हिँडिएछ त्यो बेला !

हामीले परार साल “इन्डिभिजुअल फिल्ड” का क्रममा सुन्तला किनेर खाएको ठाउँ शितलबजारमा गाडी रोकियो । ड्राइभर दाइले धेरै समय लगाए खाना खान । कुरिनटार अब बीस मिनेटमा पुगिन्छ पनि भने । खासै टाढाजस्तो त मलाई पनि लागेको थिएन त्यहाँबाट तर बीस मिनेट मात्र होला ? प्रश्न आयो मनमा ।

आधा घण्टा गाडी त्यहीँ रोकियो । अनि गुड्न थाले पछि बीस मिनेट घडीमा हेर्न थालेँ । समय मात्रै अघि बढ्यो । ठाउँ त आउँदैन त । अर्को बीस मिनेटमा पनि आइपुगेन । होइन, ड्राइभर दाइले त उसै भनेछन् । निकै टाढा रहेछ । शितलबजारबाट हिँडेको ठ्याक्कै एक घण्टामा कुरिनटार पुगियो । त्यसबीचमा थुप्रै ठाउँ देखियो । इच्छाकामना नेर पर पहाडबाट झरेको झरना देख्दा मन रमाएको थियो तर गाडीको बेगका कारण फोटो खिच्न चाहिँ सकिनँ ।

मनकामना केबलकार

मनकामना मन्दिरसम्म सजिलो गरि आवतजावत गराउने उद्देश्यले मनकामना केबलकार प्रा. लि. ईस्वी सम्बत् १९९९ देखि सञ्चालनमा आएको छ । कुरिनटार र मनकामनामा दुइटा स्टेसन छ्न् । बीचमा २० वटा टावरमा बाँधिएको तारको लट्ठामा गोन्डोला (कार) हरू समान दूरीमा झुन्डाइएका छन् । जम्मा ३६ वटा यात्रुबाहक र ३ वटा मालबाहक कारहरू छन् । तर मर्मतका लागि केही कारहरू छुट्टै राखिएका हुन्छन् । केबलकारबाट ओहोरदोहोर गर्न औसतमा दस मिनेट लाग्छ । काउन्टरमा तीनजनाको लागि ठुल्बाबाले टिकट लिनुभयो । हामी स्टेसनतर्फ लाग्यौं ।

मनकामना केबलकार स्टेसन, कुरिनटार
केबलकार चढ्न मानिसहरूको लाइन । माथि बोर्डमा सुरक्षा निर्देशन ।
एनसेलले कुनै बेला पर्पल बनाइदिएको त्रिशुली पारिको बस्ती
करालो

मनकामना बजार

गोर्खा जिल्लाको मनकामना स्टेसनको गेटबाट बाहिरिने बित्तिकै मनकामना बजार देखिन्छ । दश वर्षअघि यो बजारमा खानाको व्यापार व्यापक थियो । अहिले पनि छ । तर अझ व्यापक भएछ, फोटोको व्यापार !

“फोटो खिचाउन यता आउनुस् (दाजु/दिदी/अंकल/आन्टी) ।”

“हाम्रोमा अरू पसलमा भन्दा सस्तो छ ।” रेट कति भनेर सोध्दा भित्र तानेर लान्छन् अनि थरीथरीका फ्रेम देखाउँछन् । चित्त बुझेन भने पनि सकेसम्म आफ्नोमा फोटो खिचाइदिन चाहन्छ्न् । खिचातानी चल्छ । रिसाउँछन्, गाली पनि गर्छन् । रमाइलो मानेकोले मात्रै तर फोटो खिचाउनु छैन भने त अत्ति नै हो नि !

IMG_1031
व्यापार
IMG_1055

बजारमा अग्लाअग्ला घरहरू छन् । छक्क पर्दै हेर्छौँ । बजारको अन्तिम मोडमा पुगेपछि देखिन्छ मन्दिर …

मनकामना मन्दिर

किंवदन्ती

गोर्खाका राजा राम शाहकी रानी महिमावती (जसलाई लीलावती वा चन्द्रमुखी पनि भनिन्थ्यो) सँग महाकाली, महालक्ष्मी र महासरस्वतीको शक्ति थियो । उनको शक्तिका कारण गोर्खामा जनताले न्यायको प्रत्याभूति गर्न पाए । उनको न्यायका कारण “न्याय नपाए गोर्खा जानू” भन्ने लोकोक्ति प्रख्यात हुन गयो । उनका भक्त लखन थापा मगर मात्र उनको दिव्य शक्तिका बारेमा जान्दथे ।”

एकदिन राजाले रानीलाई देवी स्वरूपमा देखे । उनले त्यो कुरा रानीलाई भनेको केही समयमा नै उनको मृत्यु भयो । तत्कालीन चलन अनुसार रानी सती जानुपर्ने भयो । लखन थापाले ठूलो बिस्मात् गरे । रानीले उनको घर नजिकै अवतरित हुने वाचा गरिन् ।

केही महिनापछि एउटा किसानले खेत खन्दै गर्दा हलो एउटा ढुङ्गामा ठोक्कियो । त्यो ढुङ्गाबाट दूध र रगत बहन थाल्यो । किसानले लखन थापालाई बोलयो । उनले त्यो ढुङ्गामा देवी अवतरण हुनुभयो भन्ने बुझे । तान्त्रिक शक्तिको प्रयोग गरेर उनले दूध र रगतको वहाव रोके अनि मनकामना देवीका रूपमा स्थाप्ना गरे । उनै लखन थापाका सन्तानहरू मनकामना मन्दिरका पुजारी रहन्छन् ।

वर्तमान 

… त्यस दिन मनकामना मन्दिरको जुन स्वरूप देखियो, त्यो मैले कल्पना नै गरेको थिइनँ । पहिले देखेझैँ रातो रङ्गले रङ्गिएजो दुई तले मन्दिर देखिन्छ भन्ने लागेको थियो । तर देखियो गजुर र माथिल्लो तला झिकिएको, खट बाँधिएको, फुङ रङ उडेको एउटा संरचना !

२०७२ वैशाख १२ गते गोर्खा जिल्लाको बार्पाकलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको थियो । त्यही बेला नै मनकामना मन्दिर भत्किएको थाहा पाइएको थियो । ठीक ६ महिना अघि मामुबाबा त्यहाँ जाँदा खट बाँधेको रहेछ भन्नुभएको थियो । तर मैले त्यहाँ मन्दिरको स्वरूप नै देखिनँ । शंका लाग्यो, मनकामना मन्दिर यही हो त ?

IMG_1032

मनकामना मन्दिर । पुरानो स्वरूप जस्तापातामा टाँगिएको फ्लेक्समा । मान्छेले नगरी त भगवानले पनि आफ्नो घर बनाउन नसक्दा रहेछन् !

बजार र वरपरका संरचनामा भुकम्पको प्रभाव देखिँदैन । मन्दिर चाहिँ पुनर्निर्माण गर्न भन्दै भत्काइएको छ । चन्दा उठाइँदै छ । “मनकामना मन्दिरको र केबलकार कम्पनीको आम्दानीबाट नै मन्दिर बनाउन सम्भव छैन र ?” ठुल्बाबाको प्रश्न । “सरकारी सहयोग पनि कुरेर बसेका होलान् ।” मेरो तर्क । तर मन्दिर छिटो नबन्नु दुर्भाग्य नै हो ।
मन्दिर हेर्दाहेर्दै मनमा उठ्यो, “ढुङ्गाको मूर्तिमा भगवान मान्नु अनि संरक्षण गर्नु मानिसको कल्पना बाहेक केही होइन रैछ । शक्तिशाली भए त ढुङ्गाका भगवानले आफ्नो घर त जोगाउनु पर्ने । अनि आफ्नो घर आफैँ बनाउनु पर्ने । तर मान्छेको कल्पनाभन्दा माथी केही पनि छैन । मान्छेले नगरी त भगवानले पनि आफ्नो घर बनाउन नसक्दा रहेछन् !”

ढुङ्गाको मूर्तिमा देउता हुँदैनन् भन्ने मान्यता राख्ने मजस्ताका लागि यो निकै राम्रो प्रमाण हो । तर म खुसी हुन सकिनँ । मन्दिर र मूर्ती हाम्रा पुर्खाको कला र मिहिनेतका निशानी हुन् । मन्दिर बनाउन ढिलो गर्नु भनेको पुर्खाको उपहास हो ।

मूल मन्दिर छेउमा एउटा टहरो बनाएर “देवी”लाई राखिएको छ । मगर पुजारीका हातबाट म “बाहुनको छोरो”ले टीका थाप्छु । जातीयताको कुनै प्रश्न उठ्दैन । पछाडि रहेको गोरखनाथमा बेलपत्र चढाउछौँ । अनि दश-पन्ध्र मिनेटमा नै हामी मन्दिर प्राङ्गणबाट बजारमा आउँछौँ । बजार तीनचार पटक ओहोरदोहोर गरे पछि हामी स्टेसनमा फर्कियौं ।

मनाकामना स्टेसनमा केहीबेर लाइन बस्नुपर्यो । तर दुई बजे हामी तल्लो स्टेसनमा पुगिसकेका थियौं । तर काठमाडौं आउँदा नौबिसेमा जाम परेकाले अनि पानी पनि परेकाले नौ नबजी घर आइपुगिएन ।

फर्किने बेलाको लाइन

इण्डियन लाहुरे

(समर्पण : गोर्खा रेजिमेन्टमा भर्ति भएर युद्ध लडेका, लडिरहेका र वीरगति पाएका सबै नेपालीप्रति )

अफिस पुगेर गार्डको युनिफर्म भिरें अनि बाहिर गेटमा निस्केर बुढियालाई फोन गरें, “केही खबर आयो ?”

“छैन ।”

“टिभीमा पनि केही आ’को छैन ?”

“छैन । आ’को भए त तपाईंलाई फोन गरिहाल्थें नि ।”

हो त उसैले फोन गरिहाल्थी नि । उसलाई पनि त कम गाह्रो भएको थिएन । मैले भनेँ, “उफ्, केही सोच्नै सकेको छैन मैले त । खबर आउनेवित्तिकै मलाई भनिहाल है त ।”

उसले केही भनेझैं लाग्यो तर फोन काट्ने सुरमा मैले सुनिनँ । फेरि फोन नआएकोले खासै जरुरी कुरा होला भन्ने लागेन । मन फेरि एक तमासको भयो । काममा पनि ध्यान गएनछ । ” सन्चो छैन दावा दाइ ?” सँगै काम गर्ने कार्की भाइले भन्यो ।

“त्यस्तो केही हैन, कार्की भाइ ।”

“केही त भएकै छ, दाइ । अघि फोनमा कुनै खबरको कुरा गर्दै हुनुहुन्थ्यो । अनुहार पनि मलिन देख्छु । शरीर पनि थाकेजस्तो देखिन्छ । के भयो ?”

“खै भाइ, के भन्ने ? काश्मिर सीमामा भारत र पाकिस्तानका सेना लडिरा’का छन् रे । छोरो त्यतै छ । मन साह्रै आत्तिइरहेको छ ।”

“सेनाको जागिर । जता भन्यो त्यतै जानुपर्छ ।”

“आफ्नै देशको सीमामा भए नि देशको लागि लड्दैछ भनेर चित्त बुझाउने बाटोसम्म हुन्थ्यो । अर्काको देशको सीमामा छ । मामालाई देखेर त्यतै जान रहर गर्यो । त्यो छोरोलाई नजा भनेर कति सम्झाएँ । मान्दै मानेन । भन्यो, “नेपालको सरकारले नै जान हुन्छ भन्छ भने किन नजाने । यहाँ बसेर बेरोजगार हुनुभन्दा त त्यही ठीक ।””

मेरा आँखामा आँसु भरिए । कार्की  भाइ  पनि एकछिन  टोलायो अनि भन्यो,  “उसले भनेको पनि ठीकै हो । हाम्रो देशचाहिँ आफ्नो सीमाको रक्षा आफैँ गर्न सक्दैन । फेरि नेपालीलाई चैं अर्काको देशको सैनिक बनेर उनीहरूको लडाइँ लड् पनि भन्छ । किन हो कुन्नि त्यस्तो ?”

मेरो मन चसक्क दुख्यो । ऊ भन्दै थियो, “मेरा छोराछोरी अस्ति भन्दै थिए, पाकिस्तानले भारतलाई खत्तम गर्दे हुन्थ्यो भनेर । उनीहरूलाई थाहा नै छैन कति नेपालीहरू भारतीय सेनाको गोर्खा रेजिमेन्टमा छन् ।”

“नेपाली, इण्डियन, पाकिस्तानी जे भने पनि मान्छे नै त मर्ने हुन् नि होइन र भाइ ?”

“युद्धले कसलाई पो फाइदा गर्छ र, दाइ ।” दिनभर मसँग कुरा गरेर ढाडस दिइरह्यो उसले । घरमा फोन गरिरहें तर केही खबर आएन । छटपटी बढिरह्यो । दिन साह्रै लामो लाग्यो । बल्लतल्ल दिन बित्यो ।

ड्युटी सकिनेवित्तिकै घरतिर लागें । खासै टाढा थिएन तर हिंड्दाहिंड्दै थकाइ लाग्यो । बैंकको ढोकाअघि बस्दा पनि थकाइ लागेको थियो । पहिले यस्तो कहिले भएको थिएन । मनको पीडाले शरीर पनि बिरामी हुँदोरहेछ । निकै बेर लगाएर घर पुगें । सिधै टिभी राखेको कोठामा पुगें । हिन्दी न्युज च्यानलको ब्रेकिंग न्युज आइरहेको थियो: भारत-पाकिस्तान सीमामा अठार भारतीय सैनिकको मृत्यु । मन झन् भारी भयो । छोरी र बुढियासँग पनि केही बोल्न सकिन । त्यो कोठाबाट उठेर अर्को कोठामा गएँ अनि पल्टिएँ ।

“बाबा खाना खान आउनुस् ।” छोरीको स्वर सुनेर झस्किएँ ।

“खानै मन छैन ।”

“मन त मलाइ पनि छैन तर पिर लिएर मात्रै पनि त भएन ।”

बिस्तारै उठेर भान्छामा पुगें । बिहान उब्रेको खाना तताइछ बुढियाले । भाग बसें तर दुई गाँसभन्दा खानै सकिनँ । छोरी र बुढिया पनि भक्कानिए । त्यस दिनको खाना फ्याँकियो । टिभी कोठामा एकछिन पछि आइपुगें । त्यही समाचार छ हिन्दी च्यानलमा । नेपाली मिडियालाई त मतलब छैन । नेपाली पनि परे भने खबर ल्याउने मात्रै हुन् । नराम्रो खबर नाओस् भनेर भगवानसँग प्रार्थना गरें ।

मोबाइलको घन्टी बज्यो । बुढिया र छोरी दौदिंदै आइपुगे । नम्बर हेरें । इण्डियन हो तर छोराले गर्ने भन्दा फरक । मुटुले ढ्यांग्रो ठोक्यो । सास फेर्न गाह्रो भयो । जसोतसो लाउडस्पिकर अन गरें । उताबाट नेपालीमै कसैले भन्यो, “यो दावा तामांगको नम्बर हो ?”

“ज्यू ।”

“एउटा दु:खको खबर छ ।” एकछिन रोकियो, सुस्केरा हाल्यो अनि भन्यो, “तपाईंको छोरा सोनामले वीरगती पायो । दुस्मनको गोलीले उसको छाती छेड्यो । ढलेपछि पनि निकै साहस देखायो तर उपचार पुरा नुहुँदै उसको निधन भयो ।”

मेरा आँखाबाट बरर्र आँशु खसे । टीभी राखेको टेबुलमा उसको तस्बिर थियो । गोलो, गोरो मुहार, अग्लो गंठिलो शरीर, इण्डियन सेनाको पोशाक लागएर उसले त्यो फोटो खिचाएको थियो । त्यही फोटो मात्रै आँखाअघि नाचिरह्यो । उताबाट भन्दै थियो, “भारतीय सरकारले उसलाई शहीद घोषणा गर्नेछ । त्यसैले उसको अन्तिम संस्कार यतै हुनेछ ।”

मुटु चुँडियो । न सास, न लाश । टिभी टेबुलको तस्बिर नै त्यो लाहुरेको अन्तिम निशानी भयो ।

(कार्तिक १७, २०७३मा नागरिक मा प्रकाशित समाचारबाट प्रेरित)

Page 4 of 5

Powered by WordPress & Theme by Anders Norén